यहोवाका शिक्षा अनुसार हिंड्नुहोस्
“हे परमप्रभु, [यहोवा न्यु. व.] मलाई तपाईंको मार्ग सिकाउनुहोस्, म तपाईंको सत्यतामा हिंड्नेछु। तपाईंको नाउँको डर राख्न मेरो मन एक चित्तको पार्नुहोस्।”—भजनसंग्रह ८६:११.
१, २. रक्तक्षेपण नलिनमा यहोवाका साक्षीहरूलाई केले प्रेरित गर्दछ?
“रगतबाट बनेका वस्तुहरूको प्रयोग गर्न अस्वीकार गरेकोमा, सम्भवतः, यहोवाका साक्षीहरू सही छन्, किनकि धरेनै किसिमका कीटाणुयुक्त कारकहरू रक्तक्षेपणबाट स्थानान्तर हुन सक्तछन्।”—ला कोटिदियाँ मेडीसीन नाउँको फ्रेञ्च मेडिकल दैनिक पत्रिका, दिसम्बर १५, १९८७.
२ रक्तक्षेपण कतिको खतरनाक अथवा घातकसम्म पनि हुनसक्तछ भन्ने कुराको आम जानकारी हुनु भन्दा धेरैनै अघि, यहोवाका साक्षीहरूले रक्तक्षेपणलाई अस्वीकार गरेको कुरा एउटा संयोग मात्र हो भनी, यो टिप्पणी पढ़ने केहीले सोंचे होलान्। तर यहोवाका साक्षीहरूले रगत सम्बन्धी लिएको अड़ान कुनै संयोगवश लिएको अडान होइन, नता यो कुनै विचित्रको सम्प्रदायले रगत लिनु सुरक्षित छैन भन्ने डरले आविष्कार गरेको एउटा नियमनै हो। बरु, आफ्ना महान प्रशिक्षक—परमेश्वरका सामु आज्ञाकारी भएर हिंड्ने तिनीहरूको दृढ़ फैसलाको कारण, यहोवाका साक्षीहरू रगत लिन अस्वीकार गर्दछन्।
३. (क) यहोवामाथि भरोसा गर्ने कुराबारे दाऊदको कस्तो विचार थियो? (ख) परमेश्वरमा भरोसा गरेर, दाऊदले के परिणामको आशा गर्दथिए?
३ परमेश्वरमाथि आफ्नो भरोसा महसुस गर्ने राजा दाऊदले परमेश्वरबाट प्रशिक्षित हुने र उहाँको ‘सत्यतामा हिंड्ने’ दृढ़ संकल्प गरेका थिए। (भजनसंग्रह ८६:११) परमेश्वरको नजरमा रक्तपातको दोषी हुनबाट तिनी बाँचे भने, तिनको ‘प्राणलाई परमेश्वरले सुरक्षित राखेर आफ्नो भण्डारमा [प्राणलाई बेह्रेर यहोवाले आफ्नो झोला भित्र राख्नुहुनेछ न्यु. व.] राख्नुहुनेछ’ भनी दाऊदलाई एकपटक सल्लाह दिइएको थियो। (१ शमूएल २५:२१, २२, २५, २९) अमूल्य वस्तुहरूलाई सुरक्षाकासाथ जोगाएर राख्नका निम्ति जसरी तिनीहरूलाई मानिसहरूले बेह्रेर राख्तछन्, त्यसैगरी दाऊदको जीवनलाई पनि परमेश्वरले सुरक्षापूर्वक बचाएर राख्न सक्नु हुन्थ्यो। बुद्धिमत्तापूर्ण सल्लाह स्वीकार गर्दै, दाऊदले आफूलाई आफ्नै प्रयासबाट बचाउने कोशिश गरेनन् तर आफ्ना जीवनदातामाथि भरोसा राखे: “तपाईंले मलाई जीवनको मार्ग देखाउनुहुनेछ। तपाईंकै उपस्थितिमा, आनन्दको भरपूरी छ। तपाईंको दाहिने बाहुलीमा सदा सर्वदाको निम्ति सुख छ।”—भजनसंग्रह १६:११.
४. यहोवाद्वारा प्रशिक्षित हुन दाऊद किन चाहन्थे?
४ त्यस प्रकारको मनोवृत्ति राखेका हुनाले, कुन ईश्वरीय नियमहरू ठीक छन् अथवा कुन कुनचाहिं मान्नु आवश्यक छ भनी तिनी आफैले रोज्ने विचार राखेनन्। उनको मनोवृत्ति यस प्रकारको थियो: “हे परमप्रभु, [यहोवा न्यु. व.] मलाई तपाईंको मार्ग सिकाउनुहोस्, म तपाईंको सत्यतामा हिंड्नेछु। तपाईंको नाउँको डर राख्न मेरो मन एक चित्तको पार्नुहोस्। हे परमप्रभु [यहोवा न्यु. व.] मेरा परमेश्वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु।” (भजनसंग्रह २७:११; ८६:११, १२) परमेश्वरको सामु सत्यतामा हिंड्न कहिलेकाहीं असजिलो हुन सक्तछ अथवा धेरैनै ठूला बलिदानहरू गर्नु परेको जस्तो लाग्न सक्तछ, तर दाऊद सही मार्ग सिक्न र त्यसैमा हिंड्न चाहन्थे।
रगतको सम्बन्धमा शिक्षा पाएका
५. रगत सम्बन्धी परमेश्वरको अड़ानबारे दाऊदलाई के थाह थियो होला?
५ केटा-केटी छँदा देखिनै दाऊदलाई रगतको सम्बन्धमा, कुनै धार्मिक रहस्य होइन तर परमेश्वरको दृष्टिकोण सिकाइएको थियो भन्ने कुरा हाम्रो लागि विचारणीय छ। मानिसहरूलाई व्यवस्था पढ़ेर सुनाउँदा, दाऊदले यी शब्दहरू सुनेको हुनु पर्छ: “जीवधारीको प्राण त्यसको रगतमा हुन्छ। मैले रगतचाहिं वेदीमा तिमीहरूको प्रायश्चित गर्नलाई दिएको छु, किनभने त्यसमा प्राण भएको हुनाले रगतद्वारा प्रायश्चित गरिन्छ। यसकारण तिमीहरू अथवा तिमीहरूसँग बास गर्ने परदेशी कसैले पनि रगत नखानूँ भनी मैले इस्राएलीहरूलाई भनेको हुँ।”—लेवी १७:११, १२; व्यवस्था ४:१०; ३१:११.
६. रगतका सम्बन्धमा परमेश्वरका सेवकहरूलाई निरन्तर प्रशिक्षणको खाँचो किन थियो?
६ परमेश्वरले इस्राएललाई आफ्ना एउटा सङ्गठित मानिसहरूको रूपमा प्रयोग गर्नु भइञ्जेल, उहाँलाई खुशी तुल्याउन चाहनेहरूलाई रगतको सम्बन्धमा शिक्षा दिन आवश्यक थियो। इस्राएली केटा-केटीहरूलाई पुस्तौंसम्म यस प्रकारको प्रशिक्षण दिइयो। तर परमेश्वरले मसीही मण्डलीलाई “परमेश्वरका इस्राएलको” रूपमा गठन गरी त्यसलाई स्वीकार गर्नु भएपछि पनि, के यस प्रकारको शिक्षा कायमनै रहने थियो? (गलाती ६:१६) अवश्य रहने थियो। रगतका सम्बन्धमा परमेश्वरको दृष्टिकोणमा केही परिवर्तन भएन। (मलाकी ३:६) व्यवस्थाको वाचा प्रचलनमा आउनु भन्दा अघि देखि नै रगतको दुरुपयोगबारे उहाँको अड़ान कायम थियो र व्यवस्था खारिज गरी सके पछि पनि त्यो अड़ान कायमनै रह्यो।—उत्पत्ति ९:३, ४; प्रेरित १५:२८, २९.
७. रगतबारे परमेश्वरद्वारा प्रशिक्षण पाउनु हाम्रो निम्ति किन महत्त्वपूर्ण छ?
७ रगतलाई आदर गर्ने कुरा मसीही धर्मको एउटा प्रमुख शिक्षा हो। ‘यसो भन्नु एउटा अतिशयोक्ति हो,” कसैले भन्न सक्तछ। तर येशूको बलिदान मसीहीहरूका निम्ति एउटा प्रमुख कुरा होइन भने, कुन कुरा हो ता? र प्रेरित पावलले लेखे: “जसमा हामीलाई उहाँको (येशूको) रगतबाट उद्धार, अर्थात् उहाँको अनुग्रहको धन अनुसार अपराधहरूको क्षमा हुन्छ।” (एफिसी १:७) फ्य्राङ्क सी. लौब्याकले अनुवाद गरेको द इन्सपायर्ड लेटर्सले त्यस पद्यलाई यसरी लेखेकोछ: “ख्रीष्टको रगतले हाम्रो निम्ति मोल चुकाएको छ र अब हामी उहाँका हौं।”
८. “ठूलो भीड़” जीवनका निम्ति रगतमाथि कसरी निर्भर छ?
८ आगामी “महा सङ्कष्ट” बाट बाँचेर पार्थिव प्रमोदवनमा परमेश्वरको आशिषको आनन्द लिने सबैको आशा, येशूले बगाउनु भएको रगतमाथि निर्भर गर्दछ। तिनीहरूको वर्णन, प्रकाश ७:९-१४ ले गर्दछ र भूतावलोकन गर्दै भन्दछ: “यी तिनै हुन् जो महा सङ्कष्टबाट आएका छन्, र तिनीहरूले आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्।” यहाँ प्रयोग भएको भाषामाथि ध्यान दिनुहोस्। महा सङ्कष्टबाट आएका यिनीहरूले ‘येशूलाई स्वीकार गरे’ वा ‘उहाँमाथि विश्वास राखे’ भनी भनेको छैन जब कि ती कुराहरू पनि अतिनै महत्त्वपूर्ण हुन्। एक कदम अगाड़ि सरेर यहाँ भनिएको छ कि तिनीहरूले “आफ्ना आफ्ना लुगाहरू थुमाको [येशूको] रगतमा धोएर सेता बनाएका छन्।” किनभने छुटकारा दिलाउन सक्ने मूल्य उहाँको रगतमा छ।
९. रगतका सम्बन्धमा यहोवाको आज्ञा मान्नु किन यति गम्भीर कुरा हो?
९ रक्तक्षेपण अत्यन्तै जरुरी छ भनी कुनै चिकित्सकले कतिनै इमान्दारीकासाथ जोड़ गरेतापनि, येशूको रगतमा रहेको मूल्यको कदर गर्दै, यहोवाका साक्षीहरूले रगतको दुरूपयोग नगर्ने दृढ़ फैसला गरेका छन्। रक्तक्षेपणबाट स्वास्थ्यलाई हुने खतरा भन्दा लाभहरूनै बढ़ी छन् भनी चिकित्सकले विश्वास गर्न सक्तछन्। तर रगतको दुरुपयोग गर्न तयार भएर, परमेश्वरको अनुमोदन गुमाउने खतरा जस्तो ठूलो खतरालाई एक जना मसीहीले उपेक्षा गर्नसक्तैन। पावलले एक पटक “ज्ञान पाएपछि पनि जानी जानी पाप गर्नेहरू” बारे चर्चा गरे। त्यस प्रकारको पाप किन त्यतिको गम्भीर थियो? किनभने यस प्रकारका मानिसले “परमेश्वरका पुत्रलाई खुट्टामनि कुल्चने र आफूलाई पवित्र पारेको करारको रगतलाई अपवित्र कुरो गनेकाछन्।”—हिब्रू ९:१६-२४; १०:२६-२९.
अरूहरूलाई प्रशिक्षित हुन मदत गर्नुहोस्
१०. रगतबाट अलग्ग रहने हाम्रो संकल्पको पछाड़ि के छ?
१० येशूले दिनु भएको छुटकाराको बलिदानको कदर गर्ने हामीहरूले, उहाँको रगतमा प्राण बचाउने मूल्य छ भन्ने कुरालाई स्वीकार गर्दै, पाप गर्न देखिन् होशियार रहन्छौं। यस विषयमा राम्रोसँग विचार गरी सके पछि, हामी बुझ्दछौं कि परमेश्वरले हामीलाई जीवन दिनु भएको निम्ति उहाँ प्रति आफ्नो कृतज्ञता जनाउँदै, उहाँका धार्मिक कानुनहरूको हामीले तिरस्कार गर्नु हुँदैन। आखिर ती नियमहरू हाम्रै हित—हाम्रै अनन्तकालीन हितकै निम्ति दिइएका थिए भनी हामी विश्वस्त छौं। (व्यवस्था ६:२४; हितोपदेश १४:२७; उपदेशक ८:१२) तर, हाम्रा छोरा-छोरीबारे के गर्ने?
११-१३. आफ्ना छोरा-छोरीहरू र रगतबारे केही मसीही आमा-बाबुहरूको के गलत दृष्टिकोण छ, र किन?
११ हाम्रा छोरा-छोरीहरू सानै छन् अथवा बुझ्न सक्ने सम्मका भएका छैनन् भने पनि, हाम्रो भक्तिको आधारमा यहोवाले तिनीहरूलाई शुद्ध र ग्रहणयोग्य ठान्न सक्नु हुन्छ। (१ कोरिन्थी ७:१४) हुन सक्छ, कुनै मसीही परिवारका बच्चाहरूले रगत सम्बन्धी परमेश्वरका नियम अझ सम्म बुझेका छैनन् होला र त्यसको पालन गर्ने फैसला पनि गरेको छैन होला। तथापि, यस्तो महत्त्पूर्ण विषयबारे तिनीहरूलाई शिक्षा दिने यथा सम्भव प्रयास के हामीले गरिरहेका छौं? यस विषयलाई मसीही आमा-बाबुहरूले बड़ो गम्भीरताका साथ विचार गर्नु पर्दछ, किनकि रगत र आफ्ना बच्चाहरूबारे केही आमा-बाबुहरूले गलत धारणा अपनाएका छन्। तिनीहरू सोंच्दछन् कि आफ्ना नावालिग छोरा-छोरीहरूलाई रक्तक्षेपण दिने कुरा तिनीहरूको वशमा छैन। यस्तो गलत धारणा किन?
१२ उपेक्षित र सताइएका केटा-केटीहरूको सुरक्षाका निम्ति धेरै देशहरूमा कानुनहरू र सरकारी संस्थाहरू हुन्छन्। यहोवाका साक्षीहरूका प्यारा छोरा-छोरीहरूलाई रगत नदिने, र त्यसको ठाउँमा आधुनिक औषधी-विज्ञान अन्तर्गत पाइने वैकल्पिक इलाजका निम्ति तिनीहरूका आमा-बाबुले अनुरोध गर्दैमा, ती केटा-केटीहरू उपेक्षित अथवा सताइएका हुँदैनन्। रक्तक्षेपणबाट हुने खतराहरूलाई ध्यानमा राखेर विचार गर्दा, यस प्रकारको अनुरोध गर्नु चिकित्साको दृष्टिकोणबाट पनि, उपेक्षा वा कुनै प्रकारको दुरुपयोग गर्नु होइन। कुनै पनि उपचार स्वीकार्नु भन्दा अघि, त्यसमा बिथोलित खतराहरूको राम्रोसँग सोंच-विचार गरे पछि मात्र निर्णय लिनु आफ्नो अधिकारको यो एउटा प्रयोग हो।a तापनि, जबरजस्ती रक्तक्षेपण दिने अधिकार पाउन, कुनै कुनै चिकित्सकहरूले कानुनी व्यवस्थाहरूलाई गुहारेकाछन्।
१३ एउटा नावालिगलाई रक्तक्षेपण दिने अधिकार चिकित्सकहरूले अदालतबाट सजिलैसँग पाउँन सक्तछन् भन्ने कुरा थाह पाएर, कुनै कुनै आमा-बाबुहरू सोंच्दछन् कि मामला आफ्नो वशमा छैन र यस विषयमा आमा-बाबुले गर्न सक्ने अथवा गर्नु पर्ने केही छैन। तर यो धारणा कति गलत हो!—हितोपदेश २२:३.
१४. दाऊद र तिमोथीलाई वचपना देखिनै कसरी प्रशिक्षण दिइएको थियो?
१४ दाऊदले केटा-केटी देखिनै परमेश्वरको बाटोमा हिंड्ने शिक्षा पाएका थिए भनी हामीले बुझेका छौं। यसले गर्दा, जीवन परमेश्वरको वरदान हो र रगतले जीवनको प्रतिनिधित्व गर्दछ भनी तिनले बुझ्न सके। (२ शमूएल २३:१४-१७ सङ्ग तुलना गर्नुहोस्) तिमोथीलाई “बाल्यकाल देखि” परमेश्वरको सोंचाइ अनुरूप शिक्षा दिइएको थियो। (२ तिमोथी ३:१४, १५) दाऊद र तिमोथी कानुनी रूपमा आज बालिग कहलाइने उमेर न पुग्दै, तिनीहरूले परमेश्वरको इच्छा सम्बन्धित कुराहरूमा आफ्नो विचार राम्रोसँग व्यक्त गर्नसक्तथिए भनी तपाईं निश्चय नै सहमत हुनु हुन्छ होला। त्यसै प्रकार, उमेर पुग्नु भन्दा अघि नै, आजका जवान मसीहीहरूलाई पनि परमेश्वरको बाटोमा हिंड्ने शिक्षा दिनु पर्दछ।
१५, १६. (क) नाबालिगहरूको अधिकारबारे कुनै कुनै ठाउँमा के धारणाको विकाश भएको छ? (ख) के कारणले गर्दा एउटा नाबालिगलाई रगत दिनु पऱ्यो?
१५ कुनै कुनै ठाउँहरूमा, परिपक्व नाबालिग भनिनेहरूलाई पनि बालिगहरूकै अधिकारहरू दिइन्छ। उमेर वा परिपक्व सोंचाइ, वा दुवैको आधारमा एउटा जवान मानिसलाई आफ्नो चिकित्सा गराउने सम्बन्धमा स्वयं निर्णय लिन सक्ने योग्यता भएको ठान्न सकिन्छ। यस प्रकारको कुनै कानुन नभएको ठाउँमा पनि, रगतबारे आफ्नो निर्णयलाई स्पष्ट गरी व्यक्त गर्न सक्ने एउटा जवान व्यक्तिका इच्छाहरूलाई न्यायाधीश वा सरकारी कर्मचारीहरूले मान्यता दिन सक्तछन्। यसको विपरीत, एउटा जवान मानिसले स्पष्ट र परिपक्व ढ़ङ्गमा आफ्ना विश्वासहरूको व्याख्या गर्न सक्तैन भने, अदालतले आफूलाई जे ठीक लाग्छ, त्यही गर्ने फैसला गर्न सक्तछ—एउटा सानो बालकको मामलामा गरे झैं।
१६ वषौंसम्म, एक जना जवान मानिसले, समय समयमा बाइबल अध्ययन गर्ने गरेको थियो तर बप्तिस्मा चाहिं लिएको थिएन। “आफूले नचाहेको उपचार अस्वीकार गर्ने अधिकार” पाउने उमेर पुग्न सात हप्ता मात्र बाँकी भएता पनि, उसलाई लागेको क्यान्सर रोगको इलाज गर्ने अस्पतालले उसको र उसका आमा-बाबुको इच्छा विपरीत उसलाई रक्तक्षेपण दिने अनुमति अदालतबाट प्राप्त गर्ने कोशिश गर्यो। सद्विवेकी न्यायाधीशले यस जवान मानिसलाई रगत सम्बन्धी उसको विश्वासबारे र बाइबलका प्रथम पाँचवटा पुस्तकहरूको नाउँ जस्ता आधारभूत प्रश्नहरू सोधे। त्यो नौजवानले न ती पुस्तकहरूको नाउँ बताउन सक्यो नता रगत अस्वीकार गर्ने कारणलाई सन्तोषजनक ढङ्गमा प्रस्तुत गर्न सक्यो। दुःखको कुरा, न्यायाधीशले यस प्रकार टिप्पणी गर्दै रक्तक्षेपण गर्ने आदेश दिए: “उसले आफ्नो धर्मका सिद्धान्तहरूलाई राम्रोसँग बुझेको आधारमा रगत अस्वीकार गरेको होइन।”
१७. रगत दिने कुरामा एउटी १४ वर्षीय केटीले के अड़ान लिई, के प्रतिफल भयो?
१७ तर परमेश्वरका मार्गहरूमा प्रशिक्षित र उहाँको सत्यमा सक्रियतासाथ हिंड्ने एउटा नावालिगका निम्ति कुरा अर्कै हुन सक्छ। त्यो जवान मानिस भन्दा अझ कम उमेरकी एउटी मसीहीलाई त्यसै प्रकारको असामान्य क्यान्सर भएको थियो। त्यस केटी र त्यसका आमा-बाबुले नाउँ चलेको एउटा अस्पतालका एक जना प्रख्यात विशेषज्ञबाट राम्रोसँग बुझेर संशोधित केमोथेरापी (क्यान्सर रोगमा प्रयोग गरिने विशेष प्रकारको उपचार) गर्न स्वीकार गरे। त्यसो भएता पनि, अदालतमा मुद्दा चलाइयो। न्यायाधीशले लेखे: “उसलाई रक्तक्षेपण दिन खोजेमा, उसले आफ्नो भए भरको शक्ति र हर तरिकाले विरोध गर्नेछ भनी डी. पी.ले बयान दिइ। रक्तक्षेपणलाई उसले आफ्नो शरीरमाथि गरिएको एउटा आक्रमण सरह ठानी र त्यसलाई बलात्कारसित तुलना गरी। उसको इच्छाको कदर गरिओस् र अदालतले हुकुम गरेको रक्तक्षेपण न लिइ कनै उसलाई अस्पतालमा रहने अनुमति दिइओस् भनी अदालतसित उसले माँग गरी।” उसले पाएको मसीही शिक्षाले यस्तो अफ्ठ्यारो बेलामा उसको मदत गऱ्यो।—बाकस हेर्नुहोस्.
१८. (क) पीड़ा भोगी रहेकी एउटी केटीले रगत लिने कुरामा के कड़ा अड़ान लिई? (ख) उसको इलाजबारे न्यायाधीशले के निर्णय दिए?
१८ ल्युकिमिया भन्ने रोगकालागि एउटी १२ वर्षकी केटीको इलाज चलिरहेको थियो। त्यस केटीलाई जबर-जस्ती रगत दिन पाउनका निम्ति, केटा-केटीहरूको हित हेर्ने एउटा सङ्गठनले यस विषयलाई अदालतमा पेश गऱ्यो। न्यायाधीशले कुरा टुङ्ग्याउँदै भने: “एल. ले बड़ो स्पष्ट ढङ्गमा यस अदालतलाई भनी कि, उसलाई रक्तक्षेपण गर्ने प्रयास गरियो भने, उसले आफ्नो सारा शक्तिले त्यसको विरोध गर्नेछ। उसले भनेकी छे, कि उ कराउने छे, सङ्घर्ष गर्नेछे र आफ्नो पाखुराबाट सियो हाल्ने सारा उपकरणहरू तानेर फालिदिनेछे र उसको टाउको माथि झुण्ड्याइएको रगतको थैलो समेतलाई तोड-फोडगर्ने प्रयास गर्नेछे र उसले वास्तवमा यसो गर्ने पनि छे भनी म विश्वास गर्दछु। यस सानी केटीलाई त्यस प्रकारको संकष्टमा हाल्ने कुनै पनि आदेश म दिन सक्तिन . . . यस रोगीको सम्बन्धमा, यो अस्पतालमा सिफारिस गरिएको इलाजले रोगको शारीरिक पक्षलाई मात्र ध्यान दिएको छ। यो इलाजले उसको भावनात्मक आवश्यकताहरू र धार्मिक विश्चासहरूलाई ध्यानमा राखेको छैन।”
आमा-बाबुहरू—राम्ररी शिक्षा दिनुहोस्
१९. आफ्ना छोरा-छोरीहरू प्रति आमा-बाबुहरूको के विशेष जिम्मावारी छ?
१९ आफ्ना परिवारमा सबैनै रगतबारे परमेश्वरको नियम अनुसार चलून् भनी चाहना राख्ने आमा-बाबुहरूका निम्ति यस प्रकारका अनुभवहरूले एउटा प्रभावशाली सन्देश दिन्छ। अब्राहाम परमेश्वरका मित्र हुन पाएको एउटा कारण यो थियो कि यी कुलपिताले “आफ्नो छोरा-छोरीहरू र घरानालाई धर्म र न्याय गरेर परमप्रभुको [यहोवाको, न्यु.व.] मार्ग पालन गर्नलाई आज्ञा दिनेछ” भनी परमेश्वरलाई थाहा थियो। (उत्पत्ति १८:१९) यही कुरा आजका मसीही आमा-बाबुहरूका विषयमा पनि भन्न सक्नु पर्ने हो, होइन र? तपाईं एक जना आमा वा बाबु हुनु हुन्छ भने, आफ्ना छोरा-छोरीहरू यहोवाका मार्गमा हिंडून् र सँधैनै “तिनीहरूमा भएको आशाको कारण . . . सोध्नेहरू हरेकलाई जवाफ . . . नम्रता र डरसँग” दिन सकून् भनी के तपाईं तिनीहरूलाई प्रशिक्षण दिनु हुँदैछ?—१ पत्रुस ३:१५.
२०. रगतबारे मूलतः हाम्रा छोरा-छोरीहरूले के जानून् र विश्वास गरून् भनी हामीले चाहनु पर्दछ? (दानियल १:३-१४)
२० रक्तक्षेपणबाट हुने रोगहरू र अन्य खतराहरूबारे आफ्ना छोरा-छोरीहरूलाई अवगत गराउनु राम्रो कुरा हो। तर रगतसँग सम्बन्धित परमेश्वरको सिद्ध नियमबारे आफ्ना छोरा-छोरीहरूलाई शिक्षा दिनुको अर्थ रगत प्रति तिनीहरूमा भय उत्पन्न गराउनु होइन। उदाहरणकालागि, कुनै एउटी केटीलाई उसले रगत लिन किन नचाहेकी भनी न्यायाधीशले सोध्दा, रगत अति नै खतरनाक अथवा डरलाग्दो कुरा हो भनी त्यस केटीले उत्तर दिएमा यसको असर कस्तो होला? यापेन्डिक्स अपरेशन गराइ दिन आफ्ना आमा-बाबुले उचित ठान्दा पनि, छोरी अपरेशन गर्न डराएर, रुने-कराउने गरे जस्तै, यो केटी पनि अपरिपक्व र धेरैनै डराएकी मात्र हो भनी न्यायाधीशले अनुमान लगाउनेछन्। यसका साथै, हामीले अघिनै देखि सक्यौं कि रगत अशुद्ध भएको हुनाकारण मसीहीहरूले रक्तक्षेपण नलिएका होइनन् तर रगत हाम्रा परमेश्वर र जीवनदाताको नजरमा अमूल्य भएको हुनाले हो। सो कुराका साथै, रगतको प्रयोगबाट हुने सम्भाव्य चिकित्सा सम्बन्धी खतराहरूले हाम्रो धार्मिक अड़ानलाई अझ बल प्रदान दिन्छ भन्ने कुरा हाम्रा छोरा-छोरीहरूलाई थाह हुनु पर्दछ।
२१. (क) आफ्ना छोरा-छोरीहरूबारे र रगत सम्बन्धी बाइबलको दृष्टिकोणबारे आमा-बाबुले के जान्नु पर्दछ? (ख) रगतका सम्बन्धमा आमा-बाबुहरूले आफ्ना छोरा-छोरीहरूलाई कसरी मदत दिन सक्तछन्?
२१ तपाईंका छोरा-छोरीहरू छन् भने, के तिनीहरूले रक्तक्षेपण सम्बन्धित बाइबलमा आधारित अड़ानलाई स्वीकार गर्दछन् र त्यसको व्याख्या पनि गर्नसक्तछन् भनी के तपाईं निश्चित हुनु हुन्छ? त्यो अड़ान वास्तवमा परमेश्वरकै इच्छा बमोजिम हो भनी के तिनीहरू विश्वास गर्दछन्? परमेश्वरको नियमलाई उल्लङ्घन गर्नु यति गम्भीर कुरा हो कि त्यसबाट अनन्त जीवन पाउने एक जना मसीहीको आशा खतरामा पर्न सक्तछ भनी के तिनीहरू विश्वस्त छन्? बुद्धिमान आमा-बाबुहरूले यी कुराहरू आफ्ना छोरा-छोरीहरूसित छलफल गर्नेछन्, चाहे ती छोरा-छोरीहरू साना नानीहरू वा बालिगनै भइ सकेका हुन्। न्यायाधीश वा अस्पतालका कर्मचारीहरूले सोध्न सक्ने प्रश्नहरूको जवाफ दिने अभ्यास छोरा-छोरीहरूसित घरमै आमा-बाबुहरूले गर्न सक्तछन्। केही तथ्यहरू वा उत्तरहरू बच्चाहरूले रटेर भन्न सक्नु यी अभ्यासहरूको उद्देश्य होइन। बरु तिनीहरूले विश्वास गरेका कुराहरू के हुन् र तिनीहरू ती कुराहरूमा किन विश्वास गर्दछन् भनी तिनीहरूलाई थाह हुनु अति नै जरुरी छ। अदालतमा सुनवाइ हुँदा, आमा-बाबुहरू वा अरूहरूले रगतको प्रयोगबाट उत्पन्न हुने खतराहरू र वैकल्पिक उपचारहरूबारे सूचना प्रस्तुत गर्न सक्तछन्। तर हाम्रा छोरा-छोरीहरू आफैले पनि आफ्नो परिस्थिति र यसमा अपनाउन सकिने विकल्पहरू, परिपक्व ढङ्गमा बुझेका छन् वा छैनन् र यस सम्बन्धमा तिनीहरूले व्यक्तिगत रूपमा के विश्वास गर्छन् र कुन कुन कुरालाई तिनीहरूले महत्त्व दिन्छन् भनी न्यायाधीश र अधिकृतले थाहा लाउन चाहनेछन्।—२ राजा ५:१-४ सँग तुलना गर्नुहोस्.
२२. रगतका सम्बन्धमा परमेश्वरद्वारा हामीहरू प्रशिक्षित हुँदा कुन स्थायी प्रतिफल प्राप्त गर्न सकिन्छ?
२२ हामी सबैले रगतको सम्बन्धमा परमेश्वरको दृष्टिकोणको मूल्याङ्कन गर्दै त्यसमा दृढ़ताकासाथ अडिग रहनु पर्दछ। ‘हामीलाई प्रेम गर्नुहुने र आफ्नो रगतले हाम्रा पापबाट हामीलाई छुड़ाउनुहुने’ ख्रीष्ट नै हुनु हुन्छ भनी प्रकाश १:५ ले वर्णन गर्दछ। येशूको रगतको मूल्यलाई स्वीकार गरेर मात्र हामी आफ्नो पापबाट पूर्णरूपमा र सदाका लागि क्षमा प्राप्त गर्न सक्तछौं। रोमी ५:९ ले स्पष्टसँग भन्दछ: “यसकारण झन् बढ़तागरी अब उहाँको रगतले धर्मी ठहरिएको हुनाले, हामी परमेश्वरको क्रोधबाट उहाँद्वारा बाँच्नेछौं।” त्यसकारण, यस विषयमा यहोवाद्वारा हामी र हाम्रा छोरा-छोरीहरू प्रशिक्षित हुनु र सधैं उहाँको मार्गमा हिंड्ने दृढ़ फैसला आफूमा राख्नु कति बुद्धिमानीको कुरा हुनेछ! (w91 6/15)
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटी अफ न्यु यर्क द्वारा प्रकाशित, हाउ केन ब्लड सेव यर लाइफ पुस्तिकाका पाना २१-२, २८-३१ हेर्नुहोस्.
शिक्षाका मूल बुँदाहरू
◻ यहोवाद्वारा प्रशिक्षण पाउने कुरामा हाम्रो के दृष्टिकोण हुनु पर्दछ?
◻ रगतका सम्बन्धमा परमेश्वरको नियम पालन गर्नु किन यति महत्त्वपूर्ण छ?
◻ रगतका सम्बन्धमा आफ्ना गाढ़ा विश्वासहरूलाई स्पष्ट र दृढ़ताकासाथ व्याख्या गर्न, नौजवानहरूका निम्ति किन अत्यन्त जरुरी छ?
◻ रगतका सम्बन्धमा यहोवाको नियमबारे आफ्ना छोरा-छोरीहरू राम्ररी प्रशिक्षित होऊन् भनी मसीही आमा-बाबुहरूले कसरी मदत गर्न सक्तछन्?
[पृष्ठ १४-मा भएको पेटी]
अदालत प्रभावित भयो
पैराग्राफ १७ मा उल्लेखित डी. पी. को सम्बन्धमा अदालतले आफ्नो निर्णयमा के भन्यो?
“त्यो १४-१/२ वर्षकी जवान केटीको सुझबुझ, सन्तुलित मनोस्थिति, गरिमा, र जोश देखेर अदालत धेरैनै प्रभावित भयो। उसलाई डरलाग्दो किसिमको क्यान्सर भएको छ भनी थाह पाउँदा उ कति व्याकुल भइ होलि . . . तरै पनि, प्रमाण दिन अदालतमा आउँदा उ एक जना परिपक्व जवान व्यक्तिको रूपमा आई। आफ्नो सामुन्ने उपस्थित कठिन कार्यमाथि उसको ध्यान स्पष्टसँग केन्द्रित थियो। सर-सल्लाहका सबै बैठकहरूमा उपस्थित भएर उसले एउटा इलाज-प्रणाली स्वीकारेकी थिइ र एक जना मानवको हैसियतमा यो औषधीय चुनौतीको मुकाबिला गर्न, उसले एउटा युक्तिसँगत दर्शन अपनाएकी थिइ। र अदालतमा उ यो मर्मस्पर्शी अनुरोध लिएर आई: मेरो निर्णयको कदर गरिदिनुहोस् . . .।
“उसको निर्णयको अदालतले कदर गरिदिओस् भनी डी. पी. ले उसको परिपक्वता बाहेक, प्रशस्त आधारहरू यथेष्ट मात्रामा प्रस्तुत गरेकीछे। रक्तक्षेपण सामेल भएको कुनै पनि इलाजबाट उसलाई आध्यात्मिक, मानसिक, नैतिक, र भावनात्मक ढ़ङ्गमा चोट पुग्नेछ। अदालतले उसले रोजेको इलाजलाई मान्यता दिनेछ।”
[पृष्ठ १३-मा भएको चित्र]
न्यायाधीश वा अस्पतालका कर्मचारीले एक जना जवान मसीहीले वास्तवमा के विश्वास गर्दछ र सो किन गर्दछ भनी बुझ्न चाहनेछन्