सही धर्मको लागि तिनीहरूको खोज
केही व्यक्तिहरूले बाल्यकालदेखि जीवनसित सम्बन्धित आफ्ना प्रश्नहरूको चित्तबुझ्दो जवाफ खोज्दै आएका छन्। जवान छँदा शायद तिनीहरूले धार्मिक उपासनाहरूमा भाग लिए होलान्। तर त्यसले न ता आफ्ना प्रश्नहरूका जवाफ दिएको न चर्चका संस्कारहरूले जीवनको समस्याहरूसँग जुझ्न वास्तवमा कुनै मदत गरेको नै तिनीहरूले भेट्टाए।
तिनीहरूले आफूलाई अझ पनि आफ्नो पुर्खौली धर्मको सदस्य हुँ भनी बताए तापनि धार्मिक उपासनाहरूमा भने तिनीहरू आक्कलझुक्कल मात्र भाग लिन्छन्। चर्च अफ इङ्गलैण्डका विशपको भनाइअनुसार बचेखुचेको अल्प विश्वासले तिनीहरूको जीवनमा कम मात्र प्रभाव पार्न सकेको छ। तिनीहरूले धर्मलाई सक्रिय महत्त्व दिन छाडिसकेका छन्। अरू चाहिं धार्मिक समुदायमा हुने ढोङ्गदेखि वाक्क भएर धर्मलाई पूर्ण रूपमा त्यागिसकेका छन्। यद्यपि, जीवनसम्बन्धी तिनीहरूका प्रश्नहरू भने यथावतै छन्।
कोही किन गहिरो शंका गर्छन्
घरबारविहिन व्यक्तिहरूलाई मदत गर्न, भोकाहरूलाई खाद्यान्न बाँड्न र साँस्कृतिक कार्यक्रमहरूको प्रायोजन गर्न निकै चर्चहरूको आफ्ना एजेन्सीहरू छन् भनेर थुप्रै मानिसहरूलाई थाहा छ। तर यसको साथसाथै दिनहुँजसो गैरमसीहीहरू बीचमा मात्र नभइ मसीही भनौंदाहरू बीचमा समेत धर्मको कारण हिंसा अनि रक्तपातका खबरहरू तिनीहरू सुन्छन्। यस्तो हिंसामा बिथोलित समूहहरूले सही धर्मको अभ्यास गर्दैछन् भनी तिनीहरूले शङ्का प्रकट गरेमा के हामी छक्क पर्नेछौं र?
धार्मिक वातावरणबीच हुर्केका थुप्रैले चर्चद्वारा प्रायोजित अनाथालयहरू राम्रो कुरा हुन् भनेर सोच्थे। तथापि, हालसालै ठाउँ ठाउँमा पादरीहरूले आफ्ना निरीक्षणमा छाडिएका केटाकेटीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप सुनेर मानिसहरू स्तब्ध भएका छन्। केही पादरीहरू मात्र दोषी होलान् भनेर मानिसहरूले सुरु सुरुमा सोचेका थिए। तर अहिले भने चर्चमै कुनै आधारभूत गलती पो छ कि भनेर केही व्यक्तिहरूले सोच्न थालेका छन्।
युकेन्या जस्ता केही व्यक्तिहरू कुनै समय आफ्नो धर्ममा लीन थिए। अर्जेन्टिनामा बस्ने यस महिला जवान छँदा, इटाटीकी कुमारीको उपासना गर्न तीर्थयात्रा जानेहरू मध्येकी थिइन्। चौध वर्षसम्म तिनी आश्रममा नन् भएर बसिन्। त्यसपछि आश्रम छाडेर तिनी क्रान्तिकारी उपायद्वारा समाजमा तत्काल आमूल सामाजिक तथा आर्थिक परिवर्तन ल्याउने पक्षमा खडा भएको अन्तर्राष्ट्रिय धर्मराजनैतिक समूहको सदस्य बनिन्। तर आफूले देखेको र भोगेको कुराहरूले गर्दा तिनले परमेश्वरमाथि विश्वास र भरोसा राख्न छाडिन्। वास्तवमा आफूले विश्वास गर्न सक्ने धर्मको खोजी तिनले गरिरहेकी थिइन्। तिनी केवल गरीबहरूलाई न्याय दिने बाटो चाहन्थिन् र आफ्नो निम्ति एक भरोसायोग्य मित्र।
अरू चाहिं चर्च भित्र भइरहेका गतिविधिहरू अवलोकन गर्छन् र आफूलाई त्यसदेखि टाढा राख्छन्। स्पुटनिक नामक पत्रिकामा सन् १९९१ मा एक जना नास्तिकको विचारधारा प्रकाशित भएको थियो। तिनले निष्पक्षतासाथ यसो भने: “गैरमसीही र मसीही दन्त्यकथाहरूको विशेषताबीच म कुनै मूलभूत भिन्नता देख्दिन।” सुनजडित पोशाक लगाएका पादरीहरूले सुकाइएका मुर्दाहरू मास्कोका सडकहरूमा घुमाउँदै जुलुस गरेको घटना तिनले उदाहरणस्वरूप वर्णन गरे। “रूढीवादी मसीही सन्त” को उक्त मुर्दालाई सङ्ग्राहलयबाट चर्चतर्फ लगिंदैथियो। यस घटनाले लेखक- लाई प्राचीन मिस्रका पूजाहारीहरू र मुर्दाहरूको सम्झना गरायो। साथै, मास्कोको उक्त जुलुसमा भाग लिनेहरूले “मसीही त्रिएक” मा विश्वास गरेझैं मिस्रीहरूले पनि त्रिदेव अर्थात् ओसिरिस, आइसिस र होरसको उपासना गर्थे भनी तिनले सम्झे।
सोही लेखकले प्रेमबारे मसीही धारणा पनि उल्लेख गरे। तिनको भनाइअनुसार “परमेश्वर प्रेम हुनुहुन्छ” र “आफ्नो छिमेकीलाई प्रेम गर्नू” भन्ने आज्ञाको समानान्तर गैरमसीही मिस्रमा पाइँदैन। तर तिनले यसो भने: “संसारको हरेक भागमा र मसीही संसार भनौंदा ठाउँहरूमा समेत भ्रातृप्रेम सफल हुन सकेको छैन।” त्यसपछि देशका मामिलाहरूमा चर्चले हत्ते हाल्न खोज्दा उत्पन्न भएका खराब फलहरूमाथि तिनले टिप्पणी गरे। आफूले देखेका कुराहरूले गर्दा मसीहीजगतका चर्चहरूमा आफूले खोजेको कुरा पाइन्छ जस्तो तिनलाई लागेन।
यसको विपरीत अरूले चित्तबुझ्दो जवाफहरू भेट्टाएका छन् तर मसीहीजगतका चर्चहरूमा भने होइन।
तिनले मृतकबारे सत्य कुरा सिकिन्
हाल ३७ वर्ष पुगेकी मग्दालिना बुल्गेरियामा बस्छिन्। सन् १९९१ मा ससुराको मृत्युपछि तिनी साह्रै उदास भइन्। ‘मरेका मानिसहरू कहाँ जान्छन्? मेरो ससुरा कहाँ हुनुहुन्छ?’ भनेर तिनी बारम्बार आफूलाई सोधिरहन्थिन्। तिनी चर्चमा गइन् र घरमा प्रतिमाअघि प्रार्थना गरिन् तर कुनै जवाफ पाइनन्।
त्यसपछि एक दिन तिनको छिमेकीले मग्दालिनालाई आफ्नो घर आउन भनी फोन गरे। यहोवाका साक्षीहरूसित अध्ययन गरिरहेका एक जना युवक त्यस छिमेकीको घरमा आउन लागेको रहेछ। त्यस युवकले परमेश्वरको राज्य अनि पृथ्वीमा मानिसहरू सधैंभरि बाँच्न सक्ने प्रमोदवन ल्याउने परमेश्वरको उद्देश्यबारे बताउँदा तिनले ध्यान दिएर सुनिन्। तपाईं सधैंभरि पार्थिव प्रमोदवनमा बाँच्न सक्नुहुन्छ भन्ने पुस्तक टेबुलमा राखिएको थियो। त्यो पुस्तक चलाएर त्यस युवकले उपदेशक ९:५ मा उल्लिखित बाइबल पदतर्फ तिनको ध्यानाकृष्ट गरे। त्यहाँ यस्तो लेखिएको छ: “मरेकाहरूले ता केही पनि जान्दैनन्।” त्यस साँझ तिनले अझ धेरै पढिन्। मृतकहरू अर्को जीवन लिएर स्वर्ग वा नरकमा जाँदैनन् बरु निद्रामा परेझैं अचेत छन् भनेर तिनले थाहा पाइन्। यहोवाका साक्षीहरूको स्थानीय मण्डलीमा सभा धाउन दिइएको निमन्त्रणालाई तिनले सहर्ष स्वीकारिन्। सभा सकेपछि नियमित बाइबल अध्ययन गर्न पनि राजी भइन्। सभामा यहोवालाई प्रार्थना गरिने ढङ्ग देखेपछि मनभित्र गाडेर बसेको कमजोरीमाथि विजय पाउन तिनले पनि प्रार्थना गर्न थालिन्। प्रार्थनाको जवाफ पाउँदा आफूले सही धर्म भेट्टाएँ भनी तिनी निश्चिन्त भइन्।
तिनीहरूले अर्थपूर्ण जीवन पाए
आन्द्रे, बेल्जियमको कट्टरपन्थी क्याथोलिक परिवारमा जन्मेका थिए र स्थानीय पादरीको सहायक भएर काम गरिसकेका थिए। तथापि, त्यतिबेला आफूले देखेका कुराहरूले गर्दा चर्चप्रति तिनको श्रद्धामा धक्का पुग्यो। फलस्वरूप तिनी नाउँ मात्रको क्याथोलिक हुन पुगे।
पन्ध्र वर्षसम्म तिनी फूटबलका पेशेवर खेलाडी थिए। एक पटक फूटबल प्रतियोगितामा भाग लिन इटाली जाँदा तिनको टोलीलाई पोपसित भेट गर्न निमन्त्रित गरियो। त्यस भेटमा आध्यात्मिक उत्थान गर्ने कुनै कुरा थिएन र पोपको सांसारिक सम्पत्ति देखेर आन्द्रे खिन्न भए। चर्चमाथिको तिनको शंका झन् गहिरो भयो। दुई पटक वैवाहिक सम्बन्ध टुक्रिसकेकोले तिनको निजी जीवन सुखमय थिएन। विश्व परिस्थितिले गर्दा तिनी हतोत्साहित भएका थिए। सन् १९८९ मा तिनले आफ्नो दैनिकीमा यो लेखे: ‘हाम्रो वरपर भइरहेका यी निरर्थक कुराहरूको अर्थ के हो?’ तर आफ्नो धर्मबाट तिनले यसको कुनै जवाफ पाएनन्।
सन् १९९० तिर आइसलैण्डमा फूटबल प्रशिक्षक भएर काम गर्दा आन्द्रे यहोवाका साक्षीहरूको मिसनरी आइरिसको सम्पर्कमा आए। तिनले साहित्यहरू स्वीकारे अनि उक्त मिसनरीलाई पुनः तिनीकहाँ आउन निमन्त्रणा पनि दिए। आफ्नो पति चेलसँग त्यो मिसनरी फेरि आन्द्रेकहाँ फर्किन्। निकै तर्कवितर्कपछि बसेर राम्ररी कुरा गर्दा आन्द्रेले बाइबलमा निकै चासो राख्छन् भन्ने कुरा प्रष्ट देखियो। तिनकी पत्नी आस्ताले पनि चासो व्यक्त गरिन्। प्रशिक्षणको दौडान मध्य दिनतिर आन्द्रेले तीन घण्टा फुर्सत पाउँथे। तिनले यो समयलाई बाइबल अध्ययनमा लगाउने निर्णय गरे। तिनले यसो भने: “आराम गरेरभन्दा बाइबल अध्ययन गरेर म अझ फुर्तिलो महसुस गर्छु।” तिनीहरूले बाइबलबाट आफ्ना सबै प्रश्नहरूको एक एकगरि जवाफ पाए। बिस्तारै यहोवा अनि उहाँको राज्यमाथि तिनीहरूको विश्वास बढ्न थाल्यो। “वरपर भइरहेका यी निरर्थक कुराहरू” बाट मुक्त शान्तिमय नयाँ संसारबारे बाइबलले दिने सुन्दर प्रतिज्ञा तिनीहरूका लागि वास्तविकता भयो। अहिले आन्द्रे र आस्ता दुवै जना आफूले पाएको नयाँ विश्वास अरूसित बाँड्दैछन्।
अन्ततः आफूले सही धर्म भेट्टाएँ भनेर माग्दालिन, आन्द्रे र आस्ता विश्वस्त छन्। राजनैतिक उपायद्वारा संसारका समस्याहरू समाधान गर्ने कोशिश गरिसकेपछि युग्नेयाले पनि अन्तमा गएर यहोवाका साक्षीहरूबीच आफूलाई सही लाग्ने धर्म भेट्टाइन्। तर कुनै धर्म सही हो वा होइन भनेर वास्तवमा कुन कुराले निर्धारण गर्छ? कृपया यसपछिको लेखलाई हेर्नुहोस्। (w94 6/1)
[पृष्ठ ७-मा भएको चित्र]
यहोवाका साक्षीहरूसित नियमित बाइबल अध्ययन गरेर पचास लाखभन्दा बढी मानिसहरूले चित्तबुझ्दो जवाफ भेट्टाउने मदत पाइरहेका छन्