शोकाकुल छौं तर आशाविहीन छैनौं
“मरिजानेहरूको विषयमा तिमीहरू अजान बस भन्ने हामी इच्छा गर्दैनौं, कि आशा नहुने अरू बाँकीहरूले जस्तो शोक नगर।”—१ थिस्सलोनिकी ४:१३.
१. मानवजातिले नियमित तवरमा के अनुभव गर्छ?
के तपाईंको प्रिय जनको मृत्यु भएको छ? जवान हौं वा वृद्ध, आफ्नो नातेदार वा मित्रको मृत्युले गर्दा हामीमध्ये धेरैजसो दुःखी भएका छौं। शायद हाम्रो हजुरआमा वा हजुरबुबा, आमा वा बुबा, पति वा पत्नी अथवा बच्चाको मृत्यु भएको होला। वृद्धावस्था, बिमारी र दुर्घटनाहरूले गर्दा कसै न कसैको मृत्यु भइरहन्छ। त्यसमाथि अपराध, हिंसा र युद्धले हाम्रो दुःख र शोक अझ बढाउँछ। सारा संसारभरि वर्षेनी औसतन पाँच करोडभन्दा धेरै मानिसहरू मर्छन्। सन् १९९३ को मात्र औसतन दैनिक तथ्यांक १,४०,२५० थियो। मृत्युले मित्र अनि परिवारलाई असर गर्छ र त्यसको चोट गहिरो हुन्छ।
२. केटा-केटीहरूको मृत्यु हुँदा कुन कुरा अस्वाभाविक देखिन्छ?
२ लापरवाही सवारी चालकले गर्दा क्यालिफोर्निया, स.रा.अ.-का एउटा दम्पतीले आफ्नी गर्भवती छोरीलाई सडक दुर्घटनामा गुमाउनुपऱ्यो। यस्तो दुःखलाग्दो घटना सुन्दा के त्यस आमा-बाबुप्रति हाम्रो सहानुभूति जाग्दैन र? क्षणभरमा तिनीहरूले आफ्नो एकमात्र छोरी र तिनको गर्भमा भएको पहिलो नाति वा नातिनी गुमाए। दुर्घटनामा मर्ने स्त्रीको पतिले आफ्नी पत्नी र पहिलो छोरा वा छोरी गुमाए। चाहे कलिलै होऊन् वा वयस्क, आफ्नो छोरा वा छोरीको मृत्यु आमा-बाबुलाई अस्वाभाविक लाग्छ। आमा-बाबुको मृत्यु हुनअघि छोरा-छोरीको मृत्यु हुनु सामान्य कुरा होइन। हामी सबै जीवनलाई प्रेम गर्छौं। तसर्थ, मृत्यु साँच्चै नै हाम्रो शत्रु हो।—१ कोरिन्थी १५:२६.
मानव परिवारमा मृत्युको प्रवेश
३. हाबिलको मृत्युले आदम र हव्वामाथि कस्तो असर पारेको हुनुपर्छ?
३ हाम्रा प्रथम माता-पिता, आदम र हव्वाले विद्रोह गरेदेखि लगभग छ हजार वर्षसम्म पाप र मृत्युले मानव परिवारमाथि राज गरेको छ। (रोमी ५:१४; ६:१२, २३) आफ्नो छोरा हाबिललाई तिनको दाइ कयिनले हत्या गर्दा आदम र हव्वाले कस्तो प्रतिक्रिया देखाए, त्यो बाइबलले बताउँदैन। तर त्यो घटना अवश्य निकै डरलाग्दो अनुभव भएको हुनुपर्छ। तिनीहरूले आफ्नो छोराको अनुहारमा पहिलो चोटि मानव मृत्युको वास्तविकता देखे। आफ्नो विद्रोह र स्वेच्छाको अनवरत दुरुपयोगको नतिजा तिनीहरूले देखे। परमेश्वरका चेताउनीहरूको बावजूद कयिनले प्रथम भ्रातृघात गर्न रुचाएका थिए। हाबिलको मृत्युले हव्वामाथि गहिरो असर पारेको हुनुपर्छ भनेर हामी भन्नसक्छौं किनभने सेतलाई जन्माउँदा तिनले यसो भनेकी थिइन्: “परमेश्वरले मेरो निम्ति कयिनले मारेको हाबिलको सट्टामा एउटा अर्को बालक नियुक्त गर्नुभयो।”—उत्पत्ति ४:३-८, २५.
४. अमर आत्माको मिथ्याले किन हाबिलको मृत्युपश्चात् सान्त्वना प्रदान गर्नसक्दैन थियो?
४ हाम्रा प्रथम माता-पिताले विद्रोह गरे वा अनाज्ञाकारी भएमा तिनीहरू “अवश्य मर्नेछन्” भनी परमेश्वरले दिनुभएको दण्डाज्ञाको वास्तविकता पनि देखे। शैतानले झूटो बोलेको भए तापनि सम्भवतः त्यतिबेला अमर आत्माको मिथ्या प्रतिपादन भइसकेको थिएन। अतः तिनीहरूसित कुनै झूटो सान्त्वना पनि थिएन। परमेश्वरले आदमलाई यसो भन्नुभएको थियो: “माटैबाट तँ निकालिएको थिइस्। तँ माटै होस् र माटैमा फर्किजा- नेछस्।” स्वर्ग, नर्क, लिम्बो, पापमोचन स्थान वा अन्य कतै ठाउँमा ऊ अमर आत्मा भएर रहनेछ भनेर उहाँले भन्नुभएको थिएन। (उत्पत्ति २:१७; ३:४, ५, १९) पाप गर्ने जीवित प्राणीहरूको हैसियतमा आदम र हव्वा अन्ततः मर्नेथिए र अस्तित्वहीन हुनेथिए। यस सम्बन्धमा राजा सुलेमान यो लेख्न उत्प्रेरित भए: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्, तर मरेकाहरूले ता केही पनि जान्दैनन्। तिनीहरूका निम्ति केही प्रतिफल हुँदैन। तिनीहरू बिलकुलै बिर्सिजानेछन्। तिनीहरूका निम्ति प्रेम, घृणा, अभिलाषा सबै खतम भएका हुन्छन्। संसारमा गरिएको काममा तिनीहरूको फेरि कहिल्यै भाग हुनेछैन।”—उपदेशक ९:५, ६.
५. मृत मानिसहरूको साँचो आशा के हो?
५ यी शब्दहरू कति सत्य छन्! साँच्चै भन्ने हो भने, दुइ-तीन सय वर्षअघिका पुर्खाहरूलाई कसले पो सम्झेको छ र? तिनीहरूको चिहान कहाँ हो भनेर समेत प्रायः बिर्सिसकेको हुन्छ वा धेरैअघि नै वास्ता गर्न छाडिसकेको हुन्छ। के यसको अर्थ, हाम्रा मृत प्रिय जनहरूको कुनै आशै छैन? अवश्य त्यसो होइन। आफ्नो मृत भाइ, लाजरसबारे मार्थाले येशूलाई यसो भनिन्: “म जान्दछु, कि त्यो पछिल्लो दिनको पुनरुत्थानमा फेरि बिउँतनेछ।” (यूहन्ना ११:२४) भविष्यमा परमेश्वरले मृत मानिसहरूलाई बिउँताउनुहुनेछ भनेर हिब्रूहरू विश्वास गर्थे। यद्यपि, त्यस्तो विश्वासको बावजूद आफ्ना प्रिय जनको मृत्यु हुँदा तिनीहरूले आँसु थाम्न सकेनन्।—अय्यूब १४:१३.
शोक गर्ने विश्वासी जनहरू
६, ७. अब्राहाम र याकूबले मृत्युप्रति कस्तो प्रतिक्रिया व्यक्त गरे?
६ लगभग चार हजार वर्षअघि आफ्नी पत्नी साराको मृत्यु हुँदा “अब्राहाम साराको निम्ति शोक र विलाप गर्न पालभित्र गए।” आफ्नी प्रिय वफादार पत्नीलाई गुमाउनुपर्दा परमेश्वरको विश्वासी सेवकले गहिरा अनुभूतिहरू व्यक्त गरे। तिनी बहादुर थिए तैपनि आँसु बगाएर शोक व्यक्त गर्न लजाएनन्।—उत्पत्ति १४:११-१६; २३:१, २.
७ याकूबको घटना पनि त्यस्तै थियो। आफ्नो छोरा यूसुफलाई जंगली जनावरले माऱ्यो भनी झुक्याइँदा तिनले कस्तो प्रतिक्रिया देखाए? उत्पत्ति ३७:३४, ३५ मा हामी यस्तो लेखिएको पाउँछौं: “याकूबले आफ्नो लुगा च्याते, र तिनले आफ्नो कम्मरमा भाङ्रा लाएर आफ्नो छोराको निम्ति धेरै दिनसम्म शोक गरे। तिनका सबै छोराहरू र छोरीले तिनलाई सान्त्वना दिने प्रयत्न गरे, तर तिनलाई शान्ति भएन। तिनले भने, ‘अहँ, यो मेरो शोकमानै म मेरो छोराकहाँ चिहानमा जानेछु।’ यसरी तिनका बाबुले तिनका निम्ति बिलौना गरे।” हो, आफ्नो प्रिय जनको मृत्यु हुँदा शोक प्रकट गर्नु मानवीय र स्वाभाविक कुरा हो।
८. हिब्रूहरूले आफ्नो शोक प्रायः कसरी व्यक्त गर्थे?
८ कसै कसैले सोच्लान्, आधुनिक वा स्थानीय परम्परालाई विचार गर्दा के याकूबको प्रतिक्रिया बनावटी वा अति नाटकीय देखिंदैन र? तर याकूबको जमाना र संस्कृति अर्कै थियो। तिनले त्यसरी कम्मरमा भाङ्रा बेरेर शोक व्यक्त गर्नु, उपरोक्त चलनबारे बाइबलमा उल्लिखित प्रथम घटना हो। तथापि, हिब्रू शास्त्रमा वर्णन गरिएझैं ठूल-ठूलो स्वरले चिच्याएर, विलापका गीतहरू गाएर अनि खरानी दलेर पनि शोक गरिन्थ्यो। शोक व्यक्त गर्न हिब्रूहरू आफ्ना साँचो अनुभूतिहरू लुकाउँदैनन्थे भनेर प्रमाणहरूबाट स्पष्ट देखिन्छ।a—इजकिएल २७:३०-३२; आमोस ८:१०.
येशूको समयमा शोक
९, १०. (क) लाजरसको मृत्यु हुँदा येशूले कस्तो प्रतिक्रिया व्यक्त गर्नुभयो? (ख) येशूको प्रतिक्रियाले उहाँबारे के बताउँछ?
९ येशूका प्रारम्भिक चेलाहरूबारे हामी के भन्नसक्छौं? उदाहरणको लागि, लाजरसको मृत्यु हुँदा तिनकी दिदी मार्था र मरियमले आँसु अनि रोदनले शोक व्यक्त गरे। सिद्ध पुरुष, येशू तिनीहरूको घरमा आइपुग्नु हुँदा उहाँले कस्तो प्रतिक्रिया देखाउनुभयो? यूहन्नाको विवरणले यसो भन्छ: “जब मरियम येशू हुनुभएको ठाउँमा आइन्, तब उहाँलाई देखेर तिनी उहाँका पाउमा यसो भन्दै परिन्, ‘हे प्रभु, तपाईं यहाँ हुनुहुँदो हो ता मेरो भाइ मर्ने थिएन।’ यसकारण जब येशूले त्यसलाई रोइरहेकी र तिनीसित आउने यहूदीहरूलाई पनि रोइरहेका देख्नुभयो, तब उहाँ आत्मामा अति विचलित भएर दुःखित हुनुभयो। अनि भन्नुभयो, ‘तिमीहरूले तिनलाई कहाँ राखेका छौ?’ तिनीहरूले उहाँलाई भने, ‘प्रभु, आएर हेर्नुहोस्।’ येशू रुनुभयो।”—यूहन्ना ११:३२-३५.
१० “येशू रुनुभयो।” यी थोरै शब्दहरूले येशूको मानवता, उहाँको अनुकम्पा, उहाँका अनुभूतिहरूबारे धेरै जानकारी दिन्छ। पुनरुत्थानको आशासित पूर्णतया जानकार हुँदाहुँदै पनि “येशू रुनुभयो।” (यूहन्ना ११:३५) प्रत्यक्षदर्शीहरूको विषयमा विवरण अगाडि यसो भन्छ: “हेर, उहाँले तिनलाई [लाजरस] कति माया गर्नुहुन्थ्यो।” आफ्नो मित्र गुमाउनुपर्दा सिद्ध पुरुष येशू रुनुभयो भने, आज कुनै पुरुष वा स्त्रीले शोक गर्नु अनि रुनु अवश्य लाजमर्दो कुरा होइन।—यूहन्ना ११:३६.
मृत मानिसहरूका लागि के आशा?
११. (क) शोकसम्बन्धी बाइबलका उदाहरणहरूबाट हामी के सिक्नसक्छौं? (ख) आशा नहुने मानिसहरूले जस्तो शोक हामी किन गर्दैनौं?
११ बाइबलका यी उदाहरणहरूबाट हामी के सिक्नसक्छौं? शोक गर्नु मानवीय र स्वाभाविक कुरा हो र आफ्नो शोक प्रकट गर्न लजाउनु हुँदैन। पुनरुत्थानको आशाले मृत्युको पीडालाई केही हलका बनाएको भए तापनि प्रिय जनको मृत्यु अझै पनि गहिरो आघात पुऱ्याउने नोक्सानी हो। वर्षको के कुरा, शायद दशकौंदेखिको घनिष्ठ संगति र आपसी अनुभव मृत्युले गर्दा एक्कासि दुःखलाग्दो ढंगमा अन्त हुन्छ। हो, आशा नहुने वा झूटो आशा हुनेहरूजस्तो हामी शोक गर्दैनौं। (१ थिस्सलोनिकी ४:१३) साथै, मानिसको आत्मा अमर छ वा पुनर्जन्म हुन्छ भन्ने जस्ता कुनै मिथ्याहरूको भ्रममा पनि पर्दैनौं। यहोवाले ‘धार्मिकता बास गर्ने नयाँ स्वर्ग र नयाँ पृथ्वीको’ प्रतिज्ञा गर्नुभएको छ भनी हामीलाई थाह छ। (२ पत्रुस ३:१३) परमेश्वरले “[हाम्रो] आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।”—प्रकाश २१:४.
१२. पावलले पुनरुत्थानमाथि विश्वास कसरी व्यक्त गरे?
१२ मरिसकेका मानिसहरूका लागि के आशा छ त?b हामीलाई सान्त्वना र आशा प्रदान गर्न मसीही लेखक पावल यो लेख्न उत्प्रेरित भए: “सबैभन्दा पछि नामेट हुने शत्रु, मृत्यु हो।” (१ कोरिन्थी १५:२६) द न्यु इंगलिस बाइबल यसो भन्छ: “पूर्णतया नाश गर्नुपर्ने अन्तिम शत्रु, मृत्यु हो।” पावल किन यति निश्चिन्त हुनसके? किनभने मृत्युबाट बिउँतनुभएको येशू ख्रीष्टद्वारा तिनको धर्म परिवर्तन भएको थियो र उहाँबाटै तिनी सिकाइएका थिए। (प्रेरित ९:३-१९) त्यसैकारण पावलले यसो भन्न सके: “मृत्यु एक जना मानिसबाट [आदम] भएको हुनाले मरेकाहरूको पुनरुत्थान पनि एकै जना मानिसबाट [येशू] भयो। किनकि जसरी आदममा सबै मर्दछन्, त्यसरीनै ख्रीष्टमा पनि सबै जीवित् हुनेछन्।”—१ कोरिन्थी १५:२१, २२.
१३. लाजरसको पुनरुत्थान हुँदा प्रत्यक्षदर्शीहरूले कस्तो प्रतिक्रिया देखाए?
१३ येशूको शिक्षाले भविष्यको लागि ठूलो सान्त्वना र आशा प्रदान गर्छ। उदाहरणको लागि, उहाँले लाजरसलाई के गर्नुभयो, त्यो विचार गर्नुहोस्। उहाँ लाजरसको चिहानमा जानुभयो जहाँ तिनलाई राखेको चार दिन भइसकेको थियो। उहाँले प्रार्थना गर्नुभयो र त्यसपछि “यी कुरा भनेर उहाँ ठूलो सोरले कराउनुभयो, ‘लाजरस, बाहिर निस्की आऊ।’ त्यो मरेको मान्छे हात खुट्टा बाँधिएको कात्रोसहित निस्की आयो। तिनको अनुहार रुमालले बेह्रिएको थियो। येशूले तिनीहरूलाई भन्नुभयो ‘तिनलाई फुकाइदेऊ, र जानदेऊ।’” मार्था र मरियम कति आश्चर्यचकित र खुशी भए होलान्, के तपाईं कल्पना गर्न सक्नुहुन्छ? यस्तो चमत्कार देख्दा छिमेकीहरू कति छक्क परे होलान्! नभन्दै अधिकांश प्रत्यक्षदर्शीहरूले येशूमाथि विश्वास गरे। तथापि, उहाँका धार्मिक शत्रुहरूले “उहाँलाई मार्ने मतो बाँधे।”—यूहन्ना ११:४१-५३.
१४. लाजरसको पुनरुत्थान कुन कुराको संकेत थियो?
१४ येशूले धेरै प्रत्यक्षदर्शीहरूसमक्ष सो अविस्मरणीय पुनरुत्थान गर्नुभएको थियो। यो घटना केही समयअघि उहाँले भविष्यवाणी गर्नुभएको भावी पुनरुत्थानको संकेत थियो। उहाँले यसो भन्नुभएको थियो: “यसमा अचम्म नमान, किनभने बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्नेछन्। औ भलो गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति, तर कुभलो गर्नेहरूचाहिं इन्साफको पुनरुत्थानको निम्ति निस्किआउनेछन्।”—यूहन्ना ५:२८, २९.
१५. पावल र हननियाले येशूको पुनरुत्थानको कस्तो प्रमाण पाए?
१५ प्रेरित पावल पुनरुत्थानमा विश्वास गर्थे जुन कुरा माथि उल्लेख भइसकेको छ। तर कुन आधारमा? पहिले शावल मसीहीहरूलाई सताउनमा कुख्यात थिए। विश्वासीहरूबीच तिनको नाउँ र प्रतिष्ठाले भय जगाउँथ्यो। आखिरमा, मसीही शहीद स्तिफनसलाई ढुंगा हानेर मार्न सहमति जनाउने के यही शावल थिएनन् र? (प्रेरित ८:१; ९:१, २, २६) यद्यपि, पुनरुत्थान हुनुभएको ख्रीष्टले दमीशकको बाटोमा शावललाई केही क्षण अन्धो तुल्याउनु भएर होशमा ल्याउनुभयो। त्यही बाटोमा शावलले आफूलाई यसरी सम्बोधन गरेको एउटा आवाज सुने: “‘हे शावल, हे शावल तिमी किन मेरो खेदो गर्दछौ?’” तिनले भने, ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ अनि उहाँले भन्नुभयो, ‘म येशू हुँ, जसको खेदो तिमी गर्छौ।’” त्यसपछि पुनरुत्थान हुनुभएको सोही ख्रीष्टले नै दमीशकमा बस्ने हननियालाई शावलले प्रार्थना गरिरहेको घरमा गएर तिनको दृष्टि फर्काइदिन निर्देशन दिनुभयो। यसप्रकार आफ्नो व्यक्तिगत अनुभवले गर्दा शावल र हननियासित पुनरुत्थानमाथि विश्वास गर्ने हर कारण थियो।—प्रेरित ९:४, ५, १०-१२.
१६, १७. (क) मानवभित्र हुने अमर आत्मासम्बन्धी युनानी धारणामा पावल विश्वास गर्दैनथे भनेर हामी कसरी भन्नसक्छौं? (ख) बाइबलले कस्तो बलियो आशा प्रदान गर्छ? (हिब्रू ६:१७-२०)
१६ यही शावल अर्थात् प्रेरित पावललाई सतावट भोग्ने मसीहीको हैसियतमा बडा हाकिम फेलिक्ससमक्ष हाजिर गराइँदा तिनले कस्तो जवाफ दिए, अब ध्यान दिनुहोस्। हामी प्रेरित २४:१५ मा यस्तो लेखिएको पाउँछौं: “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ भन्ने आशा परमेश्वरतर्फ राखेको छु।” स्पष्ट छ, मानवभित्र हुने अमर आत्मा कुनै काल्पनिक संसार वा पातालमा प्रवेश गर्छ भन्ने तथाकथित गैरमसीही युनानी धारणामा पावल विश्वास गर्दैनथे। तिनी पुनरुत्थानमा विश्वास गर्थे र गर्न सिकाउँथे। केही मानिसहरूको निम्ति त्यसको अर्थ आत्मिक प्राणीको रूपमा अमर जीवनको वरदान प्राप्त गरेर स्वर्गमा ख्रीष्टकहाँ जाने हुनेथियो भने बहुसंख्यक मानिसहरूका निम्ति सिद्ध पृथ्वीमा पुनः जीवन प्राप्त गर्नु हुनेथियो।—लूका २३:४३; १ कोरिन्थी १५:२०-२२, ५३, ५४; प्रकाश ७:४, ९, १७; १४:१, ३.
१७ यसप्रकार यसै पृथ्वीमा तर एकदम भिन्न परिस्थितिमा थुप्रै मानिसहरूले पुनरुत्थानद्वारा आफ्ना मृत प्रिय जनहरूलाई फेरि एकपल्ट भेट्नेछन् भनेर बाइबलले हामीलाई सुस्पष्ट प्रतिज्ञा गर्नुका साथै बलियो आशा प्रदान गर्छ।—२ पत्रुस ३:१३; प्रकाश २१:१-४.
शोकाकुल मानिसहरूका लागि व्यवहारिक मदत
१८. (क) “ईश्वरीय भय” अधिवेशनहरूमा कस्तो मदतकारी साधन विमोचन गरियो? (पेटी हेर्नुहोस्।) (ख) अब कुन प्रश्नहरूका जवाफ दिनु आवश्यक छन्?
१८ तर त्यतिञ्जेल हामीसित आफ्ना मृत प्रिय जनहरूको सम्झना र पीडा भई नै रहन्छ। परीक्षासमान यस्तो शोकाकुल अवधिबाट हामी कसरी उम्कनसक्छौं? शोकाकुल मानिसहरूलाई मदत दिन अरूले के गर्नसक्छन्? यसबाहेक, क्षेत्र सेवकाईमा हामीले भेट्ने साँचो आशारहित र शोकाकुल निष्कपट मानिसहरूलाई मदत गर्न के गर्नसक्छौं? मृत्युको चिरनिद्रामा परेका हाम्रा प्रिय जनहरूबारे बाइबलमा कस्ता थप सान्त्वनाहरू पाउनसक्छौं? आउँदो लेखले केही सुझावहरू प्रदान गर्नेछ।
[फुटनोटहरू]
a बाइबलकालीन शोकबारे अधिक जानकारीका लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ न्यु योर्क, इन्कद्वारा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स (शास्त्रमाथि अन्तरदृष्टि), खण्ड २, पृष्ठ ४४६-७ हेर्नुहोस्।
b बाइबलमा दिइएको पुनरुत्थानको आशाबारे अधिक जानकारीका लागि इन्साइट अन द स्क्रिप्चर्स (शास्त्रमाथि अन्तरदृष्टि), खण्ड २, पृष्ठ ७८३-९३ हेर्नुहोस्।
के तपाईं जवाफ दिन सक्नुहुन्छ?
◻ मृत्यु हाम्रो शत्रु हो भनेर किन भन्न सकिन्छ?
◻ बाइबलकालीन परमेश्वरका सेवकहरूले शोक कसरी व्यक्त गर्थे?
◻ मृत प्रिय जनहरूका लागि के आशा छ?
◻ पावलसित पुनरुत्थानमाथि विश्वास गर्ने कस्तो आधार थियो?
[पृष्ठ ८ र ९-मा भएको पेटी]
शोकाकुल मानिसको निम्ति व्यवहारिक सल्लाह
सन् १९९४-९५ को दौडान “ईश्वरीय भय” अधिवेशनहरूमा वाच टावर सोसाइटीले ह्वेन समवान यु लभ डाइज (तपाईंको प्रिय जनको मृत्यु हुँदा) नामक नयाँ पुस्तिका विमोचनको घोषणा गरेको थियो। सबै राष्ट्र र भाषाहरूका मानिसहरूलाई सान्त्वना प्रदान गर्न यो प्रोत्साहनजनक प्रकाशन तयार पारिएको हो। तपाईंले थाह पाइसक्नुभयो होला, यस पुस्तिकाले मृत्यु र मृतकहरूको अवस्थाबारे बाइबलले दिने सरल स्पष्टीकरण प्रस्तुत गर्छ। अझ महत्त्वपूर्ण कुरा के हो भने, सफा पारिएको पृथ्वीमा ख्रीष्टद्वारा पुनरुत्थान गराउने परमेश्वरको प्रतिज्ञामाथि यसले प्रकाश पार्छ। यसले शोकाकुलहरूलाई साँच्चै नै सान्त्वना प्रदान गर्छ। तसर्थ, यो पुस्तिका मसीही सेवकाईमा चलाउन, मानिसहरूको चासो जगाउन र थुप्रै गृह बाइबल अध्ययनहरू सञ्चालन गर्न मदतकारी हुनुपर्ने हो। निष्कपट, शोकाकुल मानिसहरूसँग छलफल गरिएका बुँदाहरू सजिलै पुनरावृत्ति गर्न सकियोस् भनेर हरेक भागको अन्तमा पेटी दिइएको छ र त्यसमा अध्ययनका लागि बुद्धिमानीपूर्वक प्रश्नहरू राखिएका छन्।
[पृष्ठ ८-मा भएको चित्र]
लाजरसको मृत्यु हुँदा येशू रुनुभयो
[पृष्ठ ९-मा भएको चित्र]
येशूले लाजरसलाई मृत्युबाट बिउँताउनुभयो
[पृष्ठ ७-मा भएको चित्रको स्रोत]
First Mourning, by W. Bouguereau, from original glass plate in Photo-Drama of Creation, 1914