धीरज किन यति दुर्लभ?
एमिल्यो ६० वर्ष पुगिसकेका थिए।a उनी हवाइ द्वीपमा एउटा दुःखद उद्देश्य पूरा गर्न अर्थात् आफ्नो वयस्क छोरालाई गाड्न आएका थिए। एमिल्यो आफ्ना केही साथीहरूसँग सुनसान पहाडी बाटोमा हिंडिरहँदा छेउको गल्लीबाट मूल सडकमा एउटा गाडी बेतोडले आउँदा उनी झस्किए। उनलाई त्यस गाडीले झन्डै किचेको थियो। त्यसकारण एमिल्यो रिसाए र अधीर भएर गाडी चालकसित कराए अनि गाडीलाई हातले हिर्काए। त्यसपछि भनाभन हुन थाल्यो। अन्ततः चालकले एमिल्योलाई घचेटेजस्तो छ। उनी लडे र पक्की सडकमा उनको टाउको बज्रिन पुग्यो। एमिल्योको टाउकोमा चोट लागेकोले केही दिनपछि उनको मृत्यु भयो। कस्तो दुःखदायी परिणाम!
हामी बाँचिरहेको संसारमा धीरज दुर्लभ छ। धेरै चालकहरू बेतोडले गाडी हाँक्छन्। अरूहरू बेतोडले कुदिरहेको गाडीको पछाडि ठोकिएलाजस्तो गरी कुदाउँछन्। यद्यपि अरू भने अर्को गाडीपछि कुरेर बस्ने धैर्य नभएकोले एउटा पंक्तिबाट अर्को पंक्तिमा जान्छन्। घरमा परिवारका सदस्यहरू रिसले तिरमिराएर हिंस्रक व्यवहार गर्छन्। आफ्ना आध्यात्मिक भाइहरूको त्रुटि वा गल्तीले गर्दा केही मसीहीहरूसमेत साह्रै दिक्क हुनसक्छन्।
धीरज किन यति दुर्लभ भएको? के यो सधैं यस्तै थियो? हाम्रो समयमा धीरजी हुन किन यस्तो गाह्रो छ?
अधैर्यताका उदाहरणहरू
कुनै गम्भीर निर्णय गर्नुअघि आफ्नो पतिको सल्लाह लिन नपर्खेकी स्त्रीबारे बाइबलले बताउँछ। उनको नाउँ हव्वा थियो। शायद अधैर्यताको कारण हव्वाले आदमलाई नसोधी निषेधित फल खाएकी थिइन्। (उत्पत्ति ३:१-६) उनको पति नि? मदत वा डोऱ्याइको लागि आफ्नो स्वर्गमा हुनुहुने पिता, यहोवाको सल्लाह नमागिकन हव्वा सँगसँगै पाप गर्न संलग्न भएर आदमले पनि अधैर्यता व्यक्त गरेको हुनसक्छ। लोभ र सम्भवतः अधैर्यताले गर्दा तिनीहरूले पाप गरे अनि त्यसको परिणाम हामी सबैको निम्ति घातक साबित भयो। तिनीहरूबाट हामीले पनि पापी झुकावलगायत अहंकार र अधैर्यता प्राप्त गऱ्यौं।—रोमी ५:१२.
हाम्रा प्रथम माता-पिताले पाप गरेको करीब २,५०० वर्षपछि परमेश्वरको छानिएका जन, इस्राएलीहरूले गहिरो विश्वास तथा धीरजको अभाव देखाए। यहोवाले तिनीहरूलाई मिश्रको दासत्वबाट चमत्कारपूर्ण ढंगमा भर्खरै छुटाउनुभएको थियो तर तिनीहरूले “तुरुन्तै उहाँका कार्यहरू बिर्सिहाले” र “उहाँको सल्लाहलाई उनीहरूले पर्खेनन्।” (भजन १०६:७-१४) तिनीहरूले बारम्बार गम्भीर पाप गरे किनभने तिनीहरू धीरजी थिएनन्। तिनीहरूले सुनको बाछो बनाएर त्यसको पूजा गरे; यहोवाले तिनीहरूको लागि उपलब्ध गर्नुभएको मन्नबारे गनगन गरे; र साथै धेरैले यहोवाको ईश्वर नियुक्त प्रतिनिधि, मोशाको समेत विरोध गरे। साँच्चै, तिनीहरूको अधैर्यताले गर्दा शोक र विपत्ति ल्यायो।
इस्राएलका प्रथम मानव राजा, शाऊलले आफ्ना छोराहरू शाही उत्तराधिकारी हुनसक्ने अवसर गुमाए। किन? किनभने उनले अगमवक्ता शमूएललाई पर्खेनन् जसले यहोवासमक्ष होमबलि चढाउनुपर्थ्यो। मानिसहरूको डरले गर्दा शाऊलले शमूएललाई नपर्खिकन होमबलि चढाए। शाऊलले त्यस विधि सम्पन्न मात्र के गरेका थिए, शमूएल आइपुगे। त्यतिबेला शाऊललाई कस्तो भयो होला, कल्पना गर्नुहोस् त! एकछिन मात्र पर्खेको भए पनि त हुन्थ्यो!—१ शमूएल १३:६-१४.
हव्वाले पनि त्यस फल हतपत खानुको साटो आदमलाई पर्खेकी भए! इस्राएलीहरूले यहोवाको सल्लाह लिन पर्खेका भए! साँच्चै, धीरजले उनीहरूलगायत हामीलाई शोक अनि पीडाबाट मुक्त हुन मदत दिन्थ्यो होला।
अधैर्यताका कारणहरू
आज अधैर्यताको मुख्य कारण बुझ्न बाइबलले हामीलाई मदत दिन्छ। हामी बाँचिरहेको समय “डरलाग्दो” हुनेछ भनेर २ तिमोथी अध्याय ३ ले वर्णन गरेको छ। त्यहाँ भनिएको छ, मानिसहरू “स्वार्थी, धनका लोभी, अहंकारी, हठी . . . असंयमी, निष्ठूर, असल नरूचाउने” हुनेछन्। (पद २, ३) त्यस्तो लोभी र स्वार्थी मनोवृत्ति धेरै मानिसहरूको मन अनि हृदयमा पाइन्छ जसले गर्दा सबै मानिसहरूलगायत साँचो मसीहीहरूलाई समेत धीरजी हुन गाह्रो बनाउँछ। सांसारिक मानिसहरूले बेतोडसित गाडी हाँकिरहेको वा अरूको अगाडि जान लाइनमा ठेलमठेल गरिरहेको वा हामीलाई अपमानजनक ढंगमा गाली गरिरहेको देख्दा हाम्रो धीरजको कठिन जाँच हुनसक्छ। हामी पनि उनीहरूको अनुकरण गर्न वा बदला लिन लोभिनसक्छौं र यसो गर्दा उनीहरूको जस्तै स्वार्थपूर्ण अहंकार प्रकट गरिरहेका हुन्छौं।
कहिलेकाहीं आफ्नै गलत निष्कर्षले गर्दा हामी धैर्य गुमाउँछौं। बुद्धिमान राजा सुलेमानले चित्रण गरेअनुसार हतपत गलत तर्क गर्नु र अधैर्य रिसाहा व्यवहारबीचको सम्बन्धलाई ध्यान दिनुहोस्: “धीरजी हुनु अहंकारी हुनुभन्दा असल हो। रीस देखाउन छिटो नगर्, किनभने रीस मूर्खको मनमा हुन्छ।” (उपदेशक ७:८, ९) कुनै कदम उठाउनुअघि त्यस परिस्थितिबारे पूर्ण, सही जानकारी लिन समय निकाल्यौं भने, हामीहरू शायद अरूप्रति समझदार, सहानुभूतिशील र बढी धीरजी हुनसक्छौं। अर्कोतिर, अहंकारी, स्वार्थी आत्माले गर्दा हामी पनि मोशालाई दुःख दिएर गनगन गर्ने ढिट इस्राएलीहरूजस्तै संकीर्ण, अधीर र छुच्चो हुनसक्छौं।—गन्ती २०:२-५, १०.
यस संसारमा धीरजको अभाव हुनुको अर्को कारण यहोवाबाट अलग्गिनाले व्याप्त आशाविहीन परिस्थिति हो। दाऊदले यहोवामा आशा गर्नुपर्ने आवश्यकतालाई यसरी व्यक्त गरे: “ए मेरो आत्मा, तँचाहिं केवल परमेश्वरको बाटो हेरिरह, किनकि मेरो आशा उहाँमै छ।” (भजन ६२:५) यहोवालाई नचिन्ने धेरै मानिसहरूको विचारधारा सीमित र धमिलो भएकोले तिनीहरू आफू मर्नुअघि यथासम्भव सुखविलास र फाइदा उठाउन खोज्छन्। तिनीहरूको आत्मिक पिता, शैतान अर्थात् दियाबलजस्तै आफ्ना कार्यहरूले अरूको चित्त दुखोस् नदुखोस्, तिनीहरू कुनै पर्वाह गर्दैनन्।—यूहन्ना ८:४४; १ यूहन्ना ५:१९.
आज धीरज दुर्लभ भएकोमा आश्चर्यचकित हुनुपर्ने कुनै कारण छैन। यस दुष्ट, स्वार्थी रीतिरिवाज, यसको देव शैतान र हाम्रो पतित शरीरको पापी झुकावहरूले गर्दा सबै मानिसहरूलगायत निष्कपट मानिसहरूलाई समेत धीरजी हुन गाह्रो हुन्छ। यद्यपि बाइबलले हामीलाई विशेषगरि परमेश्वरको उद्देश्य पूर्तिको लागि “धैर्य धारण” गर्न आग्रह गर्छ। (याकूब ५:८) धीरज किन यति मूल्यवान् छ? यसले हामीलाई कस्ता इनामहरू ल्याउनसक्छ?
धीरज—किन यति मूल्यवान्
“धैर्य धारण गर्ने र सेवा गर्ने सुअवसरको निम्ति पर्खनेहरू मात्र धीरजी हुन्छन्।” ती शब्दहरू लगभग तीन सय वर्षअघि अंग्रेज कवि जोन मिल्टनले “अन हिज ब्लाइन्डनेस्” (उनको अन्धोपन) शीर्षक कवितामा व्यक्त गरे। उनले कविताको सुरुतिर आफू ४० वर्षको उमेरमा अन्धो भएको हुँदा परमेश्वरलाई पूर्ण सेवा चढाउन नसकेकोमा निराशा र चिन्ता व्यक्त गरे। तर माथि उल्लिखित उनको कविताको अन्तिम वाक्यांशबाट के प्रतिबिम्बित हुन्छ भने धैर्यतापूर्वक संकष्ट सहँदै सेवाका उपलब्ध अवसरहरू शान्तपूर्वक खोजेर परमेश्वरको उपासना गर्न सकिन्छ भनेर उनले स्पष्टसित बुझे। मिल्टनले धैर्यपूर्वक परमेश्वरमा भर पर्नुको महत्त्व बुझे।
हामीमध्ये धेरैको दृष्टि राम्रै होला तर हामी सबैका सीमाहरू छन् जसले गर्दा हामी रिसाउन वा चिन्तित हुनसक्छौं। हामीले कसरी धीरज प्राप्त गरेर त्यसको अभ्यास गर्नसक्छौं?
प्रोत्साहनजनक उदाहरणहरू
हामीलाई बाइबलले धीरजको थुप्रै असल उदाहरणहरू प्रदान गर्छ। यहोवाको धीरजले करोडौं मानिसहरूको निम्ति अनन्त जीवन सम्भव पारेको छ। (२ पत्रुस ३:९, १५) येशूले उहाँको जुवा बोकेर “आत्मामा विश्राम” पाउन हामीलाई निमन्त्रणा दिनुहुँदा सिद्ध रूपमा आफ्नो पिताको अद्भुत धीरज प्रतिबिम्बित गर्नुहुन्छ। (मत्ती ११:२८-३०) यहोवा र येशूका उदाहरणहरू मनन गर्दा हामीले धीरजी हुने मदत पाउनसक्छौं।
याकूबको छोरा यूसुफसँग रिसाउने, कटु महसुस गर्ने वा बदला लिने यथेष्ट कारणहरू थिए। तिनका दाइहरूले तिनीसित असाध्यै अन्यायपूर्ण व्यवहार गरेर मार्ने षड्यन्त्र रचेर अन्ततः दासत्वमा बेचेका थिए। तिनले मिश्रमा पोतीफरको सेवा इमान्दार र वफादारपूर्वक गरे तापनि अन्यायपूर्ण आरोपमा तिनी थुनिए। शायद यस्ता जाँचहरूद्वारा यहोवाको उद्देश्य पूरा गर्न मदत मिल्नेछ भन्ने बुझेर होला, तिनले आफ्ना सारा संकष्टहरू धैर्यपूर्वक सहे। (उत्पत्ति ४५:५) यूसुफले यहोवामा विश्वास तथा आशाको साथसाथै नम्रता र समझ विकास गरेकोले साह्रै कठिन परिस्थितिहरूमा समेत तिनी धीरजी हुन सके।
अर्को महत्त्वपूर्ण सहायक यहोवाको पवित्र आत्मा हो। उदाहरणको लागि, हामी झट्टै रिसाउँछौं वा अरूलाई छेडपेच गर्छौं भने, पवित्र आत्माको फल फलाउन त्यसको मदतको लागि प्रार्थना गर्नसक्छौं। सहनशीलता र आत्मसंयमजस्ता पवित्र आत्माको हरेक फलहरू मनन गर्दा ती सबै धीरजसित कसरी सम्बन्धित छन् भनेर बुझ्न मदत पाउनेछौं।—गलाती ५:२२, २३.
धीरजका इनामहरू
हामी धीरजी हुँदा निकै लाभहरू पाउँछौं। यसले हाम्रो चरित्रलाई सुदृढ पार्छ र हामीलाई हतपत मूर्ख कार्यहरू गर्नबाट जोगाउँछ। हामीमध्ये कसले पो कठिन वा तनावपूर्ण परिस्थितिहरूमा हतपत प्रत्युत्तर दिंदा दुःखदायी गल्तीहरू गरेका छैनौं र? हामीले रूखो व्यवहार वा अप्रिय कुराहरू भनेका हुनसक्छौं। तिललाई पहाड बनाएर आफ्नो प्रिय जनसित चर्को भनाभन गरेका हुनसक्छौं। रिस, निराशा र भावनात्मक पीडा महसुस गरेपछि हामीले आत्मग्लानी महसुस गर्दै मनमनै यसो भनेका हुनसक्छौं: ‘म अलिकति मात्र धीरजी भएको भए पनि त हुन्थ्यो नि।’ धीरजी हुँदा हामी सबैप्रकारका शोकबाट बच्नसक्छौं। यही तथ्यले मात्र पनि हाम्रो जीवनमा अझ बढी शान्ति, स्थिरता र सन्तुष्टि ल्याउनसक्छ।—फिलिप्पी ४:५-७.
धीरजी हुनाले हामीहरूलाई शान्त र विश्वासी हृदय राख्न मदत दिनसक्छ। यसले गर्दा हामी शारीरिक, भावनात्मक र आध्यात्मिक तवरमा उत्तम स्वास्थ्यको आनन्द उठाउनसक्छौं। (हितोपदेश १४:३०) अनियन्त्रित रिसले गर्दा भावनात्मक तथा शारीरिक तवरमा गम्भीर बिमारी र मृत्यु हुनसक्छ। अर्कोतिर, धीरजी हुँदा अरू र विशेषगरि हाम्रा आध्यात्मिक भाइहरू तथा परिवारका सदस्यहरूप्रति सकारात्मक मनोवृत्ति राख्नसक्छौं। त्यसो गर्दा हामी झोंक्की वा आलोचनात्मक हुनुको साटो अरूको ख्याल राख्न र सहयोग गर्न प्रवृत्त हुनेछौं। फलस्वरूप, अरूलाई हामीसित संगत गर्न सजिलो तथा आनन्ददायी लाग्नेछ।
मसीही मण्डलीमा विशेषगरि प्राचीनहरू धीरजी हुनुपर्छ। कहिलेकाहीं संगी मसीहीहरू गम्भीर समस्याहरू लिएर तिनीहरूकहाँ आउनसक्छन्। यी निष्कपट मानिसहरू अन्योलमा परेका, दिक्क वा निराश भएका हुनसक्छन्। प्राचीनहरू आफ्नै व्यक्तिगत वा पारिवारिक समस्याहरूले गर्दा स्वयम् थाकेका वा अलमलिएका हुनसक्छन्। यद्यपि, यस्ता कठिन परिस्थितिहरूमा प्राचीनहरू धीरजी हुनु कति महत्त्वपूर्ण छ! यसप्रकार तिनीहरू ‘नम्रसँग सच्याउन’ र “बगाललाई कोमलतापूर्वक व्यवहार गर्न” सक्छन्। (२ तिमोथी २:२४, २५; प्रेरित २०:२८, २९, न्युव) बहुमूल्य जीवनहरू खतरामा छन्। दयालु, मायालु र धीरजी प्राचीनहरू मण्डलीको लागि साँच्चै कति ठूलो आशिष् हुन्!
परिवारका शिरहरूले आफ्नो परिवारसित धीरज, समझदारी तथा दयापूर्वक व्यवहार गर्नुपर्छ। आफ्ना परिवारका सदस्यहरूले पनि यस्तै गुनहरू अभ्यास गरेको आशा गर्नुपर्छ र त्यसो गर्न प्रोत्साहन दिनुपर्छ। (मत्ती ७:१२) यसले घरमा प्रेम र शान्ति राख्न निकै योगदान पुऱ्याउनेछ।
क्षेत्र सेवकाईमा भाग लिंदा मसीही सेवकहरू धीरजी भएमा सेवकाईबाट पूर्ण लाभ उठाउन सकिनेछ। उनीहरू आफूले सामना गर्ने भावशून्यता र सतावटहरू सहन बढी सक्षम हुनेछन्। रिसाहा घरधनीसित वादविवाद गर्नुको साटो शान्ति र आनन्द कायम गर्दै धीरजी सेवकहरू शान्तपूर्वक जवाफ दिन वा चुपचाप त्यहाँबाट निस्कन सक्नेछन्। (मत्ती १०:१२, १३) यसबाहेक, मसीहीहरूले सबैसित धीरजी र दयालु व्यवहार गर्दा भेडाखाले मानिसहरू राज्य समाचारप्रति आकर्षित हुन्छन्। विश्वव्यापी रूपमा धीरजी भएर गरेका प्रयासहरूमाथि यहोवाले आशिष् दिनुभएको छ किनकि सत्य खोजी गर्ने लाखौं मानिसहरू यहोवाको मायालु मण्डलीमा हरेक वर्ष ओइरिन्छन्।
साँच्चै, धैर्य धारण गर्दा राम्रा इनामहरू प्राप्त हुनेछन्। हतार गर्दा वा जिब्रोलाई बेलगाम चलाउँदा हुने थुप्रै समस्या र दुर्घटनाहरूबाट जोगिनेछौं। हामी खुशी, शान्त र सम्भवतः स्वस्थ पनि हुनेछौं। हामीले सेवकाई, मण्डली र घरमा बढी आनन्द महसुस गर्नेछौं। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीले परमेश्वरसित नजीकको सम्बन्धको आनन्द उठाउनेछौं। त्यसैकारण यहोवामा भर गर्नुहोस्। धीरजी हुनुहोस्!
[फुटनोट]
a नाउँ परिवर्तन गरिएको छ।
[पृष्ठ १०-मा भएको चित्र]
दैनिक जीवनमा तपाईं कतिको धीरजी हुनुहुन्छ?