एक्ली तर नत्यागिएकी
आडा लुइसको वृतान्तमा आधारित
म पहिलेदेखि स्वाधीन विचारकी थिएँ। म साह्रै अक्कड पनि थिएँ। कहिलेकाहीं मानिसहरू मेरो यो स्वभावलाई जिद्दीपन भन्थे। म ठाड-ठाडो कुरा गर्थें र मेरो यो स्वभावले गर्दा वर्षौंसम्म पनि समस्याहरू आइरहन्थे।
यद्यपि, म यहोवाप्रति कृतज्ञ छुँ, किनभने मेरा यी कमजोरीहरूको बावजूद उहाँले मलाई इन्कार गर्नुभएन। उहाँको वचन अध्ययन गरेर मैले आफ्नो व्यक्तित्व परिवर्तन गर्न सकें। फलस्वरूप झन्डै ६० वर्षसम्म उहाँका राज्यसम्बन्धी कामकुराहरूमा लाग्न सकें। बाल्यकालदेखि मलाई घोडाहरू असाध्यै मन पर्थ्यो। अनि मेरो एक किसिमको जिद्दीपनलाई नियन्त्रण गर्न परमेश्वरले मलाई दिनुभएको मदत सम्झँदा प्रायः घोडालाई लगामले कसरी नियन्त्रण गर्छ, त्यो सम्झन्छु।
मेरो जन्म दक्षिण अस्ट्रेलियाको गाम्बिएर पर्वतस्थित सुन्दर निलो ताल नजीकै सन् १९०८ मा भएको थियो। मेरा आमा-बाबुको दुग्धशाला थियो र म आठ जना छोरा-छोरीहरूमध्ये जेठी छोरी थिएँ। हामी सानै छँदा बुबाको मृत्यु भयो। फलस्वरूप दुग्धशाला चलाउने सम्पूर्ण जिम्मेवारी मेरो काँधमा आइपऱ्यो किनभने मेरा दुइ जना दाइहरू परिवार चलाउन बाहिर अन्तै काम गर्नुहुन्थ्यो। दुग्धशालामा जीवन बिताउनु सजिलो थिएन र साह्रै मेहनत गर्नुपर्थ्यो।
बाइबल सच्चाइसित पहिलो सम्पर्क
हाम्रो परिवार प्रेस्बाइटरियन चर्च धाउँथ्यो र हामी चर्चका नियमित सदस्यहरू थियौं। म आइतबारका दिन सञ्चालन गरिने धार्मिक पाठशालाको शिक्षिका पनि थिएँ र आफूलाई आध्यात्मिक र नैतिक तवरले सत्य लागेका कुराहरू केटा-केटीहरूलाई सिकाउने जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन्थें।
सन् १९३१ मा मेरो बाजेको मृत्यु भयो। उहाँका सम्पत्तिहरूमा वाच टावर सोसाइटीका तत्कालीन अध्यक्ष, जे. एफ. रदरफर्डद्वारा लिखित केही पुस्तकहरू थिए। मैले द हार्प अफ गड (परमेश्वरको वीणा) र क्रिएसन (सृष्टि) पुस्तकहरू पढ्न थालें। जति पढ्दै गएँ, त्यति नै आश्चर्यचकित हुँदै गएँ। किनभने मैले विश्वास गरेका र केटा-केटीहरूलाई सिकाइरहेका थुप्रै कुराहरूलाई बाइबलले समर्थन नगर्दो रहेछ।
मानव आत्मा अमर हुँदैन, मरेपछि धेरैजसो मानिसहरू स्वर्ग जाँदैनन् र दुष्ट मानिसहरूलाई नरककुण्डमा अनन्त कालसम्म सताइँदैन भनेर थाह पाउँदा म चित परें। अनि आइतबारका दिन मनाइने विश्राम दिन मसीहीहरूले मान्नुपर्ने रहेनछ भनेर थाह पाउँदा पनि त्यतिकै विचलित भएँ। यी कुरा जानेपछि मैले एउटा गम्भीर निर्णयको सामना गर्नुपऱ्यो। र त्यो थियो, मसीहीजगतका परम्परागत शिक्षाहरूमै लागिरहने वा बाइबलको सच्चाइ सिकाउन थाल्ने। चाँडै नै मैले प्रेस्बाइटरियन चर्चसँग सबै सम्बन्ध विच्छेद गरें।
अब चाहिं साँच्चै नै एक्ली
मैले चर्च छोड्ने र आइतबारे पाठशालामा नपढाउने इच्छा सुनाउँदा मेरो परिवार, मित्र र चर्चका पुराना परिचितहरू खुशी भएनन्। अनि म तथाकथित जज [न्यायाधीश] रदरफर्डका मानिसहरूसँग संगत गर्न थालेको कुरा सुन्दा त आगोमा घिउ थपे बराबर भयो। मानिसहरूले झन् मेरो कुरा काट्न थाले। तिनीहरूले मलाई समाजबाट बहिष्कार त गरेनन् तैपनि मेरा धेरैजसो नातेदार र पुराना मित्रहरू मसित भावशून्य व्यवहार गर्थे भन्नु चाहिं अत्युक्ति नहोला।
अध्ययन गर्दै अनि आफूले पढिरहेका पुस्तकहरूमा दिइएका शास्त्रपदहरूलाई जाँच्दै जाँदा जनसमक्ष प्रचार गर्नुपर्ने आवश्यकता झन् झन् बुझ्न थालें। यहोवाका साक्षीहरू घर-घर गएर आम-सेवकाई गर्छन् भनेर पनि मैले थाह पाएँ। तर त्यतिबेला हाम्रो क्षेत्रमा कोही साक्षीहरू थिएनन्। तसर्थ, परमेश्वरको राज्यको सुसमाचार कसरी प्रचार गर्ने भनेर कसैले मलाई प्रोत्साहन पनि दिएन र सिकाउँदा पनि सिकाएन। (मत्ती २४:१४) म एकदम एक्ली महसुस गर्थें।
तर त्यसो भए तापनि, अरूलाई प्रचार गर्नू भनी बाइबलले दिएको आज्ञा मेरो कानमा गुञ्जिनै रह्यो। अतः जसरी भए पनि मैले प्रचार गर्नैपर्छ भनी निर्णय गरें। निकै चोटि प्रार्थना गरिसकेपछि मैले छिमेकीहरूको घर जाने अनि आफूले अध्ययनद्वारा सिकेका कुरा बताउने र ती कुराहरू तिनीहरूको आफ्नै बाइबलबाट देखाउने निर्णय गरें। मैले प्रचार गरेको पहिलो घर, पहिले मैले पढाउने गरेको आइतबारे पाठशालाका सुपरिवेक्षकको थियो। तिनको चिसो व्यवहार र मैले चर्च त्यागेकोमा तिनले बोलेका नकारात्मक कुराहरूले गर्दा निस्सन्देह मेरो सुरुआत निरुत्साहजनक नै भयो। तर तिनको घरबाट निस्केर अरू घरहरूमा प्रचार गर्दा मैले न्यानो अनुभूति र एउटा नौलो शक्ति महसुस गरें।
पहिले मैले धाउने गरेको चर्चका मित्रहरूको घरमा जाँदा तिनीहरूले मेरो घोर विरोध त गरेनन् तैपनि तिनीहरूको उदासीनता देखेर म छक्क परें। झन् मेरो जेठो दाइले घोर विरोध गर्नुहुँदा म निकै आश्चर्यचकित अनि निरुत्साहित भएँ। तिनको यस्तो व्यवहारले मलाई येशूका यी शब्दहरू स्मरण गरायो: “तिमीहरू आफ्ना आमा-बाबुसमेत र दाज्यू-भाइहरू, नातेदारहरू र मित्रहरूबाट सुम्पिइनेछौ . . . औ मेरो नाउँको खातिर तिमीहरू सबै मानिसहरूबाट घृणित हुनेछौ।”—लूका २१:१६, १७.
कलिलो उमेरदेखि नै म घोडा चढ्न खप्पीस थिएँ। अतः मानिसहरूको घर-घरमा छिटो पुग्न मैले घोडा चढ्ने निर्णय गरें। र म टाढा-टाढा दुर्गम क्षेत्रहरूमा पुग्नसकें। तथापि, एक दिउँसोको कुरा हो, मेरो घोडा लरखराएर चिप्लो भुइँमा पछारिंदा मेरो खप्परमा नराम्रो चोट लाग्यो। केही समयसम्म त म बाँच्ने नबाँच्ने भन्नै नसकिने भइसकेको थियो। त्यसरी पछारेदेखि म बाटोहरू चिप्लो भएको वा भिजेको बेला घोडाको सट्टा टाँगा चढ्थें।a
संगठनसँग सम्पर्क
यो दुर्घटनाको केही समयपश्चात् अहिले अग्रगामी भनिने पूर्ण-समय प्रचारकहरूको एउटा समूहले गाम्बिएर पर्वत क्षेत्रको भ्रमण गऱ्यो। यसप्रकार पहिलो चोटि संगी विश्वासीहरूसित आमुन्नेसामुन्ने कुरा गर्न पाएँ। जानुअघि तिनीहरूले मलाई वाच टावर सोसाइटीको शाखा कार्यालयमा सम्पर्क राख्न र अझ व्यवस्थित तरिकाले जनप्रचार-कार्य कसरी गर्ने भनी सोधपुछ गर्न प्रोत्साहित गरे।
सोसाइटीसित पत्राचार गरेपछि मैले पुस्तकहरू, पुस्तिकाहरू अनि ढोकामा आफ्नो परिचय दिन चलाउने मुद्रित साक्षीपत्र पाएँ। शाखा कार्यालयसित पत्राचार गरेपछि मैले आफ्ना आध्यात्मिक भाइ-बहिनीहरूसित नजीक महसुस पनि गरें। तर अग्रगामीहरूको समूह अर्को शहरमा सर्दा पहिलेभन्दा झन् एक्ली महसुस गरें।
प्रायः टाँगा चढेर दिनहुँ प्रचार जानेहुँदा म आफ्नो क्षेत्र वरपर निकै चर्चित भएँ। प्रचार सँगसँगै मैले दुग्धशालालाई पनि राम्ररी चलाइरहेकी थिएँ। त्यसैकारण मेरो परिवारले मेरो विरोध गर्न छाडे र मलाई दखल दिने कोसिस गरेनन्। यसप्रकार चार वर्षसम्म एक्लै, बप्तिस्मा अप्राप्त सुसमाचार प्रचारकको रूपमा मैले सेवा गरें।
सम्मेलन र अन्ततः बप्तिस्मा पनि
सन् १९३८ अप्रिल महिनामा भाइ रदरफर्डले अस्ट्रेलिया भ्रमण गरे। पादरीहरूको चर्को विरोधले गर्दा सिड्नी टाउन हललाई भाडामा लिन पाइएन। तथापि, जसोतसो अन्तमा रंगशाला प्रयोग गर्ने अनुमति प्राप्त भयो। वास्तवमा यसरी जबरजस्ती पूर्वयोजनालाई परिवर्तन गर्नुपर्दा नतिजा फाइदाजनक नै भयो। किनभने ठूलो रंगशालामा झन् धेरै मानिसहरू अटाउन सक्थे। लगभग १२,००० उपस्थित भए। सम्भवतः पादरीहरूले हाम्रो सभाको विरोध गरेकाले धेरै मानिसहरूमा चासो बढेको हुनसक्छ।
भाइ रदरफर्डको भ्रमणको दौडान सिड्नी शहरको बाहिरी इलाकामा पनि केही दिनसम्म सम्मेलन चल्यो। यसै सम्मेलनमा मैले यहोवाप्रतिको आफ्नो समर्पणलाई पानीको बप्तिस्माद्वारा प्रतीकात्मक रूप दिन पाएँ। अन्ततः विशाल अस्ट्रेलिया महादेशको चारै कुनाबाट आएका सयौं भाइ-बहिनीहरूसित भेला हुन पाउँदा म खुशीले कति गद्गद् भएँ होला, तपाईं आफै कल्पना गर्नुहोस्।
फेरि गाम्बिएर पर्वतमा
घर फर्केपछि मैले फेरि साह्रै एक्ली महसुस गरें। तैपनि, यथाशक्य राज्यसम्बन्धी कार्य गर्ने मेरो हिम्मत पहिलेभन्दा झन् दृढ थियो। केही समयपश्चात् म एग्न्यु परिवारको सम्पर्कमा आएँ। त्यस परिवारमा ह्यु, तिनकी पत्नी र चार छोरा-छोरीहरू थिए। तिनीहरू गाम्बिएर पर्वतभन्दा ५० किलोमिटर टाढा मिलिसेन्ट भन्ने सानो शहरमा बस्थे। तिनीहरूसित नियमित बाइबल अध्ययन गर्न म टाँगा चढेर आउ-जाउ ५०-५० किलोमिटरको दूरी पार गर्थें। अन्ततः तिनीहरूले सच्चाइ अँगाल्दा मेरो एकाकीपन कम भयो।
अनि चाँडै नै हामीले व्यवस्थित ढंगमा प्रचार गर्न एउटा समूह बनायौं। त्यसपछि खुशीको कुरा, मेरी आमाले पनि चासो देखाउन थाल्नुभयो र नवगठित समूहसित अध्ययन गर्न उहाँ मसँगै १०० किलोमिटरको यात्रा गर्न थाल्नुभयो। उहाँले मलाई प्रोत्साहन र मदत दिन थाल्नुभयो र केही वर्षभित्रमा बप्तिस्मा पनि लिनुभयो। अब भने मेरो एकाकीपनले डाँडा काट्यो!
हाम्रो सानो समूहमा एग्न्यु परिवारका तीन छोरीहरू, क्रिस्टल, इस्टेल र बेट्टी अनि मसमेत गरी जम्मा चार जना अग्रगामीहरू थियौं। पछि सन् १९५० दशकको प्रारम्भतिर यी तीन केटीहरू गिलियड स्कूल गए। त्यसपछि तिनीहरू मिसनरी भएर भारत र श्रीलंका गए। तिनीहरू विश्वासीपूर्वक सेवा गरिरहेका छन्।
सन् १९४१ जनवरी महिनातिर अस्ट्रेलियामा यहोवाका साक्षीहरूको कार्यमाथि प्रतिबन्ध लगाइयो। अतः हामी तुरुन्त काममा लागिहाल्यौं। हामीले सेवकाईमा चलाउने गरेका साहित्य, वहनीय फोनोग्राफ र बाइबल भाषणहरूका रेकर्ड आदि ठूलो ट्रंकमा हालेर बन्द गऱ्यौं। त्यसपछि ट्रंकलाई छायाँ पर्ने ठाउँमा राखेर त्यसलाई एक गाडा परालले छोप्यौं।
प्रतिबन्धको बावजूद हामी घर-घर प्रचार गई नै रह्यौं, तर होशियारीपूर्वक। घरधनीसित कुरा गर्दा हामी बाइबल मात्र चलाउँथ्यौं। म घोडाको काठीमुनि पत्रिकाहरू र पुस्तिकाहरू लुकाएर राख्थें र मानिसहरूले राज्य समाचारप्रति साँचो चासो देखाउँदा मात्र त्यसलाई झिक्थें। अन्ततः सन् १९४३ जून महिनामा प्रतिबन्ध फुकुवा गरियो र हामी सबैले फेरि खुलेआम साहित्यहरू प्रस्तुत गर्न पायौं।
नयाँ जिम्मेवारीहरू
सन् १९४३ मा मैले अग्रगामीको काम गरें र लगत्तै अर्को वर्ष नयाँ ठाउँमा प्रचार गर्न गाम्बिएर पर्वतबाट बिदावारी लिएँ। पहिला त मलाई केही समय स्ट्राटफिल्डस्थित सोसाइटीको शाखा कार्यालयमा काम गर्न आमन्त्रित गरियो। त्यसपछि मलाई दक्षिणी न्यु साउथ वेल्स र पश्चिमी भिक्टोरियाका साना शहरहरूमा खटाइयो। तथापि, मेलबोर्न शहरको ठूलो मण्डलीमा खटाइँदा मेरो सेवा आध्यात्मिक रूपमा सबैभन्दा इनामदायी रह्यो। गाउँको सानो शहरबाट आएकी हुँदा मैले त्यहाँ सेवा गर्दा निकै कुरा सिकें।
भिक्टोरियाको जिप्सल्यान्ड क्षेत्रमा खटाइँदा मेरो सह-अग्रगामी हेलेन क्रफोर्ड र मैले थुप्रै बाइबल अध्ययनहरू गऱ्यौं र केही समयभित्र त्यहाँ मण्डली पनि स्थापना भयो। यो क्षेत्रको धेरैजसो इलाका निकै दुर्गम थियो र सवारीको नाउँमा हामीसित थोत्रो, पुरानो गाडी थियो। जसलाई हामी कहिलेकाहीं हाँक्थ्यौं तर प्रायजसो ठेल्थ्यौं। यस्तो बेला मलाई घोडाको साह्रै तलतल लाग्थ्यो। कहिलेकाहीं म हक्काहक्की भन्थें “घोडाका लागि म (राज्यबाहेक) जे पनि छोड्न तयार छुँ!” अहिले यो क्षेत्रका अधिकांश शहरहरूमा बलिया मण्डली अनि राम्रा राज्य भवनहरू छन्।
सन् १९६९ मा मलाई अस्ट्रेलियाको राजधानी क्यानबेरामा खटाइयो। थुप्रै विदेशी राजदूतावासहरूका कर्मचारीहरू भेटिनेहुँदा यो ठाउँ विविध परिस्थिति अनि चुनौतीले भरिपूर्ण थियो। म अझै पनि यहीं सेवारत छुँ तर हालै यो शहरको औद्योगिक क्षेत्रहरूमा धेरैजसो साक्षी दिने काम गर्न थालेकी छुँ।
सन् १९७३ मा मैले संयुक्त राज्यका ठूला अधिवेशनहरू धाउने सुअवसर पाएँ। अनि मेरो जीवनको अर्को महत्त्वपूर्ण घटना के हो भने, सन् १९७९ मा अधिवेशन प्रतिनिधि भएर म इस्राएल र जोर्डन पुगें अनि अधिवेशन धाउनुको साथै घुम्न पनि पाएँ। बाइबलमा उल्लिखित ठाउँहरूमा आफू स्वयम् पुग्नु र त्यहाँ भएका घटनाहरूलाई मनन गर्नु साँच्चै नै रोमाञ्चकारी अनुभव थियो। मृत सागरको बाक्लो नुनिलो पानीमा उत्रनु कस्तो हुँदो रहेछ भनेर पनि मैले अनुभव गर्न पाएँ। जोर्डनको पेट्रा भन्ने ठाउँ भ्रमण गर्दा मैले फेरि एक पटक घोडा चढ्ने मौका पाएँ। अनि त मलाई ती दिनहरूको सम्झना आयो जब म घोडा चढेर छरिएका दुर्गम इलाकाहरूमा राज्य समाचार लिएर पुग्थें।
अनवरत पूर्ण-समय सेवा
अग्रगामी सेवा पाठशाला, क्षेत्रीय सम्मेलनका दौडान सञ्चालन हुने अग्रगामी सभाहरूजस्ता विशेष प्रबन्धहरूका साथै परिभ्रमण निरीक्षकहरूले बारम्बार दिएका प्रोत्साहनले गर्दा ढल्किंदो उमेरको बावजूद पूर्ण-समय सेवा गर्ने मेरो इच्छा ताजै छ। मेरो एकाकीपनलाई हटाउन यहोवाले थुप्रै प्रबन्धहरू गर्नुभयो भनेर म ठोकेर भन्नसक्छु।
अहिले म ८७ वर्ष पुगिसकें र यहोवालाई सेवा गरेको पनि ६० वर्ष भइसक्यो। त्यसैकारण मजस्तो ठाड-ठाडो कुरा गर्ने र साह्रै स्वाधीन मानिसहरूका लागि मसित केही प्रोत्साहनजनक शब्दहरू छन्। र त्यो हो: सधैं यहोवाको निर्देशनअनुसार चल्नुहोस्। ठाड-ठाडो कुरा गर्ने हाम्रो बानीलाई नियन्त्रण गर्न यहोवाले सधैं हामीलाई मदत दिऊन्। अनि शायद हामी बारम्बार एकाकीपन महसुस गरौंला तर त्यस्तो अवस्थामा उहाँले कहिल्यै त्याग्नुहुन्न भनी यहोवाले निरन्तर हामीलाई सम्झाइरहून्।
[फुटनोट]
a हलुको दुइ पांग्रे सवारी।