आत्मधर्मी हुनदेखि होशियार हुनुहोस्!
प्रथम शताब्दीका फरिसीहरूले परमेश्वरका धर्मी उपासकहरू भनेर ख्याति प्राप्त गरेका थिए। तिनीहरू शास्त्रका समर्पित विद्यार्थीहरू थिए र निरन्तर प्रार्थना गर्थे। केहीले तिनीहरू कोमल तथा व्यवहारिक छन् भन्ने धारणा राख्थे। यहूदी इतिहासकार जोसेफसले यो लेखे: “फरिसीहरू एक आपसमा स्नेही छन् र समुदायमा सामञ्जस्यता कायम राख्छन्।” अतः त्यतिबेलाको यहूदी समाजमा तिनीहरू शायद सबैभन्दा इज्जतदार र प्रतिष्ठित व्यक्तिहरू हुनु कुनै छक्कलाग्दो कुरा होइन!
यद्यपि, आज “फरिसी” भन्ने शब्द र यससँग सम्बन्धित शब्दहरू अपमानजनक छन्। यसका पर्यायवाचीहरू पाखण्डी, आत्मधर्मी, देखावटी ईश्वर भक्ति, अचाक्ली धर्मनिष्ठ हुनु र ओठे सेवा हुन्। यहूदीहरूले आफ्नो राम्रो नाउँ किन गुमाए त?
किनभने अरू यहूदीहरूजस्तै येशू ख्रीष्ट फरिसीहरूको बाहिरी रूपबाट छकिनुभएन। उहाँले तिनीहरूलाई “चून लाइराखेका चिहानहरू जस्ता . . . जो बाहिरपट्टि सुन्दर देखा पर्छन्, तर भित्रपट्टि भने मुर्दाहरूका हाड़हरू र सबै अशुद्ध वस्तुले भरिएका[हरू]” भनी तुलना गर्नुभयो।—मत्ती २३:२७.
हो, तिनीहरूले सार्वजनिक स्थलहरूमा लामो प्रार्थनाहरू गर्थे तर त्यो येशूले भन्नुभएझैं देखावटी मात्र थियो। तिनीहरूको उपासना केवल ढोंग थियो। तिनीहरू भोज तथा सभाघरहरूमा उच्च आसन रुचाउँथे। सबै यहूदीहरूले तिनीहरूका लुगामा झुम्काहरू लाउनु पर्थ्यो तर फरिसीहरूले ज्यादै लामो झुम्काहरू लाएर मानिसहरूलाई प्रभावित पार्न खोज्थे। तिनीहरू शास्त्र पद लेखिएको सानो पुर्जी हाल्ने खोललाई ठूलो बनाएर जन्तरको रूपमा लाएर प्रदर्शन गर्न पाएकोमा घमण्ड गर्थे। (मत्ती ६:५; २३:५-८) अन्ततः तिनीहरूको कपट्याइँ, लोभ तथा घमण्डले गर्दा तिनीहरू अपमानित भए।
परमेश्वरले फरिसीहरूलाई अस्वीकार गर्नुहुन्छ भन्दै येशूले यसरी भन्नुभयो: “ए कपटी हो, यशैयाले तिमीहरूका विषयमा यसो भनेर ठीक ठीक अगमवाणी बोले, ‘यस जातिले आफ्ना ओठले मेरो आदर गर्दछ। तर तिनीहरूको हृदय मबाट टाढ़ा छ। औ मानिसका आदेशहरू तिनका सिद्धान्त जस्तागरी तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्।’” (मत्ती १५:७-९) तिनीहरूको धार्मिकता साँच्चै नै आत्मधर्मी थियो। त्यसैकारण येशूले आफ्ना चेलाहरूलाई “फरिसीहरूको खमीरदेखि होशियार रहो” भनेर चेताउनी दिनुभयो। (लूका १२:१) त्यस्तैगरि आज हामी पनि धार्मिक कपटी र आत्मधर्मी हुनदेखि “होशियार” रहनु वा जोगिनु पर्छ।
कोही व्यक्ति रातारात नै आत्मधर्मी हुँदैन भनी हामीले मानी लिनुपर्छ। बरु, यस्तो झुकाउ मानिसको मनमा क्रमिक रूपमा विकास हुँदै जान्छ। साथै कोही व्यक्तिले अनजानमा नै फरिसीहरूको जस्तो अप्रिय स्वभावहरू हासिल गर्नसक्छन्।
श्रेष्ठ मनोवृत्ति
हामीहरू कस्ता कस्ता स्वभावहरूदेखि “होशियार” रहनुपर्छ? इन्साक्लोपिडिया अफ रिलिजन एण्ड एथिक्स्-अनुसार आत्मधर्मी व्यक्तिविशेषहरू साधरणतया “आफूले कहिल्यै केही गल्ती नगरेको जस्तै गरी बोल्छन् र हिंड्छन्।” आत्मधर्मी व्यक्तिहरू अहंकारी र आत्मश्लाघी हुन्छन्। फरिसीहरूको पनि मुख्य समस्या यही नै थियो।
येशूले फरिसीहरूको मनोवृत्तिबारे यसरी उखानसहित व्याख्या गर्नुभयो: “‘दुइ जना मानिस प्रार्थना गर्नालाई मन्दिरमा उक्ले—एक जना फरिसी र अर्को चाहिं महसूल उठाउने। फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गऱ्यो, ‘हे परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु, म अरू मानिसहरूजस्ता लुटाह, अन्यायी, व्यभिचारी, अथवा यही महसूल उठाउने जस्तो पनि छैनँ। म हप्तामा दुइपल्ट व्रत बस्तछु। मैले पाएका सबै थोकका दशांश म दिन्छु।’” यसको ठीक विपरीत महसूल उठाउने व्यक्तिले नम्रपूर्वक आफ्नो गल्ती स्वीकारे र त्यस अहंकारी फरिसीभन्दा धर्मी साबित भए। येशूले यो उखान “हामी धर्मी छौं भन्ने आफैमाथि भरोसा राख्नेहरू र अरूलाई केही नसम्झनेहरू[लाई]” सुनाउनुभयो।—लूका १८:९-१४.
हामी असिद्ध मानिसहरू भए तापनि कहिलेकाहीं आफ्नो दक्षता वा उपलब्धिहरूले गर्दा आफू अरूभन्दा श्रेष्ठ लाग्नसक्छ। तर मसीहीहरूले यस्ता विचारहरू तुरुन्तै त्याग्नुपर्छ। तपाईं एक मसीही हुनुभएको धेरै वर्ष भइसकेकोले तपाईं धेरै अनुभवी हुनुहोला। तपाईं एक निपुण बाइबल शिक्षक हुनसक्छ। वा शायद तपाईं ख्रीष्टसित स्वर्गमा राज्य गर्न अभिषिक्त भएको भनी दाबी गर्ने हुनुहोला। केहीले मण्डलीमा पूर्ण-समय सेवक, प्राचीन वा सहायक सेवकहरूजस्ता विशेष सुअवसरहरूको आनन्द उठाउँछन्। ‘मलाई यहोवाले दिनुभएको अवसरहरू अरूभन्दा श्रेष्ठ ठान्न प्रयोग गरेमा उहाँले कस्तो महसुस गर्नुहुन्छ होला?’ भनेर आफैलाई सोध्नुहोस्। निस्सन्देह, यसले उहाँलाई अप्रसन्न तुल्याउनेछ।—फिलिप्पी २:३, ४.
मसीहीले ईश्वरप्रदत्त योग्यता, अवसर वा अख्तियारहरू श्रेष्ठताको भावना प्रदर्शन गर्न चलाउँछ भने तिनले वास्तवमा परमेश्वरले मात्र पाउनु पर्ने महिमा र श्रेय हडपिरहेका हुनेछन्। बाइबलले स्पष्टसित मसीहीहरूलाई “आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढ़ी नसम्झ” भनी चेताउनी दिन्छ। बाइबलले हामीलाई “एक दोस्रोप्रति एकै मनका होओ। उच्चप्रति मन नलगाओ, तर नम्र कुराहरूतर्फ झुक। आफ्ना अहंकारमा बुद्धिमान नहोओ” भनी आग्रह गर्छ।—रोमी १२:३, १६.
“निसाफ नगर”
एउटा बाइबल इन्साइक्लोपीडीयाअनुसार आत्मधर्मी व्यक्तिले “आफैलाई नैतिक रूपमा इमानदार वा परमेश्वरको सामुने उभिन योग्यको छु भनी ठान्छ किनभने तिनले कानुनी आवश्यकताको साँचो अर्थ नबुझी पालन मात्र गर्छ।” अर्को एउटा पुस्तकले आत्मधर्मीहरू “जहिले पनि अरूको गल्ती खोज्ने असाध्यै धर्मपरायण व्यक्तिहरू” हुन् भनी व्याख्या गर्छ।
फरिसीहरू यसको दोषी थिए। आखिरमा तिनीहरूको मानव निर्मित नियमहरू नै परमेश्वरको नियम तथा सिद्धान्तहरूभन्दा महत्त्वपूर्ण देखियो। (मत्ती २३:२३; लूका ११:४१-४४) तिनीहरूले आफैलाई न्यायकर्ता बनाए र आफ्नो आत्मधर्मी स्तरमा पुग्न नसक्नेहरूको निन्दा गर्थे। तिनीहरूको श्रेष्ठ मनोवृत्ति र अचाक्ली आत्मसम्मानको भावनाले अरू मानिसहरूलाई नियन्त्रण गर्न तिनीहरू उस्किए। येशूलाई नियन्त्रण गर्न असमर्थ हुँदा तिनीहरू क्रोधित भएर उहाँलाई मार्ने षडयन्त्र रचे।—यूहन्ना ११:४७-५३.
अरूको न्याय गरेर जहिले पनि अरूको गल्ती खोज्ने, जाँच्ने र आफू वरपरको सबैलाई नियन्त्रण गर्ने व्यक्तिसित बस्नु कति नरमाइलो हुन्छ। साँच्चै, मण्डलीमा आफ्नो विचार र नियमहरू अरूमाथि लाद्ने अधिकार कसैलाई छैन। (रोमी १४:१०-१३) सन्तुलित मसीहीहरूले दैनिक जीवनका थुप्रै कामकुराहरूबारे निर्णय गर्ने अधिकार व्यक्तिविशेषमा नै निर्भर हुन्छ भनी मानी लिन्छन्। विशेषगरि आफ्नो वा अरू सबैको काममा सिद्धता खोज्ने र दुरुस्त माग गर्ने झुकाउ भएकाहरूले अरूको न्याय गर्नदेखि होशियार रहनुपर्छ।
हो, मसीही मण्डलीसित यहोवाको पार्थिव संगठन सुचारुरूपमा परिचालन गर्न निर्देशनहरू दिने अख्तियार छ। (हिब्रू १३:१७) तर केहीले यी निर्देशनहरूलाई बंग्याएर आफ्नै नियमहरू थपेका छन्। एउटा मण्डलीमा ईश्वरतान्त्रिक सेवकाई पाठशालामा सबै भाइहरूले सुट लाउनै पर्थ्यो र भाषण दिंदा कोटको टाँक लगाएकै हुनुपर्थ्यो। कसैले यसो नगर्दा भविष्यमा भाषणहरू दिन अयोग्य ठहराइन्थ्यो। यस्ता कठोर नियमहरू बनाउनुको साटो आवश्यकताअनुसार दयालु र व्यक्तिगत निर्देशन दिनु व्यवहारिक तथा परमेश्वरको वचनअनुरूप हुँदैन र?—याकूब ३:१७.
यदि कोही मसीही थुप्रै व्यक्तिगत समस्याहरूबाट गुज्रिरहेका छन् भने आत्मधर्मी व्यक्तिले तिनको आध्यात्मिकता कमजोर छ भन्ने विचारधारालाई अघि सार्नसक्छ। आत्मधर्मी एलिपज, बिल्लद र सोपरले विश्वासी अय्यूबबारे ठीक यस्तै सोचेका थिए। तिनीहरूले परिस्थितिलाई पूर्णतया बुझेका थिएनन्। अतः अय्यूबलाई गलत काम गरेको लाञ्छना लगाएर तिनीहरूले आफैलाई हठी बनाए। अय्यूबको परीक्षालाई टेढो दृष्टिले हेरेकोले यहोवाले तिनीहरूलाई अनुशासन दिनुभयो।—अय्यूब, अध्याय ४, ५, ८, ११, १८, २० हेर्नुहोस्।
बहकिएको जोश
आत्मधार्मिकता र जोश प्रायजसो अन्तरनिहित छ। धार्मिक झुकाउ भएका यहूदीहरूबारे प्रेरित पावलले यसो भने: “तिनीहरूसँग परमेश्वरका निम्ति जोश त छ, तर समझअनुसारको होइन भनी मलाई तिनीहरूका विषयमा पक्का थाह छ। किनभने परमेश्वरको धार्मिकतामा अजान भएर तिनीहरूको आफ्नै धार्मिकता स्थापित गर्नखोज्दा तिनीहरू परमेश्वरको धार्मिकताको अधीनमा रहनसकेनन्।” (रोमी १०:२, ३) पावल आफै पनि फरिसीहरूजस्तै असाध्यै जोशिला थिए। तापनि तिनको जोश परमेश्वरको धार्मिकतामा आधारित नभई बहकिएको जोश थियो।—गलाती १:१३, १४; फिलिप्पी ३:६.
त्यसैले बाइबल यस्तो चेताउनी दिन्छ: “ज्यादै धर्मी र ज्यादै बुद्धिमानी नहो। तिमी किन आफैलाई एउटा हाँसोको पात्रो बनाउँछौ?” (उपदेशक ७:१६) मण्डलीमा एक मसीही सुरुमा कर्तव्यनिष्ठ हुनसक्छ तर पछि तिनको कर्तव्यनिष्ठा र जोश आत्मधार्मिकतामा परिणत हुनसक्छ। यहोवाको धार्मिकताको साटो आफ्नै बुद्धिअनुसार चल्न थाल्यो भने त्यस्तो धार्मिक जोशले अरूलाई हानि पुऱ्याउन सक्छ। तर कसरी?
उदाहरणको लागि, आमाबाबुहरू अरूको आध्यात्मिक आवश्यकताहरूको हेरचाह गर्न धेरै व्यस्त हुँदा समयको दौडान आफ्नै परिवारको आवश्यकतालाई चाहिं वास्ता नगर्ने हुनसक्छन्। वा आमाबाबुहरू बढ्तै जोशिलो भएर तिनीहरूको केटाकेटीहरूले गर्नसक्ने भन्दा बढी माग गर्लान्। (एफिसी ६:४; कलस्सी ३:२१) यस्ता अव्यवहारिक मागहरू पूरा गर्न केही केटाकेटीहरू दोहोरो जीवन बिताउँछन्। व्यवहारिक आमाबाबुले आफ्ना परिवारका सदस्यहरूको योग्यताहरू विचार गरेर उचित काँटछाँट गर्नेछन्।—उत्पत्ति ३३:१२-१४ तुलना गर्नुहोस्।
अचाक्ली जोशको कारण हामी अरूसित व्यवहार गर्दा आवश्यक समझ, अनुभूति र कोमलता गुमाउनसक्छौं। एक व्यक्तिले राज्यसम्बन्धी कामकुरालाई अगाडि बढाउन धेरै मेहनत गर्ला। तथापि, यस्तो असाधारण जोश प्रदर्शन गर्दा अरूको चित्त दुख्नसक्छ। पावलले यसो भने: “यदि मलाई अगमवाणी बोल्ने शक्तिको वरदान छ, र म सबै रहस्यहरू र सबै बुद्धि जान्दछु, औ डाँड़ाहरू हटाउनसम्मको विश्वास मसित छ, तर ममा प्रेमचाहिं छैन भने, म केही पनि होइनँ। यदि मैले आफ्ना सारा सम्पत्ति गरीबहरूलाई खुवाउनालाई दिएँ, र मेरो शरीरै जलाइ दिएँ, तर मसित प्रेम छैन भने मलाई केही पनि लाभ हुँदैन।”—१ कोरिन्थी १३:२, ३.
परमेश्वरले नम्र व्यक्तिहरूलाई अनुग्रह देखाउनुहुन्छ
मसीहीहरूको हैसियतमा हामीमा आत्मधार्मिकताको विकास हुनअघि नै सचेत भइहाल्नुपर्छ। हामीले श्रेष्ठ मनोवृत्ति, अरूको निसाफ गर्ने बानी र मानव बुद्धिमा आधारित बहकिएको जोश त्याग्नुपर्छ।
फरिसीहरूको जस्तो मनोवृत्ति राख्नदेखि “होशियार” हुँदा अरू आत्मधर्मी भयो भनेर निसाफ गर्नुको साटो आफ्नै झुकाउ तथा प्रवृत्तिहरूलाई केलाउनु बेस हुनेछ। हो, येशूले फरिसीहरूको निसाफ गर्नुभयो र अनन्त विनाशका लागि योग्य “साँबे सर्पका बच्चा[हरू]” भनेर निन्दा गर्नुभयो। तर येशूले मानिसको हृदय पढ्न सक्नुहुन्थ्यो। हामी सक्दैनौं।—मत्ती २३:३३.
हामी आफ्नो नभई परमेश्वरको धार्मिकताको खोजी गरौं। (मत्ती ६:३३) तब मात्र यहोवाको अनुग्रह प्राप्त गर्नसक्छौं किनभने बाइबलले हामी सबैलाई यसरी चेताउनी दिन्छ: “तिमीहरू सबै एउटाले अर्कोप्रति नम्रताको व्यवहार गर। किनभने परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”—१ पत्रुस ५:५.