तिनीहरूले “त्यसै गरे”
“हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्वरप्रति प्रेम हो।” —१ यूहन्ना ५:३.
१. परमेश्वरले कुन हदसम्म प्रेम देखाउनुभएको छ भन्न सकिन्छ?
“परमेश्वर प्रेम हुनुहुन्छ।” परमेश्वरलाई चिन्ने र उहाँका आज्ञा पालन गर्ने सबैले त्यो प्रेमको गहराइप्रति गहिरो मूल्यांकन गर्छन्। “प्रेम यसैमा छ, हामीले परमेश्वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्चित हुनालाई उहाँका पुत्रलाई पठाउनुभयो।” हामीले येशूको अनमोल छुडौतीको बलिदानमा विश्वास राख्दा हामी ‘परमेश्वरको प्रेममा रहन्छौं।’ (१ यूहन्ना ४:८-१०, १६) यसप्रकार हामी अहिले प्रशस्त आध्यात्मिक आशिष्हरू र आउँदै गरेको रीतिरिवाजमा अनन्त जीवनको आनन्द उठाउनसक्छौं।—यूहन्ना १७:३; १ यूहन्ना २:१५, १७.
२. परमेश्वरका आज्ञाहरू पालन गर्दा उहाँका सेवकहरू कसरी लाभान्वित भएका छन्?
२ परमेश्वरको आज्ञा पालन गरेर प्रचुर आशिष् प्राप्त गर्ने व्यक्तिहरूको उदाहरण बाइबलमा प्रशस्त छ। यसमा मसीहीपूर्व साक्षीहरू समावेश छन् र त्यसमध्ये केहीबारे प्रेरित पावलले यसप्रकार लेखे: “यी सबै प्रतिज्ञाहरू नपाईकन, तर तिनीहरूलाई टाढ़ैबाट देखेर स्वागत गरी तिनीहरू पृथ्वीमा परदेशी र परदेशी हुन् भन्ने स्वीकार गर्दै विश्वासैमा तिनी मरे।” (हिब्रू ११:१३) पछि, परमेश्वरका अरू समर्पित मसीही सेवकहरूले ‘येशू ख्रीष्टबाट आएको अनुग्रह र सत्यताबाट’ लाभ उठाए। (यूहन्ना १:१७) मानव इतिहासको ६,००० वर्षभरि यहोवाले आफ्नो आज्ञा पालन गर्ने विश्वासी साक्षीहरूलाई इनाम दिनुभएको छ र उहाँका आज्ञाहरू “कड़ा छैनन्।”—१ यूहन्ना ५:२, ३.
नूहको समयमा
३. नूहले कुन कुन तरिकामा “त्यसै गरे?”
३ बाइबलको विवरणले यसो भन्छ: “विश्वासैबाट त्यस बेलासम्म नदेखिएका कुरामा परमेश्वरबाट जनाउ पाएपछि आफ्ना परिवारलाई बचाउन नूहले जहाज तयार पारे। त्यसद्वारा उनले संसारलाई दोषी ठहराएर विश्वासअनुसारको धार्मिकताका हकदार भए।” “धर्मका प्रचारक” नूहले परमेश्वरको आज्ञा हुबहु पालन गरे, जलप्रलयअघिको हिंस्रक संसारलाई आउँदै गरेको ईश्वरीय न्यायबारे चेताउनी दिए। (हिब्रू ११:७; २ पत्रुस २:५) तिनले जहाज बनाउँदा ईश्वरीय गुरुयोजनालाई होशियारीपूर्वक पालन गरे। त्यसपछि तिनले छानिएका जनावर तथा आहारालाई जहाजमा भित्र्याए। “नूहले त्यसै गरे—परमेश्वरले तिनीलाई आज्ञा गरेबमोजिम तिनले सबै गरे।”—उत्पत्ति ६:२२.
४, ५. (क) दुष्ट प्रभावले आजसम्म मानवजातिलाई कसरी असर गरेको छ? (ख) ईश्वरीय निर्देशनहरू पालन गर्न हामीले किन ‘त्यसै गर्नुपर्ने’ हो?
४ नूह र तिनको परिवारले अनाज्ञाकारी स्वर्गदूतहरूको दुष्ट प्रभाव सामना गर्नुपऱ्यो। यी परमेश्वरका पुत्रहरूले आफ्नो रूप परिवर्तन गरेर स्त्रीहरूसित यौनसम्बन्ध राखे र तिनीहरूबाट जन्मेका असाधारण ठिमाहा सन्तानले मानवजातिलाई त्राहीत्राही पाऱ्यो। “परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो।” परमेश्वरले त्यो दुष्ट पुस्तालाई नाश गर्न जलप्रलय ल्याउनुभयो। (उत्पत्ति ६:४, ११-१७; ७:१) नूहको समयदेखि पैशाचिक स्वर्गदूतहरूलाई मानव रूप धारण गर्ने अनुमति दिइएको छैन। तैपनि ‘सारा संसार त्यस दुष्ट, शैतान अर्थात् दियाबलको अधीनमा परेको छ।’ (१ यूहन्ना ५:१९; प्रकाश १२:९) सन् १९१४ देखि आफ्नो “उपस्थितिको” चिन्ह प्रष्ट भएपश्चात् येशूले आफूलाई इन्कार गर्ने पुस्तालाई भविष्यसूचक अर्थमा नूहको दिनको विद्रोही पुस्तासित तुलना गर्नुभयो।—मत्ती २४:३, ३४, ३७-३९, न्युव; लूका १७:२६, २७.
५ आज, नूहको दिनमा जस्तै शैतानले सम्पूर्ण मानवजाति र हाम्रो ग्रहलाई नाश गर्ने कोसिस गरिरहेको छ। (प्रकाश ११:१५-१८) यसर्थ, हामीले यस प्रेरित आज्ञा पालन गर्नु अत्यन्त जरुरी छ: “शैतानका [धूर्त, न्युव, पादटिप्पणी] युक्तिहरूका विरुद्धमा खड़ा हुनसक्नालाई परमेश्वरका सारा हात-हतियार धारण गर।” (एफिसी ६:११) परमेश्वरको वचन अध्ययन गरेर त्यसलाई आफ्नो जीवनमा पालन गर्दा त्यसो गर्ने बल पाउँछौं। साथै, हामी हिंड्नुपर्ने मार्गमा धैर्यपूर्वक डोऱ्याउन हाम्रो हेरचाह गर्ने यहोवाको संगठन, “विश्वासी र बुद्धिमान दास” अनि मायालु प्राचीनहरू छन्। हामीले विश्वव्यापी तवरमा प्रचार कार्य पूरा गर्नुपरेको छ। (मत्ती २४:१४, ४५-४७) ईश्वरीय निर्देशनहरूलाई होशियारीपूर्वक पालन गर्ने नूहजस्तै हामी पनि सधैं ‘त्यसै गरौं।’
मोशा—सबैभन्दा नम्र पुरुष
६, ७. (क) मोशाले कस्तो इनामदायी छनौट गरे? (ख) मोशाले हाम्रोलागि कस्तो साहसी नमुना छाडे?
६ विश्वासको लागि चिनिने अर्को पुरुष, मोशालाई विचार गर्नुहोस्। तिनले मिश्रको ऐसआराममा आत्मविलासी जीवन बिताउनसक्थे। तर तिनले “केही समयसम्म पापको सुख भोग्नभन्दा बरू परमेश्वरका मानिसहरूका साथमा थिचोमिचोमा पर्न रोजे।” यहोवाले नियुक्त गर्नुभएको सेवकको हैसियतमा “तिनले आफ्नो दृष्टि प्रतिफलतिर लाएका थिए। . . . [र] अदृश्यलाई देखेझैं गरी तिनी स्थिर रहे।”—हिब्रू ११:२३-२८.
७ गन्ती १२:३ मा हामी यस्तो लेखिएको पाउँछौं: “मोशाचाहिं पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्ति थिए।” यसको विपरीत मिश्रका फिरऊनले सबैभन्दा घमण्डीजस्तो व्यवहार गरे। यहोवाले मोशा र हारूनलाई फिरऊनमाथि उहाँको न्याय घोषणा गर्न पठाउनुहुँदा तिनीहरूले कस्तो प्रतिक्रिया देखाए? हामी यस्तो लेखिएको पाउँछौं: “मोशा र हारूनले त्यसै गरे। परमप्रभुले तिनीहरूलाई हुकूम गर्नुभए बमोजिम तिनीहरूले गरे।” (प्रस्थान ७:४-७) आज परमेश्वरको न्याय घोषणा गर्नेहरूको लागि कस्तो साहसी नमुना!
८. इस्राएलीहरूले कसरी ‘त्यसै गर्नुपर्थ्यो’ र त्यसबाट प्राप्त रमाहटलाई निकट भविष्यमा हुने रमाहटसित कसरी तुलना गर्न सकिनेछ?
८ के इस्राएलीहरूले मोशालाई वफादारीसाथ समर्थन गरे? यहोवाले मिश्रमाथि दशवटामध्ये नौवटा विपत्ति प्रहार गरिसक्नुभएपछि उहाँले इस्राएललाई निस्तार चाड मनाउने सन्दर्भमा विस्तृत निर्देशन दिनुभयो। “तब मानिसहरू शिर निहुराएर दण्डवत् गरी भक्ति चढ़ाए। अनि इस्राएलीहरूले गएर त्यसै गरे। परमप्रभुले आज्ञा गर्नु भएझैं मोशा र हारूनले गरे।” (प्रस्थान १२:२७, २८) सा.यु.पू. १५१३, नीसान १४ को त्यस महत्त्वपूर्ण दिनको मध्यरात परमेश्वरको दूतले मिश्रीहरूका जेठो सन्तानलाई मार्न थाले तर इस्राएलीहरूलाई भने केही भएन। इस्राएली जेठो सन्तानहरूलाई किन बचाइयो? किनभने निस्तार चाडको थुमाको रगत ढोकामा छर्केकोले तिनीहरू सुरक्षित भए। यहोवाले मोशा र हारूनलाई अह्राउनु भएबमोजिम तिनीहरूले गरे। हो, “तिनीहरूले त्यसै गरे।” (प्रस्थान १२:५०, ५१, न्युव) यहोवाले आफ्ना आज्ञाकारी जनहरूलाई बचाउनुभएर फिरऊन र तिनका पराक्रमी सैन्यशक्तिलाई लाल समुद्रमा नाश गर्नुहुँदा अझै अर्को चमत्कार गर्नुभयो। इस्राएलीहरू कति हर्षित भए! त्यसरी नै आज, यहोवाको आज्ञा पालन गर्ने थुप्रैले आरमागेडोनमा उहाँ महिमित हुनुभएको प्रत्यक्ष देख्न पाउँदा रमाउनेछन्।—प्रस्थान १५:१, २; प्रकाश १५:३, ४.
९. पवित्रस्थान निर्माण गर्दा ‘त्यसै गर्ने’ इस्राएलीहरूले आधुनिक समयका कस्ता सुअवसरहरूलाई पूर्वसंकेत गर्छन्?
९ यहोवाले इस्राएललाई चन्दा संकलन गरेर उजाडस्थानमा पवित्रस्थान बनाउने आज्ञा दिनुहुँदा मानिसहरूले उदारचित्तले पूर्ण सहयोग गरे। त्यसपछि, यहोवाले वास्तुकलासम्बन्धी प्रबन्ध गर्नुभएको योजनाहरूको सबैभन्दा सानो विवरणसमेत मोशा र तिनका इच्छुक सहकर्मीहरूले पालन गरे। “यसरी भेट हुने पालको पवित्रस्थानका सबै काम समाप्त भए। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैं इस्राएलीहरूले गरे।” त्यसरी नै पूजाहारीगिरीको समर्पण गर्दा “मोशाले त्यसैनै गरे। परमप्रभुले दिनुभएको सबै आज्ञाबमोजिम तिनले गरे।” (प्रस्थान ३९:३२; ४०:१६) आधुनिक समयमा प्रचार कार्य तथा राज्य विस्तारसम्बन्धी कार्यक्रमहरूलाई सम्पूर्ण हृदयले समर्थन गर्ने सुअवसर हामीले पाएका छौं। यसप्रकार ‘त्यसै गर्न’ एकजुट हुन पाउनु हाम्रो सुअवसर हो।
यहोशू—साहसी र असाध्यै बलियो
१०, ११. (क) कुन कुराले यहोशूलाई सफल हुन मदत पुऱ्यायो? (ख) आधुनिक समयका परीक्षाहरू सामना गर्न हामी कसरी सुदृढ हुनसक्छौं?
१० इस्राएललाई प्रतिज्ञा गरेको देशमा डोऱ्याउन मोशाले यहोशूलाई अह्राउँदा सम्भवतः मोशाको पाँचवटा प्रेरित पुस्तक, एक दुइटा भजन र अय्यूबको पुस्तक मात्र उपलब्ध थियो। प्रतिज्ञा गरेको देशमा प्रवेश गरिसकेपछि मानिसहरूलाई भेला गराएर “तिनीहरूले सुन्नेगरी . . . यो व्यवस्था पढ़नू” भनी मोशाले यहोशूलाई निर्देशन दिएका थिए। (व्यवस्था ३१:१०-१२) यसबाहेक, यहोवा स्वयंले यहोशूलाई यस्तो आज्ञा दिनुभयो: “व्यवस्थाको यो पुस्तक तेरो ओंठबाट नहटोस्, तर त्यसमाथि तैंले दिन-रात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरो होशियारीसाथ पालन गर्नू, र मात्र तेरा सबै मार्गहरूमा उन्नती गर्नेछस् र सफलता पाउनेछस्।”—यहोशू १:८.
११ यहोशूले दिनहुँ यहोवाको “पुस्तक” पढेकोले भावी परीक्षाहरू सँभाल्न सक्षम भए। त्यसरी नै उहाँको आधुनिक समयका साक्षीहरूले यहोवाको वचन, बाइबल दिनहुँ पढेर यी डरलाग्दा “आखिरी दिन[का]” समस्याहरू सामना गर्न बल प्राप्त गर्छन्। (२ तिमोथी ३:१) हामी हिंस्रक संसारमा बाँचिरहेको हुँदा परमेश्वरले यहोशूलाई दिनुभएको यो सल्लाह हृदयंगम गरौं: “बलियो र खूब साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ।” (यहोशू १:९) कनानमाथि विजय प्राप्त गरेपछि इस्राएलका कुलहरूले प्रशस्त आशिष् पाए। “परमप्रभुले मोशालाई जसो आज्ञा गर्नुभएको थियो, इस्राएलीहरूले त्यसै गरे।” (यहोशू १४:५) आज परमेश्वरको वचन पढेर त्यसलाई आफ्नो जीवनमा आज्ञाकारीपूर्वक पालन गर्दै ‘त्यसै गर्ने’ व्यक्तिहरूले त्यस्तै आशिष् पाउनेछन्।
विश्वासी राजाहरू तथा अनाज्ञाकारी राजाहरू
१२. (क) इस्राएलका राजाहरूलाई कस्तो आज्ञा दिइएको थियो? (ख) राजाहरूले आज्ञा पालन नगर्दा परिणाम के भयो?
१२ इस्राएलका राजाहरू नि? यहोवाले राजामाथि यो दायित्व राख्नुभएको थियो: “जब उ आफ्नो राज-सिंहासनमा बस्छ, तब लेवी पूजाहारीहरूको जिम्मामा राखेको व्यवस्थाको नकल गरेर एउटा पुस्तकमा उतारोस्। त्यस व्यवस्थाका सबै कुरा र यी विधिहरू पालन गर्नलाई त्यो नकलको पुस्तक उसँगै रहोस्। औ उसले आफ्नो जीवनभरि त्यो पढ़ोस्, र उसले परमप्रभु आफ्ना परमेश्वरको डर मान्न सिकोस्।” (व्यवस्था १७:१८, १९) के इस्राएलका राजाहरूले त्यो आज्ञा पालन गरे? सधैंजसो गरेनन् जसले गर्दा तिनीहरूले व्यवस्था २८:१५-६८ मा भविष्यवाणी गरिएका सरापहरू भोग्नुपऱ्यो। अन्ततः, इस्राएल “पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म विभिन्न जातिका बीचमा . . . तितर बितर” भए।
१३. परमेश्वरको वचनप्रति प्रेम देखाउँदा दाऊदजस्तै हामी कसरी लाभान्वित हुनसक्छौं?
१३ तथापि, इस्राएलका प्रथम विश्वासी मानव राजा, दाऊदले यहोवाप्रति असाधारण भक्ति देखाए। तिनले आफूलाई येशू ख्रीष्टको पूर्वसंकेत गर्ने ‘यहूदा सिंहको डमरु’ साबित गरे जो ‘यहूदाको कुलको सिंह, दाऊदको मूल’ हुनुहुन्छ। (उत्पत्ति ४९:८, ९; प्रकाश ५:५) दाऊदको बलको स्रोत के थियो? तिनले यहोवाको लिखित वचनलाई गहिरो मूल्यांकन गर्थे र त्यसैअनुसार जीवन बिताउँथे। भजन १९ अर्थात् “दाऊदको भजन[मा]” हामी यस्तो लेखिएको पाउँछौं: “परमप्रभुको व्यवस्था निर्दोष छ।” यहोवाको सम्झौटा, आदेश, आज्ञा तथा न्यायिक निर्णयहरूलाई संकेत गरेपछि दाऊद अझै यसो भन्छन्: “तिनीहरू सुनभन्दा औ ज्यादै निखुर सुनभन्दा पनि मनपर्ने हुन्छन्। मह र महको चाकाभन्दा पनि गुलियो। तीबाटै तपाईंको दासले चेताउनी पनि पाएको छ। ती पालन गरेमा ठूलो इनाम छ।” (भजन १९:७-११) दिनहुँ यहोवाको वचन पढ्नु र त्यसमा मनन गर्नु आजभन्दा ३,००० वर्षअघि इनामदायी थियो भने अहिले कति धेरै हुन्छ!—भजन १:१-३; १३:६; ११९:७२, ९७, १११.
१४. ज्ञान मात्र पर्याप्त छैन भनेर सुलेमानको मार्गले कसरी देखाउँछ?
१४ तैपनि, ज्ञान हासिल गर्नु मात्र पर्याप्त छैन। परमेश्वरका सेवकहरूले त्यो ज्ञानअनुरूप चल्नु र ईश्वरीय इच्छाअनुरूप गर्नु पनि अत्यावश्यक छ। हो, ‘त्यसै गर्नु’ खाँचो छ। यो हामी दाऊदको छोरा, सुलेमानको उदाहरणबाट बुझ्नसक्छौं, जसलाई यहोवाले “परमप्रभुको राज्यधिकार लिएर सिंहासनमा बस्न” चुन्नुभयो। दाऊदले “उत्प्रेरणाद्वारा” वास्तुकलासम्बन्धी योजनाहरू पाएका थिए। ती योजनाहरू प्रयोग गरेर मन्दिर निर्माण गर्ने कार्यभार सुलेमानले पाए। (१ इतिहास २८:५, ११-१३) यस विशाल कार्य सुलेमानले कसरी पूरा गर्नसक्थे? प्रार्थनाको जवाफस्वरूप यहोवाले तिनलाई बुद्धि तथा ज्ञान प्रदान गर्नुभयो। यो बुद्धि तथा ज्ञानको साथै ईश्वरप्रेरित योजना पालन गरेर सुलेमानले त्यो भव्य भवन निर्माण गर्नसके र त्यो यहोवाको महिमाले भरियो। (२ इतिहास ७:२, ३) तर, पछि सुलेमान चुके। कुन कुरामा? इस्राएलको राजाको सन्दर्भमा यहोवाको व्यवस्थामा यो उल्लिखित थियो: “राजाले आफ्नो लागि धेरै स्वास्नीहरूजम्मा नगरोस्, नत्रता उसको मन बरालिनेछ।” (व्यवस्था १७:१७) यद्यपि, सुलेमानका “सात सय राजकुमारी पत्नी र तीन सय उप-पत्नीहरू थिए। . . . तिनका पत्नीहरूले तिनको मन अरू देवताहरूतर्फ लगाइदिए।” पछि गएर सुलेमानले ‘त्यसै गर्न’ छोडे।—१ राजा ११:३, ४; नहेम्याह १३:२६.
१५. योशियाहले कसरी “त्यसै गरे?”
१५ यहूदामा केही आज्ञाकारी राजाहरू थिए, जसमध्ये अन्तिम चाहिं योशियाह थियो। तिनले सा.यु.पू. ६४८ मा त्यस मुलुकबाट मूर्तिपूजा हटाउन र यहोवाको मन्दिर जीर्णोद्धार गर्न थाले। प्रधानपूजाहारीले मन्दिरमा नै “मोशाद्वारा दिएको परमप्रभुको व्यवस्थाको पुस्तक” भेटाए। योशियाहले के गरे? “तिनले आफूसँग यहूदाका सबै मानिसहरू, यरूशलेमका बासिन्दा, पूजाहारी र लेवीहरू, औ साना ठूला जम्मै मानिसहरूलाई लगे। त्यहाँ तिनले परमप्रभुको भवनमा पाइएको करारको पुस्तक सबै पढ़ेर सुनाए। तब मञ्चमा खड़ा भएर परमेश्वरको हुकूम मान्न औ उहाँका आज्ञा, नियम र धर्म-विधिहरू आफ्नो सम्पूर्ण मन र तनले पालन गर्न औ त्यस पुस्तकमा लेखिएका करारका शर्त्तहरू पूरा गर्न परमप्रभुको सामने राजाले बाचा बाँधे।” (२ इतिहास ३४:१४, ३०, ३१) हो, योशियाहले “त्यसै गरे।” तिनको विश्वासी कार्यको फलस्वरूप अविश्वासी यहूदामाथि यहोवाको न्याय तिनका अपराधी छोराहरूको समयसम्म स्थगित भयो।
परमेश्वरको वचनअनुसार जीवन बिताउने
१६, १७. (क) हामीले कुन कुन ढंगमा येशूको पदचिन्ह पछ्याउनुपर्छ? (ख) परमेश्वरका अन्य कुन कुन विश्वासी सेवकहरू हाम्रोलागि उदाहरण हुन्?
१६ आजसम्म बाँचेकाहरूमध्ये परमेश्वरको वचन मनन गरेर त्यसअनुसार जीवन बिताउने सर्वोत्तम नमुना प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। परमेश्वरको वचन उहाँको लागि भोजनजस्तै थियो। (यूहन्ना ४:३४) उहाँले आफ्ना श्रोताहरूलाई यसो भन्नुभयो: “पिताले जे गर्नुहुन्छ, त्यो नदेखेसम्म पुत्र आफैले केही गर्नसक्तैन, किनभने उहाँ जे गर्नुहुन्छ, पुत्रले पनि तिनै काम त्यही किसिमले गर्छ।” (यूहन्ना ५:१९, ३०; ७:२८; ८:२८, ४२) येशूले ‘त्यसै गर्नुभयो’ र यो घोषणा गर्नुभयो: “म आफ्नो इच्छा होइन, तर मलाई पठाउनेको इच्छा पूरा गर्नालाई स्वर्गबाट ओर्लिआएको हुँ।” (यूहन्ना ६:३८) यहोवाका समर्पित साक्षीहरूको हैसियतमा हामीले येशूको पदचिन्ह पछ्याउँदै ‘त्यसै गर्नुपर्छ।’—लूका ९:२३; १४:२७; १ पत्रुस २:२१.
१७ परमेश्वरको इच्छा गर्नु नै येशूको मनमा सधैं प्रमुख हुन्थ्यो। उहाँलाई परमेश्वरको वचन राम्ररी थाह थियो। त्यसैले उहाँ शास्त्रीय जवाफहरू दिन सुसज्जित हुनुहुन्थ्यो। (मत्ती ४:१-११; १२:२४-३१) परमेश्वरको वचनमा निरन्तर ध्यान दिएर हामी पनि “सुकर्ममा पूर्णरूपले सुसज्जित” हुनसक्छौं। (२ तिमोथी ३:१६, १७) हामी यहोवाको पुरातन समय तथा त्यसपश्चात्का विश्वासी सेवकहरू र सबैभन्दा बढी हाम्रो मालिक, येशू ख्रीष्टको उदाहरण पछ्याऔं। उहाँले यसो भन्नुभयो: “म पितालाई प्रेम गर्दछु, र जसो पिताले मलाई आज्ञा गर्नुभएको छ, सोही बमोजिम गर्दछु भनी संसारले जानोस्।” (यूहन्ना १४:३१) हामी पनि लगातार ‘त्यसै गरेर’ परमेश्वरप्रति प्रेम देखाऔं।—लूका १२:२९-३१.
१८. “वचन पालन गर्ने” हुन हामीलाई कुन कुराले उत्प्रेरित गर्नुपर्ने हो र आउँदो लेखमा के छलफल गरिनेछ?
१८ परमेश्वरका बाइबलकालीन सेवकहरूले आज्ञाकारीपूर्वक पछ्याएको मार्गलाई मनन गर्दा के हामी शैतानको दुष्ट रीतिरिवाजको अन्तिम दिनहरूमा विश्वासी भई सेवा गरिरहन प्रोत्साहित हुँदैनौं र? (रोमी १५:४-६) निस्सन्देह, हामी पूर्ण अर्थमा “वचन पालन गर्ने” हुन उत्प्रेरित हुनुपर्ने हो। यसबारे आउँदो लेखमा छलफल गरिनेछ।—याकूब १:२२.
के तपाईंले सम्झनुभएको छ?
◻ “परमेश्वरप्रति प्रेम[ले]” हामीलाई कस्तो अर्थ राख्नुपर्ने हो?
◻ नूह, मोशा र यहोशूका उदाहरणहरूबाट हामी के सिक्छौं?
◻ इस्राएलका राजाहरूले कुन हदसम्म परमेश्वरको “वचन” पालन गरे?
◻ ‘त्यसै गर्ने’ सन्दर्भमा येशू कसरी हाम्रो महान् नमुना हुनुहुन्छ?
[पृष्ठ १५-मा भएका चित्रहरू]
नूह, मोशा र यहोशूले “त्यसै गरे”