‘तिमीहरू पवित्र होओ किनभने म पवित्र छु’
“तिमीहरू पवित्र होओ, किनभने म परमप्रभु, तिमीहरूका परमेश्वर पवित्र छु।”—लेवी १९:२.
१. संसारमा पवित्र ठानिएका केही मानिसहरू को हुन्?
संसारका अधिकांश प्रमुख धर्महरूमा पवित्र ठानिएका व्यक्तिहरू छन्। भारतमा सेवाको लागि ख्यातिप्राप्त मदर टेरेसालाई प्रायजसो पवित्र ठानिन्छ किनभने उनले गरिबहरूप्रति आत्मत्यागी समर्पण गरिन्। पोपलाई “पवित्र पिता” भनिन्छ। केही क्याथोलिकहरूले आधुनिक क्याथोलिक संगठनका संस्थापक, ओप्यूस् डे होसे मारिया एस्क्रिबालाई “पवित्रताको नमुना” ठान्छन्। हिन्दू धर्मका स्वामी अथवा पवित्र पुरुषहरू छन्। गान्धीलाई पवित्र पुरुष मानेर श्रद्धा चढाइन्थ्यो। बौद्ध धर्मका पवित्र भिक्षुहरू र इस्लाम धर्मका पवित्र अगमवक्ताहरू छन्। तर वास्तवमा पवित्र हुनु भनेको के हो?
२, ३. (क) “पवित्र” र “पवित्रता” शब्दको अर्थ के हो? (ख) कुन कुन प्रश्नहरूको जवाफ चाहिएको छ?
२ “पवित्र” शब्दलाई १. . . . ईश्वरीय शक्तिसित सम्बन्धित; शुद्ध। २. उपासना गर्न वा पूज्न योग्यको . . . ३. कडा वा उच्च नैतिक धर्म वा आध्यात्मिक प्रणालीअनुरूप जीवन बिताउने . . . ४. धार्मिक उद्देश्यको लागि तोकिएको वा छुट्याइएको” भनी परिभाषित गरिन्छ। बाइबलीय सन्दर्भअनुसार पवित्रता भनेको “धार्मिक स्वच्छता वा विशुद्धता; शुद्धता” हो।बाइबल सन्दर्भिका, धर्मशास्त्रमा अन्तरदृष्टि-अनुसार (अंग्रेजी) “मौलिक हिब्रू [शब्द] कोदेश-ले अलग, ऐकान्तिक वा परमेश्वरको पवित्रीकरण, . . . परमेश्वरको सेवाको लागि छुट्याइएको अवस्थालाई बुझाउँछ।”a
३ इस्राएल राष्ट्रलाई पवित्र हुन आज्ञा दिइएको थियो। परमेश्वरको व्यवस्थामा यसो भनिएको थियो: “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। यसैकारण तिमीहरू आफूलाई चोख्याएर पवित्र होओ, किनकि म पवित्र छु।” पवित्रताको स्रोत को हुनुहुन्थ्यो? असिद्ध इस्राएलीहरू कसरी पवित्र हुनसक्थे? यहोवाले आज हामीबाट पनि पवित्रता माग गर्नुभएकोले कस्तो पाठ सिक्नसक्छौं?—लेवी ११:४४.
पवित्रताको स्रोतसित इस्राएलको कस्तो सम्बन्ध थियो
४. इस्राएलमा यहोवाको पवित्रता कसरी प्रष्ट देखाइयो?
४ इस्राएलले यहोवा परमेश्वरको उपासनामा गर्ने सम्पूर्ण कुरालाई पवित्र ठानिन्थ्यो र त्यस्तै व्यवहार गरिन्थ्यो। त्यसो किन? किनभने पवित्रताको मूल र स्रोत यहोवा स्वयं हुनुहुन्छ। पवित्र बासस्थान, पूजाहारीको पोशाक र सरसजावटको तयारीबारे मोशाको विवरणको अन्तमा यी शब्दहरू व्यक्त गरिएका छन्: “तिनले पवित्र मुकुटको पाता निखुर सुनको बनाए, औ त्यहाँ छापको खोपाइझैं यी कुरा खोपे ‘परमप्रभुको निम्ति पवित्र।’” प्रधानपूजाहारीको फेटामा यो निखुर सुनको चहकिलो पाता लगाइन्थ्यो र यसले तिनी विशेष पवित्र सेवाको लागि छुट्याइका हुन् भनेर देखाउँथ्यो। यो खोपेको चिह्न घाममा टल्केको देखेपछि इस्राएलीहरूले यहोवाको पवित्रताबारे सधैं सम्झन्थे।—प्रस्थान २८:३६; २९:६; ३९:३०.
५. असिद्ध इस्राएलीहरू कसरी पवित्र हुनसक्थे?
५ तर इस्राएलीहरू कसरी पवित्र हुनसक्थे? यहोवासितको निकटतम सम्बन्ध र उहाँप्रतिको शुद्ध उपासनाद्वारा मात्र पवित्र हुनसक्थे। शारीरिक तथा आध्यात्मिक तवरमा स्वच्छ भई उहाँलाई पवित्र उपासना चढाउन “परम-पवित्रको” सही ज्ञान चाहिन्थ्यो। (हितोपदेश २:१-६; ९:१०) तसर्थ, इस्राएलीहरूले शुद्ध मनसाय र शुद्ध हृदयले परमेश्वरको उपासना गर्नुपर्थ्यो। कुनै पनि प्रकारको कपटपूर्ण उपासना यहोवाको दृष्टिमा घीनलाग्दो हुनेथियो।—हितोपदेश २१:२७.
यहोवाले किन इस्राएलको भर्त्सना गर्नुभयो
६. मलाकीको समयका यहूदीहरूले यहोवाको टेबलप्रति कस्तो व्यवहार गरे?
६ इस्राएलीहरू आधी मनको भएर मन्दिरमा कमसल, खोट लागेका बलिहरू ल्याउँदा उक्त कुरा स्पष्टसित देखियो। यहोवाले अगमवक्ता मलाकी मार्फत तिनीहरूका कमसल भेटीहरूको यसरी भर्त्सना गर्नुभयो: “म तिमीहरूसँग खुशी छैनँ, नता तिमीहरूले चढ़ाएको भेटी म ग्रहण गर्नेछु, सेनाहरूका परमप्रभु भन्नुहुन्छ। . . . तर तिमीहरू ता ‘परमप्रभुको टेबल अशुद्ध छ, र त्यसमा भएको फल, अर्थात् भोजन तुच्छ भएको छ’ भनेर मेरो नाउँ अपवित्र गर्दछौ। तिमीहरू यसो पनि भन्दछौ, ‘यो ता कस्तो दिक्क लाग्ने काम हो,’ औ तिमीहरूले त्यसमा नाक चेप्रायौ, परमप्रभु भन्नुहुन्छ। तिमीहरूले जबरदस्तीसित खोसेर ल्याएका थोकहरू औ लङ्गडा र बेथा लागेको पशुको भेटी ल्याएका छौ। तिमीहरूले यस्तै भेटी ता ल्याउँदछौ के तिमीहरूका हातबाट यस्ता भेटीहरू मैले ग्रहण गर्ने? परमप्रभु भन्नुहुन्छ।”—मलाकी १:१०, १२, १३.
७. सा.यु.पू. पाँचौं शताब्दीका यहूदीहरूले कस्ता अपवित्र कार्यहरू गरिरहेका थिए?
७ परमेश्वरले यहूदीहरूका झूटा प्रचलनहरूको भर्त्सना गर्न सम्भवतः सा.यु.पू. पाँचौं शताब्दीतिर मलाकीलाई चलाउनुभयो। पूजाहारीहरूले खराब उदाहरण बसालेका थिए र तिनीहरूको आचरण कुनै हालतमा पवित्र थिएन। तिनीहरूको लहैलहैमा लागेका मानिसहरूले ईश्वरीय सिद्धान्तहरूलाई हल्का ठान्थे र मूर्तिपूजक जवान पत्नीहरू राख्न आफ्ना पत्नीहरूलाई पारपाचुके गर्ने हदसम्म पुगिसकेका थिए। मलाकीले यसप्रकार लेखे: “परमप्रभु तिमीहरू र तिमीहरूका जवानीपनको स्वास्नीको बीचमा गरिएको करारको साक्षी हुनुहुन्छ—तिमीहरूका स्वास्नी जसलाई तिमीहरूले धोकाb दियौ, यद्यपि ती तिमीहरूका जीवन-साथी र करारमा बाँधिएका स्वास्नी हुन्। . . . यसैले तिमीहरू आफ्नो आत्माको विषयमा सचेत रहो, र कसैले आफ्नो जवानीपनको स्वास्नीलाई धोका नदेओस्। किनभने स्वास्नीलाई त्याग्ने कुरालाई म घिन गर्दछु, परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ।”—मलाकी २:१४-१६.
८. पारपाचुकेसम्बन्धी आधुनिक दृष्टिकोणले मसीही मण्डलीका केही व्यक्तिहरूलाई कसरी असर गरेको छ?
८ सजिलै पारपाचुके गर्न सकिने आधुनिक समयका थुप्रै देशहरूमा पारपाचुके दर अकासिएको छ। यसले मसीही मण्डलीलाई समेत असर गरेको छ। प्राचीनहरूको मदत लिई समस्याहरू झेलेर आफ्नो विवाह सफल पार्ने प्रयास गर्नुको साटो केहीले हतपत पारपाचुके गरेका छन्। प्रायजसो यसले छोराछोरीहरूलाई गहन भावनात्मक असर गर्छ।—मत्ती १९:८, ९.
९, १०. हामीले यहोवाको उपासनालाई कसरी विचार गर्नुपर्छ?
९ माथि उल्लेख गरिएअनुसार यहोवाले मलाकीको समयको दयनीय आध्यात्मिक अवस्थालाई दृष्टिगत गर्नुहुँदै यहूदाको सतही उपासनालाई खुल्लमखुल्ला निन्दा गर्नुभयो र उहाँले शुद्ध उपासना मात्र स्वीकार्नुहुनेछ भनी देखाउनुभयो। के यसले यहोवा परमेश्वर ब्रह्माण्डका सार्वभौम प्रभु, साँचो पवित्रताको स्रोतलाई चढाइने हाम्रो उपासनाको गुणस्तरबारे विचार गर्न लगाउँदैन र? के हामीले परमेश्वरलाई साँच्चै पवित्र सेवा चढाइरहेका छौं? के हामी आफूलाई आध्यात्मिक तवरमा स्वच्छ राख्छौं?
१० यसको अर्थ, हामी सिद्ध हुनुपर्छ भनेको होइन किनभने यो असम्भव छ अथवा आफूलाई अरूसित दाँज्नुपर्छ भनेको पनि होइन। तर हरेक मसीहीले परमेश्वरलाई आफ्नो परिस्थितिअनुसार यथासम्भव सर्वोत्तम उपासना चाहिं चढाउनैपर्छ। यसले हाम्रो उपासनाको गुणस्तरलाई देखाउँछ। हामीले चढाउने शुद्ध सेवा, हाम्रो सर्वोत्तम अर्थात् पवित्र सेवा हुनुपर्छ। त्यो कसरी गर्न सकिन्छ?—लूका १६:१०; गलाती ६:३, ४.
शुद्ध हृदयले शुद्ध उपासना गर्न लगाउँछ
११, १२. अपवित्र आचरण कहाँबाट निस्कन्छ?
११ कुनै व्यक्तिको भनाइ वा गराइबाट तिनको हृदयमा के छ, त्यो प्रकट हुन्छ भनेर येशूले स्पष्टसित सिकाउनुभयो। येशूले आत्मधर्मी तर अपवित्र फरिसीहरूलाई यसो भन्नुभयो: “ए साँपका बच्चा हो, तिमीहरू दुष्ट भएर असल कुरा कसरी बोल्नसक्छौ? किनभने हृदयमा भरिएका कुरानै मुखले बोल्दछ।” हृदयको दुष्ट सोचाइ अथवा भित्री मानिसबाट दुष्ट कार्यहरू निस्कन्छन् भनी उहाँले पछि देखाउनुभयो। उहाँले यसो भन्नुभयो: “जुन कुराहरू मुखबाट बाहिर निस्कन्छन्, ती हृदयबाट निस्केर आउँछन्, र तिनैले मानिसलाई अशुद्ध तुल्याउँछन्। किनकि हृदयबाटनै दुष्ट विचार, हत्या, जारी, व्यभिचार, चोरी, झूटो साक्षी, निन्दा बाहिर निस्कन्छन्। मानिसलाई अशुद्ध पार्ने कुराहरू यिनै हुन्।”—मत्ती १२:३४; १५:१८-२०.
१२ यसले हामीलाई अपवित्र कार्यहरू स्वतः वा पूर्व सोचबिना हुँदैनन् भनी बुझ्न मदत दिन्छ। त्यस्ता कार्यहरू हृदयभित्र लुकिरहेका गुप्त इच्छाहरू वा शायद सांसारिक कल्पनाजस्ता अशुद्ध सोचाइको परिणाम हो। त्यसैकारण येशूले यसो भन्न सक्नुभयो: “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्यभिचार नगर्।’ तर म तिमीहरूलाई भन्दछु, ‘जसले कोही स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै त्यसको हृदय- मा व्यभिचार गरिसकेको हुन्छ।’” अर्को शब्दमा भन्ने हो भने, करनी र व्यभिचार हुनुअघि नै त्यसले हृदयमा जरा गाडिसकेको हुन्छ। त्यसपछि मौका पाउने बित्तिकै अपवित्र सोचाइहरू अपवित्र आचरणमा बदलिन्छन्। अपवित्र सोचाइका केही प्रत्यक्ष परिणामहरू करनी, व्यभिचार, पुरुषगामी, चोरी, निन्दा र धर्मत्याग हुन्।—मत्ती ५:२७, २८; गलाती ५:१९-२१.
१३. अपवित्र सोचाइले अपवित्र कार्यतर्फ लैजानसक्ने केही उदाहरणहरू के हुन्?
१३ यसलाई विभिन्न तरिकाले प्रष्ट्याउन सकिन्छ। केही देशहरूमा जूवाघरहरू च्याउजस्तै उम्रिरहेकाले जूवा खेल्ने मौका बढी हुन्छ। केहीले आफ्ना आर्थिक समस्याहरू सुल्झाउन यी नकली समाधानको शरण लिन प्रलोभित हुनसक्छन्। भ्रामक तर्कले कुनै भाइलाई बाइबल सिद्धान्तहरू नकार्न वा फितलो पार्न उस्काउनसक्छ।c अर्को उदाहरण विचार गर्ने हो भने, टिभी, भिडिओ, कम्प्युटर वा पुस्तकहरूमा अश्लील कुराहरू छ्यापछ्यापती छन् भने मसीहीलाई अपवित्र आचरणमा फस्न धेरै बेर लाग्दैन। तिनले आध्यात्मिक अस्त्रलाई बेवास्ता गर्ने बित्तिकै चालै नपाई तिनी अनैतिकतामा फसिसकेका हुन्छन्। तर पापमा यसरी खस्कने अधिकांश अवस्थाहरू मनबाट सुरु हुन्छन्। हो, यस्ता परिस्थितिहरूमा याकूबका यी शब्दहरू पूरा हुन्छन्: “हरेक मानिस आफ्नै तृष्णाबाट खिंचिई लोभिएर परीक्षामा पर्दछ। तब तृष्णा गर्भवती भएर पापलाई जन्माउँछ, र पाप पूरा बढेपछि मृत्यु उत्पन्न गराउँछ।”—याकूब १:१४, १५; एफिसी ६:११-१८.
१४. धेरैले आफ्नो अपवित्र आचरणलाई कसरी सच्याउन सकेका छन्?
१४ खुशीको कुरा, कमजोरीको कारण पाप गर्ने थुप्रै मसीहीहरूले साँचो पश्चात्ताप गर्छन् र प्राचीनहरू त्यस्ताहरूलाई आध्यात्मिक तवरमा पुनर्स्थापित गर्न सक्षम हुन्छन्। अपश्चात्तापी हुनाले बहिष्कृत हुने थुप्रै समेत अन्ततः होशमा आउँछन् र मण्डलीमा पुनर्स्थापित हुन्छन्। आफ्नो हृदयमा अपवित्र सोचाइहरूलाई जरा गाड्न दिएपछि शैतानले कसरी सजिलै पछारे भनी तिनीहरूले बुझ्छन्।—गलाती ६:१; २ तिमोथी २:२४-२६; १ पत्रुस ५:८, ९.
हाम्रा कमजोरीहरूको सामना गर्ने चुनौती
१५. (क) हामीले आफ्ना कमजोरीहरूको सामना किन गर्नैपर्छ? (ख) हामीलाई आफ्ना कमजोरीहरू स्वीकार्न कुन कुराले मदत दिनसक्छ?
१५ हामीले आफ्नो हृदयको साँचो मनसाय जान्ने प्रयास गर्नैपर्छ। के हामी आफ्ना कमजोरीहरू स्वीकार्दै त्यसको सामना गरेर त्यसमाथि विजयी हुन इच्छुक छौं? के हामी कुनै निष्कपट साथीसित प्रगति गर्ने सल्लाह मागेर त्यसअनुरूप गर्न इच्छुक छौं? पवित्र रहन हामीले आफ्ना त्रुटिहरूलाई सुधार्नैपर्छ। किन? किनभने शैतानलाई हाम्रा कमजोरीहरू थाह छ। त्यसले हामीलाई पाप तथा अपवित्र आचरणमा फसाउन चतुर चालहरू चल्नेछ। त्यसले आफ्ना धूर्त कार्यहरूद्वारा हामीलाई परमेश्वरको प्रेमबाट अलग पार्न खोज्छ। परिणामस्वरूप हामी यहोवाको उपासना गर्न अपवित्र तथा अनुपयोगी हुन्छौं।—यर्मिया १७:९; एफिसी ६:११; याकूब १:१९.
१६. पावलले कस्तो लडन्त लड्नुपऱ्यो?
१६ प्रेरित पावलले रोमीहरूलाई लेखेको पत्रबाट तिनले भोगेका परीक्षा तथा जाँचहरूको पुष्टि हुन्छ: “मलाई थाह छ, कि ममा, अर्थात् मेरो शरीरमा केही असल कुराले बास गर्दैन, किनभने इच्छा गर्ने चाहिं मसित हाजिरै छ, तर असल काम गर्ने भने छैन। किनभने असल काम जो म गर्न चाहन्छु, त्यो म गर्दिनँ, तर खराब काम जो म गर्नचाहन्न, त्यही म गर्नेगर्छु। . . . म मेरो अन्तस्करणले परमेश्वरको व्यवस्थामा आनन्दित हुन्छु, तर मेरो बुद्धिको व्यवस्थाको विरुद्धमा लड़ाइँ गर्ने, र मेरा इन्द्रियहरूमा रहेको पापको अधीनमा भएको व्यवस्थाको बन्धनमा मलाई ल्याउने, मेरा इन्द्रियहरूमा भिन्नै व्यवस्था म देख्तछु।”—रोमी ७:१८-२३.
१७. आफ्ना कमजोरीहरू विरुद्धको संघर्षमा पावल कसरी विजयी भए?
१७ पावलले आफ्ना कमजोरीहरूलाई स्वीकार्नु सबैभन्दा महत्त्वपूर्ण कुरा थियो। ती कमजोरीहरूको बावजूद तिनले यसो भन्न सके: “[आध्यात्मिक पुरुषको हैसियतमा] म मेरो अन्तस्करणले परमेश्वरको व्यवस्थामा आनन्दित हुन्छु।” पावलले असल कुरालाई प्रेम र खराबीलाई घृणा गर्थे। तर तिनको लडन्त भने अझै सिद्धिएको थिएन किनभने हामीले जस्तै तिनले पनि शैतान, यस संसार र शरीर विरुद्ध लड्नु परेकै थियो। त्यसोभए यस संसार र यसको सोचाइबाट अलग भएर पवित्र हुने लडन्तमा हामी कसरी विजयी हुनसक्छौं?—२ कोरिन्थी ४:४; एफिसी ६:१२.
हामी कसरी पवित्र रहनसक्छौं?
१८. हामी कसरी पवित्र रहनसक्छौं?
१८ सबैभन्दा सजिलो मार्ग अपनाएर वा आत्मविलासी भएर पवित्रता प्राप्त हुँदैन। त्यस्तो व्यक्तिले आफ्नो आचरणको लागि सधैं बहाना बनाएर अरू नै कुरामा दोष थोपर्न खोज्नेछ। शायद आफ्ना कार्यहरूका लागि जवाफदेही हुन सिक्नुपर्छ र पारिवारिक पृष्ठभूमि वा वंशानुगत प्रवृत्तिले गर्दा यसो भइहाल्छ भन्दै दोषारोपण गर्ने केही मानिसहरूजस्तो हुनुहुँदैन। कुनै पनि मामिलाको जड व्यक्तिविशेषको हृदयमा हुन्छ। के तिनले धार्मिकतालाई प्रेम गर्छन्? पवित्रताको तिर्सना गर्छन्? परमेश्वरको आशिष् पाउने इच्छा गर्छन्? भजनरचयिताले यी शब्दहरू मार्फत पवित्रताको खाँचोलाई स्पष्ट पारे: “खराबीबाट हटेर भलाइ गर्, प्रेम खोज्, र त्यसकै पछि लाग्।” प्रेरित पावलले यसप्रकार लेखे: “प्रेम निष्कपटको होस्। जुन कुरो खराब छ, त्यसलाई घृणा गर, जुन कुरो असल छ, त्यसमा लागिरहो।”—भजन ३४:१४; ९७:१०; रोमी १२:९.
१९, २०. (क) हामी आफ्नो मनलाई कसरी आध्यात्मिक तवरमा बढाउनसक्छौं? (ख) प्रभावकारी व्यक्तिगत अध्ययनमा के समावेश छ?
१९ हामीले यहोवाको जस्तै दृष्टिकोण राख्यौं र हामीसित ख्रीष्टको जस्तै मन छ भने ‘असल कुरामा लागिरहन’ सक्छौं। (१ कोरिन्थी २:१६) यो कसरी गर्न सकिन्छ? परमेश्वरको वचनको नियमित अध्ययन र मननद्वारा। यो सल्लाह कति धेरै चोटि दिइसकेको छ! तर के हामी यसलाई गम्भीरतापूर्वक लिन्छौं? उदाहरणका लागि, के तपाईं सभामा आउनुअघि यस पत्रिकामा उल्लिखित बाइबल पदहरू जाँचेर साँच्चै अध्ययन गर्नुहुन्छ? अध्ययन गर्नु भनेको हरेक परिच्छेदका केही वाक्यांशहरूलाई कच लगाउनु मात्र होइन। अध्ययन लेखलाई सरसरती हेरेर १५ मिनेट जतिमा पनि कच लगाउन सकिन्छ। तर के त्यसको अर्थ हामीले लेख अध्ययन गरेको हो त? वास्तवमा हरेक लेखले प्रस्तुत गर्ने आध्यात्मिक लाभलाई अध्ययन गरेर त्यसलाई ग्रहण गर्न एक दुइ घण्टा लाग्नसक्छ।
२० शायद हरेक हप्ता केही घण्टा टिभी बन्द गरेर व्यक्तिगत पवित्रतामा साँच्चै ध्यान केन्द्रित गर्न आफूलाई अनुशासनमा राख्नुपर्ने खाँचो छ। नियमित अध्ययनले हाम्रो आध्यात्मिकतालाई बढाउँछ र “पवित्र जीवन” बिताउन सही निर्णयहरू गर्न मनको आत्मालाई नयाँ बनाउँछ।—२ पत्रुस ३:११; एफिसी ४:२३; ५:१५, १६.
२१. कुन प्रश्नको जवाफ पाउनु बाँकी नै छ?
२१ अब प्रश्न रहन्छ, यहोवा पवित्र हुनुभएकोले हामी मसीहीहरूको हैसियतमा अन्य कस्ता क्रियाकलाप तथा आचरणमा पनि पवित्र हुनसक्छौं? यसपछिको लेखले केही गहन बुँदाहरू प्रस्तुत गर्नेछ।
[फुटनोटहरू]
a यस दुइ खण्डे सन्दर्भिका, वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित गरिएको हो।
b “धोका” दिनुको अर्थसम्बन्धी विस्तृत छलफलको लागि ब्यूँझनुहोस्! (अंग्रेजी) फेब्रुअरी ८, १९९४, पृष्ठ २१ मा “परमेश्वरले कस्तो प्रकारको पारपाचुकेलाई घृणा गर्नुहुन्छ?” लेख हेर्नुहोस्।
c जूवा खेल्नु अपवित्र आचरण हो भन्ने विषयमा थप जानकारीको लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित ब्यूँझनुहोस्! (अंग्रेजी) अगस्त ८, १९९४, पृष्ठ १४-१५ हेर्नुहोस्।
के तपाईंले सम्झनुभएको छ?
◻ इस्राएलमा पवित्रताको स्रोत कसरी चिनाइयो?
◻ मलाकीको समयमा इस्राएलीहरूको उपासना कसरी अपवित्र थियो?
◻ अपवित्र आचरण कहाँबाट सुरु हुन्छ?
◻ पवित्र हुन हामीले कुन कुरालाई स्वीकार्नैपर्छ?
◻ हामी कसरी पवित्र रहनसक्छौं?