पाठकहरूका प्रश्नहरू
के येशूलाई अहिले आरमागेडोनको समय थाह छ?
उहाँलाई थाह छ भनी विश्वास गर्नु तर्कपूर्ण देखिन्छ।
त्यस्तो प्रश्नै किन उठ्छ भनी केही छक्क पर्लान्। मत्ती २४:३६ मा लिपिबद्ध येशूको यो टिप्पणीले गर्दा होला: “त्यस दिन र घड़ीको विषयमा कसैले जान्दैन, नता स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र।” यस वाक्यांशलाई ध्यान दिनुहोस् “न पुत्रले।”
येशूले प्रेरितहरूको निम्न प्रश्नको जवाफमा उक्त पद भन्नुभएको थियो: “हामीलाई भन्नुहोस्, यो कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र जगत्को अन्तको चिह्न के हुन्छ?” (मत्ती २४:३) “चिह्न[का]” प्रमाणहरूबारे अहिले येशूको यस प्रख्यात भविष्यवाणीमा उहाँले युद्ध, अनिकाल, भुइँचालो, साँचो मसीहीहरूको सतावट र उहाँको उपस्थितिलाई संकेत गर्ने अन्य पार्थिव घटनाहरूबारे बताउनुभयो। यस चिह्नद्वारा उहाँका अनुयायीहरूले अन्त नजीकै छ भनी बुझ्ने थिए। उहाँले समयको निकटतालाई बुझाउन नेभाराको रूखमा पातहरू पलाउने समयको उदाहरण दिनुभयो र त्यसले ग्रीष्म ऋतु नजीकै छ भन्ने संकेत दिन्थ्यो। उहाँले थप यसो भन्नुभयो: “त्यसरीनै तिमीहरूले पनि जब यी कुरा भएका देख्नेछौ तब उ नजीकै, ढोकाहरूमै छ भनी जान।”—मत्ती २४:३३.
तर अन्त कहिले आउनेछ भनी येशूले कुनै समय तोक्नुभएन। बरु, उहाँले के जवाफ दिनुभयो, त्यो हामीले मत्ती २४:३६ मा पढ्यौं। पवित्र धर्मशास्त्रको नयाँ विश्व अनुवाद (अंग्रेजी) र अन्य आधुनिक बाइबलहरूमा त्यही भनिएको छ। यद्यपि, केही पुराना संस्करणहरूमा “न पुत्रले” भन्ने वाक्यांश पाइँदैन।
उदाहरणका लागि, क्याथोलिक डुवे भर्सन-मा यसो भनिएको छ: “त्यस दिन र घड़ीको विषयमा कसैले जान्दैन, नता स्वर्गका दूतहरूले तर पिताले मात्र।” किङ जेम्स भर्सन-मा पनि त्यसै भनिएको छ। मर्कूस १३:३२ मा उल्लिखित भए तापनि ती बाइबलहरूमा “न [अथवा, नता] पुत्रले” किन नलेखेको? किनभने १७औं शताब्दीको सुरुतिर ती संस्करणहरू तयार पार्दा अनुवादकहरूसित भएका ती हस्तलिपिहरूमा त्यो अभिव्यक्ति थिएन। तर, अब भने पुराना युनानी हस्तलिपिहरू थुप्रै पत्ता लागेका छन्। मत्तीको मौलिक पद लेखिएको समयतिरका यी हस्तलिपिहरूको मत्ती २४:३६ मा “न पुत्रले” भन्ने अभिव्यक्ति पाइन्छ।
चाखलाग्दो कुरा, ल्याटिन भल्गेट-ले “धार्मिक शिक्षाका कारणहरूले” त्यो अभिव्यक्ति नलेखेका होला भनी क्याथोलिक जेरूसलेम बाइबल-ले यस अभिव्यक्तिको पादटिप्पणीमा बताउँछ। भन्न त परिहाल्यो नि! त्रिएकमा विश्वास गर्ने अनुवादक तथा प्रतिलिपिकहरू त्यो वाक्यांश नलेख्न प्रलोभित हुनसक्छन् किनभने त्यसले पितालाई थाह भएको तर येशूलाई भने थाह नभएको संकेत गर्छ। येशू र पिता, त्रिएक परमेश्वरका भाग हुनुहुन्छ भने कुनै कुरा येशूलाई कसरी थाह नहोला र?
त्यसरी नै, बी. एम. मत्सगरद्वारा लिखित युनानी नयाँ नियमको शाब्दिक टिप्पणी (अंग्रेजी) यसो भन्छ: “पछिको बाइजान्टिन पदलगायत मत्तीका अधिकांश [हस्तलिपि] प्रमाणहरूमा ‘न पुत्रले’ भन्ने शब्दहरू पाइँदैनन्। अर्कोतर्फ, आलेक्जान्ड्रियन, पश्चिमी तथा सिजेरियन पदहरूका सर्वोत्तम नमुनाहरूमा उक्त वाक्यांश पाइन्छ।” मर्कूस १३:३२ “मा शब्द थपिए भन्नुभन्दा उक्त शब्दहरूले गर्दा हुने धर्मसैद्धान्तिक कठिनाइको कारण ती हटाइए भन्नु बढी मनासिब देखिन्छ।”—तेर्सो अक्षर हाम्रो।
प्रारम्भिक हस्तलिपिहरूका ती “सर्वोत्तम नमुनाहरू”-ले उक्त पदसम्बन्धी क्रमिक ज्ञानलाई समर्थन गर्छ। स्वर्गदूतहरू-लाई अन्तको घडीबारे थाह थिएन; नता पुत्र-लाई; तर पिता-लाई मात्र। अनि यो मत्ती २०:२३ मा उल्लिखित येशूका शब्दहरूअनुरूप छन्। किनभने येशूले परमेश्वरको राज्यमा उच्च स्थानहरू दिने हक आफूसित होइन तर पितासित मात्र छ भनी स्वीकार्नुभयो।
यसर्थ, येशूका आफ्नै शब्दहरूले पृथ्वीमा छँदा उहाँलाई ‘संसारको अन्तको’ मिति थाह थिएन भनी देखाउँछ। के त्यसपछि उहाँले थाह पाउनुभयो?
“विजय गर्दै र विजय गर्नालाई” सेतो घोडामा विराजमान येशू निस्कनुभयो भनी प्रकाश ६:२ ले वर्णन गर्छ। अन्य घोडसवारहरूले प्रतिनिधित्व गर्ने युद्ध, अनिकाल तथा रूढीजस्ता घटनाहरू हामीले सन् १९१४ मा प्रथम विश्वयुद्ध भएदेखि भोगिरहेका छौं। सन् १९१४ मा परमेश्वरको स्वर्गीय राज्यको राजाको हैसियतमा येशू सिंहासनमा विराजमान हुनुभयो र उहाँले पृथ्वीको दुष्टता विरुद्ध लडाईंमा नेतृत्व लिनुहुनेछ भनी यहोवाका साक्षीहरू विश्वास गर्छन्। (प्रकाश ६:३-८; १९:११-१६) परमेश्वरको नाउँमा विजेता हुन अख्तियार पाइसक्नुभएकोले येशूलाई कहिले अन्त आउनेछ र ‘विजय पूरा हुनेछ’ भनी पिताले बताइसक्नुभयो भन्नु तर्कपूर्ण देखिन्छ।
हामी पृथ्वीवासीहरूलाई त्यो मिति बताइएको छैन। त्यसकारण येशूका यी शब्दहरू हामीमा अझै लागू हुन्छ: “होशियार रहो, जागा बस र प्रार्थना गर, किनकि त्यो बेला कहिले हुने हो सो तिमीहरू जान्दैनौ। . . . जे म तिमीहरूलाई भन्दछु, त्यो म सबैलाई भन्दछु, ‘जागा रहो।’”—मर्कूस १३:३३-३७.