माइकल फाराडे आफ्नो विश्वासअनुरूप जीवन बिताउने वैज्ञानिक
“विद्युत्का पिता।” “अहिलेसम्म बाँचेकाहरूमध्ये महान् वैज्ञानिक।” सन् १७९१ मा बेलाइतमा जन्मिएका माइकल फाराडेलाई उक्त दुइ प्रकारले वर्णन गरिएको छ। तिनले आविष्कार गरेको विद्युत् चुम्बकीय शक्तिकै आधारमा विद्युतीय मोटर तथा विद्युत् ऊर्जा प्रजननको विकास भयो।
फाराडे लण्डनको रोयल इन्स्टीच्युशनमा रसायन तथा भौतिकशास्त्रसम्बन्धी विस्तृत भाषणहरू दिए। तिनका भाषणहरूले विज्ञानलाई लोकप्रिय बनाउनुका साथै जटिल धारणाहरू बुझ्न युवाजनहरूलाई मदत दियो। तिनले अनगिन्ती विश्वविद्यालयहरूबाट पुरस्कारहरू पाए। यद्यपि, तिनी प्रचारप्रसारबाट अलग्गै बसे। तिनी साँच्चै धर्मपरायण मानिस थिए र तीन कोठा भएको आवासगृहको एकान्तमा आफ्नो परिवार तथा सँगी विश्वासीहरूसित बस्न पाउँदा सबैभन्दा खुशी हुन्थे। फाराडेले वर्णन गरेअनुसार तिनी “मसीहीहरूको असाध्यै सानो तथा उपेक्षित गुटका” सदस्य थिए र तिनीहरू “सान्डेमेनीहरू भनेर चिनिन्थे।” तिनीहरू को थिए? तिनीहरू के विश्वास गर्थे? अनि यसले फाराडेलाई कसरी असर गऱ्यो?
सान्डेमेनीहरू
माइकल फाराडे: सान्डेमेनी र वैज्ञानिक (अंग्रेजी) पुस्तकका लेखक, जेफ्री कान्टर यस्तो टिप्पणी गर्छन्, “माइकल फाराडेका बाजेबज्यैले सान्डेमेनी चर्चसित आफ्नो परिवारको सम्बन्ध गाँसे।” सान्डेमेनीहरूको विश्वासलाई स्वीकार्ने घुमन्ते पृथक् प्रचारकका अनुयायीहरूसित तिनका बाजेबज्यैले संगत गरे।
रबर्ट सान्डेमन (सन् १७१८-७१), एडिनवर्ग विश्वविद्यालयमा गणित, युनानी तथा अन्य भाषाहरू अध्ययन गर्थे र त्यसै समयतिर तिनले एक दिन भूतपूर्व प्रेस्बाइटेरियन प्रचारक, जोन ग्लासले प्रचार गरेको सुने। त्यो सुनेपछि तिनी विश्वविद्यालय छोडेर आफ्नो घर, पर्थ फर्के र ग्लास तथा उनका सँगीहरूसित सामेल भए।
सन् १७२० को दशकमा जोन ग्लासले स्कटल्याण्डको चर्चका केही शिक्षाहरूमा शंका गर्न थालिसकेका थिए। परमेश्वरको वचन अध्ययन गरेपछि बाइबलमा वर्णन गरिएको इस्राएल राष्ट्रले विभिन्न जातिका नागरिकहरूले बनिएको आध्यात्मिक राष्ट्रलाई चित्रण गर्छ भन्ने निष्कर्षमा पुगे। तिनले हरेक राष्ट्रको लागि बेग्लाबेग्लै चर्च हुनुको स्पष्टीकरण कतै पाएनन्।
डन्डी, स्कटल्याण्डबाहिर अवस्थित टिलिङको चर्चका शिक्षाहरू चित्त नबुझेकोले स्कटल्याण्डको चर्चबाट निस्केर ग्लासले आफ्नै सभाहरूको आयोजना गरे। तिनीहरूसित सय जना जति मानिसहरू सामेल भए र तिनीहरूले सुरुदेखि नै आ-आफ्नो दर्जाहरूमा एकता कायम गर्नुपर्ने खाँचो देखे। तिनीहरूले आपसी मतभेद सुल्झाउन मत्ती अध्याय १८ को पद १५ देखि १७ मा लिपिबद्ध ख्रीष्टका निर्देशनहरू पालन गर्ने निर्णय गरे। पछि तिनीहरूले सद्धर्मीहरूबीच प्रार्थना तथा प्रोत्साहनका लागि साप्ताहिक सभाहरू आयोजना गरे।
विभिन्न समूहका सभाहरूमा अलि धेरै मानिसहरू नियमित तवरमा उपस्थित हुन थालेपछि उपासनालाई सुपरिवेक्षण गर्न जिम्मेवार पुरुषहरू चाहियो। तर दक्ष चाहिं को थिए? जोन ग्लास र उनका सँगीहरूले विशेषगरि प्रेरित पावलले यस विषयमा लेखेको कुरालाई ध्यान दिए। (१ तिमोथी ३:१-७; तितस १:५-९) तिनीहरूले विश्वविद्यालयको शिक्षा हुनुपर्ने वा हिब्रू वा युनानी भाषा बुझ्नुपर्ने खाँचो औंल्याइएको कतै पाएनन्। अतः तिनीहरूले धर्मशास्त्रीय निर्देशनहरूमा प्रार्थनापूर्वक विचार गरेपछि दक्ष पुरुषहरूलाई प्राचीन नियुक्त गरे। “धागो कात्न, सियोधागो चलाउन वा हलो जोत्न जन्मिएका” अशिक्षित पुरुषहरूले बाइबल बुझेझैं गरी यसको सन्देश प्रचार गर्न लाउनु “ईश्वरनिन्दासरह” हो भन्ने सोचाइ स्कटल्याण्ड चर्चप्रति वफादार व्यक्तिहरूको थियो। सन् १७३३ मा ग्लास र उनका सँगी विश्वासीहरूले पर्थ शहरमा सभाका लागि आफ्नै भवन निर्माण गरेपछि उनीहरूलाई शहरबाट निष्कासन गर्न स्थानीय पादरीवर्गले न्यायाधीशहरूलाई दबाब दिन खोजे। उनीहरू असफल भए र तिनीहरूका क्रियाकलापहरू बढ्न थाल्यो।
रबर्ट सान्डेमनले ग्लासकी जेठी छोरीसित विवाह गरे र २६ वर्षको उमेरमा ग्लासावादीहरूको पर्थ मण्डलीका प्राचीन भए। प्राचीनको हैसियतमा तिनको जिम्मेवारी असाध्यै गहन भएको हुँदा आफ्नो सम्पूर्ण समय यसै कार्यमा बिताउने निर्णय गरे। पछि, आफ्नी पत्नीको मृत्युपश्चात् रबर्ट “जुनसुकै ठाउँमा प्रभुको सेवा गर्न खुशीसाथ राजी भए” भनी एउटा जीवनीले टिप्पणी गर्छ।
सान्डेमेनीवाद फैलिन्छ
सान्डेमनले जोशिलो भई आफ्नो सेवकाईलाई स्कटल्याण्डदेखि बेलाइतसम्म फैलाए र त्यहाँ सँगी विश्वासीहरूका नयाँ समूहहरू बढ्न थाल्यो। त्यतिखेर बेलाइती क्याल्भिनवादीहरूबीच चर्काचर्की विवाद चलिरहेको थियो। केहीले आफ्नो मुक्ति पूर्वनिर्धारित छ भनी विश्वास गर्थे। अर्कोतर्फ, सान्डेमनले चाहिं मुक्तिको लागि विश्वास अपरिहार्य कुरा हो भन्ने व्यक्तिहरूको पक्ष लिए। तिनले यस दृष्टिकोणको समर्थनमा एउटा पुस्तक प्रकाशित गरे। यो चार चोटि मुद्रण गरियो र दुइ अमेरिकी संस्करणहरूमा पनि प्रकाशित भए। जेफ्री कान्टरअनुसार “[सान्डेमेनी] गुटलाई स्टकटल्याण्डको सानो क्षेत्रमा मात्र सीमित नराखी विस्तार गर्ने सर्वमहत्त्वपूर्ण घटना” नै यस खण्डको प्रकाशन थियो।
सन् १७६४ मा सान्डेमन तथा ग्लासवादी प्राचीनहरूले अमेरिकाको यात्रा गरे र यस भ्रमणले निकै विवाद तथा विरोध खडा गऱ्यो। तैपनि डानबरी, कनेक्टीकटमा एउटै सोचाइ राख्ने मसीहीहरूको समूह स्थापना भयो।a त्यहीं छँदा सन् १७७१ मा सान्डेमनको मृत्यु भयो।
फाराडेका धार्मिक विश्वासहरू
जवान माइकलले आफ्ना आमाबाबुले सिकाएका सान्डेमेनी शिक्षाहरू ग्रहण गरे। बाइबलले सिकाएअनुसार नगर्नेहरूबाट सान्डेमेनीहरू आफूलाई अलग राख्छन् भनी तिनले सिके। उदाहरणका लागि, तिनीहरूले एंग्लीकी चर्चमा विवाह त दर्ता गर्थे तर विवाह समारोहहरूमा भाग लिंदैनथिए।
सान्डेमेनीहरूको चिनारी नै के थियो भने, तिनीहरू सरकारको अधीनमा त बस्थे तर राजनीतिमा तटस्थ थिए। तिनीहरू समुदायका आदरणीय सदस्यहरू भए तापनि कमैले मात्र निजामती ओहोदाहरू स्वीकारे। तर यदाकदा स्वीकारीहाले तापनि राजनैतिक समूहहरूबाट अलग बसे। यस्तो अडान कायम गरेकाले तिनीहरू आलोचनाका पात्र भए। (यूहन्ना १७:१४ तुलना गर्नुहोस्।) परमेश्वरको स्वर्गीय राज्य नै उत्तम सरकारको प्रबन्ध हो भनी सान्डेमेनीहरू विश्वास गर्थे। तिनीहरूले राजनीतिलाई “नैतिक मान्यताच्युत तुच्छ, घृणित नीति” ठान्थे भनी कान्टर टिप्पणी गर्छन्।
अरूभन्दा बेग्लै भए तापनि तिनीहरूले फरिसीहरूको जस्तो मनोवृत्ति राखेनन्। तिनीहरूले यस्तो घोषणा गरे: “धर्मशास्त्रमा दिइएभन्दा बढी पाप वा कर्तव्यहरू बनाउने पुरातन फरिसीहरूको जस्तो आत्मा र प्रचलन नराख्नु हामी नितान्त आवश्यक ठान्छौं; ईश्वरीय व्यवस्थालाई मानव परम्परा वा तार्किक अर्थले बेकम्मा बनाउनु पटक्कै हुँदैन।”
तिनीहरूले रक्सीबाज, टुनामुना, करनी गर्ने वा अन्य गम्भीर पाप गर्नेहरूलाई आफ्नो समूहबाट बहिष्कार गर्ने धर्मशास्त्रीय चलन अपनाए। त्यस पापीले साँच्चै पश्चात्ताप गरेमा तिनलाई पुनर्स्थापित गर्न खोज्थे। अन्यथा “दुष्ट मानिसलाई हटाओ” भन्ने धर्मशास्त्रीय आज्ञा पालन गर्थे।—१ कोरिन्थी ५:५, ११, १३.
सान्डेमेनीहरूले रगतबाट अलग बस्नुपर्ने बाइबलीय आज्ञा पालन गर्थे। (प्रेरित १५:२९) परमेश्वरले प्रथम दम्पतीलाई असल र खराबको ज्ञानको रूखबाट फल खान निषेध गर्नुभएझैं परमेश्वरका मानिसहरूले रगतसम्बन्धी निषेधाज्ञा पालन गर्नुपर्छ भनी जोन ग्लासले तर्क गरेका थिए। (उत्पत्ति २:१६, १७) रगतसम्बन्धी अनाज्ञाकारी हुनु भनेको ख्रीष्टको रगतको सही प्रयोग अर्थात् मुख्यतया पापको प्रायश्चित तिरस्कार गरेसरह ठानिन्थ्यो। ग्लासले निष्कर्षमा यसो भने: “रगत नखाने निषेधाज्ञा सदाजस्तै अहिले पनि उच्चतम महत्त्वको कुरा हो।”
धर्मशास्त्रबाट तर्क गरेकाले सान्डेमेनीहरू थुप्रै त्रुटिहरू गर्नबाट जोगिए। उदाहरणका लागि, तिनीहरूले मनोरञ्जनको सन्दर्भमा ख्रीष्टका निर्देशनहरू खोजे। तिनीहरूले भने: “ख्रीष्टले कानुन नबनाउनुभएका विषयहरूमा थप्ने वा भएकोलाई हटाउने हामी आँटै गर्दैनौं। जनसमक्ष वा व्यक्तिगत तवरमा गरिने आमोदप्रमोद-लाई निषेध गरिएको कतै पाउँदैनौं अनि साँच्चै पापपूर्ण परिस्थितिसित सम्बन्धित नभएको आमोदप्रमोदलाई वैध ठान्छौं।”
सान्डेमेनीहरूले धर्मशास्त्रसम्बन्धी थुप्रै कुराहरूमा सही दृष्टिकोण राखे तापनि तिनीहरूले साँचो मसीहीहरूलाई चिनाउने विशेष क्रियाकलापको महत्त्व बुझ्न सकेनन्। त्यो हो, मुख्यतः हरेकले परमेश्वरको राज्य सुसमाचार अरूलाई प्रचार गर्नु। (मत्ती २४:१४) यद्यपि, तिनीहरूका सभाहरूमा जो पनि उपस्थित हुनसक्थे र आफ्नो आशाको कारण सोध्ने सबैलाई जवाफ दिने प्रयास गर्थे।—१ पत्रुस ३:१५.
यस्तो विश्वासपद्धतिले वैज्ञानिक माइकल फाराडेमा कस्तो असर पाऱ्यो?
सान्डेमेनी फाराडे
उल्लेखनीय आविष्कारहरूका लागि आदरणीय, पुरस्कृत, उच्च सम्मानित माइकल फाराडे सरल जीवन बिताउँथे। प्रख्यात व्यक्तिहरूको अन्त्येष्टि कार्यक्रममा जनचर्चित व्यक्तित्वहरूको उपस्थिति आशा गरिन्थ्यो तर फाराडेको अनुपस्थिति सबैले देखिहाल्थे। किनभने इंग्ल्याण्डको चर्चका विधिहरूमा सहभागी हुन तिनको अन्तस्करणले दिंदैनथ्यो।
वैज्ञानिकको हैसियतमा फाराडे तथ्यहरू प्रस्तुत गर्न कटिबद्ध थिए। त्यसकारण आफ्नै पूर्वानुमानहरू लगाएर विवादमा पक्ष लिने ज्ञानी पुरुषहरूसित तिनी घनिष्ठ हुन रुचाएनन्। तिनले एक चोटि श्रोतागणलाई भनेअनुसार ‘आधारभूत सत्यले हामीलाई कहिल्यै धोका दिंदैन, यसको प्रमाण सधैं सत्य हुन्छ।’ ‘तथ्यहरूको होशियारपूर्ण अध्ययनमा’ नै विज्ञान निर्भर हुन्छ भनी तिनले प्रस्तुत गरे। फाराडेले प्रकृतिका आधारभूत शक्तिहरूसम्बन्धी प्रस्तुतिको निष्कर्षमा “ती सृजनुहुने व्यक्तिबारे” सोच्न श्रोतागणलाई प्रोत्साहन दिए। त्यसपछि तिनले मसीही प्रेरित पावलका यी शब्दहरू उद्धरण गरे: “उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव, संसारको सृष्टिदेखिनै बनिएका कुराबाट थाह पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लंगै देखिने भएको छ।”—रोमी १:२०.
अरू थुप्रै वैज्ञानिकहरूभन्दा फाराडे भिन्न हुनुको कारण के थियो भने, तिनी परमेश्वरको प्रेरित वचनका साथै सृष्टिको अध्ययनबाट सिक्न चाहन्थे। कान्टर यस्तो अवलोकन गर्छन्, “तिनले सान्डेमेनीवाद मार्फत परमेश्वरको नैतिक व्यवस्थाप्रति आज्ञाकारी हुने मार्ग र अनन्त जीवनको प्रतिज्ञासहितको जीवनशैली पत्ता लगाए। तिनी बह्माण्डलाई नियन्त्रणमा राख्न परमेश्वरले दिनुभएका भौतिक नियमहरूसित आफ्नो विज्ञान मार्फत घनिष्ठ भए।” “विज्ञानले बाइबलको निर्विवाद प्रमाणिकतालाई तुच्छ पार्न सक्दैन तर विज्ञानलाई साँचो मसीहीशैलीअनुरूप प्रयोग गरियो भने परमेश्वरको सृष्टि स्पष्टसित बुझिन्छ” भनी फाराडे विश्वास गर्थे।
अरूले दिन चाहेका थुप्रै सम्मानार्थ पदवीहरूलाई फाराडेले नम्रपूर्वक इन्कार गरे। तिनले सर उपाधि लिन कहिल्यै चासो देखाएनन्। तिनी ‘केवल मिस्टर फाराडे’ रहन चाहे। प्राचीनले निर्वाह गर्ने क्रियाकलापमा तिनले निकै समय बिताए अनि सहविश्वासीहरूको स-साना समूहको हेरचाह गर्न नियमित तवरमा लण्डनदेखि नरफोक गाउँसम्म यात्रा गरे।
सन् १८६७ अगस्त २५ का दिन माइकल फाराडेको निधन भयो र तिनको शव उत्तरी लण्डनको हाइगेट चिहानमा गाडियो। जीवनी लेखक, जोन थमस यसो भन्छन्, फाराडेले “अरू कुनै भौतिक वैज्ञानिकले भन्दा आफ्ना सन्ततिहरूका लागि शुद्ध वैज्ञानिक उपलब्धि सुम्पे र तिनका आविष्कारहरूको व्यवहारिक परिणामले सभ्य जीवनको सारमा गहिरो प्रभाव पाऱ्यो।” फाराडेकी विधवा, साराले यसो लेखिन्: “उहाँको लागि निर्देशक र नियम भन्नु नै नयाँ नियम थियो; किनभने उहाँले त्यसलाई परमेश्वरको वचन ठान्नुहुन्थ्यो . . . र त्यो लेखिएको समयमा जत्तिकै आजका मसीहीहरूमा पनि लागू हुन्छ भन्ठान्नुहुन्थ्यो।”—आफ्नो विश्वासअनुसार भक्त जीवन बिताउने प्रख्यात वैज्ञानिकबारे जोडदार कथन।
[फुटनोट]
a संयुक्त राज्यमा बाँकी रहेको सान्डेमेनी वा ग्लासवादी समूह यस शताब्दीको सुरुतिर हराउन थाले।
[पृष्ठ २९-मा भएको पेटी]
बेलाइतको रोयल इन्स्टीच्युशनमा प्राध्यापक नियुक्त माइकल फाराडेले विज्ञानलाई स-साना केटाकेटीहरूले समेत बुझ्ने ढंगमा लोकप्रिय बनाए। तिनले सँगी प्राध्यापकहरूलाई दिएका व्यवहारिक सुझाउहरू आधुनिक समयका जनशिक्षक मसीहीहरूका लागि पनि उत्तिकै उपयोगी छन्।
◻ “छिटोछिटो वा हतार गरेर कहिल्यै बोल्नु हुँदैन किनभने त्यसको परिणाम बुद्धिमत्तापूर्ण हुनेछैन, त्यसैले सावधानीसित बिस्तारै बोल्नुपर्छ।”
◻ वक्ताले “भाषणको सुरुमै” आफ्ना श्रोतागणको चासो जगाउने प्रयास गर्नुपर्छ र “विषयवस्तुले माग गरूञ्जेल श्रोतागणले चालै नपाउने उतारचढाउद्वारा चासोलाई जीवन्त राख्नुपर्छ।”
◻ “श्रोतागणको ताली वा सराहनाको लागि भाषणलाई बंग्याउँदा वक्ता आफ्नो मर्यादाबाट खस्कन्छन्।”
◻ तिनले रूपरेखाको प्रयोगबारे यसो भने: “म सधैं आफ्नो [मुख्य विषय] कागजमा टिपोट गर्नैपर्ने महसुस गर्छु . . . त्यसपछि मनमनै सोचेर वा अन्य तरिकाद्वारा बीचबीचमा बुँदाहरू जोड्छु। म क्रमबद्ध ढंगमा मुख्य बुँदा तथा उपशीर्षकहरू तयार पार्छु र यसैबाट मुख्य विषयलाई विस्तार गर्छु।”
[पृष्ठ २६-मा भएको चित्रको स्रोत]
दुवै चित्रहरू: Royal Institution बाट सौजन्यप्राप्त