तिनीहरूले यहोवाको इच्छा गरे
पत्रुस पेन्तिकोसको दिनमा प्रचार गर्छन्
सामान्य युग ३३ को वसन्त ऋतुको न्यायो बिहानी। वातावरण निकै रमझम थियो! यरूशलेमका सडकहरूमा जन्मजात यहूदी र धर्म परिवर्तन गरेर यहूदी भएका मानिसहरूको चहलपहल। तिनीहरू एलाम, मेसोपोटामिया, केप्पोडोसिया, मिश्र र रोम आदि ठाउँहरूबाट आएका थिए। तिनीहरूले पहिरेका वेशभूषा हेर्नु र विभिन्न भाषा बोलेको सुन्नु कति रमाइलो! तिनीहरूमध्ये केही मानिसहरू त्यस विशेष अवसरमा उपस्थित हुन लगभग दुइ हजार किलोमिटर लामो यात्रा गरेर आएका थिए। त्यो विशेष अवसर के थियो? त्यो थियो, पेन्तिकोस अर्थात् जौ बाली कटनी गरिसकेपछि मनाइने आनन्ददायी यहूदी चाड।—लेवी २३:१५-२१.
मन्दिरको वेदीमा चढाइएका बलिदानहरूबाट धुवाँको मुस्लो निक्लिरहेको थियो र लेवीहरूले हाल्लेलको भजन गाइरहेका थिए (भजन ११३ देखि ११८)। बिहान ९.०० बज्नै लाग्दा एउटा अचम्मलाग्दो घटना भयो। स्वर्गबाट “ठूलो बतास बहेको जस्तो हरूरूरू शब्द आयो।” येशूका १२० चेलाहरू भेला भएका घरको कोठा त्यसले डम्मै भरियो। त्यसबारे धर्मशास्त्रीय विवरण यस्तो छ: “आगोको जस्तो चिरा चिरा परेका जिब्राहरू तिनीहरूकहाँ देखा परे, र ती तिनीहरू एक एक माथि बसे। अनि तिनीहरू सबै पवित्र आत्माले भरिए, र आत्माले तिनीहरूलाई उच्चारण गर्नदिए बमोजिम, तिनीहरू अरू भाषामा बोल्नलागे।”—प्रेरित २:१-४.
प्रत्येकले आ-आफ्नो भाषा बोलेको सुन्छन्
त्यसपछि चाँडै त्यस घरबाट थुप्रै चेलाहरू एकै चोटि निस्कन थाले। अचम्मलाग्दो, तिनीहरूले ती भीडमा भएका विभिन्न मानिसहरूका विभिन्न भाषाहरू बोल्नसक्थे! फारसबाट भ्रमणमा आएका आगन्तुक र गालीलवासीद्वारा मिश्री भाषा बोलिएको मिश्रीवासीहरूले सुन्नुजस्तो छक्कलाग्दो घटनाको कल्पना गर्नुहोस्। कुरा स्पष्ट छ, त्यस घटनाले भीड छक्कै पऱ्यो। केहीले सोधे “यसको मतलब के हो?” अरूले भने चेलाहरूको हाँसो उडाउँदै यसो भने: “तिनीहरू ता नयाँ मद्यले मातेका छन्।”—प्रेरित २:१२, १३.
त्यसपछि, प्रेरित पत्रुसले खडा भएर भीडलाई सम्बोधन गरे। भाषाहरूको त्यो अद्भुत उपहार त परमेश्वरले भविष्यवक्ता योएल मार्फत गर्नुभएको प्रतिज्ञाको पूर्ति हो भनेर तिनले बताए: “म मेरो आत्मा सबैमाथि खन्याउनेछु।” (प्रेरित २:१४-२१; योएल २:२८-३२) हो, भर्खरै येशूका चेलाहरूमाथि परमेश्वरले पवित्र आत्मा खन्याउनुभएको थियो। त्यो घटना कुन कुराको स्पष्ट प्रमाण थियो भने, येशू मृत अवस्थाबाट बिउँतनुभएर स्वर्गमा परमेश्वरको दाहिने बाहुलीमा बसिसक्नुभएको थियो। पत्रुसले भने, “त्यसैकारण इस्राएलका सारा घरानाले यो निश्चय जानून्, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु, र ख्रीष्टसमेत तुल्याउनुभयो।”—प्रेरित २:२२-३६.
श्रोताहरूले कस्तो प्रतिक्रिया देखाए? विवरणले बताउँछ, “यो कुरा तिनीहरूका हृदयमा गड़यो, र पत्रुस र अरू प्रेरितहरूलाई तिनीहरूले भने, ‘ए भाइ हो, हामी के गरौं?’” पत्रुसले यसरी जवाफ दिए: “पश्चाताप गर, र हरेकले . . . पापमोचनको निम्ति येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेऊ।” लगभग ३,००० व्यक्तिहरूले त्यसै गरे! त्यसपछि, “तिनीहरू प्रेरितहरूका शिक्षा[मा] . . . लागिरहे।”—प्रेरित २:३७-४२.
त्यस उल्लेखनीय अवसरमा बोलेर पत्रुसले आफूलाई येशूले दिने प्रतिज्ञा गर्नुभएको “स्वर्गको राज्यका साँचाहरू[मध्ये]” प्रथम साँचो प्रयोग गरे। (मत्ती १६:१९) ती साँचोहरूले विभिन्न समूहका मानिसहरूका लागि विशेष अवसरहरूको ढोका खोले। त्यस प्रथम साँचोले यहूदीहरूलाई आत्मा-अभिषिक्त मसीहीहरू हुन सम्भव बनायो। पछि, दोस्रो र तेस्रो साँचोहरूले क्रमशः सामरी र अन्यजातिहरूका लागि त्यस्तै अवसर उपलब्ध गराए।—प्रेरित ८:१४-१७; १०:४४-४८.
हाम्रोनिम्ति पाठहरू
जन्मजात यहूदी र यहूदी बनेका मानिसहरूको त्यस भीड परमेश्वरको पुत्रको मृत्युको लागि सामुदायिक तवरमा जिम्मेवार भए तापनि पत्रुसले तिनीहरूलाई आदरसाथ “ए भाइ हो” भनेर सम्बोधन गरे। (प्रेरित २:२९) तिनको लक्ष्य तिनीहरूको भर्त्सना गर्नु नभई तिनीहरूलाई पश्चात्ताप गराउन उत्प्रेरित गर्नु थियो। तसर्थ, तिनले सकारात्मक ढंगमा कुरा गरे। तिनले सत्य कुराहरू प्रस्तुत गर्नुका साथै आफूले भनेका बुँदाहरूलाई धर्मशास्त्रीय उद्धरणहरूद्वारा समर्थन गरे।
आज सुसमाचार प्रचार गर्नेहरू पनि पत्रुसको उदाहरण अनुसरण गरेर असलै गर्छन्। तिनीहरूले आफ्ना श्रोताहरूसित पारस्परिक समझ कायम राख्ने चेष्टा गर्नुपर्छ र त्यसपछि दक्षतासाथ तिनीहरूसित धर्मशास्त्रबाट तर्क गर्नुपर्छ। सकारात्मक ढंगमा बाइबल सत्यलाई प्रस्तुत गर्दा नम्र हृदय भएकाहरूले स्वीकार्नेछन्।—प्रेरित १३:४८.
पेन्तिकोसको दिनमा पत्रुसले देखाएको जोश र साहस त्यसको लगभग सात हप्ताअघि येशूलाई तिनले गरेको इन्कारको एकदमै विपरीत थियो। त्यतिबेला तिनी मानिसको डरको पञ्जामा जकडिएका थिए। (मत्ती २६:६९-७५) तर येशूले पत्रुसको लागि बिन्ती चढाउनुभएको थियो। (लूका २२:३१, ३२) निस्सन्देह, पुनरुत्थानपछि येशू पत्रुसकहाँ देखा पर्नुभएको हुँदा त्यस प्रेरितले बल पाए। (१ कोरिन्थी १५:५) परिणामस्वरूप, पत्रुसको विश्वास ढलपल भएन। तसर्थ, त्यसको तुरुन्तैपछि तिनले पेन्तिकोसको दिनमा मात्र होइन तर जीवनभरि साहसपूर्वक प्रचार गरिरहे।
पत्रुसले जस्तै हामीले पनि कुनै न कुनै ढंगमा भूल गरेका छौं भने नि? आउनुहोस्, पश्चात्ताप गरौं, प्रार्थनाद्वारा क्षमाको भीख मागौं र आध्यात्मिक मदत लिन अग्रसर होऔं। (याकूब ५:१४-१६) त्यसो गरेको खण्डमा स्वर्गमा हुनुहुने कृपालु पिता, यहोवाले हाम्रो पवित्र सेवा स्वीकार्नुहुन्छ भनेर विश्वस्त भई अघि बढ्नसक्छौं।—प्रस्थान ३४:६.