माटैमा फर्कनु कसरी?
“तँ माटै होस् र माटैमा फर्किजानेछस्।” प्रथम पुरुष आदमले ती शब्दहरू सुन्दा तिनलाई आफ्नो भावी घटनाक्रमबारे थाह थियो। तिनी माटोबाट बनाइएका थिए र माटैमा फर्किनेथिए। तिनी मर्नेथिए किनकि तिनले आफ्नो सृष्टिकर्ता यहोवा परमेश्वरको आज्ञा उल्लंघन गरे।—उत्पत्ति २:७, १५-१७; ३:१७-१९.
मानवहरू माटोबाट बनाइएका हुन् भनी बाइबलले देखाउँछ। त्यसले यसो पनि भन्छ: “जुन प्राणीले पाप गर्छ त्यही मर्छ।” (इजकिएल १८:४; भजन १०३:१४) मृत्यु लाखौं मानिसहरूको शोकको कारण भएको छ र मृतसंस्कार कसरी गर्ने भन्ने प्रश्न बारम्बार सोधिएको छ।
विगत र वर्तमानका चलनहरू
पुरातन समयमा परमेश्वरका जनहरूले मृतसंस्कार कसरी गर्थे? मृतकलाई जमीनमा गाड्नुदेखि लिएर अन्य विभिन्न तरिकाहरू बाइबलका प्रारम्भिक पृष्ठहरूमा उल्लिखित छन्। (उत्पत्ति ३५:८) कुलपिता अब्राहाम र तिनकी पत्नी सारालगायत तिनीहरूका छोरा इसहाक तथा नाति याकूब सबै मक्पेलाको गुफामा गाडिए। (उत्पत्ति २३:२, १९; २५:९; ४९:३०, ३१; ५०:१३) इस्राएलीहरूका न्यायकर्ताहरू गिदोन र शिमशोन ‘तिनीहरूका बुबाको चिहानमा गाडिए।’ (न्यायकर्त्ता ८:३२; १६:३१) यसबाट पुरातन समयमा परमेश्वरका जनहरू आफ्नो पारिवारिक चिहान भएको रुचाउँथे भन्ने संकेत पाउँछौं। सा.यु. प्रथम शताब्दीमा येशू ख्रीष्टको मृत्यु हुँदा उहाँको मृत शरीर चट्टानलाई छाँटेर बनाइएको नयाँ चिहानमा राखियो। (मत्ती २७:५७-६०) विशेषगरि त्यतिखेर मृत शरीरलाई जमीनमा गाडिन्थ्यो वा चिहानमा राखिन्थ्यो। यही चलन अहिले पनि पृथ्वीका अधिकांश ठाउँहरूमा अपनाइन्छ।
तथापि, आज संसारका केही भागहरूमा जग्गा पाउन निकै गाह्रो भएको र जमीनको चर्को भाउले गर्दा लाश गाड्ने ठाउँ पाउन झन् झन् कठिन भइरहेको छ। त्यसैकारण केही मानिसहरू अन्य तरिकाहरूबाट मृतसंस्कार गर्ने विचार गर्दैछन्।
दाहसंस्कारपछि खरानी छर्नु झन् झन् प्रचलित हुँदैछ। बेलाइतमा ४० प्रतिशत मृतकहरूको मृतसंस्कार यसरी नै गरिंदैछ। स्वीडेनका शहरी क्षेत्रहरूमा ८० प्रतिशत मृतकहरूको दाहसंस्कार गरिन्छ। र केही खास वनहरू खरानी छर्नका लागि मात्रै छुट्याइएका छन्। अनि त्यसैगरि शाङघाइलगायत चीनका अन्य समुद्रवर्ती शहरहरूका प्रान्त अधिकृतहरू वर्षमा पटक पटक समुद्रमा सार्वजनिक रूपले खरानी छर्न प्रायोजन गर्छन्।
खरानी कहाँ छर्न सकिन्छ? जहाँ पायो त्यही त होइन। खरानी छर्दा वातावरणमा प्रतिकूल असर पर्नसक्छ भन्ने डर कसै कसैको छ। तर वास्तवमा दाहसंस्कार गर्दा कुनै पनि महामारी हुने डर हुँदैन। बेलाइतका केही खास चिहान तथा अमेरिकामा बनाइएका समाधिस्थलहरूका केही भूभाग वा फूलबारी खरानी छर्ने ठाउँको रूपमा छुट्याइएका छन्। तर दाहसंस्कार र खरानी छर्ने सन्दर्भमा धर्मशास्त्रीय दृष्टिकोण के छ, यो मसीहीहरूको निम्ति सबैभन्दा चासोको विषय हो।
धर्मशास्त्रीय दृष्टिकोण के हो?
“बाबेलको राजा” विरुद्ध घोषणा गर्दा अगमवक्ता यशैयाले यसो भने: “तँ ता . . . तेरो चिहानदेखि फ्याँकिइस्।” (यशैया १४:४, १९) के खरानी छर्नुलाई पनि यस्तै बेइज्जतीसित तुलना गर्न मिल्छ? मिल्दैन। किनकि दाहसंस्कार गर्न र खरानी जोगाएर राख्न वा बचेको खरानी छर्नेबारे त्यहाँ केही उल्लेख गरिएको छैन।
आफ्नो सहस्र वर्षे राज्यमा मृतकहरूको पार्थिव पुनरुत्थानबारे येशू ख्रीष्टले यसरी बताउनुभयो: “चिहानमा हुनेहरू सबैले [मेरो] सोर सुन्नेछन् . . . [र] निस्किआउनेछन्।” (यूहन्ना ५:२८, २९) तथापि, पुनरुत्थान हुन त्यस व्यक्ति कुनै खास चिहानमा हुनु आवश्यक छैन भन्ने कुरालाई पुनरुत्थानसम्बन्धी अर्को भविष्यवाणीरूपी विवरणले पुष्टि दिन्छ। प्रकाश २०:१३ यसो भन्छ: “समुद्रले त्यसमा भएका मुर्दाहरूलाई दिइहाल्यो, औ मृत्यु र पातालले पनि तिनीहरूमा भएका मुर्दाहरूलाई दिइहाले।” त्यसकारण कुनै पनि व्यक्ति कहाँ वा कसरी ‘माटोमा फर्कन्छ,’ त्यो महत्त्वपूर्ण कुरा होइन। बरु, तिनी परमेश्वरको सम्झनामा हुनु र पुनरुत्थान हुनु पो महत्त्वपूर्ण छ। (अय्यूब १४:१३-१५; तुलना गर्नुहोस् लूका २३:४२, ४३) यहोवाले आफ्ना जनहरूलाई सम्झन कुनै आकर्षक चिहान हुनु रत्तिभर आवश्यक छैन। दाहसंस्कार गऱ्यो भन्दैमा कुनै व्यक्तिको पुनरुत्थान नहुने होइन। झूटा धर्मानुष्ठानहरूबिना उचित मनोवृत्तिसहित खरानी छरिएको छ भने यो धर्मशास्त्रसित विपरीत छ भन्नु मिल्दैन।
खरानी छर्ने निर्णय गरेकाहरूले त्यस मुलुकको व्यवस्थालाई ध्यान दिनु आवश्यक पर्नेछ। त्यसो गर्दा मृतक तथा अरूको भावनालाई बुझ्नु पनि उचित हुनेछ। मसीहीले वहन गरेको असल नाउँमा कलंक लाग्न नदिन यस सन्दर्भमा दिइएको तिनीहरूको धर्मशास्त्रीय स्वतन्त्रतालाई यहोवाका सेवकहरूले होशियारीसाथ पालन गर्नेछन्। विशेषगरि दाहसंस्कार गर्न र खरानी छर्न कानुनी रूपमा स्वीकृति पाएका तर समुदायमा ग्राह्य नभएका मुलुकहरूमा लागू हुन्छ। तर मानव प्राण अमर छ भन्ने विश्वासमा आधारित धार्मिक संस्कार वा चलनबाट भने मसीही अलग्गै बस्नेछन्।
चिहानबाट पूर्णतया स्वतन्त्र!
खरानी छर्नुलाई समर्थन गर्ने केही व्यक्तिहरूको विचारमा त्यसो गर्नुको अर्थ चिहानमा गाडिनुबाट स्वतन्त्र हुनु हो। तथापि, सबैभन्दा ठूलो सन्तोकको कुरा त “सबैभन्दा पछि नामेट हुने शत्रु मृत्यु[बारे]” बाइबलको भविष्यवाणी पूरा हुँदा हुनेछ।—१ कोरिन्थी १५:२४-२८.
यसको अर्थ लाश गाड्ने ठाउँ र चिहानलगायत दाहसंस्कार र खरानी छर्नु सबै विगतका कुरा हुनेछन्। हो, फेरि मृत्यु हुनेछैन। ईश्वरीय प्रेरणा पाएर प्रेरित यूहन्नाले यसरी लेखे: “सिंहासनबाट यसो भन्ने एउटा ठूलो आवाज मैले सुनें, ‘हेर, परमेश्वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्। औ परमेश्वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।’”—प्रकाश २१:३, ४.
परमेश्वरको राज्यमा आदमको पापको कारण भएको मानव मृत्यु पूर्णतया नामेट भएपछि यी सबै हुनेछन्। त्यसबेला आज्ञाकारी मानिसजातिले माटैमा फर्कनुपर्ने प्रत्याशासित सामना गर्नु पर्नेछैन।
[पृष्ठ २९-मा भएको चित्र]
मृतसंस्कार गरिने प्रचलित तरिकाहरू
[पृष्ठ ३१-मा भएको चित्र]
जापानस्थित सगामी खाडीमा खरानी छर्दै
[स्रोत]
Courtesy of Koueisha, Tokyo