इक्वेटोरियल गिनीमा वृद्धिको वातावरण
इक्वेटोरियल गिनीको अन्तरराष्ट्रिय विमानस्थलमा हवाईजहाज उत्रनासाथ प्रथमतः त्यहाँ छाएको हरियालीले पर्यटकलाई मोहित पार्छ। धावनमार्गको दायाँबायाँ ठूल-ठूला रूखहरू छन् र त्यसले गर्दा विमानस्थलका भवनहरू फुच्चे देखिन्छन्। सन् १९८० दशकको बीचतिर वर्षभरिको तापक्रम र प्रशस्त झरीले पोषिएर हराभरा वनस्पतिहरू समुद्रतटदेखि पर्वतको टुप्पासम्म फैलिन्छन्।
इक्वेटोरियल गिनीमा ‘परमेश्वरले गर्नुहुने’ अर्को प्रकारको वृद्धि पनि जोडतोडले हुँदैछ। (कलस्सी २:१९) एथियोपियाली पदाधिकारीले फिलिपबाट मदत लिएझैं धर्मशास्त्र बुझ्न यहाँ थुप्रैले चासो लिन्छन्। (प्रेरित ८:२६-३९) कसैले यहोवाका साक्षीहरूलाई सडकमा भेटेर तिनीहरूसित बाइबल अध्ययनबारे सोध्नु असामान्य कुरा होइन। इक्वेटोरियल गिनीमा लगभग ३२५ साक्षीहरूले एक हजारभन्दा धेरै बाइबल अध्ययनहरू सञ्चालन गरिरहेका छन्।
प्रारम्भिक समयहरूमा बीउ रोप्ने
इक्वेटोरियल गिनी अफ्रिकाको सबैभन्दा सानो देश हो र यो नाइजेरिया तथा क्यामरूनको दक्षिणमा अवस्थित छ। (मानचित्र हेर्नुहोस्।) यहाँका कोका बगानहरूमा काम खोज्न आएका नाइजेरियाका साक्षीहरूले यहाँ प्रथम पटक सुसमाचार ल्याएका थिए। यहाँ अंग्रेजीभाषी थुप्रै मण्डलीहरू स्थापित गरिएको भए तापनि यी भाइहरू नाइजेरिया फर्कनु परेपछि ती मण्डलीहरू भंग भए। तथापि, यस देशले सन् १९६८ मा स्वतन्त्रता पाएको तुरुन्तैपछि वाचटावर सोसाइटीका तीन मिसनरी दम्पतीहरूलाई यहाँ खटाइए। तिनीहरू राजनैतिक कठिनाइहरूले गर्दा लामो समयसम्म बस्न नसके तापनि तिनीहरूको साक्षीकार्यले राम्रा परिणामहरू ल्यायो।
यी मिसनरीहरूमध्ये सान्त्यागो नाउँको एक जनाले अग्लो र बलियो मानिसलाई भेटे। तिनको नाउँ बुआनभेन्तुरे थियो। तिनी त्यहाँ सुपरम्यान भनेर चिनिन्थे। तिनी धर्मपरायण थिए र बाइबललाई आदर गर्थे। यद्यपि, तिनी रिसाहा थिए। तिनलाई कसैले अलिकति खिसी गरेमा तिनले हिर्काइहाल्थे। तिनी मदिरागृहमा रिसाउँदा त्यहाँ भएका मानिसहरू भागाभाग हुन्थे र तिनको मुक्काबाट बच्न झ्यालहरूबाट समेत बाहिर हाम्फाल्थे। वास्तवमा, सान्त्यागोले तिनलाई भनेका कुराबारे विश्वसनीय धर्मशास्त्रीय प्रमाण दिन नसकेका भए बुआनभेन्तुरेले सान्त्यागोलाई हिर्काउने मनसाय लिएका थिए। ‘कसैले सुपरम्यानलाई झुक्याउनेछैन’ भनेर तिनी आफै भन्ने गर्थे। आफूले सुनेका कुरा र विशेषगरि पार्थिव प्रमोदवनमा अनन्त जीवनको आशाबारे थाह पाउँदा तिनी रोमाञ्चित भए। त्यसैले तिनी बाइबल अध्ययन गर्न राजी भए।
अध्ययन अघि बढ्दै जाँदा बुआनभेन्तुरेको मनभित्र पार्थिव प्रमोदवनमा बाँच्ने इच्छा सशक्त भयो र यस्तो इनाम पाउनका लागि आफ्नो जीवन परमेश्वरका स्तरहरूअनुरूप ढाल्नुपर्छ भनेर तिनले थाह पाए। साँचो मसीहीहरूले “खराबको बदला खराब” गर्नै हुँदैन भन्ने थाह पाएर तिनले आफ्नो मिजासलाई नियन्त्रण गर्न इमानदारीसाथ प्रयत्न गरे।—रोमी १२:१७.
एक दिन तिनीमाथि साँच्चै परीक्षा आइपऱ्यो। तिनले मदिरागृहमा दुर्घटनावश एक ग्राहकले पिउँदै गरेको गिलास फुटाए। त्यस मानिस रिसाएर तिनलाई हिर्काए। झगडा मच्चिन्छ भन्ने सोचेर मदिरागृहका अरू मानिसहरू हतारपतार भागे। तर बुआनभेन्तुरेले नम्रतासाथ फुटेको गिलासको दाम तिरेर त्यस मानिसको लागि अर्को पेय मगाए र आफू लापरवाह भएकोमा क्षमा मागे। बाइबल अध्ययनले तिनमा त्यस्ता परिवर्तनहरू ल्याएको देखेर थुप्रै छिमेकीहरू तिनीसित अध्ययन गर्न इच्छुक भए। बप्तिस्मा लिने समयसम्म बुआनभेन्तुरेले पाँचवटा बाइबल अध्ययनहरू सञ्चालन गरिरहेका थिए। तिनी पाँच वर्षदेखि प्राचीनको हैसियतमा सेवारत छन् र मानिसहरूले ठट्टा गर्दै तिनलाई अझै सुपरम्यान भन्छन्।
“आध्यात्मिक आवश्यकताप्रति सजग”
सन् १९७० दशकको दौडान केही स्थानीय साक्षीहरूले यथासक्दो निरन्तर प्रचार गर्नुका साथै एकसाथ भेला भइरहे। पछि, केही स्पेनी मिसनरी दम्पतीहरू मदत गर्न आए। इक्वेटोरियल गिनीमा १२ वर्षसम्म सेवा गरिसकेका आन्द्रेस बोटेया त्यहाँ आइपुग्दा साँच्चै “आध्यात्मिक आवश्यकताप्रति सजग” हुनेहरू देखेर आफू प्रभावित भएको कुरा तिनी स्मरण गर्दै बताउँछन्। (मत्ती ५:३, NW) तिनी भन्छन्, “यस्तो मूल्यांकन गर्ने मानिसहरूसित अध्ययन गर्नु साँच्चै आनन्ददायी भएको छ।”
मारी नाउँकी स्पेनी बहिनीले एक जवान स्त्री, मारीयासित बाइबल अध्ययन गर्दै थिइन्। मारीयाले तिनका आमाबाबु फ्रान्सिस्को र फास्ता पनि अध्ययन गर्न इच्छुक छन् भनेर बताइन्। तर मारीले १५ वटा अध्ययनहरू सञ्चालन गर्दै गरेकी र मारीयाको आमाबाबु टाढा बस्ने भएकोले निकै हप्तापछि मात्र तिनले उनीहरूलाई भेट्न सकिन्।
अन्ततः मारी र तिनको पति सेराफीनले मारीयाको आमाबाबुलाई भेटे। तिनीहरूसित पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छa पुस्तक र बाइबल रहेछ। र तिनीहरू अध्ययन थाल्न इच्छुक थिए। तसर्थ, त्यति नै खेर तिनीहरूले अध्ययन थाले। मारीयाको आमाबाबुलाई अध्ययन भइरहेको विषयवस्तुबारे राम्रो जानकारी भएको सेराफीनले महसुस गरे। अर्को पटक दोस्रो अध्याय अध्ययन गर्दा पनि तिनीहरूले राम्ररी तयारी गरेका थिए। सेराफीन बताउँछन्, “यो अध्ययन दुइ बप्तिस्माप्राप्त साक्षीहरूसित अध्ययन गरिरहेको जस्तै लाग्थ्यो।” तेस्रो भेटमा तिनीहरूलाई विषयवस्तु राम्ररी थाह भएको जस्तो देखिए तापनि तिनीहरूले कत्तिको बुझेछन् भनेर जाँच्न सेराफीनले प्रश्नोत्तर गरेर छलफल गर्ने प्रस्ताव राखे। फ्रान्सिस्को र फास्ताले पहिल्यै सम्पूर्ण पुस्तक अध्ययन गरिसकेका रहेछन् भनेर तिनले पत्ता लगाए!
भर्खरै प्राप्त ज्ञानले तिनीहरूमाथि कस्तो असर पारेको थियो? प्राप्त शिक्षाअनुरूप तिनीहरूले प्रेतवादी सभाहरू धाउन र क्याथोलिक चर्चसित सम्बन्ध राख्न छाडिसकेका थिए। त्यसबाहेक, फ्रान्सिस्कोले धूम्रपान गर्न छाड्नुका साथै तिनीहरूले राम्ररी रगत ननिकालेको मासु खाँदैनथे। आफूले सिकेका सबै कुराहरूलाई स्पष्टसित लागू गरेको कारण आफूले पाएको ज्ञान अरूलाई बाँड्न तिनीहरू प्रोत्साहित भए। तुरुन्तै तिनीहरूले छिमेकीहरूलाई प्रचार गर्न थाले। तीन महिनाभित्र तिनीहरू बप्तिस्मा लिन योग्य भए। फ्रान्सिस्को अहिले सेवकाई सेवकको हैसियतमा सेवारत छन्। तिनीहरूले प्रचार कार्यमा बसालेको राम्रो उदाहरण र देखाएको जोश धन्य हुन्। तिनीहरूका छोरीहरूमध्ये तीन जना साक्षी भएका छन् अनि दुइ छोराहरू सभाहरू धाउँदैछन् र छ जना आफन्तहरूले अध्ययन गरिरहेका छन्।
बप्तिस्मा लिएको तुरुन्तैपछि फ्रान्सिस्कोले पाब्लो नाउँ गरेका एक भक्त क्याथोलिकलाई भेटे। तिनी चर्चमा परिचारकको हैसियतमा सेवारत थिए। पादरीको अनुपस्थितिमा पाब्लोले धर्मोपदेश सुनाउँथे। चर्चका कुनै सदस्य बिरामी हुँदा तिनी भेट्न जान्थे। चर्चमा कुनै व्यक्ति अनुपस्थित हुँदा पाब्लो तिनलाई प्रोत्साहन दिन्थे। कसैको मृत्यु हुँदा तिनी यथासक्दो मृतकको परिवारलाई सान्त्वना दिन्थे। स्पष्टतया, चर्चका सदस्यहरूले पाब्लोलाई औधी मन पराउँथे।
बाइबलप्रति पाब्लोको गहिरो आदर भएकोले बाइबल अध्ययन गर्न फ्रान्सिस्कोले राखेको प्रस्तावलाई तिनले सहर्ष स्वीकारे। बाइबलको सन्देश कति युक्तिसंगत रहेछ भनेर पाब्लोले चाँडै थाह पाए। केही अध्ययनहरूपश्चात् तिनले सिकेका केही शास्त्रपदहरू चर्चका एक बिरामी सदस्यलाई “गोठालोरूपी भेटघाट” गर्दा चलाउने निर्णय गरे। त्यसको तुरुन्तैपछि आइतबार धर्मोपदेश सुनाउँदा पाब्लोले परमेश्वरको नाउँ, यहोवा प्रयोग गर्नुको महत्त्व र किन मूर्तिहरूको प्रयोग गर्नु हुँदैन भनेर बताए।
आफूले सत्य सहजै स्वीकारेको हुनाले चर्चका अन्य सदस्यहरूले पनि त्यस्तै प्रतिक्रिया देखाउनेछन् भनेर पाब्लोले प्रत्याशा साँचेका थिए। तर बाइबल आधारित यी तीन वा चार धर्मोपदेशहरू दिएपछि पाब्लोले के देखे भने, तिनले प्रस्तुत गरिरहेका जानकारी मानिसहरूलाई मन परेको थिएन। तसर्थ, तिनले चर्च त्यागेर यहोवाका साक्षीहरूसित नियमित तवरमा संगत गर्ने निर्णय गरे। केही महिनाभित्रै तिनी बप्तिस्माको लागि योग्य भए र अहिले सुसमाचारको जोशिलो प्रचारक भएका छन्। तिनी पूर्ण-समय प्रचारक हुन नसके तापनि हाल तिनले दशवटा बाइबल अध्ययनहरू सञ्चालन गरिरहेका छन्।
एकसाथ भेला भएर वृद्धिलाई बढाउने
इक्वेटोरियल गिनीका साक्षीहरूले एकसाथ भेला हुन नछोड भन्ने बाइबल आदेशलाई गम्भीरतापूर्वक लिन्छन्। (हिब्रू १०:२५) सन् १९९४ मा प्रचारकार्यले सरकारबाट आधिकारिक मान्यता पाएदेखि उचित राज्यभवन बनाउन भाइहरू उत्सुक भएका छन्। वास्तवमा, अधिकांश मण्डलीहरूले आफ्नै भवनहरू बनाएका छन् वा बनाउँदैछन्।
मोंगोमोमा आइतबार सभाहरूको उपस्थिति राज्य प्रकाशक संख्याभन्दा साढे दुइ गुणा बढी हुन्छ। ठूलो सभास्थल बनाउन यहाँको मण्डलीले कठिन परिश्रम गरिरहेको छ। मोंगोमोका अन्य धर्महरूले चर्चहरू बनाउन सामान्यतः भाडामा कामदारहरू ल्याउँछन्। त्यसैले स्थानीय साक्षीहरूको क्रियाकलापले ध्यान नखिच्ने त कुरै उठ्दैन। कठिन परिश्रम गर्ने यी श्रमिकहरूलाई कति वेतन दिनुहुँदैछ भनेर प्राचीनहरूमध्ये एकलाई सोध्न एक दिन ईगलशी नुएभा अपोस्टोलीके-का (नयाँ प्रेरितवादी चर्च) पादरी निर्माणस्थलमा आए। त्यस पादरीले डकर्मी काममा आफ्नै चर्चका केही सदस्यहरू लगाएको भए तापनि काम एकदमै ढिलो चलिरहेको छ भनेर बताए। तिनले राज्यभवन निर्माणमा लागेका कामदारहरूलाई भाडामा लिन सकिन्छ कि भनेर जान्न चाहे। तिनीहरू पैसा नलिई काम गरिरहेका छन् भनेर तिनलाई बताइएपछि तिनी जिल्ल परेर आफ्नो बाटो लागे।
राज्यभवनदेखि टाढा बस्नेहरूले सभाहरू धाउन ठूलो त्याग गर्नुपर्ला। सन् १९९४ मा बप्तिस्मा लिएका जवान मानिस क्वानले यस्तै परिस्थितिको सामना गरे। तिनले गेबोनमा सत्यबारे सुनेर सधैंभरि बाँच्ने पुस्तकको आधा भाग अध्ययन गरेका थिए। त्यसपछि तिनी मोंगोमोबाट लगभग १०४ किलोमिटर टाढा इक्वेटोरियल गिनीको आफू जन्मेको गाउँ फर्के। यसो गर्दा लगातार अध्ययन गर्नु तिनको निम्ति चुनौती भयो। तर तिनले हरेस खाएनन्। प्रत्येक महिना तिनी साइकलबाट आठ घण्टाको यात्रा गरेर मोंगोमो पुग्थे। त्यहाँ स्थानीय प्राचीनहरूमध्येका सान्त्यागो नाउँ गरेका प्राचीनले तिनीसित अध्ययन सञ्चालन गर्थे। तिनी मोंगोमोमा केही दिन बस्थे र त्यहाँ बसुञ्जेल तीन वा चार पटकसम्म अध्ययन गर्थे। यसरी तिनी अध्ययन पूरा गरेर बप्तिस्मा लिन योग्य हुन सके।
अरू मसीहीहरूसित धेरै सम्पर्क गर्नु नपाए तापनि आध्यात्मिक तवरमा क्वान कसरी बलियो हुन्छन्? विशेषगरि, सुसमाचारको जोशिलो प्रचारक भएर। तिनले गाउँका सबै मानिसहरूलाई प्रचार गरेका छन् र बप्तिस्मा लिइञ्जेल १३ वटा बाइबल अध्ययनहरू सञ्चालन गरिरहेका थिए। मोंगोमोमा सम्पन्न विशेष सम्मेलन दिनमा तिनले बप्तिस्मा लिएको हेर्न ती विद्यार्थीहरूमध्ये छ जना तिनीसितै आएका थिए। अहिले तिनी आफ्नो इलाकाका इच्छुक जनहरूसित नियमित तवरमा प्रहरीधरहरा अध्ययन गर्छन् र प्रायः २० जना जति उपस्थित हुन्छन्।
धैर्यसाथ बीउमा पानी हाल्ने
सबैको आध्यात्मिक वृद्धि द्रुत गतिमा हुँदैन। बीउले अन्ततः फल फलाएको हेर्न कहिलेकाहीं निकै धैर्य गर्नुपर्ने हुन्छ। पाकाको घटनाले यस कुरालाई साँचो साबित गऱ्यो। सन् १९८४ को पछितिर एडीटा नाउँकी अग्रगामी बहिनीले बजारमा पाकालाई साक्षी दिइन्। तिनले प्रथम चोटि सुनेको सुसमाचार त्यही थियो। त्यसपछिको हप्तामा एडीटाले पाकालाई तिनको घरमा भेट्न जाँदा तिनले बाइबल अध्ययन स्वीकारिन्। तिनले त्यति राम्रो उन्नति नगरिरहेकी भए तापनि एडीटाले अध्ययन सञ्चालन गरिरहिन् किनभने पाका गुणवती छिन् भनेर तिनले थाह पाइन्। एडीटा बताउँछिन्, “तिनी भेडाखाले व्यक्तिजस्तो देखिन्थिन् र तिनको हृदय खोलिदिनुहोस् भनेर यहोवालाई प्रार्थना गर्थें।”
पाकासँगको अध्ययन आल्याङटाल्याङ गर्दै साढे चार वर्षसम्म चल्यो तर उन्नति चाहिं कछुवा चालमा चल्दैथियो। पाकाले सधैंभरि बाँच्ने पुस्तकबाट अध्ययन पूरा गरिसकेपछि सत्यलाई गम्भीरतापूर्वक लिनुपर्ने महत्त्वबारे एडीटाले स्पष्टसित कुरा गरिन्। पाकाको हृदय छुने प्रयासमा एडीटा रोइन् पनि।
पाका स्मरण गर्छिन्, “त्यो हृदयस्पर्शी सल्लाहले साँच्चै मेरो हृदयलाई छोयो। त्यस उप्रान्त मैले जीवनमा परिवर्तनहरू गर्न थालें। ईश्वरतान्त्रिक सेवकाई पाठशालामा नाउँ दर्ता गराएँ र त्यही वर्ष बप्तिस्मा अप्राप्त प्रकाशक भएँ। अन्ततः मैले बप्तिस्मा लिएको क्षण मेरो जीवनको सबैभन्दा ठूलो खुशीको दिन थियो!” पाकाको विगतको भावशून्यता तिनको वर्तमान जोश विपरीत थियो। अहिले तिनले १३ वटा बाइबल अध्ययनहरू सञ्चालन गरिरहेकी छिन् र द्रुत गतिले उन्नति नगर्नेहरूप्रति तिनी निस्सन्देह धैर्यधारण गर्छिन्।
मानिसहरूको जीवन सुधार्न मदत दिने
बाइबल स्तरहरूअनुरूप जीवन बिताएर इक्वेटोरियल गिनीका यहोवाका साक्षीहरूले इमानदारी र भद्रताको नाउँ कमाएका छन्। तिनीहरूको आचरणद्वारा प्रत्यक्षतः प्रभावित भएका मानिसले बाटे मण्डलीको प्राचीनकहाँ गएर सोधे: “तपाईंसित तर्क (अंग्रेजी) पुस्तक छ?b सांसारिक जीवनदेखि म वाक्क भइसकें। म यहोवाको साक्षी हुन चाहन्छु!”
सांसारिक व्यक्ति साक्षी बनेका राम्रो उदाहरण मालाबो मण्डलीका सेवकाई सेवक एन्टिनियो हुन्। बाइबल अध्ययन गर्नअघि तिनले छाडा जीवन बिताउँथे। तिनले घडी मर्मत गरेर कमाएको धेरैजसो पैसा पिउनैमा स्वाहा पार्थे र अनैतिक जीवन पनि बिताउँथे। कुन कुराले तिनलाई जीवनमा परिवर्तन गर्न मदत दियो? पहिलो कोरिन्थी ६:९, १० को यस जोडदार भनाइले तिनलाई गहिरो प्रभाव पाऱ्यो: “न ठगियौ। व्यभिचारीहरू, . . . मतवालाहरू, . . . परमेश्वरको राज्यको हकदार हुनेछैन।” परमेश्वरको अनुग्रह पाउने हो भने जीवनमा परिवर्तन गर्नैपर्छ भनेर तिनले बुझे। त्यसैकारण तिनी आफ्नो संगतबारे होशियार हुन थाले। (हितोपदेश १३:२०) पुराना साथीहरूले तिनलाई रक्सी पिउन बोलाउँदा तिनी मान्दैनन् थिए। बरु, तिनीहरूलाई साक्षी दिन्थे। साथीहरूले चाँडै तिनलाई कचकच गर्न छाडे।
के सबै प्रयास सार्थक भयो? एन्टिनियो बताउँछन्, “आफ्नो जीवनमा परिवर्तन ल्याएर म असाध्यै खुशी छु। अहिले ६० वर्षको उमेरमा पनि मेरो स्वास्थ्य निकै राम्रो छ भने मेरा कतिपय पुराना साथीहरूको मृत्यु भइसकेका छन् वा कोही चाहिं स्वास्थ्य समस्याले पीडित छन्। मैले साँचो मित्रहरू पाएको छु। र तिनीहरू मेरा पुराना मित्रहरूभन्दा बेग्लै छन् जुन मित्रहरूले रक्सीको दाम तिराउन मात्र साथी बनाउन चाहेका थिए। सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्वरसित मेरो असल सम्बन्ध छ। अहिले म नियमित अग्रगामी गर्दैछु र पिउने लत लागेको मानिससित बाइबल अध्ययन गर्दैछु। तसर्थ, तिनलाई मदत गर्न आफ्नो अनुभव चलाउनसक्छु।”
परमेश्वरका दासहरू हुने
केही २०० वर्षअघि इक्वेटोरियल गिनी समुद्री तटका मानिसहरूलाई जम्मा गर्दै दास बनाएर अमेरिका लगिन्थे। आज, त्यहाँ थुप्रै मानिसहरू स्वेच्छापूर्वक परमेश्वरको दास हुँदैछन्। यसप्रकारको दासत्वले तिनीहरूलाई बेबिलोनी सिद्धान्तहरू र प्रेतवादी प्रचलनहरूबाट मुक्त गराएर साँचो स्वतन्त्रता दिएको छ। त्यति मात्र होइन सन्तोषजनक र फलदायी जीवन यापन गर्न पनि यसले तिनीहरूलाई सिकाएको छ। तिनीहरूले येशूको यस प्रतिज्ञालाई अनुभव गरेका छन्: “तिमीहरूले सत्य के हो, सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”—यूहन्ना ८:३२.
सन् १९९५ को स्मरणार्थ उत्सवमा त्यहाँ १,९३७ जना उपस्थित भए। यो संख्या देशका प्रकाशकहरूको संख्याभन्दा झन्डै छ गुणा बढी हो। त्यहाँ थप आध्यात्मिक वृद्धिका अद्भुत प्रत्याशाहरू छन्। इक्वेटोरियल गिनीका साक्षीहरूले सत्यको बीउ रोपिरहँदा र त्यसमा पानी हालिरहँदा ‘परमेश्वरले बढाउनुहुनेछ’ भनेर तिनीहरू विश्वस्त छन्। (१ कोरिन्थी ३:६) निस्सन्देह, आध्यात्मिक वृद्धिको लागि इक्वेटोरियल गिनीमा उत्तम वातावरण छ!
[फुटनोटहरू]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।