के उपवास अप्रचलित भइसक्यो?
“कि शोरावस्थादेखि नै म प्रत्येक सोमबार उपवास बस्दै आएकी छु” भनेर ७८ वर्षीया म्रुदुलबेन नाउँ गरेकी सुसम्पन्न भारतीय स्त्री भन्छिन्। यो तिनको उपासनाको भाग भएको छ। र यही नै तिनको लागि यस्तो माध्यम हो जसले तिनलाई आफ्नो वैवाहिक जीवन सफल भएको, छोराछोरी सुस्वस्थ र पति सुरक्षित छन् भनी ढुक्क पार्थ्यो। अहिले तिनी विधवी भए तापनि छोराछोरीको सुस्वास्थ्य र समृद्धिको लागि अझै हरेक सोमबार उपवास बस्छिन्। यसरी तिनीजस्तै नियमित तवरमा उपवास बस्नु अधिकांश हिन्दू स्त्रीहरूको जीवनको अभिन्न भाग हो।
प्रत्येक वर्ष साउन (श्रावण) महिनामा हरेक सोमबार म उपवास बस्ने गर्छु भनेर भारत, मुम्बई (बम्बई) शहर आसपासको निवासी अधबैंसे प्रकाश नाउँ गरेका व्यापारी भन्छन्। हिन्दू पात्रोअनुसार यस महिनाले विशेष धार्मिक महत्त्व राख्छ। प्रकाश बताउँछन्: “मैले उपवास बस्न थाल्नुका धार्मिक कारणहरू थिए तर अहिले स्वास्थ्यको निम्ति यसलाई कायमै राख्ने थप प्रेरणा पाएको छु। साउन महिना मनसूनको अन्ततिर सुरु हुने हुँदा विशेषगरि वर्षा ऋतुमा लाग्ने रोगहरूबाट जोगिन मलाई उपवासले साथ दिन्छ।”
उपवास बस्नाले व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक तवरमा मदत पुऱ्याउँछ भनेर कसै कसैले सोच्छन्। उदाहरणका लागि, ग्रोल्या अन्तरराष्ट्रिय विश्वकोश (अंग्रेजी) बताउँछ: “हालैको वैज्ञानिक अनुसन्धानले बताएअनुसार, उपवास स्वास्थ्यकर हुनसक्छ र यसलाई होशियारीपूर्वक अपनाएमा सचेतन तथा संवेदन शक्ति बढ्छ।” भनिन्छ, युनानी दार्शनिक प्लेटो दश दिन वा त्योभन्दा धेरै दिनसम्म उपवास बस्थे। गणितज्ञ पाइथागोरसले आफ्ना विद्यार्थीहरूलाई शिक्षा दिनअघि उपवास बस्न लगाउँथे।
कोही कोहीले उपवास बस्दा तोकिएको समयभरि खानेकुरा र पानी खाँदै खाँदैनन् भने कसै कसैले चाहिं तरल पदार्थ पिउँछन्। केही छाक नखानु वा विशेष प्रकारको खानेकुरा मुखमा नहाल्नु नै थुप्रैको विचारमा उपवास बस्नु हो। तर लामो समयसम्म जथाभावी उपवास बस्नु हानिकारक हुनसक्छ। पत्रकार पारुल सेठ के बताउँछन् भने, शरीरमा संचय भएको कार्बोहाइड्रेट पचिसकेपछि मांशपेशीका प्रोटिनहरू ग्लुकोजमा परिणत हुन्छन् र त्यसपछि शरीरको बोसो प्रयोग हुन थाल्छ। बोसो ग्लूकोजमा परिणत हुँदा केटोन बडिज नामक विषालु पदार्थहरू निक्लन्छन्। यी पदार्थहरू थुप्रिंदै गएर मस्तिष्कसम्म पुग्छन् र मध्य स्नायु प्रणालीमा हानि पुऱ्याउँछन्। सेठ भन्छन्, “यस्तो अवस्थामा भने उपवास बस्नु हानिकारक हुनसक्छ। तपाईं अन्योल र असमञ्जसमा पर्नुहुन्छ अनि स्थिति झन् खराब हुनसक्छ। [यसले] . . . अचेत र अन्ततः मृत्यु पनि [गराउनसक्छ]।”
उद्देश्य पूर्तिको साधन र धर्मविधि
उपवासलाई राजनैतिक वा सामाजिक उद्देश्यहरू पूर्ति गर्नको लागि एक शक्तिशाली औजारको रूपमा चलाइएको छ। यस औजार चलाउने प्रख्यात व्यक्ति भारतका मोहनदास क. गान्धी थिए। तिनले करोडौं मानिसहरूबाट ठूलो सम्मान पाएका थिए र भारतका हिन्दू जनसमुदायमाथि प्रभाव जमाउन उपवासको प्रयोग गरे। कारखाना श्रमिकहरू र मालिकहरूबीचको औद्योगिक विवाद सुल्झाउन गान्धी उपवास बसेका थिए र त्यस उपवासको परिणामबारे व्याख्या गर्दै तिनले यसो भने: “यसको जम्माजम्मी परिणामले विवादमा सम्मिलित व्यक्तिहरूमाझ मैत्रीभाव सृजना गऱ्यो। कारखाना मालिकहरूको हृदय पग्ल्यो। . . . म उपवास बसेको तीन दिनपछि नै हडताल रोकियो।” दक्षिण अफ्रिकाका राष्ट्रपति नेल्सन मन्डेलाले आफू राजनैतिक बन्दी हुँदा पाँच दिने भोक हडतालमा भाग लिए।
यद्यपि, अधिकांश व्यक्तिहरू चाहिं धार्मिक कारणहरूले गर्दा उपवास बसेका छन्। उपवास बस्नु हिन्दू धर्मको प्रमुख धर्मविधि हो। भारतका उपवास र चाडहरू (अंग्रेजी) पुस्तक बताउँछ, खास खास दिनहरूमा “पूर्ण उपवास बसिन्छ। . . . पानीसमेत पिइँदैन। खुशियाली र समृद्धिका साथै अपराध तथा पापहरूको क्षमा भएको निश्चित गर्न पुरुषहरू र स्त्रीहरू दुवै कडिकडाइसाथ उपवास बस्छन्।”
जैन धर्ममा उपवासको प्रचलन व्याप्त छ। द सन्डे टाइम्स अफ इण्डिया रिभ्यु-को प्रतिवेदन यस्तो छ: “बम्बईको [मुम्बई] जैन मुनि-ले [साधु] २०१ दिनसम्म दिनको दुइ गिलास उमालेको पानी मात्र पिए। तिनको वजन ३३ केजी घट्यो।” कसै कसैले मुक्ति पाइनेछ भनी विश्वस्त भएर मृत्यु होउञ्जेल उपवास बस्छन्।
रामादान महिनाको दौडान उपवास बस्नु सबै मुसलमान वयस्क पुरुषहरूका लागि अनिवार्य छ। त्यस महिनाभरि सूर्योदयदेखि सूर्यास्तसम्म खानेकुरा वा पानी मुखमा हाल्नु हुँदैन। यतिबेला तिनी बिरामी भए वा यात्रामा छन् भने तिनले त्यो उपवास अरू समयमा पूरा गर्नैपर्छ। मसीहीजगत्का कोही कोही मानिसहरूका लागि उपवास बस्ने समय लेन्ट अर्थात् इस्टर पर्वअघिका ४० दिनहरू हुन्। अन्य थुप्रै धार्मिक समुदायहरू अरू निर्धारित दिनहरूमा उपवास बस्छन्।
उपवास बस्ने चलन अवश्यै लुप्त भएको छैन। अनि यो थुप्रै धर्मको भाग भएकोले हामी सोध्नसक्छौं, के उपवास बसेको परमेश्वर चाहनुहुन्छ? के मसीहीहरू उपवास बस्नसक्ने अवसरहरू छन्? के यो लाभदायी हुनसक्छ? यसपछिको लेखमा यी प्रश्नहरूबारे छलफल गरिनेछ।
[पृष्ठ ३-मा भएको चित्र]
जैन धर्मअनुसार प्राणले मुक्ति पाउने तरिका उपवास हो
[पृष्ठ ४-मा भएको चित्र]
मोहनदास क. गान्धीले राजनैतिक वा सामाजिक उद्देश्यहरू पूर्तिको लागि उपवासलाई एक शक्तिशाली औजारको रूपमा चलाए
[पृष्ठ ४-मा भएको चित्र]
मुसलमान धर्मअनुसार रामादान महिनाका दौडान उपवास बस्नु अनिवार्य छ
[स्रोत]
Garo Nalbandian