येशूबारे सत्य
येशू को हुनुहुन्थ्यो र उहाँले के गर्नुभयो भन्नेबारे सिद्धान्त र अनुमानहरूको कुनै अन्त छैन जस्तो देखिन्छ। तर बाइबलबारे के भन्न सकिन्छ? यसले हामीलाई येशू ख्रीष्टबारे के बताउँछ?
बाइबल के भन्छ
ध्यानपूर्वक बाइबल पढ्दा तपाईंले यी मुख्य तथ्यहरू पाउनुहुनेछ:
◻ येशू परमेश्वरको एक मात्र पुत्र, सारा सृष्टिको जेठो हुनुहुन्छ।—यूहन्ना ३:१६; कलस्सी १:१५.
◻ लगभग २,००० वर्षअघि परमेश्वरले येशूलाई मानव रूपमा जन्माउन येशूको जीवन यहूदी कन्याको गर्भमा सार्नुभयो।—मत्ती १:१८; यूहन्ना १:१४.
◻ येशू असल मानिस मात्र नभई महान् व्यक्ति हुनुहुन्थ्यो। उहाँले आफ्नो पिता यहोवा परमेश्वरको असल व्यक्तित्वलाई हर पक्षमा इमानदारीसाथ झल्काउनुभयो।—यूहन्ना १४:९, १०; हिब्रू १:३.
◻ येशूले आफ्नो पार्थिव सेवकाईको दौडान शोषितहरूका खाँचोहरूलाई मायालु तवरमा पूरा गर्नुभयो। उहाँले बिरामीलाई चमत्कारपूर्ण ढंगमा निको पार्नुभयो र मृतकलाई समेत बिउँताउनुभयो।—मत्ती ११:४-६; यूहन्ना ११:५-४५.
◻ येशूले पीडित मानवहरूका लागि एक मात्र आशा परमेश्वरको राज्य हो भनेर उद्घोषणा गर्नुभयो र आफ्ना चेलाहरूलाई यस प्रचार कार्यमा निरन्तर लागिरहन प्रशिक्षण दिनुभयो।—मत्ती ४:१७; १०:५-७; २८:१९, २०.
◻ सा.यु. ३३, नीसान १४ (लगभग अप्रिल १) मा येशूलाई गिरफ्तार र सोधपूछ गरियो, दण्ड सुनाइयो र वैध अख्तियार विरुद्ध विद्रोह गरेको झूटो आरोपमा उहाँको हत्या गरियो।—मत्ती २६:१८-२०, मत्ती २६:४८–२७:५०.
◻ येशूको मृत्युमाथि विश्वास गर्ने मानिसजातिलाई उहाँको त्यस मृत्युले तिनीहरूको पापपूर्ण अवस्थाबाट छुटकारा दिएर छुडौतीको काम गर्छ। तसर्थ, त्यसले उहाँलाई विश्वास गर्ने सबैको लागि अनन्त जीवनको बाटो खोल्छ।—रोमी ३:२३, २४; १ यूहन्ना २:२.
◻ नीसान १६ मा येशू पुनरुत्थान हुनुभयो र त्यसको तुरुन्तैपछि पितालाई आफ्नो सिद्ध मानव जीवनको छुडौतीको मूल्य तिर्न स्वर्गारोहण हुनुभयो।—मर्कूस १६:१-८; लूका २४:५०-५३; प्रेरित १:६-९.
◻ यहोवाको नियुक्त राजाको हैसियतमा मानिसको लागि परमेश्वरको खास उद्देश्य पूरा गर्ने सम्पूर्ण अधिकार येशूसित छ।—यशैया ९:६, ७; लूका १:३२, ३३.
त्यसैकारण, बाइबलले येशूलाई परमेश्वरका उद्देश्यहरू पूरा गर्ने कुञ्जीको रूपमा प्रस्तुत गर्छ। तर उहाँ नै वास्तविक येशू अर्थात् बेतलेहेममा जन्मिएर यस पृथ्वीमा २,००० वर्षअघिको जीवित ऐतिहासिक येशू हुनुहुन्छ भनेर तपाईं कसरी निश्चित हुन सक्नुहुन्छ?
विश्वसनीयताको आधार
निष्पक्ष भएर मसीही युनानी धर्मशास्त्र पढ्यौं भने मात्र पनि थुप्रै शंकाहरू हटाउन सकिन्छ। यसो गर्नुहुँदा तपाईंले बाइबल विवरण मिथ्या कथाहरूमा पाइने अस्पष्ट घटना विवरणहरू होइनन् भनी थाह पाउनुहुनेछ। बरु, बाइबलमा नाउँहरू तथा निश्चित समयहरू र सही ठाउँहरू उल्लेख गरिएका छन्। (उदाहरणका लागि, लूका ३:१, २ हेर्नुहोस्।) त्यसबाहेक येशूका चेलाहरूबारे यथार्थ वर्णन गरिएका छन् जसले गर्दा पाठक विश्वस्त हुनसक्छन्। लेखकहरूले सही विवरण बनाउन आफूलगायत कुनै कुरा ढाकछोप गरेनन्। हो, बाइबलमा हामी सत्य विवरण पाउँछौं।—मत्ती १४:२८-३१; १६:२१-२३; २६:५६, ६९-७५; मर्कूस ९:३३, ३४; गलाती २:११-१४; २ पत्रुस १:१६.
त्यति मात्र होइन। पुरातात्त्विक अनुसन्धानहरूले बाइबल विवरणलाई लगातार प्रमाणित गरेका छन्। उदाहरणका लागि, तपाईं जेरूशलेमस्थित इजरायल संग्रहालय घुम्न जानुभयो भने पोन्तियस पिलातसको नाउँ कुँदिएको ढुंगा देख्न सक्नुहुन्छ। बाइबलमा उल्लिखित लुसानियास र सर्गियस पौलस प्रारम्भिक मसीहीहरूले रचेका काल्पनिक व्यक्तिहरू नभई वास्तविक व्यक्तिहरू थिए भनेर अन्य पुरातात्त्विक आविष्कारहरूद्वारा प्रमाणित हुन्छ। युभेनल, टेसिटस, सेनेका, सुटोनियस, प्लिनी द यङ्गर, लुशियन, केल्सस र यहूदी इतिहासकार जोसेफसलगायत पुरातन लेखकहरूका उद्धरणहरूमा मसीही युनानी धर्मशास्त्रभित्र (नयाँ नियम) उल्लिखित घटनाहरूको प्रशस्त प्रमाण पाइन्छ।a
मसीही युनानी धर्मशास्त्रमा प्रस्तुत विवरणहरूलाई प्रथम शताब्दीका हजारौं मानिसहरूले सहर्ष स्वीकारे। येशूले भन्नुभएको र गर्नुभएको अनुमानित सत्यतालाई मसीही धर्मका शत्रुहरूले समेत अस्वीकार गरेनन्। येशूका चेलाहरूले उहाँको मृत्युपछि उहाँको भूमिकालाई बढाइचढाइ गरे भन्ने सम्भाव्यताबारे प्राध्यापक एफ. एफ. ब्रुस यस्तो टिप्पणी गर्छन्: “प्रारम्भिक समयमा अर्थात् येशूका थुप्रै चेलाहरू जीवितै भएको बेला येशूका शब्दहरू र कार्यहरू सृजना गर्नु कोही कोही लेखकहरूका लागि सोचेको जस्तो सजिलो हुनसक्दैन थियो। के घटना भयो र के भएन भनेर तिनीहरूले स्मरण गर्नसक्थे। . . . चेलाहरूले अशुद्धताहरूको (तथ्यहरूलाई स्वेच्छाले बंगाएको) खतरा मोल्न सक्दैन थिए, जुन कुरा पर्दाफास गर्न रमाउनेहरूले भण्डाफोर गरिहाल्ने थिए।”
तिनीहरू किन विश्वास गर्दैनन्
तरैपनि कोही कोही शास्त्रविद्हरू शंकामै अल्झिरहन्छन्। तिनीहरूले बाइबलीय विवरण काल्पनिक हो भनेर अनुमान गरे तापनि उत्सुकतासाथ अपुष्ट लेखोटहरू धुइँधुइँती खोज्छन् र ती विश्वासयोग्य ठान्छन्! किन? किनभने थुप्रै आधुनिक बुद्धिजीवीहरूले विश्वास गर्न नचाहेका कुराहरू बाइबल विवरणमा पाइन्छ।
सन् १८७१ मा प्रकाशित आफ्नो पुस्तक संयुक्त बाइबल सहयोग-मा (अंग्रेजी) अस्टिन अलिबोनले शंका गर्नेहरू विरुद्ध चुनौती प्रस्तुत गरे। तिनले लेखे: “सुसमाचार पुस्तकको इतिहासको यथार्थमाथि शङ्का प्रकट गर्ने व्यक्तिलाई सोध्नुहोस्, सांसद भवनमा सिजर मारिए अनि सन् ८०० मा पोप लिओ तेस्रोद्वारा चार्लमेन पश्चिमको सम्राट बने भनेर विश्वास गर्ने के आधार छ? . . . यी व्यक्तिहरूबारे गरिएका सबै दावीहरू हामी विश्वास गर्छौं; किनकि हामीसँग त्यसको ऐतिहासिक प्रमाण छ। . . . यस्तो प्रमाणको बावजूद कसैले अझै पनि विश्वास गर्न अस्वीकार गर्छ भने त्यसलाई मूर्ख जिद्दी वा निराशाजनक स्तरमा पुगेको अज्ञानी भन्नु सिवाय अरू कुनै उपाय छैन। पवित्र धर्मशास्त्रको यथार्थताको पक्षमा प्रशस्त प्रमाणहरू हुँदा हुँदै उल्टो त्यसको विरोध गरेर आफू अविश्वस्त भएको दावी गर्छ भने हामी के नै गर्न सक्छौं र? . . . आफ्नो गरिमा तर झर्ला र भिन्न जीवन बिताउनु पर्ला भनेर तिनीहरू विश्वास गर्ने इच्छा गर्दैनन्।”
हो, कोही कोही शंकालुहरू चाहिं आफ्नै नीच स्वार्थको कारण मसीही युनानी धर्मशास्त्र अस्वीकार गर्छन्। धर्मशास्त्र विश्वाययोग्य हुनु या नहुनु तिनीहरूको समस्या होइन तर त्यसका स्तरहरू तिनीहरूको लागि समस्या हो। उदाहरणका लागि, येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्नुभयो: “तिनीहरू संसारका होइनन्, जस्तो म संसारको होइनँ।” (यूहन्ना १७:१४) तथापि, यस संसारका राजनैतिक क्रियाकलापहरू र रक्तपातयुक्त युद्धहरूमा समेत मसीही हौं भनी दाबी गर्ने थुप्रै सम्मिलित हुन्छन्। थुप्रै मानिसहरू बाइबलका स्तरहरूअनुरूप चल्नुको साटो आफ्नै स्तरहरूअनुरूप बाइबललाई चलाउन रुचाउँछन्।
नैतिकताको कुरालाई पनि विचार गर्नुहोस्। करनी प्रचलनले व्याप्त थिआटायरा मण्डलीलाई येशूले कडा सल्लाह दिनुभयो। “म उही हुँ, जसले सबैको मन (“मृगौला,” NW) र हृदय खोतल्छ, र म तिमीहरू हरेकलाई तिमीहरूका कामअनुसारै दिनेछु।”b (प्रकाश २:१८-२३) यद्यपि, के मसीही भनौंदाहरूले नैतिक स्तरहरूको बेवास्ता गर्दैनन् र? तिनीहरूले आफ्नो अनैतिक जीवनपद्धतिलाई त्याग्नुको साटो येशूले भन्नुभएको कुरालाई अस्वीकार गर्छन्।
बाइबलमा उल्लिखित येशूलाई ग्रहण गर्नुको साटो विद्वानहरूले उहाँबारे आफ्नै धारणा सृजना गरेका छन्। सुसमाचार लेखकहरूलाई झूटो ठहराउने कुराहरू रचेको कारण तिनीहरू दोषी छन्। आफूले चाहेको येशूको जीवनको केही अंश तिनीहरू स्वीकार्छन्, बाँकीलाई अस्वीकार गर्छन् र त्यसमा आफैले बनाएका केही विवरणहरू थप्छन्। वास्तवमा, तिनीहरूले घुमन्ते साधु वा सामाजिक आन्दोलनकारी भनी दाबी गर्दै खोजीरहेको ऐतिहासिक व्यक्ति येशू हुनुहुन्न। बरु, उहाँबारेको धारणा त तिनीहरूले आफ्नो घमण्डी विद्वताअनुसार देखाएका काल्पनिक कुराहरू हुन्।
वास्तविक येशूलाई भेट्टाउने
निष्कपटतासाथ सत्य र धार्मिकता खोजिरहेका व्यक्तिहरूको हृदय छुने प्रयत्न येशूले गर्नुभयो। (मत्ती ५:३, ६; १३:१०-१५) यस्ता व्यक्तिहरूले येशूको यो निमन्त्रणा स्वीकार्छन्: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलका छ।”—मत्ती ११:२८-३०.
आधुनिक शास्त्रविद्हरूद्वारा लिखित पुस्तकहरूमा वास्तविक येशू पाइँदैन नता उहाँ मानवनिर्मित परम्पराको पृष्ठभूमि भइसकेको मसीहीजगत्का चर्चहरूमा नै पाइन्छ। तपाईंले ऐतिहासिक येशूलाई आफ्नो बाइबलमा पाउनुहुनेछ। के तपाईं उहाँबारे अझ बढी सिक्न चाहनुहुन्छ? त्यसो गर्नको लागि तपाईंलाई मदत गर्न यहोवाका साक्षीहरू खुशी हुनेछन्।
[फुटनोट]
a थप जानकारीको लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित बाइबल—परमेश्वरको वचन वा मानिसको?, (अंग्रेजी) अध्याय ५, पृष्ठ ५५-७० हेर्नुहोस्।
b बाइबलमा उल्लिखित मनले (मृगौला, NW) कहिलेकाहीं व्यक्तिको गहन विचार र भावनाहरूको प्रतिनिधित्व गर्छ।
[पृष्ठ ६-मा भएको पेटी]
आलोचनाका शताब्दीहरू
मसीही युनानी धर्मशास्त्रको आलोचना २०० वर्षअघि सुरु भएको थियो। त्यतिबेला जर्मन दार्शनिक हर्मन जाम्येल रीमारुसले (१६९४-१७६८) भने: “प्रेरितहरूले आफ्ना लेखोटहरूबारे दिएको शिक्षा र येशू स्वयंले आफ्नो जीवनअवधिमा घोषणा गर्नुभएको र सिकाउनुभएको शिक्षाबीचको भिन्नता छुट्याएर हामीले ठीकै गऱ्यौं।” रीमारुसको समयदेखि यता थुप्रै शास्त्रविद्हरूलाई त्यस्तै प्रकारले सोच्न सिकाइएको छ।
विगतका थुप्रै आलोचकहरूले आफूलाई धर्मत्यागी ठानेनन् भनेर वास्तविक येशू (अंग्रेजी) पुस्तक बताउँछ। बरु, “तिनीहरू आफूलाई सिद्धान्त र अन्धविश्वासको बन्धनबाट मुक्त साँचो मसीही ठान्थे।” बाइबलसम्बन्धी आलोचनालाई तिनीहरू “मसीही धर्मको परिष्कृत रूप” ठान्थे।
दुःखको कुरा, मसीहीजगत् मानवनिर्मित परम्पराको आधार भएको छ। बाइबल शिक्षा विपरीतका केही धर्मसिद्धान्तहरूमा अमर आत्मा, त्रिएक र अग्निमय नरक हुन्। तर यसरी सत्यलाई भ्रष्ट पारेकोमा मसीही युनानी धर्मशास्त्रका लेखकहरू जिम्मेवार थिएनन्। बरु, तिनीहरूले प्रथम शताब्दीको मध्यतिर झूटो शिक्षाहरूका प्रथम छापहरूको सामना गरे जतिबेला पावलले मसीही भनौंदाहरूबीच धर्मत्याग “अघिबाटै” सुरु भइसकेको थियो भनेर लेखे। (२ थिस्सलोनिकी २:३, ७) मसीही युनानी धर्मशास्त्रमा जे जति लेखिएका छन्, ती ऐतिहासिक र सैद्धान्तिक सत्य विवरण हो भनेर हामी विश्वस्त हुनसक्छौं।
[पृष्ठ ७-मा भएको पेटी]
सुसमाचारका पुस्तकहरू कहिले लेखिए?
सुसमाचारको पुस्तकमा उल्लिखित घटना विवरणहरू घटना भएको धेरैपछि लेखिएका हुनाले त्यहाँ गल्तीहरू त हुने नै छन् भनी आलोचकहरू दाबी गर्छन्।
तथापि मत्ती, मर्कूस र लूकाका लेखोटहरू धेरैअघि लेखिएका थिए भनेर प्रमाणले बताउँछ। मत्तीरचित सुसमाचार पुस्तकको केही पाण्डुलिपिमा भएका संकेतहरूले यो पुस्तक सा.यु. ४१ तिरै लेखिसकेको थियो भनेर संकेत गर्छन्। लूकाको पुस्तक सम्भवतः सा.यु. ५६ र सा.यु. ५८ बीच लेखिएको थियो किनभने लूकाले आफ्नो “प्रथम विवरण,” सुसमाचारको पुस्तक पहिले नै लेखिसकेका थिए भनेर प्रेरितको पुस्तकले (सम्भवतः सा.यु. ६१ तिर लेख्न सिद्धिएको) देखाउँछ। (प्रेरित १:१) मर्कूसको पुस्तक चाहिं प्रेरित पावल रोममा प्रथम वा दोस्रो पटक कैदमा परेको समयतिर अर्थात् सम्भवतः सा.यु. ६० र सा.यु. ६५ बीच लेखिएको भनेर मानिन्छ।
ती सुसमाचार पुस्तकहरू धेरैअघि नै लेखिएका थिए भन्ने कुरामा प्राध्यापक क्रेग एल. ब्लोमबर्ग सहमत छन्। तिनी भन्छन्, प्रथम शताब्दीको अन्ततिर लेखिएको यूहन्नाको सुसमाचारको पुस्तकलाई विचार गर्दा समेत “हामी पुरातन जीवनी लेखहरूभन्दा पनि पुराना घटनाहरूसित परिचित हुन्छौं। उदाहरणका लागि, महान् सिकन्दरका दुइ जना प्रारम्भिक जीवनी लेखकहरू एरियन र प्लुटार्कले ई.पू. ३२३ मा सिकन्दरको मृत्यु भएको चार सय वर्षभन्दापछि लेखेका थिए। यद्यपि, इतिहासकारहरू साधारणतया ती विवरणहरू भरोसायोग्य ठान्छन्। समय बित्दै जाँदा सिकन्दरको जीवनबारे अविश्वसनीय पौराणिक कथाहरू विकास भए। तर ती पौराणिक कथाहरूको धेरैजसो भाग यी दुइ लेखकहरूको मृत्युपछिका शताब्दीहरूमा विकास भए।” मसीही युनानी धर्मशास्त्रका ऐतिहासिक भागहरू कमभन्दा कम सांसारिक इतिहासहरू जत्तिकै पत्यारलाग्दो छ।
[पृष्ठ ८-मा भएको चित्र]
आउँदै गरेको पार्थिव प्रमोदवनमा सबैले आनन्दै आनन्द महसुस गर्नेछन्