बोर्डिङ स्कूलमै छोराछोरीलाई पढाउनुपर्ने?
आफूलाई अल्प विकसित देशको सानो शहरमा बसोबास गरिरहेको कल्पना गर्नुहोस्। तपाईंका प्रायजसो छोराछोरीहरू प्राथमिक स्कूलमा पढ्दैछन् र १२ वर्षको उमेर पुगेपछि तिनीहरू माध्यमिक कक्षामा जानेछन्। तर तपाईंको इलाकाका माध्यमिक स्कूलहरूमा आवश्यकताभन्दा बढ्ता विद्यार्थीहरू छन् र शैक्षिक सामग्री तथा शिक्षकहरूको पनि राम्रो व्यवस्था छैन। त्यसमाथि हडतालहरूले गर्दा कहिलेकाहीं हप्तौं वा महिनौंसम्म ती बन्द हुन्छन्।
त्यतिकैमा शहरकै बोर्डिंग स्कूलबारे सविस्तार जानकारी दिने आकर्षक पुस्तिका तपाईं पाउनुहुन्छ। सफा लुगा लगाएर ठाँटिएका हँसमुख विद्यार्थीहरू सबै सर-साधनले भरिएको कक्षा, प्रयोगशाला र पुस्तकालयहरूमा अध्ययन गरिरहेको चित्र तपाईंको आँखाअगाडि आउँछ। विद्यार्थीहरू कम्प्युटरको धूनमा मस्त छन् र तिनीहरू सफा आकर्षक कोठामा आराम गर्छन्। तपाईंको हातमा थमाइएको पुस्तिकाले तपाईंलाई भन्छ, हाम्रो स्कूलको एउटा लक्ष्य विद्यार्थीहरूलाई “गुणस्तरीय शिक्षा दिनु हो, र त्यसको लागि हामी सक्षम छौं।” त्यही पुस्तिकामा यस्तो पनि लेखिएको तपाईं भेट्टाउनुहुन्छ: “परिवारमा जस्तै स्कूलमा पनि शिष्टाचार, आमाबाबु तथा पाको व्यक्तिहरूको आदर, सहयोगको भावना, सहनशीलता, दया, इमानदारी अनि वफादारीमाथि जोड दिनुका साथै सबै विद्यार्थीहरूबाट त्यस्ता गुनहरूको माग गरिन्छ।”
पुस्तिकाको एक कुनामा मुसुक्क हाँसिरहेको जवान छात्रलाई यसरी उद्धृत गरेको पनि तपाईं देख्नुहुन्छ: “मलाई यस स्कूलमा अध्ययन गर्न दिनुभएर मेरो आमाबाबुले ममाथि ठूलो उपकार गर्नुभयो।” अनि त्यससँगैको केटीको चित्रले चाहिं यसो भनिरहेको छ: “स्कूल चुनौतीपूर्ण र रोमाञ्चक छ। यहाँ सिक्ने काम त स्वतः भइहाल्छ।” के तपाईं आफ्ना छोरछोरीलाई यस्तो बोर्डिङ स्कूलमा पढ्न पठाउनुहुन्छ?
शिक्षा र आध्यात्मिकता
छोराछोरीको चिन्ता गर्ने जुनसुकै आमाबाबु आफ्ना छोराछोरीको जीवनको जग बलियो बनाउन चाहन्छन्। त्यसको निम्ति असल र सन्तुलित शिक्षा दिनु महत्त्वपूर्ण छ। प्रायः सांसारिक शिक्षाले भविष्यमा जागिर पाउने अवसर दिनुका साथै जवान मानिसहरूलाई आफ्नो र भावी परिवारको देखभाल गर्ने वयस्क व्यक्ति हुन मदत दिन्छ।
‘बोर्डिङ स्कूलमा असल शिक्षा पाउनुका साथै नैतिक निर्देशन दिइन्छ भने त्यसको फाइदा किन नउठाउने?’ भनेर तपाईं सोध्नुहुन्छ होला। यस प्रश्नबारे सोच्दा मसीही आमाबाबुले अति महत्त्वपूर्ण कुरा अर्थात् आफ्ना छोराछोरीको आध्यात्मिक हितबारे प्रार्थनापूर्वक विचार गर्नुपर्छ। येशू ख्रीष्टले यसरी सोध्नुभयो: “मानिसले सारा जगत् हात पारेर आफ्नो प्राणचाहिं गुमायो भने त्यसलाई के फाइदा हुन्छ?” (मर्कूस ८:३६) निस्सन्देह, यसो गर्नुमा केही लाभ छैन। तसर्थ, आफ्ना छोराछोरीलाई बोर्डिङ स्कूलमा पढाउनुअघि छोराछोरीले अनन्त जीवन पाउनसक्ने आशामाथि यसले पार्ने प्रभावबारे मसीही आमाबाबुले विचार गर्नुपर्छ।
अरू विद्यार्थीहरूको प्रभाव
कुनै बोर्डिङ स्कूलहरूमा शैक्षिक स्तर राम्रो होला। तर ती स्कूलहरूमा पढ्ने वा शायद ती सञ्चालन गर्नेहरूको नैतिक स्तरहरूबारे समेत के भन्न सकिन्छ? “आखिरी दिनमा” व्याप्त हुने मानिसहरूबारे प्रेरित पावलले यसो लेखे: “तर यो जान, कि आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्वासघाती, उत्ताउला, दिमागी, परमेश्वरभन्दा बरु सुख-विलास निको मान्ने, भक्तिको भेष चाहिं लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्, यिनीहरूबाट पनि पर बस।”—२ तिमोथी ३:१-५.
यस्तो नैतिक र आध्यात्मिक पतन विश्वभरि व्याप्त छ। यसले गर्दा यहोवाका साक्षीहरूलाई बाइबल सिद्धान्तअनुरूप जीवन बिताउनु चुनौती भएको छ। घरबाट दिनदिनै स्कूल धाउने विद्यार्थीहरूको सांसारिक सहपाठीहरूसित सीमित सम्पर्क हुन्छ। तैपनि त्यो सम्पर्कले तिनीहरूको आध्यात्मिकतामा ठूलो तथा नकारात्मक प्रभाव पार्नसक्ने सम्भावना तिनीहरूले महसुस गरेका छन्। आमाबाबुले सहयोग, सल्लाह र प्रोत्साहन दिनहुँ दिए पनि साक्षी केटाकेटीहरूले त्यस प्रभावलाई रोक्न संघर्ष नै गर्नुपर्ने हुनसक्छ।
त्यसोभए, घरदेखि टाढा बोर्डिङ स्कूलमा भर्ना गरिएका केटाकेटीको स्थिति झन् कस्तो होला? तिनीहरू मायालु आमाबाबुबाट पाउनुपर्ने दैनिक आध्यात्मिक सहयोगबाट टाढा र वञ्चित हुन्छन्। तिनीहरू चौबीसै घण्टा सहपाठीहरूसित समय बिताउँछन्। तसर्थ, अरूले जस्तै गर्नुपर्ने दबाबले तिनीहरूको कलिला हृदयमा तीव्र प्रभाव पार्छ। शायद त्यस्तो प्रभाव घरबाट स्कूल धाउने विद्यार्थीहरूमा पर्दैन। एक विद्यार्थीले भने: “बोर्डिङमा बस्ने विद्यार्थीहरू रातदिनै नैतिक खतरामा परिरहेका हुन्छन्।”
पावलले यसो लेखे: “नठगियौ, खराब सङ्गतले भला चाल-चलनलाई बिगार्दछ।” (१ कोरिन्थी १५:३३) आफ्ना छोराछोरीले परमेश्वरको सेवा नगर्नेहरूसित निरन्तर सम्पर्क राख्दा तिनीहरू आध्यात्मिक खतरामा पर्नेछैनन् भन्ने गलत सोचाइ मसीही आमाबाबुहरूले राख्नु हुँदैन। समय बित्दै जाँदा ईश्वरीय डर राख्ने केटाकेटीहरू मसीही जीवनका मूल्य तथा मान्यताहरूप्रति भावशून्य हुनसक्छन् र आध्यात्मिक कुराहरूको मूल्यांकन नगर्न पनि सक्छन्। कहिलेकाहीं आमाबाबुले यस्तो कुरा छोराछोरी बोर्डिङ स्कूलमा भइञ्जेल थाह पाउँदैनन्। तिनीहरूले थाह पाउञ्जेलसम्म त साह्रै ढिलो भइसकेको हुन्छ।
यस सम्बन्धमा क्लेमेन्टको अनुभव उल्लेखनीय छ। तिनी बताउँछन्: “बोर्डिङमा बस्नुअघि मलाई सत्य मन पर्थ्यो र भाइहरूसित क्षेत्र सेवकाईमा जान्थें। विशेषगरि, पारिवारिक अध्ययन र मण्डली पुस्तक अध्ययनमा भाग लिन रमाइलो लाग्थ्यो। तथापि, जब म १४ वर्षको हुँदा बोर्डिङमा बस्न थालें, तब सत्यदेखि पूर्णतया टाढिएँ। बोर्डिङमा पाँच वर्ष बसुञ्जेल कहिल्यै सभाहरूमा गइनँ। खराब संगतको कारण लागू पदार्थ र चुरोट खानुका साथै पियक्कड भएँ।”
शिक्षकहरूको प्रभाव
जुनसुकै स्कूलमा पनि नैतिकता भ्रष्ट भएका शिक्षकहरू हुनसक्छन्। तिनीहरूले आफ्नो अख्तियारलाई गलत ढंगमा प्रयोग गर्छन्। कोही निर्दयी र कठोर हुन्छन् भने कोही कोहीले विद्यार्थीहरूलाई यौन दुर्व्यवहार गर्छन्। बोर्डिङ स्कूलमा यस्ता शिक्षकहरूले गर्ने क्रियाकलापबारे प्रायः गुनासो गरिंदैन।
तथापि, अधिकांश शिक्षकहरूले विद्यार्थीहरूलाई समाजको उपयोगी सदस्य र संसारमा बाँच्न योग्य बनाउन भरमग्दुर प्रशिक्षण दिन्छन्। तर यसो गर्दा साक्षी केटाकेटीको लागि अर्को समस्या खडा हुन्छ। संसारका महत्त्वपूर्ण कुराहरू मसीही सिद्धान्तहरूसित सधैं मेल खाँदैनन्। शिक्षकहरूले विद्यार्थीहरूलाई संसारको रीतिअनुसार चल्न प्रोत्साहन दिए तापनि येशूले आफ्ना अनुयायीहरू “संसारका होइनन्” भन्नुभयो।—यूहन्ना १७:१६.
छोराछोरीले बाइबल सिद्धान्तहरू पालन गर्दा समस्याहरू खडा भए भने के गर्ने? छोराछोरीहरू घरबाट दिनदिनै स्कूल धाउँदैछन् भने तिनीहरूले आमाबाबुसित यस्ता कुराहरूबारे छलफल गर्नसक्छन्। आमाबाबुले चाहिं आफ्ना छोराछोरीलाई निर्देशन दिनसक्छन् र शायद शिक्षकसित कुरा गर्नसक्छन्। परिणामस्वरूप, समस्या र आपसी मनमुटाउलाई तुरुन्तै समाधान गर्न सकिन्छ।
तर बोर्डिङ स्कूलमा परिस्थिति बेग्लै छ। विद्यार्थीहरू चौबीसै घण्टा आफ्ना शिक्षकहरूको अधीनमा हुन्छन्। अतः आमाबाबुबाट दिनहुँ पाउने सहयोगबिनै छोराछोरीले मसीही सिद्धान्तहरूको अडान लिनुपर्ने हुन्छ। कहिलेकाहीं त यस्ता परिस्थितिहरूमा छोराछोरी परमेश्वरप्रति विश्वासी नै रहन्छन्। तथापि, प्रायः तिनीहरू विश्वासी रहँदैनन्। सम्भवतः विद्यार्थी, शिक्षकले भनेअनुसार गर्न झुक्नुपर्ने हुन्छ।
इच्छाअनुसार गर्न नपाउनु
विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरूलाई जस्तो इच्छाअनुसार त्यहाँ आउने र फर्कने स्वतन्त्रता बोर्डिङ स्कूलका विद्यार्थीहरूलाई हुँदैन। तिनीहरू आफ्नो इच्छाअनुसार चल्न पाउँदैनन्। यस्ता अधिकांश स्कूलहरूमा आइतबारबाहेक अरू बेला विद्यार्थीहरूलाई स्कूलको हाताबाहिर जान दिइँदैन। कुनै कुनै स्कूलमा त आइतबार पनि बाहिर जान पाइँदैन। बोर्डिङमा बस्ने एक जना ११ वर्षीय एरू नाउँ गरेको विद्यार्थी भन्छन्: “स्कूलका अख्तियारवालाहरूले हामीलाई सभाहरूमा र क्षेत्र सेवकाईमा कहिल्यै जान दिंदैनन्। स्कूलभित्र क्याथोलिक र मुस्लिमहरूका लागि मात्र धार्मिक सेवाहरूको प्रबन्ध छ। प्रत्येक विद्यार्थीले ती दुइटामध्ये एउटा छनौट गर्नैपर्छ। अन्यथा, दुवै पक्षका शिक्षक तथा विद्यार्थीहरूको घोर विरोधको सामना गर्नुपर्छ। विद्यार्थीहरूलाई राष्ट्रिय गीत र चर्चका भजनहरू पनि जबरजस्ती गाउन लगाइन्छ।”
आमाबाबुले आफ्ना कलिला छोराछोरीलाई यस्ता स्कूलमा भर्ना गराएर वास्तवमा कुन कुरा सिकाइरहेका हुन्छन्? उपासनाको लागि भेला हुनु तथा चेला बनाउने काममा भाग लिनु र अझ परमेश्वरप्रति निष्ठावान् रहनुभन्दा सांसारिक शिक्षा महत्त्वपूर्ण हो भन्ने प्रभाव तिनीहरूले छोराछोरीमा पारिरहेका हुनसक्छन्।—मत्ती २४:१४; २८:१९, २०; २ कोरिन्थी ६:१४-१८; हिब्रू १०:२४, २५.
कतिपय बोर्डिङ स्कूलहरूमा साक्षी विद्यार्थीहरू जसोतसो एकसाथ बाइबल अध्ययन गर्छन्। तर यसो गर्नु अक्सर गाह्रो हुन्छ। आफू पढ्दै गरेको बोर्डिङ स्कूलबारे ब्लेसिङ नाउँ गरेकी केटी यसो भन्छिन्: “मसीही भनौंदाहरू दिनहुँ प्रार्थना गर्न भेला हुन्छन्। हामी साक्षीहरू पनि बाइबल अध्ययन गर्नसकौं भनेर तिनीहरूलाई बिन्ती गर्ने कोसिस गर्छौं। तर हाम्रो धर्मले मान्यता पाएको छैन भन्दै ठूला कक्षामा पढ्ने विद्यार्थीहरू हामीलाई जबरजस्ती तिनीहरूसित प्रार्थना गर्न लगाउँछन्। मानेनौं भने हामीलाई दण्ड दिन्छन्। त्यो कुरा शिक्षकहरूलाई बताउँदा समस्या झनै बिग्रन्छ। तिनीहरू हामीलाई हर प्रकारको नाउँ राख्छन् र सजाय दिन ठूला कक्षाका विद्यार्थीहरूलाई अह्राउँछन्।”
भिन्न देखिने
बोर्डिङमा बस्ने विद्यार्थीहरू यहोवाका साक्षीहरू हुन् भनी प्रष्ट भएमा साक्षी विद्यार्थीहरूका लागि फाइदाजनक हुनसक्छ। स्कूलका अख्तियारवालाहरूले साक्षीहरूका विश्वाससित मेल नखाने अनिवार्य झूटा धार्मिक क्रियाकलापहरूमा भाग लिनबाट तिनीहरूलाई छूट दिनसक्छन्। सहपाठीहरूले तिनीहरूलाई अहितकारी क्रियाकलाप र कुराकानीमा मुछ्न नखोज्लान्। सहपाठी र शिक्षकहरूलाई साक्षी दिने मौका पाउन सकिन्छ। त्यसबाहेक, मसीही सिद्धान्तहरू पालन गर्नेहरूलाई शायद गम्भीर गल्ती गरेको सन्देह कमै गरिन्छ र कहिलेकाहीं तिनीहरूले शिक्षक र सहपाठीहरूबाट आदर पाउँछन्।
तथापि, परिस्थिति सधैं एकनास हुँदैन। अरूभन्दा भिन्नै देखिने विद्यार्थीले अक्सर सहपाठी र शिक्षकहरूबाट सतावट भोग्छन् र उपहासको पात्र बन्छन्। बोर्डिङ स्कूलमा पढ्ने १५ वर्षीय यिंका नाउँ गरेको केटा यसो भन्छन्: “स्कूलमा तपाईं यहोवाको साक्षी भनेर थाह पाइएमा अरूको आँखाको छारो बन्नुहुन्छ। तिनीहरूले हाम्रो आध्यात्मिक र नैतिक स्तर थाह पाउने हुनाले हामीलाई प्रलोभनमा पार्न जाल फिंजाउँछन्।”
आमाबाबुको जिम्मेवारी
शिक्षक, स्कूल वा कलेजले छोराछोरीलाई यहोवाको समर्पित सेवक बनाउने हक लिन सक्दैन। त्यो तिनीहरूको काम होइन नता जिम्मेवारी नै हो। परमेश्वरको वचनले निर्देशन दिएअनुसार आफ्ना छोराछोरीको आध्यात्मिक खाँचो पूरा गर्ने जिम्मेवारी आमाबाबुकै हो। पावलले यसो लेखे: “ए बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।” (एफिसी ६:४) आफ्ना छोराछोरीलाई घरदेखि टाढा बोर्डिङ स्कूलमा पढ्न पठाउने आमाबाबुले यो ईश्वरीय सल्लाह कसरी पालन गर्नसक्छन् जहाँ महिनाको एक वा दुइपल्ट मात्र छोराछोरीसित भेट्ने अनुमति दिइएको होला?
परिस्थितिहरू बेग्लाबेग्लै हुन्छन्। तर मसीही आमाबाबुहरू यो प्रेरित वाक्यअनुरूप चल्न प्रयास गर्छन्: “कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।”—१ तिमोथी ५:८.
विकल्पहरू छन्?
छोराछोरीलाई बोर्डिङ स्कूलमा वा पर्याप्त शैक्षिक सर-साधन नभएको स्थानीय स्कूलमा पढाउने भन्ने दुइटै मात्र छनौट आमाबाबुसित छन् भने, तिनीहरूले के गर्नसक्छन्? कति आमाबाबुले यस्तो स्थितिमा आफ्ना छोराछोरीलाई स्थानीय स्कूलमै पढाउँछन्, अनि अतिरिक्त शिक्षाहरू निजी शिक्षकहरू राखेर पूरा गर्ने प्रबन्ध गर्छन्। कोही आमाबाबुले चाहिं समय निकालेर छोराछोरीलाई आफै पढाउँछन्।
कहिलेकाहीं आमाबाबुले छोराछोरी माध्यमिक स्कूलमा प्रवेश गर्ने उमेरमा पुग्न अगावै त्यसको लागि राम्ररी योजना बनाएर समस्याहरू समाधान गर्छन्। तपाईंको छोराछोरी जवान छन् वा परिवारको पालनपोषण गर्ने योजना गरिरहनुभएको छ भने, आफू बसेको ठाउँमा उचित माध्यमिक स्कूलहरू छन् कि छैनन्, जाँच्न सक्नुहुन्छ। छैनन् भने, राम्रो माध्यमिक स्कूल भएको ठाउँमा बसाइँ सर्न सक्नुहुन्छ।
छोराछोरीको हृदयमा यहोवाप्रतिको प्रेम बढाउन कौशलता, धीरज र थुप्रै समयको खाँचो पर्छ भनेर आमाबाबुलाई राम्ररी थाह छ। छोराछोरी घरमा हुँदा त यसो गर्नु गाह्रो हुन्छ भने, तिनीहरू घरदेखि टाढा हुँदा झन् कत्ति गाह्रो होला! यसमा छोराछोरीको अनन्त जीवन नै मुछिएको हुनाले तिनीहरूलाई बोर्डिङ स्कूलमा भर्ना गरेर खतरा मोल्नु कत्तिको व्यवहारिक हुनेछ भनेर गम्भीरतासाथ र प्रार्थनापूर्वक निर्णय गर्नैपर्छ। बोर्डिङ स्कूलबाट पाइने शैक्षिक फाइदाको खातिर छोराछोरीको आध्यात्मिक हितलाई बेवास्ता गर्नु कत्तिको अदूरदर्शिता हुनेछ! यसो गर्नु त दनदन आगलागी भइरहेको घरभित्र गहना निकाल्न स्वात्तै पस्नु जस्तै हो।
परमेश्वरको वचनले भन्छ: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।” (हितोपदेश २२:३) काम बिग्रेपछि सुधार्नुभन्दा खराब परिस्थिति आउनै नदिनु उत्तम हो। अतः ‘मेरो छोराछोरीलाई बोर्डिङ स्कूलमा पढाउनैपर्ने?’ भनेर घोत्लिनु बुद्धिमानी हुनेछ।
[पृष्ठ ८-मा भएको पेटी]
जवान साक्षीहरू बोर्डिङ स्कूलबारे यसो भन्छन्
“बोर्डिङमा बस्दा साक्षी केटाकेटीहरू आध्यात्मिक संगतिबाट वञ्चित हुन्छन्। भरमग्दूर दबाब दिएर गलत काम गराउने साह्रै अमित्रैलो वातावरण यहाँ हुन्छ।”—रोटीमी, तिनी ११ देखि १४ वर्षको उमेरसम्म बोर्डिङ स्कूलमा पढ्थे।
“मसीही सभाहरू धाउनु असाध्यै गाह्रो थियो। आइतबार मात्र सभा धाउनसक्थें। विद्यार्थीहरू चर्च जान ताँती लाग्दा म चाहिं त्यसरी सभा धाउन लुकेर फुत्त निक्लन्थें। त्यहाँ म कहिल्यै खुशी हुन सकिनँ। किनभने घरमा हुँदा मण्डलीका सबै सभाहरू धाउँथें अनि शनिबार र आइतबार क्षेत्र सेवकाईमा जान्थें। स्कूलमा उन्नतिको आभास पाइनँ। धेरै कुरा गुमाएँ।”—एस्थर, जसलाई शिक्षकहरूले नियमित तवरमा पिट्थे किनकि तिनी चर्चका धार्मिक सेवाहरूमा भाग लिन मान्दिन थिइन्।
“बोर्डिङ स्कूलमा सहपाठीहरूलाई साक्षी दिन गाह्रो थियो। अरूभन्दा भिन्नै देखिन सजिलो थिएन। म समूहमा हेलमेल हुन चाहन्थें। सभाहरू धाउन र क्षेत्र सेवामा भाग लिन सकेको भए शायद म निकै साहसी हुनेथिएँ। तर वर्षमा तीन पटक बिदा हुँदा मात्र मैले त्यसो गर्नसकें। दियोमा तेल भरेको छैन भने त्यो मधुरो बल्छ। स्कूलमा पनि यस्तै हुन्छ।”—लारा, जसले ११ देखि १६ वर्षको उमेरसम्म बोर्डिङ स्कूलमा पढिन्।
“अहिले म बोर्डिङमा बस्दिनँ। मण्डलीका सबै सभाहरू धाउँछु, क्षेत्र सेवकाईमा भाग लिन्छु र परिवारसित बसेर दैनिक पदको आनन्द उठाउँछु। त्यसैले अहिले म खुशी छु। स्कूलमै बस्दा केही फाइदाहरू हुने भए तापनि यहोवासितको सम्बन्धभन्दा महत्त्वपूर्ण कुरा मेरोलागि अरू केही छैन।”—नाओमी, जसले आफूलाई बोर्डिङ स्कूलबाट निकाल्न बुबालाई मनाइन्।