‘यहोवाले आफ्नो प्रजालाई त्याग्नुहुनेछैन’
“धर्मात्मालाई धेरै दुःख ता हुन्छ, तर परमप्रभुले तिनलाई ती सबैबाट छुटाउनुहुन्छ।”—भजन ३४:१९.
१, २. (क) यहोवाले आज कसरी आफ्ना जनहरूलाई आशिष् दिइरहनुभएको छ? (ख) थुप्रै मसीहीहरू के सामना गर्छन् र कस्ता प्रश्नहरू उठ्छन्?
बाइबल भविष्यवाणीको पूर्तिअनुरूप यहोवाका उपासकहरू आध्यात्मिक प्रमोदवनमा बस्छन्। (२ कोरिन्थी १२:१-४) यहोवाका साक्षीहरूबीचको अन्तरराष्ट्रिय संगतिलाई प्रेम र एकताको बन्धनले बाँधेको छ। (यूहन्ना १३:३५) तिनीहरूले बाइबल सत्यको गहिरो र विस्तृत ज्ञान लिन्छन्। (यशैया ५४:१३) यहोवाले तिनीहरूलाई उहाँको आध्यात्मिक बासस्थानमा पाहुना हुने सुअवसर दिनुभएकोमा तिनीहरू कत्ति कृतज्ञ छन्!—भजन १५:१.
२ यहोवाको संगठनभित्रका सबै मानिसहरू आध्यात्मिक सुख सयलमा भए तापनि कतिपय व्यक्तिहरू अरूको तुलनामा मात्र शान्तिसित बसेका छन्, जबकि अरू कति चाहिं एकपछि अर्को पीडा भोग्छन्। थुप्रै मसीहीहरू आफूलाई धेरै समयदेखि दयनीय स्थितिमा निस्सासिरहेको पाउँछन् र त्यसबाट मुक्त हुने छाँट देख्दैनन्। यस्ता परिस्थितिमा निराश हुनु स्वाभाविकै हो। (हितोपदेश १३:१२) के परमेश्वर रुष्ट हुनुभएकोले गर्दा दुःखकष्ट आइपरेको हो? के यहोवाले केही मसीहीहरूलाई सुरक्षा दिनुभएर अरू मसीहीहरूलाई चाहिं बेवास्ता गरिरहनुभएको हो?
३. (क) आफ्ना जनहरूले भोगेका दुःखहरूका जिम्मेवार के यहोवा स्वयं हुनुहुन्छ? (ख) यहोवाका विश्वासी उपासकहरूले समेत किन दुःखकष्टहरू भोग्छन्?
३ बाइबल त्यसको जवाफ यसरी दिन्छ: “परीक्षामा पर्दा कुनै मानिसले पनि यसो नभनोस्, ‘परमेश्वरबाट मेरो परीक्षा भएको छ,’ किनभने कुनै खराब कुराबाट परमेश्वरको परीक्षा हुनसक्तैन, औ उहाँ आफैले कुनै मानिसको परीक्षा गर्नुहुन्न।” (याकूब १:१३) यहोवा आफ्ना जनहरूको रक्षा गर्नुहुन्छ र तिनीहरूलाई बल दिनुहुन्छ। (भजन ९१:२-६) ‘यहोवाले आफ्नो प्रजालाई त्याग्नुहुनेछैन।’ (भजन ९४:१४) तर यसको अर्थ विश्वासी उपासकहरूले दुःखकष्ट भोग्नुपर्ने छैन भनेको होइन। वर्तमान संसारलाई वंशानुगत असिद्ध मानिसहरूले सञ्चालन गरिरहेका छन्। तिनीहरूमध्ये थुप्रै भ्रष्ट छन् र कोही कोही देखादेखी दुष्ट छन्। तिनीहरू कसैले पनि बुद्धिको निम्ति यहोवालाई पुकार्दैनन्। फलतः मानिसजातिमाथि थुप्रै दुःखकष्ट आइपर्छ। यहोवाका जनहरू मानव असिद्धता र दुष्टताका दुःखदायी परिणामहरूबाट सधैं बच्न सक्दैनन् भनेर बाइबलले स्पष्टसित बताउँछ।—प्रेरित १४:२२.
वफादार मसीहीहरू दुःखकष्टको अपेक्षा गर्छन्
४. यस दुष्ट रीतिरिवाजमा बाँचुञ्जेल सबै मसीहीहरूले कुन कुराको अपेक्षा गर्नसक्छन् र किन?
४ येशूका अनुयायीहरू वर्तमान संसारको भाग नभए तापनि यस रीतिरिवाजमै बस्छन्। (यूहन्ना १७:१५, १६) बाइबलमा शैतानलाई यस संसारमाथि अदृश्य रूपले शासन गर्ने शक्ति भनेर बताइएको छ। (१ यूहन्ना ५:१९) यसर्थ, ढिलो होस् या चाँडो गम्भीर समस्याहरू भोग्नुपर्छ भनेर सबै मसीहीहरूले अपेक्षा गर्नसक्छन्। यस कुरालाई ध्यानमा राख्दै प्रेरित पत्रुस भन्छन्: “सचेत रहो, जागा रहो, तिमीहरूको विरोधी शैतान, कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड्छ। तिमीहरू आफ्नो विश्वासमा दह्रो भएर यस संसारमा भएका तिमीहरूका दाजुभाइहरूले पनि यही कष्ट भोगिरहेका छन् भन्ने जानेर त्यसको विरोध गर।” (१ पत्रुस ५:८, ९) हो, सम्पूर्ण मसीहीहरूले दुःखकष्टको अपेक्षा गर्नसक्छन्।
५. विश्वासी मसीहीहरूले जीवनमा दुःख पाउँछन् भनेर येशूले कसरी प्रस्ट्याउनुभयो?
५ हामी यहोवालाई अगाध प्रेम गर्छौं र उहाँको सिद्धान्तहरू पालन गर्छौं, तैपनि जीवनमा दुःखद घडीहरू आउँछन् नै। येशूले यस कुरालाई मत्ती ७:२४-२७ मा लिपिबद्ध उखानमा स्पष्ट पार्नुभयो। त्यहाँ उहाँले वचन सुन्ने र नसुन्नेहरूबीचको भिन्नता देखाउनुभयो। उहाँले आज्ञाकारी चेलाहरूलाई चट्टानमाथि घर बनाउने बुद्धिमान् मानिससित तुलना गर्नुभयो। अनि उहाँको वचन नसुन्नेहरूलाई चाहिं बालुवामाथि घर बनाउने मूर्ख मानिससित दाँज्नुभयो। ठूलो आँधीबेह्री आउँदा चट्टानमाथि बनाएको घर मात्र जोगिन्छ। बुद्धिमान् मानिसको घरबारे के भनिएको छ, यसो ध्यान दिनुहोस् त, “पानी परेर भल आयो, हुरी चल्यो, र त्यस घरमाथि बजारियो, र पनि त्यो ढलेन।” बुद्धिमान् मानिसले जहिलेतहिले शान्ति पाउँछन् भनेर येशूले भन्नुभएन। बरु, आफ्नो बुद्धि चलाएर त्यो मानिस आँधीबाट बच्न तम्तयार हुनेथियो। बीउ छर्नेको उखानमा पनि त्यस्तै विचार व्यक्त गरिएको छ। त्यस उखानमा येशू बताउनुहुन्छ, “असल र भला हृदयमा” हुने आज्ञाकारी उपासकहरूले पनि सहेर “फल फलाउँछन्।”—लूका ८:४-१५.
६. आगोले भस्म पार्न नसक्ने पदार्थलाई लिएर पावलले दिएको दृष्टान्तमा कसले कठिन परीक्षा भोग्छ?
६ प्रेरित पावलले कोरिन्थीहरूलाई पत्र लेख्दा परीक्षा सामना गर्न मदत दिनसक्ने चिरकालीन गुनहरू चाहिन्छ भनेर देखाउन सांकेतिक भाषा प्रयोग गरे। आगोले भस्म पार्न नसक्ने सुन, चाँदी र बहुमूल्य ढुंगाहरूले ईश्वरीय गुनहरूलाई चित्रित गर्छन्। (हितोपदेश ३:१३-१५; १ पत्रुस १:६, ७ तुलना गर्नुहोस्।) अर्कोतर्फ, शारीरिक गुनहरूलाई आगोले खाने पदार्थहरूसित तुलना गरिएको छ। त्यसपछि पावल भन्छन्: “हरेक मानिसको काम प्रत्यक्ष हुनेछ। त्यो आगैमा प्रकट हुने भएकोले त्यसै दिनले त्यसलाई बताउनेछ, र हरेक मानिसको काम कस्तो किसिमको रहेछ भन्ने आगैले प्रमाण दिनेछ। त्यसमाथि बनाएको कुनै मानिसको काम पक्का रह्यो भने, त्यसले इनाम पाउनेछ।” (१ कोरिन्थी ३:१०-१४) हामी सबैले कुनै न कुनै प्रकारको कठिन परीक्षा त सामना गर्नैपर्छ भनेर बाइबलले यहाँ फेरि स्पष्ट पारेको छ।
७. रोमी १५:४ अनुसार धर्मशास्त्रले हामीलाई परीक्षाहरू सामना गर्न कसरी मदत दिनसक्छ?
७ परमेश्वरका जनहरूले दुःख सहनु परेका थिए र त्यो पनि कहिलेकाहीं त लामो समयसम्म। यस्ता वफादार सेवकहरूबारे थुप्रै विवरणहरू बाइबलमा पाइन्छन्। यद्यपि, परमेश्वरले तिनीहरूलाई त्याग्नुभएन। प्रेरित पावलले यसो भन्दा सम्भवतः यस्तै उदाहरणहरू तिनको मनभरि भएको हुनुपर्छ: “जत्ति कुरा अघि लेखिए, ती सबै हाम्रो शिक्षाको निम्ति हो, कि धीरज र धर्मशास्त्रको शान्तिद्वारा हामीलाई आशा होस्।” (रोमी १५:४) परमेश्वरसित घनिष्ठ हुँदा हुँदै पनि धेरै दुःख भोग्ने तीन व्यक्तिका उदाहरण विचार गर्नुहोस्।
बाइबल विवरणहरूबाट हामी के सिक्छौं
८. यहोवाले यूसुफमाथि के हुन दिनुभयो र कति समयसम्म?
८ यहोवाले याकूबका छोरा यूसुफलाई सानैदेखि अनुग्रह देखाउनुभयो। तैपनि, आफ्नो कुनै गल्तीबिना तिनले एकपछि अर्को दुःख भोग्नुपऱ्यो। तिनलाई आफ्नै दाजुहरूले अपहरण गरेर क्रूर व्यवहार गरे। तिनलाई दास बनाइ अनजान देशमा बेचेर पठाए। तिनलाई त्यस देशमा पनि झूटो आरोप लगाएर “झ्यालखानामा” हाले। (उत्पत्ति ४०:१५) त्यहाँ “तिनका खुट्टामा तिनीहरूले नेल ठोकेर दुःख दिए, तिनी फलामका जञ्जीरमा राखिए।” (भजन १०५:१७, १८) दास भएको र झ्यालखानामा परेको बेला युसूफले निस्सन्देह, छुटकाराको निम्ति यहोवालाई बारम्बार बिन्ती चढाए। यहोवाले तिनलाई बल दिनुभए तापनि तिनले लगभग १३ वर्षसम्म दास वा कैदी जीवन व्यतीत गर्नुपऱ्यो।—उत्पत्ति ३७:२; ४१:४६.
९. दाऊदले धेरै वर्षसम्म कस्ता कुरा सहनुपऱ्यो?
९ दाऊदमाथि पनि त्यस्तै घटना आइपरेको थियो। यहोवाले इस्राएलका लागि योग्य शासक छान्नुहुँदा यसो भन्नुभयो: “मैले यस्सीको छोरो दाऊदलाई मेरो हृदयअनुसारको एउटा मानिस पाएँ, जसले मेरो सबै इच्छा पूरा गर्नेछ।” (प्रेरित १३:२२) यहोवाबाट अनुग्रह पाए तापनि दाऊदमाथि अनेक दुःखकष्ट आइपऱ्यो। जीवन खतरामा पर्दा तिनी धेरै वर्षसम्म उजाडस्थान, ओडार, चट्टानहुँदो र विदेशतिर लुकेर बसे। जंगली पशुझैं खेदिनु पर्दा तिनी कहिले निराश त कहिले भयभित भए। तैपनि, तिनले यहोवाको शक्ति पाएर ती दुःखद क्षणहरू सहन सके। अतः आफ्नै अनुभवद्वारा दाऊदले यसो भन्नु ठीकै हो: “धर्मात्मालाई धेरै दुःख ता हुन्छ, तर परमप्रभुले तिनलाई ती सबैबाट छुटाउनुहुन्छ।”—भजन ३४:१९
१०. नाबोत र तिनको परिवारमाथि कस्तो घोर दुःख आइलाग्यो?
१० भविष्यवक्ता एलियाको समयमा झूटो देवता, बाललाई नपुज्नेहरू इस्राएलमा ७,००० मात्र थिए। (१ राजा १९:१८; रोमी ११:४) भयानक अन्यायको शिकार हुने नाबोत पनि सम्भवतः तिनीहरूमध्ये एक थिए होलान्। ईश्वरनिन्दकको आरोप लगाएर तिनको अपमान गरियो। तिनी दोषी ठहरिए र शाही नियमअनुसार ढुंगाले हानी मार्ने सजाय दिइयो र तिनको रगत कुकुरहरूलाई चाट्न लगाइयो। यहाँसम्म कि तिनका छोराहरूको समेत हत्या गरियो! यद्यपि, तिनी निर्दोष थिए। तिनको विरुद्धमा झूटा साक्षी दिइएका थिए। सम्पूर्ण घटना नै ईजेबेलले रचेको षड्यन्त्र थियो, जुन षड्यन्त्रद्वारा राजाले नाबोतको दाखबारी हात पार्नसक्थे।—१ राजा २१:१-१९; २ राजा ९:२६.
११. बाइबलमा उल्लिखित विश्वासी पुरुष तथा स्त्रीबारे प्रेरित पावल के भन्छन्?
११ यूसुफ, दाऊद र नाबोतलगायत थुप्रै पुरुष तथा स्त्रीहरूले पनि त्यसरी नै कष्ट भोगेको विवरण बाइबलमा छ। प्रेरित पावलले यहोवाका सेवकहरूको पुस्तौं पुस्तादेखिको इतिहासलाई दोहोऱ्याउँदै लेखे। तिनीहरूले “गिल्ला, कोर्राबाजी, औ अझ बढी बन्धन र कैदको परीक्षा भोग्नुपऱ्यो। तिनीहरू ढुंगाले हानिए, करौंतीले चिरिए, तिनीहरू परीक्षामा परे, तिनीहरू तरवारले मारिए, भेडा र बाख्राका छालाहरू लगाए, गरिबी भई क्लेश र दुःख पाएर तिनीहरू यताउता डुल्नुपऱ्यो, मरूभूमि, पहाडहरू, गुफाहरू र पृथ्वीका ओडारहरू हुँदो घुमिहिंड्नुपऱ्यो” भनेर पावलले लेखे। (हिब्रू ११:३६-३८) तर यहोवाले तिनीहरूलाई त्याग्नुभएन।
दुखकष्टमा परेकाहरूको यहोवाले देखभाल गर्नुहुन्छ
१२. आज यहोवाका साक्षीहरूले भोगिरहेका केही दुःखकष्टहरू के हुन्?
१२ आज यहोवाका जनहरूबारे के भन्न सकिन्छ? आखिरी दिन र महासंकष्टको बेला हामी संगठनात्मक रूपले ईश्वरीय सुरक्षाको प्रत्याशा गर्नसक्छौं। (यशैया ५४:१७; प्रकाश ७:९-१७) तथापि, “समय र अवसर[ले]” सबै मानिसमाथि अधीन गर्छ भनेर हामी मानिलिन्छौं। (उपदेशक ९:११) दुःखकष्ट भोग्ने विश्वासी मसीहीहरू आज पनि थुप्रै छन्। कोही कोही गरिबीको रेखामुनि छन्। बाइबलले पनि संकष्टमा पर्ने “अनाथ र विधवा” मसीहीहरूबारे बताउँछ। (याकूब १:२७) अरू व्यक्ति चाहिं प्राकृतिक प्रकोप, युद्ध, अपराध, अख्तियार दुरुपयोग, बिमारी र मृत्यु आदिको कारण शिकार हुन्छन्।
१३. भर्खरै रिपोर्ट गरिएका कठिन अनुभवहरू के हुन्?
१३ उदाहरणका लागि, वाच टावर शाखा कार्यालयहरूले यहोवाका साक्षीहरूको परिचालक निकायलाई सन् १९९६ को सेवा रिपोर्ट दिए र त्यसमा बताएअनुसार हाम्रा कतिपय भाइबहिनीहरूले बाइबल सिद्धान्तप्रति अडान लिएकोले दयनीय अवस्थामा कैदी जीवन बिताइरहेका छन्। छापामार गिरोहहरूले सयौं साक्षीहरूलाई बलजफ्ती दक्षिण अमेरिकी देशबाट हटाउँदा त्यहाँका तीनवटा मण्डली विघटन भए। पश्चिम अफ्रिकी मुलुकमा चाहिं कति जना साक्षीहरू गृह युद्धको शिकार भए। मध्य अमेरिकी मुलुकमा हाम्रा कुनै कुनै भाइहरूको आर्थिक स्थिति त नाजुक छँदै थियो, त्यहीमाथि आँधीबेह्रीको उपद्रोले त त्यस स्थितिलाई झनै दयनीय बनायो। अरू ठाउँमा गरिबी र अनिकालले गम्भीर समस्या खडा गरेको छैन होला तर नराम्रा प्रभावहरूले कति जनाको खुशी लुट्नसक्छन्। थुप्रै भाइबहिनीहरू आधुनिक जीवनशैलीको दबाबले थिचिएका छन्। अरू मसीहीहरू चाहिं परमेश्वरको राज्यबारे सुसमाचार सुनाउँदा मानिसहरूले कानमा तेल हालेजस्तो गरिदिंदा हतोत्साहित होलान्।
१४. (क) अय्यूबको उदाहरणबाट हामी के सिक्नसक्छौं? (ख) हामीले कष्ट भोग्दा नकारात्मक सोचाइ राख्नुको साटो के गर्नुपर्छ?
१४ परमेश्वर रुष्ट हुनुभएकोले यी परिस्थितिहरू आइपरेका हुन् भन्ठान्नु हुँदैन। अय्यूबमाथि आइपरेको घटना र तिनले भोगेका अनेकन् दुःखकष्टहरू सम्झनुहोस् त। तिनी “निर्दोष र सोझो” थिए। (अय्यूब १:८) एलीपजले अय्यूबलाई दोषी भनी आरोप लगाउँदा तिनी कत्ति दुःखित भए होलान्! (अय्यूब, अध्याय ४, ५, २२) कुनै न कुनै कुरामा हामीले यहोवालाई दुःखित बनाएकोले वा उहाँले हामीबाट आशिष् हटाउनुभएकोले नै हामीमाथि दुःखहरू आइपरेका हुन् भन्ने निष्कर्षमा तुरुन्तै पुग्नु हुँदैन। संकष्ट आइपरेको बेला नकारात्मक सोचाइ राख्दा हाम्रो विश्वास धरमराउनसक्छ। (१ थिस्सलोनिकी ३:१-३, ५) घटना जेसुकै किन नहोस्, दुःखकष्ट आइपर्दा यहोवा र येशू धार्मिक व्यक्तिसित घनिष्ठ हुनुहुन्छ भन्ने कुरातिर मन लगाउनु अत्युत्तम हो।
१५. आफ्ना जनहरूले भोगेका दुःखमा यहोवा गहिरो चिन्ता लिनुहुन्छ भनेर कसरी थाह पाउनसक्छौं?
१५ प्रेरित पावलले हामीलाई यसो भन्दै आश्वासन दिन्छन्: “कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने र? के संकष्टले, अथवा शारीरिक वेदनाले वा खेदोले, वा अनिकालले, वा नग्नता, अथवा खतराले, वा तरवारले? . . . म यो निश्चय जान्दछु, कि नता मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न प्रधानताहरूले, न वर्त्तमानका कुराहरूले, न पछि हुने कुराहरूले, न शक्तिहरूले, न उँचाइले, न गहिराइले, न अरू कुनै सृष्टिले हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्नसक्नेछ।” (रोमी ८:३५, ३८, ३९) यहोवा हाम्रो चिन्ता गर्नुहुन्छ र हाम्रो दुःखकष्ट उहाँलाई राम्ररी थाह छ। भगुवा जीवन बिताइरहेको समयमा दाऊदले यसो लेखे: “परमप्रभुका नजर धर्मात्मातर्फ हुन्छन्, र उहाँका कान तिनीहरूका पुकारा सुन्न खुला हुन्छन्। टुटेका हृदय भएकाहरू सबैको नजीक परमप्रभु हुनुहुन्छ, र पश्चात्तापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ।” (भजन ३४:१५, १८; मत्ती १८:६, १४) स्वर्गमा हुनुहुने पिताले हाम्रो देखभाल गर्नुहुन्छ र दुःखकष्ट भोग्नेहरूलाई टिठाउनुहुन्छ। (१ पत्रुस ५:६, ७) हामीमाथि जस्तोसुकै दुःखकष्ट आइपरे तापनि हामीलाई सहन चाहिने मदत उहाँले दिनुहुन्छ।
यहोवाको वरदान पाएर हामी बलियो हुन्छौं
१६. यहोवाले गर्नुभएको कुन प्रबन्धले हामीलाई सहन मदत दिन्छ र कसरी?
१६ यस पुरानो रीतिरिवाजमा दुःखकष्टरहित जीवनको आशा गर्न नसके तापनि हामी निश्चय “त्यागिएका छैनौं।” (२ कोरिन्थी ४:८, ९) येशूले आफ्ना अनुयायीहरूलाई सहयोगीको प्रबन्ध गरिदिने वचन दिनुभएको थियो। उहाँले भन्नुभयो: “म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को शान्तिदाता दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सधैंभरि हुनुहुनेछ।” (यूहन्ना १४:१६, १७) प्रेरित पत्रुसले सा.यु. ३३ पेन्तिकोसमा आफ्ना श्रोताहरूलाई “पवित्र आत्माको वरदान पाउनेछौ” भनेर भने। (प्रेरित २:३८) के अहिले हामीलाई पवित्र आत्माले मदत गरिरहेको छ? अवश्य छ! यहोवाको सक्रिय शक्तिले हामीलाई अद्भुत फल दिन्छ। ती हुन्: “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम।” (गलाती ५:२२, २३) यी सबै अनमोल गुनहरूले हामीलाई सहन मदत दिन्छन्।
१७. हाम्रो विश्वास र धैर्यसाथ यहोवाको बाटो हेर्ने संकल्पलाई बलियो बनाउने बाइबलका केही सत्य कुराहरू के हुन्?
१७ अनन्त जीवनको वरदानसित तुलना गरेर हेर्दा वर्तमान दुःखकष्ट “छिनभरको हलुका” हो भनेर बुझ्न पनि पवित्र आत्माले मदत गर्छ। (२ कोरिन्थी ४:१६-१८) परमेश्वरले हाम्रो कार्य र हामीले उहाँप्रति देखाएको प्रेम भुल्नुहुनेछैन भन्ने कुरामा हामी विश्वस्त छौं। (हिब्रू ६:९-१२) बाइबलका प्रेरित वचनहरू पढ्दा त्यहाँ उल्लिखित विश्वासी सेवकहरूका उदाहरणद्वारा हामी सान्त्वना पाउँछौं जसले थुप्रै दुःखकष्ट भोगे तापनि तिनीहरूलाई आनन्दित घोषित गरिए। याकूब लेख्छन्: “हे मेरा भाइ हो, प्रभुका नाउँमा बोल्ने ती अगमवक्ताहरूका शासना र धैर्यको दृष्टान्त लेओ। हेर, हामी ता धीरज धर्नेहरूलाई धन्यको भन्छौं।” (याकूब ५:१०, ११) सम्पूर्ण परीक्षाहरू सहन बाइबलले हामीलाई ‘असामान्य शक्ति’ दिने प्रतिज्ञा गरेको छ। यहोवाले हामीलाई पुनरुत्थानको आशा पनि दिनुभएको छ। (२ कोरिन्थी १:८-१०; ४:७) विश्वास र धैर्यसाथ परमेश्वरको बाटो हेर्ने आफ्नो संकल्पलाई हामी दिनहुँ बाइबल पढेर अनि माथि उल्लिखित ती प्रतिज्ञाहरू मनन गरेर बलियो बनाउनेछौं।—भजन ४२:५.
१८. (क) दोस्रो कोरिन्थी १:३, ४ मा हामीलाई कुन कुराहरू गर्न प्रोत्साहित गरिएको छ? (ख) मसीही निरीक्षकहरू कसरी सान्त्वना र स्फूर्तिका स्रोत हुनसक्छन्?
१८ त्यति मात्र होइन, यहोवाले हामीलाई आध्यात्मिक प्रमोदवनमा राख्नुभएको छ, जहाँ हामी आफ्ना मसीही भाइबहिनीहरूको साँचो प्रेम पाउँछौं। हामी सबैले आ-आफ्नो भूमिका पूरा गरेर एकअर्कालाई सान्त्वना दिनुपर्छ। (२ कोरिन्थी १:३, ४) विशेषगरि, मसीही निरीक्षकहरू सान्त्वना र स्फूर्तिको मुख्य स्रोत हुनसक्छन्। (यशैया ३२:२) “मानिसहरूलाई वरदानको” हैसियतमा “हरेस खानेलाई दिलाशा” दिने र “कमजोरीहरूलाई मदत” गर्ने दायित्व तिनीहरूलाई सुम्पिएको छ। (एफिसी ४:८, ११, १२; १ थिस्सलोनिकी ५:१४) प्राचीनहरूलाई प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरूलगायत “विश्वासी र बुद्धिमान् दासले” प्रबन्ध गरेका अन्य प्रकाशनहरूको सदुपयोग गर्न प्रोत्साहन दिइएको छ। (मत्ती २४:४५-४७) यी प्रकाशनहरूमा बाइबल आधारित सल्लाहहरूको भण्डार छ र ती सल्लाहहरूले हामीलाई फिक्रीमा डुबाउने कतिपय समस्याहरू समाधान गर्न र रोक्न मदत दिनसक्छन्। कठिन समयमा एकअर्कालाई सान्त्वना र प्रोत्साहन दिएर हामी यहोवाको अनुकरण गरौं!
१९. (क) कतिपय दुःखकष्टहरू हटाउन के ले मदत दिन्छ? (ख) अन्ततः हामीले कसमाथि भरोसा राख्नैपर्छ र के ले हामीलाई परीक्षाहरू सामना गर्न सक्षम बनाउँछ?
१९ अन्तको समयसँगसँगै वर्तमान रीतिरिवाज झन् झन् खराब हुँदै जाँदा मसीहीहरूले दुःखकष्टबाट बच्न यथासक्दो गर्छन्। (हितोपदेश २२:३) ठीकसँग विचार पुऱ्याउँदा, असल विवेक तथा बाइबल सिद्धान्तहरूको प्रयोग गर्दा बुद्धिमतासाथ निर्णय गर्ने मदत मिल्छ। (हितोपदेश ३:२१, २२) हामी परमेश्वरको वचन सुन्छौं र अनावश्यक गल्तीहरू सुधार्न यसलाई पालन गर्छौं। (भजन ३८:४) तैपनि, जत्ति नै प्रयास गरे तापनि हामीले दुःखकष्टलाई पूर्णतया हटाउन भने सक्दैनौं भन्ने कुरा पनि हामीले बुझेका छौं। यस रीतिरिवाजमा थुप्रै धार्मिक जनहरूले अचाक्ली दुःखहरू भोग्छन्। तथापि, ‘यहोवाले आफ्ना प्रजालाई त्याग्नुहुनेछैन’ भनेर विश्वस्त भई हामी परीक्षाहरूको सामना गर्नसक्छौं भनेर हामीलाई थाह छ। (भजन ९४:१४) अनि हामीलाई यो पनि थाह छ, यस रीतिरिवाज र यसका कष्टहरू चाँडै हटेर जानेछन्। तसर्थ, “भलाइ गर्नामा हरेस नखाऔं, किनभने, यदि थाकेनौं भने, ठीक समयमा हामी कटनी गर्नेछौं।”—गलाती ६:९.
हामीले के सिक्यौं?
◻ सम्पूर्ण मसीहीहरूले के कस्ता परीक्षाहरू भोग्छन्?
◻ हामीमाथि आइपर्ने दुःखहरू यहोवा रुष्ट हुनुभएकोले आइपरेका होइनन् भनेर कुन बाइबल उदाहरणहरूले हामीलाई बुझ्ने मदत दिन्छन्?
◻ आफ्ना जनहरूले दुःख भोग्दा यहोवालाई कस्तो लाग्छ?
◻ परीक्षाहरू आइपर्दा सहन मदत गर्ने यहोवाबाटका केही वरदानहरू के हुन्?
[पृष्ठ १०-मा भएको चित्र]
दाऊद, नाबोत र यूसुफ दुःख भोग्नेहरू मध्येका हुन्