साँचो आनन्द कसरी प्राप्त गर्न सकिन्छ?
मानिसहरू आनन्दित होऊन् भनेर सृजिएका थिए। हामी किन निर्धक्क भएर त्यसो भन्नसक्छौं? मानिसको सुरुआतलाई विचार गर्नुहोस्।
यहोवा परमेश्वरले प्रथम मानव दम्पतीलाई सृजनुहुँदा आनन्द उठाउनसक्ने क्षमता पनि दिनुभयो। आदम र हव्वालाई प्रमोदवन अर्थात् अदन भनिने रमणीय बगैंचामा राख्नुभयो। सृष्टिकर्ताले तिनीहरूलाई चाहिनेजति सबै भौतिक कुराहरू जुटाइदिनुभयो। त्यो बगैंचामा “हेर्नमा राम्रो र खानमा असल फल भएको हरेक रूख” थियो। (उत्पत्ति २:९) आदम र हव्वा सुस्वस्थ, हृष्टपुष्ट र राम्रा थिए। तिनीहरू सिद्ध हुनुका साथै साँच्चै आनन्दित थिए।
तिनीहरू यसरी आनन्दित हुनसक्नुको मूल कारण के थियो? के त्यो कारण, तिनीहरूको प्रमोदवनरूपी घर वा शारीरिक सिद्धता थियो? परमेश्वरले दिनुभएका ती वरदानहरूले जीवनको आनन्द उठाउन अवश्य मदत गरे। तर तिनीहरूको आनन्द ती भौतिक कुराहरूमा मात्र निर्भर थिएन। अदनको बगैंचा एउटा सुन्दर उद्यान हुनुको साथसाथै पवित्र ठाउँ, परमेश्वरको उपासनाको केन्द्र पनि थियो। सृष्टिकर्तासित मायालु सम्बन्ध स्थापना गर्नुका साथै त्यो सम्बन्ध कायम गर्न सकेको खण्डमा तिनीहरू सदासर्वदा आनन्दित हुनसक्थे। आनन्दित हुन सर्वप्रथम तिनीहरू आध्यात्मिक आवश्यकताहरूबारे सजग हुनुपर्थ्यो।—मत्ती ५:३ तुलना गर्नुहोस्।
आध्यात्मिक सजगताबाट आनन्द
सुरुमा, परमेश्वरसित आदमको आध्यात्मिक सम्बन्ध थियो। यो बाबुछोराबीचको जस्तै मायालु, कोमल सम्बन्ध थियो। (लूका ३:३८) आदम र हव्वा परमेश्वरलाई उपासना चढाउने इच्छा गर्थे। त्यो इच्छा पूरा गर्न मदत पुऱ्याउने अत्यन्तै उपयुक्त वातावरण अदनमा थियो। यहोवाप्रति स्वेच्छिक तथा मायालु आज्ञाकारिता प्रकट गरेर उहाँको आदर तथा महिमा गर्नसक्थे। यस्तो क्षमता अन्य कुनै पनि प्राणीसित थिएन। तिनीहरूले सोचविचार पुऱ्याएर परमेश्वरका अद्भुत गुणहरूको प्रशंसा तथा उहाँको सार्वभौमिकताको समर्थन गर्नसक्थे। यसको साथसाथै यहोवाको मायालु तथा कोमल हेरचाह पनि सधैं पाइरहनसक्थे।
सृष्टिकर्तासित यस्तो सम्बन्ध र उहाँका नियमहरूप्रति आज्ञाकारिताले गर्दा हाम्रा प्रथम मातापिता साँच्चै आनन्दित हुनसके। (लूका ११:२८) साँचो आनन्दको मूल कारण आफैले पत्ता नलगाएसम्म आदम र हव्वाले वर्षौंसम्म अनेकन् झमेला र टन्टा पनि भोगोस् भनेर परमेश्वरले चाहनुभएको थिएन। सृष्टि भएदेखि नै तिनीहरू आनन्दित थिए। परमेश्वरसित मिलाप र उहाँको अख्तियारको अधीनमा बसेका हुनाले तिनीहरू आनन्दित हुनसके।
तथापि, परमेश्वरप्रति अनाज्ञाकारी हुने बित्तिकै तिनीहरूको आनन्द हरण भयो। आदम र हव्वाले विद्रोह गरेर यहोवासितको आध्यात्मिक सम्बन्ध तोडे। तिनीहरूले परमेश्वरसँगको मित्रता तोडे। (उत्पत्ति ३:१७-१९) बगैंचाबाट निकालिएको दिनदेखि यहोवाले तिनीहरूसित कुराकानी गर्न चटक्कै छोड्नुभयो जस्तो देखिन्छ। तिनीहरूले सिद्धता, सधैंभरि बाँच्ने आशा र बगैंचारूपी घर सबै गुमाए। (उत्पत्ति ३:२३) तर सबैभन्दा दुःखको कुरा, परमेश्वरसितको सम्बन्ध टुक्रिएको हुँदा आनन्द पनि गुमाए।
हाम्रो रोज्ने क्षमता
मर्नुअघि आदम र हव्वाले आफ्ना सन्तानहरूलाई तिनीहरूको मानव गुण, जन्मजात अन्तस्करण र आध्यात्मिकताप्रति सजगता पनि सारिदिए। मानिसहरू जनावरहरूभन्दा श्रेष्ठ नै रहे। हामी पुनः सृष्टिकर्तासित मिलाप गर्नसक्छौं। (२ कोरिन्थी ५:१८) बौद्धिक प्राणीहरू भएको नाताले हामी मानिसहरूले परमेश्वरको सेवा गर्ने या नगर्ने, निर्णय गर्नसक्छौं। मानिसको सृष्टिभन्दा शताब्दीयौंपछिको कुरा हो, भर्खरै स्थापना भएको इस्राएल राष्ट्रलाई यहोवाले जीवन वा मृत्यु छान्ने मौका दिनुहुँदा उक्त कुरा प्रस्ट भयो। परमेश्वरले आफ्ना प्रवक्ता मोशा मार्फत यसो भन्नुभयो: “आज मैले तिमीहरूको अगि जीवन र हित, औ मृत्यु र अहित राखेको छु।”—व्यवस्था ३०:१५-१८.
त्यो सुरुको प्रमोदवन हाम्रो हातबाट गुमेको अहिले हजारौं वर्ष भइसक्यो। तैपनि, हामीसित सही निर्णय गर्ने क्षमता छ। हाम्रो अन्तस्करण क्रियाशील छ र हामीसित परमेश्वरका नियमहरू पालन गर्ने क्षमता छ। बाइबलले हाम्रो “भित्री मनुष्यत्व” र “अन्तस्करण[बारे]” बताउँछ। (२ कोरिन्थी ४:१६; रोमी ७:२२) यी अभिव्यक्तिहरूले हामी प्रत्येकसित भएको जन्मजात क्षमतालाई बुझाउँछन्। हामी परमेश्वरको व्यक्तित्व झल्काउनसक्छौं, परमेश्वरको जस्तै सोचाइ राख्नसक्छौं र आध्यात्मिकताबारे सजग हुनसक्छौं।
हाम्रो नैतिक स्वभाव र अन्तस्करणबारे पावलले यसप्रकार लेखे: “व्यवस्था नहुने अन्यजातिहरू स्वभावैले व्यवस्थाका कुरा पालन गर्दछन् भने, तिनीहरूका व्यवस्था नभए तापनि तिनीहरू आफ्ना निम्ति आफै व्यवस्था छन्, यसैमा तिनीहरू व्यवस्थाको काम आफ्ना हृदयमा लेखिएको देखाउँछन्, औ तिनीहरूका आफ्नै अन्तस्करणले गवाही दिन्छ, र विचारहरूले आपसमा दोषारोपण अथवा समर्थन गर्नेगर्छन्।”—रोमी २:१४, १५.
ईश्वरीय बुद्धि तथा आज्ञाकारिता मूल कारण हुन्
कसै कसैले प्रश्न गर्लान्, ‘हामी सबैजना परमेश्वरलाई उपासना गरेर साँचो आनन्द चाहन्छौं भने, जताततै मानिसहरू किन यत्ति खिन्न भएका?’ किनभने आनन्दित हुन हामी प्रत्येकले आफ्नो आध्यात्मिकतालाई बढाउनुपर्छ। हो, सुरुमा मानिस परमेश्वरकै स्वरूपमा बनाइएको थियो तर अहिले सृष्टिकर्ताबाट धेरै तर्किसकेको छ। (एफिसी ४:१७, १८) यसर्थ, परमेश्वरसित आध्यात्मिक सम्बन्ध स्थापना गरेर त्यसलाई कायम राख्न हामी प्रत्येकले ठोस कदम चाल्नुपर्छ। त्यस्तो सम्बन्ध कुनै प्रयासबिना स्वतः हुने कुरा होइन।
येशूले आध्यात्मिकता बढाउन चाहिने दुइटा महत्त्वपूर्ण सिद्धान्तहरू उल्लेख गर्नुभयो। एउटा हो, परमेश्वरको सही ज्ञान लिनु। दोस्रो, उहाँको इच्छाअनुसार चल्नु। (यूहन्ना १७:३) परमेश्वरको वचन उद्धरण गर्दै येशूले यसो भन्नुभयो: “यस्तो लेखिएको छ, ‘मानिस भोजनले मात्र होइन, तर परमेश्वरका मुखबाट निस्केको हरेक वचनले बाँच्तछ’।” (मत्ती ४:४) अर्को अवसरमा येशूले यसो भन्नुभयो: “मलाई पठाउनेको इच्छा पूरा गर्नु, र उहाँको काम पूरा गर्नुनै मेरो भोजन हो।” (यूहन्ना ४:३४) आनन्दको खोजमा हामीले अनेकन् झमेला तथा टन्टाहरू झेलेर वर्षौंसम्म भौंतारिनु पर्दैन। अनुभवले मात्र आनन्द प्राप्त हुने होइन। बरु, ईश्वरीय बुद्धि र सृष्टिकर्ताप्रतिको आज्ञाकारिताले मात्र साँचो आनन्द प्रदान गर्नसक्छ।—भजन १९:७, ८; उपदेशक १२:१३.
स्पष्टतः, ईश्वरीय बुद्धिको प्रयोग तथा परमेश्वरसित राम्रो सम्बन्ध कायम गरेर प्राप्त हुने आनन्द हामीले हासिल गर्नै नसक्ने कुरा होइन। (प्रेरित १७:२६, २७) यहोवा तथा उहाँका उद्देश्यहरूको ज्ञान सबैको निम्ति सर्वसुलभ छ। बाइबल, थुप्रै भाषामा उपलब्ध हुनुका साथै संसारमा सबैभन्दा व्यापक वितरण हुने पुस्तक पनि हो। बाइबलले तपाईंलाई परमेश्वरको साथी बन्न तथा साँचो आनन्द पाउन मदत गर्नसक्छ। किनभने धर्मशास्त्रले बताएअनुसार “ती मानिसहरू सुखी हुन्छन्, जसका परमेश्वर परमप्रभुनै हुनुहुन्छ।”—भजन १४४:१५.
[पृष्ठ ४-मा भएको पेटी]
आनन्द प्राप्तिको लागि उठाउनुपर्ने कदमहरू
१. आध्यात्मिकता के हो, राम्ररी बुझ्नुहोस् र त्यसको खेती गर्नुहोस्। येशूले यसो भन्नुभयो: “तिनीहरू पो धन्य हुन्, जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्।”—लूका ११:२८.
२. धनसम्पत्ति वा सुखसयलभन्दा परमेश्वरको अनुमोदन महत्त्वपूर्ण हो भनी स्वीकार्नुहोस्। पावलले यसप्रकार लेखे: “सन्तुष्टता सहितको भक्तिनै ठूलो लाभ हो। . . . खान र लाउन भएपछि हामी त्यसमा सन्तुष्ट हुनेछौं।”—१ तिमोथी ६:६-८.
३. बाइबल-प्रशिक्षित अन्तस्करण खेती गर्ने र त्यसअनुसार चल्ने प्रयास गर्नुहोस्।—रोमी २:१४, १५.
४. यहोवा परमेश्वरको जन कहलिने योग्य हुन उहाँको आज्ञा पालन गर्ने संकल्प गर्नुहोस्। पुरातन समयका दाऊदले यसप्रकार लेखे: “ती मानिसहरू सुखी हुन्छन्, जसका परमेश्वर परमप्रभुनै [“यहोवा,” NW] हुनुहुन्छ।”—भजन १४४:१५.
[पृष्ठ ७-मा भएका चित्र]
“धन्य आत्मामा दरिद्र हुनेहरू।” —मत्ती ५:३