ओन्सिफरस—एक साहसी सान्त्वनादाता
“बन्धनमा हुनेहरूलाई तिनीहरूकै साथमा बन्धनमा भएझैं र बेइज्जतीमा पर्नेहरूलाई, . . . सम्झ।” (हिब्रू १३:३) लगभग सा.यु. ६१ तिर यी शब्दहरू लेख्दा प्रेरित पावल आफै पनि निकै पटक थुनामा परिसकेका थिए र धर्मको खातिर शहीद हुनुअघि तिनी फेरि थुनामा पर्ने थिए। (प्रेरित १६:२३, २४; २२:२४; २३:३५; २४:२७; २ कोरिन्थी ६:५; २ तिमोथी २:९; फिलेमोन १) अतः आफ्नो विश्वासको खातिर परीक्षामा पर्नेहरूको ख्याल गर्नुपर्ने टड्कारो खाँचो आज जस्तै त्यतिखेर पनि थियो।
त्यसरी खाँचो टार्न सतर्क रहने प्रथम शताब्दीका चेलामध्ये विशेषगरि ओन्सिफरस एक थिए। रोममा पावल दोस्रो पटक थुनिंदा उनी तिनलाई भेट्न गएका थिए। उनीबारे प्रेरित पावल लेख्छन्: “प्रभुले ओन्सिफरसको परिवारलाई कृपा राखून्, किनभने तिनले मलाई अक्सर हौसला दिन्थे, र मेरो सांग्लाको शर्म मान्दैनथे, तर तिनी रोममा छँदा मलाई परिश्रमसाथ खोजेर भेट्टाएथे।” (२ तिमोथी १:१६, १७) यी शब्दहरूको अर्थ वास्तवमा के हो, के तपाईंले कहिल्यै पत्ता लगाउन खोज्नुभएको छ? खोज्नुभयो भने ओन्सिफरसप्रति शायद तपाईंको मूल्यांकन भाव बढ्नेछ। उनी एक साहसी सान्त्वनादाता थिए भनेर तपाईंले थाह पाउनुहुनेछ।
पावल दोस्रो पटक थुनामा
पहिलो कैदबाट मुक्त भएपछि पावल फेरि अर्कै आरोपमा रोममा कैद गरिए। पहिलो पटक थुनिंदा पावललाई तिनका मित्रहरूले तिनकै डेरामा भेट्नसक्थे र चाँडै कैदमुक्त हुने सम्भावना देखिएकोले तिनी ढुक्क थिए। तर अहिले धेरैजसोसित भेट्न नपाइने भएकोले धर्मको खातिर शहीद हुने कुरामा तिनी पक्का थिए।—प्रेरित २८:३०; २ तिमोथी ४:६-८; फिलेमोन २२.
पावल यस पटक थुनामा परेको समय सा.यु. ६५ थियो। यसको ठीक वर्षदिन जतिअघि अर्थात् जुलाई सा.यु. ६४ मा रोममा आगो लाग्दा त्यहाँका १४ प्रान्तहरूमध्ये १० वटा ध्वस्त भएका थिए। रोमी इतिहासकार टास्टसअनुसार “यो अग्निकाण्ड सम्राट नेरोकै आदेशअनुसार भएको थियो भन्ने हल्ला साम्य पार्न नसकेकोले आफ्नो नाउँ जोगाउन” सम्राट नेरोले “मसीहीहरूलाई दोष लगाए। जनताबीच मसीही भनेर चिनिने अनि सारा मानिसहरूले घृणित ठान्ने काम गर्ने यी वर्गका मानिसहरूलाई नेरोले घोर शासना दिए। . . . तिनीहरू बडो घृणित ढंगमा मारिए। जनावरको छाला ओढाएर तिनीहरूमाथि कुकुर लगाइए, तिनीहरू क्रूसमा कीला ठोकेर टाँगिए अनि रातको अन्धकार धपाउन खम्बामा जलाइए।”
फेरि थुनिएकोले पावलको हबिगत पनि यस्तै हुनसक्ने सम्भावना थियो। त्यसैकारण, मित्र ओन्सिफरस थुनामा भेट्न आउँदा तिनी निकै कृतज्ञ भए! तर यही परिस्थितिलाई ओन्सिफरसको नजरबाट पनि हेरौं।
कैदी पावललाई भेट्नु
ओन्सिफरसको परिवार एफिससमा बस्थ्यो जस्तो देखिन्छ। (२ तिमोथी १:१८; ४:१९) ओन्सिफरस आफ्नै व्यापारको सिलसिलामा राजधानी रोम आएका थिए वा विशेषगरि पावललाई नै भेट्न आएका थिए, त्यसबारे कुनै उल्लेख गरिएको छैन। जे होस्, प्रेरित पावलले यस्तो टिप्पणी गरे: ‘तिनी रोममा छँदा मलाई अक्सर हौसला दिन्थे।’ (२ तिमोथी १:१६, १७) कस्तो हौसला? ओन्सिफरसले भौतिक सहयोग गरेका हुनसक्ने भए तापनि उनको उपस्थिति पावलको लागि बलियो पार्ने तथा प्रोत्साहन दिने शक्तिवर्द्धक ओखतीसरह हुन गयो। वास्तवमा, केही अनुवादहरूमा यस्तो लेखिएको पाइन्छ: “तिनले अक्सर मेरो आँत बढाएका छन्,” अथवा “तिनले अक्सर मलाई सान्त्वना दिएका छन्।”
रोममा थुनिएका एक मसीहीलाई भेट्न खोज्नु त्यतिखेर चुनौती निम्त्याउनु थियो। पावल पहिलो पटक थुनिंदा रोमी मसीहीहरूले तिनलाई भेट्न पाएका थिए। तर पावल दोस्रो पटक थुनिंदा भने ती मसीहीहरूले तिनलाई भेट्टाउनै सकेका थिएनन्। रोमजस्तो ठूलो शहरमा त्यो पनि विभिन्न अपराधको कारण थुनामा परेकाहरूबीच एक अज्ञात कैदीलाई खोज्नु सजिलो काम थिएन। त्यसैले निकै मिहेनतका साथ खोज्नु आवश्यक थियो। शास्त्रज्ञ जोभानी रोस्ट्यान्यो यसरी व्याख्या गर्छन्: “समस्या विभिन्न प्रकारका हुनसक्थे। हुनसक्ने खतराहरूको कारण निकै होस पुऱ्याएर खोज्नुपर्थ्यो। कहिले यता त कहिले उता गर्दै जानकारी हासिल गर्दा र विभिन्न अभियोगमा समातिएका हठधर्मी कैदीलाई भेट्न निकै उत्सुक देखिंदा अनावश्यक शंका उपशंका उत्पन्न हुनसक्थ्यो।”
लेखक पि. एन. ह्यारिसन यसबारे यसरी सजीव वर्णन गर्छन्: “बटुवाहरूको भीडमा दृढ संकल्पित अनुहार देखापर्छ। हेर्दा आइजीनको तटबासी जस्तो देखिने यो अनुहार नौला गल्लीहरूहुँदो कुनै कुराको खोजीमा हिंडेझैं भान हुन्छ। खतराको चेताउनी बेवास्ता गर्ने यो अनुहार आफ्नो लक्ष्य पूरा गर्न कम्मर कसेको छ। ऊ अपरिचित बाटोहरूहुँदो भट्कन्छ, ढोका ढोका ढक्ढकाउँछ अनि प्रत्येक सुराक पछ्याउँदै हिंड्छ। अनि एकलासको ठाउँहुँदो कसैको ध्यान नखिंच्ने खोरमा एक चिरपरिचित व्यक्ति, पावलको स्वर सुन्छ र तुरुन्तै ऊ त्यो कैदखानामा पस्छ। त्यहाँ पावललाई रोमी सिपाहीसित सांग्लोमा बाँधिएको भेट्टाउँछ।” यदि त्यो ठाउँ रोमका अन्य कैदखानाजस्तो थियो भने, यो पक्कै पनि चिसो, अँध्यारो र फोहर हुनुका साथै सांग्लोमा बाँधिएका विभिन्न अपराधीहरूको बिजोग देख्न सकिने ठाउँ थियो।
पावलजस्तो कैदीको मित्र भनेर चिनिनु निकै खतरापूर्ण त थियो नै अझ तिनलाई भेट्न गइरहनु झन् खतरनाक थियो। आफैलाई मसीही भनेर खुलेआम चिनाउँदा समातिने र सताएर मारिने डर हुन्थ्यो। तर पावललाई केवल एक वा दुइ पटक भेटेर ओन्सिफरसलाई चित्त बुझेन। उनी पावललाई “अक्सर” भेट्न जान नता शर्माउँथे, न डराउँथे। खतराको बावजूद प्रोत्साहन र मायालु सहयोग दिंदै ओन्सिफरसले साँच्चै आफ्नो नाउँको अर्थ, “लाभ वाहक” अनुरूप जीवन बिताए।
ओन्सिफरसले यो सब किन गरे? ब्रायन राप्स्की भन्छन्: “कैदखाना शारीरिक यातनाको ठाउँ मात्र नभई कैदीहरूलाई हुनसम्म दुःख हुने तनाउग्रस्त ठाउँ पनि थियो। यस्तो बेला सहयोगीको साक्षात् उपस्थिति तथा मौखिक प्रोत्साहनले कैदीलाई भावनात्मक तवरमा निकै उकास्थ्यो।” ओन्सिफरसले यो राम्ररी बुझेका थिए। त्यसैकारण उनले आफ्नो मित्रलाई वफादार भई सहारा दिए। पावलले यस्तो मदतको असाध्यै सराहना गरेकै हुनुपर्छ।
ओन्सिफरसलाई के भयो?
तिमोथीलाई लेखेको दोस्रो पत्रमा पावलले ओन्सिफरसको घरानालाई सलाम पठाउँदा उनीबारे यसो भने: “त्यस दिन प्रभुको कृपा पाउनलाई प्रभुले तिनलाई मञ्जूर गरून्।” (२ तिमोथी १:१८; ४:१९) “त्यस दिन” शब्दहरूले परमेश्वरले न्याय गर्नुहुने दिनलाई संकेत गर्छन् भन्ने धारणा धेरैले राखेका छन् र त्यतिबेला ओन्सिफरस मरिसकेका थिए भन्ने निष्कर्ष निकाल्छन्। यदि त्यसो हो भने, शायद “पावललाई भेट्न आउँदा तिनी समातिएका र . . . तिनले आफ्नो ज्यान गुमाउनु परेको हुनसक्छ” भनी पि. एन. ह्यारिसन अनुमान लगाउँछन्। पत्र पाउँदा ओन्सिफरस कतै बाहिर गएका हुनसक्थे वा पावलले ओन्सिफरसलाई मात्र नसम्झेर उनको घरानालाई नै सलाम पठाएका हुनसक्थे।
“त्यस दिन प्रभुको कृपा पाउनलाई प्रभुले तिनलाई मञ्जूर गरून्” भन्ने वाक्यको खास अर्थ छ भन्ने विश्वास कसै कसैको छ। तिनीहरू यी शब्दहरू आध्यात्मिक लोकमा जीवित तथा दुःखकष्ट भोगिरहेका मृत प्राणहरूका निम्ति निरन्तर गरिने प्रार्थनाको प्रमाण हो, भन्छन्। तथापि, यस्तो धारणा मृतकहरूलाई केही पनि थाह हुँदैन भन्ने धर्मशास्त्रीय शिक्षा विपरीत छ। (उपदेशक ९:५, १०) ओन्सिफरस मरिसकेकै थिए भने तापनि उनले परमेश्वरको कृपा पाऊन् भन्ने शुभेच्छा मात्र पावलले व्यक्त गरेका थिए। आर. एफ. होर्टन भन्छन्, “हामी यस्तो शुभेच्छा सबैप्रति व्यक्त गर्नसक्छौं। तर [प्रेरितले] मृतकको लागि प्रार्थना गर्ने तथा मास टक्राउने कुरा चिताएका थिएनन्।”
हामी पनि वफादार सान्त्वनादाता होऔं
पावललाई सहयोग गर्दागर्दै ओन्सिफरसले आफ्नो ज्यान गुमाए वा गुमाएनन्, हामीलाई थाह नभए तापनि उनले पावललाई खोज्ने र तिनलाई कैदखानामा भेट्न जाने खतरा पक्कै पनि मोले। अनि पावलले आफूलाई असाध्यै चाहिएको सहारा र प्रोत्साहन ओन्सिफरसले दिंदा तिनले पक्कै पनि निकै मोलको ठाने भन्नुमा दुइ मत छैन।
सँगी मसीहीहरूले परीक्षा, सतावट वा जेलसजायको सामना गर्नुपर्दा शायद हामी उनीहरूलाई सान्त्वना तथा प्रोत्साहन दिनसक्ने अवस्थामा होऔंला। तसर्थ, तिनीहरूका निम्ति प्रार्थना गर्नसकौं र यथासम्भव मायालु तरिकाले मदत गर्नसकौं। (यूहन्ना १३:३५; १ थिस्सलोनिकी ५:२५) ओन्सिफरसजस्तै हामी पनि साहसी सान्त्वनादाता हुनसकौं।
[पृष्ठ ३१-मा भएको चित्र]
थुनामा परेका प्रेरित पावललाई ओन्सिफरसले साहसी भई सान्त्वना दिए