लुकेको धन देखा पर्छ
माकारियोस बाइबलको कथा
एक अनुसन्धानकर्ताले १९९३ मा सेन्ट पिटर्सवर्गको रूसी राष्ट्रिय पुस्तकालयमा पुरानो, पहेंलो भइसकेको अर्थोडक्स रिभ्यु पत्रिकाको एक चाङ फेला पारे। सन् १८६० देखि १८६७ को पत्रिकाको चाङमा रूसी जनताको नजरबाट एक शताब्दीअघिदेखि हराइरहेको एउटा धन फेला पऱ्यो। त्यो थियो, सम्पूर्ण हिब्रू धर्मशास्त्रको अनुवाद अथवा रूसी भाषामा अनुवादित बाइबलको “पुरानो नियम”!
यस धर्मशास्त्रका अनुवादकहरू गेरासिम प्येट्रोभिच पाभास्की र आर्कीमेन्ड्राइट माकारियोस भनेर चिनिने मिखाइल याकोभ्लेयिच ग्लुखारेफ थिए। यी दुवै, रूसी अर्थोडक्स चर्चका प्रतिष्ठित सदस्यहरू हुनुका साथै भाषाविद् पनि थिए। यिनीहरूले गत शताब्दीको सुरुतिर आफ्नो काम थाल्दा रूसी भाषामा सम्पूर्ण बाइबल अनुवाद भइसकेको थिएन।
हुन त, वर्तमान समयको रूसी भाषाको अग्रदूत अर्थात् स्लाभोनिक भाषामा बाइबल अनुवाद भइसकेको थियो। तथापि, १९ औं शताब्दीको बीचतिर स्लाभोनिक बाइबल पादरीवर्गले गर्ने धार्मिक रीतिथितिमा बाहेक अरू बेला चलाउन छोडिसकेको थियो। पश्चिमी देशहरूमा पनि अवस्था त्यस्तै थियो जहाँ ल्याटिन भाषा चलनचल्तीबाट हराइसकेको निकै भइसके तापनि रोमन क्याथोलिक चर्चले ल्याटिन भाषाकै बाइबल चलाउन खोज्थे।
माकारियोस र पाभास्कीले सर्वसाधारणका लागि बाइबल सुलभ गराउन प्रयास गरे। तसर्थ, तिनीहरूले धेरैअघि गरेको काम यसरी पत्ता लाग्दा रूसको साहित्यिक तथा धार्मिक सम्पदाको जगेर्ना गर्नमा यसले महत्त्वपूर्ण भूमिका खेलेको छ।
तथापि, माकारियोस र पाभास्की वास्तवमा को थिए? अनि तिनीहरूले सर्वसाधारणको भाषामा बाइबल उपलब्ध गराउन खोज्दा किन त्यति धेरै विरोध सहनुपऱ्यो? तिनीहरूको वृत्तान्त बाइबल प्रेमीहरूका लागि रोचक हुनुका साथै त्यसले विश्वास पनि बलियो बनाउँछ।
रूसी बाइबलको खाँचो
सर्वसाधारणको भाषामा बाइबल उपलब्ध गराउनुपर्ने खाँचो महसुस गर्ने प्रथम व्यक्तिहरू माकारियोस र पाभास्की थिएनन्। लगभग सय वर्षअघि रूसी जार पिटर प्रथम अथवा महान् पिटरले पनि त्यस्तो खाँचो महसुस गरेका थिए। उल्लेखनीय कुरा त के हो भने तिनी पवित्र धर्मशास्त्रको आदर गर्थे र यसो भनेका थिए: “बाइबल सबैभन्दा सर्वश्रेष्ठ पुस्तक हो अनि परमेश्वर र आफ्ना छिमेकीप्रति मानिसले गर्नुपर्ने सम्पूर्ण कर्तव्यहरू यसमा उल्लिखित छन्।”
तसर्थ, १७१६ मा पिटरले आम्स्टरड्याममा बाइबल छपाउन आफ्नो शाही दरबारलाई आदेश दिए र त्यो पनि निजी खर्चमा। त्यसको हरेक पानामा रूसी तथा डच पदको बेग्लाबेग्लै स्तम्भ हुनुपर्थ्यो। त्यसको ठीक एक वर्षपछि १७१७ मा मसीही युनानी धर्मशास्त्र अथवा “नयाँ नियम” तयार भयो।
सन् १७२१ तिर डच भाषामा हिब्रू धर्मशास्त्रको चार-खण्डे अनुवाद पनि छापिसकेको थियो। उक्त धर्मशास्त्रमा रूसी पद राख्न एउटा स्तम्भ खाली छोडिएको थियो। पिटरले छपाइसम्बन्धी कामको टुंगो लगाउन तथा वितरणको प्रबन्ध मिलाउन चर्चको सर्वश्रेष्ठ धार्मिक अख्तियार अर्थात् रूसी अर्थोडक्स चर्चको “पवित्र धर्मसभा”-लाई बाइबलहरू हस्तान्तरण गरे। तथापि, धर्मसभाले यसको सदुपयोग गरेन।
चार वर्ष नबित्दै पिटरको मृत्यु भयो। अनि तिनका बाइबलहरू नि? रूसी पद राख्न खाली छोडिएका स्तम्भहरू खाली नै रहे। बाइबलहरू छिंढीमा थाक लगाइयो र ती कुहिन थाले। पछि हेर्दा सद्दे बाइबल एउटै थिएन! धर्मसभाले “यी बाँकी भएका प्रतिहरू सबै व्यापारीहरूलाई बेच्ने” निर्णय गऱ्यो।
अनुवाद गर्ने प्रयास गरिन्छ
बेलाइती तथा विदेशी बाइबल सोसाइटीका सदस्य जोन पाटर्सन १८१२ मा रूस आए। पाटर्सनले सेन्ट पिटर्सवर्गको बुद्धिजीवीवर्गलाई बाइबल सोसाइटी गठन गर्ने चासो जगाए। डिसेम्बर ६, १८१२ अर्थात् रूसी सेनाले नेपोलियन प्रथमको सेनालाई अघि बढ्न रोकेकै दिन जार एलेक्जेन्डर प्रथमले रूसी बाइबल सोसाइटीको बडापत्र स्वीकारे। यही जारले १८१५ मा उक्त सोसाइटीका सभापति राजकुमार एलेक्जेन्डर गल्येटसीनले तत्कालीन धर्मसभालाई यस्तो सुझाउ दिने आदेश दिए, “रूसीहरूले पनि आफ्नै मातृभाषा, रूसीमा परमेश्वरको वचन पढ्ने मौका पाउनुपर्छ।”
मौलिक हिब्रूबाट रूसी भाषामा हिब्रू धर्मशास्त्र सोझै अनुवाद गर्ने स्वीकृति दिनु सराहनीय कुरा हो। पुरातन युनानी सेप्टुआजिन्ट-लाई आधार मानेर हिब्रू धर्मशास्त्र स्लाभोनिक भाषामा अनुवाद गरिएको थियो। रूसी भाषामा बाइबल अनुवाद गर्नेहरूलाई अनुवाद मुख्यतया सही, स्पष्ट तथा विशुद्ध हुनुपर्छ भनिएको थियो। रूसी भाषामा बाइबल उपलब्ध गराउने यी सुरुसुरुका प्रयासहरू के भए त?
बाइबल अनुवादकार्यमा गहिरो आघात?
चर्च तथा सरकारका रूढीवादी तत्त्वहरू विदेशी धर्म तथा राजनीतिको प्रभावप्रति सतर्क हुन थाले। चर्चका केही नेताहरूले यसो पनि भन्न थाले, रूसी भाषामा भन्दा चर्चको रीतिथितिमा प्रयोग हुने भाषा अर्थात् स्लाभोनिक भाषामा बाइबलको सन्देश स्पष्ट छ।
यसप्रकार, १८२६ मा रूसी बाइबल सोसाइटीको विघटन भयो। बाइबल सोसाइटीद्वारा प्रकाशित अनुवादका हजारौं प्रतिहरू जलाइए। फलस्वरूप, बाइबलभन्दा रीतिथिति तथा परम्परा बढी महत्त्वपूर्ण हुन थाल्यो। रोमन क्याथोलिक चर्चको नमुना पछ्याउँदै १८३६ मा धर्मसभाले यस्तो आज्ञप्ति पारित गऱ्यो: “सर्वसाधारण जनताले धर्मशास्त्र सुन्नु ठीकै छ तर धर्मशास्त्रका केही अंश र विशेषगरि पुरानो नियम कसैको डोऱ्याइबिना पढ्नु निषेध छ।” यसरी बाइबल अनुवादकार्यमाथि गहिरो आघात पारेको जस्तो देखियो।
पाभास्कीको कार्य
त्यतिञ्जेल हिब्रूका प्राध्यापक गेरासिम पाभास्कीले हिब्रू धर्मशास्त्र रूसी भाषामा अनुवाद गर्ने जिम्मा लिए। तिनले १८२१ मा बाइबलको भजनको पुस्तक अनुवाद गर्न सिध्याए। यसको तुरुन्तैपछि जारले उक्त कार्यको अनुमोदन गरे अनि जनवरी १८२२ सम्म भजनको पुस्तक सर्वसाधारणका लागि उपलब्ध भइसकेको थियो। सर्वसाधारणले सहजै स्वीकारेको हुँदा यसको १२ पटकसम्म मुद्रण गर्नुपऱ्यो र जम्माजम्मी १,००,००० प्रति छापिए!
आफ्नो यस्तो विद्वत्तापूर्ण प्रयासले गर्दा पाभास्कीले थुप्रै भाषाविद् तथा धर्मविज्ञानीहरूको आदर जित्नसके। अनेकन् षडयन्त्रको बीचमा पनि नडग्मगाउने सोझो तथा इमानदार मानिस भनेर तिनी चिनिन्थे। रूसी बाइबल सोसाइटीप्रति चर्चको विरोध र कसै कसैलाई उक्त कार्यमा विदेशी प्रभाव परेजस्तो लागे तापनि प्राध्यापक पाभास्कीले आफ्ना भाषणहरूमा बाइबल पदहरू रूसी भाषामा अनुवाद गर्न छोडेनन्। तिनको कामको तारिफ गर्ने विद्यार्थीहरूले ती पदहरू सार्थे र समयको दौडान तिनले गरेका सम्पूर्ण अनुवादको सगोल तयार पार्नसके। यी विद्यार्थीहरूले १८३९ मा सेन्सरहरूको अनुमतिबिना प्रज्ञा प्रतिष्ठानको प्रेसमा १५० प्रति छपाउने साहस बटुले।
पाभास्कीको अनुवादले पाठकहरूमा गहिरो छाप पाऱ्यो र यसको माग झन् झन् बढ्न थाल्यो। तर १८४१ मा यो अनुवाद अर्थोडक्स चर्चको सिद्धान्तबाट तर्किएको र त्यो “खतरनाक” हुनसक्ने सम्भावना औंल्याइएको एउटा अज्ञात गुनासो पत्र धर्मसभामा प्राप्त भयो। दुइ वर्षपछि धर्मसभाले यस्तो आदेश सुनायो: “जि. पाभास्कीले गरेका पुरानो नियमको अनुवादको हस्तलिखित तथा लिथोग्राफ गरेका सारा पुस्तक जफत गरेर नाश गर्नू।”
परमेश्वरको नाउँको महिमा गर्दै
तैपनि, पाभास्कीले बाइबल अनुवादकार्यमा चासो जगाइसकेका थिए। तिनले भावी अनुवादकहरूका लागि अर्को एउटा महत्त्वपूर्ण विषयमा पनि उदाहरण बसालेका थिए। त्यो थियो: परमेश्वरको नाउँ।
रूसी अनुसन्धानकर्ता कोरसुन्स्केले यसो भने: ‘परमेश्वरको व्यक्तिगत नाउँ अर्थात् सबैभन्दा पवित्र नाउँ चार वटा हिब्रू अक्षर יהוה मिलेर बनेको छ र अहिले जेहोभा भनेर उच्चारण गरिन्छ।’ बाइबलका पुराना प्रतिहरूमा परमेश्वरको यो नाउँ हिब्रू धर्मशास्त्रमा मात्र हजारौं चोटि उल्लेख भएको पाइन्छ। तथापि, यहूदीहरूले परमेश्वरको नाउँ अत्यन्तै पवित्र भएको हुँदा लेख्न तथा उच्चारण गर्नु हुँदैन भन्ने गलत धारणा राख्न थाले। यसबारे कोरसुन्स्केले यस्तो टिप्पणी गरे: ‘भाषण दिंदा वा लेख्दा उहाँका नाउँको साटो प्रायजसो अदोनाइ प्रयोग हुन्थ्यो जुन साधारणतया “प्रभु” भनेर अनुवाद गरिन्थ्यो।’
स्पष्टतः, ईश्वरीय श्रद्धाले नभई रूढीवादी डरले गर्दा परमेश्वरको नाउँ प्रयोग गर्न बन्द गरियो। बाइबलमा कतै पनि परमेश्वरको नाउँ प्रयोग गर्न बन्देज गरिएको छैन। स्वयं परमेश्वरले मोशालाई यसो भन्नुभयो: “इस्राएलीहरूलाई भन्, ‘तिमीहरूका पिता-पुर्खाका परमप्रभु, . . . परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो। मेरो नाउँ सदा यही रहनेछ, र सबै पुस्तासम्म मेरो सम्झना यही हुनेछ।” (प्रस्थान ३:१५) धर्मशास्त्रले उपासकहरूलाई बारम्बार यस्तो आग्रह गरेको छ: “परमप्रभुलाई धन्यवाद देऊ। उहाँको नाउँको पुकारा गर।” (यशैया १२:४) तैपनि, प्रायजसो बाइबल अनुवादकहरूले यहूदी परम्परा पछ्याउन रोजेर ईश्वरीय नाउँ प्रयोग गर्न छोडे।
तथापि, पाभास्की यस्ता परम्पराहरूको पछि लागेनन्। तिनले गरेको भजनको अनुवादमा मात्रै ३५ चोटिभन्दा बढी यहोवाको नाउँ प्रयोग गरिएको छ। यस्तो साहसले तिनका एक समकालीनमा उल्लेखनीय प्रभाव पार्नेथियो।
आर्कीमेन्ड्राइट माकारियोस
यी समकालीन आर्कीमेन्ड्राइट माकारियोस थिए र तिनी रूसी अर्थोडक्स मिसनरी हुनुका साथै धुरन्धर भाषाविद् थिए। सात वर्षको कलिलो उमेरमै तिनी छोटो छोटो रूसी पदहरू ल्याटिनमा अनुवाद गर्नसक्थे। बीस वर्ष पुगुञ्जेल तिनले हिब्रू, जर्मन तथा फ्रेन्च भाषाको ज्ञान बटुलेका थिए। तथापि, नम्र स्वभाव तथा परमेश्वरप्रति जिम्मेवारीको गहिरो भावनाले गर्दा बढ्तै आत्मविश्वासी हुने पासोमा तिनी फसेनन्। तिनी बारम्बार अरू भाषाविद् तथा विद्वानहरूको सल्लाह लिन्थे।
माकारियोस रूसको मिसनरी क्रियाकलापमा सुधार ल्याउन चाहन्थे। रूसका मुसलमान तथा यहूदीहरूसमक्ष मसीहीधर्म प्रस्तुत गर्नुअघि चर्चले “पाठशालाहरू खोल्नुका साथै रूसी भाषाको बाइबल वितरण गरेर जनतालाई ज्ञान दिनुपर्ने” आवश्यकता तिनले महसुस गरे। हिब्रू धर्मशास्त्र रूसी भाषामा अनुवाद गर्ने अनुमति पाउने आशा राखेर माकारियोस मार्च १८३९ मा सेन्ट पिटर्सवर्ग आइपुगे।
माकारियोसले बाइबल पुस्तकहरू यशैया र अय्यूब अनुवाद गरिसकेका थिए। तथापि, धर्मसभाले हिब्रू धर्मशास्त्र रूसी भाषामा अनुवाद गर्ने अनुमति दिएन। वास्तवमा भनौं भने, माकारियोसलाई हिब्रू धर्मशास्त्र रूसी भाषामा अनुवाद गर्ने कुरा सपनामा पनि नचिताए हुन्छ भनिएको थियो। धर्मसभाको अप्रिल ११, १८४१ मा पारित आदेशले माकारियोसलाई “प्रार्थनाको साथसाथै घुँडा टेकी टेकी उपासना गरेर आफ्नो अन्तस्करण सफा पार्न टोम्स्कस्थित पादरीको घरमा तीनदेखि छ हप्ता प्रायश्चित गर्ने” आज्ञा दियो।
माकारियोसको साहसिक अडान
डिसेम्बर १८४१ देखि जनवरी १८४२ सम्म माकारियोसले उक्त प्रायश्चित कार्यमा भाग लिए। तर त्यो पूरा भएपछि तिनले हिब्रू धर्मशास्त्रको बाँकी भाग अनुवाद गर्न थाले। तिनीसित पाभास्कीले अनुवाद गरेका हिब्रू धर्मशास्त्रको एउटा प्रति थियो र तिनले त्यसैलाई आधार मानेर आफ्नो अनुवाद जाँच्न थाले। पाभास्कीले जस्तै तिनले पनि ईश्वरीय नाउँ अस्पष्ट पार्न इन्कार गरे। भनौं भने, माकारियोसको अनुवादमा यहोवाको नाउँ ३,५०० भन्दा बढी पटक उल्लेख भएको पाइन्छ!
आफ्ना समर्थक साथीहरूलाई माकारियोसले प्रतिहरू पठाउन थाले। हस्तलिखित केही प्रतिहरू वितरण भए तापनि चर्चले तिनको कृति छपाउने कार्यमा भने बाधा पुऱ्याउन छोडेन। माकारियोसले विदेशमा बाइबल वितरण गर्ने योजना बनाउन थाले। विदेश प्रस्थान गर्नै लागेको रात तिनी बिरामी परे र त्यसको धेरै समय बित्न नपाउँदै १८४७ मा तिनको मृत्यु भयो। तिनको जीवनकालमा त्यो बाइबल अनुवाद छापिन सकेन।
बल्लतल्ल छापियो!
अन्ततः राजनैतिक तथा धार्मिक दृष्टिकोण परिवर्तन भयो। रूसभरि नयाँ उदारवादी विचारधाराको लहड चल्यो र १८५६ मा धर्मसभाले रूसी भाषामा बाइबल अनुवाद गर्न फेरि अनुमति दियो। यस नयाँ वातावरणमा १८६० देखि १८६७ बीच अर्थोडक्स रिभ्यु-मा माकारियोस बाइबल खण्ड खण्ड गरेर छापियो। यसको नयाँ शीर्षक थियो, रूसी भाषामा अनुवादको परीक्षण।
रूसी धार्मिक साहित्यका विद्वान, चेर्निगोभका प्रमुख विशप फिलाराले माकारियोस बाइबलको यस्तो तारिफ गरे: “तिनले हिब्रू भाषाको हुबहु अनुवाद गरेका छन् र भाषा शुद्ध हुनुका साथै विषय सुहाउँदो छ।”
तथापि, सर्वसाधारणका लागि माकारियोस बाइबल कहिल्यै उपलब्ध गराइएन। भनौं भने, यो पूरै बिर्सियो। धर्मसभाको अनुमति पाएपछि हिब्रू तथा युनानी धर्मशास्त्रलगायत सम्पूर्ण बाइबल अन्ततः १८७६ मा रूसी भाषामा अनुवाद भयो। यस सिंगो बाइबललाई प्रायः धर्मसभाको अनुवाद पनि भन्ने गरिन्छ। हाँस्यास्पद कुरा त के छ भने माकारियोसको साथसाथै पाभास्कीको अनुवाद यस “आधिकारिक” रूसी अर्थोडक्स चर्चको अनुवादको प्रमुख आधार हुन गयो। तर हिब्रू भाषामा उल्लेख भएका केही ठाउँहरूमा मात्र ईश्वरीय नाउँ प्रयोग गरियो।
अहिले माकारियोस बाइबल
माकारियोस बाइबलबारे १९९३ पछि मात्र मानिसहरूले थाह पाउन थाले। सुरुमा उल्लेख गरिएझैं रूसी राष्ट्रिय पुस्तकालयको दुर्लभ-पुस्तक विभागमा अर्थोडक्स रिभ्यु पत्रिकाको चाङमा एउटा प्रति भेटियो। यहोवाका साक्षीहरूले यो बाइबल जनसाधारणका लागि उपलब्ध गराउनुपर्ने महत्त्व बुझे। उक्त पुस्तकालयले रूसमा यहोवाका साक्षीहरूको धार्मिक संगठनलाई त्यो छपाउने प्रबन्ध मिलाउन माकारियोस बाइबलको एउटा प्रति उपलब्ध गरायो।
त्यसपछि यहोवाका साक्षीहरूले रूस तथा रूसी भाषा बोलिने अन्य देशहरूमा वितरणको लागि इटालीमा उक्त बाइबलको ३,००,००० प्रति छाप्ने प्रबन्ध मिलाए। यस संस्करणमा माकारियोसले अनुवाद गरेका हिब्रू धर्मशास्त्रको प्रायजसो अंशबाहेक पाभास्कीले अनुवाद गरेको भजनको पुस्तक र अर्थोडक्स चर्चबाट स्वीकृति प्राप्त महासभाले गरेको युनानी धर्मशास्त्रको अनुवाद पनि समावेश छ।
यसै सालको जनवरी महिनामा सेन्ट पिटर्सवर्ग, रूसमा सम्पन्न पत्रकार सम्मेलनमा यो विमोचन गरिएको थियो। (पृष्ठ २६ को पेटी हेर्नुहोस्।) यस नयाँ बाइबल पाएर रूसी पाठकहरूले पक्कै पनि बढी ज्ञान हासिल गर्नेछन् र तिनीहरूको विश्वास अझ बलियो हुनेछ।
यसप्रकार यो बाइबल प्रकाशित हुनु धार्मिक तथा साहित्यिक विजय हो! यशैया ४०:८ मा उल्लिखित यी शब्दहरूको सत्यता स्मरण गराउनुका साथै हाम्रो विश्वास पनि बलियो बनाउँछ: “घाँस सुकिहाल्छ, फूल ओइलाइहाल्छ तर हाम्रा परमप्रभुको वचन सधैंभरि अटल रहनेछ।”
[पृष्ठ २६-मा भएको पेटी/चित्र]
बाइबलले साहित्यिक प्रशंसा पाउँछ
“एउटा अर्को साहित्यिक स्मारिका विमोचन भएको छ: माकारियोस बाइबल।” माकारियोस बाइबल विमोचनको घोषणा गर्दा कोम्सोमोल्स्काये प्राभ्दा अखबारले सुरुमै त्यसो भने।
रूसी भाषामा लगभग “१२० वर्षअघि” प्रथम बाइबल प्रकाशित भएको कुराबारे टिप्पणी गरिसकेपछि उक्त पत्रिकाले यसरी खेद प्रकट गऱ्यो: “सजिलै पढ्न सकिने भाषामा पवित्र पुस्तकहरू अनुवाद गर्न चर्चले वर्षौंसम्म विरोध गऱ्यो। चर्चले थुप्रै अनुवादहरू अस्वीकार गरिसकेपछि १८७६ मा बल्ल एउटा अनुवादलाई स्वीकृति प्रदान गऱ्यो र त्यो नै पछि गएर धर्मसभाको अनुवाद भनी चिनिन थाल्यो। तथापि, चर्चहरूमा त्यो प्रयोग गर्ने अनुमति थिएन। अहिलेसम्म पनि चर्चमा स्वीकृतिप्राप्त बाइबल स्लाभोनिक बाइबल नै हो।”
माकारियोस बाइबल छाप्नुपर्ने महत्त्वबारे टिप्पणी गर्दै सेन्ट पिटर्सवर्ग एको अखबारले पनि यसो भने: “सेन्ट पिटर्सवर्ग विश्वविद्यालय, हर्टसेन शिक्षा विश्वविद्यालय तथा धार्मिक इतिहासको संग्रहालयका अख्तियारप्राप्त विद्वानहरूले पनि बाइबलको यस नयाँ संस्करणको खूबै तारिफ गरे।” गत दशकको सुरु सुरुतिर रूसी भाषामा बाइबल अनुवाद गर्न माकारियोस तथा पाभास्कीले गरेको प्रयासलाई औंल्याउँदै उक्त अखबारले यस्तो टिप्पणी गऱ्यो: “त्यतिञ्जेल रूसमा स्लाभोनिक भाषामा मात्र बाइबल पढ्न सकिन्थ्यो र त्यो बाइबल पादरीवर्गले मात्र बुझ्नसक्थे।”
यहोवाका साक्षीहरूद्वारा माकारियोस बाइबलको विमोचनबारे यसै सालको सुरुतिर सेन्ट पिटर्सवर्गमा सम्पन्न पत्रकार सम्मेलनमा बताइएको थियो। स्थानीय दैनिक अखबार न्येफस्कोये भ्रेम्या-ले यस्तो टिप्पणी गऱ्यो: “यो संस्करणलाई रूस तथा सेन्ट पिटर्सवर्गको सांस्कृतिक जीवनमा अत्यन्तै महत्त्वपूर्ण ठान्नुपर्छ . . . भनी अख्तियारप्राप्त विद्वानहरूले जोड दिए। यस धार्मिक संगठनको क्रियाकलापबारे मानिसहरूको धारणा जे सुकै किन नहोस्, बाइबलको यस अनभिज्ञ अनुवादले पक्कै पनि ठूलो लाभ पुऱ्याउँछ।”
निस्सन्देह, परमेश्वरको लिखित वचन सर्वसाधारण जनताले पढ्न र बुझ्नसक्ने भाषामा पाउँदा परमेश्वर प्रेमीहरू सबै आनन्दित भएका छन्। संसारभरिका लाखौं रूसी भाषीहरूका लागि एउटा अर्को अनुवाद उपलब्ध भएकोमा विश्वभरिका बाइबल प्रेमीहरू खुशी भएका छन्।
[चित्र]
यस पत्रकार सम्मेलनमा माकारियोस बाइबल विमोचनको घोषणा गरिएको थियो
[पृष्ठ २३-मा भएको चित्र]
रूसी राष्ट्रिय पुस्तकालय जहाँ लुकेको धन फेला पऱ्यो
[पृष्ठ २३-मा भएको चित्र]
महान् पिटरले रूसी भाषामा बाइबल प्रकाशित गर्ने कोसिस गरे
[स्रोत
Corbis-Bettmann
[पृष्ठ २४-मा भएको चित्र]
गेरासिम पाभास्की, जसले रूसी भाषामा बाइबल अनुवाद गर्न योगदान पुऱ्याए
[पृष्ठ २५-मा भएको चित्र]
आर्किमेन्ड्राइट माकारियोस, जसको नाउँमा नयाँ रूसी बाइबल छापियो