सत्यले जीवन परिवर्तन गर्छ
आज थुप्रै मानिसहरूको जीवन कठिन मात्र होइन महा कठिन भएको छ। सुन्दा दुःख लाग्ला तर यो सत्य हो। के यस्ता मानिसहरूले आनन्द प्राप्त गर्न सक्लान् त? कोही कोही अपराधी भएका छन् र तिनीहरू आफ्ना छिमेकीहरूमाथि हमला गर्छन्। के तिनीहरू कहिल्यै समाजका इमानदार सदस्य बन्न सक्लान्? उक्त दुवै प्रश्नको जवाफमा सक्छन् भन्न सकिन्छ। मानिसहरू बदलिनसक्छन्। मानिसहरूको जीवन परिवर्तन हुनसक्छ। यस्तो कसरी हुनसक्छ, प्रेरित पावलले यो लेखे: “तिमीहरूको मनको परिवर्तनले तिमीहरू बदलियौ। औ परमेश्वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।”—रोमी १२:२.
“परमेश्वरका . . . सिद्ध इच्छा” भन्नेबित्तिकै पावलले उक्त शब्दहरू लेख्नुभन्दा २० वर्षअघि येशूले आफ्ना चेलाहरूलाई भन्नुभएको कुरा दिमागमा ताजा हुनसक्छ। येशूले भन्नुभएको थियो: “तिमीहरूले सत्य के हो, सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” (यूहन्ना ८:३२) येशूले “सत्य” भन्नुहुँदा ईश्वरप्रेरित जानकारी अर्थात् विशेषगरि बाइबलमा हाम्रोलागि सुरक्षित राखिएका परमेश्वरको इच्छा औंल्याउँदै हुनुहुन्थ्यो। (यूहन्ना १७:१७) के बाइबल सत्यले मानिसहरूलाई साँच्चै स्वतन्त्र तुल्याउँछ? के परमेश्वरको इच्छाबमोजिम जीवन यापन गर्दा जीवनशैली पक्कै परिवर्तन हुनसक्छ त? अवश्य सक्छ। आउनुहोस्, केही उदाहरणहरू हेरौं।
उद्देश्यसहितको जीवन
केही समयअघि, जिब्रलटार निवासी मोइसेस अत्यन्तै दुःखी थिए। तिनी भन्छन्: “म रक्स्याहा थिएँ र सडकमै सुत्थें। म खत्तम भएँ जस्तो लाग्थ्यो। मलाई कृपा गर्नुहोस् र भोलिको दिन देख्न नपरोस् भनेर रातैपिच्छे परमेश्वरलाई पुकार्थें। आखिर नालायक, बेकम्मा, परिवारविहीन र असहाय हुनु नै थियो भने किन मेरो जन्म भयो भन्दै परमेश्वरसँग विलाप गर्थें र धुरुधुरु रुन्थें। म बाँचेर के फाइदा भनेजस्तो लाग्थ्यो।” तब एउटा घटना घट्यो।
मोइसेस भन्दै जान्छन्: “परमेश्वरले मेरो प्रार्थना सुन्नुभएछ भनेर यहोवाका साक्षी रोबर्टोलाई भेटेपछि थाह पाएँ। रोबर्टोले एउटा बाइबल र एक प्रति बाइबल अध्ययन सहायक परमेश्वर हामीबाट के चाहनुहुन्छ?a दिनुभयो। म सुत्ने गरेको बेञ्चमा बसेर प्रत्येक दिन हामीले बाइबल अध्ययन गर्न थाल्यौं। एक महिनापछि रोबर्टोले मलाई यहोवाका साक्षीहरूको स्थानीय राज्यभवनको सभामा लग्नुभयो। चाँडै बाइबल सत्यले मेरो दृष्टिकोणमा ठूलो हेरफेर ल्यायो। त्यसपछि न सडकमा सुतें; न त रक्सी वा चुरोट नै पिएँ। मेरो जीवन बदलियो, र अहिले म हर्षविभोर छु। आशा छ, अब चाँडै बप्तिस्मा लिनेछु अनि यहोवाको साक्षी भएर उहाँको सेवा गर्नेछु।”
कस्तो गजबको परिवर्तन! अक्सर ज्ञानको कमीले गर्दा मानिसहरू आशाहीन हुन्छन्। परमेश्वर र उहाँका अद्भुत उद्देश्हरूबारे तिनीहरू अनभिज्ञ हुन्छन्। मोइसेसको सन्दर्भमा भन्ने हो भने तिनले प्राप्त गरेका ज्ञानले तिनलाई आफ्नो जीवनशैली परिवर्तन गर्ने बल र साहस प्रदान गऱ्यो। भजनरचयिताले परमेश्वरलाई गरेको यस प्रार्थनाको जवाफ मोइसेसले पाए: “तपाईंको ज्योति र तपाईंको सत्यता पठाउनुहोस्, तिनैले मलाई डोऱ्याऊन्, तिनलेनै मलाई तपाईंको पवित्र डाँडा र तपाईंको बासस्थानमा पुऱ्याऊन्।”—भजन ४३:३.
बेलिजका डान्यलको पनि त्यस्तै अनुभव छ। डान्यल सडकमा सुत्दैनथे किनकि तिनी प्रतिष्ठित जागिर खान्थे। तर तिनले २० वर्षदेखि मदिरा र लागूपदार्थको दुर्व्यसनसित लड्दै अनैतिक जीवन बिताइरहेका थिए। क्याथोलिक परिवारमा हुर्केबढेका भए तापनि डान्यलले जीवनको कुनै उद्देश्य नै देखेनन् र परमेश्वरको अस्तित्वबारे शंका गर्थे। कतै मदत पाइन्छ कि भनेर तिनले विभिन्न चर्चहरूमा दौडधूप गरे। तर आफूसँगै चर्च धाउने साथीहरूलगायत कुनै कुनै पादरीहरूसमेतले मदिरा तथा लागूपदार्थ दुर्व्यसन गरेको तिनले पनि थाह पाए। अर्कोतर्फ, तिनकी पत्नीले तिनलाई छोड्नै आँटेकी थिइन्।
निराश भएर डान्यल सुधारगृहतर्फ लागे। तथापि, त्यहाँबाट निस्केपछि मदत नपाएको खण्डमा आफू पुनः लागूपदार्थको दुर्व्यसनमा फस्छु भन्ने तिनलाई लागेको थियो। तर कस्तो मदत? मे १९९६ मा सुधारगृहबाट निस्केको लगत्तै दुई दिनपश्चात् डान्यलले यहोवाको साक्षीलाई भेटे। अनि उक्त साक्षीलाई तिनले यस्तो बिन्ती बिछ्याएर तीन छक पारे, “मलाई पनि बाइबलका कुराहरू सिकाउनुस् न।” डान्यलसँग हप्तामा दुईपल्ट बाइबल अध्ययन गर्न उक्त साक्षी राजी भए। अनि केही समय नबित्दै डान्यलले आफ्नो जीवन परमेश्वरको इच्छाबमोजिम ढाल्न थाले र पुराना साथीहरूको सट्टा मदिरा र लागूपदार्थ दुर्व्यसन नगर्ने तथा अनैतिकतादेखि परै रहने मसीही साथीहरूसँग संगत गर्न थाले। फलतः बाइबलले भनेको यो कुरा सत्य हो भनी डान्यलले बुझे: “बुद्धिमानीहरूको संगत गर्नाले बुद्धिमान् होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।” (हितोपदेश १३:२०) केही समयभित्रै तिनले भने: “आज जीवनमा पहिलो चोटि सफा अन्तस्करणको अर्थ बुझिरहेछु।” यसरी डान्यलको पनि जीवन परिवर्तन भयो।
पोर्टो रिकोमा एक व्यक्तिले निकै उल्लेखनीय परिवर्तन गरे। तिनी झ्यालखानामा थिए र थुप्रै मानिसहरूको ज्यान लिएकोले तिनी एकदमै खतरनाक भनेर चिनिन्थे। त्यस्तो व्यक्तिको जीवन पनि बाइबल सत्यले परिवर्तन गर्नसक्ला त? अवश्य। यहोवाको साक्षीले तिनलाई प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाका केही प्रतिहरू दिंदा तिनले तुरुन्तै अरू प्रति पनि मागे। तिनीसित बाइबल अध्ययन सुरु भयो र बाइबल सत्यले तिनको हृदयमा छाप पार्न थालेपछि तिनले गरेका परिवर्तनहरू अरूले प्रस्टै देख्न थाले। लामो कपाल काट्नु अनि झ्याप्प परेको दाढी खौरनु नै तिनी परिवर्तन भएको पहिलो प्रमाण थियो।
साँचो हृदयले पश्चात्ताप गरेर आफ्नो जीवनशैली परिवर्तन गर्नेहरूलाई परमेश्वर क्षमा गर्नुहुन्छ भनी बाइबल बताउँछ। पावलले यो लेखे: “अधर्मीहरू परमेश्वरको राज्यको हकदार हुँदैनन् भन्ने के तिमीहरूलाई थाह छैन? . . . तिमीहरूमा कोही कोही यस्तै थिए, तर . . . तिमीहरू पखालिएका . . . छौ।” (१ कोरिन्थी ६:९, ११) निस्सन्देह, यी शब्दहरूले उक्त मानिसलाई त्यसरी नै सान्त्वना दिए जसरी प्रेरित २४:१५ का यी शब्दहरूले दिए: “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ।” तिनी भन्छन्: “मृत जनहरूको पुनरुत्थान हुँदा म पनि त्यहीं हुन चाहन्छु। किनकि म, मैले ज्यान लिएका मानिसहरूसँग क्षमा माग्न चाहन्छु।”
नयाँ परिवार
अर्जेन्टिनामा बस्ने यहोवाका साक्षीहरूको पूर्ण-समय सेवक लुइसले एक दिन मार्मिक जीवन कथा भएको युवक भेटे। जन्मनासाथै आमाबाबुले त्यागेका हुनाले तिनी विभिन्न परोपकार संस्थाहरूहुँदो भौंतारिंदै हुर्के। करिब २० वर्षका भएपछि मुमाको ठेगाना थाह पाए र मुमासँगै बस्ने निर्णय गरे। तिनले खूब मेहनत गरे, निकै पैसा बचत गरे अनि आफ्नी मुमा भएको शहरतर्फ हिंडे। तिनको पैसा नसिद्धिएसम्म मुमाले सँगै राखिन्, त्यसपछि घरबाट निकालिदिइन्। यसरी निकालिंदा तिनले झन्डै आत्महत्यासमेत गरे।
तथापि, त्यसो हुनुअघि लुइसले उक्त युवकसँग बाइबल सत्यबारे कुराकानी गर्ने मौका पाए। तिनले बताएको सत्यमा यो आश्वासन पनि समावेश थियो: “मेरा बाबु र मेरी आमाले मलाई त्यागेका छन्, तर परमप्रभुले मलाई सह्माल्नुहुनेछ।” (भजन २७:१०) आफूलाई कहिल्यै नत्याग्नुहुने स्वर्गमा एक जना बुबा हुनुहुँदो रहेछ भनेर उक्त युवकले बुझे। अहिले तिनी नयाँ परिवार अर्थात् यहोवाको परिवारभित्र हुन पाएकोमा खुशीले गद्गद छन्।
त्यही देशका अर्को एक व्यक्तिले प्रहरीधरहरा मन परेको कुरा यहोवाको साक्षीलाई बताए। किन? किनकि त्यसले तिनको वैवाहिक जीवन टुक्रिनदेखि जोगायो। एक दिन, कार्यस्थलबाट आफ्नो बाटो मात्र के लागेका थिए तिनको नजर रद्दी टोकरीमा फालिएको प्रहरीधरहरा पत्रिकामा पुगेछ। पत्रिकाको शीर्षक ठूलठूलो अक्षरमा “पारपाचुके” लेखिएको थियो। तिनको वैवाहिक जीवन उथलपुथल भइरहेथ्यो अनि सम्बन्धविच्छेद गर्न तिनी र तिनकी पत्नीले कानुनी कदमसमेत चालिसकेका थिए। अतः तिनले त्यो पत्रिका खुरुक्क टिपेर सरसरती पढे। त्यसलाई घरमा लगेर पत्नीसँगै बसेर पनि पढे। उक्त दम्पतीले पत्रिकामा भएका बाइबल आधारित सल्लाहहरू जीवनमा उतार्ने प्रयास गरे। (एफिसी ५:२१–६:४) नभन्दै केही दिनभित्र तिनीहरूको सम्बन्ध निकै सुमधुर हुन थाल्यो। तिनीहरूले विवाहविच्छेदको कानुनी कागजात बदर गरे र हाल वैवाहिक दम्पतीको रूपमा एकसाथ बाइबल अध्ययन गरिरहेका छन्।
ऊरूग्वेका लोइस नामक अर्को व्यक्ति दुःखसागरमा डुबेका थिए। लागूपदार्थको दुर्व्यसन, प्रेतवाद, मद्यको दुरुपयोग जस्ता कुराहरूले तिनको जीवन अलपत्र पारेका थिए। अन्ततः लोइस अत्यन्तै हतोत्साहित भएर नास्तिक बने। एक मित्रले तिनलाई जीवन—कसरी सुरु भयो? विकासवाद वा सृष्टिबाट?b (अंग्रेजी) नामक पुस्तक दिए। फलतः केही समयसम्म यहोवाका साक्षीहरूसँग लोइसको सम्पर्क गाँस्न त गाँसियो तर दुई चार दिन नबित्दै तिनी पुनः मद्यपान र लागूपदार्थको दुर्व्यसनमा जाकिए। एक चोटि त अत्यन्तै आकुलव्याकुल भएर फोहरको थुप्रोमा थ्याच्च बसेको पनि पत्तै पाएनन् र त्यहीं तिनले प्रार्थना गरे। तिनलाई परमेश्वरको नाउँ थाह नभएको हुनाले “येशू ख्रीष्टका पितालाई” प्रार्थना गरे।
आफू बाँच्नुको कुनै उद्देश्य छ भने बताइदिनुहोस् भनेर तिनले परमेश्वरलाई प्रार्थना गरे। लोइस बताउँछन्: “भोलिपल्ट नै एक जना परिचित व्यक्तिले मलाई एउटा पुस्तक दिए। तिनले त्यो पुस्तक पढिसकेका थिए। कुन पुस्तक? प्रकाश—त्यसको चरमोत्कर्ष निकट!”c त्यस पुस्तकले तिनको मनमा उठेका प्रश्नहरूको जवाफ दियो। परमेश्वरलाई उपासना गर्न सिकाउने धर्म भेट्टाउन सकूँ भनेर तिनले पुनः प्रार्थनाद्वारा मदत मागे। कस्तो अचम्म! ढोकाको घण्टी बज्यो र बाहिर यहोवाका दुई जना साक्षीहरू पो ठिङ्ग उभिरहेका रहेछन्। तत्कालै लोइसले तिनीहरूसँग बाइबल अध्ययन गर्न थाले। तिनले चाँडचाँडो उन्नति गरे र हाल बप्तिस्माप्राप्त साक्षी हुन पाएकोमा गर्व गर्छन्। तिनी अहिले स्वच्छ जीवन यापन गर्छन् र जीवनको उद्देश्य प्राप्त गर्न अरूलाई पनि सहयोग गर्छन्। तिनको जीवनमा भजन ६५:२ का शब्दहरू सत्य साबित भएका छन्: “हे प्रार्थना सुन्नुहुने, तपाईंकहाँनै सबै प्राणी आउनेछन्।”
फिलिपिन्समा बस्ने एलेन विद्यार्थी आन्दोलनका सदस्य थिए। तिनी “भावी पीढीहरूबीच समानता ल्याउन सरकार ढाल्ने” उद्देश्य भएको संगठनसित सम्बद्ध थिए। तथापि, एक दिन तिनले यहोवाका साक्षीहरूलाई भेटे र मानवजातिका लागि परमेश्वरको उद्देश्य के रहेछ भनी बाइबलबाट सिके। तिनले सिकेको उद्देश्यमा यो ईश्वरप्रेरित प्रतिज्ञा पनि समावेश थियो: “थोरै बेरपछि, दुष्ट रहनेछैन। . . . तर नम्रहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।” (भजन ३७:१०, ११) एलेन भन्छन्: “हामी जुन कुराको निम्ति आन्दोलनमा उत्र्यौं, त्यो त वर्षौंअघि बाइबलमा प्रतिज्ञा गरिसकेको रहेछ भन्ने तुरुन्तै बुझें। हामीले उत्कटतासाथ खोजी गरेका सबै कुराहरू परमेश्वरको राज्यमा पूरा हुने रहेछ।” एलेन हाल परमेश्वरको राज्यलाई समर्थन गर्छन् र बाइबलमा विश्वास गर्न अरूलाई पनि मदत गरिरहेका छन्।
हो, परमेश्वरको वचनमा पाइने सत्य अर्थात् बाइबल सत्य पालन गर्दा मानिसहरूको जीवन परिवर्तन भएको छ। वास्तवमा, त्यो समय छिट्टै आउँदैछ जुन बेला जीवित बचेका सबै मानिसहरूले आ-आफ्नो जीवन परमेश्वरको इच्छाबमोजिम ढाल्नेछन्। त्यो कस्तो आमूल परिवर्तन हुनेछ! त्यसपछि यो भविष्यवाणी पूरा हुनेछ: “तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।”—यशैया ११:९.
[फुटनोटहरू]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
c वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।