के कारण केहीले धर्म परिवर्तन गर्दैछन्
थुप्रैको सोचाइमा धर्म भनेको औपचारिकता पूरा गर्ने माध्यम सिवाय केही होइन। सायद आइतबारको दिन आकलझुकल जाने, विवाह गर्ने र अन्त्येष्टी गरिने माध्यम। तर यस माध्यमले व्यक्तिविशेष कस्ता खाले व्यक्ति हुन् वा तिनलाई के थाह छ र के विश्वास गर्छन्, त्यो बताउँदैन। उदाहरणका लागि, डाँडाको उपदेश कसले दिएको हो, सो ५० प्रतिशत मसीही भनौंदाहरूलाई थाह नभएको तथ्य एउटा सर्वेक्षणले देखायो। तर गजब छ, तिनीहरूलाई थाह नभएको कुरा भारतका नामुद हिन्दू नेता मोहनदास गान्धीलाई समेत थाह थियो!
आफ्नो धर्मबारे एकदमै कम ज्ञान हुनेहरू धर्मबाट तर्केर जाँदा के अचम्म मान्नुपर्छ? अहँ, पर्दैन। तथापि, यस्तो हुनैपर्छ भन्ने पनि छैन। बाइबल सिक्न मदत स्वीकार्नेहरू बाइबल अध्ययन लाभकारी पाएर अक्सर छक्क परेका छन्। बाइबलले नै यसो भन्छ: “म परमप्रभु तेरा परमेश्वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्याउँछ।”—यशैया ४८:१७.
आध्यात्मिक भोक मेटाउन नपाएकाहरूले के गर्नुपर्छ? तिनीहरूले परमेश्वरको सेवा चटक्कै छोडिहाल्नु हुँदैन! बरु, तिनीहरूले बाइबल जाँचेर परमेश्वरले तिनीहरूका निम्ति के जुटाइदिनुभएको रहेछ, हेर्नुपर्छ।
जटिल प्रश्नहरूको जवाफ
बर्न्टले सात वर्षको हुँदा आमाको मृत्यु देखेका थिए।a बाल्यकालभरि तिनी सोच्ने गर्थे, ‘मेरी आमा कहाँ हुनुहुन्छ होला? किन म उहाँको न्यानो काखबाट छुट्टिनुपरेको?’ किशोर भएपछि बर्न्ट चर्चका कर्मठ सदस्य भए। मानिसजातिको दुःखकष्टदेखि चिन्तित भएर विकासोन्मुख मुलुकमा गई स्वयंसेवा गर्ने सुर तिनले कसे। चर्चबाट आफ्नो प्रश्नको सन्तोषजनक जवाफ नपाएकाले अझै पनि तिनी खिन्न नै थिए।
त्यत्तिकैमा, एक जना साथीसित बर्न्टको कुराकानी भयो। तिनी यहोवाका साक्षी थिए। त्यस युवकले बर्न्टकी आमा अचेत अनि मृत्युमा निदाएकी छिन् भनेर बाइबलबाट देखाए। यस कुरालाई समर्थन गर्ने थुप्रै बाइबल पदहरू बर्न्टले सिके। जस्तै, उपदेशक ९:५ जहाँ यस्तो लेखिएको छ: “मरेकाहरूले ता केही पनि जान्दैनन्।” तसर्थ, आफ्नी आमाले कुनै पापमोचनस्थान वा त्योभन्दा पनि खराब ठाउँमा कष्ट भोगिरहेकी होलिन् भनेर बर्न्टले चिन्ता लिनुपर्ने कारणै थिएन। प्रायजसो सबै धर्मले आत्मा अमर हुन्छ भन्ने सिद्धान्त सिकाए तापनि मानिस मरिसकेपछि पनि जीवित रहने अमर अंश हुँदैन भनेर बाइबलमा बताइएको बर्न्टले देखे।
बर्न्टले मृतकहरूको अद्भुत प्रत्याशाबारे पनि थाह पाए। तिनी आफैले बाइबलको प्रेरितको पुस्तकमा यसो लेखिएको पढे: “धर्मी र अधर्मीहरूसमेतको पुनरुत्थान हुन्छ।” (प्रेरित २४:१५) यो पुनरुत्थान परमेश्वरले पुनः प्रमोदवन बनाउनुहुने यसै पृथ्वीमा हुनेछ भनेर थाह पाउँदा तिनी साह्रै रोमाञ्चित भए!—भजन ३७:२९; प्रकाश २१:३, ४.
तत्कालै, साँचो बाइबल ज्ञानले बर्न्टको आध्यात्मिक खाँचो पूरा गऱ्यो। बर्न्टले धर्मसँग हार मानेनन्। बरु, तिनले तिनको आध्यात्मिक भोक तृप्त पार्न नसक्ने चर्चलाई त्यागे र बाइबलमा आधारित मजबुत उपासना अंगाले। तिनी भन्छन्: “त्यो १४ वर्षअघिको कुरा हो र चर्च छोडेकोमा मलाई पटक्कै पछुतो छैन। अहिले मलाई सृष्टिकर्ताले दुःखकष्ट ल्याउनुभएको होइन रहेछ भनेर थाह छ। यस रीतिरिवाजको देव शैतान हो र हामीलाई घेरिराखेका अवस्थाहरूको दोषी त्यो नै हो। तर, शैतानको संसारले गरेको हानिनोक्सानीलाई परमेश्वरले चाँडै हटाउनुहुनेछ। मेरी आमा पनि पुनरुत्थान हुनुहुनेछ। आहा, त्यो क्षण कस्तो रमाइलो हुनेछ!”
संयोगवश, विदेशमा गई अरूलाई मदत गर्ने बर्न्टको लक्ष्य साकार भएको छ। तिनी मानिसहरूको दुःख हटाउने एउटै मात्र माध्यम अर्थात् परमेश्वरको राज्यबारे विदेशमा अरूलाई सिकाउँछन्। परमेश्वरले मानव दुःखकष्ट चाँडै निमिट्यान्न पार्नुहुनेछ भनेर बर्न्टजस्तै लाखौंले सिकेका छन्। आफ्नो आध्यात्मिक खाँचो टारिदिने धर्म फेला परेकोमा तिनीहरू पुलकित छन्।—मत्ती ५:३.
जीवनको उद्देश्य के हो?
पश्चिमी मुलुकहरू झन् झन् धर्मनिरपेक्ष बन्दै गएकाले थुप्रैको मनमा प्रश्न उठ्छ, ‘जीवनको उद्देश्य के हो?’ यसको जवाफ माइकलले पाएजस्तै हामी सबैले बाइबलमा पाउनसक्छौं। सन् १९७० दशकको मध्यतिरको कुरा हो। माइकल आतंकवादी गिरोहमा सामेल हुन चाहन्थे। तिनको जीवनको एउटै लक्ष्य थियो, आफूले अन्यायी पूँजीवादी प्रणालीको दोषी ठहराएकाहरूलाई खेदो गर्नु। तिनी भन्छन्, “बन्दुक नलिई कहिल्यै घरबाहिर निस्कँदैनथें। मेरो योजना नै यथासम्भव धेरैभन्दा धेरै उच्च राजनीतिज्ञ र पूँजीवादीहरूलाई मार्नु थियो। यसैमा मैले आफ्नो जीवन सुम्पेको हुन्थें।”
माइकल चर्च धाउँथे। तर चर्चका कसैले पनि तिनलाई जीवनको साँचो उद्देश्यबारे बताउनसकेन। तसर्थ, यहोवाका साक्षीहरू घरमा आएर तिनका प्रश्नहरूका जवाफ बाइबलबाट देखाउँदा माइकलले ध्यान लगाएर सुने। यहोवाका साक्षीहरूको स्थानीय राज्यभवनमा उपासना गर्न तिनी सभाहरू धाउन थाले।
माइकलले बाइबलमा भेट्टाएको नयाँ रुचिप्रति तिनका साथीहरूले कुतूहल देखाए। माइकलले तिनीहरूलाई आग्रह गरे, “यो आइतबार सभामा जाऔं। एकछिन बस्नुहोस्। मन नपरेमा घर फर्कनुहोस्।” साँच्चि नै, बाइबल आधारित ४५ मिनेटको भाषणपछि तिनका अधिकांश साथीहरू भवनबाट बाहिरिए। तर सुजन नाउँ गरेकी युवती चाहिं बसिरहिन्। त्यस युवती त्यहाँ सुनेको कुराले मोहित भइन्। पछि माइकल र सुजन वैवाहिक बन्धनमा बाँधिए र यहोवाका साक्षीहरूको हैसियतमा बप्तिस्मा लिए। माइकल भन्छन्, “हामी पृथ्वीमा हुनुको उद्देश्य अहिले मलाई थाह भएको छ। हामीलाई यहोवाले सृजनुभएको हो। हाम्रो जीवनको उद्देश्य भनेकै उहाँलाई चिनेर उहाँको इच्छा गर्नु हो। त्यसले नै साँचो सन्तुष्टि दिन्छ!”
माइकलको जस्तो दृढ विश्वास लाखौंको छ। तिनीहरू बाइबलका यी शब्दहरू हृदयंगम गर्छन्: “कुराको अन्त यही हो—कि तैंले सबै कुरा सुनिस्। परमेश्वरको भय राख्, र उहाँका आज्ञा पालन गर्। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।”—उपदेशक १२:१३.
जीवनमा आइपर्ने समस्याहरूको सामना गर्ने
हामी सबै २ तिमोथी ३:१ को यो भविष्यवाणी पूरा भएको महसुस गर्छौं: “आखिरी दिनमा डरलाग्दो समय आउनेछ।” यी “डरलाग्दो समय[का]” समस्याहरूबाट कोही पनि उम्कनसक्दैन। तर त्यसको सामना गर्न बाइबलले हामीलाई मदत गर्छ।
विवाहित दम्पती स्टीभन र अलाइभलाई विचार गर्नुहोस्। तिनीहरूले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन थाल्दा अरू थुप्रैको जस्तो तिनीहरूका पनि वैवाहिक समस्याहरू थिए। स्टीभन बताउँछन्, “हामी एकअर्कादेखि टाढिंदै गइरहेका थियौं। हाम्रा आ-आफ्नै लक्ष्य र रुचिहरू थिए।” तिनीहरूलाई एक सूत्रमा बाँधिन केले मदत दियो? स्टीभन अझ भन्छन्, “हाम्रो जीवनमा बाइबलका सिद्धान्तहरू कसरी लागू गर्नसक्छौं भनेर यहोवाका साक्षीहरूले हामीलाई देखाए। जीवनमा पहिलोपल्ट, निःस्वार्थी हुनु र अरूको ख्याल गर्नुको अर्थ बुझ्यौं। बाइबल सिद्धान्तहरूको प्रयोगले हामीलाई मिलेर बस्न मदत गऱ्यो। अहिले हामी आनन्दित र मजबुत वैवाहिक जीवन बिताइरहेका छौं।”
परमेश्वरसित घनिष्ठ
हालैको आमसर्वेक्षणअनुसार, ९६ प्रतिशत अमेरिकीहरू परमेश्वरमा आस्था राख्छन् र तिनीहरूमध्ये अधिकांशले उहाँलाई प्रार्थना गर्छन्। यद्यपि, अर्को सर्वेक्षणले के देखाउँछ भने आधा शताब्दीभित्रमा अहिले चर्च र सभाघरमा उपस्थित हुने व्यक्तिहरूको संख्या सबैभन्दा कम भएको छ। झन्डै ५८ प्रतिशत अमेरिकीहरूले बताएअनुसार तिनीहरू महिनामा एकपल्ट वा त्योभन्दा कम चर्च जाने गर्छन्। कुरा स्पष्ट छ, धर्मले तिनीहरूलाई परमेश्वर समीप पुऱ्याउनसकेको छैन। अनि यो समस्या संयुक्त राज्यमा मात्र होइन।
लिन्डा बाभरीयामा हुर्किन्। तिनी क्याथोलिक धर्म मान्थिन् र सधैं प्रार्थना पनि गर्थिन्। तर तिनी भविष्य सम्झेर डराउँथिन् पनि। मानिसको लागि परमेश्वरको उद्देश्यबारे तिनलाई केही थाह थिएन। लिन्डा १४ वर्षकी हुँदा यहोवाका साक्षीहरूसित तिनको भेट भयो। त्यसबारे तिनी यसरी बताउँछिन्: “तिनीहरूको कुरा चाखलाग्दो लागेकोले दुइटा बाइबल अध्ययन सहायक लिएँ र तुरुन्तै पढ्न थालें।” त्यसको दुई वर्षपछि लिन्डाले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालिन्। तिनी भन्छिन्, “बाइबलबाट परमेश्वरबारे सिकेको प्रत्येक कुरा अर्थपूर्ण थियो।” लिन्डाले आफू धाउने चर्चबाट राजीनामा दिइन् र १८ वर्षकी हुँदा यहोवाका साक्षीको हैसियतमा बप्तिस्मा लिइन्।
कुन कुराले लिन्डालाई धर्म परिवर्तन गर्न उत्प्रेरित गऱ्यो? तिनी बताउँछिन्: “म धाउने चर्चले मलाई परमेश्वरको अस्तित्व छ भनेर बुझ्ने मदत दियो र उहाँमा विश्वास गर्न सिकें। तर उहाँ व्यक्तित्वहीन र टाढा हुनुहुन्थ्यो। बाइबल अध्ययनले परमेश्वरप्रतिको मेरो विश्वासलाई पक्का मात्र बनाएन तर उहाँलाई चिन्न र प्रेम गर्न पनि मलाई सिकायो। अहिले परमेश्वरसित मेरो अमूल्य व्यक्तिगत सम्बन्ध छ, जुन अरू कुनै पनि कुराभन्दा किम्मती छ।”
साँचो धर्म सार्थक हुन्छ!
के तपाईंको धर्मले तपाईंलाई आध्यात्मिक निर्देशन दिन्छ र जीवनमा आइपर्ने समस्याहरूको सामना गर्न बाइबलले कसरी मदत दिनसक्छ भनेर देखाउँछ? के त्यसले भविष्यको निम्ति बाइबलको आशाबारे सिकाउँछ? के त्यसले तपाईंलाई सृष्टिकर्तासित साँचो बाइबल ज्ञानमा आधारित घनिष्ठ व्यक्तिगत सम्बन्ध राख्न लगाउँछ? यसो गर्दैन भने, हरेस नखानुहोस्। धर्मलाई वास्तै गर्न छोड्नुभन्दा बाइबलमा ठोस आधार भएको उपासनाको खोजी गर्नुहोस्। त्यसपछि, तपाईं बाइबलको पुस्तक यशैयामा भविष्यवाणी गरिएकाहरूजस्तै हुनुहुनेछ: “यसैकारण परमप्रभु भन्नुहुन्छ, ‘हेर, मेरा दासहरूले खानेछन्, . . . मेरा दासहरूले पिउनेछन्, . . . मेरा दासहरूले हर्ष मनाउनेछन्, . . . मेरा दासहरू हृदयमा आनन्द भएकाले गाउनेछन्।’ ”—यशैया ६५:१३, १४.
[फुटनोट]
a यस लेखमा केही नाउँहरू परिवर्तन गरिएका छन्।
[पृष्ठ ४-मा भएको चित्र]
परमेश्वरलाई चिन्न र प्रेम गर्न बाइबलले हामीलाई मदत गर्छ