जब ढुंगाजस्तो कठोर हृदय पग्लन्छ
सन् १९८९ मा पोल्याण्डस्थित यहोवाका साक्षीहरूले धार्मिक संगठनको रूपमा कानुनी मान्यता पाए। मसीही तटस्थताको लागि थुनिएका साक्षीहरू बिस्तारै बिस्तारै छोडिए। तर तिनीहरूसित बाइबलबारे अझ धेरै कुरा सिक्न चाहने थुप्रै सहकैदीहरू भने थुनामै छोडिए। यस्तै एउटा थुनामा कुनै समय कठोर हृदय हुनेहरूलाई परमेश्वरको वचनको शक्तिले कोमल तुल्याउन यहोवाका साक्षीहरूले गरेको प्रयासबारे यहाँ उल्लेख गरिएको छ।
पोल्याण्डको दक्षिणपश्चिममा १२,००० जनाको एउटा शहर, भ्वउफमा २०० वर्ष पुरानो सुधारगृह छ, जहाँ पोल्याण्डभरिका सबैभन्दा खतरनाक अपराधीहरूमध्ये केही थुनामा राखिन्छन्। आफ्नो कामले आधिकारिक मान्यता पाएदेखि यहोवाका साक्षीहरू त्यहाँ थुनामा भएका सहकैदीहरूलाई परमेश्वरको राज्यको सुसमाचार पुऱ्याउन प्रयासरत छन् र तिनीहरूले बडो उत्साहसाथ यसो गरिरहेका पनि छन्।
फेब्रुअरी १९९० मा पोल्याण्डका झ्यालखानाका सबै सञ्चालकहरूलाई न्याय मन्त्रालयले पठाएको पत्रले यसको लागि बाटो खुल्न गएको थियो। वाच टावर साहित्य प्राप्त गर्न चाहने वा यहोवाका साक्षीहरूलाई भेट्न चाहने कुनै पनि कैदीलाई “नरोक्नू” भनी त्यस पत्रमा बताइएको थियो। निकै वर्ष थुनामा परेको साक्षीहरूले त्यहाँका थुप्रै कठोर अभियुक्तहरूलाई राम्ररी चिनेका थिए। तथापि, सहकैदीहरूको कठोर हृदयलाई बाइबलको सच्चाइले कोमल पार्न आफूले गरेका प्रयासमा यहोवाले आशिष् दिनुहुनेछ भनी तिनीहरूले यहोवामा भर गरे।
काम सुरु गर्ने
भ्वउफको झ्यालखाना जाने अनुमति पाएका, लगभग ४० किलोमिटर पर पर्ने भ्रोत्सल्फ शहरका भाइ चेस्वफ “कार्यक्रम सुरु गर्न गाह्रो थियो” भन्छन्। “हाम्रो ‘धार्मिक सेवाले’ कैदीहरूलाई फाइदा गर्छ भनेर झ्यालखानाका अधिकृतहरूलाई मनाउन पटक पटक लामो छलफल गर्नुपऱ्यो।”
परिस्थितिलाई जटिल पार्न “उच्च पदाधिकारीले यस धार्मिक सेवालाई अभियुक्तहरूले भौतिक फाइदा लिने आड मात्र बनाएका भनेर ढिपी गरे” चेस्वफका सहकर्मी पाभ्वे सम्झन्छन्। तथापि, खतरनाक मानिने तीन जना अपराधीहरू १९९१ मा बप्तिस्मा लिन तयार हुँदा झ्यालखानाका अधिकृतहरूको मनोवृत्ति बद्लियो र सहयोगी भाव पनि बढ्यो।
चेस्वफ बेलिबिस्तार लगाउँछन्, “सुरुमा त हामीले अभियुक्तहरू, तिनीहरूलाई थुनामा भेट्न आउने नातेदारहरूलगायत सुधारगृहका कामदारहरूलाई साक्षी दियौं। त्यसपछि हामीलाई सुसमाचार प्रचार गर्न प्रत्येक वार्डमा जाने अनुमति दिइयो, जुन असामान्य कुरा हो। अनि चासो दिने पहिलो व्यक्तिहरू भेट्टाएपछि बाइबल अध्ययन गर्न र मसीही सभाहरू सञ्चालन गर्न हामीलाई सानो हल प्रयोग गर्न पनि दिइयो।” हो, यहोवाले ढुंगाजस्तो कठोर हृदय भएकाहरूका लागि पनि बाटो खोलिदिनुभयो।
प्रभावकारी शैक्षिक कार्यक्रम
छिटै त्यो सानो हल त निकै सानो पो हुन थाल्यो। बप्तिस्मा पाएका कैदी भाइहरू र बाहिरबाट आएका भाइहरूले प्रचार कार्यमा भाग लिन थाल्दा ५० जना भन्दा बढी अभियुक्तहरू सभाहरूमा उपस्थित हुन थाले। एक जना स्थानीय प्राचीन भन्छन्, “विगत तीन वर्षदेखि हामीले त्यहाँ सबै सभाहरू सञ्चालन गर्दै आएका थियौं र कैदीहरू यो साप्ताहिक सभाहरूमा नियमित तवरले उपस्थित हुन्थे।” त्यसकारण, मे १९९५ मा तिनीहरूलाई ठूलो हल प्रयोग गर्न दिइयो।
झ्यालखानामा सञ्चालन गरिने सभाहरूमा को को आउनसक्छन्, त्यो जिम्मेवार भाइहरू कसरी निर्णय गर्छन्? भाइ चेस्वफ र भाइ जड्ज्शवाफ बताउँछन्, “सच्चाइमा निष्कपट चासो दिने कैदीहरूको एउटा सूची हामीसित छ। अभियुक्तले उन्नति गरेन वा कुनै ठोस कारणबिना नै सभामा उपस्थित भएन भने उसले यी प्रबन्धहरूप्रति त्यति मूल्यांकन नगरेको बुझिएमा र हामी उसको नाउँ काटेर झ्यालखानाका सञ्चालकलाई खबर गर्छौं।”
बाइबल अध्ययन गर्दा भाइहरू ती कैदीहरूलाई सभाहरूका लागि कसरी राम्ररी तयारी गर्ने र हाम्रा साहित्यहरूलाई कसरी प्रभावकारी ढंगमा प्रयोग गर्ने, त्यो पनि सिकाउँछन्। अतः सहकैदीहरू सभाहरूमा आउँदा राम्ररी तयारी गरेर आएका हुन्छन् र नहिचकिचाई सभामा भाग लिन्छन्। तिनीहरू प्रोत्साहनदायी टिप्पणी दिन्छन्, कुशलतापूर्वक बाइबल प्रयोग गर्छन् र सल्लाह आफूमा प्रयोग गर्दै टिप्पणी गर्दा अक्सर ‘मैले यसो वा त्यसो गर्नैपर्छ भनेर बुझें’ भन्छन्।
मण्डलीका सचिव बताउँछन्, “भ्वउफ झ्यालखानामा जम्माजम्मी २० वटा बाइबल अध्ययनहरू सञ्चालन गरिन्छन्। तिनीहरूमध्ये आठ जनासित प्रकाशक भइसकेका तीन जना कैदीहरूले अध्ययन गरिरहेका छन्।” ती आठ जना कैदी प्रकाशकहरूले वार्डमा र झ्यालखानाको हाताभित्र ओहरदोहर गर्दा प्रचार गरेकोले नतिजा राम्रो पनि भएको छ। उदाहरणका लागि, सेप्टेम्बर १९९३ देखि जून १९९४ को दस महिनाभित्र तिनीहरूले २३५ वटा पुस्तक, झन्डै ३०० वटा ठूला पुस्तिका अनि १,७०० वटा पत्रिकाहरू वितरण गरे। हालै झ्यालखानाका दुई जना अधिकृतहरूले पनि बाइबल अध्ययनको निम्ति आग्रह गरेका छन्।
विशेष सम्मेलनले आनन्दित तुल्याउँछ
समयको दौडान, यो शैक्षिक कार्यक्रममा अर्को थोक थपियो र त्यो थियो विशेष सम्मेलन। परिभ्रमण निरीक्षक तथा अन्य योग्य भाइहरू झ्यालखानाको व्यायामशालामा क्षेत्रीय सम्मेलन तथा एक-दिने विशेष सम्मेलन कार्यक्रमहरूका मुख्य मुख्य भागहरू प्रस्तुत गर्थे। पहिलो विशेष सम्मेलन अक्टोबर १९९३ मा आयोजना गरिएको थियो। उक्त सम्मेलनमा पचास जना कैदीहरू उपस्थित थिए भने कुल उपस्थिति १३९ थियो र “भ्रोत्सल्फबाट महिलाहरू तथा स-साना केटाकेटीहरूलगायत सम्पूर्ण परिवारै आएका थिए” भनी स्वभो पोल्स्की अखबारले रिपोर्ट गऱ्यो। सम्मेलन कार्यक्रमको मध्यान्तरमा बहिनीहरूले तयार पारेको खाना खाने र असल मसीही संगतिको आनन्द उठाउने मौका पनि मिल्यो।
त्यसपछि अरू सातवटा विशेष सम्मेलनहरू आयोजना गरिसकिए र यसबाट झ्यालखानामा भएकाहरू मात्र होइन तर बाहिरकाहरू पनि लाभान्वित भए। एउटी मसीही बहिनीले अहिले शहरमा बसिरहेका भ्वउफका पूर्व-कैदीलाई भेट्दा सुरुमा त अलि हिचकिचाए। तर फलानो कैदी अहिले साक्षी भएको छ भनेर बताइँदा तिनले पत्याउनै सकेनन् र सोधे: “त्यो हत्यारा अहिले साक्षी भयो भन्नुभएको?” फलतः त्यस मानिस बाइबल अध्ययन गर्न राजी भए।
घतलाग्दो परिवर्तन
यो विस्तृत शैक्षिक कार्यक्रमले कैदीहरूको ढुंगाजस्तो कठोर हृदयलाई के साँच्चै कोमल पाऱ्यो त? आउनुहोस्, तिनीहरूकै मुखबाट सुनौं।
“सानै छँदा म बेवारिस त्यागिएकोले मैले मेरा आमाबाबुलाई कहिल्यै चिनिनँ र कसैको माया नपाउँदा मलाई असह्य हुन्थ्यो,” गम्भीर स्वभावका जड्ज्शवाफ स्वीकार्छन्। “कलिलै उमेरदेखि अपराध मात्र गर्थें र पछि गएर हत्या नै गरें। दोषी भावनाले गर्दा आत्महत्या गर्ने विचारसमेत आउँथ्यो। साँचो आशा कता पाइएला भनेर मैले खोजें। पछि १९८७ मा मैले प्रहरीधरहरा पत्रिका पाएँ। त्यसबाट मैले पुनरुत्थान र अनन्त जीवनको आशाबारे थाह पाएँ। सबै कुरा गुमिहालेको त रहेनछ नि भन्ने सम्झँदै मैले आत्महत्या गर्ने विचार त्यागें र बाइबल अध्ययन गर्न थालें। अहिले मैले यहोवा र भाइहरूबाट मायाको अर्थ बुझ्न पाएको छु।” यस पूर्व-हत्याराले १९९३ देखि जेलमा सेवकाई सेवक र सहायक अग्रगामीको सेवा गरेका थिए र गत वर्षदेखि तिनी नियमित अग्रगामी भए।
अर्कोतिर टमसले बाइबल अध्ययन सहजै स्वीकारे। “तर त्यो निष्कपट चासो थिएन,” तिनी स्वीकार्छन्। “यहोवाका साक्षीहरूको विश्वासबारे अरूलाई बताउँदा म शान देखाउन चाहन्थें, त्यसैले मात्र म अध्ययन गर्दैथिएँ। मैले बाइबल सच्चाइ सिकेर खासै प्रगति पनि गरिरहेको थिइनँ। एकदिन मैले खुब विचार गरें र मसीही सभामा गएँ। बप्तिस्मा प्राप्त कैदीहरूले त्यहाँ मेरो हार्दिक स्वागत गरे। आफूले पाएको ज्ञानको शान देखाउनुको साटो मैले मेरो कठोर हृदयलाई कोमल पार्नुपर्ने र मन परिवर्तन गर्ने कोसिस गर्नुपर्ने रहेछ भनेर बुझें।” त्यसबेलादेखि टमसले नयाँ मसीही व्यक्तित्व धारण गर्न थाले। (एफिसी ४:२२-२४) आज, तिनी बप्तिस्मा प्राप्त समर्पित साक्षी भइसकेका छन् र प्रत्येक वार्डमा गएर प्रचार गर्न पाउँदा रमाउँछन्।
पुराना साथीहरूको दबाब
झ्यालखानामा बाइबल सच्चाइ सिक्नेहरूले वार्डका पुराना साथीहरू र झ्यालखानाका अधिकृतहरूको असह्य दबाब भोग्नुपऱ्यो। तिनीहरूमध्ये एक जना सम्झँदै यसो भन्छन्: “मेरो सधैं गिल्ला अनि उपहास गरिन्थ्यो। तर मैले भाइहरूले भन्नुभएका प्रोत्साहनदायी शब्दहरू सम्झिरहें। उहाँहरूले मलाई ‘यहोवालाई प्रार्थना गरिरहनुहोस्, बाइबल पढ्नुहोस् अनि तपाईंको मन शान्त हुनेछ’ भन्नुभएको थियो। त्यसो गर्दा साँच्चै सजिलो भयो।”
“मेरा सँगी कैदीहरू मनै छियाछिया पार्ने बोली बोल्थे,” बप्तिस्मा प्राप्त हट्टाकट्टा भाइ रिशार्द भन्छन्। ‘तँ सभाहरूमा जानसक्छस्, तर हामीभन्दा अलग र हामीभन्दा असल देखिने कोसिस चाहिं नगर्, बुझिस्?’ भन्दै तिनीहरू मलाई धम्काउँथे। बाइबल सिद्धान्तअनुरूप जीवनमा परिवर्तनहरू गर्दा मैले दुःख भोग्नुपऱ्यो। तिनीहरू मेरो खाट पल्टाइदिन्थे, मेरा बाइबल साहित्यहरू जताततै हुर्याइदिन्थे र वार्डमा म बस्ने ठाउँ फोहर पारिदिन्थे। आफैलाई वशमा राख्नसक्न यहोवालाई प्रार्थना गरेर बल माग्थें। त्यसपछि चुपचाप आफ्नो ठाउँ सफा पार्न र मिलाउन थाल्थें। केही समयपछि यस्तो व्यवहार बन्द भयो।”
अन्य केही बप्तिस्मा प्राप्त कैदीहरू बताउँछन्, “हामीले यहोवाको सेवा गर्ने अठोट गरेको सँगी कैदीहरूले थाह पाएपछि तिनीहरू अर्कै तरिकाले दबाब दिन थाल्छन्। तिनीहरूले अक्सर ‘तैंले त पिउनु, चुरोट र अरू थोकको सर्को तान्नु वा झूट बोल्नु हुँदैन भनेर सम्झेको छस् कि छैनस्,’ भन्नसक्छन्। यस्तो दबाबले आत्मसंयमी हुन मदत गर्छ र कुनै पनि दुर्व्यसन वा लागू पदार्थबाट तुरुन्तै मुक्त होइन्छ। यसले आत्माको फल खेती गर्न पनि मदत गर्छ।”—गलाती ५:२२, २३.
परमेश्वरको समर्पित सेवकहरू हुने
झ्यालखानाका अधिकृतहरूको अनुमति पाएपछि १९९१ को वसन्त ऋतुमा पहिलो पटक व्यायामशालामा बप्तिस्मा लिइयो। जड्ज्शवाफ बप्तिस्मा लिन पाएकोमा दंग थिए। त्यस अवसरमा बाह्र जना सहकैदीहरू उपस्थित थिए र मण्डलीबाट २१ जना भाइबहिनीहरू आएका थिए। त्यो सभाले कैदीहरूमा सकारात्मक प्रभाव पाऱ्यो। तिनीहरूमध्ये केहीले यस्तो उल्लेखनीय उन्नति गरे कि, दुई जना त लगत्तै अर्को वर्ष निमज्जित भए। दुइ वर्षपछि, १९९३ मा दुइ पटक बप्तिस्मा दिइयो र थप सात जना अभियुक्तले यहोवाप्रति समर्पणलाई प्रतिकात्मक रूप दिए!
डिसेम्बरमा भएको बप्तिस्माबारे रिपोर्ट गर्दै स्थानीय दैनिकी भेइकर्ड भोत्रस्वाभ्या-ले यसो भन्यो: “व्यायामशालामा मानिसहरूको ओहिरो लागिरहेको थियो, तिनीहरू सबै आपसमा हात मिलाउँदै थिए। त्यहाँ कोही पनि अपरिचित थिएनन्। तिनीहरू एउटा ठूलो परिवारसरह थिए, सोचाइ र जीवनशैली अनि एक मात्र परमेश्वर यहोवालाई उपासना गर्ने सम्बन्धमा एकताबद्ध थिए।” त्यतिखेर त्यो “एउटा ठूलो परिवार[मा]” ५० जना अभियुक्तहरूसमेत गरी १३५ जना थिए। आउनुहोस्, तिनीहरूमध्ये केहीसित भेटघाट गरौं।
जूनमा बप्तिस्मा लिएका यर्जी बताउँछन्: “बाइबल सच्चाइबारे वर्षौं अघि नै थाह पाएको भए तापनि मेरो हृदय ढुंगाजस्तो कठोर थियो। जालसाजी, पहिलो श्रीमतीसितको पारपाचुके, क्रिस्टीन्यासितको अवैध सम्बन्ध, विवाह नगरी जन्मेको सन्तान अनि बारम्बार झ्यालखानामा आउनेजाने, मेरो जीवन यस्तै थियो।” थेत्तर अपराधीहरू झ्यालखानामा नै यहोवाको साक्षी बनेको देखेर तिनले आफैलाई सोध्न थालेछन्: ‘के म पनि एक असल व्यक्ति हुन सक्दिन र?’ तिनले बाइबल अध्ययनको लागि आग्रह गरेछन् र सभाहरू धाउन थालेछन्। तथापि, तिनले आफ्नो लोक अभियोक्ताबाट क्रिस्टीन्या तीन वर्षअघि नै यहोवाको साक्षी भइसकिन् भनेर थाह पाएपछि तिनको जीवन साँच्चै परिवर्तन भयो। “म त असाध्यै छक्क परें!” यर्जी भन्छन्। “मैले सोचें, ‘अनि म नि? म के गरिरहेछु?’ यहोवाको अनुमोदन पाउन मैले मेरो जीवनमा काँटछाँट गर्नैपर्छ भनेर बुझें।” फलतः क्रिस्टीन्या र ११ वर्षकी छोरी मार्जेनासित झ्यालखानामा सुखद् मिलन भयो। केही समय नबित्दै तिनीहरूले आफ्नो विवाह वैध गरे। झ्यालखानामै भए तापनि जीवनको उतारचढाउ सहँदै यर्जी आफैले हालै सांकेतिक भाषा सिके। अतः तिनी बहिरा कैदीहरूलाई मदत गर्न सकेका छन्।
प्राथमिक विद्यालयमा छँदादेखि नै मीरोस्वाफ अपराधिक गतिविधिमा लागिसकेका थिए। साथीहरूले जे गरिरहेका छन्, त्यो उसलाई साह्रै मन पर्थ्यो र चाँडै उसले पनि त्यसै गर्न थाले। उसले थुप्रैलाई लुटपिट गरेको थियो। त्यसपछि ऊ थुनामा पऱ्यो। “थुनामा पर्दा पादरीसित मदत मागें,” मारोस्वाफ स्वीकार्छन्। “तर म असाध्यै निराश भएँ। त्यसकारण विष खाएर मर्ने निर्णय गरें।” आत्महत्या गर्ने सुर गरेकै दिन तिनी अर्कै वार्डमा सारिए। त्यहाँ तिनले जीवनको उद्देश्यबारे बताउने एक प्रति प्रहरीधरहरा भेट्टाए। “त्यसमा भएको सरल तथा सुस्पष्ट जानकारी मैले खोजेकै जस्तो थियो,” तिनी अझै भन्छन्। “अब म बाँच्न चाहन्थें! अतः मैले यहोवालाई प्रार्थना गरें र बाइबल अध्ययन गराउन साक्षीहरूलाई आग्रह गरें।” तिनले आफ्नो बाइबल अध्ययनमा द्रुत प्रगति गरे र १९९१ मा बप्तिस्मा लिए। प्रत्येक वार्डमा गएर प्रचार गर्ने विशेषाधिकार पाएकाले अहिले तिनी झ्यालखानामा सहायक अग्रगामी गर्दैछन्।
अहिलेसम्ममा जम्माजम्मी १५ जना कैदीहरूले बप्तिस्मा लिइसकेका छन्। तिनीहरूको झ्यालखानाको सजाय कुल मिलाएर २६० वर्ष छ। तिनीहरूमध्ये कतिपयलाई त जेल-सजाय पूरा हुनु अगावै छोडियो। एक जना कैदीले २५ वर्षको जेल-सजाय भोग्नुपर्थ्यो तर तिनको सजाय १० वर्ष कम गरियो। झ्यालखानामा छँदा चासो देखाउने अरू थुप्रै छुटेपछि बप्तिस्मा प्राप्त साक्षी भए। यसबाहेक अरू चार जना सहकैदीहरू बप्तिस्माका लागि तयारी गर्दैछन्।
झ्यालखानाका अख्तियारवालाहरूको स्वीकारोक्ती
झ्यालखानाको एउटा रिपोर्ट बताउँछ “अभियुक्तको मनोवृत्तिमा देखिएको परिवर्तन प्रस्टै देखिन्थ्यो। थुप्रैले धुम्रपान गर्न छोडिदिए र तिनीहरू आफ्नो वार्ड सफा राख्थे। थुप्रै अभियुक्तहरूको व्यवहारमा यस्ता परिवर्तनहरू देखा परेका छन्।”
झचे भार्शाभे अखबारले भ्वउफको सुधारगृहको व्यवस्थापनबारे दिएको रिपोर्टमा “अभियुक्तहरूको आनीबानी राम्रो भएको; सुरक्षा गार्डहरूको निम्ति कुनै खतरा साबित नभएको” स्वीकारेको छ। जेल-सजाय पूरा गर्नै नपर्नेगरि छुटेकाहरू यहोवाका साक्षीहरूबीच एकतामा छन् र फेरि अपराध कार्यमा संलग्न भएका छैनन् भनी उक्त लेख अझै उल्लेख गर्छ।
अनि झ्यालखानाका सञ्चालकको कस्तो विचार छ? तिनी भन्छन्, “यस सुधारगृहमा यहोवाका साक्षीहरूले गरेको काम असाध्यै राम्रो अनि मदतकारी छ।” उक्त सञ्चालक स्वीकार्छन्, “[साक्षीहरूसित] बाइबल अध्ययन गर्ने क्रममा अभियुक्तहरूको मूल्य र मान्यता अनि स्तरहरू परिवर्तन भएका छन् र तिनीहरूले आफ्नो जीवनमा एउटा निर्देशन दिने नयाँ शक्ति पाएका छन्। तिनीहरूको व्यवहारिक तथा विनम्र भएका छन्। तिनीहरू लगनशील भएर काम गर्छन्, कसैलाई सताउँदैनन्।” अख्तियारवालाहरूले गरेका यस्ता अनुकूल टिप्पणीहरूले भ्वउफको झ्यालखानाका सहकैदीहरूसित काम गरिरहेका साक्षीहरूलाई सन्तुष्ट पार्छ।
यहाँ भेटघाट गर्न आउने साक्षीहरूले येशूका यी शब्दहरूको पूर्णतया मूल्यांकन गरेका छन्: “म आफ्ना जतिलाई चिन्छु, औ आफ्ना जतिले मलाई चिन्छन्। . . . तिनीहरूले मेरो सोर सुन्नेछन्, औ तिनीहरू एकै बगाल र एकै गोठालाका हुनेछन्।” (यूहन्ना १०:१४, १६) झ्यालखानाका पर्खालहरूले भेडाखाले मानिसहरूलाई जम्मा गर्नदेखि असल गोठालो, येशू ख्रीष्टलाई रोक्न सक्दैन। भ्वउफमा यो आनन्ददायी सेवामा सहभागी हुने विशेषाधिकार पाएको साक्षीहरू कृतज्ञ छन्। अनि अन्त आउनअगावै परमेश्वरको राज्यको सुसमाचारले अझ थुप्रै कठोर हृदयहरूलाई कोमल बनाउन यहोवाले निरन्तर आशिष् दिऊन् भनी तिनीहरू यहोवामा निर्भर छन्।—मत्ती २४:१४.
[पृष्ठ २७-मा भएको पेटी]
“बच्चाजस्तो” व्यवहार गर्ने वयस्कहरू
भ्वउफ सुधारगृहमा काम गरिरहेका साक्षीहरूले अवलोकन गरे, “झ्यालखानामा परेको केही समयभित्र सहकैदीहरूले स्वतन्त्र हुनु वा आफ्नै खुट्टामा उभिनुको अर्थ के हो, त्यो नै बिर्सनसक्नेछन्। अहिले हामीले सामना गरिरहेको प्रमुख समस्या नै ‘बच्चाजस्तो’ व्यवहार गर्ने वयस्कहरूको समस्या हो जसलाई झ्यालखानाबाट छुटेपछि आफ्नो ख्याल आफैले कसरी गर्ने थाह छैन। त्यसैकारण, मण्डलीको भूमिका उसलाई बाइबलका सच्चाइ सिकाउनुमा मात्र सीमित छैन। समाजको भाग हुन, नयाँ खतराहरूबाट सतर्क रहन र सामना गर्नुपर्ने लोभहरूबाट बच्न हामीले उसलाई तयार पार्नुपर्छ। चौबीसै घण्टा पाले बसेजस्तै गर्नदेखि होसियार हुँदै उसलाई नयाँ तरिकाले जीवन बिताउन हामीले मदत गर्नैपर्छ।”