परमेश्वरसित हिंड्ने—प्रारम्भिक कदमहरू
“परमेश्वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।”—याकूब ४:८.
१, २. तपाईं यहोवाको सेवा गर्नु किन महान् सुअवसर हो भन्नुहुन्छ?
यो मानिसले वर्षौंसम्म झ्यालखानामा यातना भोगिसकेको थियो। पछि उसलाई त्यो देशको शासकसामु हाजिर गराइयो। फलतः एकपछि अर्को घटनाहरू हुन थाले। अकस्मात्, त्यो कैदी त्यतिबेलाको सबैभन्दा शक्तिशाली राजाको सेवामा हाजिर हुनु पऱ्यो। यो पहिलेको कैदीले ठूलठूला जिम्मेवारी तथा असामान्य मानमर्यादा पायो। कुनै समय खुट्टामा सांग्लाहरू बाँधिएका त्यो मानिस अर्थात् यूसुफ अब राजासँगसँगै हिंड्न थाल्यो!—उत्पत्ति ४१:१४, ३९-४३; भजन १०५:१७, १८.
२ आज, मानिसजातिले मिश्रका फिरऊनभन्दा अति उच्चको सेवा गर्ने मौका पाएका छन्। ब्रह्माण्डका सर्वोच्चले हामी सबैलाई उहाँको सेवा गर्न निम्त्याउनुहुन्छ। उहाँको सेवा गर्न पाउनु र सर्वशक्तिमान् परमेश्वर, यहोवासित घनिष्ठ सम्बन्ध बढाउँदै लैजान पाउनु कस्तो महान् सुअवसर हो! धर्मशास्त्रमा उहाँलाई वर्णन गर्न वैभवशाली शक्ति, गरिमा, सौम्यता, सौन्दर्य तथा सुमधुरताजस्ता गुनहरू प्रयोग गरिएको छ। (इजकिएल १:२६-२८; प्रकाश ४:१-३) उहाँका सम्पूर्ण व्यवहारहरूमा प्रेम प्रकट हुन्छ। (१ यूहन्ना ४:८) उहाँले कहिल्यै झूट बोल्नुहुन्न। (गन्ती २३:१९) अनि आफूसित वफादार व्यक्तिहरूप्रति उहाँ कृपालु हुनुहुन्छ। (भजन १८:२५) उहाँको धार्मिक स्तरअनुसार हिंडेर हामी अहिले आनन्दमय, अर्थपूर्ण जीवन र भविष्यमा अनन्त जीवन बिताउनसक्छौं। (यूहन्ना १७:३) कुनै पनि मानव शासकले त्यस्तो आशिष् दिनसक्दैन तथा सुअवसरको सानो छेऊ पनि पुग्न सकेका छैनन्।
३. कसरी ‘नूह साँचो परमेश्वरको साथै’ हिंडे?
३ धेरैअघि कुलपिता अब्राहामले परमेश्वरको इच्छा तथा उद्देश्यअनुरूप जीवन बिताउने निधो गरे। तिनीबारे बाइबल यसो भन्छ: “आफ्नो पुस्तामा नूह धर्मी र निर्दोष मानिस थिए। औ तिनी परमेश्वरको साथै हिड़नेगर्थे।” (उत्पत्ति ६:९) निस्सन्देह, शाब्दिक अर्थमा नूह यहोवासित हिंडेनन् किनभने “परमेश्वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन।” (यूहन्ना १:१८) बरु, परमेश्वरले अह्राएबमोजिम गरे र यसै अर्थमा नूह परमेश्वरसित हिंडे। नूहले यहोवाको इच्छा गर्न आफ्नो जीवन समर्पण गरेको हुँदा तिनको सर्वशक्तिमान् परमेश्वरसित न्यानो अनि घनिष्ठ सम्बन्ध थियो। नूहजस्तै आज लाखौं मानिसहरू यहोवाको सल्लाह तथा निर्देशनअनुरूप जीवन बिताएर ‘परमेश्वरसित हिंडिरहेका छन्।’ मानिस त्यो बाटोमा कसरी हिंड्न थाल्छ?
सही ज्ञान अत्यावश्यक छ
४. यहोवाले आफ्ना जनहरूलाई कसरी निर्देशन दिनुहुन्छ?
४ यहोवासित हिंड्न सर्वप्रथम हामीले उहाँलाई चिन्नुपर्छ। अगमवक्ता यशैयाले यस्तो भविष्यवाणी गरे: “पछिल्ला दिनमा परमप्रभुको भवन बसालिएको पर्वत सबै पर्वतहरूभन्दा उच्च पारिनेछ। डाँड़ाहरूभन्दा माथि त्यो उच्च उठाइनेछ। सबै जातिहरू त्यहीतर्फ ओइरिएर आउनेछन्। जाति जातिका धेरै मानिसहरू त्यहाँ गएर भन्नेछन्, आऊ हामी परमप्रभुको पर्वतमा उक्लेर याकूबका परमेश्वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिंड़नेछौं। किनकि शिक्षा चाहिं सियोनबाट, र परमप्रभुको वचन यरूशलेमबाटनै निस्कनेछन्।” (यशैया २:२, ३) हो, यहोवाको मार्गमा हिंड्न चाहने सबैलाई यहोवाले सिकाउनुहुनेछ भनी हामी विश्वस्त हुनसक्छौं। यहोवाले आफ्नो वचन, बाइबल प्रदान गर्नुभएको छ र त्यो बुझ्न हामीलाई मदत गर्नुहुन्छ। उहाँले हामीलाई बुझ्न मदत गर्नुहुने एउटा तरिका “विश्वासी र बुद्धिमान दास” हो। (मत्ती २४:४५-४७) यहोवाले बाइबल आधारित प्रकाशन, मसीही सभा तथा निश्शुल्क गृह बाइबल अध्ययनको प्रबन्धद्वारा आध्यात्मिक निर्देशन प्रदान गर्न ‘विश्वासी दासलाई’ चलाउनुहुन्छ। परमेश्वरले पवित्र आत्माद्वारा पनि आफ्ना जनहरूलाई उहाँको वचन बुझ्न मदत गर्नुहुन्छ।—१ कोरिन्थी २:१०-१६.
५. धर्मशास्त्रीय सच्चाइ किन अत्यन्तै अनमोल छ?
५ हामीले बाइबल सच्चाइ पैसा तिरेर किन्नु पर्दैन, यो अनमोल छ। परमेश्वरको वचन अध्ययन गर्दै जाँदा हामी परमेश्वरबारे थुप्रै कुराहरू सिक्छौं अर्थात् उहाँको नाउँ, उहाँको व्यक्तित्व, उहाँको उद्देश्य तथा उहाँले मानिसहरूसित व्यवहार गर्नुहुने तरिका। हाम्रो जीवनलाई स्वतन्त्र पार्ने आधारभूत प्रश्नहरूको जवाफ पनि पाउँछौं। जस्तै, हामी यहाँ किन छौं? परमेश्वरले दुःखकष्ट हुने अनुमति किन दिनुहुन्छ? भविष्य कस्तो छ? हामी किन बूढाबूढी हुन्छौं र मर्छौं? के मृत्युपछि जीवन छ? यसबाहेक, परमेश्वरले हाम्रो लागि कस्तो उद्देश्य राख्नुभएको छ अर्थात् उहाँलाई पूर्णतया खुसी तुल्याउन हामी कसरी हिंड्नुपर्छ भनेर पनि सिक्छौं। उहाँले हामीबाट माग गर्नुभएका कुराहरू व्यवहारिक छन् र हामीले त्यसअनुसार जीवन बिताउनु एकदमै लाभदायी छ भनेर सिक्छौं। परमेश्वरको निर्देशनबिना हामी त्यस्ता कुराहरू कहिल्यै बुझ्नसक्ने थिएनौं।
६. बाइबलको सही ज्ञानले हामीलाई कस्ता परिवर्तनहरू गर्न मदत गर्छ?
६ बाइबल सच्चाइ शक्तिशाली छ र यसले हाम्रो जीवनमा परिवर्तनहरू गर्न उत्प्रेरित गर्छ। (हिब्रू ४:१२) धर्मशास्त्रको ज्ञान लिनुअघि हामी “यस संसारको रीतिअनुसार” मात्र हिंड्न जानेका थियौं। (एफिसी २:२) तर परमेश्वरको वचनको सही ज्ञानले हामीलाई एउटा बेग्लै मार्ग प्रस्तुत गर्छ ताकि हामी “हर किसिमले खुश पार्नेगरी प्रभुको योग्य चालमा चल्न” सकौं। (कलस्सी १:१०) ब्रह्माण्डको सबैभन्दा शोभायममान व्यक्ति, यहोवासित हिंड्न प्रारम्भिक कदमहरू चाल्नु हाम्रोलागि कस्तो आनन्दको कुरा हो!—लूका ११:२८.
दुइटा महत्त्वपूर्ण कदम—समर्पण र बप्तिस्मा
७. परमेश्वरको वचन अध्ययन गर्दै जाँदा मानव नेतृत्वबारे कुन सच्चाइ प्रस्ट हुन्छ?
७ बाइबलका कुराहरू बुझ्दै गएपछि हामी मानव गतिविधि तथा हाम्रो आफ्नै जीवन परमेश्वरको वचनको आध्यात्मिक ज्योतिमा केलाउन थाल्छौं। यसो गर्दा एउटा महत्त्वपूर्ण सच्चाइ प्रस्ट हुन्छ। त्यो सच्चाइ अगमवक्ता यर्मियाले धेरैअघि यसरी प्रकट गरेका थिए: “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्ति मानिसमा छैन।” (यर्मिया १०:२३) मानवजाति अर्थात् हामी सबैलाई परमेश्वरको निर्देशन चाहिन्छ।
८. (क) यहोवालाई आफ्नो जीवन समर्पण गर्न मानिसहरूलाई कुन कुराले उत्प्रेरित गर्छ? (ख) मसीही समर्पण भनेको के हो?
८ यो महत्त्वपूर्ण बुँदा बुझेपछि हामी यहोवाको डोऱ्याइ खोज्न उत्प्रेरित हुन्छौं। अनि परमेश्वरप्रतिको प्रेमले आफ्नो जीवन उहाँलाई समर्पित गर्न उत्प्रेरित गर्छ। परमेश्वरलाई समर्पण गर्नुको अर्थ उहाँलाई प्रार्थनामा पुकार्नु र उहाँको सेवामा जीवन बिताउनेछौं अनि उहाँको मार्गमा विश्वासी भएर हिंड्नेछौं भनी गम्भीर भई प्रतिज्ञा गर्नु हो। यसो गरेर हामी येशूको उदाहरण पछ्याइरहेका हुन्छौं जसले दृढता साथ ईश्वरीय इच्छा पूरा गर्न यहोवासमक्ष अर्पण गर्नुभयो।—हिब्रू १०:७.
९. मानिसहरू किन यहोवालाई आफ्नो जीवन समर्पण गर्छन्?
९ यहोवा परमेश्वरले उहाँलाई समर्पण गर्न कसैलाई पनि कहिल्यै दबाब दिनुहुन्न वा जबरजस्ती गर्नुहुन्न। (२ कोरिन्थी ९:७ तुलना गर्नुहोस्।) यसबाहेक, कुनै क्षणिक आवेगमा आएर उहाँलाई आफ्नो जीवन समर्पण गरेको चाहनुहुन्न। बप्तिस्मा लिनुअघि सो व्यक्ति चेला भइसकेको हुनुपर्छ र त्यसो गर्न लगनशील प्रयास गरेर ज्ञान हासिल गर्नुपर्छ। (मत्ती २८:१९, २०) पावलले बप्तिस्मा लिइसकेकाहरूलाई ‘तिनीहरूको यथोचित सेवाको रूपमा आफ्ना आफ्ना शरीरलाई, पवित्र र परमेश्वरलाई मनपर्ने, जिउँदो बलिदान गर्न’ आग्रह गरे। (रोमी १२:१) हाम्रो तर्कशक्तिलाई यसरी नै प्रयोग गरेर हामी यहोवा परमेश्वरलाई आफ्नो जीवन समर्पण गर्छौं। यसमा मुछिएका कुराहरू सिकेर अनि यस विषयमा होसियारीपूर्वक तर्कवितर्क गरेर हामी स्वेच्छाले परमेश्वरलाई जीवन समर्पण गर्छौं।—भजन ११०:३.
१०. समर्पण कसरी बप्तिस्मासित सम्बन्धित छ?
१० परमेश्वरको मार्गमा हिंड्ने हाम्रो कटिबद्धतालाई व्यक्तिगत तवरमा परमेश्वरसमक्ष प्रकट गरिसकेपछि हामी दोस्रो कदम चाल्छौं। त्यो हो, पानीमा बप्तिस्मा लिएर आफ्नो समर्पणलाई खुलेआम प्रकट गर्छौं। हामीले परमेश्वरको इच्छा गर्ने वाचा गरेका छौं भन्ने यो जनसमक्ष घोषणा हो। पार्थिव सेवकाईको सुरुमा येशूले यूहन्नाद्वारा बप्तिस्मा लिनुभएर हाम्रोलागि उदाहरण बसाल्नुभयो। (मत्ती ३:१३-१७) पछि, येशूले आफ्ना अनुयायीहरूलाई चेला बनाउन तथा तिनीहरूलाई बप्तिस्मा दिन अह्राउनुभयो। तसर्थ, यहोवासँग हिंड्न चाहने सबैको लागि समर्पण तथा बप्तिस्मा अत्यावश्यक कदमहरू हुन्।
११, १२. (क) बप्तिस्मालाई कसरी विवाहसित तुलना गर्न सकिन्छ? (ख) यहोवासित हाम्रो सम्बन्ध र पतिपत्नीबीचको सम्बन्धमा के समानता छ?
११ येशू ख्रीष्टको समर्पित, बप्तिस्माप्राप्त चेला हुनु र विवाह गर्नुबीच केही केही समानताहरू छन्। थुप्रै मुलुकहरूमा विवाह हुनुअघि थुप्रै घटनाहरू हुन्छन्। केटा र केटीको भेट हुन्छ, तिनीहरूको चिनजान बढ्छ अनि मायाप्रीती बस्छ। त्यसपछि विवाह पक्का हुन्छ। विवाहबन्धनमा बाँधिन र पतिपत्नीको हैसियतमा सँगै बस्न गोप्यमा निर्णय गरिसकेको कुरालाई विवाहले जनसमक्ष प्रकट गर्छ। विवाहको दिनले त्यस विशेष सम्बन्धको सुरुआतलाई खुलेआम प्रकट गर्छ। त्यो मिति विवाहको सुरुआत हो। यसरी तुलना गर्दा यहोवासित समर्पित सम्बन्धमा हिंड्ने जीवनको पहिलो कदम बप्तिस्मा हो।
१२ योसित मिल्ने अर्को समानता विचार गर्नुहोस्। विवाह भइसकेपछि पति र पत्नीबीचको माया झन् झन् प्रगाढ र बलियो हुनुपर्छ। एकअर्कासित अझ घनिष्ठ हुन पति र पत्नी दुवैले निःस्वार्थ भावसहित आफ्नो वैवाहिक बन्धनलाई अझ बलियो बनाउने प्रयास गर्नुपर्छ। हामी परमेश्वरसित विवाह बन्धनमा बाँधिने त होइन तर बप्तिस्मापछि हामीले यहोवासित घनिष्ठ सम्बन्ध कायम गर्न मेहनत गर्नुपर्छ। उहाँको इच्छा गर्न हामीले गर्ने प्रयास उहाँले देख्नुहुन्छ र त्यसको मूल्यांकन गर्नुहुन्छ र हामीसित नजिक हुनुहुनेछ। चेला याकूबले लेखे, “परमेश्वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।”—याकूब ४:८.
येशूको पदचिह्नमा हिंड्ने
१३. परमेश्वरसित हिंड्दा हामीले कसको उदाहरण पछ्याउनुपर्छ?
१३ यहोवासित हिंड्न येशू ख्रीष्टले बसाल्नुभएको उदाहरण हामीले पछ्याउनुपर्छ। प्रेरित पत्रुसले यसप्रकार लेखे: “यसैको निम्ति तिमीहरू बोलाइएका हौ। किनभने तिमीहरूले उहाँको पाइलामा टेकेर हिंड़नालाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो।” (१ पत्रुस २:२१) येशू सिद्ध हुनुहुन्थ्यो तर हामी असिद्ध छौं। यसकारण, एउटै पनि गल्ती नगरी उहाँको उदाहरण पछ्याउन सक्दैनौं। तैपनि, हामीले सक्दो प्रयास गरेको यहोवा चाहनुहुन्छ। समर्पित मसीहीहरूले पछ्याउन प्रयास गर्नुपर्ने येशूको जीवन र सेवकाईका पाँचवटा पक्षलाई विचार गरौं।
१४. परमेश्वरको वचन चिन्नुमा के के समावेश छ?
१४ येशूसित परमेश्वरको वचनको सही तथा पूर्ण ज्ञान थियो। सेवकाईको दौडान येशूले हिब्रू धर्मशास्त्रबाट निकै चोटि उद्धरण गर्नुभयो। (लूका ४:४, ८) निस्सन्देह, त्यतिबेलाका दुष्ट धार्मिक नेताहरूले पनि धर्मशास्त्रबाट उद्धरण गरे। (मत्ती २२:२३, २४) फरक यति थियो कि येशूले धर्मशास्त्रको अर्थ बुझेर त्यो आफ्नो जीवनमा लागू गर्नुभयो। उहाँलाई व्यवस्थाको शाब्दिक अर्थ मात्र होइन त्यसको मूल आशय पनि थाह थियो। ख्रीष्टको उदाहरण पछ्याउँदै गर्दा हामीले पनि परमेश्वरको वचन बुझ्ने, त्यसको अर्थ वा मूल आशय बुझ्ने प्रयास गर्नुपर्छ। त्यसो गरेपछि हामी “सत्यको वचनलाई ठीकसँग प्रयोग” गर्ने ईश्वरीय अनुमोदन पाएका कारिन्दाहरू हुन सक्नेछौं।—२ तिमोथी २:१५.
१५. परमेश्वरबारे बताउने सन्दर्भमा येशूले कसरी उदाहरण बसाल्नुभयो?
१५ ख्रीष्ट येशूले आफ्नो स्वर्गमा हुनुहुने पिताबारे अरूलाई बताउनुभयो। येशूले परमेश्वरको वचनको ज्ञान आफैमा मात्र सीमित राख्नुभएन। उहाँका शत्रुहरूले समेत उहाँलाई “गुरुज्यू” भनेर संबोधन गर्थे किनभने उहाँले आफू जहाँ जहाँ जानुभयो त्यहाँ त्यहाँ यहोवा र उहाँको उद्देश्यबारे बताउनुभयो। (मत्ती १२:३८) येशूले मन्दिर वरपर, सभाघर, शहर तथा गाउँहरूतिर खुलेआम प्रचार गर्नुभयो। (मर्कूस १:३९; लूका ८:१; यूहन्ना १८:२०) उहाँले अनुकम्पा र दयासाथ सिकाउनुभयो र आफूले मदत गर्नुभएकाहरूप्रति दया देखाउनुभयो। (मत्ती ४:२३) येशूको उदाहरण पछ्याउनेहरूले पनि अरूलाई यहोवा परमेश्वर र उहाँका अद्भुत उद्देश्यहरूबारे सिकाउने थुप्रै स्थान तथा तरिकाहरू पाउँछन्।
१६. यहोवाका सँगी उपासकहरूसित येशूको सम्बन्ध कतिको घनिष्ठ थियो?
१६ यहोवाको उपासना गर्ने अरू व्यक्तिहरूसित येशूले घनिष्ठ महसुस गर्नुहुन्थ्यो। एक चोटि येशू भीडसित कुरा गरिरहनुभएको बेला उहाँको आमा र बेग्लै विश्वास भएका भाइहरू उहाँसित कुरा गर्न आए। बाइबल विवरण यसो भन्छ: “तब एक जनाले उहाँलाई भन्यो, ‘हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू बाहिर खड़ा छन्, तपाईंसँग कुरा गर्न खोज्दछन्।’ तर उहाँसित बोल्नेलाई उहाँले भन्नुभयो, “मेरो आमा को हुन्? मेरा भाइहरू को हुन्?” औ उहाँले आफ्नो हात चेलाहरूतिर पसारेर भन्नुभयो, ‘हेर, मेरो आमा र मेरा भाइहरू। किनभने जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ, त्यही मेरो भाइ, र मेरो बहिनी, र मेरो आमा हो।’ ” (मत्ती १२:४७-५०) यसको अर्थ येशूले आफ्नो परिवारलाई तिरस्कार गर्नुभएको होइन किनभने त्यसपछिका घटनाहरूबाट उहाँले आफ्नो परिवारलाई बेवास्ता गर्नुभएको प्रमाणित हुँदैन। (यूहन्ना १९:२५-२७) यद्यपि, यो विवरणले येशूले आफ्ना सँगी विश्वासीहरूप्रति राख्नुभएको प्रेमलाई प्रकाश पार्छ। त्यस्तैगरि आज, परमेश्वरसित हिंड्ने व्यक्तिहरू यहोवाका अरू सेवकहरूसित संगत गर्न खोज्छन् र तिनीहरूलाई आफ्नो सम्झेर प्रेम गर्न थाल्छन्।—१ पत्रुस ४:८.
१७. स्वर्गमा हुनुहुने पिताको इच्छा गर्ने सन्दर्भमा येशूले कस्तो महसुस गर्नुभयो र त्यसले हामीमा कस्तो प्रभाव पार्नुपर्ने हो?
१७ ईश्वरीय इच्छा गर्नुभएर येशूले आफ्नो स्वर्गमा हुनुहुने पिताप्रति प्रेम देखाउनुभयो। यहोवाको हरेक कुरामा येशू आज्ञाकारी हुनुहुन्थ्यो। उहाँले यसो भन्नुभयो: “मलाई पठाउनेको इच्छा पूरा गर्नु, र उहाँको काम पूरा गर्नुनै मेरो भोजन हो।” (यूहन्ना ४:३४) ख्रीष्टले यसो पनि भन्नुभयो: “म सधैं उहाँलाई [परमेश्वरलाई] मन पर्ने कुराहरू गर्दछु।” (यूहन्ना ८:२९) येशूले स्वर्गमा हुनुहुने आफ्नो पितालाई असाध्यै प्रेम गर्नुहुन्थ्यो। यसकारण, “मृत्युसम्मै आज्ञाकारी हुनुभयो, क्रूसको मृत्युसम्मै आफूलाई होच्याउनुभयो।” (फिलिप्पी २:८) त्यसको प्रतिफलमा यहोवाले येशूलाई आशिष् दिनुभयो र उहाँलाई आफू मुनिको अति उच्च अख्तियार तथा सम्मान दिनुभयो। (फिलिप्पी २:९-११) येशूले जस्तै हामी पनि परमेश्वरको आज्ञा पालन गरेर अनि उहाँको इच्छाअनुसार चलेर उहाँप्रति प्रेम देखाउँछौं।—१ यूहन्ना ५:३.
१८. प्रार्थनाको सन्दर्भमा येशूले कसरी उदाहरण बसाल्नुभयो?
१८ येशू हरबखत प्रार्थना गर्नुहुन्थ्यो। उहाँले आफ्नो बप्तिस्माको समयमा प्रार्थना गर्नुभयो। (लूका ३:२१) आफ्ना १२ प्रेरितहरू रोज्नुअघि रातभरि प्रार्थना गर्नुभयो। (लूका ६:१२, १३) येशूले आफ्ना चेलाहरूलाई प्रार्थना गर्ने तरिका सिकाउनुभयो। (लूका ११:१-४) आफ्नो मृत्युभन्दा अघिल्लो रात उहाँले आफ्ना चेलाहरूको लागि प्रार्थना गर्नुभयो र तिनीहरूसित पनि प्रार्थना गर्नुभयो। (यूहन्ना १७:१-२६) प्रार्थना, येशूको जीवनको महत्त्वपूर्ण भाग थियो। हामी उहाँका अनुयायीहरू भएकाले हाम्रो जीवनमा पनि त्यसरी नै महत्त्वपूर्ण हुनुपर्छ। सार्वभौम सत्ताधारीसित प्रार्थनामा कुरा गर्न पाउनु एकदमै सम्मानजनक कुरा हो! साथै, यहोवाले प्रार्थनाको जवाफ दिनुहुन्छ किनभने यूहन्नाले यसप्रकार लेखे: “उहाँमा भएको हाम्रा हिम्मत यही हो, कि उहाँको इच्छाबमोजिम हामीले उहाँसँग जे कुरा मागे पनि उहाँले हाम्रो बिन्ती सुन्नुहुन्छ। औ हामीले जे सुकै कुरा मागे पनि उहाँले सुन्नुहुन्छ भन्ने हामीलाई थाह भएपछि, उहाँसँग मागेका कुरा हामीले पाएका छौं भन्ने हामीलाई थाह हुन्छ।”—१ यूहन्ना ५:१४, १५.
१९. (क) हामीले येशूका कुन गुनहरू अनुकरण गर्नुपर्छ? (ख) येशूको जीवन र सेवकाईबारे अध्ययन गरेर हामी कुन कुन तरिकामा लाभ उठाउँछौं?
१९ येशू ख्रीष्टको पार्थिव जीवन र सेवकाईलाई नियालेर हामी थुप्रै कुरा सिक्न सक्छौं! उहाँले झल्काउनुभएका गुनहरूमाथि विचार गर्नुहोस्: प्रेम, अनुकम्पा, दया, बल, सन्तुलन, व्यवहारिकता, नम्रता, साहस र निःस्वार्थता। हामी येशूबारे जति धेरै थाह पाउँछौं उहाँको विश्वासी अनुयायी हुने इच्छा पनि त्यति नै प्रबल हुन्छ। येशूको ज्ञानले यहोवासित अझ नजिक पनि तुल्याउँछ। त्यसो हुनु स्वाभाविकै हो, किनभने येशूले आफ्नो स्वर्गमा हुनुहुने पिताको हुबहु अनुकरण गर्नुभयो र व्यवहारमा उतारेर देखाउनुभयो। उहाँको यहोवासित अत्यन्तै घनिष्ठ सम्बन्ध भएकोले यसो भन्न सक्नुभयो: “जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ।”—यूहन्ना १४:९.
आफूलाई सँभाल्न परमेश्वरमा भरोसा राख्नुहोस्
२०. यहोवासित हिंड्ने आत्मविश्वास हामी कसरी पाउनसक्छौं?
२० बच्चाहरू भर्खर हिंड्न थाल्दा तिनीहरूको खुट्टा लरखराउँछ। तर पछि आत्मविश्वासका साथ कसरी हिंड्न सिक्छन्? निकै अभ्यास तथा लगनशील प्रयास गरेर। त्यसरी नै, यहोवासित हिंड्नेहरू पनि आत्मविश्वासका साथ नलरखराई हिंड्ने प्रयास गर्छन्। यसो गर्न पनि समय र लगनशील प्रयास चाहिन्छ। परमेश्वरसित हिंड्न चाहिने लगनशील प्रयासको महत्त्व पावलले यसरी औंल्याए: “अन्त्यमा, हे भाइ हो, प्रभु येशूमा हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गछौं र अर्ती दिन्छौं, कि तिमीहरूले कसरी चल्नु र परमेश्वरलाई खुशी तुल्याउनुपर्छ भन्ने जसरी तिमीहरूले हामीबाट थाह पायौ, तिमीहरू चल्दै पनि छौ,—त्यसरी तिमीहरू झन् बढ़दै जाओ।”—१ थिस्सलोनिकी ४:१.
२१. यहोवासित हिंड्दा हामी कस्ता आशिष्हरू पाउनसक्छौं?
२१ हामी पूर्णतया परमेश्वरमा समर्पित छौं भने उहाँसित हिंडिरहन हामीलाई मदत गर्नुहुनेछ। (यशैया ४०:२९-३१) उहाँको मार्गमा हिंड्नेहरूलाई वर्षाउनुहुने आशिष् यस संसारले दिने कुनै पनि कुरासित तुलना गर्न सकिंदैन। उहाँले ‘हाम्रो फायदाको निम्ति हामीलाई सिकाउनुहुन्छ। हामी जाने बाटोमा हामीलाई डोऱ्याउनुहुन्छ। यदि हामीले उहाँका आज्ञाहरू पालन गऱ्यौं भने हाम्रो शान्ति नदीझैं र हाम्रो धार्मिकता समुद्रका छालहरूझैं हुनेछन्!’ (यशैया ४८:१७, १८) परमेश्वरसित हिंड्ने आग्रह स्वीकार्दा अनि त्यसमा लागिरहँदा उहाँसित हाम्रो सम्बन्ध सदाको लागि शान्तिमय हुन्छ।
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ साँचो परमेश्वरसित हिंड्नु किन सम्मानजनक कुरा हो?
◻ यहोवासित हिंड्न अध्ययन, समर्पण र बप्तिस्मा किन महत्त्वपूर्ण कदमहरू हुन्?
◻ हामी कसरी येशूको पदचिह्न पछ्याउनसक्छौं?
◻ यहोवासित हिंड्दा उहाँले हामीलाई सँभाल्नुहुनेछ भनी हामी कसरी थाह पाउँछौ?
[पृष्ठ १३-मा भएको चित्र]
परमेश्वरसित हिंड्ने प्रारम्भिक कदमहरू —अध्ययन, समर्पण र बप्तिस्मा