मक्काबीहरू
को थिए?
थुप्रैका लागि मक्काबीहरूको युग हिब्रू धर्मशास्त्रको अन्तिम पुस्तक लेख्न सिद्धिएको समयदेखि येशू ख्रीष्टको आगमनसम्मको ब्ल्याक बक्स अर्थात् अज्ञात तथ्यहरूको स्रोत भएको छ। हवाईजहाज दुर्घटना भएपछि ब्ल्याक बक्सद्वारा केही अज्ञात तथ्यहरू अवश्य पत्ता लागेजस्तै मक्काबीहरूको युग अर्थात् यहूदी राष्ट्र परिवर्तन भएको युगलाई गहिरिएर ध्यान दियौं भने केही अन्तरदृष्टि अवश्य पाउनेछौं।
मक्काबीहरू को थिए? तिनीहरूले भविष्यवाणी गरिएको मसीह आउनुअघि यहूदी धर्ममाथि कस्तो प्रभाव पारे?—दानियल ९:२५, २६.
युनानीवादको ज्वारभाटा
महान् सिकन्दरले (सा.यु.पू. ३३६-३२३) ग्रीसदेखि भारतसम्मका प्रदेशहरू आफ्नो कब्जामा लिए। तिनको विशाल अधिराज्यकै कारण युनानवाद अर्थात् युनानीहरूको भाषा र संस्कृति विस्तार भयो। सिकन्दरका अधिकारी र सेनाहरूले स्थानीय स्त्रीहरूसँग बिहे गरे। फलतः युनानी र विदेशी संस्कृतिहरू छ्यासमिस भए। सिकन्दरको मृत्युपश्चात् तिनको अधिराज्य तिनका सेनापतिहरूले भागबण्डा गरे। सा.यु.पू. दोस्रो शताब्दीको प्रारम्भमा सिरिया राजकुलका युनानी शेल्युसिड एन्टियोकस तेस्रोले इस्राएललाई मिश्रका युनानी टलोमीहरूको हातबाट खोसे। इस्राएलका यहूदीहरू युनानवाद शासनद्वारा कसरी प्रभावित भए?
एक इतिहासकार लेख्छन्: “यहूदीहरू तिनीहरूका युनानवादी छिमेकीहरूसँग अलग्ग रहन सक्दैनथे। त्यसमाथि पनि टाढामा रहेका अन्य यहूदीहरूसँग तिनीहरूको भेटघाटै हुँदैनथ्यो। फलतः युनानी संस्कृति र युनानी विचारधाराबाट अछुत रहने कुरै भएन। . . . युनानवाद युगमा बाँच्नकै लागि भए पनि युनानी संस्कृति अंगाल्नुपर्थ्यो!” यहूदीहरूले युनानी नाउँ धारण गरे। तिनीहरूले केही हदसम्म युनानी परम्परा र वेशभूषा अंगाले। यसरी यहूदी र युनानी परम्परालाई बिस्तारै मिलाउने काम भयो।
पूजाहारीहरूको भ्रष्टाचार
युनानवादद्वारा यहूदीहरूमध्ये सबैभन्दा बढी पूजाहारीहरू प्रभावित भएका थिए। तिनीहरूमध्ये थुप्रैका लागि युनानवाद अपनाउनु भनेको समयअनुसार यहूदी धर्मको विकास गर्नु थियो। ती यहूदीहरूमध्ये प्रधान पूजाहारी ओनीआस तेस्रोको भाइ जेशन (हिब्रूमा यहोशू) एक थिए। ओनीआस एन्टिओकमा छँदा जेशनले युनानी अधिकारीहरूलाई घूस दिए। किन? ओनीआसको ठाउँमा आफू प्रधान पूजाहारी हुनको निम्ति। युनानी शेल्युसिड शासक एन्टियोकस इपिफेन्सले (सा.यु.पू. १७५-१६४) खुसीसाथ घूस लिए। यसअघि युनानी शासकहरूले यहूदी प्रधान पूजाहारीहरूको कामकुरामा हस्तक्षेप गरेका थिएनन् तर एन्टियोकसलाई सैनिक अभियानको निम्ति पैसा चाहिएको थियो। अझ सक्रियता साथ युनानवादलाई बढावा दिनसक्ने यहूदी अगुवा पाएकोले पनि तिनी खुसी थिए। जेशनको अनुरोधमा एन्टियोकसले यरूशलेमलाई युनानी शहरको (पोलिस) दर्जा दिए। यसको सट्टामा जेशनले एउटा व्यायामशाला निर्माण गरे जहाँ जवान यहूदी र पूजाहारीहरू समेतले खेलमा प्रतिस्पर्धा गर्थे।
धोखाबाजी गर्नेलाई धोखाबाजी गरियो। तीन वर्षपछि मिनेलसले झन् धेरै घूस दिए। तिनी सायद पूजाहारी वंशका थिएनन्। फलतः जेशन भागे। एन्टियोकसलाई घूस दिन मिनेलसले मन्दिरको ढुकुटीबाट निकै ठूलो रकम हडपे। यसबारे (एन्टिओकमा निर्वासित भएका) ओनीआस तेस्रोले विरोध गरेको कारण मिनेलसले तिनको हत्या गर्ने योजना बनाए।
एन्टोयोकसको मृत्यु भयो भन्ने हल्ला फैलिएपछि मिनेलसको हातबाट प्रधान पूजारीत्व खोस्न हजारौं पुरुषहरू लिएर जेशन यरूशलेम फर्के। तर एन्टियोकसको मृत्यु भएको थिएन। जेशनको कर्तुत र यहूदीहरूले आफ्ना युनानवाद नीतिहरूको विरोध गरेको सुनेपछि एन्टियोकसले बदलाको भावना देखाए।
एन्टियोकस कदम चाल्छन्
मक्काबीहरू नामक आफ्नो पुस्तकमा मोसे पर्लमेन यसो लेख्छन्: “सुस्पष्ट लेखोटहरू नभए तापनि एन्टियोकसले यहूदी धर्ममाथि कुनै किसिमको रोक नलगाउनु राजनैतिक भूल थियो भन्ने निष्कर्ष निकाले जस्तो देखिन्छ। तिनको विचारमा, भर्खरै यरूशलेममा मच्चिएको विद्रोह धार्मिक स्वार्थले मात्र नभई यहूदामा फैलिएको मिश्री समर्थक भावनाले गर्दा सुरु भएको थियो। अनि यस्ता राजनैतिक भावनाहरूले भयानक रूप लिनुको कारण एन्टियोकसको राज्यमा यहूदीहरूले धार्मिक स्वतन्त्रता खोज्नु र त्यस्तो स्वतन्त्रता दिनु पनि हो। . . . तिनले यस्तो कार्य रोक्नुपर्छ भन्ने निर्णय गरे।”
त्यसपछिका घटनाहरूबारे इस्राएली राजनीतिज्ञ तथा विद्वान् अब्बा इबान संक्षेपमा यसो भन्छन्: “[सा.यु.पू.] १६८ र १६७ को दौडान एकपछि अर्को ठूलठूला घटनाहरू घटे। यहूदीहरूको हत्या गरियो, मन्दिर लुटियो, यहूदी धर्म निषेध गरियो। खतना गरेको खण्डमा साथै विश्राम दिन मनाएको खण्डमा मृत्युदण्ड दिइने भयो। डिसेम्बर १६७ मा यहूदीहरूको अपमान चरम सीमामा पुग्यो। एन्टियोकसको हुकुमअनुसार मन्दिरमा ज्युसको वेदी बनाइयो अनि यहूदी व्यवस्थाबमोजिम अशुद्ध मानिने सुंगुरको बलिदान युनानी देवतालाई चढाउन लगाइयो।” उक्त समयको दौडान मिनेलस र युनानवादी यहूदीहरूले अशुद्ध भएको मन्दिरमा पूजाहारीको काम गरी नै रहे।
एकातिर थुप्रै यहूदीहरूले युनानवाद अपनाइ रहेका थिए भने अर्कोतिर आफैलाई हासिडीवादी अर्थात् पवित्र जनहरू भन्ने नयाँ समूहले मोशाको व्यवस्था पूरापूर पालन गर्ने प्रोत्साहन दिइरहेका थिए। साधारण मानिसहरू युनानी पूजाहारीहरूदेखि विरक्त भइसकेका थिए। अतः तिनीहरू झन् झन् हासिडीवादीहरूको पक्ष लाग्न थाले। देशभरिका यहूदीहरूलाई कि मूर्तिपूजक परम्पराहरू मानेर बलिदानहरू चढाउने या मार्ने धम्की दिन थाल्दा थुप्रै यहूदीहरू शहीद भए। मक्काबीहरूका अप्रमाणित पुस्तकहरूले पुरुष, स्त्री तथा केटाकेटीहरूले सम्झौता गर्नुभन्दा मर्न रुचाएको अनेकौं विवरणहरू दिन्छन्।
मक्काबीहरूको प्रतिक्रिया
एन्टियोकसको घोर कारवाहीले गर्दा थुप्रै यहूदीहरू आफ्नो धर्मको खातिर संघर्षमा उत्रे। उत्तर-पश्चिमी यरूशलेमको वर्तमान लड शहर नजिकैको मोदिन भन्ने ठाउँमा मत्तियाह नामक पूजाहारीलाई बोलाइयो। मत्तियाहलाई स्थानीय जनसाधारणले खूबै आदर गर्थे। अतः राजाको प्रतिनिधिले तिनलाई आफ्नो ज्यान जोगाउन र जनसाधारणको लागि उदाहरण बसाल्न युनानी देवताहरूलाई बलिदान चढाउन लगाउने प्रयास गरे। मत्तियाहले त्यसो गर्न इन्कार गरे। तब अर्का यहूदी अघि सरेर सम्झौता गर्न तयार भए। आक्रोसित भएर मत्तियाहले हतियार निकालेर तिनको हत्या गरे। यस वृद्ध पुरुषको हिंसात्मक प्रतिक्रिया देखेर स्तब्ध भएका युनानी सेनाहरूले एकछिन त केही गर्नै सकेनन्। मत्तियाहले केही सेकेन्डभित्रै युनानी अफिसरको पनि हत्या गरे। युनानी फौजहरूले आफ्नो बचाउ गर्नअघि नै मत्तियाहका पाँच छोराहरू र शहरका बासिन्दाहरूले तिनीहरूलाई परास्त गरे।
मत्तियाह यसो भनेर कराए: ‘व्यवस्थाको निम्ति जोसिलो हुनेहरू सबै मेरो पछि लाग।’ प्रतिशोधबाट बच्न तिनी र तिनका छोराहरू पहाडतिर भागे। तिनीहरूको कामको विषयमा कुरा फैलिएपछि (थुप्रै हासिडीवादीहरूलगायत) यहूदीहरू तिनीहरूसँग मिले।
मत्तियाहले आफ्नो छोरा यहूदालाई सैनिक कारवाहीको निम्ति नियुक्त गरे। यहूदालाई सायद तिनको सैनिक कुशलताको कारण मक्काबी भनियो जसको अर्थ “घन” हो। मत्तियाह र तिनका छोराहरूलाई हास्मोनी भनियो। उक्त नाउँ हेशमोन शहर अथवा तिनीहरूको पुर्खाको नाउँबाट लिइएको थियो। (यहोशू १५:२७) तथापि, उक्त विद्रोहमा यहूदा मक्काबी प्रख्यात भएको हुनाले तिनको सम्पूर्ण परिवारलाई नै मक्काबी भन्न थालियो।
मन्दिर फर्काइयो
विद्रोह सुरु भएको पहिलो वर्षमा मत्तियाह र तिनका छोराहरू सानो सैन्य दल गठन गर्न सक्षम भए। युनानी फौजहरूले थुप्रैपल्ट हासिडीवादी लडाकूहरूलाई विश्रामको दिनमा आक्रमण गरे। तिनीहरू आफ्नो सुरक्षा गर्न सक्षम भए तापनि विश्राम दिनको उल्लंघन गरेनन्। फलतः कैयौंले ज्यान गुमाउनुपऱ्यो। त्यसताक मत्तियाहलाई धार्मिक अख्तियारवाला मानिन्थ्यो। अतः तिनले विश्राम दिनमा यहूदीहरूले आफ्नो सुरक्षा गर्नसक्ने नियम बनाए। उक्त नियमले तिनीहरूको विद्रोहलाई बल मात्र दिएन तर यहूदी धर्ममा धार्मिक नेताहरूले बद्लिंदो परिस्थितिअनुरूप यहूदी व्यवस्था बनाउनसक्ने परिपाटी पनि बसाल्यो। पछि ताल्मुदमा यस्तै परिपाटी देखियो: “तिनीहरूले एउटा विश्राम दिन अपवित्र पारेर थुप्रै विश्राम दिनहरूलाई पवित्र तुल्याऊन्।”—योमा ८५ख.
आफ्नो वृद्ध बुबाको मृत्युपश्चात् यहूदा मक्काबी विद्रोहको निर्विवाद नाइके भए। सीधै शत्रुहरूमाथि जाइलागेर विजय हासिल गर्न सकिन्न भन्ने कुरा बुझेर तिनले अहिलेका छापामारहरूले जस्तै नयाँ तरिकाहरू अपनाए। तिनले एन्टियोकसका फौजहरूलाई असुरक्षित अवस्थामा भएको बेला हमला गरे। अतः यहूदाले एकपछि अर्को युद्धमा आफ्नोभन्दा शक्तिशाली फौजहरूलाई परास्त गरे।
आन्तरिक दुश्मनी अनि दिनदिनै रोम शक्तिशाली हुँदै गएको हुँदा शेल्युसिड साम्राज्यका शासकहरूले यहूदी विरोधी नियम लागू गर्ने तर्फ त्यति ध्यान दिएनन्। त्यसैकारण, यहूदाले यरूशलेमको प्रवेशद्वारसम्मै आक्रमण गर्नसके। तिनी र तिनका फौजले सा.यु.पू. १६५ (वा सायद सा.यु.पू. १६४), डिसेम्बरमा मन्दिर कब्जा गरे, भाँडाकुँडा सफा गरे अनि अपवित्र भएको ठीक तीन वर्षपछि मन्दिर पुनः समर्पण गरे। यहूदीहरू यस अवसरको स्मरण गर्दै हनुक्का अर्थात् समर्पणको चाड सालिन्दा मनाउँछन्।
धर्मपरायणतामाथि राजनीति
विद्रोहका लक्ष्यहरू प्राप्त भयो। यहूदी धर्ममाथिको प्रतिबन्ध हटाइयो। मन्दिरमा पुनः उपासना गर्न र बलिदानहरू चढाउन थालियो। सन्तुष्ट भएका हासिडीवादीहरू यहूदा मक्काबीको सेनाबाट अवकास लिएर आ-आफ्ना घरतिर लागे। तर यहूदाको मनमा अर्कै विचारहरू पनि थिए। तिनका सेना सुप्रशिक्षित थिए। अतः तिनीहरूलाई स्वतन्त्र यहूदी राज्य स्थापना गर्न किन प्रयोग नगर्ने? तब धार्मिक कारणले सुरु भएको विद्रोह राजनैतीक लक्ष्य हासिल गर्ने युद्धमा परिणत भयो। फलस्वरूप, संघर्ष झन् बढ्यो।
शेल्युसिड शासन विरुद्ध लड्न यहूदा मक्काबीले रोमसित सम्झौता गरे। सा.यु.पू. १६० मा तिनी युद्धमा मारिए तापनि तिनका भाइहरूले संघर्ष जारी राखे। त्यसपछि यहूदाको भाइ जोनाथानले परिस्थितिलाई मोडे। फलतः शेल्युसिड शासकहरू तिनलाई प्रधान पूजाहारी र यहूदाको शासक बनाउन राजी भए। यद्यपि, तिनी शेल्युसिड शासकहरूको सार्वभौमिकताको अधीनमा थिए। आरामी षड्यन्त्रद्वारा छल गरेर जोनाथानलाई बन्दी बनाउनुका साथै हत्या गरेपछि तिनको भाइ शिमोन प्रधान पूजाहारी र शासक भए। तिनी मक्काबी दाज्यूभाइहरूमध्ये अन्तिम भाइ थिए। शिमोनको शासनकालमा (सा.यु.पू. १४१ मा) शेल्युसिड शासनको अन्तिम नामोनिसान हटाइयो। शिमोनले रोमसित पुनः मित्रता गाँसे अनि यहूदी नेताहरूले तिनलाई शासक र प्रधान पूजाहारीको हैसियतमा स्वीकारे। फलतः मक्काबीहरूको हातबाट एउटा स्वतन्त्र हास्मोनी राजकुल स्थापित भयो।
मक्काबीहरूले मसीह आउनुअघि मन्दिरको उपासना पुनर्स्थापित गरे। (यूहन्ना १:४१, ४२; २:१३-१७ तुलना गर्नुहोस्।) तर युनानवादी पूजाहारीहरूले गर्दा पूजाहारीत्व जत्ति फितलो भएको थियो, हास्मोनीहरूको समयमा झनै फितलो भयो। निस्सन्देह, विश्वासी राजा दाऊदको वंशका राजाहरूले नभई राजनैतीक झुकाउ भएका पूजाहारीहरूले शासन गर्दा यहूदीहरूले साँचो आशिष्हरू पाउन सकेनन्।—२ शमूएल ७:१६; भजन ८९:३, ४, ३५, ३६.
[पृष्ठ २१-मा भएको चित्र]
यहूदा मक्काबीका बुबा मत्तियाह यसो भनेर कराए: ‘व्यवस्थाको निम्ति जोसिलो हुनेहरू सबै मेरो पछि लाग’
[स्रोत]
Mattathias appealing to the Jewish refugees/The Doré Bible Illustrations/Dover Publications