मौखिक व्यवस्था किन लेखियो?
प्रथम शताब्दीका थुप्रै यहूदीहरूले येशूलाई मसीहीको रूपमा किन स्वीकार्न सकेनन्? एक प्रत्यक्षदर्शीको रिपोर्ट यसप्रकार छ: “अब [येशू] मन्दिरमा आइपुगेर सिकाइरहनुभएको बेलामा, मुख्य पूजाहारीहरू र जन-साधारणका बूढ़ा-प्रधानहरूले उहाँकहाँ आएर भने, ‘के अख्तियारले तिमी यस्ता कुराहरू गर्छौ? औ कसले तिमीलाई यो अख्तियार दियो?’ ” (मत्ती २१:२३) तिनीहरूको नजरमा सर्वशक्तिमान्ले यहूदी राष्ट्रलाई तोरह (व्यवस्था) दिनुभएको थियो र यसले कोही कोही मानिसहरूलाई ईश्वरप्रदत्त अख्तियार दियो। के येशूसित त्यस्तो अख्तियार थियो?
येशूले तोरह र त्यसले साँचो अख्तियार प्रदान गरेको सबैलाई असाध्यै आदर गर्नुहुन्थ्यो। (मत्ती ५:१७-२०; लूका ५:१४; १७:१४) तर परमेश्वरको आज्ञा उल्लंघन गर्नेहरूलाई उहाँले बारम्बार निन्दा गर्नुभयो। (मत्ती १५:३-९; २३:२-२८) त्यस्ता मानिसहरूले पालन गरेका प्रचलनहरू नै मौखिक व्यवस्थाको रूपमा चिनिन थाल्यो। येशूले त्यसको अख्तियारलाई इन्कार गर्नुभयो। यसकारण, थुप्रैले उहाँलाई मसीहको रूपमा स्वीकार्न इन्कार गरे। अख्तियारप्राप्त व्यक्तिहरूका प्रचलनहरू समर्थन गर्ने मानिसहरूलाई मात्र परमेश्वरले साथ दिनुहुन्छ भन्ने तिनीहरूको विश्वास थियो।
यो मौखिक व्यवस्था कसरी सुरु भयो? यहूदीहरूले यसलाई धर्मशास्त्रमा लिपिबद्ध लिखित व्यवस्थाको बराबर भन्ठान्नुको कारण के थियो? यो मौखिक प्रचलनको रूपमा रहिरहनुपर्ने भए किन लेखियो?
यी प्रचलनहरूको सुरुआत कसरी भयो?
सा.यु.पू. १५१३ मा सीनै पर्वतमा इस्राएलीहरूसित यहोवा परमेश्वरले करार बाँध्नुभयो। मोशाद्वारा तिनीहरूले करारका वचनहरू पाए। (प्रस्थान २४:३) यी नियमहरू पालन गरेको खण्डमा तिनीहरू ‘पवित्र परमेश्वर यहोवाजस्तै पवित्र’ हुनसक्थे। (लेवी ११:४४) व्यवस्थाको करारअनुसार यहोवालाई उपासना गर्न नियुक्त पूजाहारीहरूद्वारा बलिदान चढाउनुपर्थ्यो। उपासनाको लागि केन्द्रबिन्दु आवश्यक थियो र त्यो अन्ततः यरूशलेमको मन्दिरको बीचमा थियो।—व्यवस्था १२:५-७; २ इतिहास ६:४-६.
मोशालाई दिइएको व्यवस्थाले इस्राएललाई राष्ट्रको हैसियतमा यहोवालाई उपासना चढाउन मोटामोटी आधार प्रदान गऱ्यो। तथापि, कुनै कुनै विवरणहरू स्पष्टसित उल्लेख गरिएका थिएनन्। जस्तै, व्यवस्थाले विश्राम दिनमा काम निषेध गरेको थियो तर यसले काम र अन्य गतिविधिहरूबीच स्पष्ट भिन्नता देखाएन।—प्रस्थान २०:१०.
यहोवालाई त्यसो गर्नु उपयुक्त लागेको भए सम्भाव्य सबै प्रश्नहरूको जवाफ दिन विस्तृत नियमहरू दिन सक्नुहुन्थ्यो। तर उहाँले मानिसहरूलाई सृष्टि गर्दा अन्तस्करण दिनुभएको छ र यसैकारण उहाँका नियमहरूको परिधिभित्र बसेर उहाँको सेवासम्बन्धी प्रशस्त छुट दिनुभयो। व्यवस्थाले न्यायिक मामिलाहरू पूजाहारी, लेवी तथा न्यायकर्ताहरूले हेर्ने प्रबन्ध मिलाएको थियो। (व्यवस्था १७:८-११) मुद्दाहरूको संख्या बढ्दै जाँदा केही पूर्वाधारहरू तयार पारिए र यसमध्ये कुनै कुनै अवश्य पनि एक पुस्तादेखि अर्को पुस्तासम्म हस्तान्तरण गरिए। यहोवाको मन्दिरमा पूजाहारीले गर्नुपर्ने जिम्मेवारीहरूबारे पनि बुबाले छोरालाई बताउँथे। राष्ट्रको सामूहिक तवरमा अनुभव बढ्दै गएपछि त्यही अनुपातमा परम्पराहरू पनि बढ्न थाले।
तथापि, इस्राएलको उपासनाको महत्त्वपूर्ण भाग मोशालाई दिइएको लिखित व्यवस्था नै थियो। प्रस्थान २४:३, ४ यसो भन्छ: “मोशाले आएर परमप्रभुका सबै कुरा र व्यवस्थाका वचनहरू मानिसहरूलाई सुनाए, र सबै मानिसहरूले एकै सोर गरी भने, ‘परमप्रभुले भन्नुभएका सबै वचनहरू हामी पालन गर्छौं।’ तब मोशाले परमप्रभुका सबै वचनहरू लेखे।” परमेश्वरले इस्राएलसित गर्नुभएको करारबारे अन्तिम चोटि उल्लेख गरिएको नै यही लिखित आज्ञा हो। (प्रस्थान ३४:२७) भनौं भने, धर्मशास्त्रमा मौखिक व्यवस्थाबारे कतै पनि उल्लेख गरिएको पाइँदैन।
“कसले तिमीलाई यो अख्तियार दियो?”
मोशालाई दिइएको व्यवस्थाले प्राथमिक धार्मिक अख्तियार तथा निर्देशनको जिम्मा हारूनको सन्तान अर्थात् पूजाहारीहरूलाई सुम्प्यो। (लेवी १०:८-११; व्यवस्था २४:८; २ इतिहास २६:१६-२०; मलाकी २:७) तथापि, शताब्दीहरू बित्दै जाँदा कोही कोही पूजाहारीहरू अविश्वासी तथा भ्रष्ट भए। (१ शमूएल २:१२-१७, २२-२९; यर्मिया ५:३१; मलाकी २:८, ९) ग्रीक प्रभुत्वको युगमा थुप्रै पूजाहारीहरूले धार्मिक विषयहरूमा सम्झौता गरे। सा.यु.पू. दोस्रो शताब्दीमा पूजाहारीवर्गलाई नपत्याउने नयाँ यहूदी समूह अर्थात् फरिसीहरूले आफ्नै प्रचलनहरू बनाउन थाले र यी प्रचलनहरूद्वारा साधारण मानिस पनि पूजाहारी जत्तिकै पवित्र हुनसक्थे। यी प्रचलनहरू थुप्रैलाई मन पऱ्यो तर व्यवस्थामा यस्तो थपथाप अस्वीकार्य थियो।—व्यवस्था ४:२; १२:३२ (यहूदी संस्करणहरूमा १३:१)।
पूजाहारीहरूले गर्न छुटाएजस्तो लागेका कामहरू गर्न थालेर फरिसीहरू, व्यवस्थाका नयाँ शास्त्रज्ञहरू भए। मोशालाई दिइएको व्यवस्थाले तिनीहरूको अख्तियारलाई मान्यता नदिएको हुँदा तिनीहरूले रहस्यमय संकेत तथा आफ्नो दृष्टिकोणलाई समर्थन गर्न धर्मशास्त्रको अर्थ खुलाउने नयाँ तरिकाहरू निकाले।a यी परम्पराहरूको प्रमुख रखवाला तथा प्रवर्धकहरूको हैसियतमा तिनीहरूले इस्राएलमा अख्तियारसम्बन्धी नयाँ आधार सृजना गरे। सा.यु. प्रथम शताब्दीसम्ममा फरिसीहरू यहूदीधर्मको प्रमुख शक्ति भइसकेका थिए।
तिनीहरूले मौखिक व्यवस्था संकलन गर्दा र धर्मशास्त्रीय अर्थ बुझ्न खोज्दा फरिसीहरूले आफ्नो क्रियाकलापलाई अझ बढी अख्तियार दिनुपर्ने खाँचो देखे। यी परम्पराहरूको सुरुआतबारे नयाँ धारणाको उत्पत्ति भयो। रब्बीहरूले यस्तो शिक्षा दिन थाले: “मोशाले सीनैमा तोरह पाए र त्यो यहोशूलाई दिए, यहोशूले बूढा-प्रधानहरूलाई अनि बूढा-प्रधानहरूले अगमवक्ताहरूलाई दिए। अनि अगमवक्ताहरूले मानिसहरूको ठूलो भीडलाई दिए।”—एभट १:१, मिश्नाह।
“मोशाले तोरह पाए” भनेर रब्बीहरूले लिखित व्यवस्थालाई मात्र होइन तर सम्पूर्ण मौखिक प्रचलनहरूलाई संकेत गर्दैथिए। मानिसहरूले पत्ता लगाएर बनाएका यी परम्पराहरू परमेश्वरले मोशालाई सीनैमा दिनुभएका नियमहरू नै हुन् भनी तिनीहरूले दाबी गरे। उल्लेख नभएका कुराहरू बताउने जिम्मा परमेश्वरले मानिसहरूलाई दिनुभएको होइन तर लिखित व्यवस्थामा नभएका कुराहरू परमेश्वरले नै मौखिक रूपमा बताउनुभएको थियो भनी तिनीहरूले सिकाए। मोशाले यो व्यवस्था पूजाहारीहरूलाई होइन तर अरू नेताहरू मार्फत एक पुस्ताबाट अर्को पुस्तालाई हस्तान्तरण गरे भन्ने तिनीहरूको धारणा थियो। फरिसीहरू स्वयंले पनि आफूलाई अख्तियारको यस “सग्लो” घटनाक्रमको जन्मजात हकवालाहरू हौं भन्ने दाबी गरे।
व्यवस्था संकटमा—नयाँ समाधान
येशूले मन्दिरको विनाशबारे भविष्यवाणी गर्नुभएको थियो र यहूदी धार्मिक नेताहरूले येशूको ईश्वरप्रदत्त अख्तियारमाथि प्रश्न गरेका थिए। (मत्ती २३:३७–२४:२) रोमीहरूले सा.यु. ७० मा मन्दिरको विनाश गरेपछि मोशालाई दिइएको व्यवस्थाअनुसार बलिदान चढाउन तथा पूजाहारीले गर्नुपर्ने कार्यहरू पूरा गर्न सकिएन। परमेश्वरले येशूको छुडौतीको बलिदानको आधारमा नयाँ करार स्थापना गर्नुभएको थियो। (लूका २२:२०) मोशालाई दिइएको व्यवस्थाको अन्त भयो।—हिब्रू ८:७-१३.
यी घटनाहरू येशू नै मसीह हुनुहुन्छ भन्ने प्रमाणको रूपमा लिनुको साटो फरिसीहरूले अर्कै समाधान खोजे। तिनीहरूले पूजाहारीवर्गको प्रायजसो अख्तियार हडपीसकेका थिए। अब मन्दिरको विनाशपछि तिनीहरू अझ एक कदम अघि सर्न सके। जब्नेस्थित रब्बी प्रतिष्ठान पुनर्गठित महासभा अर्थात् यहूदी उच्च अदालतको केन्द्रबिन्दु भयो। जब्नेमा योहानन बेन जाकी र गमलिएल दोस्रोको नेतृत्वमा यहूदीधर्मलाई पूर्णतया पुनर्गठित पारियो। मन्दिरमा पूजाहारीहरूको नेतृत्वमा गरिने उपासनाको साटो रब्बीहरूले सभाघरमा सेवा प्रदान गर्न थाले। विशेषगरि प्रायश्चितको दिनमा बलिदानहरू चढाउनुको साटो प्रार्थनाहरू गर्न थालिए। मोशालाई सीनै पर्वतमा दिइएको मौखिक व्यवस्थाले यसको पूर्वाभास पाउनुका साथै यसको प्रबन्ध मिलाइसकेको थियो भन्ने तर्क गरियो।
रब्बी प्रतिष्ठानहरू झन् झन् महत्त्वपूर्ण हुन थाले। तिनीहरूको पाठ्यक्रमको मुख्य विषय मौखिक व्यवस्थाको गहन छलफल गर्ने, कण्ठ पार्ने र त्यसको प्रयोग गर्ने थियो। यसअघि मौखिक व्यवस्थाको आधार धर्मशास्त्रको अर्थ खोल्नु अर्थात् मिदार्शसित गाँसिएको थियो। अब, दिनदिनै थुप्रँदै गएका परम्पराहरू बेग्लाबेग्लै ढंगमा सिकाउन तथा व्यवस्थित पार्न थालियो। मौखिक व्यवस्थाको हरेक नियम छोटो अनि सजिलै कण्ठ पार्न सकिने पद्यांश बनाइयो र यो प्रायजसो गीतको धूनमा गाउन मिल्थ्यो।
मौखिक व्यवस्था किन लेख्ने?
रब्बी प्रतिष्ठान तथा बढ्दो रब्बी नियमहरूले नयाँ समस्या सृजना गऱ्यो। रब्बी शास्त्रज्ञ आदीन स्टाइनसाल्ज यसो भन्छन्: “हरेक शिक्षकको आफ्नै तरिका थियो र मौखिक नियमलाई अनौठो ढंगले प्रस्तुत गर्थे। . . . आफ्नो शिक्षकका शिक्षाहरू मात्र थाह पाएर नपुग्ने भयो, विद्यार्थीले अरू शास्त्रज्ञहरूको पनि कृति थाह पाउनुपर्थ्यो। . . . यसप्रकार विद्यार्थीहरूले थुप्रै विषयवस्तु कण्ठ पार्नुपर्थ्यो किनभने ‘ज्ञानको छेलोखेलो’ भयो।” जानकारीहरू यत्रतत्र प्रशस्त थिए तर विद्यार्थीले ती सबै बुझ्न सक्दैनथे।
सा.यु. दोस्रो शताब्दीमा बार कोक्बाको नेतृत्वमा यहूदीहरूले रोमको विरुद्ध विद्रोह गर्दा रब्बी शास्त्रज्ञहरूले भीषण सतावट भोग्नुपरेको थियो। बार कोक्बालाई समर्थन गर्ने सबैभन्दा प्रमुख रब्बी, अकिभा र अरू थुप्रै शास्त्रज्ञहरू मारिए। यस्तो सतावटको नयाँ लहरले तिनीहरूको मौखिक व्यवस्थालाई नै खतरामा पार्ला भनी रब्बीहरू डराए। तिनीहरूको विचारमा गुरुले शिष्यलाई मौखिक तवरमा हस्तान्तरण गर्नु सबैभन्दा बेस भन्ठाने तर यस्तो परिवर्तित अवस्थाले ती सन्तहरूका शिक्षाहरूको जगेर्ना गर्न व्यवस्थित संरचना तयार पार्नुपर्ने खाँचो देखियो अन्यथा त्यो सदाको लागि बिर्सनसक्ने सम्भावना थियो।
रोमसित तुलनात्मक हिसाबले अलि शान्तमय सम्बन्ध भएको बेला दोस्रो शताब्दीको अन्त तथा सा.यु. तेस्रो शताब्दीको सुरुतिरको प्रमुख रब्बी जुदाह हा-नासीले थुप्रै शास्त्रज्ञहरू भेला गराएर मौखिक परम्पराको धेरै अंश संशोधन गरेर एउटा व्यवस्थित प्रणाली तयार पारे र यसका छवटा भागहरूलाई स-साना भागहरूमा विभाजनहरू गरेर जम्माजम्मी ६३ भाग बनाइयो। यसको उपज नै मिश्नाह हो। मौखिक व्यवस्थाका शास्त्रज्ञ इफ्राइम उरबाक यस्तो टिप्पणी गर्छन्: “तोरहबाहेक कुनै पनि पुस्तकलाई नदिइएको अनुमोदन तथा अख्तियार . . . मिश्नाहलाई दिइयो।” मसीहलाई तिरस्कार गरियो, मन्दिर भताभुंग अवस्थामा थियो तर मिश्नाहको लिखित रूपमा संरक्षित मौखिक व्यवस्थासहित यहूदीधर्मको नयाँ युग सुरु भयो।
[फुटनोट]
a यसरी धर्मशास्त्रको अर्थ खुलाउने तरिकालाई मिदार्श भनिन्छ।
[पृष्ठ २६-मा भएको चित्र]
थुप्रै यहूदीहरूले येशूको अख्तियार किन तिरस्कार गरे?