आफ्नो शिक्षाको विषयमा होसियार रह
“आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होशियार रह। यी कुरामा लागिबस। किनभने यसो गर्नाले तिमीले आफूलाई र तिमीलाई सुन्नेलाई समेत उद्धार गर्नेछौ।”—१ तिमोथी ४:१६.
१, २. अहिले जोसिला शिक्षकहरूको किन खाँचो छ?
“गएर सबै देशका जातिहरूलाई चेला बनाओ, . . . जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” (मत्ती २८:१९, २०) येशू ख्रीष्टले यो आज्ञा दिनुभएको हुँदा सबै साँचो मसीहीहरूले शिक्षक बन्ने प्रयास गर्नुपर्छ। ढिलो हुनुअघि नै इमानदार हृदय भएका मानिसहरूलाई परमेश्वरको ज्ञान सिकाउन जोसिला शिक्षकहरूको खाँचो छ। (यूहन्ना १७:३; रोमी १३:११) प्रेरित पावलले यस्तो आग्रह गरे: “वचन प्रचार गर, समय र बेसमयमा तयार रह।” यसको मतलब, मण्डलीमा र मण्डलीबाहिर सिकाउनु खाँचो छ। निस्सन्देह, प्रचार गर्नु भनेको परमेश्वरको सन्देश घोषणा गर्नु मात्र होइन। जिज्ञासु व्यक्तिहरूलाई चेला बनाउन प्रभावकारी ढंगमा सिकाउनु खाँचो छ।
२ हामी “डरलाग्दो समय[मा]” बाँचिरहेका छौं। (२ तिमोथी ३:१) मानिसहरू विभिन्न दर्शन तथा झूटो शिक्षाको बहकाउमा परेका छन्। धेरैको “अज्ञानताको समझ अँध्यारो” र “कठोर” भएका छन्। (एफिसी ४:१८, १९) कसै कसैले पीडादायी भावनात्मक चोट खाएका छन्। हो, मानिसहरू “गोठालो नभएका भेड़ाहरू जस्तै हैरान भई तितर-बितर भएका” छन्। (मत्ती ९:३६) तैपनि, शिक्षण कला अपनाएर हामीले इमानदार हृदय भएका मानिसहरूलाई आवश्यक परिवर्तनहरू गर्न मदत दिनसक्छौं।
मण्डलीमा शिक्षकहरू
३. (क) सिकाओ भन्ने येशूको आदेशमा के के समावेश छ? (ख) मण्डलीमा सिकाउने जिम्मेवारी मुख्यतया कसको हो?
३ गृह बाइबल अध्ययनको प्रबन्ध मार्फत लाखौंले व्यक्तिगत तवरमा निर्देशन पाइरहेका छन्। तर, बप्तिस्मा लिइसकेपछि यी नयाँ व्यक्तिहरूलाई “जरा गाड़िएका र दह्रिला” हुन मदत चाहिन्छ। (एफिसी ३:१७, नयाँ संशोधित संस्करण) त्यसकारण, मत्ती २८:१९, २० मा येशूले दिनुभएको आज्ञा पालन गर्दै नयाँ व्यक्तिहरूलाई यहोवाको संगठनतिर डोऱ्याउँदा तिनीहरूले मण्डलीमा सिकाइने कुराहरूबाट लाभ उठाउँछन्। एफिसी ४:११-१३ अनुसार पुरुषहरू “मण्डलीको गोठालो र शिक्षक हुनालाई, सेवाको काममा र ख्रीष्टको शरीरको स्थापन्नमा पवित्र जनहरूको सिद्धता हुनाको निम्ति नियुक्त गर्नुभयो।” कहिलेकाहीं शिक्षा दिनुको साथसाथै ‘दोष देखाइदिन, हप्काउन र अर्ती दिन’ पनि आवश्यक हुन्छ। (२ तिमोथी ४:२) शिक्षकहरूको काम एकदमै महत्त्वपूर्ण भएको हुँदा पावलले प्रेरित तथा अगमवक्ताहरूको लगत्तैपछि शिक्षकहरू उल्लेख गर्छन्।—१ कोरिन्थी १२:२८.
४. अरूलाई सिकाउने क्षमताले हामीलाई हिब्रू १०:२४, २५ मा लिपिबद्ध पावलको सल्लाह पालन गर्न कसरी मदत गर्छ?
४ हो, सबै मसीहीहरू प्राचीन वा निरीक्षकहरूको हैसियतमा सेवा गर्दैनन्। तैपनि एकअर्कालाई “प्रेम र सुकर्ममा उत्तेजित” गराउन सबैलाई प्रोत्साहित गरिएको छ। (हिब्रू १०:२४, २५) सभाहरूमा त्यसो गर्न राम्ररी तयार गरेर भित्री हृदयदेखि टिप्पणी गर्दा एकअर्कालाई निर्देशन तथा प्रोत्साहन दिन सकिन्छ। अनुभवी राज्य प्रकाशकहरूले पनि नयाँ व्यक्तिहरूसित आफ्नो ज्ञान र अनुभव बाँड्नुका साथै तिनीहरूसित क्षेत्र सेवकाईमा गएर ‘सुकर्ममा उत्तेजित गराउन सक्छन्।’ सभाहरू र अन्य अनौपचारिक अवसरहरूमा पनि अनमोल जानकारी दिन सकिन्छ। उदाहरणका लागि, परिपक्व स्त्रीहरूलाई “जे असल छ, तिनीहरूले त्यही सिकाऊन्” भन्ने आग्रह गरिएको छ।—तीतस २:३, नयाँ संशोधित संस्करण।
विश्वास गर्न मनाउनु
५, ६. (क) साँचो मसीहीधर्म र झूटो धर्मबीच कस्तो सुस्पष्ट भिन्नता छ? (ख) प्राचीनहरूले नयाँ व्यक्तिहरूलाई बुद्धिमान् निर्णयहरू गर्न कसरी मदत गर्छन्?
५ आफ्ना सदस्यहरूको सोचाइमाथि नियन्त्रण जमाउन चाहने झूटा धर्महरू र साँचो मसीहीधर्मबीच सुस्पष्ट भिन्नता छ। येशू पृथ्वीमा हुनुहुँदा धर्मगुरुहरूले आफ्ना नियमहरूद्वारा मानिसहरूको जीवनको हरेक पक्षमा दमन गर्न खोजे। (लूका ११:४६) मसीहीजगत्का पादरीवर्गले पनि प्रायजसो त्यसै गरेका छन्।
६ तर साँचो उपासना “तर्कशक्तिले” चढाउने “पवित्र सेवा” हो। (रोमी १२:१, NW) यहोवाका सेवकहरू “निश्चय भएका कुराहरूमा” मात्र विश्वास गर्छन्। (२ तिमोथी ३:१४) कहिलेकाहीं मण्डलीमा नेतृत्व लिइरहेकाहरूले मण्डली सुचारुरूपले सञ्चालन गर्न केही निर्देशन तथा तरिकाहरू अपनाउनुपर्ने हुनसक्छ। सँगी मसीहीहरूका लागि निर्णय गर्नुको साटो प्राचीनहरू तिनीहरूलाई “खराब र असल छुट्याउन” सिकाउँछन्। (हिब्रू ५:१४) प्राचीनहरूले विशेषगरि “उत्तम सिद्धान्त र विश्वासका वचनहरूले” मण्डलीको भरणपोषण गर्छन्।—१ तिमोथी ४:६.
आफ्नो शिक्षाको विषयमा होसियार रहने
७, ८. (क) सामान्य क्षमता भएका व्यक्तिहरूले पनि शिक्षकहरूको हैसियतमा कसरी सेवा गर्नसक्छन्? (ख) प्रभावशाली शिक्षक बन्न व्यक्तिगत तवरमा प्रयास गर्नुपर्छ भनी केले देखाउँछ?
७ अब भने सिकाओ भनेर हामीलाई दिइएको आज्ञामा ध्यान देऔं। के यो काममा भाग लिन विशेष प्रकारको सीप, शिक्षा वा क्षमता चाहिन्छ? चाहिन्छै भन्ने छैन। यो विश्वव्यापी शिक्षणकार्य प्रायजसो साधारण क्षमता भएका सामान्य मानिसहरूले गरिरहेका छन्। (१ कोरिन्थी १:२६-२९) पावल यसो भन्छन्: “शक्तिको सर्वश्रेष्ठ महत्त्व हामीबाट होइन, तर परमेश्वरको होस् भनेर हामीसँग यो [सेवकाईको] धन माटाको भाड़ामा [असिद्ध शरीरमा] छ।” (२ कोरिन्थी ४:७) विश्वव्यापी तवरमा परमेश्वरको राज्य सन्देश प्रचार भएकोले पनि यहोवाको आत्मा कत्तिको शक्तिशाली छ भन्ने पुष्टि दिन्छ!
८ त्यति मात्र नभई “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला” बन्न हरेकले जोडतोड प्रयास गर्नुपर्छ। (२ तिमोथी २:१५) पावलले तिमोथीलाई यस्तो आग्रह गरे: “आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होशियार रह। यी कुरामा लागिबस। किनभने यसो गर्नाले तिमीले आफूलाई र तिमीलाई सुन्नेलाई समेत उद्धार गर्नेछौ।” (१ तिमोथी ४:१६) मण्डली भित्र होस् या बाहिर, आफ्नो शिक्षाको विषयमा कसरी होसियार रहन सकिन्छ? के त्यसो गर्नुको मतलब कुनै खास सीप वा सिकाउने तरिका सिक्नु हो?
९. हाम्रा क्षमताहरूभन्दा महत्त्वपूर्ण कुरा के हो?
९ येशूले डाँडामा दिनुभएको प्रसिद्ध उपदेशमा असाधारण शिक्षण तरिका देखाउनुभयो। उहाँले उपदेश दिइसक्नुभएपछि “भीड़ उहाँका शिक्षाले छक्क परे।” (मत्ती ७:२८) निस्सन्देह, येशू जत्तिको राम्ररी सिकाउनसक्ने हामीमध्ये कोही पनि छैनौं। तर प्रभावशाली शिक्षकहरू बन्न हामी बोल्नमा खपिस हुनुपर्छ भन्ने छैन। अय्यूब १२:७ अनुसार “गाई-वस्तुहरू” र “आकाशका पक्षीहरूले” हामीलाई अप्रत्यक्ष ढंगमा सिकाउनसक्छन्! हाम्रो क्षमता वा सीपको अलावा हामी “कस्तो किसिमका मानिस” हौं, हामीसित के कस्ता गुणहरू छन् र विद्यार्थीहरूले अनुसरण गर्नसक्ने कस्ता आध्यात्मिक बानीहरू हामीले खेती गरेका छौं, त्यो विशेषगरि महत्त्वपूर्ण छ।—२ पत्रुस ३:११; लूका ६:४०.
परमेश्वरको वचनका विद्यार्थीहरू
१०. परमेश्वरको वचनको विद्यार्थीको हैसियतमा येशूले कसरी असल उदाहरण बसाल्नुभयो?
१० धर्मशास्त्रीय सत्यको प्रभावशाली शिक्षक, परमेश्वरको वचनको विद्यार्थी हुनुपर्छ। (रोमी २:२१) यस सन्दर्भमा येशू ख्रीष्टले असामान्य उदाहरण बसाल्नुभयो। आफ्नो सेवकाईको दौडान येशूले व्यक्त गर्नुभएका विचारहरू हिब्रू धर्मशास्त्रको आधाजति पुस्तकहरूमा पाइने अभिव्यक्तिसित मिल्दोजुल्दो छ।a उहाँ १२ वर्षको हुनुहुँदा “मन्दिरमा शिक्षकहरूका बीचमा बसेर सुन्दै र सोद्धै गरिरहनुभएको” घटनाले उहाँलाई परमेश्वरको वचन थाह थियो भनी देखाउँछ। (लूका २:४६) वयस्क हुनुभएपछि उहाँ परमेश्वरको वचन पढिने सभाघरमा नियमित तवरले जानुहुन्थ्यो।—लूका ४:१६.
११. शिक्षकले कस्तो असल पढ्ने बानी खेती गर्नुपर्छ?
११ के तपाईं मेहनत गरेर परमेश्वरको वचन पढ्नुहुन्छ? ‘परमप्रभुको भय बुझ्न, र परमेश्वरको ज्ञान प्राप्त गर्न’ खनेर निकाल्नुपर्छ। (हितोपदेश २:४, ५) त्यसकारण पढ्ने असल बानी बसाल्नुहोस्। हरेक दिन परमेश्वरको वचनको केही अंश पढ्ने प्रयास गर्नुहोस्। (भजन १:२) प्रहरीधरहरा र ब्यूँझनुहोस्! पाउनेबित्तिकै पढ्ने बानी बसाल्नुहोस्। मण्डलीका सभाहरूमा ध्यान दिएर सुन्नुहोस्। गहिरो अनुसन्धान गर्न सिक्नुहोस्। ‘सबै कुरा ठीक ठीक बुझ्न’ सिक्यौं भने अरूलाई सिकाउँदा बढाइचढाइ कुरा वा गल्तीहरू हुँदैन।—लूका १:३.
आफूले सिकाउने व्यक्तिहरूप्रति प्रेम र आदर
१२. येशूले आफ्ना चेलाहरूप्रति कस्तो मनोवृत्ति राख्नुभयो?
१२ अर्को महत्त्वपूर्ण गुण हो, आफूले सिकाउने व्यक्तिहरूप्रति सही मनोवृत्ति। येशूको कुरा सुन्नेहरूलाई फरिसीहरूले हेला गर्थे। तिनीहरूले भने: “व्यवस्था नजान्ने यो भीड़ श्रापित छ।” (यूहन्ना ७:४९) तर येशूले आफ्ना चेलाहरूप्रति गहिरो प्रेम तथा आदर देखाउनुहुन्थ्यो। उहाँले भन्नुभयो: “अबदेखि म तिमीहरूलाई दास भन्दिनँ, किनकि दासले त्यसका मालिकले के गर्दछ जान्दैन, तर मैले तिमीहरूलाई मित्र भनेको छु, किनभने जे मैले मेरा पिताबाट सुनें, मैले तिमीहरूलाई सबै थाह दिएको छु।” (यूहन्ना १५:१५) येशूका चेलाहरूले आफ्नो शिक्षण कार्य कसरी सञ्चालन गर्नुपर्छ भनी यसले संकेत गर्छ।
१३. आफूले सिकाएकाहरूप्रति पावलको मनोवृत्ति कस्तो थियो?
१३ उदाहरणका लागि, पावलले आफ्ना विद्यार्थीहरूसित न्यानो, घनिष्ठ सम्बन्ध राख्थे। तिनले कोरिन्थीहरूलाई यसो भने: “किनकि ख्रीष्टमा तिमीहरूका दश हजार शिक्षकहरू भए तापनि तिमीहरूका धेरै बाबुहरू ता छैनन्, किनभने सुसमाचारद्वारा मैले तिमीहरूलाई ख्रीष्ट येशूमा जन्माएँ।” (१ कोरिन्थी ४:१५) आफूले सिकाएकाहरूलाई सल्लाह दिन पावलले कहिलेकाहीं आँसुसमेत बगाए! (प्रेरित २०:३१) तिनले असामान्य धीरज तथा दया पनि देखाए। त्यसैकारण तिनले थिस्सलोनिकीहरूलाई यसो भन्न सके: “जसरी धाई-आमाले आफ्ना बालकहरूलाई पोषण गर्दछे, त्यसरी तिमीहरूका बीचमा हामी नम्र भएर बस्यौं।”—१ थिस्सलोनिकी २:७.
१४. बाइबल विद्यार्थीहरूप्रति व्यक्तिगत चासो लिनु किन एकदमै महत्त्वपूर्ण छ? उदाहरणसहित बताउनुहोस्।
१४ के तपाईं येशू र पावलको अनुसरण गर्नुहुन्छ? हामीसित कुनै योग्यताको कमी छ भने पनि विद्यार्थीहरूप्रतिको साँचो प्रेमले त्यसको क्षतिपूर्ति गर्छ। के हाम्रा बाइबल विद्यार्थीहरू हामीले तिनीहरूप्रति व्यक्तिगत तवरमा चासो राखेको महसुस गर्छन्? के हामी तिनीहरूलाई चिन्ने प्रयास गर्छौं? एउटी विद्यार्थीलाई आध्यात्मिक तवरमा प्रगति गराउन गाह्रो महसुस गरिरहेकी मसीही बहिनीले मायालु ढंगमा सोधिन्: “के तपाईंलाई कुनै कुराले पिरोलिरहेको छ?” त्यस स्त्रीले आफ्नो मनको सारा बह पोखिन्। त्यो मायालु कुराकानीपछि त्यस स्त्रीको जीवनमा नयाँ मोड आयो। त्यस्तो परिस्थितिमा सान्त्वना र प्रोत्साहनको लागि धर्मशास्त्रीय सोचाइ र वचन उपयुक्त हुन्छ। (रोमी १५:४) तर सतर्क हुनुपर्ने पक्ष पनि छ: बाइबल विद्यार्थीले छिटोछिटो प्रगति गरिरहेको भए तापनि केही गैरमसीही आचरणहरू अझै हटाउनुपर्ने होला। त्यसकारण, विद्यार्थीको हरेक व्यक्तिगत मामिलामा चियोचर्चो गर्नु बुद्धिमानी होइन। सही मसीही सीमा कायम गर्नुपर्छ।—१ कोरिन्थी १५:३३.
१५. बाइबल विद्यार्थीहरूप्रति हामी कसरी आदर देखाउनसक्छौं?
१५ विद्यार्थीहरूको आदर गर्नुको मतलब तिनीहरूको व्यक्तिगत जीवनमा नियन्त्रण जमाउनु होइन। (१ थिस्सलोनिकी ४:११) जस्तै, हामीले अध्ययन गरिरहेकी स्त्री कानुनी तवरमा विवाह नगरी पुरुषसित सँगै बसिरहेकी होला। तिनीहरूका छोराछोरी पनि होलान्। परमेश्वरको सही ज्ञान पाएपछि उक्त स्त्रीले यहोवाको स्तरअनुरूप जीवन बिताउने इच्छा गर्लान्। (हिब्रू १३:४) त्यही पुरुषसित विवाह गर्ने वा अलग्गै बस्ने? आध्यात्मिक कुरामा पटक्कै चासो नभएको मानिससित विवाह गर्दा उनको भावी प्रगतिमा अवरोध खडा हुनेछ भनी हामीलाई पक्का होला। अर्कोतिर हामीलाई लाग्नसक्छ, छोराछोरीको खातिर त्यही मानिससित विवाह गरे बेस हुनेछ। जुनसुकै अवस्थामा किन नहोस्, विद्यार्थीको जीवनमा हस्तक्षेप गरेर हाम्रै कुरा अघि सार्न खोज्नु आदरपूर्ण तथा मायालु होइन। आखिर, आफ्नो निर्णयको परिणाम उसैले भोग्नेछ। त्यसकारण, विद्यार्थीलाई नै आफ्नो “ज्ञानेन्द्रिय” चलाएर निर्णय गर्न सिकाउनु बेस होइन र?—हिब्रू ५:१४.
१६. प्राचीनहरूले परमेश्वरको बगालप्रति कसरी प्रेम र आदर देखाउनसक्छन्?
१६ विशेषगरि मण्डलीका प्राचीनहरूले आफ्नो बगाललाई प्रेम र आदरपूर्ण ढंगमा व्यवहार गर्नु महत्त्वपूर्ण छ। फिलेमोनलाई पावलले यसप्रकार लेखे: “जे योग्य छ, सो तिमीलाई सुनाइदिनालाई म ख्रीष्टमा निर्धक्क भएको छु। . . . प्रेमको खातिर बरु म तिमीसँग आग्रहपूर्वक बिन्ती गर्दछु।” (फिलेमोन ८, ९) कहिलेकाहीं मण्डलीमा निराशाजनक परिस्थितिहरू खडा हुनसक्छन्। कडा हुनु आवश्यक पर्ला। “विश्वासमा पक्का होऊन् भनी [गल्ती गर्नेहरूलाई] कड़ासित हप्काऊ” भनी पावलले तीतसलाई आग्रह गरे। (तीतस १:१३) तैपनि, मण्डलीसित छुच्चो वचन नगर्न निरीक्षकहरू सधैं होसियार हुनुपर्छ। पावलले लेखे, “प्रभुका सेवकले झगड़ा गर्नुहुँदैन, तर सबैप्रति भला, सिकाउनसक्ने, सहनशील” हुनुपर्छ।—२ तिमोथी २:२४; भजन १४१:३.
१७. मोशाले कस्तो गल्ती गरे अनि प्राचीनहरूले यसबाट कस्तो पाठ सिक्नसक्छन्?
१७ निरीक्षकहरूले आफ्नो जिम्माको मण्डली “परमेश्वरको बगाल” हो भनेर कहिल्यै बिर्सनु हुँदैन। (१ पत्रुस ५:२) नम्र मोशाले पनि एक चोटि आफ्नो होसहवास गुमाए, “तिनीहरूले उनको आत्मालाई वागी तुल्याए, र उनले अनर्थ बोलिपठाए।” (भजन १०६:३३) बगालकै दोष भए तापनि निरीक्षकले तिनीहरूप्रति यस्तो दुर्व्यवहार गरेको परमेश्वरलाई पटक्कै मन परेन। (गन्ती २०:२-१२) अहिले त्यस्तै चुनौतीहरू सामना गर्दा प्राचीनहरूले बगाललाई सजाय दिने होइन तर अन्तर्दृष्टि र दया देखाउँदै सिकाउने अनि निर्देशन दिने प्रयास गर्नुपर्छ। हाम्रा भाइहरूलाई कहिल्यै नसुध्रिने व्यक्तिहरूजस्तो नभई मदतको खाँचो परेका व्यक्तिहरूलाई जस्तो चासो देखाउँदा प्रगति गर्नसक्छन्। प्राचीनहरूले पावलको जस्तै यस्तो सकारात्मक दृष्टिकोण राख्नुपर्छ: “हामी जे जे कुराको आज्ञा दिन्छौं, ती तिमीहरू गर्छौ, र गर्नेछौं भन्ने हामी प्रभुमा दृढ़ विश्वास राख्तछौं।”—२ थिस्सलोनिकी ३:४.
तिनीहरूका आवश्यकताहरूमा ध्यान दिने
१८, १९. (क) सीमित क्षमता भएका बाइबल विद्यार्थीहरूको आवश्यकतालाई हामीले कसरी ध्यान दिनुपर्छ? (ख) कुनै खास विषयहरूमा गाह्रो परिरहेको विद्यार्थीलाई हामी कसरी मदत गर्नसक्छौं?
१८ प्रभावशाली शिक्षक आफ्नो विद्यार्थीको योग्यता र सीमितताअनुसार काँटछाँट गर्न इच्छुक हुन्छन्। (यूहन्ना १६:१२ तुलना गर्नुहोस्।) येशूले बताउनुभएको तोडाको उखानमा मालिकले “हरेकलाई तिनीहरूका आफ्ना आफ्ना खूबी अनुसार” मौका दिए। (मत्ती २५:१५) बाइबल अध्ययन गर्दा हामीले पनि त्यस्तै तरिका अपनाउनसक्छौं। बाइबल आधारित प्रकाशनलाई छोटो समयमै पूरा गर्ने इच्छा स्वाभाविक हो। तर हामीले यो कुरा बिर्सनु हुँदैन कि सबैसित राम्ररी पढ्ने खूबी वा नयाँ विचारहरू तुरुन्तै बुझ्ने क्षमता हुँदैन। तसर्थ, विद्यार्थीसित छिटोछिटो अध्ययन गर्दा उसलाई बुझ्न गाह्रो परिरहेको छ भने उसलाई राम्ररी बुझ्ने मदत दिन बुद्धि चाहिन्छ। अध्ययन सिध्याउनुभन्दा विद्यार्थीले आफूले सिकेको कुरा राम्ररी बुझ्नु महत्त्वपूर्ण छ।—मत्ती १३:५१.
१९ बाइबल विद्यार्थीलाई त्रिएक वा चाडपर्वका बिदाहरूजस्ता विषयहरू बुझ्न गाह्रो परिरहेको छ भने पनि त्यही कुरा लागू हुन्छ। साधारणतया हाम्रो अध्ययनमा बाइबल-आधारित अनुसन्धान समावेश गर्नु खाँचो छैन तर कहिलेकाहीं त्यसो गर्नु लाभदायी देखिएमा, अवश्य गर्नुहोस्। विद्यार्थीको प्रगतिमा नै बाधा पर्ने गरी अनावश्यक जानकारीहरू नथप्न सतर्क हुनुपर्छ।
उत्साही हुनुहोस्!
२०. पावलले सिकाउँदा उत्साह र आत्मविश्वास देखाउने सन्दर्भमा कसरी नमुना बसाले?
२० पावल भन्छन्, “आत्मामा जोशिलो होओ।” (रोमी १२:११) हामी गृह बाइबल अध्ययन सञ्चालन गरिरहेको वा मण्डलीको सभामा भाग लिइरहेका होऔं, जोसिलो र उत्साही हुनुपर्छ। पावलले थिस्सलोनिकीहरूलाई यसो भने: “हाम्रो सुसमाचार केवल वचनमा मात्र होइन, तर शक्तिमा पनि, र पवित्र आत्मामा, र ज्यादै आत्मविश्वासमा तिमीहरूकहाँ आएको हो।” (१ थिस्सलोनिकी १:५) यसरी पावल र उनका सहचरहरूले “परमेश्वरको सुसमाचार मात्र होइन तर [तिनीहरूको] प्राणसमेत” दिए।—१ थिस्सलोनिकी २:८.
२१. सिकाउने कामप्रति हामीले कसरी उत्साही मनोभाव कायम गर्नसक्छौं?
२१ हामीले बताउने कुरा विद्यार्थीहरूले सुन्नु आवश्यक छ भनी दृढ विश्वास छ भने साँचो उत्साह स्वतः आउँछ। हामीले सिकाउने कुनै पनि कामलाई एकोहोरो तालिकाजस्तो नठानौं। यस सन्दर्भमा शास्त्री एज्रा आफ्नो शिक्षाको विषयमा होशियार रहे। तिनले “परमप्रभुको व्यवस्था अध्ययन गर्न र पालन गर्न औ इस्राएलमा . . . सिकाउन मन दिएका थिए।” (एज्रा ७:१०) विषयवस्तुको महत्त्वमा ध्यान दिनुका साथै गहन तयारी गरेर हामीले पनि त्यसै गर्नुपर्छ। विश्वास र आत्मविश्वासको लागि यहोवासित प्रार्थना गरौं। (लूका १७:५) हाम्रो उत्साहले बाइबल विद्यार्थीहरूलाई सत्यप्रति साँचो प्रेम विकास गर्ने मदत दिनसक्छ। निस्सन्देह, आफ्नो शिक्षाको विषयमा होशियार रहँदा अरूलाई सिकाउने सन्दर्भमा खास खास तरिकाहरू अपनाउन सकिन्छ। यसपछिको लेखले त्यस्ता केही तरिकाहरू छलफल गर्नेछ।
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित धर्मशास्त्रमाथि अन्तर्दृष्टि (अंग्रेजी) खण्ड २, पृष्ठ १०७१ हेर्नुहोस्।
के तपाईंलाई सम्झना छ?
◻ अहिले निपुण मसीही शिक्षकहरूको किन खाँचो छ?
◻ हामीले पढ्ने कस्तो राम्रो बानी बसाल्न सक्छौ?
◻ हामीले सिकाउने व्यक्तिहरूप्रति प्रेम र आदर देखाउनु किन एकदमै महत्त्वपूर्ण छ?
◻ आफ्ना बाइबल विद्यार्थीहरूको आवश्यकतालाई हामी कसरी ध्यान दिनसक्छौं?
◻ अरूलाई सिकाउँदा उत्साह र आत्मविश्वास किन एकदमै महत्त्वपूर्ण छ?
[पृष्ठ १०-मा भएको चित्र]
असल शिक्षकहरू परमेश्वरको वचनका विद्यार्थीहरू हुन्
[पृष्ठ १३-मा भएको चित्र]
बाइबल विद्यार्थीप्रति व्यक्तिगत चासो लिनुहोस्