आध्यात्मिक कमजोरीहरू चिनेर त्यसमाथि विजयी हुने—कसरी
पौराणिक युनानी कथाअनुसार ट्रोइ शहरविरुद्ध लडिएको ट्रोजन युद्धमा एकिलस नामक व्यक्ति सबैभन्दा वीर युनानी योद्धा थिए। दन्त्यकथाअनुसार नवजात शिशु एकिल्सलाई तिनकी आमाले स्टिक्स नदीमा कुर्कुच्चा समातेर डुबाएकी थिइन्। त्यसकारण एकिल्सलाई मार्ने हो भने कुर्कुच्चामै चोट पुऱ्याउनुपर्थ्यो। ट्रोइका राजा प्रियमका पुत्र पेरिसले त्यहीं पर्ने गरी काँड हाने अनि एकिल्सको मृत्यु भयो।
मसीहीहरू ख्रीष्टका सिपाहीहरू हुन् जसले आत्मिक युद्ध लड्छन्। (२ तिमोथी २:३) प्रेरित पावल भन्छन्: “हाम्रो यो लड़न्त मनिसहरूका विरुद्धमा होइन, तर प्रधानताहरू, अधिकारहरू, यस अन्धकारका सांसारिक शासकहरू र स्वर्गीय स्थानहरूमा दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्धमा हो।” हो, हाम्रो शत्रु अरू कोही नभएर शैतान अर्थात् दियाबल र प्रेतहरू हुन्।—एफिसी ६:१२.
स्पष्टतः हामीले “योद्धा” अर्थात् यहोवा परमेश्वरको मदत पाएनौं भने यो युद्ध एकतर्फी हुनेछ। (प्रस्थान १५:३) दुष्ट शत्रुहरूको हातबाट बच्न हामीले आध्यात्मिक हातहतियार पाएका छौं। तसर्थ, प्रेरित यस्तो आग्रह गर्छन्: “शैतानका युक्तिहरूका विरुद्धमा खड़ा हुनसक्नालाई परमेश्वरको सारा हात-हतियार धारण गर।”—एफिसी ६:११.
निस्सन्देह, यहोवा परमेश्वरले दिनुहुने हातहतियार उत्कृष्ट छ जसले हरेक किसिमको आध्यात्मिक आक्रमण सामना गर्नसक्छ। पावलले उल्लेख गरेका हातहतियालाई यसो विचार गर्नुहोस् त: सत्यताको कम्मरपेटी, धार्मिकताको छाती-पाता, सुसमाचारको जुत्ता, विश्वासको ढाल, मुक्तिको टोप अनि आत्माको तरवार। यीभन्दा उत्कृष्ट हातहतियार अरू के होलान् र? शैतानका आक्रमणहरू सामना गर्न नसक्ने देखिए तापनि यस्ता आध्यात्मिक हातहतियार धारण गरेर मसीही सिपाही विजयी हुनसक्छ।—एफिसी ६:१३-१७.
यहोवाले दिनुहुने आध्यात्मिक हातहतियार उत्कृष्ट हुनुका साथै हाम्रोलागि सुरक्षाको स्रोत हो। तर हामीले आध्यात्मिक युद्धलाई हल्कासित लिनुहुँदैन। अजेय मानिने एकिल्सलाई विचार गर्ने हो भने, तिनको कुर्कुच्चाजस्तै हाम्रो पनि आध्यात्मिक कमजोरी छ कि? बेवास्ता गऱ्यौं भने त्यो कमजोरी प्राणघातक हुनसक्छ।
तपाईंको आध्यात्मिक हातहतियार जाँच्ने
ओलम्पिकमा दुईपल्ट स्वर्ण पदक जितेका तन्दुरुस्त देखिने एक आइस स्केटर तालिमको दौडान एक्कासि लडेर मरे। त्यसको केही समयपछि द न्यू योर्क टाइम्स-मा यस्तो विचारणीय समाचार प्रकाशित भयो: “प्रत्येक वर्ष हृदयघात हुने ६,००,००० अमेरिकीहरूमध्ये आधाजतिमा कुनै पूर्वलक्षण देखिंदैनन्।” स्पष्टतः हामीलाई केही पनि भएको छैन भन्दैमा हाम्रो स्वास्थ्य ठीकै छ भन्न मिल्दैन।
हाम्रो आध्यात्मिक स्वास्थ्य पनि त्यस्तै हो। बाइबल यस्तो सल्लाह दिन्छ: “म खड़ा छु भन्ने जसले विचार गर्दछ, त्यो होशियार रहोस, नत्रता त्यो लड़छ।” (१ कोरिन्थी १०:१२) हाम्रो आध्यात्मिक हातहतियार उत्कृष्ट भए तापनि कमजोरीहरू देखा पर्नसक्छन्। किनकि हामी जन्मजात पापी छौं अनि हाम्रो पाप र असिद्धताले गर्दा परमेश्वरको इच्छा गर्ने हाम्रो संकल्प सजिलै ओइलाउनसक्छ। (भजन ५१:५) हाम्रो मनसाय असलै भए तापनि आफ्नो छली हृदयले गलत तर्क गरेर वा बहानाहरू बनाएर हामीलाई छल्नसक्छ। फलस्वरूप, हामी आफ्ना कमजोरीहरू सहजै बेवास्ता गर्छौं अनि आफू ठीकै छु भनेर आफैलाई छल्छौं।—यर्मिया १७:९; रोमी ७:२१-२३.
यसबाहेक, हामी त्यस्तो संसारमा बाँचिरहेका छौं जहाँ सही र गलतबीचको भिन्नता अस्पष्ट अनि विकृत भएको छ। कुनै कुरा सही हो वा गलत, त्यो व्यक्तिविशेषको सोचाइमा निर्भर होला। यस्तो सोचाइलाई विज्ञापनहरू, लोकप्रिय मनोरञ्जन अनि सञ्चार माध्यमले बढावा दिन्छ। स्पष्टतः होसियार भएनौं भने हामीले पनि त्यस्तै सोचाइ राख्नसक्छौं अनि हाम्रो आध्यात्मिक हातहतियार कमजोर हुँदै जानसक्छ।
यस्तो खतराजनक अवस्थामा फस्नुभन्दा हामीले बाइबलको यो सल्लाह पालन गर्नुपर्छ: “तिमीहरू विश्वासमा छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देओ।” (२ कोरिन्थी १३:५) यसो गरेर हामी आफ्ना कमजोरीहरू पत्ता लगाउनुका साथै हाम्रा शत्रुहरूले आक्रमण गर्नुअघि ती कमजोरीहरू हटाउने आवश्यक कदम चाल्नसक्छौं। तथापि, हामी कसरी आफैलाई जाँच्नसक्छौं? हामीले आफूलाई जाँच्दा ध्यान दिनुपर्ने केही लक्षण के के हुन्?
लक्षणहरू चिन्ने
आध्यात्मिक कमजोरीको संकेत दिने एउटा साधारण लक्षण हो, व्यक्तिगत अध्ययनप्रतिको उत्साह घट्नु। कसै कसैले अझ बढी अध्ययन गर्नुपर्छ भनेर महसुस त गर्छन् तर त्यसो गर्न भने सकिरहेका हुँदैनन्। आजको अति व्यस्त जीवनमा सजिलै यस्तो खराब स्थितिमा फस्न सकिन्छ। तथापि, त्योभन्दा दुःखलाग्दो कुरा के हो भने, समय मिल्दा बाइबल साहित्यहरू पढिरहेको अनि कुनै कुनै मसीही सभाहरू पनि धाइरहेको हुनाले मानिसहरूले आफू ठीकै छु नि भन्ठान्छन्।
यस्तो सोचाइले आफैलाई छकाइरहेको हुन्छ। त्यो त कसैले बसेर राम्रोसँग खाना खान नभ्याएजस्तो गरी जहिले जे पायो त्यही चुभुरचुभुर खाएजस्तै हो। उसलाई भोकले नसताए पनि समयमा स्वास्थ्य समस्याले सताउनसक्छ। त्यसै गरी, लगातार पोसिलो आध्यात्मिक खाना खाएनौं भने चाँडै हाम्रो आध्यात्मिक हातहतियार कमजोर हुनथाल्छ। हामीले सधैं संसारको झूटो प्रचारप्रसार र मनोवृत्तिहरू सामना गर्नुपर्ने हुनाले हामी शैतानको घातक आक्रमणमा सजिलै पराजित हुनसक्छौं।
आध्यात्मिक युद्धमा ढिलासुस्ती गर्नु आध्यात्मिक कमजोरीको अर्को लक्षण हो। शान्तिमय अवस्थामा सिपाहीले युद्धको तनाउ र खतरा महसुस गर्दैन। तसर्थ, तिनलाई सतर्क बस्नुपर्ने आवश्यकता नै महसुस हुँदैन। तिनलाई अपर्झट युद्धमा बोलाइयो भने तिनी अलमल्ल पर्छन्। आध्यात्मिक युद्ध पनि त्यस्तै हो। हामीमा सधैं सतर्क हुनुपर्ने भाव हरायो भने हाम्रो जीवनमा आउनसक्ने आक्रमणहरू सामना गर्न तयार हुँदैनौं।
तथापि, हामी यस्तो अवस्थामा छौं भनेर कसरी भन्नसक्छौं? हाम्रो अवस्था वास्तवमा कस्तो छ भनेर थाह पाउन हामी आफूलाई यी प्रश्नहरू सोध्नसक्छौं: के म भ्रमणमा जान उत्सुक भएजस्तै सेवकाईमा भाग लिन पनि उत्सुक छु? के म किनमेल गर्न वा टिभी हेर्नुमा जस्तै सभाहरूको तयारी गर्नमा समय बिताउँछु? मैले मसीही हुन त्यागेका पेशा र कामकुराहरूमा पो मन लगाउन थालेको छु कि? के आरामदायी देखिने अरूको जीवनको मलाई डाह लाग्छ? यी सोचनीय गम्भीर प्रश्नहरू हुन्। यसले हाम्रा आध्यात्मिक हातहतियार कहाँ कमजोर हुँदैछ, पत्ता लगाउन मदत गर्छ।
हाम्रो सुरक्षात्मक हातहतियार आध्यात्मिक भएकोले गर्दा हाम्रो जीवनमा परमेश्वरको आत्मा कुनै रोकावटबिना आउन दिनु अत्यावश्यक छ। त्यसो गर्न हामीले परमेश्वरको आत्मा हाम्रो प्रत्येक क्रियाकलापमा प्रकट गर्नुपर्छ। तपाईंलाई मन नपर्ने कुरा अरूले गर्दा अथवा भन्दा के तपाईं झनक्क रिसाउनुहुन्छ वा खिन्न बन्नुहुन्छ? के तपाईंलाई सल्लाह स्वीकार्न गाह्रो लाग्छ अथवा अरूले सधैं तपाईंको आलोचना मात्र गर्छन् जस्तो लाग्छ? अरूले पाएका आशिष् वा सफलताहरूप्रति के तपाईं असाध्यै डाह गर्नुहुन्छ? तपाईंलाई अरूसँग र खास गरी साथीहरूसँग मिलीजुली बस्न गाह्रो लाग्छ? आफूलाई इमानदारीसाथ जाँच्नाले हाम्रो जीवनमा परमेश्वरको आत्माका फलहरू छन् कि शरीरका कामहरू देखा पर्न थालेका छन् भनेर थाह पाउन मदत मिल्नेछ।—गलाती ५:२२-२६; एफिसी ४:२२-२७.
आध्यात्मिक कमजोरीहरूमाथि विजय हासिल गर्ने सकारात्मक कदमहरू
आध्यात्मिक कमजोरी थाह पाउनु एउटा कुरा हो, त्यसलाई सामना गर्नु र सच्याउने कदम चाल्नु अर्कै कुरा हो। दुःखको कुरा, थुप्रैले तिनीहरूसँग कुनै समस्या छैन भन्ने बहाना बनाउँछन्, अनेकन् तर्क गर्छन् अनि वास्ता गर्दैनन् वा समस्या नै छैन भन्छन्। त्यसो गर्नु भनेको कुनै हातहतियारै नलिइकन युद्धमा जानुजस्तै खतराजनक हो! त्यसो गर्नाले हामी शैतानको आक्रमणमा सजिलै पराजित हुनसक्छौं। बरु, हामीले त्रुटी थाह पाउनेबित्तिकै त्यसलाई सच्याउन सकारात्मक कदम चालिहाल्नुपर्छ। हामी के गर्नसक्छौं?—रोमी ८:१३; याकूब १:२२-२५.
हामी मसीही मन र हृदयलाई नियन्त्रणमा राख्नुपर्ने आध्यात्मिक युद्धमा सामेल छौं। तसर्थ, हामीले आफ्नो सामर्थ्य जोगाउन सक्दो प्रयास गर्नुपर्छ। याद गर्नुहोस्, हाम्रो आध्यात्मिक हातहतियारहरूमध्ये “धार्मिकताको छाती-पाता” एक हो जसले हाम्रो हृदयलाई रक्षा गर्छ अनि अर्को “मुक्तिको टोप” हो जसले हाम्रो मनलाई रक्षा गर्छ। यी हातहतियारहरू प्रभावकारी ढंगमा प्रयोग गर्न सिक्नाले आफू पराजित नभई त्यसमाथि विजय हासिल गर्न सकिन्छ।—एफिसी ६:१४-१७; हितोपदेश ४:२३; रोमी १२:२.
ठीकसित “धार्मिकताको छाती-पाता” लगाउनको निम्ति हामीले धार्मिकतालाई कतिको प्रेम गर्छौं अनि दुष्टतालाई कतिको घृणा गर्छौं भनी आफूलाई सधैं जाँच्नु आवश्यक छ। (भजन ४५:७; ९७:१०; आमोस ५:१५) के हाम्रो चालढाल संसारको जस्तै भएको छ? के एकताक हामीलाई आघात पुऱ्याउने वा ठोक्कर दिने कामकुरा अथवा टिभि वा चलचित्रहरूमा देखाइने तथा पुस्तक अनि पत्रिकाहरूमा पाइने कुराहरू मनोरञ्जनपूर्ण लाग्न थालेको छ? धार्मिकताप्रतिको प्रेमले संसारमा असल मानिएको स्वतन्त्रता र विकसित ठानिएका कुराहरू वास्तवमा छाडापन अनि अहंकार हुनसक्छन् भनेर बुझ्ने मदत गर्छ।—रोमी १३:१३, १४; तीतस २:१२.
“मुक्तिको टोप” लगाउनुमा हाम्रोअगाडि राखिएका आशिष्हरू सधैं मनमा ताजा राखेर सांसारिक चमकदमक र मोहमा नअल्मलिनु समावेश छ। (हिब्रू १२:२, ३; १ यूहन्ना २:१६) यस्तो दृष्टिकोण राख्नाले भौतिक कुरा वा व्यक्तिगत उपलब्धिहरूभन्दा आध्यात्मिकतालाई प्राथमिकता दिन मदत मिल्नेछ। (मत्ती ६:३३) अतः हाम्रो यो आध्यात्मिक हतियार ठीक छ कि छैन भनेर निश्चित गर्न आफैलाई यस्ता प्रश्नहरू सोध्नुपर्छ: म केको पछि लागिरहेछु? के मैले आध्यात्मिक लक्ष्यहरू राखेको छु? ती लक्ष्यहरू पूरा गर्न मैले के गर्दैछु? हामी चाहे शेष अभिषिक्त मसीहीहरू होऔं वा “ठूलो भीड़[का]” मसीहीहरू, हामीले पावलको अनुकरण गर्नुपर्छ। तिनले यसो भने: “मैले पक्रिसकेको छु भनी म अझै सम्झन्नँ तर पछाड़िका कुराहरूलाई बिर्सेर अगाड़िका कुराहरूतिर लम्केर म एउटा काम गर्दछु, . . . निशानातिर म अगाड़ि बढ़दछु।”—प्रकाश ७:९; फिलिप्पी ३:१३, १४.
पावलले हाम्रो आध्यात्मिक हातहतियारबारे कुरा गर्दा अन्तमा यसो भने: “सारा प्रार्थना र अन्तरबिन्तीबाट, हर समय आत्मामा प्रार्थना गरेर, यसैमा सारा पवित्र जनहरूका निम्ति सतर्क भएर खुरन्धार अन्तरबिन्ती गर।” (एफिसी ६:१८) आफ्नो आध्यात्मिक कमजोरीमाथि विजय हासिल गर्न वा त्यसको प्रतिरोध गर्न दुइटा मुख्य कदमहरू चाल्नसक्छौं भनेर यसले औंल्याउँछ: परमेश्वरसँग राम्रो सम्बन्ध बनाउने अनि सँगी मसीहीहरूसँग बलियो बन्धन गाँस्ने।
हामीले यहोवालाई “सारा प्रार्थना[मा]” (आफ्नो पापको प्रायश्चित गर्दा, क्षमाको लागि बिन्ती गर्दा, निर्देशन माग्दा, आशिष्हरूका लागि धन्यवाद दिंदा, भित्री हृदयदेखि नै प्रशंसा गर्दा) अनि “हर समय[मा]” (खुलेआम, गुप्तमा, व्यक्तिगत रूपमा, लगातार) पुकार्ने बानी बसाल्यौं भने हामी उहाँसित नजिक हुनेछौं। हामीले पाउनसक्ने सबैभन्दा महान् सुरक्षा यही हो।—रोमी ८:३१; याकूब ४:७, ८.
अर्को कुरा, हामीलाई “पवित्र जनहरूका निम्ति” अर्थात् हाम्रा सँगी मसीहीहरूका निम्ति प्रार्थना गर्न आग्रह गरिएको छ। हामी प्रार्थनामा टाढा टाढाका मुलुकहरूमा सतावट वा अन्य कठिनाईहरू भोगिरहेका हाम्रा भाइबहिनीहरूलाई सम्झनसक्छौं। तर हामीसँगै काम अनि संगत गर्ने मसीहीहरूबारे नि? येशूले उहाँका चेलाहरूको निम्ति प्रार्थना गर्नुभएजस्तै हामीले पनि उनीहरूको निम्ति प्रार्थना गर्नु उचित हुन्छ। (यूहन्ना १७:९; याकूब ५:१६) त्यस्ता प्रार्थनाहरूले हामी एकअर्कासित नजिकिन्छौं अनि “दुष्ट[को]” आक्रमणहरू विरोध गर्न बलियो हुन्छौं।—२ थिस्सलोनिकी ३:१-३.
अन्तमा, प्रेरित पत्रुसको यो सल्लाह मनमा राम्रोसँग राख्नुहोस्: “सबै कुराको अन्त नजीकै आएको छ। यसकारण शुद्ध मनको भएर प्रार्थनामा सचेत रहो। सबैभन्दा बढ़ता आपसमा प्रगाढ़ प्रेम राख। किनभने प्रेमलेनै असंख्य पापहरू ढाक्तछ।” (१ पत्रुस ४:७, ८) अरूको तथा आफ्नै मानव असिद्धताहरूले हाम्रो हृदय र मनलाई सजिलै अतिक्रमण गर्नसक्छन् अनि ती असिद्धताहरू हाम्रोलागि अवरोध तथा ठोक्कर बन्नसक्छन्। शैतानलाई यी मानव कमजोरीहरू राम्ररी थाह छ। त्यसको एउटा चतुऱ्याइँपूर्ण चाल, मानिसहरूलाई विभाजित गर्नु अनि अरूलाई उछिन्ने विचार राख्न लगाउनु हो। तसर्थ, हामीले तुरुन्तै त्यस्ता पापहरूलाई एकअर्काप्रतिको प्रगाढ प्रेमले ढाकेर ‘शैतानलाई मौका नदेऔं।’—एफिसी ४:२५-२७.
आध्यात्मिक तवरमा बलियो हुनुहोस्
तपाईंले आफ्नो कपाल गज्याङगुजुङ परेको वा टाइ बांगिएको थाह पाउनुभयो भने के गर्नुहुन्छ? त्यसलाई तुरुन्तै मिलाइहाल्नुहुन्छ। कसै कसैले मात्र त्यस्ता बाह्य विसंगतिले केही फरक पार्दैन भनेर बेवास्ता गर्छन्। आउनुहोस्, हामी आध्यात्मिक कमजोरीहरूलाई तुरुन्तै ठीक गरिहालौं। शारीरिक विकृतिले गर्दा मानिसको अनुमोदन गुमाउनसक्छौं तर आध्यात्मिक त्रुटी सच्याएनौं भने यहोवाको अनुमोदन गुमाउनसक्छौं।—१ शमूएल १६:७.
यहोवाले माया गरेर हामीलाई आध्यात्मिक कमजोरी हटाउने अनि आध्यात्मिकतामा बलियो हुन मदत दिने हरेक साधनहरू दिनुभएको छ। उहाँले मसीही सभा, बाइबल प्रकाशन, परिपक्व अनि एकअर्काको ख्याल गर्ने सँगी मसीहीहरूको माध्यमद्वारा हामीले गर्नुपर्ने कामकुराहरू बारम्बार सम्झाउनुहुन्छ। त्यसलाई स्वीकार्नु र व्यवहारमा उतार्नुचाहिं हाम्रै काम हो। त्यसो गर्न कोसिस गर्नुपर्छ र आत्म-अनुशासन चाहिन्छ। तर प्रेरित पावलले इमानदारीसाथ भनेका कुरा सम्झनुहोस्। तिनले यसो भने: “म यसरी दगुर्छु, बेताकसित होइन, म यसरी मुक्का लड़दछु, केवल हावामा हान्ने जस्तो होइन, तर म आफ्नो शरीरलाई कुट्तछु, र वशमा ल्याउँछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिं इन्कार गरिनेछु।”—१ कोरिन्थी ९:२६, २७.
सतर्क हुनुहोस् अनि कहिल्यै एकिल्सको कुर्कुच्चाजस्तो आध्यात्मिक कमजोरी देखा पर्न नदिनुहोस्। बरु, नम्र र साहसी भएर हाम्रा आध्यात्मिक कमजोरीहरू चिन्ने र त्यसमाथि विजय हासिल गर्ने कदम चालौं।
[पृष्ठ १९-मा भएको ठूलो अक्षरको क्याप्सन]
“तिमीहरू विश्वासमा छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देओ।”—२ कोरिन्थी १३:५.
[पृष्ठ २१-मा भएको ठूलो अक्षरको क्याप्सन]
“शुद्ध मनको भएर प्रार्थनामा सचेत रहो। सबैभन्दा बढ़ता आपसमा प्रगाढ़ प्रेम राख। किनभने प्रेमलेनै असंख्य पापहरू ढाक्तछ।”—१ पत्रुस ४:७, ८.
[पृष्ठ २०-मा भएको पेटी/चित्र]
आफैलाईं सोध्नुहोस्. . .
◆ के म किनमेल गर्दा वा टिभि हेर्दा जस्तै सभाहरूको तयारी गर्दा पनि यथेष्ट समय बिताउँछु?
◆ के आरामदायी देखिने अरूको जीवनको मलाई डाह लाग्छ?
◆ मलाई मन नपर्ने कुरा अरूले गर्दा अथवा भन्दा के म झनक्क रिसाउँछु?
◆ के मलाई सल्लाह स्वीकार्न गाह्रो लाग्छ अथवा अरूले सधैं मेरो आलोचना मात्र गर्छन् जस्तो लाग्छ?
◆ के मलाई अरूसँग मिलीजुली बस्न गाह्रो लाग्छ?
◆ के मेरो चालढाल संसारको जस्तै भएको छ?
◆ के मैले आध्यात्मिक लक्ष्यहरू राखेको छु?
◆ आध्यात्मिक लक्ष्यहरू पूरा गर्न के गर्दैछु?
[पृष्ठ १८-मा भएको चित्रको स्रोत]
एकिल्स: Great Men and Famous Women पुस्तकबाट: रोमी सैनिक अनि पृष्ठ २१: Historic Costume in Pictures/Dover Publications, Inc., New York