मसीही मण्डली बलको स्रोत
आफ्नो आमाबाबुसँग खुलमखुल्ला कुराकानी नभएको कारण परिवारमा उत्पन्न दुःखद अवस्था देखेर भर्खरै २० वर्ष टेकेकी पोपी नामक युवती साह्रै विरक्त थिइन्।a उसले आफ्नो मनका कुराहरू मसीही प्राचीन र तिनकी पत्नीलाई पोखाएपछि तिनीहरूलाई यस्तो पत्र लेखिन्: “मसँग कुरा गर्ने समय निकाल्नुभएकोमा तपाईंहरूलाई धेरै धेरै धन्यवाद। तपाईंहरूले मेरो ख्याल गर्नु भनेको मेरोलागि ठूलो कुरा हो। मैले भरोसा गर्नसक्ने अनि आफ्ना मनका कुराहरू पोखाउनसक्ने व्यक्ति पाएकोमा म यहोवालाई धन्यवाद दिन्छु।”
केही समयअघि मात्र विधवा भएकी टुला दुई किशोरकिशोरीकी आमा हुन्। तिनी भावनात्मक तथा आर्थिक समस्याहरूले पीडित थिइन्। मण्डलीको एक मसीही दम्पतीको नियमित भेटघाटबाट तिनी र तिनका छोराछोरीले बल पाए। तिनले कठिन परिस्थिति सफलतापूर्वक सामना गरेपछि उक्त दम्पतीलाई निम्न शब्दहरूसहित एउटा कार्ड पठाइन्: “म सधैं तपाईंहरूलाई प्रार्थनामा सम्झन्छु। तपाईंहरूले थुप्रैपल्ट गर्नुभएको सहायता र समर्थनको मीठो स्मरण गर्छु।”
के तपाईं कहिलेकाहीं संसारको बढ्दो दबाउले ‘दबिएको’ महसुस गर्नुहुन्छ? (मत्ती ११:२८) के “समय र अवसरले” गर्दा जीवनमा दुःखद अनुभवहरू भोग्नुभएको छ? (उपदेशक ९:११) त्यस्ता अनुभवहरू भोग्ने तपाईं मात्र हुनुहुन्न। तर ती हजारौं दुःखित व्यक्तिहरू जस्तै तपाईं पनि यहोवाका साक्षीहरूको मसीही मण्डलीमा मूल्यवान मदत पाउन सक्नुहुन्छ। सा.यु. प्रथम शताब्दीमा प्रेरित पावलले केही सँगी विश्वासीहरूबाट “सान्त्वना” पाए। (कलस्सी ४:१०, ११) तपाईं पनि त्यस्तै अनुभव गर्न सक्नुहुन्छ।
समर्थन र सहयोग
मसीही युनानी धर्मशास्त्रमा पाइने “मण्डली” शब्द एकलेसिया भन्ने युनानी शब्दबाट अनुवाद गरिएको हो। यसले एक ठाउँमा भेला भएका मानिसहरूको समूहलाई बुझाउँछ। यो शब्दले संगति र पारस्परिक समर्थनको भाव झल्काउँछ।
मसीही मण्डलीले परमेश्वरको वचनको सत्यलाई समर्थन गर्छ अनि उहाँको राज्यको सुसमाचार घोषणा गर्छ। (१ तिमोथी ३:१५; १ पत्रुस २:९) तथापि, मण्डलीले आफ्ना सदस्यहरूलाई समर्थन र सहयोग पनि गर्छ। त्यहाँ अरूलाई तनाउको बेला मदत र सान्त्वना दिन तत्पर हुने मायालु, चासो राख्ने अनि हेरविचार गर्ने साथीभाइहरू पाउन सकिन्छ।—२ कोरिन्थी ७:५-७.
यहोवाका उपासकहरूले सधैं नै उहाँको मण्डलीमा सुरक्षित महसुस गरेका छन्। भजनहारले परमेश्वरका एकत्रित मानिसहरूमाझ आनन्द र सुरक्षा अनुभव गरे। (भजन २७:४, ५; ५५:१४; १२२:१) त्यसैगरी अहिलेको मसीही मण्डली यस्तो सँगी विश्वासीहरूको समुदाय हो जसले एकअर्कालाई हौसला र प्रोत्साहन दिन्छन्।—हितोपदेश १३:२०; रोमी १:११, १२.
मण्डलीका सदस्यहरू “सबै मानिसतर्फ, खास गरेर विश्वासका घरानातर्फ, भलाइको काम” गर्न सिकाइएका हुन्छन्। (गलाती ६:१०) तिनीहरू आफूले पाएको बाइबल आधारित शिक्षाले गर्दा एकअर्काप्रति भ्रातृत्व प्रेम र कोमल स्नेह प्रदर्शित गर्छन्। (रोमी १२:१०; १ पत्रुस ३:८) मण्डलीका आध्यात्मिक भाइबहिनीहरू दयालु, शान्तिप्रिय अनि अनुकम्पापूर्ण हुन्छन्। (एफिसी ४:३) तिनीहरू औपचारिक उपासकहरू मात्र नभई अरूप्रति मायालु चासो पनि राख्छन्।—याकूब १:२७.
त्यसकारण, बोझले दबिएकाहरूले मण्डलीमा परिवारको जस्तै न्यानो वातावरण पाउँछन्। (मर्कूस १०:२९, ३०) तिनीहरूलाई घनिष्ठ अनि मायालु व्यक्तिहरूमाझमा छौं भन्ने अनुभूतिले बल दिन्छ। (भजन १३३:१-३) “विश्वासी र बुद्धिमान दास[ले]” मण्डली मार्फत “ठीक ठीक समयमा” पौष्टिक आध्यात्मिक खाना दिन्छन्।—मत्ती २४:४५.
मायालु निरीक्षकहरूद्वारा मदत
मसीही मण्डलीका सदस्यहरूले मण्डलीमा आध्यात्मिक मदत र प्रोत्साहन दिने मायालु, समझदार र दक्ष गोठालाहरू पाउने आशा गर्नसक्छन्। त्यस्ता गुणहरू भएका गोठालाहरू “बतासबाट लुक्ने ठाउँ, र आँधी–बेह्रीबाट आड़ लिने ठाउँ” हुन्। (यशैया ३२:१, २) पवित्र आत्माद्वारा नियुक्त प्राचीन वा निरीक्षकहरू परमेश्वरका भेडाखाले मानिसहरूको हेरचाह गर्छन्, बिरामी तथा निराश भएकाहरूलाई प्रोत्साहन दिन्छन् अनि गल्ती गर्नेहरूलाई पुनर्स्थापित गर्छन्।—भजन १००:३; १ पत्रुस ५:२, ३.
निस्सन्देह, मण्डलीका प्राचीनहरू सँगी विश्वासीहरूका शारीरिक वा मानसिक स्वास्थ्य
समस्याहरू निको पार्नसक्ने पेशेवर चिकित्सक अथवा स्वास्थ्यकर्मीहरू होइनन्। यस रीतिरिवाजमा रोगीहरूलाई अझै पनि “वैद्यको दरकार” पर्छ। (लूका ५:३१) यद्यपि, गोठालाहरूले आध्यात्मिक मदत चाहिएकाहरूलाई मदत गर्नसक्छन्। (याकूब ५:१४, १५) प्राचीनहरू सम्भव भएसम्म अन्य तरिकामा मदत दिने प्रबन्ध पनि मिलाउँछन्।—याकूब २:१५, १६.
यस्तो मायालु प्रबन्धमा कसको हात छ? यहोवा परमेश्वरको! अगमवक्ता इजकिएलले यहोवा यस्तो घोषणा गर्नुहुन्छ भनी बताए: “किनभने परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, ‘म आफै मेरा भेड़ाहरूको सोधपूछ गरेर तिनीहरूलाई खोज्न जानेछु . . . तितर–बितर भएका मेरा भेड़ाहरूलाई खोज्न र खतराबाट बचाउन म जानेछु। म आफै मेरो बगालको हेरचाहा गर्नेछु। म आफै तिनीहरूको गोठाला हुनेछु।’ ”—इजकिएल ३४:११, १२, १५, १६.
आवश्यक परेको बेलामा साँचो मदत
के मसीही मण्डलीमा साँच्चै आवश्यक परेको बेला मदत पाउन सकिन्छ? अवश्य। अनि मण्डलीले विभिन्न परिस्थितिमा कसरी मदत दिनसक्छन् भनेर निम्न उदाहरणहरूले देखाउँछ।
◆ आफ्नो प्रिय जनको मृत्यु हुँदा। दीर्घकालीन रोगले अनाको श्रीमान्को मृत्यु भयो। तिनी भन्छिन्, “त्यस समयदेखि मैले मसीही भाइबहिनीहरूको न्यानो प्रेम पाइरहेकी छु। मैले सँगी विश्वासीहरूको हृदयस्पर्शी अंकमाल तथा समर्थन र प्रोत्साहनका शब्दहरूद्वारा प्रोत्साहन पाएकी छु। म यहोवालाई धन्यवाद दिन्छु। उनीहरूको प्रेमले गर्दा मैले असीम समर्थन, ढाडस र कोमल रेखदेख पाएको महसुस गरेकी छु।” तपाईंले पनि आफ्नो प्रिय जनको मृत्युको कारण दुःख अनुभव गर्नुभएको हुनसक्छ। त्यस्तो समयमा मण्डलीका सदस्यहरूले चाहिएको सान्त्वना र भावनात्मक समर्थन दिनसक्छन्।
◆ बिरामी हुँदा। आर्थर, पोल्याण्डको परिभ्रमण निरीक्षक हुन्। तिनी मध्य एसियाका मण्डलीहरूलाई आध्यात्मिक तवरमा बलियो बनाउन निरन्तर भ्रमण गर्थे। यस्तै भ्रमणको दौडान एक चोटि तिनी सिकिस्त बिरामी भए। गहिरो मूल्यांकन गर्दै आर्थर विगतका कुराहरू सम्झन्छन्, “भाइबहिनीहरूले [काजकस्तान शहरमा] कसरी मेरो हेरविचार गरे, म तपाईंहरूलाई बताउन चाहन्छु। चिनापर्ची नै नभएका थुप्रै भाइबहिनीहरू तथा जिज्ञासु व्यक्तिहरूले समेत मेरोलागि पैसा, खाने कुरा र औषधीहरू ल्याइदिए . . . अनि ती चीजहरू मलाई दिएर तिनीहरू ज्यादै आनन्दित थिए।
“एउटा खाममा केही रकम र निम्न पत्र पाउँदा मलाई कस्तो लाग्यो होला, कल्पना गर्नुहोस्: ‘प्रिय भाइ, न्यानो अभिवादन। मुमाले आइस क्रिम खाने पैसा दिनुभएको थियो तर म यसलाई तपाईंको औषधीको लागि दिंदैछु। चाँडै निको हुनुहोस् है। यहोवालाई लामो समयसम्म हाम्रो आवश्यकता छ। शुभकामना छ। अनि हामीलाई अझै राम्रा र शिक्षाप्रद कथाहरू सुनाउनुहोस्। भोभा।’ ” हो, यसरी मण्डलीमा कोही बिमारी भएको बेला केटाकेटी तथा वृद्धहरू बलको स्रोत हुनसक्छन्।—फिलिप्पी २:२५-२९.
◆ निराश हुँदा। टेरीको अग्रगामी गर्ने अथवा परमेश्वरको राज्यको पूर्ण-समय उद्घोषक बन्ने हार्दिक चाहना थियो। तथापि, तिनका कठिनाइहरूले गर्दा अग्रगामी छोड्नुपऱ्यो। तिनी भन्छिन्, “अग्रगामी गर्छु भनेर अघि त सरें तर एक वर्ष पनि पूरा नहुँदै छोड्नु परेकोले असाध्यै दोषी महसुस गरिरहेकी छु।” तिनले यहोवालाई कति सेवा चढाउन सकिन्छ त्यसैमा उहाँको अनुमोदन पाउने नपाउने निर्भर छ भन्ने गलत विश्वास राखेकी थिइन्। (मर्कूस १२:४१-४४ तुलना गर्नुहोस्।) अत्यन्तै निराश भएर तिनी अरूदेखि अलग बस्न थालिन्। तर त्यसैताक तिनले मण्डलीबाट स्फूर्तिदायी मदत पाइन्।
तिनी सम्झन्छिन्: “एउटी वृद्धा अग्रगामी बहिनी मलाई मदत गर्न अघि बढिन् अनि मेरा मनका कुराहरू पोखाउँदा उहाँले ध्यानसित सुनिन्। घर फर्कंदा मलाई मेरो बोझ हलुंगो भएझैं लाग्यो। त्यस समयदेखि यी अग्रगामी बहिनी र मण्डलीको प्राचीनको रूपमा सेवारत उहाँको पतिले मूल्यवान मदत दिए। मलाई कस्तो छ भनेर उहाँहरू दिनहुँ फोन गर्थे . . . कहिलेकाहीं मलाई उहाँहरूको पारिवारिक अध्ययनमा पनि राख्थे। ती अध्ययनहरूले मेरो हृदयमा परिवारिक घनिष्ठताको महत्त्वबारे छाप लगाएको छ।”
समर्पित मसीहीहरूसमेत निराश, निरुत्साहित अनि एकलो हुनु कुनै असाधारण कुरा होइन। परमेश्वरको मण्डलीमा मायालु तथा निस्स्वर्थ मदत पाएकोमा हामी अति कृतज्ञ छौं!—१ थिस्सलोनिकी ५:१४.
◆ विपत्ति र दुर्घटनाहरूमा पर्दा। चार सदस्य भएको एउटा परिवारले घर आगलागी हुँदा सबै सरसम्पत्ति गुमाएको कल्पना गर्नुहोस्। केही समयपछि “हामीले कहिल्यै भुल्न नसक्ने प्रोत्साहन प्राप्त गऱ्यौं अनि यहोवाका जनहरूबीचको साँचो प्रेमले प्रभावित भयौं” भनी तिनीहरूले बताए। तिनीहरू भन्छन्: “आगलागी भएको केही समय नबित्दै आध्यात्मिक भाइबहिनीहरूले हामीलाई मदत र सान्त्वना दिन फोन गर्नथाले। घरीघरी फोनको घण्टी बज्थ्यो। सबैको निष्कपट चासो र प्रेमले हामी यत्ति उत्प्रेरित भयौं कि हामीले कृतज्ञ भएर आँसु बगायौं।”
लगत्तै मण्डलीका प्राचीनहरूले थुप्रै भाइहरूको एउटा समूह गठन गरे। ती भाइहरूले केही दिनभित्रै उक्त परिवारका लागि नयाँ घर निर्माण गरे। एउटी छिमेकीले यसो भनिन्: “त्यहाँ हेर त! हरेक प्रकारका मानिसहरू—पुरुष, स्त्री, काला तथा हिस्पेनिकहरू सबैले त्यहाँ काम गरिरहेछन्!” यो भ्रातृत्व प्रेमको सुस्पष्ट प्रमाण थियो।—यूहन्ना १३:३५.
सँगी विश्वासीहरूले यस परिवारलाई लुगाफाटा, खाद्यान्न र पैसा पनि दिए। त्यस परिवारको बुबाले यसो भने: “त्यो सब ‘क्रिसमसको समयमा’ भएको थियो जुन बेला मानिसहरूले उपहारहरू आदनप्रदान गरिरहेका थिए। तर हामी हृदयदेखि भन्छौं कि हामीले जस्तो साँचो अनि हृदयस्पर्शी उदारता त कसैले पनि अनुभव गर्न पाएनन्।” अनि उनीहरू अझ यसो भन्छन्: “आगलागीको झझल्को बिस्तारै धमिलो हुँदै गयो अनि त्यसको ठाउँ अरूको दयालु कार्य र असल मित्रहरूले लिन थाल्यो। यस पृथ्वीमा यस्तो अद्भुत तथा एकताबद्ध परिवार दिनुभएकोमा हामी स्वर्गमा हुनुहुने हाम्रो मायालु पिता यहोवालाई धन्यवाद दिन्छौं। अनि हामी यस परिवारको सदस्य हुन पाएकोमा साह्रै कृतज्ञ छौं!”
निस्सन्देह, प्रत्येक दुर्घटनामा यसरी मदत पाउनु न सम्भव छ नता त्यस्तो मदतको आशा नै गरिन्छ। तर मण्डलीले मदत गर्नसक्छ भनेर यो उदाहरणले पक्कै देखाउँछ।
माथिबाटको ज्ञान
थुप्रैले मसीही मण्डलीमा अर्को प्रकारको मदत र बलको स्रोत पाएका छन्। त्यो के हो? “विश्वासी र बुद्धिमान दास[ले]” तयार गरेका साहित्यहरू। ती साहित्यहरूमध्ये प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका प्रमुख हुन्। अन्तरदृष्टिले भरिएको सल्लाह र व्यवहारिक निर्देशन दिन यी साहित्यहरू मुख्यतया बाइबलमा पाइने ईश्वरीय ज्ञानमा भर पर्छन्। (भजन ११९:१०५) यी साहित्यहरूमा आध्यात्मिक जानकारीका साथै जिम्मेवार अनि आधिकारिक रूपमा अनुसन्धान गरेर मानसिक तनाउ, दुर्व्यसनबाट मुक्त हुने, विभिन्न सामजिक तथा आर्थिक समस्या, जवानहरूले सामना गर्ने चुनौती अनि विकासशील देशहरूमा व्याप्त समस्याहरू जस्ता विषयहरूबारे जानकारी पनि प्रकाशित हुन्छन्। तर मुख्य कुरा, यी साहित्यहरूले परमेश्वरले चाहनुहुने जीवनशैली सबैभन्दा उत्तम जीवनशैली हो भनी समर्थन गर्छ।—यशैया ३०:२०, २१.
हरेक वर्ष वाच टावर सोसाइटीले मूल्यांकनले भरिएका हजारौं पत्रहरू प्राप्त गर्छन्। उदाहरणका लागि, ब्यूँझनुहोस्!-को आत्महत्यासित सम्बन्धित लेखबारे एक जना जवान रुसीले यस्तो पत्र लेखे: “निराश भएको हुनाले . . . मैले थुप्रैपल्ट आत्महत्या गर्ने विचार गरें। मेरा समस्याहरू समाधान गर्न परमेश्वरले मदत गर्नुहुन्छ भनेर यस लेखले मेरो विश्वास बलियो बनायो। म जीवित रहेको उहाँ चाहनुहुन्छ। यस लेखद्वारा मलाई मदत दिनुभएकोमा म उहाँलाई धन्यवाद दिन्छु।”
तपाईंलाई यस संसारका दुःखकष्टहरू सामना गर्नै सकिंदैन जस्तो लाग्छ भने मसीही मण्डलीमा सुरक्षा पाउन सकिन्छ भनी तपाईं निर्धक्क हुन सक्नुहुन्छ। निस्सन्देह, यस प्रेमरहित रीतिरिवाजको सुखा मरुभूमिले तपाईंलाई निर्बल बनाउँछ भने, तपाईं यहोवाको संगठनको मरुद्यानबाट बल पाउन सक्नुहुन्छ। यस्तो मदत पाउनुभएपछि सायद तपाईंले पनि आफ्नो पतिको गम्भीर रोग सफलतापूर्वक सामना गर्ने मसीही आइमाईले जस्तै भावना पोख्न सक्नुहुन्छ। तिनले यसो लेखिन्: “हामीले पाएको प्रेम र हेरचाहले गर्दा हामीलाई यस्तो दुःखकष्टको समयमा यहोवा स्वयंले डोऱ्याउनुभएझैं लाग्यो। यहोवाको अद्भुत संगठनको भाग हुन पाएकोमा म साह्रै कृतज्ञ छु!”
[फुटनोट]
a नाउँहरू परिवर्तन गरिएका छन्।
[पृष्ठ २६-मा भएका चित्रहरू]
हामी बिरामी, शोक सन्तप्त व्यक्ति अनि अरूलाई बल दिनसक्छौं