यहोवा मेरोलागि मायालु परमेश्वर हुनुहुन्छ
यानिस आन्ड्रोनेकोसको वृत्तान्तमा आधारित
सन् १९५६ को कुरा हो। मेरो बिहे भएको नौ दिन मात्र भएको थियो र म भने यता उत्तरी ग्रीसको कोमोटिनी पुनरावेदन अदालतमा थिएँ। परमेश्वरको राज्य प्रचार गरे वापत पाएको १२ महिना कैद सजाय मिनाहा हुने आशा थियो। पुनरावेदन अदालतको मलाई छ महिना कैद सजाय दिने निर्णयले मेरो आशा सबै चकनाचूर भयो र यो मैले पछि भोग्नुपर्ने थुप्रै परीक्षाहरूको सुरुआत मात्र थियो। तर यो सारा समयको दौडान यहोवा मेरोलागि मायालु परमेश्वर साबित हुनुभयो।
मेरो जन्म अक्टोबर १, १९३१ मा भएको थियो र त्यतिबेला हाम्रो परिवार प्रेरित पावलले दोस्रो मिसनरी यात्राको दौडान भ्रमण गरेको म्यासिडोनियाको नेपोलिसको काभाला भन्ने शहरमा बस्थ्यो। म पाँच वर्षको हुँदा आमा यहोवाको साक्षी हुनुभयो। उहाँलाई लेखपढ गर्न नआए तापनि ममा यहोवाप्रति प्रेम र भय खेती गर्न सक्दो परिश्रम गर्नुभयो। बुबाचाहिं ग्रीक अर्थोडक्स परम्परामा अत्यन्तै कट्टर हुनुहुन्थ्यो। उहाँलाई बाइबल सत्यमा कुनै चासो थिएन। आमालाई विरोध गर्नुहुन्थ्यो र अक्सर कुटपिट गर्नुहुन्थ्यो।
यसरी म एउटा विभक्त परिवारमा हुर्कें। बुबाले आमालाई पिट्नुहुन्थ्यो र पछि उहाँले हामीलाई छोडेर हिंड्नुभयो। बाल्यावस्थादेखि नै आमाले म र मेरी सानी बहिनीलाई मसीही सभाहरूमा लैजानुहुन्थ्यो। तथापि, म १५ वर्षको हुँदा जवानीको इच्छा तथा स्वतन्त्र आत्माको कारण यहोवाका साक्षीहरूबाट टाढिएँ। यद्यपि, मेरी विश्वासी आमाले मलाई मदत गर्न निकै परिश्रम गर्नुभयो र धेरै चोटि आँसु पनि बगाउनुभयो।
गरिबी र मैले बिताइरहेको भ्रष्ट जीवनशैलीको कारण म सिकिस्त बिरामी भएँ र तीन महिनासम्म ओछ्यानमै थला परें। त्यतिबेला मेरी आमालाई सत्य सिक्न मदत गर्नुभएको अत्यन्तै नम्र भाइले ममा परमेश्वरप्रतिको साँचो प्रेम देखे। आध्यात्मिक तवरमा म पुनः निको हुनसक्ने छाँटकाँट तिनले देखे। अरूले यस्तो भन्ने गर्थे: “जोनलाई मदत गर्नु भनेको समयको बर्बाद मात्र हो, उसले फेरि आध्यात्मिक कुराहरूतिर मन फर्काउला भनेर नचिताए पनि हुन्छ।” तर यस भाइको धैर्य र लगनशीलता बेकार भएन। अगस्त १५, १९५२ का दिन २१ वर्षको उमेरमा मैले पानीको बप्तिस्माद्वारा यहोवाप्रतिको समर्पणलाई प्रकट गरें।
नवविवाहित र कैदमा
तीन वर्षपछिको कुरा हो, विशिष्ट गुणहरूले परिपूर्ण, आध्यात्मिकतामा पनि बलियो मसीही बहिनी, मार्थासित मेरो भेट भयो र चाँडै हामीले मगनी गऱ्यौं। एक दिन मार्थाले मलाई यसो भन्दा म त वाल्ल परें: “म आज घरघर प्रचार कार्यमा जान लागेको। तपाईं पनि मसित जाने हो?” त्यतिबेलासम्म मैले घरघर प्रचारकार्यमा भाग लिएको थिइनँ, प्रायः अनौपचारिक साक्षी मात्र दिन्थें। त्यतिबेला ग्रीसमा प्रचारकार्यमा प्रतिबन्ध लगाइएको थियो र हामीले लुकीछिपी प्रचार गर्नुपर्थ्यो। फलस्वरूप, असंख्य पक्राउ, मुद्दा तथा कठोर कैद सजायहरू भोग्नुपर्थ्यो। तैपनि मैले आफ्नो मंगेतरलाई नाइँ भन्न सकिनँ!
मार्था र मैले १९५६ मा विवाह गऱ्यौं। त्यति नै बेला हो, बिहे भएको नौ दिन पछि कोमोटिनी पुनरावेदन अदालतमा मैले छ महिना कैद सजाय पाएको। आमाको साथी, एक मसीही बहिनीलाई मैले एक चोटि सोधेको प्रश्न मैले यतिबेला सम्झें: “मैले कसरी आफूलाई यहोवाको साँचो साक्षी प्रमाणित गर्नसक्छु? मैले अहिलेसम्म आफ्नो विश्वासको प्रमाण दिने मौका पाएको छैन।” उक्त बहिनीले मलाई जेलमा भेट्न आउनुहुँदा त्यस प्रश्नबारे मलाई सम्झाउनुभयो र भन्नुभयो: “अब तिमीले यहोवालाई कत्तिको प्रेम गर्छौ, प्रदर्शित गर्नसक्छौ। अब तिमीले गर्नुपर्ने काम यही हो।”
जब मेरो वकिलले मेरो रिहाइको निम्ति पैसा संकल्न गर्न थालेको कुरा थाह पाएँ तब मैले आफ्नो कैद सजाय पूरा गर्ने इच्छा स्पष्ट पारें। मेरो छ महिने कैद सजाय पूरा होउञ्जेल दुई जना सहकैदीहरूले सत्य स्वीकारेको देखेर म हर्षले गद्गद भएँ! त्यसपछिका वर्षहरूमा सुसमाचारको खातिर म असंख्य मुद्दाहरूमा सम्मिलित भएँ।
हामीले कहिल्यै पछुताउ नगरेका छनौटहरू
मेरो रिहाइ भएको केही वर्षपछि १९५९ मा म मण्डलीको सेवक अर्थात् अध्यक्षको रूपमा सेवा गरिरहँदा मण्डलीका प्राचीनहरूको निम्ति प्रशिक्षण कक्षा अर्थात् राज्य सेवकाई स्कूलमा भाग लिन बोलाइयो। तर त्यति नै बेला एउटा सार्वजनिक अस्पतालमा स्थायी काम पनि मिल्यो र यो जागिर खाएमा म अनि मेरो परिवारलाई जीवनभरि आर्थिक तवरमा कुनै समस्या हुने थिएन। अब के गर्ने? मैले उक्त अस्पतालमा अस्थायी रूपमा काम गरेको तीन महिना भइसकेको थियो र त्यहाँका निर्देशक पनि मेरो काम देखेर खुसी थिए। तर स्कूलको निम्ति निमन्त्रणा पाउँदा तिनले मलाई बेतलबी छुट्टि दिन मानेनन्। यस समस्याबारे प्रार्थनापूर्वक विचार गरेपछि मैले परमेश्वरको राज्यसम्बन्धी कामलाई नै प्राथमिकता दिने निर्णय गरें र जागिरको प्रस्तावलाई अस्वीकार गरें।—मत्ती ६:३३.
यही समयताका जिल्ला तथा क्षेत्रीय निरीक्षकहरू हाम्रो मण्डलीमा आउनुभयो। ग्रीक अर्थोडक्स पादरीहरू तथा अधिकारीहरूको कट्टर विरोधको कारण हामीले गोप्य रूपमा निजी घरहरूमा सभाहरू आयोजना गर्नुपर्थ्यो। यस्तै एउटा सभापछि जिल्ला निरीक्षक भाइले मलाई पूर्ण-समय सेवकाई गर्ने विचार गरेको छ कि छैन भनी सोधे। तिनको सल्लाहले मेरो हृदय छोयो किनभने बप्तिस्मा लिएको समयदेखि मेरो सपना पनि यही थियो। मैले यस्तो जवाफ दिएँ: “अवश्य गर्न चाहन्छु।” तथापि, छोरी हुर्काउने मेरो थप जिम्मेवारी थियो। उक्त भाइले मलाई यसो भने: “यहोवामाथि भरोसा गर्नुहोस् र तपाईंको सपना साकार गर्न उहाँले मदत गर्नुहुनेछ।” अतः आफ्नो पारिवारिक जिम्मेवारीलाई बेवास्ता नगरी म र मेरी पत्नीले आफ्नो परिस्थितिमा छाँटकाँट गऱ्यौं र डिसेम्बर १९६० देखि पूर्वी म्यासिडोनियामा विशेष अग्रगामीको हैसियतमा सेवा गर्न थाल्यौं। त्यतिबेला देशभरि पाँच विशेष अग्रगामीहरूमध्ये म पनि एक जना थिएँ।
विशेष अग्रगामीको रूपमा एक वर्ष सेवा गरेपछि एथेन्सस्थित शाखा कार्यालयले मलाई परिभ्रमण निरीक्षकको रूपमा सेवा गर्न बोलायो। यस कार्यको निम्ति एक महिने प्रशिक्षणबाट फर्केर मार्थालाई आफ्नो अनुभव बताउँदै मात्र के थिएँ हाम्रो घरमा एउटा प्रचलित तत्त्वधातु खानीका निर्देशक आए। मलाई प्रशोधन विभागको प्रबन्धक हुन बोलाए। यो पाँच वर्षको अनुबन्धन हुनेथियो र यो जागिर खाएमा मैले राम्रो घर र गाडी पाउने थिएँ। तिनले मलाई जवाफ दिन दुई दिनको म्याद दिए। पुनः फेरि कुनै हिचकिचाहटबिना यहोवालाई यसरी प्रार्थना गरें: “परमप्रभु म हाजिर छु। मलाई पठाउनुहोस्।” (यशैया ६:८) मेरी पत्नीले पनि पूरा सहमति जनाइन्। परमेश्वरमाथि भरोसा गर्दै हामीले परिभ्रमण कार्य थाल्यौं र यहोवाको मायाले गर्दा हामी कहिल्यै निराश हुनु परेको छैन।
दुःखसुखको बेला सेवा गर्दै
आर्थिक समस्याहरू भए तापनि हामी पछि हटेनौं र यहोवाले हाम्रा आवश्यकताहरू पूरा गरिदिनुभयो। सुरु सुरुमा एउटा सानो मोटरसाइकलमा मण्डलीहरूको भ्रमण गर्थें र मैले त्यसमा ५०० किलोमिटर दूरीसम्म यात्रा गरेको छु। थुप्रै समस्याहरू भोगें र कहिलेकाहीं दुर्घटनाहरू पनि भए। जाडोको समयमा एउटा मण्डलीबाट फर्कंदा उर्लेको नदी तर्न खोज्दा मोटरसाइकलको इन्जिन बन्द भयो र घुँडासम्म भिज्यो। त्यसपछि मोटरसाइकलको टायर पंचर भयो। धन्न, बाटोमा गइरहेका एक जनासँग पम्प रहेछ र तिनले मदत गरे। अनि जसोतसो नजिकैको गाउँमा पुगेर टायर बनाएँ। यसरी बल्लतल्ल बिहान तीन बजे कठांग्रिदै थकाइले चूर हुँदै घर पुगें।
अर्को एक चोटि एउटा मण्डलीबाट अर्को मण्डलीतर्फ गइरहेको बेला मोटरसाइकल चिप्लेर मेरो घुँडामा लाग्यो। मेरो पाइन्ट च्यातियो र रगताम्य भयो। मसित अर्को पाइन्ट थिएन त्यसैले त्यस साँझ मैले अर्को भाइको पाइन्ट लगाएर भाषण दिएँ र त्यो मलाई असाध्यै ह्वार्लाङ थियो। जस्तोसुकै समस्या आइ परे तापनि यहोवा तथा आफ्ना प्रिय भाइहरूको सेवा गर्नदेखि पछि हटिनँ।
यस्तै एउटा अर्को दुर्घटनामा नराम्रोसित घाइते भएँ। मेरो हात र अगाडिको दाँत नै भाँच्चियो। त्यतिबेला संयुक्त राज्यमा बस्ने मेरी गैरसाक्षी बहिनी मलाई भेट्न आइन्। तिनले मलाई एउटा गाडी किन्न सहयोग गर्दा म एकदमै खुसी भएँ! एथेन्स शाखा कार्यालयका भाइहरूले मेरो दुर्घटनाबारे सुनेपछि मलाई प्रोत्साहनजनक पत्र पठाए र त्यस पत्रमा रोमी ८:२८ का शब्दहरू पनि समावेश गरिएको थियो। त्यहाँ यसो भनिएको छ: “परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँका इच्छाअनुसार बोलावट भएकाहरूका निम्ति पनि सब कुरा मिलेरनै तिनीहरूका भलाइको निम्ति काम गर्दछन्।” मेरो जीवनमा बारम्बार यो आश्वासन एकदमै सत्य साबित भएको छ!
अचम्मको घटना
सन् १९६३ मा म र अर्को एक जना विशेष अग्रगामी प्रचार गरिरहेको गाउँमा मानिसहरूले हाम्रो कुरामा त्यति चासो दिएका थिएनन्। हामीले बाटोको दुई छेउ, दायाँ र बायाँ अलग अलग प्रचार गर्ने विचार गऱ्यौं। एउटा घरमा मैले ढोका ढकढक्याएको मात्र के थिएँ, एउटी आइमाईले मलाई हतारहतार भित्र तानेर ढोका बन्द गरिन्। म त वाल्ल परें के हुँदैन भनेर बुझ्नै सकिनँ। त्यसको केही समयपछि तिनले म सँगै गएको विशेष अग्रगामीलाई पनि हतारहतार घरभित्र बोलाइन्। त्यसपछि उक्त आइमाईले हामीलाई भनिन्: “चुपो लाग्नुहोस्! खस्राकखुस्रुक पनि नगर्नुहोस्!” त्यसको केही समयपछि हामीले बाहिर होहल्ला सुन्यौं। मान्छेहरू हामीलाई खोज्दै थिए। परिस्थिति अलि साम्य भएपछि उक्त महिलाले हामीलाई बताइन्: “मैले यो तपाईंहरूको सुरक्षाको निम्ति गरेकी हुँ। म तपाईंहरूको आदर गर्छु किनभने तपाईंहरू साँचो मसीहीहरू हुनुहुन्छ भनी मलाई थाह छ।” हामीले तिनलाई भित्री हृदयदेखि धन्यवाद दियौं र तिनलाई थुप्रै प्रकाशनहरू दियौं।
चौध वर्षपछि ग्रीसमा एउटा अधिवेशनको बेला एउटी महिलाले आएर मलाई यसो भनिन्: “भाइ, तपाईंले मलाई सम्झनुभएको छ? हाम्रो गाउँमा विरोधीहरूबाट बचाउन मैले तपाईंहरूलाई मेरो घरमा राखेको थिएँ नि।” तिनी जर्मनीमा बसाइँ सरेकी रहेछिन् र त्यहीं बाइबल अध्ययन गरेर यहोवाका जनहरूसित संगति गर्न थालिन्। अहिले तिनको सम्पूर्ण परिवार नै सच्चाइमा छन्।
निस्सन्देह, यी वर्षहरूको दौडान हामीले थुप्रै “शिफारिश-पत्र” पाएका छौं। (२ कोरिन्थी ३:१) हामीले बाइबल सत्यको ज्ञान हासिल गर्न मदत गरेका थुप्रै व्यक्तिहरू अहिले प्राचीन, सेवकाई सेवक र अग्रगामीहरूको रूपमा सेवा गर्दैछन्। मैले १९६० को दशकको सुरुतिर सेवा गरेका क्षेत्रहरूमा त्यतिबेला मुठीभर मात्र प्रकाशकहरू थिए, अहिले १०,००० भन्दा बढी यहोवाका उपासकहरू देख्न पाउनु आनन्दको कुरा हो! यसको श्रेय सबै हाम्रो मायालु परमेश्वर यहोवालाई जान्छ, उहाँले आफ्नै तरिकामा हामीलाई चलाउनुहुन्छ।
“बिरामी अवस्थामा”
परिभ्रमण कार्य गरेका वर्षहरूका दौडान मार्थाले आफूलाई अत्यन्तै असल सहयोगी प्रमाणित गरिन्। तिनले सधैं सकारात्मक मनोभाव देखाइन्। तथापि, अक्टोबर १९७६ मा तिनी सिकिस्त बिरामी भइन् र कष्टदायी शल्यचिकित्सा गर्नुपऱ्यो। शरीरको तल्लो भाग सबै पक्षाघात भएकोले तिनी ह्वीलचेरमा बस्नुपऱ्यो। यो सबैको खर्च र भावनात्मक पीडा कसरी सामना गर्ने? फेरि एक चोटि यहोवामाथि भरोसा गर्दा हामीले उहाँको मायालु तथा उदारताको महसुस गऱ्यौं। म म्यासिडोनियामा सेवा गर्न जाँदा मार्थाचाहिं शारीरिक व्यायम गर्न एथेन्समा एउटा भाइकहाँ नै बस्थिन्। यस्ता प्रोत्साहनदायी कुराहरू गर्दै तिनले मलाई फोन गर्थिन्: “मलाई ठीकै छ। तपाईं आफ्नो काममा लाग्नुहोस् र म अलि चल्नसक्ने भएपछि म फेरि ह्वीलचेरमा तपाईंसँगसँगै आउनेछु।” अनि तिनले गर्नु पनि ठीक त्यस्तै गरिन्। बेथेलका हाम्रा प्रिय भाइहरूले हामीलाई थुप्रै प्रोत्साहनदायी पत्रहरू पठाए। मार्थालाई बारम्बार भजन ४१:३ का शब्दहरू सम्झना गराइयो: “परमप्रभुले त्यसलाई त्यसको बिरामी अवस्थामा पलङैमा सह्माल्नुहुन्छ। त्यसलाई रोग लाग्दा तपाईंले त्यसको ओछ्यान बनाइदिनुहुन्छ।”
यस्ता गम्भीर स्वास्थ्य समस्याहरूको कारण १९८६ मा म काभालामै विशेष अग्रगामीको रूपमा बस्नु बेस हुनेछ भन्ने निर्णय गऱ्यौं र त्यहाँ हाम्री प्यारी छोरीको परिवार पनि सँगै हुनेथियो। गत मार्च महिनामा मेरी प्रिय मार्थाको मृत्यु भयो। उनी अन्तसम्मै विश्वासी रहिन्। उनको मृत्यु हुनुअघि भाइहरूले मार्थालाई “तपाईं कस्तो हुनुहुन्छ?” भन्दा उनी अक्सर यस्तो जवाफ दिन्थिन्: “म यहोवासित घनिष्ठ भएकोले एकदमै आराम छु!” सभाहरूको लागि तयारी गर्दा वा फसल प्रशस्त भएको ठाउँमा सेवा गर्ने निमन्त्रणा पाउँदा मार्था यसो भन्ने गर्थिन्: “जोन, हामी आवश्यकता बढी भएको ठाउँमा सेवा गर्न जाऔं।” उनले कहिल्यै आफ्नो जोस गुमाइनन्।
केही वर्षअघि मैले पनि गम्भीर स्वास्थ्य समस्या भोग्नुपऱ्यो। मार्च १९९४ मा मेरो ज्यानलाई नै खतरा पार्ने मुटुको रोग भएको थाह भयो। शल्यचिकित्सा नगरी नहुने थियो। पुनः एक चोटि मैले यस कठिन परिस्थितिमा यहोवाको मायालु समर्थन महसुस गरें। म सघन उपचार कक्षबाट निस्कँदा क्षेत्रीय निरीक्षकले गरेको प्रार्थना र अस्पतालको कोठामै सत्यप्रति चासो देखाउने अरू चार जनासित स्मरणार्थ उत्सव मनाएको घटना म कहिल्यै बिर्सदिनँ।
यहोवा हाम्रो सहायक हुनुभएको छ
समयले कसैलाई पर्खंदैन र हाम्रो शरीर कमजोर हुन्छ तर अध्ययन तथा सेवाद्वारा हाम्रो आत्मा पुनर्जीवित हुन्छ। (२ कोरिन्थी ४:१६) “परमप्रभु म हाजिर छु। मलाई पठाउनुहोस्,” भनेको ३९ वर्ष भइसक्यो। मैले आनन्दमय र इनामदायी लामो जीवन बिताएको छु। हो, कहिलेकाहीं “म ता दुःखी र दरिद्र छु” जस्तो लाग्छ तर फेरि निर्धक्कसित यहोवालाई यसो भन्नसक्छु: “तपाईं मेरा सहायक र छुटकारा दिने हुनुहुन्छ।” (भजन ४०:१७) उहाँ मेरोलागि मायालु परमेश्वर साबित हुनुभएको छ भन्ने कुरामा शंका गर्ने कुनै ठाउँ छैन।
[पृष्ठ २५-मा भएको चित्र]
सन् १९५६ मा मार्थासँग
[पृष्ठ २६-मा भएको चित्र]
काभालामा बन्दरगाह
[पृष्ठ २६-मा भएको चित्र]
सन् १९९७ मा मार्थासँग