कसरी पर्खने के तपाईंलाई थाह छ?
मानिसहरू वर्षमा कतिसमय पर्खेर बिताउँछन् के तपाईं अनुमान लगाउन सक्नुहुन्छ? तिनीहरू पसल अथवा पेट्रोल भर्ने ठाउँमा लाम लागेर पर्खन्छन्। तिनीहरू भोजनालयमा खानाको लागि पर्खन्छन्। तिनीहरू डाक्टर अथवा दन्त चिकित्सकलाई भेट्न पर्खन्छन्। बस र रेल कुर्छन्। हो, मानिसको जीवनको प्रशस्त समय पर्खेरै बित्छ। एउटा अनुमानअनुसार जर्मनहरूले ट्राफिक जाममा मात्र वर्षको ४ अरब ७० करोड घण्टा कुरेर बिताउँछन्। कुनै व्यक्तिको हिसाबअनुसार त्यति घण्टा लगभग ७,००० मानिसहरूको अनुमानित आयु बराबर हुन आउँछ।
पर्खनु पट्टाइलाग्दो हुनसक्छ। हाल सबै काम गर्न पर्याप्त समय छैन र अहिल्यै गरिहाल्नुपर्ने कामकुरो सम्झँदा त पर्खनु झनै चुनौतीपूर्ण हुन्छ। लेखक अलेक्ज्यान्डर रोजले एक चोटी यसो भने: “जीवनको आधा कष्ट त पर्खनुपर्ने बाध्यता नै हो।”
अमेरिकी राजनीतिज्ञ बेन्जामिन फ्रान्कलीनले पनि पर्खनु कतिको महँगो हुन्छ भन्ने बुझेका थिए। तिनले २५० वर्षअघि यसो भने: “समय भनेको पैसा हो।” त्यसैले, व्यापारीहरू कामको प्रक्रियामा ढिलासुस्ती नगर्ने तरिकाहरू खोज्छन्। थोरै समयमा धेरै सामान उत्पादन गर्नु भनेको धेरै नाफा कमाउनु हुनसक्छ। जनसाधारणसित सिधै व्यापारिक कारोबार गर्नेहरू जस्तै, चाँडो खाना तयार पार्ने भोजन-गृह, गाडीमै बैंकिंग कारोबार उपलब्ध गराउने बैंक आदिले छिट्टै सेवा उपलब्ध गराउने प्रयास गर्छन् किनभने तिनीहरूलाई समय कम गर्नु भनेको ग्राहकलाई खुसी पार्नु हो भनेर थाह छ।
हामी जीवन खेर फाल्दैछौं
उन्नाइसौं शताब्दीका अमेरिकी कवि राल्फ वाल्डो इमर्सनले एक चोटि यस्तो गुनासो पोखे: “मानिसहरूले जीवनमा कत्ति धेरै समय पर्खेरै बिताउँछन्!” हालै, लेखक लान्स मारोले पर्खनु पर्दाको पट्टाइ र शारीरिक असुविधाबारे गुनासो व्यक्त गरे। त्यसपछि तिनले “पर्खाइले गर्दा हुने अप्रत्यक्ष क्षति[बारे]” बताए। त्यो के हो? “त्यो हो, कुनै व्यक्तिको बहुमूल्य सम्पत्ति अर्थात् समय, जीवनको अंश कहिले फिर्ता नपाउने गरी बेकारमा खेर गयो भन्ने अनुभूति।” यो कटु सत्य हो। पर्खेर बिताएको समय सधैंको लागि गुम्छ।
हो, जीवन छोटो नभएको भए, पर्खनु कुनै गम्भीर भई सोच्नुपर्ने विषय नै हुने थिएन। तर जीवन छोटो छ। हजारौं वर्षअघि, बाइबलका भजनरचयिताले यस्तो टिप्पणी गरे: “हाम्रा आयु ता तीन कोरी र दश वर्ष मात्र छन्, पौरखले चार कोरीसम्म ता होला। तापनि तिनीहरूको घमण्ड ता केवल दुःख र मेहनत मात्र हुन्छन्, किनकि त्यो चाँड़ै बित्छ, र हामी उड़िजान्छौं।” (भजन ९०:१०) हामी जहाँ बसे पनि, जो भए पनि हाम्रा जीवनका दिन, घण्टा, मिनेटहरू सिमित छन्। तथापि, हामीले कुनै अवसर अथवा मानिसको प्रतीक्षा गरेर आफ्नो बहुमूल्य समय खेर फाल्नु पर्ने परिस्थिति रोक्न सक्दैनौं।
पर्खन सिक्ने
हामी धेरै जना आफूभन्दा अघिको गाडीलाई उछिन्न खोज्ने चालकको गाडीमा बसेका हौंला। प्रायः त्यसो गर्नुपर्ने कुनै कारणै हुँदैन। चालकले कसैलाई भेटिहाल्नुपर्ने जरुरत हुँदैन। तैपनि, ऊ अरू चालकहरूले आफ्नो गाडीको वेगलाई बाधा दिएको मन पराउँदैन। उसको अधीरताले उसले पर्खन सिकेको छैन भन्ने कुरा देखाउँछ। सिकेको छैन? हो, कसरी पर्खने भनेर सिक्नुपर्छ। कसैले पनि जन्मदेखि नै पर्खन सिकेका हुँदैनन्। भोक लाग्दा वा असजिलो हुँदा बालकहरू च्याँठ्ठिएर रून्छन् र तुरुन्तै अरूको ध्यानाकर्षण गर्छन्। हुर्कंदै गएपछि मात्र आफूले चाहेको कुरा पाउन कहिलेकाहीं पर्खनुपर्छ भनेर तिनीहरू बुझ्छन्। पर्खनु जीवनको अभिन्न भाग भएकोले पर्खन सिक्नु परिपक्व व्यक्तिको चिनारी हो।
हो, कुनै कुनै परिस्थितिमा अधीर हुनु स्वाभाविक हो। सुत्केरी बेथाले च्यापेको आफ्नी श्रीमतीलाई एक छिन ढिला नगरी हतार हतार अस्पताल दौडाउन खोज्ने पति अधीर हुनु स्वभाविकै हो। सदोमबाट बाहिर जान कर गर्ने स्वर्गदूतहरूले लूतलाई आलेटाले गर्न दिएनन्। विनाश आउनै लागेको थियो र लूत र तिनको परिवारको जीवन खतरामा थियो। (उत्पत्ति १९:१५, १६) तथापि, प्रायः मानिसहरू पर्खन बाध्य हुँदा जीवन खतरामा परिरहेको हुँदैन। त्यस्तो बेला सबैले धीरजी हुन सिक्दा धेरै असल हुन्छ, चाहे त्यो कसैको असक्षमता अथवा चासोको कमीले गर्दा पर्खनुपरेकै किन नहोस्। यसबाहेक, पर्खनु पर्दा समयको सदुपयोग कसरी गर्ने भनेर जान्यो भने धैर्य धारण गर्नु झनै सजिलो हुन्छ। पृष्ठ ५ मा धीरजी हुनलाई मात्र होइन तर फाइदा पुग्ने खालका केही सुझाउहरू दिइएका छन्।
अधीर व्यक्तिले आफूलाई अत्यन्तै महत्त्वपूर्ण ठान्दै, पर्खनु हुँदैन भन्ने घमण्डी मनोवृत्ति देखाउँछ भनेर भुल्नु हुँदैन। त्यस्तो मनोवृत्ति भएको जोसुकैले पनि बाइबलका यी शब्दहरू ध्यान दिंदा उपयोगी हुनेछ: “धीरजी हुनु अहंकारी हुनुभन्दा असल हो।” (उपदेशक ७:८) हठी अथवा घमण्डी हुनु व्यक्तित्वका गम्भीर त्रुटि हुन् र बाइबलको हितोपदेश यसो भन्छ: “अहंकारी मानिस, सबका सब, परमप्रभुको दृष्टिमा घृणित छन्।” (हितोपदेश १६:५) त्यसैले, धैर्य गर्न सिक्न अर्थात् पर्खन सिक्न हामीले आफैलाई र अरू मानिसहरूसितको हाम्रो सम्बन्धलाई गहिरिएर जाँच्नु पर्छ।
धैर्यको इनाम
हामीले जे कुराको लागि धैर्य गरिरहेका छौं, त्यो धैर्यको योग्य छ र एकदिन त्यो हामीले पक्कै पनि हासिल गर्नेछौं भनेर थाह पाउँदा हामीलाई साधारणतया पर्खन सजिलो हुन्छ। यस सम्बन्धमा परमेश्वरका सम्पूर्ण निष्कपट उपासकहरू बाइबलमा उल्लिखित उहाँको महान् प्रतिज्ञाहरू पूरा हुनेछ भनेर कसरी पर्खिरहेका छन्, त्यसमाथि ध्यान दिनु बेस हुनेछ। उदाहरणका लागि, हामीलाई ईश्वरप्रेरित भजनमा यसो भनिएको छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।” प्रेरित यूहन्नाले यसै भजनलाई दोहोऱ्याउँदै यसो भने: “परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।” (भजन ३७:२९; १ यूहन्ना २:१७) स्पष्ट छ, हामी सधैंभरि बाँच्न सक्नेछौं भने पर्खनु कुनै ठूलो समस्या होइन। तर अहिले हामी सधैंभरिका लागि बाँचिरहेका छैनौं। उसोभए, अनन्त जीवनबारे कुरा गर्नु व्यावहारिक होला त?
यसको जवाफ दिनुअघि परमेश्वरले हाम्रा प्रथम मातापितालाई अनन्त जीवनको प्रत्याशा सहित सृष्टि गर्नुभएको थियो भन्ने कुरा याद गर्नुहोस्। तिनीहरूले पाप गरेको हुनाले मात्र आफू अनि हामीलगायत तिनीहरूका सन्ततिहरूका लागिसमेत अनन्त जीवनको आशा गुमाए। तथापि, तुरुन्तै परमेश्वरले तिनीहरूको अनाज्ञाकारिताका परिणामहरूलाई हटाउने उद्देश्य घोषणा गर्नुभयो। उहाँले एउटा “सन्तान” आउनेछ भनेर प्रतिज्ञा गर्नुभयो र उहाँ येशू ख्रीष्ट हुनुहुन्थ्यो।—उत्पत्ति ३:१५; रोमी ५:१८.
त्यो प्रतिज्ञा पूरा हुँदा त्यसबाट लाभ उठाउने वा नउठाउने हाम्रो आफ्नै निर्णय हो। तर लाभ उठाउन धैर्य चाहिन्छ। यस किसिमको धैर्य धारण गर्न सिक्न बाइबलले हामीलाई एक जना किसानको उदाहरण मनन गर्न प्रोत्साहित गर्छ। उसले बीउ छर्छ। तर त्यसपछि कटनी गर्ने समय नहोउञ्जेल आफ्नो बालीनालीको संरक्षण गर्दै उसले पर्खनै पर्छ। त्यसपछि, उसले आफ्नो धीरजको इनाम पाउँछ र आफ्नो परिश्रमको फल देख्न पाउँछ। (याकूब ५:७) प्रेरित पावल धैर्यको अर्को उदाहरण उल्लेख गर्छन्। तिनी पूरातन समयका विश्वासी पुरुष तथा स्त्रीहरूबारे सम्झना गराउँछन्। तिनीहरूले परमेश्वरका उद्देश्यहरू पूरा हुने बाटो हेर्दै बसे तर पनि तिनीहरूले परमेश्वरले तोक्नुभएको समय पर्खनुपऱ्यो। पावल हामीलाई यी “विश्वास र धीरजद्वारा प्रतिज्ञाका हकदार हुनेहरूका देखा-सिकिगर्ने होओ” भनी प्रोत्साहन दिन्छन्।—हिब्रू ६:११, १२.
हो, पर्खनु भनेको जीवनमा टारेर टार्न नसकिने भाग हो। तर त्यो निरन्तर चिन्ताको स्रोत बनाइरहनु आवश्यक छैन। किनभने परमेश्वरका प्रतिज्ञाहरू पूरा हुने समय पर्खिरहनेहरूका लागि यो आनन्दको श्रोत हुनसक्छ। तिनीहरूले पर्खनमा बिताएको समय परमेश्वरसित घनिष्ठता खेती गर्न अनि विश्वास प्रकट हुने कामहरूमा लगाउन सक्छन्। अनि प्रार्थना, अध्ययन र मनन गर्दै तिनीहरूले परमेश्वरले प्रतिज्ञा गर्नुभएको हरेक कुरा ठीक समयमा पूरा हुनेछ भनी अटल भरोसा खेती गर्नसक्छन्।
[पृष्ठ ५-मा भएको पेटी/चित्र]
पर्खंदा हुने दिक्दारी कम गर्ने!
अग्रिम योजना बनाउनुहोस्! तपाईंले पर्खनुपर्छ भन्ने थाह छ भने, केही पढ्ने, लेख्ने, बुन्ने, सिलाउने, वा अन्य केही उपयोगी कामहरू गर्न तयार हुनुहोस्।
पर्खेर बिताउनु पर्ने समयलाई हाम्रो गतिशील संसारमा सुल्झाउन ज्यादै कठिन परिरहेको समस्याबारे मनन गर्न चलाउनुहोस्।
तपाईंले फोनमा पाँच/दस मिनेट पर्खनुपर्ने भएमा केही पृष्ठ पढी सिध्याउन कुनै पुस्तक टेलिफोनअगाडि राखिछोड्नुहोस्।
अरू मानिसहरूसँगसँगै कसैलाई पर्खिरहनुभएको छ भने, त्यस मौकाको फाइदा उठाउँदै सम्भव भए वार्तालाप सुरु गर्नुहोस् र कुनै उत्थानदायी विचारहरू बाँड्नुहोस्।
गाडीमा नोटप्याड अथवा पढ्ने कुराहरू राखिछोड्नुहोस् ताकि कुनै समयमा अचानक पर्खनुपर्ने भयो भने, त्यसको फाइदा उठाउन सकियोस्।
आँखा बन्द गरेर आराम वा प्रार्थना गर्नुहोस्।
सफल पर्खाइ विशेष गरी मनोवृत्ति र पूर्व सोचमा भर पर्छ!