चर्चहरूलाई बचाउन सकिएला?
“बेलाइतका मानिसहरू अझै परमेश्वरमा विश्वास त गर्छन् तर ख्रीष्टप्रति प्रतिबद्धता जाहेर गर्न चाहँदैनन्” भनी एक जना युगाण्डेली पादरी स्टेफन टिरोमवीले बताए। युगाण्डामा करिब २० वर्ष पहिले चर्चमा फरक मत राख्नेहरूलाई हटाउने हिंसात्मक सफाइ अभियान चलेको बेला उनले आफ्नो ज्यान जोगाएका थिए। अचेल उनी इंग्ल्याण्डको लिड्समा रहेको पुरुषहरू जमघट हुने क्लबमा प्रचार गर्छन्, आफ्ना श्रोताहरूको ध्यान बिङ्गो खेलतिर जानुअघि हतार-हतार दस मिनेटमै उनी आफ्नो भाषण सिध्याउँछन्।
आन्ध्र महासागरपारि हालै अमेरिकामा गठन गरिएको एङ्गलिकन मिसनले यस्तै प्रकारको आध्यात्मिक सङ्कटको सामना गर्दै छ। उक्त मिसनको आधिकारिक वेब साइट यसो भन्छ, “आज संयुक्त राज्य अमेरिका विश्वमै त्यस्ता अंग्रेजीभाषीहरू अत्यधिक मात्रामा बस्ने थलो भएको छ, जो चर्चसित कुनै सम्बन्ध राख्दैनन् अनि आध्यात्मिक तवरमा भावशून्य छन्। हामी मिसनरीहरू खाँचो भएको मिसनरी क्षेत्र भएका छौं।” आफ्नो चर्चभित्रैबाट परिवर्तन ल्याउने प्रयास असफल हुँदा निरास भई उक्त नयाँ मिसनले आफ्नो परम्परागत मान्यतालाई तोड्दै “संयुक्त राज्य अमेरिकामा मिसनरी गतिविधि विस्तार गर्ने कार्यक्रम” सुरु गर्न एसियाली र अफ्रिकी नेताहरूसित हातेमालो गरेका छन्।”
यद्यपि, युरोप तथा उत्तर अमेरिका जस्ता इसाई भूमि भनी कहलिएका मुलुकहरूका मानिसहरूलाई अफ्रिका, एसिया र ल्याटिन-अमेरिकाका मिसनरीहरूले किन प्रचार गरिरहेका छन्?
कसले कसलाई बचाइरहेका छन्?
चार सयभन्दा धेरै वर्षसम्म अफ्रिका, एसिया र प्रशान्तीय तथा दक्षिण अमेरिकामा तीव्र रूपमा अघि बढिरहेको उपनिवेशको बाढी सँगसँगै युरोपेली मिसनरीहरू धर्म विस्तार गर्न दत्तचित्त भएर लागे। ती भूमिहरूका मानिसहरू जसलाई विधर्मीहरू भनिन्थ्यो, तिनीहरूमाझ आफ्नो धर्म लैजानु नै तिनीहरूको मुख्य उद्देश्य थियो। समयमा, मसीही सिद्धान्तहरूमा स्थापना गरिएको भनी दाबी गरिएका अमेरिकी उपनिवेशहरूले पनि तिनीहरूसित काँधमा काँध मिलाए र अन्ततः ती उपनिवेशहरूले विश्वभरि आफ्नै इभान्जेलिकल मिसन स्थापना गर्ने काममा आफ्ना युरोपेली दौंतरीहरूलाई उछिने। आज परिस्थितिले अर्कै मोड लिएको छ।
गैर-पश्चिमी विश्वमा मसीहीधर्मको अध्ययन केन्द्रका संस्थापक-निर्देशक एन्ड्रु वाल्स यसो भन्छन्, “[नाउँ मात्रको मसीही धर्मको] केन्द्र परिवर्तन भएको छ।” सन् १९०० मा मसीही हुँ भनी दाबी गर्ने ८० प्रतिशत व्यक्तिहरू या युरोपेली हुन्थे या त उत्तर अमेरिकी। यद्यपि, आज मसीही हुँ भनेर दाबी गर्ने ६० प्रतिशत व्यक्तिहरू अफ्रिका, एसिया तथा ल्याटिन अमेरिकामा बसोबास गर्छन्। हालैको प्रेस रिपोर्ट यसो भन्छ: “युरोपमा भएका क्याथोलिक चर्चहरू फिलिपिन्स तथा भारतबाट आएका पादरीहरूमा निर्भर हुन्छन्,” अनि “अमेरिकी क्याथोलिक जिल्लामा कार्यरत ६ जना पादरीमध्ये एक जना विदेशबाट झिकाइन्छ।” धेरै जसो नेदरल्याण्डमा बस्ने घानाली मूलका अफ्रिकी इभान्जेलिकलहरू आफूलाई “एउटा धर्म-निरपेक्ष महादेशमा मिसनरी चर्च” ठान्छन्। आज बेलाइतको धेरैजसो भागमा ब्राजिलबाट आएका इभान्जेलिस्टहरू इसाई धर्मको अभियान सञ्चालन गर्छन्। एक जना लेखक यसो भन्छन्, “क्रिश्चियन मिसनरीको गति उल्टो दिशातिर लम्किरहेछ।”
भावी मतभेदको सम्भावना प्रबल
धर्मप्रतिको आस्था घट्दै गइरहेको युरोपेली तथा उत्तर अमेरिकी महादेशहरूमा मिसनरीहरूको टड्कारो खाँचो देखिन सक्छ। एउटा समाचारपत्र यसो भन्छ, “स्कटल्याण्डमा १० प्रतिशतभन्दा कम इसाईहरू नियमित रूपमा चर्च धाउँछन्।” फ्रान्स तथा जर्मनीमा यो संख्या झनै कम छ। सर्वेक्षण लिइँदा, “लगभग ४० प्रतिशत अमेरिकी तथा २० प्रतिशत क्यानेडियालीहरूले नियमित तवरमा चर्च जाने कुरा बताए,” भनी अर्को प्रेस रिपोर्ट बताउँछ। यसको तुलनामा फिलिपिन्समा भने चर्चमा उपस्थित हुनेहरूको संख्या ७० प्रतिशत छ र अन्य विकासोन्मुख भूमिहरूको स्थिति पनि यस्तै छ।
अझै उल्लेखनीय कुरा के छ भने, उत्तरी गोलार्धको तुलनामा दक्षिणी गोलार्धमा चर्च जानेहरू बढी परम्परागत रहेको पाइएको छ। उदाहरणको लागि, संयुक्त राज्य अमेरिका तथा युरोपका क्याथोलिकहरूमाझ मत सर्वेक्षण गरिंदा तिनीहरूले अक्सर पादरीहरूको अख्तियारप्रति बढ्दो अविश्वास व्यक्त गर्नुका साथै चर्च धाउने जनवर्गहरूलाई चर्चका गतिविधिहरूमा बढी मात्रामा समावेश गराउनुपर्ने तथा महिलाहरूप्रतिको समानता जस्ता विषयहरूमा कुरा उठाए। अर्कोतिर, यी विषयहरूमा दक्षिणी गोलार्धका क्याथोलिकहरूले अत्यधिक मात्रामा चर्चको परम्परागत अडानलाई नै अँगाल्छन्। यसरी चर्चका परम्परागत मान्यताहरूलाई समर्थन गर्नेहरूको संख्या उत्तरी गोलार्धभन्दा दक्षिणी गोलार्धमा बढ्नुले भावी मतभेदको लागि एउटा आधार तयार भइसकेको कुरालाई सङ्केत गर्छ। इतिहास र धर्मका विज्ञ फिलिप जेनकिन्स यस्तो भविष्यवाणी गर्छन्: “एक वा दुई दशक भित्रमा विश्वव्यापी इसाई धर्मका यी दुई अङ्गहरूले इसाई धर्मको मूल स्रोत कुन हो भनी छुट्टयाउन सक्नेछैनन्।”
यस परिस्थितिलाई ध्यानमा राख्दै वाल्सले भनेअनुसार टड्कारो प्रश्न भनेको “अफ्रिकी, एसियाली, ल्याटिन अमेरिकी, उत्तर अमेरिकी तथा युरोपेली इसाईहरू मूल रूपमा एउटै विश्वास व्यक्त गरेर कसरी एउटै चर्चमा बस्न सक्छन्,” भन्ने हो। तपाईंलाई कस्तो लाग्छ? के विभक्त संसारमा चर्चहरू बच्न सक्लान्? साँचो मसीही एकताको आधार के हो? अर्को लेखले धर्मशास्त्रीय जवाफ दिनुका साथै एकताबद्ध मसीही समुदाय विश्वव्यापी रूपमा अहिले नै फस्टाइरहेको छ भन्ने विषयमा स्पष्ट प्रमाण प्रस्तुत गर्छ।
[पृष्ठ ४-मा भएको चित्र]
पहिलेको यो चर्च अहिले म्युजिक क्याफे भएको छ
[स्रोत]
AP Photo/Nancy Palmieri