भोजन उपलब्ध गराउने मिलहरू
यसलाई “जीवनको मूल आधार,” “खानाहरूका राजा,” “युगानुयुगदेखि मानिसहरूको बाँच्ने मुख्य आधार” भनिएको छ। हो, परापूर्वकालदेखि नै यो मानिसहरूको मुख्य आहार भएको छ। वास्तवमा भन्ने हो भने, मानिसको लागि एउटा अत्यावश्यक कुरा भनेको दिनहुँको भोजन हो।
हाम्रो आधारभूत भोजन उपलब्ध गर्नको लागि अन्नहरू पिंध्नु पर्ने हुन्छ। त्यसकारण मिलको प्रयोग भनेको एउटा पुरानो कला हो। मेसिनहरूहरूको सुविधा नहुँदा अन्नहरूलाई पिंध्नु एउटा कस्तो कठिन काम हुनुपर्छ! बाइबल समयमा हाते मिलको आवाजले सामान्य, शान्तमय अवस्थालाई सङ्केत गर्थ्यो र यसको आवाज नसुनिनु भनेको दुःखको समय थियो।—यर्मिया २५:१०, ११.
मानव इतिहासभरि नै हेर्दा मिलको प्रयोगमा के-कस्ता कामहरू समावेश छन्? यसको लागि कस्ता तरिका तथा सामग्रीहरू चलाइएका छन्? कस्ता मिलहरूले आज भोजन उपलब्ध गराउँछन्?
मिलहरू किन चाहियो?
प्रथम मानव दम्पती आदम र हव्वालाई यहोवाले यसो भन्नुभयो: “हेर, मैले तिमीहरूलाई पृथ्वीका सबै बिउ उमार्ने बोटहरू र फलमानै बिउ हुने सबै फलका रूखहरू दिएको छु। ती तिमीहरूलाई आहाराको निम्ति हुनेछन्।” (उत्पत्ति १:२९) यहोवाले मानिसजातिलाई दिनुभएका खानाहरूमध्ये अन्नको बालाका बीउहरू पनि थिए। मानिसको अस्तित्वको लागि भोजनको यो स्रोत महत्वपूर्ण थियो किनभने गहुँ, जौ, राई, फापर, चामल, कोदो, जुनेलो र मकैलगायत सबै अन्नहरूमा माडयुक्त कार्बोहाइड्रेट हुन्छ र यसलाई शरीरले आफ्नो बलको प्रमुख स्रोत ग्लुकोजमा परिणत गर्छ।
तर मानिसले सिङ्गो र काँचो अनाज पचाउन सक्दैन। अन्न पिंधेर पकाइएको भोजन मानिसहरूलाई पचाउन सजिलो हुन्छ। अन्नलाई पीठोमा परिणत गर्ने सबैभन्दा सरल तरिका सिलौटोमा पिंध्ने, दुई ढुङ्गाको बीचमा पेलेर धूलो बनाउने वा यी दुवै प्रयोग गरेर हो।
मानिसको बलले चलाइने मिलहरू
पुरातन मिश्री चिहानहरूमा भेट्टाइएको प्रतिमाहरूमा पुरातन समयमा प्रयोग गरिने एक प्रकारको मिल चित्रण गरिएको छ र यस सिलौटोको आकार काठीको जस्तो छ। यस्तो सिलौटोमा दुइटा ढुङ्गा हुन्थ्यो—तलपट्टिको ढुङ्गा भित्रपट्टि अलि खाल्टो परेको हुनुका साथै ढल्केको हुन्थ्यो र सानो ढुङ्गा चाहिं माथिपट्टि हुन्थ्यो। यसमा काम गर्ने कामदार—सामान्तया स्त्रीले त्यस साधनको अघिल्तिरबाट दुवै हातले माथिपट्टिको ढुङ्गा समात्थिन्। त्यसपछि तिनले आफ्नो शरीरको माथिल्लो भागको पूरा बल लगाएर माथिपट्टिको ढुङ्गा अगाडि-पछाडि गरी चलाउँथिन् र अन्नलाई दुई ढुङ्गाको बीचमा धूलो बनाउँथिन्। कस्तो सरल तर कामलाग्ने साधन!
तथापि, घण्टौं घुँडा टेकेर बस्दा शरीरलाई धपेडी हुन्थ्यो। माथिपट्टिको ढुङ्गालाई अगाडि-पछाडि गरेको-गऱ्यै गर्दा ढाड, हात, तिघ्रा, घुँडा र खुट्टाका औंलाहरूमा बढ्तै भार पर्थ्यो। पुरातन सिरियामा भेटिएका अस्थिपञ्जरका हड्डीमा देखिएका असामान्यताहरूको अध्ययनपछि प्राणीहरूको अवशेष अध्ययन गर्ने विशेषज्ञहरू जवान युवतीहरूमा आकार बिग्रिएको घुँडा, ढाडको तल्लो भाग क्षतिग्रस्त र खुट्टाको बूढी औंलामा नराम्रोसँग सन्धिबाथ लाग्नुको कारण त्यस्तै प्रकारको साधन एकोहोरो चलाएकाले हो भन्ने निष्कर्षमा पुगे। पुरातन मिश्रमा हाते मिल चलाउने काम कमारीहरूको थियो जस्तो देखिन्छ। (प्रस्थान ११:५)a केही शास्त्रविद्हरूका अनुसार इस्राएलीहरू मिश्रबाट जाँदा तिनीहरूले काठी आकारको सिलौटो आफूसँगै लिएर आएका थिए।
पिंध्ने प्रविधिमा पछि भएका सुधारको क्रममा दुवै ढुङ्गामा खोपिल्टा बनाइयो। माथिल्लो ढुङ्गामा सोली आकारको मुख खोल्दा पिंध्ने मानिसले त्यसमा अन्न भर्न सक्थे जसले गर्दा दुई ढुङ्गाको बीचमा अन्न आफै झर्थ्यो। सा.यु.पू. चौथो वा पाँचौ शताब्दीतिर ग्रीसले अन्यन्तै सरल खालको पिंध्ने मेसिन बनायो। माथिपट्टिको ढुङ्गामा एकापट्टि अड्याएर एउटा बार राखियो। ह्यान्डलको खुला भागलाई अलि घुमाउरो किसिमले चलाउँदा माथिपट्टिको ढुङ्गा तलपट्टिको ढुङ्गामा घस्रन्थ्यो र माथिपट्टिको ढुङ्गामा सोली आकारको भाँडो जडान गरिएको हुन्थ्यो।
माथि उल्लेख गरिएका सबै मिलको ठूलो सीमितता थियो। ती सबै अगाडि-पछाडि गरेर चलाउनुपर्थ्यो र यो काम गर्न कुनै पनि पशुलाई सिकाउन सकिंदैनथ्यो। तसर्थ, यी मिलहरू मानिसहरूको बलमा नै निर्भर हुन्थे। त्यसपछि नयाँ प्रविधि आयो, त्यो हो, रोटरी मिल। अब पशुहरूको मदत लिन सकिन्थ्यो।
रोटरी मिलले काम सजिलो बनाउँछ
अन्न पिंध्ने रोटरी मिल सा.यु.पू. दोस्रो शताब्दीतिर भूमध्यसागर छेउछाउका देशहरूमा आविष्कार भएको हुन सक्छ। सा.यु. प्रथम शताब्दीसम्ममा प्यालेस्टाइनका यहूदीहरूलाई त्यस्तो मिलबारे थाह भइसकेको थियो किनभने येशूले गधाको ‘घाँटीमा झुन्ड्याउने ठूलो जाँतोबारे’ बताउनुभयो।—मर्कूस ९:४२.
पशुद्वारा चलाइने मिल रोम र रोमी साम्राज्यको प्रायः सबै ठाउँमा चलाइन्थ्यो। त्यस्ता थुप्रै मिलहरू आज पनि पोम्पेमा देख्न सकिन्छ। डमरु आकारको माथिपट्टिको गह्रौं ढुङ्गाले घट्टमा अन्न हाल्ने टोकरीको काम गर्थ्यो र तलपट्टिको ढुङ्गा चाहिं सोली आकारको हुन्थ्यो। तलपट्टिको ढुङ्गामाथि माथिपट्टिको ढुङ्गा घुमाउँदा अन्नको गेडा ती दुईको बीचमा राखेर धूलोपीठो पारिन्थ्यो। माथिपट्टिको ढुङ्गाको साइज ४५ देखि ९० सेन्टिमिटर व्यासको हुन्छ। यी मिलहरू १८० सेन्टिमिटरसम्म अग्ला हुन्थे।
पशुबाट चलाइने मिललाई सुधारेर हल्का प्रकारको रोटरी मिल बनाइएको हो वा रोटरी मिलबाट पशुले चलाउने मिल बनाएको हो भन्ने कुरा स्पष्ट छैन। तर जे होस्, हाते रोटरी मिलको फाइदा चाहिं यसलाई यताउता लैजान मिल्थ्यो र चलाउन पनि सजिलो थियो। यसमा ३० देखि ४० सेन्टिमिटर व्यास भएको दुइटा गोलाकार ढुङ्गा हुन्थे। तलपट्टिको ढुङ्गाको माथिल्लो सतह कन्भेक्स वा अलि बाहिरतिर उठेको हुन्छ र माथिपट्टिको ढुङ्गाको बीचको भाग चाहिं कन्केभ हुन्थ्यो जसले गर्दा यी दुई ढुङ्गाको ठ्याक्क जोडी मिल्थ्यो। माथिल्लो ढुङ्गा बीचको किलामा अड्काइएको हुन्थ्यो र काठको बिंडले घुमाइन्थ्यो। साधारणतया दुई जना महिलाहरू मुखा-मुख गरेर बस्थे र माथिल्लो ढुङ्गा उठाउन दुवैले बिंडको एउटा-एउटा छेउ समातेका हुन्थे। (लूका १७:३५) एउटीले आफ्नो खाली हातले माथिल्लो ढुङ्गाको मुखमा अलि-अलि गरी अन्न हाल्थिन् र अर्कीले जमिनमा बिछ्याइएको कपडा वा किस्तीमा खसेको पीठो जम्मा गर्थिन्। यस्तो मिलले सुविधासम्पन्न मिलहरू नभएको ठाउँमा सेना, नाविक वा सानो घरपरिवारको आवश्यकता पूरा गर्थ्यो।
पानीघट्ट वा हावाले चल्ने मिल
सा.यु.पू. २७ तिर रोमी इन्जिनियर भिट्रीभियसले आफ्नो समयको पानीघट्टको व्याख्या गरे। बगेको पानीले समतल धुरीमा ठाडो पारी अड्याइएको पाङ्ग्रालाई घुमाउँथ्यो। गियरले गर्दा ठाडो पारी राखिएको डन्डा पनि चल्न थाल्थ्यो। यसपछि माथिपट्टिको ठूलो ढुङ्गा घुम्न थाल्थ्यो।
पानीघट्टबाट प्राप्त उत्पादन अरू मिलको तुलनामा कति हुन्थ्यो? हाते मिलले प्रतिघण्टा १० केजीभन्दा कम पिंध्ने गर्थ्यो र सबैभन्दा कार्यकुशल पशुबाट चलाइने मिलले ५० केजीसम्म पिंध्थ्यो। अर्कोतर्फ भिट्रीभियसको पानीघट्टले प्रतिघण्टा १५० देखि २०० केजी पिंध्न सक्थ्यो। भिट्रीभियसको आधारभूत सिद्धान्तअनुसार मिलमा असंख्य विविधता र सुधार ल्याइयो र यो तरिका शताब्दीयौंसम्म चलिरह्यो।
मिल चलाउन प्राकृतिक उर्जाको एक मात्र स्रोत बगिरहेको पानी थिएन। पानीले चल्ने पाङ्ग्राको ठाउँमा हावाले चल्ने मिल राख्यो भने पनि उस्तै काम गर्छ। सम्भवतः सा.यु. १२ औं शताब्दीतिर हावाले चल्ने मिल युरोपमा चलाउन थालियो र यो बेल्जियम, जर्मनी, हल्याण्ड र अन्य ठाउँमा व्यापक रूपमा चलाइयो। वाफ तथा अन्य उर्जाहरूले चल्ने मिलहरूको थालनीले बाँकी किसिमका मिलहरू ठप्प नहोउन्जेल यी मिलहरू नै प्रयोग भए।
“हाम्रो दिनभरिको भोजन”
विभिन्न प्रगतिको बावजुद विगतका मिलहरू पृथ्वीको कुनै न कुनै भागमा अझै अस्तित्वमा छन्। खल र लोहोरो अझै पनि अफ्रिका तथा ओसेनियाका केही भागहरूमा चलाइन्छ। मेक्सिको र मध्य अमेरिकामा टोर्टिलाको लागि मकै पिंध्न अझै काठी आकारको सिलौटो चलाइन्छ। पानीघट्ट र हावाले चल्ने मिल पनि प्रयोगबाट हराएको छैन।
तथापि, आज विकसित देशहरूमा पूरै मेसिनबाट चल्ने रोलर मिलमा पीठो पिंधिन्छ। स्टीलका सिलिन्डरहरूको खोपिल्टा परेको सतहले विभिन्न गतिमा बिस्तारै अन्नका दानाहरूलाई धूलो बनाउँछ। यस प्रविधिले गर्दा कम मूल्यमा विभिन्न प्रकारको पीठो उत्पादन गर्न सकिन्छ।
रोटीको लागि पीठो बनाउनु पहिला जस्तो अहिले पटक्कै गाह्रो काम होइन। तैपनि, हाम्रो सृष्टिकर्ताले हामीलाई अन्न र यसलाई “हाम्रो दिनभरिको भोजन[मा]” परिणत गर्ने बुद्धि दुवै दिनुभएकोमा हामी कृतज्ञ हुन सक्छौं।—मत्ती ६:११.
[फुटनोट]
a बाइबल समयमा बन्दी बनाइएका शत्रुहरू, जस्तै शिमशोन र अन्य इस्राएलीहरूलाई जाँतो पिंध्न लगाइन्थ्यो। (न्यायकर्त्ता १६:२१; विलाप ५:१३) अरूको दासत्वमा नभएका स्त्रीहरूले आफ्नै घरपरिवारको लागि पिंध्ने गर्थे।—अय्यूब ३१:१०, NW.
[पृष्ठ २३-मा भएको चित्र]
काठी आकारको मिश्री सिलौटो
[स्रोत]
Soprintendenza Archeologica per la Toscana, Firenze
[पृष्ठ २३-मा भएको चित्र]
पशुद्वारा चलाइने मिलमा भद्राक्ष पेलेर तेल निकालिन्थ्यो
[पृष्ठ २२-मा भएको चित्रको स्रोत]
From the Self-Pronouncing Edition of the Holy Bible, containing the King James and the Revised versions