के बाइबलले जूवा खेल्नुलाई समर्थन गर्छ?
लोकप्रिय चलचित्र तथा टेलिभिजन कार्यक्रमहरूमा अक्सर सुकिला र धनीमानीहरूले समय कटाउनको लागि जूवा खेलेको देखाइन्छ र त्यसमा पनि बढी मात्रामा क्यासिनोमा खेलेको नै देखाइन्छ। तथापि ती दृश्यहरू काल्पनिक वा भ्रामक हुन् भनेर दर्शकहरूलाई साधारणतया थाह हुन्छ।
तर वास्तविक दुनियाँमा भने चिट्ठा, खेलमा लगाइने बाजी र इन्टरनेटमा खेलिने जूवाले जुवाडेहरूको ध्यान क्यासिनोबाट आफूतिर खिच्ने कोसिस गरिरहेको छ। इन्टरनेट जूवा (अङ्ग्रेजी) भन्ने पुस्तकअनुसार जूवा “विश्वव्यापी दुर्गुण हो र यसको आकर्षण जङ्गलमा लागेको डढेलोझैं फैलिएको छ।” उदाहरणका लागि, अचेल टेलिभिजन र इन्टरनेटमा तासलाई एउटा सर्वमान्य खेलको रूपमा देखाइन्छ। एउटा अखबारले बताएअनुसार हालैका १८ महिनाको समयावधिभित्र संयुक्त राज्य अमेरिकामा तास खेल्नेहरूको सङ्ख्या दोब्बर भएको अनुमान विशेषज्ञहरूले गरेका छन्।
जूवालाई अनिश्चित नतिजामा पैसाको बाजी राख्नु भनी वर्णन गरिएको छ। जुवाडेले पैसा हारेको छैन र उसलाई जूवाको लत लागेको पनि छैन भने जूवा खेल्नुमा कुनै खराबी छैन भन्ने धेरै मानिसको सोचाइ छ। वास्तवमा नयाँ क्याथोलिक विश्वकोश-ले (अङ्ग्रेजी) बताएअनुसार जूवाले “आफ्नो जिम्मेवारी पूरा गर्नमा बाधा पुऱ्याउँदैन भने यसलाई कुनै पाप ठानिंदैन।” तथापि यस निष्कर्षलाई समर्थन गर्ने कुनै बाइबल पद भने त्यसमा उल्लेख गरिएको छैन। त्यसोभए ख्रीष्टियनले जूवालाई कुन दृष्टिकोणले हेर्नुपर्छ? बाइबलले जूवा खेल्नुलाई समर्थन गर्छ कि निन्दा?
याद गर्नुपर्ने कुरा, बाइबलले सोझै जूवाको विषयमा बताएको छैन। तथापि यसको मतलब हामीलाई जूवाबारे कुनै निर्देशन नै दिइएको छैन भन्नेचाहिं होइन। हाम्रा हरेक गतिविधि वा परिस्थितिमा लागू हुने नियमहरू तोक्नुको सट्टा बाइबलले हामीलाई “यहोवाको इच्छा के हो, सो बुझ” भनी आग्रह गरेको छ। (एफिसी ५:१७) बाइबलविद् इ. डब्ल्यु. बुलिङ्गरले बताएअनुसार “बुझ” भनी अनुवाद गरिएको ग्रीक शब्दले विभिन्न कुराबारे “सोचविचार र चिन्तन-मनन गरेर प्राप्त भएको ज्ञानको” आधारमा कुनै विषयबारे ठोस निष्कर्षमा पुग्नुलाई जनाउँछ। त्यसैले जूवासित सम्बन्धित विभिन्न बाइबल सिद्धान्तबारे चिन्तन-मनन गरी एउटा ठोस निष्कर्षमा पुगेर ख्रीष्टियनले परमेश्वरको इच्छा बुझेको कुरा देखाउन सक्छन्। तलका अनुच्छेदहरूमा उल्लेख गरिएका बाइबल पदहरू पढ्दा तपाईं आफैलाई यस्ता प्रश्नहरू सोध्न सक्नुहुन्छ: ‘के यो शास्त्रपदले जूवा खेल्नुलाई समर्थन गर्छ? जूवासम्बन्धी परमेश्वरको इच्छाबारे उहाँको वचनले के बताउँछ?’
भाग्यको खेल
जूवा खेल्दा अनिश्चित कुरामा बाजी लगाइने भएकोले यसमा भाग्यमाथिको विश्वासले अर्थात् संयोगवश हुने घटनामा कुनै रहस्यमय शक्तिको हात हुन्छ भन्ने धारणाले निकै महत्त्वपूर्ण भूमिका खेल्छ, विशेष गरी पैसा बाजी लगाइएको छ भने। उदाहरणका लागि, चिट्ठा किन्दा भाग्यशाली सङ्ख्या भएको टिकट रोज्छन्; माजोङ भनिने जूवा खेल्दा अन्धविश्वासी जुवाडेहरूले केही खास शब्द उच्चारण गर्नै दिंदैनन् अनि अरू कुनै-कुनै खेलमा भने गोटी फ्याँक्नुअघि त्यसलाई फू गरेर मात्र फ्याँक्छन्। किन? कस्तो नतिजा निस्कन्छ भन्ने कुरामा भाग्यले पूर्णतया वा केही हदसम्म भए पनि असर गर्छ भनेर जुवाडेहरू अक्सर विश्वास गर्छन्।
भाग्यमाथि भरोसा राख्नु के एउटा अहानिकारक खेल मात्र हो? पुरातन इस्राएलका केही मानिसले त्यस्तै ठान्थे। भाग्यले नै तिनीहरूको जीवन संवृद्ध बनाउँछ भनेर तिनीहरू विश्वास गर्थे। यसबारे यहोवा परमेश्वरले कस्तो महसुस गर्नुभयो? आफ्नो भविष्यवक्ता यशैयामार्फत परमेश्वरले तिनीहरूलाई यसो भन्नुभयो: “तिमीहरू, जसले परमप्रभुलाई त्याग्छौ, जसले मेरो पवित्र पर्वतलाई बिर्सन्छौ, भाग्यदेवको निम्ति टेबल तयार गर्नेहरू, भावीदेवीको निम्ति मिसाएको दाखमद्य भर्नेहरू [हौ]।” (यशैया ६५:११) भाग्यमाथि विश्वास गर्नु परमेश्वरको नजरमा मूर्तिपूजासरह हो र यो साँचो उपासनासित मेल खाँदैन। भाग्यमाथि विश्वास गर्नेले साँचो परमेश्वरमाथि नभई काल्पनिक शक्तिमाथि भरोसा गरिरहेको देखाउँछ। परमेश्वरले आफ्नो दृष्टिकोण बदल्नुभएको छैन भनेर विश्वास गर्ने हर कारण हामीसित छ।
पैसा कसरी जितिन्छ
इन्टरनेटमार्फत बाजी थापिएको होस्, चिट्ठा किनिएको होस्, खेलमा बाजी लगाइएको होस् वा क्यासिनोमा जूवा खेलिएको नै किन नहोस्, जुवाडेहरूले अक्सर आफूले जित्न खोजिरहेको पैसा कहाँबाट आउँछ भनेर त्यति मतलबै गरेका हुँदैनन्। जूवा खेल्दा एक जना जुवाडेले हारेको पैसा अर्को जुवाडेले जित्न खोजिरहेको हुन्छ जबकि वैध कारोबार वा किनमेलमा भने त्यस्तो हुँदैन।a क्यानाडाको कुलत तथा मानसिक स्वास्थ्य केन्द्रले बताएअनुसार “चिट्ठा परेर एक जना लखपति बन्दा पैसा गुमाउने भने लाखौं हुन्छन्!” यसबारे परमेश्वरको धारणा कस्तो छ भनेर बुझ्न बाइबलका कस्ता सिद्धान्तहरूले ख्रीष्टियनलाई मदत गर्न सक्छ?
इस्राएलीहरूलाई दिइएको दस आज्ञामध्ये अन्तिम आज्ञामा यसो भनिएको थियो: “तैंले आफ्नो छिमेकीकी स्वास्नीका लालच नगर्नू, तेरो छिमेकीको कमारा-कमारी, गोरु, गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नू।” (प्रस्थान २०:१७) छिमेकीको कुनै थोक, चाहे सरसम्पत्ति होस् वा पैसा, त्यसको लालच गर्नुलाई छिमेकीको पत्नीको लालच गर्ने गम्भीर पापसँगै सूचीबद्ध गरिएको थियो। शताब्दियौं पछि यही आज्ञा दोहोऱ्याउँदै प्रेषित पावलले ख्रीष्टियनहरूलाई यसो भने: “तिमीले लालच नगर्नू।” (रोमी ७:७) कुनै ख्रीष्टियनले अर्को व्यक्तिले हारेको पैसा जित्न खोज्छ भने उसले लालच गरिरहेको हुन्छ कि हुँदैन?
“तिनीहरूले [अधिकांश जुवाडेहरूले] स्वीकारून् वा नस्वीकारून्, आफूले बाजी थापेको पैसाबाट—चाहे त्यो केही डलर मात्र किन नहोस्—तुरुन्तै मालामाल हुने सपना तिनीहरूले खेल सुरु हुनुभन्दा अगाडिदेखि नै बुनिरहेका हुन्छन्” भनी स्तम्भकार जे. फिलिप भोगल लेख्छन्। यस्ता जुवाडेहरूले दुई/चार हात खेलेकै भरमा थुप्रो पैसा कमाउने वा धनी बन्ने सपना देख्छन्। निस्सन्देह यो कुरा “उसले कडा परिश्रम गरोस् र आफ्नै हातले असल काम गरोस्, ताकि खाँचोमा परेको मानिसलाई दिन ऊसित केही होस्” भनी एक जना ख्रीष्टियनलाई बाइबलले दिएको सल्लाह विपरीत छ। (एफिसी ४:२८) अनि प्रेषित पावलले तोकेरै यसो भने: “काम गर्न नचाहनेले खाँदा पनि नखाओस्।” तिनले यसो पनि भने: “तिनीहरूले . . . आफ्नै हातले कमाएको खानेकुरा खाऊन्।” (२ थिस्सलोनिकी ३:१०, १२) तर के जूवा खेल्नुलाई काम गरेको भन्न मिल्छ र?
जूवा खेल्दा जति नै परिश्रम गरेको किन नहोस्, त्यसबाट आएको पैसा कुनै काम गरिदिएबापत वा सेवा प्रदान गरेबापत पाएको ज्याला वा कमाएको पैसा नभई जितेको पैसा हो। जूवा खेल्दा अनिश्चित नतिजामा बाजी लगाइन्छ र यो नतिजा प्रायजसो संयोगमा भर पर्छ अनि ढिलो-चाँडो नतिजा राम्रै हुन्छ भन्ने आशा गरिन्छ। छोटकरीमा भन्नुपर्दा, जुवाडेले केही नगरीकनै केही कमाउन खोज्छ। अर्कोतर्फ साँचो ख्रीष्टियनहरूलाई इमानदार भई काम गरेर पैसा कमाउन सल्लाह दिइएको छ। बुद्धिमान् राजा सुलेमानले लेखे: “मानिसको निम्ति आफ्नो परिश्रमको सट्टामा खानु, पिउनु र मोज मजा गर्नुभन्दा अरू बढी केही छैन।” त्यसपछि तिनले यस्तो लेखे: “यो पनि परमेश्वरको हातबाटै मिल्दछ।” (उपदेशक २:२४) हो, परमेश्वरका सेवकहरू भ्रामक कुराहरूमा भर पर्ने वा रातारात धनी हुने उपाय अपनाउने गर्दैनन् बरु तिनीहरू आनन्द र आशिष्को लागि परमेश्वरमा भर पर्छन्।
जोगिनुपर्ने “पासो”
जुवाडेले संयोगले जित्यो नै भने पनि उसले जित्दाको क्षणिक रमाइलोबारे मात्र होइन तर जूवा खेल्दाका दीर्घकालीन परिणामहरूबारे पनि विचार गर्नु राम्रो हुन्छ। हितोपदेश २०:२१ भन्छ: “यदि तैंले हतार गरी धन जम्मा गरिस् भने अन्तमा त्यसले तँलाई चैन दिनेछैन।” चिट्ठा जित्ने वा अरू जुवाडेहरूमध्ये थुप्रै आफूले जितेको पैसाले आनन्द दिन नसकेको कुरा महसुस गरेर दुःखित भएका वा पछुताएका छन्। “आफ्नो आशा अस्थिर धनसम्पत्तिमा होइन तर हाम्रो आनन्दको लागि हामीलाई सबै कुरा प्रशस्तसित दिनुहुने परमेश्वरमा राखून्” भनी बाइबलले दिएको सल्लाह पालन गर्नु कत्ति उत्तम!—१ तिमोथी ६:१७.
हार-जितको कुराबाहेक जूवाका अरू पनि थुप्रै हानिकारक पक्ष छन्। “जो हरहालतमा धनी बन्न चाहन्छन्, तिनीहरू प्रलोभन र पासोमा पर्छन् अनि अनेकौं मूर्खतापूर्ण र हानिकारक इच्छाहरूमा फस्छन्, जसले मानिसहरूलाई विनाश र पतनतर्फ धकेल्छ” भनी परमेश्वरको वचन बताउँछ। (१ तिमोथी ६:९) सिकार उम्कनै नसक्ने गरी पासो तयार परिएको हुन्छ। ‘धेरै पैसा बाजी राख्दिनँ’ वा ‘जूवाको लत बस्ने गरी खेल्दिनँ’ भनेर जूवा खेल्न थाल्ने असङ्ख्य मानिसहरू उम्कनै नसक्ने गरी यसको कुलतमा फसेका छन्। यसले तिनीहरूको भविष्य बरबाद बनाएको छ, प्रियजनलाई चोट पुऱ्याएको छ अनि परिवार भताभुङ्ग पारेको छ।
जूवासित सम्बन्धित थुप्रै बाइबल पद विचार गरेपछि के तपाईंले यसबारे परमेश्वरको इच्छा बुझ्नुभयो? प्रेषित पावलले सँगी ख्रीष्टियनहरूलाई यस्तो आग्रह गरे: “तिमीहरू यस युगको चालढालअनुसार चल्न छोड, बरु तिमीहरूको सोचाइमा यस्तो परिवर्तन आओस् कि तिमीहरूको कायापलट होस्, ताकि तिमीहरूले परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ भनी राम्ररी थाह पाउन सक।” (रोमी १२:२) ख्रीष्टियनको जीवन मानिसहरूले सामान्यतया राख्ने सोचाइद्वारा नभई परमेश्वरको इच्छाद्वारा डोरिनुपर्छ। यहोवा “आनन्दित परमेश्वर” हुनुभएकोले हामी जूवाको पासोमा फस्दा आइपर्ने तीतो नतिजाबाट जोगिओस् र जीवनको आनन्द उठाओस् भन्ने उहाँ चाहनुहुन्छ।—१ तिमोथी १:११. ( w11 -E 03/01)
[फुटनोट]
a सेयर बजारमा लगानी गर्नु कसरी जूवा खेल्नुभन्दा भिन्न हो भनेर यहोवाका साक्षीहरूद्वारा प्रकाशित नोभेम्बर ८, २००० अङ्कको ब्यूँझनुहोस्! पृष्ठ २७-२९ ले बताउँछ।
[पृष्ठ ३२-मा भएको ठूलो अक्षरको क्याप्सन]
परमेश्वरका सेवकहरूले इमानदार भई काम गरेर पैसा कमाउँछन्
[पृष्ठ ३१-मा भएको पेटी]
जित्दाको कुतकुती
के जूवा सजिलै बानी बस्ने कुलत हो? जित्दा र हार्दा जुवाडेहरूले देखाउने प्रतिक्रियाबारे अनुसन्धान गरिसकेपछि डा. हान्स ब्रिटरले बताए: “अनुसन्धानको दौडान जूवा खेलाउँदा, पैसा जित्दा दिमागमा उत्पन्न भएको तरङ्ग कोकिनको लतमा फसेको व्यक्तिले कोकिन लिंदा उसको दिमागमा उत्पन्न हुने तरङ्गसित एकदमै मिल्दोजुल्दो थियो।”
[पृष्ठ ३१-मा भएको चित्र]
जुवाडेहरूले कसको पैसा जित्ने आशा गरिरहेका हुन्छन्?