“म सधैंभरि तिमीहरूसितै छु”
“धेरै जना यता र उता जानेछन् र साँचो ज्ञान प्रशस्त हुनेछ।” —दानि. १२:४, NW.
तपाईं कसरी जवाफ दिनुहुन्छ?
वर्तमान समयमा “साँचो ज्ञान” भेट्टाउन कसरी सम्भव भएको छ?
साँचो ज्ञान लिनेहरू कसरी “धेरै” भएका छन्?
कुन-कुन तरिकामार्फत सही ज्ञान “प्रशस्त” उपलब्ध भएको छ?
१, २. (क) येशू अहिले आफ्ना प्रजासित हुनुहुन्छ र भविष्यमा पनि हुनुहुनेछ भनेर हामी कसरी थाह पाउन सक्छौं? (ख) दानियल १२:४ अनुसार होसियारीसाथ धर्मशास्त्रको अध्ययन गर्दा परिणाम कस्तो हुनेथियो?
आफू प्रमोदवनमा भएको दृश्य कल्पना गर्नुहोस्। हरेक दिन बिहान ब्युँझदा तपाईं आराम महसुस गर्नुहुन्छ, शरीरमा कतै दुखाइ छैन। पुराना रोगहरू सबै कता गए कता। हेर्ने, सुन्ने, सुँघ्ने, स्पर्श गर्ने र स्वाद लिने—यी पाँचै इन्द्रियले राम्ररी काम गर्छन्। अलिकता पनि थकाइ लागेको छैन। साथीभाइको पनि अभाव छैन अनि मनमा कुनै कुराको चिन्ता छैन। नयाँ दिनको सुरुवात गर्न तम्तयार हुनुहुन्छ। काम पनि रमाइलो खालको छ। यी सबै कुरा परमेश्वरको राज्यले यस पृथ्वीमा शासन गर्न थालेपछि सम्भव हुनेछ। त्यस राज्यको नियुक्त राजा ख्रीष्ट येशूले सबै प्रजालाई आशिष् दिनुहुनेछ र तिनीहरूलाई यहोवाको ज्ञान सिकाउनुहुनेछ।
२ भविष्यमा आफ्ना वफादार सेवकहरू सहभागी हुने उक्त विश्वव्यापी शैक्षिक कार्यमा यहोवा तिनीहरूसितै हुनुहुनेछ। परमेश्वर र उहाँको छोरा शताब्दिऔंदेखि आफ्ना वफादार जनहरूसित हुनुहुन्छ। स्वर्ग जानुअघि येशूले आफ्ना वफादार चेलाहरूलाई ‘म सधैंभरि तिमीहरूसितै हुनेछु’ भन्ने आश्वासन दिनुभयो। (मत्ती २८:१९, २० पढ्नुहोस्) यस आश्वासनमाथि हाम्रो भरोसा सुदृढ पार्न पुरातन बेबिलोनमा लगभग २,५०० वर्षअघि लेखिएको ईश्वरप्रेरित भविष्यवाणीको एक हरफ केलाऔं। अहिले हामी बाँचिरहेको “अन्तको समय”-बारे भविष्यवक्ता दानियलले यस्तो लेखे: “धेरै जना यता र उता जानेछन् र साँचो ज्ञान प्रशस्त हुनेछ।” (दानि. १२:४, NW) “यता र उता जानेछन्” भनी अनुवाद गरिएको हिब्रू क्रियाले होसियारीसाथ केलाउनु भन्ने अर्थ दिन्छ। धर्मशास्त्रलाई यसरी होसियारीसाथ अध्ययन गर्नेहरूले परमेश्वरको वचनको सही ज्ञान र थुप्रै आशिष् पाउनेथिए। यस भविष्यवाणीमा थुप्रैले “साँचो ज्ञान” लिनेछन् पनि भनिएको छ। साथै, त्यस्तो ज्ञान प्रशस्त हुनेथियो। यो ज्ञान व्यापक वितरण हुनुका साथै सर्वसुलभ हुनेथियो। यो भविष्यवाणी कसरी पूरा भइरहेको छ भनी केलाउँदा येशू अहिले आफ्ना चेलाहरूसित हुनुहुन्छ र आफूले भविष्यवाणी गरेको सबै कुरा पूरा गर्न यहोवा सक्षम हुनुहुन्छ भनी बुझ्न सक्छौं।
निष्कपट मन भएका ख्रीष्टियनहरूले “साँचो ज्ञान” भेट्टाउँछन्
३. प्रेषितहरूको मृत्युपछि “साँचो ज्ञान” के भयो?
३ येशूका प्रेषितहरूको मृत्युपछि भविष्यवाणी गरिएझैं धर्मत्याग सुरु भयो र डढेलोसरि फैलियो। (प्रेषि. २०:२८-३०; २ थिस्स. २:१-३) त्यसपछि, बाइबलबारे केही थाह नभएका मानिसहरूमाझ मात्र होइन तर ख्रीष्टियन भनौदाहरूमाझ पनि शताब्दिऔंसम्म “साँचो ज्ञान”-को अभाव भयो। ख्रीष्टियन धर्मका नेताहरूले धर्मशास्त्रमा विश्वास गरेको दाबी गरे तापनि तिनीहरूले परमेश्वरको अनादर गर्ने झूटा धार्मिक शिक्षा अर्थात् “दुष्ट स्वर्गदूतहरूका शिक्षाहरू” सिकाए। (१ तिमो. ४:१) यसरी तिनीहरूले आम मानिसलाई अन्धकारमा राखे। तिनीहरूले परमेश्वर त्रिएक हुनुहुन्छ, आत्मा अमर हुन्छ अनि कसै-कसैको आत्माले नरकमा सधैंभरि सास्ती भोगिरहन्छ भन्ने जस्ता झूटा शिक्षा सिकाए।
४. सन् १८७० को दशकमा ख्रीष्टियनहरूको एउटा समूहले “साँचो ज्ञान” कसरी खोज्न थाल्यो?
४ “अन्तको दिन” सुरु हुनुभन्दा लगभग चालीस वर्षअघि अर्थात् सन् १८७० को दशकमा, निष्कपट मन भएका ख्रीष्टियनहरूको एउटा सानो समूह होसियारीसाथ बाइबल अध्ययन गर्न र “साँचो ज्ञान” खोज्न अमेरिकाको पेन्सिलभेनियामा एकसाथ भेला भयो। (२ तिमो. ३:१) तिनीहरू आफूलाई बाइबल स्टुडेन्ट्स भन्थे। येशूले “बुद्धिमान् र बुद्धिजीवीहरूबाट” साँचो ज्ञान लुकाइनेछ भन्नुभएको थियो। तर तिनीहरू भने त्यस्ता मानिस थिएनन्। (मत्ती ११:२५) तिनीहरू साँचो मनले परमेश्वरको इच्छाअनुसार गर्न चाहने नम्र मानिसहरू थिए। तिनीहरूले होसियारीसाथ अनि प्रार्थनापूर्वक बाइबल पढे, छलफल गरे अनि मनन गरे। तिनीहरूले बाइबलका विभिन्न अंश तुलना गर्नुका साथै बाइबलबारे खोज-अनुसन्धान गर्ने अन्य मानिसका लेखोटहरू पनि केलाए। यसरी खोज्दै जाँदा यी बाइबल स्टुडेन्ट्सले शताब्दिऔंदेखि लुकाइएका सत्य कुराहरू बिस्तारै बुझ्न थाले।
५. सुरुको धार्मिक शिक्षा शीर्षक भएको पर्चाहरूको उद्देश्य के थियो?
५ आफूले सिकिरहेको नयाँ कुराहरूबारे बाइबल स्टुडेन्ट्स उत्साहित थिए, तैपनि तिनीहरू घमन्डले फुलेनन्। यी कुराहरू बाइबलमा सुरुदेखि नै बताइएको हुँदा आफूले नयाँ कुरा पत्ता लगाएको दाबी गरेनन्। (१ कोरि. ८:१) बरु तिनीहरूले सुरुको धार्मिक शिक्षा (अङ्ग्रेजी) शीर्षक भएको पर्चाहरू छापे। यसको उद्देश्य बाइबलमा लिपिबद्ध सत्य कुरा पाठकहरूलाई थाह दिनु थियो। पहिलो पर्चाले मानिसहरूलाई बाइबल अध्ययन गर्न मदत गऱ्यो। यसरी अध्ययन गरेपछि तिनीहरूले “मानिसहरूले बसालेको सम्पूर्ण झूटो परम्परा” तिरस्कार गर्न र येशू तथा प्रेषितहरूले सिकाएको साँचो शिक्षा अर्थात् “सुरुको धार्मिक शिक्षा” स्वीकार्न सक्नेथिए।—सुरुको धार्मिक शिक्षा, न. १, अप्रिल १८८९, पृ. ३२.
६, ७. (क) सन् १८७० को दशकदेखि यता हामीले कस्ता सत्य कुराहरू बुझ्न सकेका छौं? (ख) कस्ता सत्य कुराहरू थाह पाउँदा तपाईंलाई असाध्यै खुसी लाग्यो?
६ लगभग १०० वर्षअघि एउटा सानो समूहले खोज-अनुसन्धान गर्न थालेदेखि यता थुप्रै सत्य प्रकट भएका छन्!a यी कुराहरू धर्मविद्हरूको छलफलमा मात्र सीमित निरस विषय होइनन्। यी सत्यले हामीलाई झूटा शिक्षाबाट मुक्त गर्छ। त्यति मात्र होइन, हाम्रो जीवनलाई अर्थपूर्ण बनाउँछ अनि खुसी र आशा दिन्छ। यहोवालाई चिन्न अर्थात् उहाँका मायालु गुण तथा उद्देश्यहरूबारे बुझ्न मदत गर्छ। साथै येशूको भूमिका स्पष्ट पार्छ, उहाँ पृथ्वीमा किन आउनुभयो र किन मर्नुभयो भनी बताउँछ अनि उहाँ अहिले के गर्दै हुनुहुन्छ भनी प्रस्ट पार्छ। यी अनमोल सत्यले परमेश्वरले किन दुःखकष्ट रहन दिनुहुन्छ, हामी किन मर्छौं, कसरी प्रार्थना गर्नुपर्छ अनि कसरी साँच्चै खुसी हुन सक्छौं भनी बुझाउँछ।
७ युगौंसम्म “गुप्त” रहेका तर अन्तको समयमा पूरा भइरहेका भविष्यवाणीहरूको अर्थ अहिले हामीले बुझ्न सकेका छौं। (दानि. १२:९) यस्ता भविष्यवाणीहरू बाइबलभरि नै पाइन्छन्, विशेषगरि सुसमाचारका पुस्तकहरू र प्रकाशको पुस्तकमा। आँखाले देख्न नसक्ने कुराहरू बुझ्नसमेत यहोवाले हामीलाई मदत गर्नुभएको छ। जस्तै: येशू सिंहासनमा विराजमान हुनुभएको, स्वर्गमा लडाइँ भएको अनि सैतानलाई पृथ्वीमा फ्याँकिएको। (प्रका. १२:७-१२) अर्कोतर्फ, देख्न सक्ने कुराहरूको अर्थ बुझ्न पनि परमेश्वरले हामीलाई मदत गर्नुभएको छ। जस्तै: युद्ध, भूकम्प, महामारी, अनिकाल र अहिलेको समयलाई अझ “कठिन बनाउने” खराब मानिसहरू।—२ तिमो. ३:१-५; लूका २१:१०, ११.
८. आफूले हेर्न र सुन्न पाएका कुराहरूको श्रेय हामी कसलाई दिन्छौं?
८ येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “धन्य हुन् ती आँखा, जसले तिमीहरूले देखिरहेका कुराहरू देख्छन्। म तिमीहरूलाई भन्छु, धेरै भविष्यवक्ता र राजाहरूले तिमीहरूले देखिरहेका कुराहरू हेर्ने इच्छा गरेका थिए तर हेर्न पाएनन् अनि तिमीहरूले सुनिरहेका कुराहरू सुन्ने इच्छा गरेका थिए तर सुन्न पाएनन्।” (लूका १०:२३, २४) हो, येशूले भन्नुभएका कुराहरू आज हामीले हेर्न र सुन्न पाएका छौं। यसको श्रेय हामी यहोवा परमेश्वरलाई दिन्छौं। अनि “सत्य राम्ररी बुझ्न” सकोस् भनेर परमेश्वरले “मदतगार” अर्थात् पवित्र शक्ति पठाउनुभएकोमा हामी कत्ति कृतज्ञ छौं! (यूहन्ना १६:७, १३ पढ्नुहोस्) आफूले पाएको “साँचो ज्ञान”-को सधैं मोल गरौं र यसबारे अरूलाई बताउन कहिल्यै पछि नहटौं!
“धेरै”-ले “साँचो ज्ञान” स्वीकार्छन्
९. प्रहरीधरहरा पत्रिकाको अप्रिल १८८१ को अङ्कमा कस्तो आह्वान गरिएको थियो?
९ प्रहरीधरहरा (अङ्ग्रेजी) पत्रिकाको पहिलो अङ्क छापिएको दुई वर्ष नपुग्दै अप्रिल १८८१ को अङ्कमा १,००० प्रचारकहरूको लागि आह्वान गरियो। उक्त लेखमा यसो भनिएको थियो: “प्रभुकै कामको लागि आफ्नो आधा समय वा त्योभन्दा बढी समय खर्च गर्न सक्नेहरूका लागि हाम्रो एउटा सुझाव छ . . . , त्यो के हो भने, आफ्नो क्षमताले दिएअनुसार तपाईंहरू पूर्ण-समय सेवक वा प्रचारकको रूपमा ठूला वा साना सहरहरूमा जानुहोस्, सबै ठाउँमा सोझो मन भएका ख्रीष्टियनहरू भेट्टाउने प्रयास गर्नुहोस्, यस्ता थुप्रैसित परमेश्वरको लागि जोस त होला तर सही ज्ञानअनुरूप भने होइन; यी मानिसहरूलाई स्वर्गमा बस्नुहुने हाम्रो बुबाबारे र उहाँको वचनका सुन्दर कुराहरूबारे बताउने प्रयास गर्नुहोस्।”
१०. पूर्ण-समय प्रचारकहरूको लागि गरिएको आह्वानको परिणाम कस्तो भयो?
१० साँचो ख्रीष्टियनहरूले गर्नै पर्ने काम सुसमाचार प्रचार गर्नु हो भनेर बाइबल स्टुडेन्ट्सले बुझेका थिए भनी त्यस आह्वानबाट देखियो। तर १,००० पूर्ण-समय प्रचारकको लागि आह्वान गर्नु अत्यन्तै महत्त्वाकाङ्क्षी योजना थियो किनभने त्यतिबेला बाइबल स्टुडेन्ट्सको सभामा केही सय व्यक्ति मात्र उपस्थित हुन्थे। कुनै पर्चा वा पत्रिका पढेपछि थुप्रैले यसमा सत्य कुरा छ भनेर बुझे र खुसीसाथ त्यो आह्वान स्वीकारे। उदाहरणको लागि, बाइबल स्टुडेन्ट्सले छापेको प्रहरीधरहरा र पुस्तिका पढेपछि सन् १८८२ मा लन्डनका एक जना पाठकले यस्तो लेखे: “परमेश्वरले चाहनुभएको पवित्र काम पूरा गर्न मैले के प्रचार गर्नुपर्छ र कसरी गर्नुपर्छ, कृपया मलाई बताउनुहोस्।”
११, १२. (क) त्यतिबेलाका र अहिलेका पूर्ण-समय प्रचारकको समान लक्ष्य के हो? (ख) ती पूर्ण-समय प्रचारकहरूले कसरी “समूह” अर्थात् नयाँ मण्डली गठन गरे?
११ सन् १८८५ सम्ममा लगभग ३०० बाइबल स्टुडेन्ट्स पूर्ण-समय सेवामा लागिरहेका थिए। त्यतिबेलाका पूर्ण-समय प्रचारकहरूको लक्ष्य पनि आज हाम्रो जस्तै थियो—येशू ख्रीष्टको चेला बनाउने। तर तिनीहरूको तरिका हाम्रो भन्दा फरक थियो। अहिले हामी सामान्यतया एक चोटिमा एक जना व्यक्तिसित बाइबल अध्ययन गर्छौं। त्यसपछि ती बाइबल विद्यार्थीलाई मण्डलीका सभाहरूमा उपस्थित हुन निम्तो दिन्छौं। तर त्यतिबेलाका पूर्ण-समय प्रचारकहरूले पहिला पुस्तक वितरण गर्थे अनि चासो देखाउने व्यक्तिहरूलाई एक साथ भेला गरेर सँगै बाइबल अध्ययन गर्थे। एक जना व्यक्तिसित मात्र अध्ययन गर्नुको साटो तिनीहरूले “समूह” गठन गर्थे अर्थात् नयाँ मण्डली बनाउँथे।
१२ उदाहरणको लागि, सन् १९०७ मा पूर्ण-समय प्रचारकहरूको समूह एउटा सहरमा गयो अनि क-कससित सहस्र वर्षीय प्रभात (अङ्ग्रेजी) भन्ने किताब छ भनेर सर्वेक्षण गऱ्यो। प्रहरीधरहरा पत्रिकाले यसो भन्यो: “चासो देखाउने व्यक्तिहरूलाई कसैको घरमा एउटा सभाको लागि भेला गरिन्थ्यो। एक जना पूर्ण-समय प्रचारकले आइतबार दिनभरि नै परमेश्वरको उद्देश्यबारे छलफल गर्थे अनि त्यसपछिको आइतबारदेखि नियमित रूपमा सभा गर्न त्यहाँ उपस्थित भएकाहरूलाई आग्रह गर्थे।” सन् १९११ मा भाइहरूले उक्त प्रक्रियामा केही छाँटकाँट गरे। जनभाषण दिनको लागि ५८ जना भाइ अमेरिका र क्यानाडाको विभिन्न ठाउँमा गए। यी भाइहरूले भाषण सुन्न आएका जिज्ञासु व्यक्तिहरूको नाम र ठेगाना जम्मा गर्थे अनि नयाँ “समूह” गठन गर्नको लागि कसैको निजी घरमा भेला हुने प्रबन्ध मिलाउँथे। सन् १९१४ सम्म संसारभरि बाइबल स्टुडेन्ट्सको १,२०० मण्डली स्थापना भइसकेको थियो।
१३. अहिले “साँचो ज्ञान” पृथ्वीभरि फैलिएको कुरा तपाईंलाई किन उल्लेखनीय लाग्छ?
१३ अहिले संसारभरि लगभग १,०९,४०० मण्डली छन् र ८,९५,८०० जति भाइबहिनीले अग्रगामीको रूपमा सेवा गरिरहेका छन्। झन्डै ८० लाख मानिसले “साँचो ज्ञान” लिएर त्यसलाई आफ्नो जीवनमा लागू गरिरहेका छन्। (यशैया ६०:२२ पढ्नुहोस्)b यो एकदमै उल्लेखनीय छ किनभने येशूको चेला भएकाले तिनीहरूलाई ‘सबै मानिसहरूले घृणा गर्नेछन्’ भनेर उहाँले भविष्यवाणी गर्नुभएको थियो। आफ्ना चेलाहरूलाई खेदो गरिनेछ, झ्यालखानामा हालिनेछ र कसै-कसैलाई मारिनेछ भनेर पनि उहाँले भन्नुभयो। (लूका २१:१२-१७) सैतान, त्यसका दुष्ट स्वर्गदूतहरू र मानव विरोधीहरूको अवरोधको बाबजुद चेला बनाउने काममा यहोवाका जनले असाधारण सफलता हासिल गरेका छन्। आज तिनीहरूले उखुम गर्मी हुने ठाउँदेखि लिएर कठाङ्ग्रिने जाडो हुने ठाउँसम्म, पहाडमा, मरुभूमिमा, सहरमा अनि अत्यन्तै विकट ठाउँमा गएर “सारा पृथ्वीभरि” प्रचार गरिरहेका छन्। (मत्ती २४:१४) परमेश्वरको समर्थनविना यो सम्भव हुनेथिएन!
“साँचो ज्ञान प्रशस्त” हुन्छ
१४. छापिएको सरसामग्रीद्वारा “साँचो ज्ञान” कसरी प्रचुर मात्रामा उपलब्ध भएको छ?
१४ सुसमाचार प्रचार गर्ने थुप्रै व्यक्तिमार्फत “साँचो ज्ञान” प्रशस्त भएको छ। अनि छापिएको सरसामग्रीमार्फत पनि यो ज्ञान प्रचुर मात्रामा उपलब्ध भएको छ। जुलाई १८७९ मा बाइबल स्टुडेन्ट्सले यस पत्रिकाको पहिलो अङ्क निकाले, जसको शीर्षक थियो, सियोनको प्रहरीधरहरा र ख्रीष्टको उपस्थितिको सूचक (अङ्ग्रेजी)। त्यतिबेला बाइबल स्टुडेन्ट्सले उक्त पत्रिका अङ्ग्रेजी भाषामा ६,००० प्रति निकाले र यो तिनीहरूले बाहिरको कम्पनीलाई छाप्न लगाए। यसका सम्पादकको रूपमा २७ वर्षीय चार्ल्स टेज रसललाई छानियो अनि पाँच जना परिपक्व बाइबल स्टुडेन्ट्स यसका नियमित स्तम्भकार थिए। प्रहरीधरहरा पत्रिका अहिले १९५ भाषामा छापिन्छ। यो संसारमा सबैभन्दा व्यापक वितरण हुने पत्रिका हो। यसको हरेक अङ्कको ४,२१,८२,००० प्रति वितरण हुन्छ। यसपछि दोस्रो स्थानमा यसैको सहपत्रिका ब्यूँझनुहोस्! (अङ्ग्रेजी) पर्छ र यो ८४ भाषामा ४,१०,४२,००० प्रति वितरण हुन्छ। यसको अलावा हरेक वर्ष लगभग १० करोड पुस्तक र बाइबल छापिन्छन्।
१५. छपाइसम्बन्धी कामको खर्च कसरी जुटाइन्छ?
१५ यो विशाल कार्यको खर्च स्वेच्छिक अनुदानद्वारा जुटाइन्छ। (मत्ती १०:८ पढ्नुहोस्) यो कुरा छपाइ उद्योगमा संलग्न व्यक्तिहरू पत्याउनै सक्दैनन् किनभने छापाखाना चलाउन, कागज, मसी तथा अन्य सामग्री किन्न कति खर्च हुन्छ भनेर उनीहरूलाई थाह छ। बेथेलका छापाखानाहरूको लागि सरसामान किन्ने एक जना भाइले यसो भने: “हामीले प्रयोग गरिरहेको उच्च प्रविधियुक्त अत्याधुनिक छापाखानाहरू हेर्न आउने व्यापारीहरू यसको सम्पूर्ण खर्च स्वेच्छिक अनुदानद्वारा जुटाइन्छ भनेर सुन्दा दङ्ग पर्छन्। हाम्रा बेथेलमा यत्ति धेरै जवान मानिस हाँसीखुसी सेवा गरिरहेको देख्दा पनि उत्तिकै छक्क पर्छन्।”
पृथ्वी परमेश्वरको ज्ञानले भरिपूर्ण हुनेछ
१६. “साँचो ज्ञान” उपलब्ध हुनुको कारण के हो?
१६ “साँचो ज्ञान” प्रशस्त मात्रामा उपलब्ध हुनुमा एउटा जायज कारण छ। “सबै किसिमका मानिसहरूले उद्धार पाऊन् र सत्यको सही ज्ञान लिऊन्” भन्ने परमेश्वर चाहनुहुन्छ। (१ तिमो. २:३, ४) मानिसहरूले सही तरिकामा यहोवाको उपासना गर्न र उहाँको आशिष् पाउन तिनीहरूले सही ज्ञान लिएको उहाँ चाहनुहुन्छ। “साँचो ज्ञान” उपलब्ध गराएर यहोवाले वफादार अभिषिक्त ख्रीष्टियनहरूलाई जम्मा गर्नुभएको छ। उहाँले ‘हरेक राष्ट्र, कुल, जाति अनि भाषाका एउटा ठूलो भीड’ पनि जम्मा गरिरहनुभएको छ। यिनीहरूले पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्छन्।—प्रका. ७:९.
१७. साँचो उपासकहरूको वृद्धिले कुन कुराको प्रमाण दिन्छ?
१७ विगत १३० वर्षको दौडान जतासुकै साँचो उपासकहरूको सङ्ख्या बढेको छ। यस्तो वृद्धिले यहोवा र उहाँले नियुक्त गर्नुभएको राजा येशू ख्रीष्ट आफ्ना सेवकहरूसित हुनुहुन्छ भन्ने कुराको अकाट्य प्रमाण दिन्छ। यहोवा र येशूले तिनीहरूलाई निर्देशन दिने, सुरक्षा दिने, व्यवस्थित पार्ने र शिक्षा दिने काम गरिरहनुभएको छ। साँचो उपासनाको यस्तो विस्तारले भविष्यको सन्दर्भमा यहोवाले गर्नुभएका प्रतिज्ञाहरू अवश्य पूरा हुनेछन् भन्ने कुरालाई पनि जोड दिन्छ। “समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” (यशै. ११:९) त्यतिबेला मानिसहरूले साँच्चै अद्भुत आशिष् पाउनेछन्!
[फुटनोटहरू]
a यहोवाका साक्षीहरू—क्रियाशील विश्वास, भाग १: अन्धकारबाट मुक्त (अङ्ग्रेजी) र यहोवाका साक्षीहरू—क्रियाशील विश्वास, भाग २: ज्योति चम्कोस् (अङ्ग्रेजी) डी भी डी हेर्नु शिक्षामूलक हुनेछ।
b यशैयाको भविष्यवाणी—सारा मानवजातिको लागि ज्योति, खण्ड २ (अङ्ग्रेजी) पुस्तकको पृष्ठ ३२० हेर्नुहोस्।
[पृष्ठ ६-मा भएको चित्र]
सुरु-सुरुका बाइबल स्टुडेन्ट्स साँचो मनले परमेश्वरको इच्छाअनुसार गर्न चाहने नम्र मानिसहरू थिए
[पृष्ठ ७-मा भएको चित्र]
“साँचो ज्ञान” फैलाउन तपाईंले गर्ने प्रयासको यहोवा मोल गर्नुहुन्छ