तपाईंको काम कसैले याद नगरे पनि त्यसले केही फरक पार्छ र?
बजलेल र ओहोलीआबका लागि निर्माणकार्य नौलो काम थिएन। किनभने तिनीहरूले मिश्र देशको दासत्वमा छँदा यत्ति धेरै इँटा बनाएका थिए, तिनीहरू त्यो कुरा सम्झनै चाहँदैनथे। तर ती कुराहरू त बितिसकेका थिए। अब भने तिनीहरूले उच्च ओहदामा रहेर कालिगडको काम गर्ने थिए। हो, तिनीहरूले यहोवाको बासस्थान निर्माण गर्ने काममा नेतृत्व लिने थिए। (प्रस्थ. ३१:१-११) तर बजलेल र ओहोलीआबको कुनै-कुनै उत्कृष्ट काम भने थोरैले मात्र देख्ने थिए। के यस कुराले तिनीहरूलाई निराश पार्ने थियो? तिनीहरूको कामलाई कसैले याद नगरे पनि त्यसले तिनीहरूलाई केही फरक पार्थ्यो? तपाईंको काम कसैले याद नगरे पनि त्यसले केही फरक पार्छ र?
थोरैले मात्र देखेका उत्कृष्ट कामहरू
बासस्थानका केही सामग्रीहरू साँच्चै नै उत्कृष्ट थिए। उदाहरणका लागि, करारको सन्दूकमाथि भएका सुनका करूबहरूलाई विचार गर्नुहोस्। प्रेषित पावलले ती करूबहरूलाई “महिमित” भनेर बताए। (हिब्रू ९:५) सुनलाई घनले पिटेर बनाइएका ती करूबहरूको सुन्दरता कल्पना गर्नुहोस्!—प्रस्थ. ३७:७-९.
तिनीहरूले बनाएका सामग्रीहरू अहिले भेटिएका भए ती सबैभन्दा राम्रो सङ्ग्रहालयमा राख्न लायकका हुने थिए। अनि थुप्रैले तिनीहरूको कामको कदर गर्ने थिए। तर बजलेल र ओहोलीआबले ती सामग्रीहरू बनाएको बेलामा कति जनाले देखेका थिए? करूबहरूलाई महापवित्रस्थानमा राखिएको थियो। त्यसैले प्रधान पुजारी प्रायश्चितको दिन वर्षको एक पटक महापवित्रस्थानमा पस्दा तिनले मात्र करूबहरू देख्न सक्थे। (हिब्रू ९:६, ७) त्यसकारण थोरै मानिसले मात्र तिनीहरूको कला देखे।
मानिसबाट प्रशंसा नपाए पनि सन्तुष्ट हुनुहोस्
तपाईं आफूलाई बजलेल र ओहोलीआबको ठाउँमा राख्नुहोस्। तपाईंले उत्कृष्ट सामग्रीहरू बनाउन निकै मेहनत गर्नुभयो तर थोरैले मात्र ती देखे। तपाईंलाई कस्तो लाग्ने थियो? आजकल मानिसहरू आफ्ना साथीभाइहरूबाट प्रशंसा पाउँदा मात्र सफलता पाएको महसुस गर्छन्। अरूबाट पाएको प्रशंसाले नै आफ्नो काम कत्तिको मूल्यवान् छ भनेर निर्धारण गर्छ भनी सोच्छन्। तर यहोवाका जनहरू भने फरक छन्। बजलेल र ओहोलीआबजस्तै तिनीहरू यहोवा परमेश्वरको इच्छा पूरा गर्दा र उहाँको अनुमोदन पाउँदा नै सन्तुष्ट महसुस गर्छन्।
येशूको समयका धार्मिक नेताहरू अरूलाई प्रभावित पार्ने किसिमको प्रार्थना गर्ने गर्थे। तर अरूबाट प्रशंसा पाउने इच्छाले नभई मनैदेखि प्रार्थना गर्नुपर्छ भनी येशूले बताउनुभयो। यसो गर्दा के फाइदा हुन्छ? “सबै कुरा देख्नुहुने तिम्रो बुबाले तिमीलाई इनाम दिनुहुनेछ।” (मत्ती ६:५, ६) हाम्रो प्रार्थनाबारे अरू के सोच्छन्, त्यो होइन बरु यहोवा परमेश्वर के सोच्नुहुन्छ, त्योचाहिं महत्त्वपूर्ण छ। उहाँको अनुमोदनले मात्र हाम्रो प्रार्थनालाई मूल्यवान् बनाउँछ। हामीले चढाउने जुनसुकै पवित्र सेवामा यो कुरा लागू हुन्छ। त्यसैले अरूबाट प्रशंसा पायौं भने मात्र हाम्रो कामको महत्त्व बढ्ने होइन; बरु हाम्रो कामले “सबै कुरा देख्नुहुने” यहोवा परमेश्वरलाई खुसी पारेको हुनुपर्छ।
बासस्थानको निर्माणकार्य सिद्धिएपछि “भेट हुने पाल बादलले छोप्यो, र परमप्रभुको महिमाले पवित्रस्थान भरियो।” (प्रस्थ. ४०:३४) यहोवाको अनुमोदन पाएको कुराको कस्तो स्पष्ट प्रमाण! तपाईंको विचारमा त्यतिखेर बजलेल र ओहोलीआबलाई कस्तो लाग्यो होला? तिनीहरूले बनाएका सामग्रीहरूमा तिनीहरूको नाम कुँदिएको त थिएन। तैपनि तिनीहरूको मेहनतमा परमेश्वरले आशिष् दिनुभएको कुरा थाह पाउँदा तिनीहरूले पक्कै सन्तुष्ट महसुस गरेको हुनुपर्छ। (हितो. १०:२२) तिनीहरूको हस्तकला वर्षौंसम्म पनि यहोवाको सेवामा चलाइएको देख्दा तिनीहरू साँच्चै खुसी भएको हुनुपर्छ। बजलेल र ओहोलीआब नयाँ संसारमा पुनर्जीवित हुँदा बासस्थानलाई साँचो उपासनामा लगभग ५०० वर्षसम्म प्रयोग गरियो भनेर थाह पाउँदा तिनीहरू कत्ति खुसी होलान्!
अहिले पनि यहोवाको सङ्गठनमा काम गर्ने एनिमेटर, चित्रकार, सङ्गीतकार, फोटोग्राफर, अनुवादक र लेखकहरूको नाम हामीलाई थाह हुँदैन। यस अर्थमा तिनीहरूको काम कसैले “देख्दैन।” त्यसैगरि संसारभरिका १ लाख १० हजारभन्दा धेरै मण्डलीहरूमा भइरहेको धेरैजसो कामबारे पनि हामी यस्तै भन्न सक्छौं। महिनाको अन्तमा लेखा सेवकले आवश्यक कागजपत्रहरू भर्दा कसले देख्छ? सचिवले मण्डलीको क्षेत्र सेवा रिपोर्ट तयार पार्दा कसले देख्छ? कुनै भाइ वा बहिनीले राज्यभवनमा आवश्यक मर्मतसम्भार गर्दा कसले याद गर्छ?
आफ्नो जीवनको अन्तमा बजलेल र ओहोलीआबले आफ्नो उत्कृष्ट निर्माणकार्यको लागि कुनै ट्रफी, पदक वा अन्य पुरस्कार पाएनन्। तर तिनीहरूले त्योभन्दा कता हो कता अमूल्य कुरा पाए। त्यो हो, यहोवाको अनुमोदन। यहोवाले तिनीहरूको कामलाई याद गर्नुभयो भन्ने कुरामा कुनै शङ्का छैन। हामी पनि तिनीहरूको नम्रता र इच्छुक मनोभावको अनुकरण गरौं।