“परमेश्वरको वचन . . . प्रबल . . . हुन्छ”
१ “परमेश्वरको वचन जीवित र प्रबल . . . हुन्छ” भनी प्रेरित पावल लेख्छन्। (हिब्रू ४:१२) उनले के भन्न खोजिरहेका थिए? बाइबलमा पाइने परमेश्वरको वचन वा सन्देशले मानिसहरूमा गहिरो प्रभाव पार्नसक्छ। बाइबलमा भएको ज्ञानले व्यक्तिविशेषको जीवनलाई नयाँ मोड दिनसक्छ। यसले दिने आनन्द र आशाले मानिसजातिलाई जीवनदाता, यहोवा परमेश्वरतर्फ तान्छ। यसको सन्देशले इमानदार हृदय भएका मानिसहरूलाई अनन्त जीवनको बाटोतर्फ डोऱ्याउन सक्छ। यद्यपि, यस्ता असरहरूलाई प्रत्यक्षतः हेर्न, हामीले अरूलाई साक्षी दिंदा बाइबलको प्रयोग गर्नैपर्छ।
२ हरेक अवसरमा धर्मशास्त्र पढ्नुहोस्: ढोका-ढोकाको प्रचार कार्यमा धेरै प्रकाशकहरूले कमै मात्रामा बाइबल चलाउने गरेको देखिन्छ। के तपाईं पनि त्यसै गर्नुहुन्छ? धेरै मानिसहरूसित लामो वार्तालाप गर्ने समय छैन जस्तो देखिएकोले सायद तपाईंलाई पनि केही साहित्यहरू प्रस्तुत गर्ने वा शास्त्रपदको भावार्थ मात्र बताउने बानी परिरहेको होला। सुसमाचार सुनाउँदा बाइबलबाट कम्तीमा पनि एउटा पद भए पनि पढ्नको लागि उत्कट प्रयास गर्न हामी सबै प्रकाशकहरूलाई प्रोत्साहित गर्छौं। यसरी तपाईंले हाम्रो सन्देश साँच्चै नै परमेश्वरको वचनबाट लिइएको हो भनेर देखाइरहेको हुनुहुनेछ।
३ थोरै व्यक्तिहरूको मात्र बाइबल पढ्ने बानी भए तापनि अहिले पनि सामान्यतया यसको आदर गरिन्छ। अक्सर व्यस्त मानिसहरूले समेत सीधै परमेश्वरको वचनबाट पढिएको सन्देश सुन्नको लागि केही मिनेट समय दिनेछन्। मित्रैलो भई शास्त्रपद पढ्दा र त्यसलाई छोटकरीमा व्याख्या गर्दा परमेश्वरको वचनको शक्तिले सुन्नेहरूलाई राम्रो असर गर्नसक्छ। तर सुरुको टिप्पणी र पढिने बाइबल पदलाई कसरी जोड्ने?
४ पत्रिका कार्यमा प्रयास गर्नुहोस्: एक परिभ्रमण निरीक्षक पत्रिका कार्य गर्दा शास्त्रपदहरूलाई प्रभावकारी ढंगमा प्रयोग गर्छन्। उनी खल्तीमा सानो बाइबल बोक्ने गर्छन्। पत्रिका प्रस्तुत गरिसकेपछि उनी छोटकरीमा लेखको विशेषताबारे बताउँछन् र कुनै अप्ठ्यारो नमानीकन बाइबल खोल्छन् र लेखसँग सम्बन्धित पद पढेर सुनाउँछन्। यसो गर्नको लागि केवल यति सोधे पुग्छ, “यस प्रोत्साहनदायी प्रतिज्ञाबारे तपाईंको के विचार छ?” त्यसपछि उपयुक्त शास्त्रपद पढ्नुहोस्।
५ सुन्न चाहने जति सबैलाई एक दुइटा भए पनि बाइबल पद पढेर सुनाउने लक्ष्य राख्नुहोस्। यसको उत्प्रेरणादायी शक्तिले धेरै मानिसहरूको लागि परमेश्वरतर्फ घनिष्ठ हुने बाटो खोल्न सक्छ।—यूह. ६:४४.