बाइबलको दृष्टिकोण
के प्रेरित पावल स्त्री विरोधी थिए?
प्रेरित पावलका “शिक्षाहरूलाई मसीही . . . चर्चमा स्त्रीप्रति पक्षपातको रूपमा चलाइएको छ।” सन् १९९३ को सुरुतिर साइप्रसमा सम्पन्न कमनवेल्थ ल कन्फरेन्समा प्रस्तुत गरिएको औपचारिक पत्रमा अकल्याण्ड, न्यु जील्याण्डका न्यायाधीश सेसिल रश्टनले उक्त कुरा भनेकी थिइन्। उनले अझै भनिन्: “तिमोथीलाई लेखेको पत्रले पावलको सोचाइ प्रकट गर्छ: ‘तर स्त्रीहरूले सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्नँ, तर तिनीहरू चूपचापै रहून्।’”—१ तिमोथी २:१२.
स्त्रीहरूको भूमिका अथवा स्थानको सम्बन्धमा पावलले लेख्दा के उनले केवल आफ्नो व्यक्तिगत विचारधारा व्यक्त गरिरहेका थिए अथवा त्यसो लेख्न उनी ईश्वर प्रेरित भएका थिए? सम्पूर्ण विवरणहरू केलाउँदा पावलका ती पत्रहरूले के साँच्चै स्त्रीहरूप्रति पक्षपात दर्शाउँछ? पावलले तिमोथीलाई लेखेका उपरोक्त शब्दहरू कुन सन्दर्भमा लागू हुन्छ?
पावलका प्रमाणपत्रहरू
मसीही युनानी शास्त्रका २७ वटा पुस्तकहरूमध्ये १४ वटाले पावललाई आधिकारिक लेखकको श्रेय दिन्छ। विभिन्न भाषामा बोल्न सक्ने उनको अद्भुत दक्षताले उनमा पवित्र आत्मा क्रियाशील थियो भन्ने प्रमाण दिन्छ। यस अलावा, अलौकिक दर्शनहरूलाई पनि उनले श्रेय दिए। (१ कोरिन्थी १४:१८; २ कोरिन्थी १२:१-५) उनको आत्म-त्यागी, पूर्ण तनमन र मायालु उदाहरणले उनी र उनका सङ्गी समकालीन दौंतरीहरूबीच न्यानो भ्रातृस्नेहको बन्धन बाँध्यो। (प्रेरित २०:३७, ३८) उनका लेखोटहरू लगायत उनले स्त्रीहरूबारे भनेका कुराहरू ‘सिकाउनलाई उपयोगी परमेश्वरबाट प्रेरणा भएको धर्मशास्त्र’ को भाग हो।—२ तिमोथी ३:१६.
पावलका पत्रहरूमा स्त्रीहरू
स्त्रीहरूप्रति मान्यता र आदरसम्बन्धी विवरणका प्रशस्त प्रमाणहरू पावलका सम्पूर्ण लेखोटभरि पाइन्छन्। स्त्रीहरूले मण्डलीमा र परिवारमा निभाउनु पर्ने बेग्लाबेग्लै भूमिकाबारे उनले बारम्बार उल्लेख गरेका छन्। एउटा पत्रमा, उनले मसीही गोठालाको वाञ्छनीय गुणहरूलाई धाई आमाले देखाउने गुणसित तुलना गरेका छन्।—१ थिस्सलोनिकी २:७.
आफ्ना पत्रहरूमा उल्लिखित थुप्रै मसीही बहिनीहरूप्रति उनले न्यानो सराहना व्यक्त गरेका छन्। रोम मण्डलीका सदस्यहरूलाई अभिवादन गर्दा उनले विशेषगरि “प्रभुमा परिश्रम गर्ने” केही स्त्रीहरूबारे खास उल्लेख गरेका छन्। (रोमी १६:१२) इयोदिया र सिन्तकेलाई सङ्केत गर्दै “यी स्त्रीहरूलाई मदत गर। किनकि यिनीहरूले मसँग सुसमाचारमा परिश्रम गरे” भनी फिलिप्पीका भाइहरूलाई उनले प्रोत्साहन दिए। (फिलिप्पी ४:३) जवान तिमोथीलाई लेखेको पत्रमा पावलले उनको बज्यै, लोइस र आमा, युनिसको उदाहरणीय विश्वास मानी लिए।—२ तिमोथी १:५.
त्यसको अलावा, पावलका मसीही बहिनीहरूले उनीप्रति कस्तो दृष्टिकोण राख्थे भन्ने के कुनै सङ्केत छ? उनले घनिष्ठ व्यक्तिगत सङ्गत राखेको विवाहित दम्पती, प्रिस्का र अक्वीलाबारे कृतज्ञतासाथ पुष्टि दिंदा अक्वीला मात्र नभई उनको पत्नी, प्रिस्काले “[उनको] प्राणको निम्ति तिनीहरूका आफ्ना गर्दन दिए” भनी उनले भने।—रोमी १६:३, ४.
स्त्रीप्रति पक्षपात?
“बूढ़ा मानिसलाई नहप्काऊ, तर तिनलाई बाबुलाई जस्तैगरी र आफूभन्दा कान्छाहरूलाई भाइसमान गरी सम्झाऊ। आफूभन्दा ठूली स्त्रीहरूलाई आमाझैं, र कान्छीहरूलाई चाहिं सम्पूर्ण पवित्रतासाथ बहिनी सम्झेर सम्झाऊ।” (१ तिमोथी ५:१, २) तिमोथीलाई लेखेका पावलका यी शब्दहरूले के स्त्रीजातिप्रति स्वस्थकर आदर झल्काउँदैन र? पावलले मसीही मण्डलीका पुरुष तथा स्त्रीलाई समान आदर दिए। उनले यसप्रकार लेखे: “अब यहूदी, ग्रीक, कमारा, फुक्का, नर नारी छैन, किनभने तिमीहरू सबै ख्रीष्ट येशूमा एउटै छौ।”—गलाती ३:२८.
विवाहमा परमेश्वर-निर्दिष्ट भूमिकाहरूको सम्बन्धमा पावलले लेखे: “ए पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आफ्ना आफ्ना पतिको अधीनमा बस। किनकि पत्नीका शिर पति हुन्, जस्तो ख्रीष्ट शरीरको मुक्तिदाता भई मण्डलीका शिर हुनुहुन्छ।” (एफिसी ५:२२, २३; १ कोरिन्थी ११:३ तुलना गर्नुहोस्।) हो, पति र पत्नीका भूमिकाहरू फरक फरक हुन्छन् तर ती दुईमध्ये एक निम्न कोटीको हुन्छ भन्न खोजिएको होइन। तिनीहरूले एकअर्काको पूरक भूमिका निभाउँछन् र दुवैले आफ्नो भूमिका निभाएर चुनौती सामना गरेमा परिवारको हित हुन्छ। यसको अलावा, पतिले शिरत्वको प्रयोग गर्नु दमनकारी अथवा निर्दयी हुन होइन। पावलले अझै यसप्रकार लेखे: “पतिहरूले पनि आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ” र पत्नीको लागि ठूलठूला त्यागहरू गर्न पनि इच्छुक हुनुपर्छ। (एफिसी ५:२८, २९) बच्चाहरूले आमा र बाबु दुवैको आज्ञा पालन गर्नुपर्थ्यो।—एफिसी ६:१, २.
यहाँ याद गर्नुपर्ने कुरा, वैवाहिक आत्मीयतासम्बन्धी पावलका शब्दहरू पनि हो। निष्पक्ष भएर पावलले यो लेखे: “पतिले पत्नीसँग गर्नुपर्ने व्यवहार गरोस्, औ त्यसैगरी पत्नीले पनि पतिसँग। पत्नीको आफ्नो शरीरमाथि केही अधिकार हुँदैन, तर पतिको हुन्छ, त्यसैगरी पतिको पनि आफ्नो शरीरमाथि केही अधिकार हुँदैन, तर पत्नीको हुन्छ।”—१ कोरिन्थी ७:३, ४.
“स्त्रीहरू . . . चूपचापै रहून्”
सुरुको अनुच्छेदमा उद्धरित १ तिमोथी २:१२ मा पावलका शब्दहरूको प्रसङ्गलाई विचार गर्दा के उनले स्त्रीप्रति पक्षपातलाई बढावा दिन स्त्रीहरू “चूपचापै” रहून् भनिरहेका हुन्? होइन। “चूपचापै” रहून् भनेर पावलले यहाँ मण्डलीमा सिकाउने र आध्यात्मिक अख्तियार जमाउने सन्दर्भमा भनिरहेका थिए र यो कुरा पूर्व उल्लिखित ईश्वरीय आज्ञाअनुसार स्त्री-पुरुष सम्बन्धलाई ध्यानमा राखेर भनेका थिए।a
यसको अर्थ, स्त्रीहरू ईश्वरीय सत्यका शिक्षकहरू हुन सक्दैनन् भनेको होइन। तरुणीहरूलाई “बढ़िया कुराहरूको शिक्षा दिने होऊन्” भनेर पावलले वृद्धाहरूलाई प्रोत्साहन दिएका थिए। तिमोथीलाई सिकाउन युनिस र लोइसले प्रदान गरेको उदाहरण पछ्याएर मसीही आमाहरूले आफ्ना बच्चाहरूलाई ईश्वरीय मार्गहरू सिकाउनुपर्छ। (तितस २:३-५; २ तिमोथी १:५) आज, यहोवाका साक्षीहरूका मण्डलीहरूमा लाखौं मसीही स्त्रीहरूले आध्यात्मिक तवरमा इयोदिया र सिन्तकेको भूमिका निभाइरहेका छन्। तिनीहरूले जनसमक्ष खुल्लमखुल्ला सुसमाचार प्रचार गरेर, स्त्री तथा पुरुषहरूलाई चेला बनाउने काममा भाग लिएर यसो गरिरहेका छन्।—भजनसंग्रह ६८:११; मत्ती २८:२०; फिलिप्पी ४:२, ३.
तसर्थ, तपाईं कुन निष्कर्षमा पुग्नुहुन्छ? पावलका सम्पूर्ण लेखोटहरू केलाउँदा के त्यसमा स्त्रीप्रति पक्षपातलाई समर्थन गर्ने आधारहरू छन्? (g94 7/8)
[फुटनोट]
a पहिलो तिमोथी २:११ को “बिलकुल अधीनमा” भन्ने अभिव्यक्तिको सम्बन्धमा बाइबल शास्त्रज्ञ डब्ल्यु. ई. भाइनले यसो भने: “उक्त पदले मन तथा अन्तस्करणलाई आत्म-समर्पण गर्नु अथवा व्यक्तिगत निर्णय गर्ने जिम्मेवारीलाई त्याग्नु भनेर आदेश गरेको हैन; ‘बिलकुल अधीनमा’ भन्ने पद्यांशले अख्तियारलाई हडप्नु विरूद्ध चेताउनी दिन्छ, उदाहरणको लागि, त्यसपश्चात्को पदमा उल्लिखित अख्तियार।”