युवा जनहरू सोध्छन्. . .
पैसा कमाउनुमा के गल्ती छ?
“निस्सन्देह, पैसा नै संसारमा सबैभन्दा महत्त्वपूर्ण कुरा हो।” बेलाइती नाटककार जर्ज बर्नाड शाले उक्त दावी गरे। के तपाईं तिनको कुरासित सहमत हुनुहुन्छ? शायद तपाईं १७ वर्षीया टान्याले जस्तै सोच्नु होला। तिनले यसो भनिन्: “म धनी बन्न चाहन्नँ, चाहिंदो धन भए पुग्छ।” जवान एभ्यानले पनि पैसालाई संसारको सर्वमहत्त्वपूर्ण कुरा नभएर केही क्षेत्रमा उपयोगी हुने कुरा मात्र ठान्छन्। तिनी भन्छन्: “मलाई लुगाफाटा र यातायातजस्ता कुराहरूको निम्ति पैसा चाहिन्छ।”
बाइबलले पनि यस्तै मिल्दोजुल्दो कुरा बताउँछ भनेर के तपाईंलाई थाह छ? उपदेशक ७:१२, NW “पैसाले सुरक्षा दिन्छ” भनी बताउँछ। गरिबीलाई “मानिसहरूको खुशीयाली हर्ने महादुश्मन” भनेर वर्णन गरिएको छ। गरिबीको कारणले भोग्नुपर्ने समस्याहरूबाट पैसाले केही हदसम्म बचाउनसक्छ। साथै अप्रत्याशित विपत्तिहरूको चोटबाट पनि पैसाले राहत प्रदान गर्नसक्छ। फिलीस नाउँकी युवती यसो भन्छिन्: “ ‘समय र अवसरलेनै सबैलाई अधीन गरेको हुन्छ’ भनी बाइबलले बताउँछ। कहिले कतिबेला कठिन परिस्थिति आइपर्छ भनी हामीलाई पत्तै हुँदैन। तसर्थ, पैसा बचत गर्नुपर्छ।” (उपदेशक ९:११) तपाईंलाई अहिलेदेखि नै पैसा महत्त्वपूर्ण लाग्न थालेको छ भने, भोलि आउने दिनहरूमा त झनै महत्त्वपूर्ण हुनेछ।
“भौतिकवादको ज्वारभाटा”
तर कसै कसैले प्रशस्त पैसा कमाउन सामान्य र उचित नै भन्ठाने पनि केही किशोरकिशोरीहरूका ध्याउन्नै पैसा कमाउनुमा मात्र हुन्छ। “जीवनमा कुन कुरा बढी चाहनुहुन्छ?” भनी १,६०,००० भन्दा अधिक जवानहरूलाई प्रश्न गर्दा २२ प्रतिशतले “धनी हुन चाहन्छौं” भन्ने जवाफ दिए।
पैसाको पछि दौडनुलाई न्युजवीक-ले “भौतिकवादको ज्वारभाटा” भन्छ। यो संसारभरि नै व्याप्त छ। “म भौतिकवादी हुँ र म नाउँ चलेको डिजाइनरहरूको सामानहरू मात्र किन्छु,” १८ वर्षीय मार्टिन भन्छन्। “मलाई लाग्छ, जस्तो मोल तिऱ्यो उस्तै सामान पाइन्छ। अतः, मैले चाहेका कुराहरू प्राप्त गर्न थुप्रै खर्च गरेको छु।” यसरी ‘थुप्रै खर्च गर्ने’ मार्टिनजस्तो अनगन्ती जवानहरू छन्। यु.एस.न्युज एण्ड वर्ल्ड रिपोर्ट-ले यसो भन्यो: “गत वर्ष १२ देखि १९ वर्षकाहरूले [संयुक्त राज्यमा] किनमेल गर्नमा सर्वाधिक खर्च अर्थात् जम्माजम्मी १.०९ खरब अमेरिकी डलर खर्च गरे। यो खर्च १९९० देखि यता भएको ३८ प्रतिशत वृद्धि हो।”
तर नयाँ लुगाफाटा, कम्प्याक्ट डिस्क र कम्प्युटरजस्ता यन्त्रहरू किन्न यी जवानहरूले कहाँबाट पैसा पाउँछन्? यु.एस.न्युज एण्ड वर्ल्ड रिपोर्ट-अनुसार: “१६ देखि १९ वर्षकाहरूमध्ये आधाभन्दा बढीसँग आंशिक जागिर छ।” स्कूल कार्य र जागिरबीच सन्तुलन राख्न सके फाइदाजनक हुनसक्छ। त्यसले जवानहरूलाई जिम्मेवारीको आभास दिन्छ। तथापि, कुनै कुनै जवानहरू त्यसैको पछि पूर्णरूपले लागिपर्छन्। न्युजवीक-को अवलोकनअनुसार: “मनोवैज्ञानिकहरू र शिक्षकहरूले [जागिरे] विद्यार्थीहरू तनाउपूर्ण भएको महसुस गर्छन्। तिनीहरूसँग गृहकार्य गर्ने समय थोरै मात्र हुन्छ। थकित भएर पनि आफ्नो पढाइमा सजग रहने विद्यार्थीहरू शिक्षकहरूले देखेका छन्। तर तिनीहरूको पढाइ नराम्रोसँग बिग्रँदै गएको छ।”
यद्यपि, प्रायजसो जागिर खाने यस्ता जवानहरू पैसा आउने बाटोलाई लत्याउने पक्षमा छैनन्। जवान भेनीसा भन्छिन्, “पढाइ चाहिन्छ, तर पैसा पनि त उत्तिकै महत्त्वपूर्ण छ नि। गृहकार्य गर्दा पैसा आउने होइन क्यारे।” पैसा कमाउने कुरा तपाईंलाई कत्तिको महत्त्वपूर्ण लाग्छ? प्रशस्त पैसा कमाउनु तपाईंको जीवनको मुख्य उद्देश्य नै भएको छ कि?
“धनी हुने इच्छा”
बाइबलले उक्त प्रश्नहरूको जवाफ दिन्छ। प्रेरित पावलले यसो लेखे: “तर धनी हुने इच्छा गर्ने चाहिं, सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्। किनभने रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो, जसको पछि लाग्ने कुनै कुनै विश्वासबाट कुमार्गमा तर्केका हुन्छन्, र धेरै दुःखले तिनीहरूका हृदय छेंड़ेका हुन्छन्।”—१ तिमोथी ६:९, १०.
निश्चय पनि पावलले उक्त कुराको मर्म बुझेका थिए। मसीही हुनुअघि तिनी “फरिसी” कहलाइएका धर्मगुरु थिए। फरिसीहरू “धनप्रिय थिए” भनी बाइबल बताउँछ। (लूका १६:१४) तर पावलले पैसा कमाउँदै नकमाउनू भनेनन्। बरु, तिनले त ‘धनी हुने इच्छा गर्नेलाई’ पो चेताउनी दिए। अर्को एउटा अनुवादले यसलाई “धनी हुन तल्लीन” भनेको छ। (फिलिप्स) तर पैसा कमाउनुमा के हानि छ र?
पावलले बताए कि पैसा कमाउनमै मरिमेट्नेहरू ‘परीक्षा र पासोमा फस्तछन्।’ हितोपदेश २८:२० ले पनि यससँग मिल्दोजुल्दो कुरा गर्छ। त्यहाँ यसो भनिएको छ: “धीर चाल चलन भएको मानिसले धेरै आशिष् पाउनेछ, तर छिट्टै धनी हुन खोज्नेले दण्ड पाउनेछ।।” आफूसँग पर्याप्त पैसा छैन भन्ने भावनामा रुमलिएर केही किशोरकिशोरीहरू त लामो हात गर्नसमेत पछि पर्दैनन्।
हो, धेरै जवानहरू चोर्ने कल्पनासमेत पनि गर्दैनन् होला, तर कोही कोही चोर्नु जत्तिकै खतराजनक कुराहरूमा फस्न सक्छन्। क्रिश्चियानिटी टुडे बताउँछ: “अत्यधिक जुवा खेल्नु किशोरकिशोरीहरूको सबैभन्दा प्रमुख दुर्व्यसन हुँदै गइरहेछ भन्ने कुरा केही विशेषज्ञहरू स्वीकार्छन्।” संयुक्त राज्यको एक ठाउँमा “९० प्रतिशत किशोरकिशोरीहरूले उच्च माध्यमिक विद्यालय पुगुञ्जेल अवैध रूपमा चिठ्ठा किनिसकेका हुन्छन्।” केही जवानहरूले त झनै गम्भीर कुराहरूमा पाइला हालेका छन्। “चित्तबुझ्दो जागिर पाउन एकदमै गाह्रो छ,” १६ वर्षीय म्याथ्यु भन्छन्। “त्यसैले बेचबिखन गरेर नै म पैसा कमाउँछु। . . . कहिलेकाहीं [लागू पदार्थ] बेच्ने गर्थें।”
‘विनाशमा डुब्नु’
पैसाले केही स्वतन्त्रता त अवश्य दिन्छ। तर पावलले बताएझैं पैसाकै पछि लाग्नेहरू चाहिं ‘सर्वनाश र विनाशमा डुबेर धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्।’ हो, पैसाको प्रेमले तपाईंको हृदयमा एकपल्ट जरा गाडेपछि तपाईंमा लालच, घातक ईर्ष्याका साथै अन्य हानिकारक अभिलाषाहरू प्रबल हुनसक्छन्। (कलस्सी ३:५ तुलना गर्नुहोस्।) टीन पत्रिकाको एउटा लेखले के भन्छ भने, अरूको कार र वेशभूषा देखेर केही किशोरकिशोरीहरू ईर्ष्याले भुतुक्क हुन्छन् जसले गर्दा “तिनीहरूको मन भतभत पोल्छ।” उक्त लेख अझै यसो भन्छ, यस्तो ईर्ष्याले कहिलेकाहीं “आत्मपीडनको स्थितिसम्म पुऱ्याउँछ र आफूमा जे अभाव छ त्यसकै कल्पनामा डुब्नु सिवाय किशोरकिशोरीहरूले अरू केही गर्नसक्दैनन्।”
त्यसकारण, धनी हुने इच्छाले ‘परीक्षामा फसाउने’ मात्र होइन तर ‘सर्वनाश र विनाशमा डुबाउँछ’ भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ। बाइबल टिप्पणीकार अलबर्ट बार्न्सले यस्तो अवलोकन गर्छन्: “त्यो विनाश, सम्पूर्ण जहाज डुबेसरह हुनेछ। त्यसबाट कोही पनि बच्न पाउने छैन। खुशीयाली, सद्गुण, मानमर्यादा र व्यक्ति स्वयंको सर्वनाश हुन्छ।”—१ तिमोथी १:१९ तुलना गर्नुहोस्।
तसर्थ, पावलले “रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो” भन्नु एकदमै उपयुक्त हो। यसैको फलस्वरूप, धेरै जना ‘विश्वासबाट कुमार्गमा तर्केका छन्, र धेरै दुःखले तिनीहरूका हृदय छेंडेका छन्।’ उदाहरणका लागि, रोरी नाउँको केटोलाई कल्पना गर्नुहोस्। तिनले १२ वर्षकै उमेरमा जुवा खेल्न थाले। “जुवा खेल्दा परिश्रमै नगरी धन कमाउन सकिन्छ,” तिनी विगतलाई सम्झंदै बताउँछन्। समयको छोटो अन्तरालमै तिनी सयौं डलरको ऋणमा चुर्लुम्म डुबे र साथीभाइ, परिवार अनि पढाइलाई हेलचेक्य्राइँ गर्न थाले। “मैले त्यसलाई त्याग्ने कोसिस त गरेकै हो,” तिनी स्वीकार्छन्। तर त्याग्न भने सकेनन्। तिनले १९ वर्ष पुगेपछि मदत मागे तर त्यतिञ्जेल ‘धेरै दुःखले तिनको हृदय छेंडिसकेको थियो।’ त्यसैले, आफ्नो पुस्तक चेसिङ मेम्मोन-मा डग्लस केनेडीले पैसाको पछि लाग्नुलाई “पीडादायक अनुभव” भन्नुमा कुनै अत्युक्ति छैन।
सन्तुलन राख्ने
शताब्दीयौंअघि सुलेमानले दिएको अर्ती अहिले पनि सान्दर्भिक छ: “धन-सम्पत्ति कमाउनको निम्ति कमाराजस्तै नघोटी, विवेकी मानिस बन्, र त्यो गर्न छोड़िदे। तैंले यताउता हेर्न अघिनै त्यो गइहालेछ, चील आकाशतिर उड़ेझैं त्यसको पखेटा लाग्छ।” (हितोपदेश २३:४, ५) धनसम्पत्ति सधैंभरि रहँदैन। तसर्थ धनसम्पत्ति थुर्पानुलाई नै जीवनको प्रमुख लक्ष्य बनाउनु बुद्धिमानी होइन। मोरिन नाउँकी मसीही युवती भन्छिन्, “म भौतिक लक्ष्यहरूको दलदलमा मात्र मुछिरहन चाहन्नँ। पैसा कमाउनमा मात्र तल्लीन भएँ भने, म आध्यात्मिकतामा खोक्रो हुनेछु भनेर मलाई थाह छ।”
हो, पैसा चाहिन्छ। पर्याप्त आय भए आफ्ना आवश्यकताहरू पूरा गर्नुका साथै खाँचो परेको बेला अरूलाई मदत पनि गर्न सकिन्छ। (एफिसी ४:२८) इमानदारीसाथ पैसा कमाउनको निम्ति मेहनतको पसिना बगाउन सिक्नुहोस्। साथै, पैसा बचत गर्न र किफायतीसाथ चलाउन सिक्नुहोस्। तर पैसालाई नै जीवनको प्रमुख कुरा कहिल्यै नबनाउनुहोस्। हितोपदेश ३०:८ को लेखकले व्यक्त गरेझैं सन्तुलित विचार राख्ने प्रयत्न गर्नुहोस्। तिनले यसरी प्रार्थना गरे: “मलाई नता दरिद्र बनाउनुहोस्, न मलाई धन दिनुहोस्।” आध्यात्मिक कुरालाई प्राथमिकता दिएर तपाईंले सबैभन्दा उत्तम धन कमाउन सक्नुहुन्छ। किनभने हितोपदेश १०:२२ यसो भन्छ, “परमप्रभुको आशिष्ले धन-सम्पत्ति ल्याउँछ, उहाँले तीसित दुःख पठाउनुहुन्न।”
[पृष्ठ १३-मा भएको चित्र]
धेरै किशोरकिशोरीहरूलाई आफ्ना साथीहरूसँग जे जे छ, त्यही प्राप्त गर्न पैसा चाहिन्छ