महिलाहरूको भविष्य कस्तो छ?
“मानव इतिहास हेर्ने हो भने लोग्ने मानिसहरूले स्वास्नी मानिसहरूलाई दबाउने र सताउनेबाहेक अरू केही गरेका छैनन्।” महिलाप्रति गरिएको अन्यायको विरोध गर्दै अमेरिकामा १५० वर्षअघि न्यु योर्क सेनेका फल्समा प्रकाशित गरिएको भावनाहरूको घोषणापत्रमा सो लेखिएको थियो।
त्यतिबेलादेखि यसो उन्नतिहरू अवश्य भएका छन् तर संयुक्त राष्ट्रको प्रकाशन विश्वका महिलाहरू १९९५ मा भनेझैं गर्नुपर्ने अझ धेरै बाँकी छ। यसको रिपोर्टअनुसार “अक्सर पुरुष तथा महिलाहरूको आ-आफ्नै संसार छ र महिलाहरूले शिक्षा, जागिर पाउने अवसर, स्वास्थ्य, व्यक्तिगत सुरक्षा तथा फुर्सतको समय इत्यादि सन्दर्भमा पुरुषहरूले जस्तै सुविधाहरू पाउँदैनन्।”
यी कुराहरूबारे सचेत हुँदै जाँदा थुप्रै राष्ट्रहरूले महिलाहरूको अधिकार सुरक्षित राख्न नियमकानुनहरू पारित गरेका छन्। तर ती नियमकानुनहरूले अन्याय र पूर्वाग्रहको जरा गाडेको हृदयलाई बदल्नसक्दैनन्। उदाहरणका लागि, केटी वेश्याहरूको हालत विचार गर्नुहोस्। न्युजवीक-ले यस अन्तरराष्ट्रिय बेइज्जतीबारे यसो भन्छ: “बाल यौन शोषण रोक्ने हेतुले बनाइएका नियमकानुनहरू राम्रा छन् तर ती अक्सर निष्क्रिय हुन्छन्।” त्यसरी नै, नियम हुँदैमा हिंसा रोकिंदैन। “महिलाहरूप्रति गरिने हिंसा विश्वव्यापी समस्या हो भनी प्रमाणहरूले देखाउँछ,” भनी मानव विकास रिपोर्ट १९९५ उल्लेख गर्छ। “अधिकांश नियमहरू त्यस्ता हिंसाहरू रोक्न अपर्याप्त छन् र यो अवस्था वर्तमान सांस्कृतिक र सामाजिक मूल्य मान्यताहरू रहेसम्म परिवर्तन हुँदैनन्।”—तेर्सो अक्षर हाम्रो।
“सांस्कृतिक र सामाजिक मूल्य मान्यता” अक्सर बलियो गरी जरा गाडेको परम्परामा आधारित हुन्छ र यसमा परिवर्तन ल्याउनु कुनै चानचुने कुरा होइन। “परम्पराले गर्दा पुरुषहरूले महिलाहरूलाई माया गर्नुको साटो हेप्नुपर्छ र हेरविचार गर्नुको साटो उपभोग गर्नुपर्छ भन्ने विचार राख्छन्,” भनी मध्यपूर्वकी एउटी महिला भन्छिन्। “फलस्वरूप महिलाहरूले कुनै आवाजै उठाउनसक्दैनन्, कुनै अधिकार र आफ्नो जीवनस्तर उकास्ने मौका पाउँदै पाउँदैनन् भने पनि हुन्छ।”
पति तथा पिताहरूलाई शिक्षित बनाउने
सन् १९९५ मा चीनको बेजिंगमा सम्पन्न महिलासम्बन्धी विश्व सम्मेलनमा कार्यनीतिको घोषणापत्रमा “सबैको सहमतिले ठोस कदम चालेको खण्डमा मात्र” महिलाहरूले पनि समान आदर पाउने “शान्तिपूर्ण, निष्पक्ष र दयालु संसार” सृजन सकिन्छ भनी बतायो।
महिलाको जीवन ‘शान्तिपूर्ण, निष्पक्ष र दयालु’ बनाउने हो भने त्यो घरबाटै पति तथा पिताहरूले सुरु गर्नुपर्छ। यस सन्दर्भमा बाइबल शिक्षाद्वारा सफलता पाउन सकिन्छ भनी यहोवाका साक्षीहरू विश्वस्त छन्। पत्नी तथा छोरीहरूको आदर तथा ख्याल राखेको परमेश्वर चाहनुहुन्छ भनेर थाह पाएपछि पुरुषहरूले त्यसलाई हृदयंगम गरेर त्यहीअनुसार चलेको यहोवाका साक्षीहरूले देखेका छन्।
मध्य अफ्रिकामा पेद्रो नाउँ गरेका विवाहित पुरुषका चार छोराछोरी छन्। तिनी अहिले आफ्नी पत्नीका आवश्यकताहरूको ख्याल राख्छन्। बच्चाहरूको देखभाल गर्न अनि घरमा पाहुनाहरू आउँदा खाना पस्किनसमेत पत्नीलाई मदत गर्छन्। तिनको देशमा त्यस्तो मनोवृत्ति अत्यन्तै असामान्य कुरा हो। कुन कुराले गर्दा तिनी आफ्नी पत्नीको मूल्यांकन गर्छन् र तिनलाई सहयोग गर्छन्?
पेद्रो भन्छन्: “बाइबल अध्ययन गर्न थालेपछि मैले पतिको भूमिकाको सन्दर्भमा दुई महत्त्वपूर्ण सिद्धान्तहरू सिकें। मेरो पत्नीप्रतिको दृष्टिकोणमा यसले ठूलो छाप पाऱ्यो। पहिलो हो, “निर्बल पात्रलाई जस्तो” आफ्नी पत्नीलाई पतिले आदर गर्नुपर्छ जसबारे १ पत्रुस ३:७ मा बताएको छ। दोस्रो, पतिले आफ्नी पत्नीलाई “आफ्नै शरीरलाई झैं” व्यवहार गर्नुपर्छ भनी एफिसी ५:२८, २९ मा भनिएको छ। मैले ती सल्लाहहरू पालन गर्न थालेदेखि हाम्रो सम्बन्ध झन् आत्मीय हुन थालेको छ। अतः हामी पुरुषहरूले स्थानीय परम्पराभन्दा परमेश्वरको सल्लाहलाई बढी महत्त्व दिनुपर्छ।”
यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्नुअघि आफ्नी पत्नीसित राम्रो व्यवहार नगरेको पश्चिम अफ्रिकाका माइकल स्वीकार्छन्। “रिस उठ्दा तिनलाई पिट्ने समेत गर्थें,” तिनी भन्छन्। “तर आफ्ना तौर-तरिकाहरूमा परिवर्तन ल्याउनुपर्छ भनेर बाइबलबाट सिकें। अहिले आफ्नो रिसलाई नियन्त्रण गर्न र श्रीमतीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्न निकै कोसिस गर्छु। अनि अहिले हामी दुवै जना पहिले भन्दा खुसी छौं।” (कलस्सी ३:९, १०, १९) तिनकी पत्नी कम्फर्ट सहमति जनाउँदै भन्छिन्: “हाम्रो समाजको अधिकांश पतिहरूले जस्तो नभई माइकलले मलाई धेरै आदर र माया गर्नुहुन्छ। समस्याहरूबारे हामी कुरा गर्छौं र दुवै मिलेर समाधान गर्न खोज्छौं।”
पेद्रो तथा माइकलले आ-आफ्ना पत्नीहरूलाई आदर र कदर गर्न सिके किनभने तिनीहरूले परमेश्वरको वचनले दिएको निर्देशन हृदयदेखि स्वीकारे जुन निर्देशनमा स्त्रीहरूप्रति अन्याय गर्दा सृष्टिकर्ता अप्रसन्न हुनुहुन्छ भनी स्पष्ट पारिएको छ।
परमेश्वरले महिलाहरूको ख्याल राख्नुहुन्छ
परमेश्वरले सधैं स्त्री तथा तिनीहरूको हितबारे ख्याल राख्नुभएको छ। उहाँले हाम्रो प्रथम आमाबाबुलाई तिनीहरूको विद्रोहको कारण असिद्धताले महिला पुरुषको ‘अधीनमा’ हुनेछन् भन्नुभएको थियो तर परमेश्वरको सुरुको उद्देश्य त्यस्तो थिएन। (उत्पत्ति ३:१६) उहाँले हव्वालाई आदमको “सहयोगी” र साथीको रूपमा सृजनुभएको थियो। (उत्पत्ति २:१८) पुरातन इस्राएललाई मोशा मार्फत दिइएको व्यवस्थामा यहोवाले विशेषगरि विधवाहरूप्रति गरिने दुर्व्यवहारको निन्दा गर्नुभयो र तिनीहरूप्रति दयापूर्वक व्यवहार तथा मदत गर्न इस्राएलीहरूलाई निर्देशन दिनुभयो।—प्रस्थान २२:२२; व्यवस्था १४:२८, २९; २४:१७-२२.
येशूले त्यतिबेला स्त्रीहरूलाई होच्याउने प्रचलित परम्परा नपछ्याई आफ्नो स्वर्गमा हुनुहुने पिताको अनुकरण गर्नुभयो। बदनाम भएका महिलाहरूसित समेत उहाँले दयालु व्यवहार गर्नुभयो। (लूका ७:४४-५०) यसबाहेक, स्वास्थ्य समस्या भएका महिलाहरूलाई मदत गर्न पनि येशू खुसी हुनुहुन्थ्यो। (लूका ८:४३-४८) एकचोटिको कुरा हो, आफ्नो एक मात्र छोराको मृत्युको कारण अलापविलाप गरिरहेकी विधवा देख्नुहुँदा उहाँले तुरुन्तै शवयात्रामा गएर त्यस मृत जवान मानिसको पुनरुत्थान गर्नुभयो।—लूका ७:११-१५.
येशूका प्रारम्भिक चेलाहरूमध्ये स्त्रीहरू पनि थिए र उहाँको पुनरुत्थान देख्ने पहिलो व्यक्तिहरू महिलाहरू नै थिए। बाइबलले लिडिया, तबीता तथा प्रिस्का जस्ता महिलाहरूलाई अतिथि-सत्कार, ममता र साहसका उदाहरणहरूको रूपमा प्रस्तुत गरेको छ। (प्रेरित ९:३६-४१; १६:१४, १५; रोमी १६:३, ४) अनि प्रथम शताब्दीका मसीहीहरूलाई महिलाहरूप्रति आदर गर्न सिकाइएको थियो। प्रेरित पावलले आफ्नो सँगी मिसनरी तिमोथीलाई “आफूभन्दा ठूली स्त्रीहरूलाई आमाझैं, र कान्छीहरूलाई चाहिं सम्पूर्ण पवित्रतासाथ बहिनी” सम्झनू भने।—१ तिमोथी ५:२.
आदर पाएका महिलाहरू
तपाईं पनि एक मसीही पुरुष हुनुहुन्छ भने महिलाहरूप्रति त्यस्तै आदर देखाउनुहुनेछ। तिनीहरूप्रति दुर्व्यवहार गर्न परम्परालाई कहिल्यै बहानाको रूपमा चलाउनुहुनेछैन। यसबाहेक, महिलाहरूलाई आदरपूर्वक व्यवहार गर्नुभयो भने तपाईंको विश्वासको झन् असल प्रमाण देखिनसक्छ। (मत्ती ५:१६) अफ्रिकाकी एक जवान महिला सलिमाले मसीही सिद्धान्तहरू व्यवहारमा उतारेको देख्दा कसरी फाइदा उठाइन्, तिनले बताइन्।
“म हुर्केको ठाउँमा स्त्री तथा बालिकालाई नराम्रो व्यवहार गरिन्थ्यो। मेरी आमा दिनमा १६ घण्टा काम गर्नुहुन्थ्यो तर त्यसको बदलामा उहाँले खाली गुनासोहरू सुन्नुपर्थ्यो। अझ खल्लो लाग्दो कुरा त, बुबाले बढ्ता रक्सी पिउनु भएपछि आमालाई पिट्नुहुन्थ्यो। हाम्रो इलाकाका अन्य स्त्रीहरूको हालत पनि त्यस्तै थियो। तर त्यस्तो व्यवहार गलत हो भनी मलाई थाह थियो र यही कारणले हाम्रो जीवन दिक्दारी तथा दुःखमा रूमल्लीरहेको थियो। तैपनि यस अवस्थालाई कुनै हालतमा पनि परिवर्तन गर्न सकिंदैन जस्तो देखिन्थ्यो।
“किशोरावस्था पुगेपछि मैले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालें। स्त्रीहरूलाई आदर गर्नुपर्छ भन्ने प्रेरित पत्रुसका शब्दहरू पढ्दा म अत्यन्तै प्रभावित भएँ। तर ‘विशेषगरि हाम्रो स्थानीय परम्परालाई विचार गर्दा मानिसहरूले हतपती यस सल्लाह मान्दैनन् होला,’ भन्ने मैले सोचेकी थिएँ।
“तथापि, साक्षीहरूका सभाहरू हुने राज्यभवनमा जाँदा त पुरुष तथा महिलाहरू सबैले मलाई दयालु व्यवहार गरे। तिनीहरू माझ भएका पतिहरूले आ-आफ्ना पत्नीहरूलाई साँच्चै ख्याल राखेको देख्दा झनै तीन छक परें। त्यहाँका मानिसहरूलाई अझ राम्रोसित चिन्दै जाँदा यो त सबै साक्षीहरूले गर्नैपर्ने रहेछ भनी बुझें। कोही कोही पुरुषहरूको पृष्ठभूमि मेरोजस्तै भए तापनि तिनीहरूले अहिले महिलाहरूप्रति आदरपूर्वक व्यवहार गरिरहेका थिए। म पनि यही ठूलो परिवारको भाग हुन चाहन्थें।”
स्थायी समाधान
सालिमाले देखेकी यस्तो आदरपूर्ण व्यवहार संयोग मात्र थिएन। यो परमेश्वरको वचनमा आधारित शिक्षण कार्यक्रमको नतिजा थियो जसले परमेश्वरले जस्तै एकअर्कालाई आदर गर्न सिकाउँछ। यसबाट अहिले र भविष्यमा परमेश्वरको राज्यले सारा पृथ्वीभरि शासन गर्न थालेपछि कस्तो हुनेछ भन्ने संकेत पाउँछौं। (दानियल २:४४; मत्ती ६:१०) यस स्वर्गीय सरकारले सबै अन्यायहरूको अन्त गर्नेछ। बाइबलले हामीलाई यस्तो आश्वासन दिन्छ: “जब तपाईंको [यहोवाको] इन्साफ पृथ्वीमा प्रकट हुन्छ; तब संसारका बासिन्दाहरूले धार्मिकता सिक्नेछन्।”—यशैया २६:९.
अहिले पनि, धार्मिक शिक्षाले लाखौं मानिसहरूको सोचाइमा परिवर्तन ल्याइरहेको छ। सबै जीवित मानवहरू परमेश्वरको राज्यको प्रजा भएपछि पनि यो शिक्षा पृथ्वीभरि चालू रहनेछ र आदमको पापको कारण पुरुषहरूले महिलाप्रति गरेको अत्याचार अन्त हुनेछ। परमेश्वरद्वारा नियुक्त राजा येशू ख्रीष्टले आफ्नो शासनमा महिलाहरूप्रति अन्याय हुन दिनुहुने छैन। ख्रीष्टको शासनबारे बयान गर्दै बाइबल यसो भन्छ: “दरिद्रहरूको पुकारा सुनेर उसले छुटकारा दिनेछ। र सहायता नभएका दुःखीहरूलाई उसले छुटकारा दिनेछ। कमजोर र दरिद्रलाई उसले टिठाउनेछ, र दरिद्रहरूको प्राण उसले बचाउनेछ। अत्याचार र थिचोमिचोबाट उसले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछ।”—भजन ७२:१२-१४.
यी लेखहरूको श्रृंखला महिलाहरूको समस्यामाथि केन्द्रित छन्। तथापि, कतिपय पुरुषहरूले पनि नराम्रो व्यवहार भोग्नु परिरहेको छ। इतिहासको पाना पल्टाएर हेर्ने हो भने शक्तिशाली तथा दुष्ट मानिसहरूले पुरुष तथा स्त्रीहरू विरुद्ध अकल्पनीय क्रूर व्यवहार गरेका छन्। अनि केही महिलाहरूले पनि त्यस्तै गरेका छन्। उदाहरणका लागि, बाइबलले निर्दोष मानिसहरूको रगत बगाउने दुष्ट स्त्रीहरू इजबेल, अतल्याह र हेरोदियासको उल्लेख गरेको छ।—१ राजा १८:४, १३; २ इतिहास २२:१०-१२; मत्ती १४:१-११.
अतः सबै मानिसजातिलाई परमेश्वरको राज्य शासन अन्तर्गत उहाँको नयाँ संसारको आवश्यकता छ। चाँडै त्यस दिनको बिहानीसँगसँगै नता पुरुष न महिलाहरू नै भेदभाव अनि नराम्रो व्यवहारको शिकार हुनेछन्। बरु, सबैले प्रत्येक दिन “खुशी मनाउनेछन्।”—भजन ३७:११.
[पृष्ठ १३-मा भएको चित्र]
मसीही पतिहरू बाइबल निर्देशनहरू पछ्याउँदै आ-आफ्ना पत्नीहरूलाई आदर तथा कदरसाथ व्यवहार गर्छन्