लुकाका अनुसार
७ जब उहाँले मानिसहरूलाई आफूले भन्नुपर्ने सबै कुरा भनेर सिद्ध्याउनुभयो, तब उहाँ कफर्नहुम पस्नुभयो। २ त्यहाँ एक जना सैनिक अफिसरको प्यारो दास सिकिस्त बिरामी भएर मर्नै आँटेको थियो।+ ३ जब ती सैनिक अफिसरले येसुको विषयमा सुने, तब तिनले यहुदीहरूका धर्मगुरुहरूलाई उहाँकहाँ पठाए र तिनीकहाँ आएर आफ्नो दासलाई बचाइदिन बिन्ती गर्न लगाए। ४ तब तिनीहरू येसुकहाँ आए र यसो भन्दै उहाँलाई बिन्तीभाउ गर्न थाले: “तिनी तपाईँको मदत पाउन लायकका छन् ५ किनकि तिनी हाम्रो जातिलाई प्रेम गर्छन् र हाम्रो लागि तिनले नै सभाघर बनाइदिएका हुन्।” ६ त्यसैले येसु तिनीहरूसित जानुभयो। तर उहाँ तिनको घरनजिकै पुग्नुहुँदा ती सैनिक अफिसरले आफ्ना साथीहरूमार्फत यस्तो खबर पठाए: “प्रभु, कष्ट नगर्नुहोस् किनकि म तपाईँलाई मेरो घरमा स्वागत गर्न लायकको छैनँ।+ ७ यसैकारण मैले आफूलाई तपाईँकहाँ आउन योग्यको ठानिनँ। बरु एक वचन बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ। ८ किनकि म आफै पनि कसैको अधीनमा बसेको मानिस हुँ अनि मेरो मुनि पनि सिपाहीहरू छन्। म एक जनालाई भन्छु, ‘जाऊ!’ र ऊ जान्छ अनि अर्कोलाई भन्छु, ‘आऊ!’ र ऊ आउँछ अनि मेरो दासलाई भन्छु, ‘यो गर!’ र उसले त्यो गर्छ।” ९ जब येसुले यो कुरा सुन्नुभयो, तब उहाँ तिनीदेखि आश्चर्यचकित हुनुभयो र आफ्नो पछिपछि आइरहेको भीडतिर फर्केर भन्नुभयो: “म तिमीहरूलाई भन्छु, मैले उसको जस्तो ठूलो विश्वास इस्राएलमा समेत पाएको छैनँ।”+ १० अनि तिनले पठाएका मानिसहरू घर फर्कँदा त्यो दास निको भइसकेको पाए।+
११ त्यसको केही समयपछि नै उहाँ नाइन नामको सहरतिर जानुभयो। उहाँका चेलाहरू र मानिसहरूको भीड पनि उहाँसँगै यात्रा गर्दै थिए। १२ जब उहाँ सहरको मूलढोका नजिक पुग्नुभयो, तब हेर, एक जना मानिसको लास लगिँदै थियो। ऊ एउटी विधवाको एक मात्र छोरा थियो।+ अनि सहरबाट आएको ठूलो भीड पनि ती विधवाको साथमा थियो। १३ तब तिनलाई देखेर प्रभु टिठाउनुभयो+ र भन्नुभयो: “नरोऊ।”+ १४ त्यसपछि नजिक गएर उहाँले अरथी छुनुभयो र त्यो बोक्नेहरू टक्क अडिए अनि उहाँले भन्नुभयो: “ए युवक, म तिमीलाई भन्छु, उठ!”+ १५ तब त्यो मरेको मानिस उठेर बस्यो र बोल्न थाल्यो अनि येसुले उसलाई उसकी आमाको जिम्मा लगाउनुभयो।+ १६ तब तिनीहरू सबै असाध्यै डराए र तिनीहरूले यसो भन्दै परमेश्वरको महिमा गर्न थाले: “हाम्रो बीचमा एक जना महान् भविष्यवक्ता खडा हुनुभएको छ”+ र “परमेश्वरले आफ्ना जनहरूतर्फ ध्यान दिनुभएको छ।”+ १७ अनि उहाँबारे यो खबर सारा यहुदिया र वरपरका सबै इलाकामा फैलियो।
१८ तब युहन्नाका चेलाहरूले यी सबै कुराको विषयमा तिनलाई खबर गरे।+ १९ त्यसैले युहन्नाले आफ्ना दुई जना चेलालाई बोलाए अनि यो सोध्न प्रभुकहाँ पठाए: “आउनेवाला तपाईँ नै हुनुहुन्छ+ कि हामी अरू कसैको बाटो हेरौँ?” २० उहाँकहाँ पुगेपछि तिनीहरूले भने: “बप्तिस्मा गराउने युहन्नाले हामीलाई यो सोध्न पठाउनुभएको छ, ‘आउनेवाला तपाईँ नै हुनुहुन्छ कि हामी अरू कसैको बाटो हेरौँ?’” २१ त्यति नै बेला उहाँले धेरै जना बिरामी, गम्भीर रोग लागेका अनि प्रेतले* सताइएकाहरूलाई निको पार्नुभयो+ र थुप्रै अन्धालाई पनि दृष्टि दिनुभयो। २२ तब उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “जाओ र तिमीहरूले जे देख्यौ अनि सुन्यौ, युहन्नालाई त्यो बताइदेओ: अन्धाहरूले देख्न थालेका छन्,+ लङ्गडाहरू हिँड्न थालेका छन्, कुष्ठरोगीहरू शुद्ध पारिएका छन्, बहिराहरूले सुन्न थालेका छन्,+ मरेकाहरू जीवित भएका छन् अनि गरिबहरूलाई सुसमाचार सुनाइँदै छ।+ २३ त्यो मानिस आनन्दित हो, जसले मेरो विषयमा कुनै शङ्का गर्दैन।”*+
२४ युहन्नाको सन्देश ल्याउने मानिसहरू गइसकेपछि उहाँले भीडलाई युहन्नाको विषयमा यसो भन्न थाल्नुभयो: “तिमीहरू के हेर्न निर्जनभूमिमा गयौ? हावाले यताउता हल्लाइरहेको नर्कट हेर्न?+ २५ त्यसोभए के हेर्न गयौ त? मिहिन कपडाको लुगा लगाएको मानिसलाई हेर्न?+ त्यस्तो दामी लुगा लगाउने अनि विलासी जीवन बिताउनेहरू त महलमा हुन्छन्। २६ तिमीहरू के हेर्न गयौ, लौ साँच्चै भन त। भविष्यवक्तालाई हेर्न? हो, म तिमीहरूलाई भन्छु, भविष्यवक्ताभन्दा पनि महान् व्यक्तिलाई+ हेर्न। २७ तिनी उनै हुन्, जसको विषयमा यस्तो लेखिएको छ: ‘हेर, म मेरो दूतलाई तिम्रो अघिअघि पठाउँदै छु र तिनले तिम्रो बाटो तयार पार्नेछन्!’+ २८ म तिमीहरूलाई भन्छु, युहन्नाभन्दा ठूलो अहिलेसम्म कोही जन्मेको छैन। तैपनि परमेश्वरको राज्यमा जो सबैभन्दा सानो छ, त्यो तिनीभन्दा ठूलो हो।”+ २९ (जब सबै मानिसले र कर उठाउनेहरूले यो कुरा सुने, तब तिनीहरूले परमेश्वर न्यायी हुनुहुन्छ भनी स्विकारे किनकि युहन्नाबाट तिनीहरूको बप्तिस्मा भएको थियो।+ ३० तर तिनीबाट बप्तिस्मा नभएका फरिसीहरू र व्यवस्थामा पोख्त मानिसहरूले भने परमेश्वरले तिनीहरूलाई दिनुभएको सल्लाह* बेवास्ता गरे।)+
३१ “यस पुस्ताका मानिसहरूलाई म कोसित तुलना गरूँ अनि तिनीहरू कोजस्ता छन्?+ ३२ तिनीहरू त बजारमा बस्ने ती साना केटाकेटीजस्तै छन्, जो एकअर्कासित यसो भन्दै कराउँछन्: ‘हामीले तिमीहरूको लागि बाँसुरी बजायौँ तर तिमीहरू नाचेनौ; हामीले शोकगीत गायौँ तर तिमीहरू रोएनौ।’ ३३ त्यसैगरि बप्तिस्मा गराउने युहन्ना अरूले जस्तो न खान्छन् न पिउँछन्+ तैपनि तिमीहरू यसो भन्छौ: ‘उसमा प्रेत बास गरेको छ।’ ३४ मानिसको छोराचाहिँ अरूले जस्तै खान्छ र पिउँछ तैपनि तिमीहरू यसो भन्छौ: ‘हेर, घिचुवा र पियक्कड मानिस! कर उठाउने र पापीहरूको साथी!’+ ३५ तर मानिसले गर्ने असल कामैले ऊ बुद्धिमान् हो भनेर प्रमाणित गर्छ।”+
३६ तब एक जना फरिसीले उहाँलाई आफूसित भोजन गर्न निकै पटक आग्रह गरे। त्यसैले उहाँ ती फरिसीको घरमा खान बस्नुभयो। ३७ अनि हेर, पापीनी भनेर सहरभरि चिनिएकी एउटी स्त्रीले उहाँ ती फरिसीको घरमा खान बस्नुभएको छ भनेर थाह पाई र अलाबास्टरको* भाँडोमा सुगन्धित तेल लिएर आई।+ ३८ ऊ उहाँको पछाडि पाउनजिकै उभिई अनि रुँदै उहाँको पाउ आँसुले भिजाउन र आफ्नो कपालले पुछ्न थाली। साथै उसले उहाँको पाउमा चुम्बन गरी र सुगन्धित तेल घसी। ३९ यो देखेर उहाँलाई निम्तो दिने फरिसीले मनमनै यसो भने: “यदि यी मानिस साँच्चै भविष्यवक्ता हुँदा हुन् त यिनलाई छुने यो स्त्री को हो र कस्तो खालकी हो भनेर यिनलाई थाह हुने थियो किनकि यो त पापीनी हो।”+ ४० तर येसुले तिनलाई भन्नुभयो: “सिमोन, म तिमीलाई केही भन्न चाहन्छु।” तिनले भने: “गुरुज्यू, भन्नुहोस्!”
४१ “कुनै एक जना साहुका दुई ऋणी थिए; एक जनालाई ५०० दिनार* र अर्कोलाई ५० दिनार ऋण लागेको थियो। ४२ ऋण चुक्ता गर्न तिनीहरूसित केही नहुँदा तिनले ती दुवैलाई खुला मनले माफी दिए। अब भन त, ती दुईमध्ये कुनचाहिँले त्यो साहुलाई बढी प्रेम गर्नेछ?” ४३ सिमोनले जवाफ दिए: “मेरो विचारमा जसलाई तिनले बढ्ता माफी दिए, उसैले।” उहाँले तिनलाई भन्नुभयो: “तिमीले ठीक भन्यौ।” ४४ त्यसपछि उहाँ त्यस स्त्रीतिर फर्कनुभयो र सिमोनलाई भन्नुभयो: “के तिमी यस स्त्रीलाई देख्दै छौ? म तिम्रो घरभित्र पसेँ तर तिमीले मेरो खुट्टा धुनलाई पानी दिएनौ। तर यस स्त्रीले भने आफ्नो आँसुले मेरो खुट्टा भिजाएर आफ्नो कपालले पुछी। ४५ तिमीले मलाई चुम्बन गरेनौ तर यस स्त्रीले भने म भित्र पसेदेखि नै मेरो खुट्टामा चुम्बन गर्न छोडेकी छैन। ४६ तिमीले मेरो टाउकोमा तेल घसेनौ तर यस स्त्रीले मेरो खुट्टामा सुगन्धित तेल घसी। ४७ म तिमीलाई भन्छु, उसका पापहरू धेरै* भए तापनि ती क्षमा भएका छन्+ किनकि उसले धेरै प्रेम गरी। तर जसलाई थोरै क्षमा दिइन्छ, उसले थोरै नै प्रेम गर्छ।” ४८ तब उहाँले त्यस स्त्रीलाई भन्नुभयो: “तिम्रा पापहरू क्षमा भएका छन्।”+ ४९ यो सुनेर उहाँसित खान बसेकाहरूले मनमनै यस्तो सोच्न थाले: “पापहरूसमेत क्षमा गर्ने यो मानिस को हो?”+ ५० तर उहाँले त्यस स्त्रीलाई भन्नुभयो: “तिम्रो विश्वासले तिमीलाई बचाएको छ;+ ढुक्क भएर जाऊ।”