पत्थरदेखि बहुमूल्य रत्नसम्म
बेल्जियमका ब्यूँझनुहोस्! संवाददाताबाट
आफ्नो असामान्य सुन्दरताले गर्दा यो युगौंदेखि सबैको प्रिय रत्न हुनपुगेको छ। यसको कडापनले गर्दा यो प्रकृतिको सबैभन्दा कडा वस्तु भनेर चिनिन्छ। औजार तथा मेसिनरी सामानहरूमा पनि यसको व्यापक प्रयोग भएको पाइन्छ। यो अद्भुत पत्थर अरू केही नभई हीरा हो।
कुनै कुनै नाम चलेका हीराहरूबारे गजब गजबका कथाहरू पाइन्छन्। “प्रकाशको पहाड” अर्थ भएको कोहीनुर नामको हीरा भारतमा सात सय वर्षअघि फेला परेको थियो। सुरुमा १९१ क्यारेट तौल भएको यो डल्लो पत्थर काँटछाँट गरिसकेपछि १०९ क्यारेट तौलको मात्र हुनपुग्यो।a त्यस्तैगरि, अहिलेसम्म भेट्टाएर परिष्कृत गरिएका हीराहरूमध्ये सबैभन्दा ठूलो हीरा बेलाइती मुकुटमा राखिएको जुहारतहरू मध्येकै एक कलनन् हो।
ढुंगादेखि रत्नसम्म
हीरा सुरुमै बहुमूल्य रत्न हुँदैन। प्रायः जमिन खनेर निकाल्नुपर्छ। लगभग २५० टन माटो खनिसकेपछि मात्र एक क्यारेट शुद्ध हीरा प्राप्त गर्नसकिन्छ। वर्षेनी खानीबाट निकालिने चार/पाँच करोड क्यारेटको केही भाग मात्र जुहारत बनाउन उपयुक्त हुन्छ।
आकार, शुद्धता, रंग र बनोटका आधारमा अपरिष्कृत हीराहरूको क्रम मिलाइन्छ। प्रायः हरेक अपरिष्कृत हीरामा अशुद्धिहरू हुन्छन्। तर कहिलेकाहीं हीराको केही भाग शुद्ध हुनसक्छ अर्थात् अलिअलि मात्र खोट हुन वा हुँदै नहुन पनि सक्छ। यस्तो भएको खण्डमा ती शुद्ध भागहरू छोडेर अन्य अशुद्ध भागहरू काँटछाँट गरिन्छ। कुनै ठूलो र बहुमूल्य पत्थरहरू भेट्टाउँदा शिल्पकारहरू त्यसलाई काँटछाँट गर्नअघि त्यसको अध्ययन गर्न महिनौं लगाउँछन्। काट्दा हुनसक्ने सानो गल्तीले मात्र पनि त्यस हीरालाई मूल्यहीन वा कामै नलाग्ने बनाइदिनसक्छ भन्ने थाह पाउनुभयो भने तिनीहरू त्यसो किन गर्छन् भन्ने बुझ्न गाह्रो पर्दैन।
अन्ततः, हीरा पालिस गर्दा यसका मोहडाहरू देखिन थाल्छन् जुन त्यसको बनोटसित मेल खाने हुनुपर्छ। यी मोहडाहरूकै कारण उक्त रत्नले चम्किलो प्रकाश परावर्तन गर्नसक्छ। यसैको आधारमा हीरा लोकप्रिय भएको हो।
अर्कोपल्ट हीराको चमक र सौन्दर्य देखेर तपाईं मोहित हुनुभयो भने खानीका कामदारहरूको कडा परिश्रम अनि शिल्पकारको सूक्ष्मदर्शयिता र सीपलाई पनि नबिर्सनुहोस्। तिनीहरूको मदतबिना अपरिष्कृत पत्थरहरू सुन्दर जुहारतमा कहिल्यै परिवर्तन हुनसक्ने थिएनन्।
[फुटनोट]
a एक क्यारेट बराबर एक ग्रामको पाँच भागको एक भाग हुन्छ।