अध्याय ५
के बाइबल परमेश्वर बाट आएको हो?
१. परमेश्वरले आफ्नो वारेमा हामीहरूलाई सूचना दिनु हुनेछ भनेर विश्वास गर्नु किन तर्कसङ्गत हो?
के यहोवा परमेश्वरले आफू वारे हामीहरूलाई सूचना दिनु भएको छ? उहाँले के गर्नु भएको छ र के गर्ने उहाँको उद्देश्य छ भनेर के हामीहरूलाई भन्नु भएको छ? एउटा पिताले आफ्नो माया गर्ने छोरा-छोरीलाई धेरै कुराहरू भन्दछ। र हामीहरूले जे जति जानेका र सुनेका छौं त्यसबाट यहोवा वास्तवमा एउटा मायालु पिता हुनुहुन्छ भनेर हामीहरू भन्न सक्छौं।
२. (क) यहोवाले आफूवारे हामीहरूलाई बताउने एउटा राम्रो तरीका कुन हो? (ख) यसले के गर्दा प्रश्नहरू उठदछ?
२ पृथ्वीका विभिन्न भागहरूमा र विभिन्न समयावधिहरूमा भएका मानिसहरूलाई यहोवाले कसरी सूचना दिन सक्नु भयो होला? त्यसकालागि एउटा उत्तम तरीका, एउटा पुस्तक लेखाउन लगाएर सो पुस्तक सबैलाई उपलब्ध गराउन सक्नु हुन्थियो। के बाइबल परमेश्वरबाट आएको त्यस्तो पुस्तक हो? यदि हो भने हामीहरूले कसरी थाह पाउने?
बाइबल जस्तो अरू कुनै पुस्तक छैन
३. बाइबलको एउटा विशिष्टता के हो?
३ यदि बाइबल वास्तवमा परमेश्वरबाट आएको हो भने, यो पुस्तक आजसम्म लेखिएका सबै पुस्तकहरू भन्दा सर्वश्रेष्ठ हुनु पर्छ। तर सर्वश्रेष्ठ छ र? छ, र यसको प्रमाणमा धेरै कारणहरू दिनसकिन्छ। एउटा ता, यो अति पुरानो छ; किनभने मानवजातिका लागि लेखिएको परमेश्वरको वचन केही वर्ष अघि मात्र लेखिएको पुस्तक हुन सक्दैन। बाइबल लेख्ने काम, हिब्रू भाषामा लगभग ३,५०० वर्ष अघि शुरू भएको थियो। अनि, २,२०० वर्ष भन्दा बढ़ी समय अघि देखिन्, यसको अरू भाषाहरूमा अनुवाद गरिन थालियो। आज पृथ्वीको प्राय प्रत्यक व्यक्तिले आफ्नो भाषामा बाइबल पढ़न सक्दछ।
४. अहिले सम्म उत्पादन गरिएका बाइबलका प्रतिहरूको संख्याको तुलना अन्य पुस्तकहरू सँग गरेर हेर्दा, के पाइन्छ?
४ यसको अतिरिक्त, अरू कुनै पनि पुस्तक, बाइबलको जति संख्यामा प्रकाशित भएको छैन। एउटा पुस्तकको केही हजार प्रति छापियो भने सो पुस्तक “सब भन्दा बढ़ता बिकने” पुस्तक कहलाइन्छ। तर प्रत्यक वर्ष बाइबलको लाखौं प्रति छापिन्छ। र बितेका शताब्दीहरूमा, अरबौं प्रतिहरू छापि सकिएका छन्! तपाईंले बाइबल पृथ्वीको कुनै पनि अनकन्टार ठाउँमा पाउन सक्नु हुन्छ। र भनौं भने, परमेश्वर बाट आएको पुस्तक यस्तै हुनु पर्ने, होइन र?
५. बाइबललाई नष्ट गर्ने कुन-कुन प्रयत्नहरू गरिए?
५ बाइबलका शत्रुहरूले यसलाई नष्ट गर्ने प्रयत्न गर्दा गर्दै पनि बाइबलको यति विस्तृत वितरण हुन सक्नु, साँच्चै नै एउटा महान कुरा हो। तर परमेश्वर बाट आएको पुस्तक माथि दियावलका प्रतिनिधिहरू बाट आक्रमण आइ लाग्नु कुनै अस्वभाविक कुरा होइन। एकताका ता बाइबललाई जलाउने काम सामान्य कुरा थियो, र बाइबल पढ़दा समातिनेहरूलाई अक्सर प्राणदण्ड दिइन्थियो।
६. (क) कुन महत्वपूर्ण प्रश्नहरूको उत्तर बाइबलले दिन्छ? (ख) बाइबलका लेखकहरूले कहाँबाट सूचना पाएको दावा गर्दछन्?
६ परमेश्वर बाट आउने पुस्तकमा हामीहरूले जान्न चाहेका सबै महत्वपूर्ण कुराहरूको छलफल गरिएको हुनुपर्दछ। ‘जीवन कहाँ बाट आयो?’ ‘हामीहरू यहाँ किन छौं?’ ‘हाम्रो भविष्य के हो?’ यस्ता केही प्रश्नहरूका जवाफ यसमा पाइन्छ। यसमा भएका सूचनाहरू यहोवा बाट आएको हो भनेर यसमा स्पष्टगरी भनिएको पाउँछौं। बाइबलका एउटा लेखकले यसो भनेका छन्: “यहोवाको आत्मा म द्वारा बोल्नु भएको छ, र उहाँको वचन मेरो मुखमा छ।” (२ शमूएल २३:२) अर्कोले लेख्नु भएको छ: “सम्पूर्ण धर्मशास्त्र परमेश्वरबाट प्रेरणा भएको हो।” (२ तिमोथी ३:१६, न्यू.व.) यो परमेश्वरको वचन हो भनेर बाइबलले दृढ़ता साथ भनेको हुनाले, यो वास्तवमा हो कि होइन भनेर यसलाई जाँच गर्नु बुद्धिमत्ताको कुरा हुनेछ, होइन र?
बाइबल कसरी लेखिएको थियो
७. (क) बाइबल कसले लेखेको हो? (ख) अनि यो परमेश्वरको वचन हो भनेर कसरी भन्न सकिन्छ?
७ ‘मानिसहरू द्वारा लेखिएको यो बाइबल परमेश्वरको वचन कसरी हुन सक्छ?’ भनेर तपाईं सोधन सक्नु हुन्छ। यो सत्य हो कि बाइबल लेख्नमा ४० मानिसहरूले भाग लिएका थिए। परमेश्वर स्वयंले आफ्नो पवित्र आत्माको प्रत्यक्ष क्रियाशीलता द्वारा ढुङ्गाको शिलाहरूमा लेख्नु भएको दश आज्ञाहरूका अतिरिक्त, बाइबलका बाँकी सबैनै भागहरू ती ४० मानिसहरू द्वारा लेखिएको थियो। (प्रस्थान ३१:१८) तथापि, मानिसहरूले लेखेको हो भन्दैमा, परमेश्वरको वचनको महत्व कम हुँदैन। बाइबलले व्याख्या गरेको छ: “पवित्र आत्माबाट उत्तेजित भएर मानिसहरूले परमेश्वरका तर्फबाट बोल्दथिए।” (२ पत्रुस १:२१) हो, जसरी परमेश्वरले स्वर्ग, पृथ्वी र सारा जीवित वस्तुहरूको सृष्टिगर्न आफ्नो शक्तिशाली पवित्र आत्माको प्रयोग गर्नु भयो, त्यसरीनै त्यसको प्रयोग बाइबल लेख्ने निर्देशन दिनु हुँदा पनि गर्नु भयो।
८, ९. परमेश्वरले बाइबल कसरी लेखाउनु भयो भनेर बुझ्न कुन उदाहरणहरूले आज हामीहरूलाई मदद दिन्छ?
८ यसको अर्थ, यहोवा परमेश्वर बाइबलको एक मात्र लेखक हुनुहुन्छ। एउटा व्यवसायीले पत्र लेख्ने काममा सेक्रेटरीलाई प्रयोग गरे जस्तै, उहाँले आफ्नो कुरा लेख्न मानिसहरूको प्रयोग गर्नु भयो। पत्र सेक्रेटरीले लेखेता पनि, पत्रमा रहेको विचार र दृष्टिकोण चाहिं व्यवसायीको हुन्छ। त्यसकारण पत्र व्यवसायीको हुन्छ, सेक्रेटरीको हुँदैन। त्यस्तै गरी बाइबल पनि, त्यसलाई लेख्ने काममा प्रयोग भएका मानिसहरूको नभएर परमेश्वरको पुस्तक हो।
९ परमेश्वरलेनै मस्तिष्क बनाएको हुनाले, उहाँले आफ्ना सेवकहरूका मस्तिष्कहरूसँग सम्पर्क राख्नुहुँदै, तिनीहरूलाई उहाँले चाहनु भएका सूचनाहरू लेख्न लगाउनु, उहाँको निम्ति कुनै कठिन कुरा होइन। आज पनि एउटा व्यक्तिले आफ्नै घरमा बसेर रेडियो वा टेलिभिजन सेट द्वारा टाढ़ा-टाढ़ा स्थानबाट सन्देशहरू प्राप्त गर्न सक्दछ। परमेश्वर द्वारा सृष्टि गरिएको भौतिक नियमहरूको प्रयोग गरेर, आवाजहरू वा तस्वीरहरू टाढ़ा-टाढ़ा सम्म पुग्न सक्दछ। त्यसकारण, टाढ़ा स्वर्गमा बस्नु भएर पनि, परमेश्वरले बताउन चाहनु भएका कुराहरू, उहाँले मानिसहरूलाई निर्देशन दिएर लेखाउन सक्नु हुन्थियो भनी सजिलै सँग बुझ्नु सकिन्छ।
१०. (क) कतिवटा पुस्तकबाट बाइबल बनिएको छ, र यी कति समयावधि भित्र लेखिएका हुन्? (ख) कुन मुख्य विषय बाइबलभरि व्याप्त छ?
१० परिणामस्वरूप एउटा अद्भुत पुस्तकको रचना भयो। वास्तवमा, बाइबल ६६ वटा सानो पुस्तकहरूबाट बनेको छ। “बाइबल” शब्द युनानी शब्द बिबलिया बाट निस्किएको हो, जस्को अर्थ हो “सानो पुस्तक”। यी पुस्तक वा पत्रहरू सा. यु. पू. १५१३ देखि ९८ सा. यु., अर्थात १,६०० बर्षहरूको अवधि भित्र लेखिएका थिए। तापनि, लेखक एउटै भएको हुनाले, बाइबलका यी सबै पुस्तकहरूमा पूर्ण सामञ्जस्य छ। यहोवाले आफ्नो राज्य द्वारा फेरि धार्मिकतापूर्ण अवस्था स्थापित गर्नु हुनेछ भन्ने एउटै मूल विषय सम्पूर्ण पुस्तकमा पाइन्छ। कसरी परमेश्वरको विरुद्ध विद्रोह गरेको हुनाले प्रमोदबन हरायो भनेर प्रथम पुस्तक उत्पत्तिले बताउँछ र कसरी परमेश्वरको राज्य द्वारा यो पृथ्वी फेरि प्रमोदबनमा परिणत हुनेछ भन्ने कुरा अन्तिम पुस्तक प्रकाशले बताउँछ।—उत्पत्ति ३:१९, २३; प्रकाश १२:१०; २१:३, ४.
११. (क) बाइबल लेख्नमा कुन भाषाहरू प्रयोग गरिएको थियो? (ख) बाइबल कुन दुई मुख्य भागहरूमा विभाजित छ, तर त्यसमा सामञ्जस्य छ भनेर के ले देखाउँछ?
११ बाइबलका प्रथम ३९ वटा पुस्तकहरू मूल रूपले हिब्रू भाषामा लेखिएका थिए र एउटा सानो भाग, आरामीक भाषामा लेखिएको थियो। अन्तिम २७ वटा पुस्तकहरू, येशू र उहाँका चेलाहरू यस पृथ्वीमा हुँदा मानिसहरूको सर्वसाधारण भाषा, युनानीमा लेखिएको थियो। बाइबलका यी दुई मुख्य भागहरू उपयुक्त रूपले “हिब्रू शास्त्र” र “युनानी शास्त्र” कहलाइन्छ। युनानी शास्त्रमा हिब्रू शास्त्रको ३६५ भन्दा बढ़ी उद्धरणहरू पाइन्छन् र त्यसका अतिरिक्त ३७५ वटा भन्दा बढ़ी हवालाहरू पाइन्छन् जसवाट यो प्रदर्शित हुन्छ कि तिनीहरू एकअर्का सँग सहमत छन्।
बाइबल सबैकालागि उपलब्ध गराइनु
१२. यहोवाले बाइबलका प्रतिहरू किन बनाउन लाउनु भयो?
१२ यदि बाइबलको मूल लेख मात्र उपलव्ध भए, परमेश्वरको वचन सबैले कसरी पढ्न सक्थिए होलान्? कदापि सक्दैन थिए। त्यसकारण मूल हिब्रू लेखको अनेक प्रतिहरू बनाइने व्यवस्था यहोवाले मिलाउनु भयो। (व्यवस्था १७:१८) उदाहरणकालागि, एज्रा भन्ने मानिस “इस्राएलका परमेश्वरले तिनीहरूलाई मोशाद्वारा दिनुभएको व्यवस्थामा . . . एक विशेषज्ञ” कहलाइएका थिए। (एज्रा ७:६) अनि, युनानी शास्त्रको पनि हजारौं प्रतिहरू बनाइएको थियो।
१३. (क) ज्यादासेज्यादा मानिसहरूले बाइबल पढ़न सक्नकालागि कुन कुराको आवश्यक्ता थियो? (ख) बाइबलको प्रथम अनुवाद कहिले गरियो?
१३ के तपाईं हिब्रू वा युनानी भाषा पढ़नु हुन्छ? हुँदैन भने, आज सम्म पाइने, पहिलेका हस्तलिखित बाइबलका केही कापीहरू, तपाईं पढ़न सक्नु हुनेछैन। त्यसकारण, तपाईंले बाइबल पढ्न पाउनको निम्ति, तपाईंले जानेको भाषामा त्यसलाई कसैले अनुवाद गरी दिन पऱ्यो। यो एउटा भाषा वाट अर्को भाषामा अनुवाद गरिनाले परमेश्वरको वचन ज्यादा से ज्यादा मानिसहरूले पढ्न सम्भव हुनसकेको छ। उदाहरणकालागि, येशू पृथ्वीमा आउनु भन्दा ३०० वर्ष अघि धैरै मानिसहरू युनानी भाषामा बोल्न शुरू गरी सकेका थिए। त्यसकारण, सा. यु. पू. २८० देखिनै हिब्रू शास्त्रहरूको युनानी भाषामा अनुवाद हुन थालि सकेको थियो। यो प्रारम्भिक अनुवादलाई “सेप्टुआजिंट” भनिन्छ।
१४. (क) केही धार्मिक नेताहरूले बाइबलको अनुवाद रोक्न किन सङ्घर्ष गरे? (ख) तिनीहरू सङ्घघर्षमा हारे भन्ने कुरा कसरी बुझ्न सकिन्छ?
१४ पछि, धैरै मानिसहरूको सामान्य भाषा ल्याटिन हुन गयो, त्यसकारण बाइबल ल्याटिनमा अनुवाद गरिएको थियो। तर, जसै शताब्दीहरू बित्दै गए, थोरै मानिसहरूले मात्र ल्याटिन भाषा बोल्ने गरे। धेरै जसो मानिसहरू अरबी, फ्रेंच, स्पेनी, पुर्तगाली, इटालियन, जर्मन र अंग्रेजी जस्ता अन्य भाषाहरू बोल्न थाले। कैथोलिक धार्मिक नेताहरूले बाइबललाई सर्वसाधारण मानिसहरूको भाषामा अनुवाद हुन न दिन केही समयसम्म सङ्घर्ष गर्दै रहे। बाइबल राख्ने व्यक्तिहरूलाई काठमा बाँधेर डढ़ाइ दिने काम सम्म पनि तिनीहरूले गरे। बाइबलले ती धार्मिक नेताहरूको झूटा शिक्षा र खराब कार्यहरूको पर्दा फास गरी दिन्छ भनेर तिनीहरूले एसो गरे। तर, समयको दौडानमा, तिनीहरू आफ्नो सङ्घर्षमा हारे र बाइबल अनेक भाषाहरूमा अनुवाद हुनथाल्यो र धेरैनै संख्यामा बितरण हुन लाग्यो। आज सम्पूर्ण रूपमा अथवा आंशिक रूपमा बाइबल लगभग १,८०० भन्दा बढ़ी भाषाहरूमा पढ्न सकिन्छ!
१५. बाइबलका नयाँ अनुवादहरू हुनु किन असल हो?
१५ जसै समय बित्दै गयो, एउटै भाषामा पनि बाइबलको अनेक अनुवादहरू हुन थाले। उदाहरणकालागि, अंग्रेजीमा मात्र दर्जनौं बाइबल अनुवादहरू पाइन्छन्। किन? के एउटै अनुवादले पुग्दैन? समय बित्दै जाँदा एउटै भाषामा पनि अनेक परिवर्तन आउँछ। त्यसकारण यदि बाइबलको पुराना अनुवादहरूसँग नया अनुवादहरूको तुलना गर्नु भयो भने, भाषामा आएको परिवर्तन तपाईंले देख्न सक्नु हुनेछ। ती सबैले एउटै विचार प्रस्तुत गरेता पनि, हालका वर्षहरूमा गरिएका अनुवादहरूलाई साधरणतया सजिलै सँग बुझ्न सकिन्छ। त्यसकारण बाइबलका नया अनुवादहरूकालागि हामीहरू कृतज्ञ हुनु पर्दछ, किनकि ती अनुवादहरूले परमेश्वरको वचनलाई वर्तमान साधारण र सजिलै सँग बुझ्न सकिने भाषामा प्रस्तुत गरेका छन्।
के बाइबलमा परिवर्तन भएको छ
१६. बाइबल बदलिएको छ भनेर केही मानिसहरू किन विश्वास गर्दछन्?
१६ तर तपाईं सोध्नु होला: ‘हामीहरू सँग आज भएको बाइबलमा, परमेश्वर बाट बाइबलका लेखकहरूलाई प्राप्त भएकै सूचना छ भनेर हामीहरू कसरी विश्वस्त हुनसक्दछौं?’ सैकड़ों र हजारौं वर्षहरू देखिन् बाइबल पुस्तकहरूको नकल गरे पछि, नकल गर्दा के त्यसमा भूलहरू भएनन् होला? भएका थिए, तर ती भूलहरू पत्ता लगाइएका छन् र आधुनिक बाइबल अनुवादहरूमा त्यसलाई सच्याइएका छन्। परमेश्वर द्वारा प्राप्त सूचना पहिले जसरी लेखिएको थियो, त्यसरीनै आज पनि छ। यसको प्रमाण के हो?
१७. बाइबल बदलिएको छैन भन्ने कुराको के प्रमाण छ?
१७ १९४७ र १९५५ का बीच, डेड सी स्क्रोल्स नाउँ भएको दस्ताबेज पाइएको थियो। यी पुराना दस्तावेजहरूमा हिब्रू शास्त्रका पुस्तकहरूका प्रतिहरू सम्मिलित छन्। तिनीहरू येशू जन्मिनु भन्दा १०० देखि २०० वर्ष पहिले का लेखहरू हुन्। त्यस मध्य एउटा दस्तावेज यशैयाको पुस्तकको प्रति हो। यो पाउँनु भन्दा अघि हिब्रूमा पाइने यशैयाको पुस्तकको सबै भन्दा पुरानो प्रति येशू जन्मेको १,००० वर्ष पछि बनाइएको चाहिं थियो। यी दुवै प्रतिहरूको तुलना गरेर हेर्दा, तिनीहरूमा धेरैनै कम फरक पाइयो र त्यो पनि शब्द विन्यासमा मात्र फरक थियो! यसको अर्थ यो हो कि १,००० वर्ष भन्दा बढ़ी समयको दौडानमा, नकल गरेर बनाएका प्रतिहरू तैयार गर्दा पनि वास्तवमा कुनै खास परिवर्तन भएन!
१८. (क) प्रतिलिपि बनाउनेहरूको त्रुटिहरूलाई कसरी सच्याइएको छ? (ख) युनानी शास्त्रको शुद्धता वारे के भन्न सकिन्छ?
१८ हिब्रू शास्त्रको विभिन्न भागहरूका १,७०० भन्दा बढ़ी प्रतिहरू उपलब्ध छन्। यी अनेक पुराना प्रतिहरूलाई सावधानीपूर्वक तुलना गरिएमा, नकलगर्नेहरूले गरेका साना गलतीहरू समेत पत्ता लगाएर त्यसलाई सुधार्न सकिन्छ। अनि, युनानी शास्त्रको पनि हजारौं पुराना प्रतिहरू छन्, जस मध्य केही ता लगभग येशू र उनका प्रेरितहरूको समय देखिन्का हुन्। त्यसैले सर फ्रेडरिक केन्यानले भनेका छन्: “शास्त्रहरू जुन रूपमा लेखिएका थिए, त्यस्तै तात्विक रूपमा हामीहरूसम्म आई पुगेको छ भन्ने कुरामा अब कुनै शङ्का गर्ने ठाउँ छैन।”—द बाइबल ऐंड आरकियोलौजी, पृष्ठ २८८, २८९.
१९. (क) बाइबलमा केही कुरा थपने प्रयत्नको एउटा उदाहरण के हो? (ख) १ यूहन्ना ५:७ जुन शब्दहरूका साथ कुनै कुनै बाइबलका अनुवादहरूमा देखा पर्दछ, त्यो बाइबलको भाग किन होइन?
१९ यसको अर्थ परमेश्वरको वचन परिवर्तन गर्ने कोशिशै नगरिएको होइन। कोशिश गरिएको थियो। एउटा विलक्षण उदाहरण हो १ यूहन्ना ५:७। १६११ को किंग जेम्स भर्सन मा यस्तो लेखिएको छ: “स्वर्गमा गवाही दिनेहरू तीनवटा छन्, पिता, वचन, र पवित्र आत्मा, र यी तीनै एक हुन्।” तर, यी शब्दहरू बाइबलका अति प्रारम्भिक प्रतिहरू मध्य कुनैमा पाइदैंन। यी शब्दहरू त्रिएकको शिक्षामा विश्वास गर्न मदत पुऱ्याउने उद्देश्यले कसैले थपेको हो। यी शब्दहरू परमेश्वरको वचनको वास्तविक भाग होइन भन्ने कुरा स्पष्ट भएको हुनाले, त्यसलाई सच्याइएको छ र ती शब्दहरू नया बाइबलहरूमा पाइन्दैनन्।
२०. बाइबल शुद्ध रूपमा राखिएकोछ भनेर हामीहरू किन विश्वस्त हुनसक्छौं?
२० त्यसकारण, प्रारम्भमा लेखिएको सूचना अब बाइबलमा पाइदैन भनेर कसैले भन्छ भने, उसले वास्तवमा सही कुराहरू जानेको छैन। आफ्नो वचनलाई त्यसको नकलगर्नेहरूको भूलहरूबाट मात्र होइन तर त्यसमा अरू शब्दहरू थपने प्रयत्न गर्नेहरू बाट समेत बचाउन, यहोवा परमेश्वरले विशेष ध्यान दिनु भएको छ। उहाँको वचन हामीहरूकालागि आज पनि शुद्ध रूपमा रहनेछ भनेर स्वयं परमेश्वरले बाइबलमा प्रतिज्ञा गर्नु भएको थियो।—भजनसंग्रह १२:६, ७; दानियल १२:४; १ पत्रुस १:२४, २५; प्रकाश २२:१८, १९.
के बाइबल वास्तवमा सत्य हो?
२१. येशूले परमेश्वरको वचनलाई कुन दृष्टिले हेर्नु भयो?
२१ येशू ख्रीष्टले परमेश्वरलाई आफ्नो प्रार्थनामा भन्नुभयो: “तपाईंको वचन सत्य हो।” (यूहन्ना १७:१७) तर के यसलाई तथ्यले समर्थन गर्दछ? सावधानीपूर्वक जाँच गरेर हेर्दा, के बाइबल वास्तवमा सत्य साबित हुन्छ? इतिहासका विद्यार्थीहरू जसले बाइबलको अध्ययन गरेकाछन्, यसमा भएको यथार्थता देखेर छक्क पर्दछन्। बाइबलमा विशिष्ट नाउँहरू र विस्तृत वर्णनहरू पाइन्छन् जसको पुष्टि गर्न सकिन्छ। यसका केही उदाहरणहरूमा विचार गर्नु होस्।
२२-२५. बाइबलमा सत्य इतिहास पाइन्छ भनेर कुन-कुन् उदाहरणहरूबाट बुझ्न सकिन्छ?
२२ मिस्रमा करनाकको यो मन्दिरको पर्खालमा कोरिएका चित्रहरू र लेखौट हेर्नुहोस्। तिनीहरूले करीब ३,००० वर्ष अघि फिरऊन शिशाकले सुलेमान राजाका छोरा रहबामको राज्यकालमा यहूदा राज्य माथि गरेको विजयको कथा कहन्छ। यही घटना वारे बाइबलले पनि चर्चा गरेको छ।—१ राजा १४:२५, २६.
२३ मोआबी शिलालाई पनि हेर्नुहोस्। मूल शिला फ्रान्स, पेरिसको लूव्र सङ्ग्राहलयमा देख्न सक्नु हुनेछ। त्यसमा भएको लेखबाट इस्राएलीहरूको विरूद्ध मोआबका राजा मेशाले गरेको विद्रोह वारे जानकारी पाइन्छ। यो घटना बाइबलमा पनि उल्लेखित छ।—२ राजा १:१; ३:४-२७.
२४ यहाँ दाहिने तर्फ छेउको तस्वीरमा यरूशलेमको शीलोमको पोखरी र १,७४९ फुट लामो (५३३ मीटर लामो) पानीको सुरूङ्गको ढोका देख्न सक्नु हुन्छ। यरूशलेम गएका अनेक आधुनिक दर्शकहरूले यो सुरूङ्ग तरेकाछन्। यसको अस्तित्वले पनि बाइबल सत्य हो भनेर प्रमाणित गर्दछ। कसरी? किनभने २,५०० वर्ष पूर्व हिजकियाह राजाले आफ्नो जल आपूर्तिलाई एउटा आक्रमणकारी सेनाबाट सुरक्षित राख्नकालागि यो सुरूङ्ग बनाएका थिए भनेर बाइबलले व्याख्या गरेको छ।—२ राजा २०:२०; २ इतिहास ३२:२-४, ३०.
२५ बृटिश म्युजियममा दर्शकले नेबोनाइडसको इतिहास, जसको एउटा कापी दाहिने तर्फको चित्रमा दिइएकोछ, हेर्न सक्छन्। यसमा प्राचीन बेबिलोनको पतन वारे बाइबलमा दिइएको जस्तै गरी वर्णन गरिएको छ। (दानियल ५:३०, ३१) बाइबल भन्दछ त्यस समय बेलतसजर बेबिलोनका राजा थिए। तर नेबोनाइडसको इतिहासले चाहिं बेलतसजरको नाउँ सम्म लिंदैन। वास्तवमा, एक समयमा सबैनै प्राचीन लेखहरूमा नेबोनाइडस बेबिलोनका अन्तिम राजा थिए भनेर लेखिएको थियो। त्यसकारण, बाइबल सत्य होइन भन्नेहरूले बेलतसजरको कहिले केही अस्तित्व थिंदै थिएन र बाइबल गलत हो भनेर दाबी गरे। तर हालका केही वर्षहरूमा प्राचीन लेखहरू प्राप्त भएकाछन् जसबाट बेलतसजर नेबोनाइडसका छोरा र त्यस समयमा आफ्नो पिताका सह-शासक थिए भन्ने कुराको जानकारी पाइएको छ! हो, बाइबल वास्तवमा सत्य हो भन्ने कुरा धेरैनै प्रमाणहरू बाट साबित भएकोछ।
२६. बाइबल बैज्ञानिक दृष्टिकोणबाट पनि सत्य छ भनेर के प्रमाण छ?
२६ तथापि बाइबलमा सही इतिहास मात्र पाइदैन। यसमा भनिएका प्रत्यक कुरा सत्य छन्। विज्ञान सँग सम्बन्धित् कुराहरूको चर्चा गर्दा पनि, यो पुस्तक अद्भुत रूपमा सही छ। यसको दुईवटा उदाहरण मात्र हेरौं: पृथ्वीलाई कुनै दृश्य कुराले आड़ दिएको छ अर्थात यो एउटा राक्षस माथि स्थिर छ भनेर प्राचीन समयमा साधरणतया विश्वास गरिन्थियो। तथापि वैज्ञानिक प्रमाण सँग पूर्ण सहमत हुँदै बाइबलले सूचना दिएको छ कि परमेश्वरले “अन्तरिक्षमा पृथ्वीलाई झुण्डाउनु भयो।” (अय्यूब २६:७) र पृथ्वी च्याप्टो छ भनेर अतीतमा धेरैले विश्वास गरेता पनि बाइबल भन्दछ कि परमेश्वर “पृथ्वीको घेरा माथि विराजमान हुनुहुन्छ।”—यशैया ४०:२२.
२७. (क) बाइबल परमेश्वरबाट आएको हो भन्ने सबै भन्दा ठूलो प्रमाण के हो? (ख) हिब्रू शास्त्रले परमेश्वरको पुत्र वारे सत्यतापूर्वक के के भविष्यवाणीहरू गरेको थियो?
२७ तर बाइबल परमेश्वरबाटनै वास्तवमा आएको हो भन्ने सबै भन्दा ठूलो प्रमाण भविष्यको पूर्व सूचनाको यसमा पाइने ठीक-ठीक उल्लेखहरू हुन्। मानिसहरू द्वारा लेखिएका कुनै पनि पुस्तकमा, घटित हुनु भन्दा अगावैको इतिहास सही ढङ्गले वर्णन गर्न सकिएको छैन; तथापि बाइबलले गरेकोछ। यो पुस्तक सत्य भविष्यवाणीहरूले भरिएको छ। हो, यसमा इतिहास घटनु भन्दा अगाड़िनै त्यसवारे लेखिएको छ। यी मध्यका केही अत्यधिक विशिष्ट भविष्यवाणीहरू पृथ्वीमा परमेश्वरको पुत्रको आगमनको विषयमा हुन्। यो प्रतिज्ञा गरिएको व्यक्ति बेतलेहेम शहरमा, एउटा कुँवारीको गर्भवाट जन्मिने छ, चाँदीका ३० टुक्राहरूकालागि उस सँग विश्वासघात गरिनेछ, पापीहरू सँग उसलाई गनिने छ, उसको शरीरको कुनै हाड़ भाँचिने छैन, उसका वस्त्रहरूकालागि चिठ्ठा हालिनेछन्, र अन्य धेरै कुराहरूको विस्तृत वर्णन सैकड़ों वर्ष अघिनै हिब्रू शास्त्रमा भविष्यवाणी गरिएको थियो।—मीका ५:२; मत्ती २:३-९; यशैया ७:१४; मत्ती १:२२, २३; जकरिया ११:१२, १३; मत्ती २७:३-५; यशैया ५३:१२; लूका २२:३७, ५२; २३:३२, ३३; भजन संग्रह ३४:२०; यूहन्ना १९:३६; भजन संग्रह २२:१८; मत्ती २७:३५.
२८. (क) बाइबलका ती भविष्यवाणीहरू पनि जो अहिलेसम्म पूरा भएका छैनन्, अवश्यनै पूरा हुनेछन् भनेर हामीहरू किन विश्वस्त हुन सक्छौं? (ख) बाइबलको निरन्तर अध्ययनले तपाईंलाई कुन कुरा वारे निश्चित पार्ने छ?
२८ यस पुस्तकको प्रथम अध्यायमा भने झैं, यो पुरानो रीति-रिवाज चाँड़ैनै समाप्त हुनेछ र एउटा न्याययुक्त नया व्यवस्था आउने कुराको पनि बाइबलले भविष्यवाणी गरेको छ। (मत्ती २४:३-१४; २ पत्रुस ३:७, १३) भविष्यमा पूरा हुने भविष्यवाणीहरूमा के हामीहरू भरोसा गर्न सक्दछौं? यदि तपाईंलाई कसैले सैकडौं पटक सत्य कुरा भनेको छ भने, उसले कुनै नया कुरा भन्यो भने, के तपाईं अचानक त्यसको कुरा माथि शङ्का गर्नु हुनेछ? यदि तपाईंले त्यसले भनेका कुराहरू कहिले पनि गलत पाउनु भएको छैन भने, के अहिले आएर तपाईं त्यसलाई शङ्का गर्न थाल्नु हुनेछ? शङ्का गर्न थाल्नु भयो भने, यो कस्तो बेमनासिब कुरा हुनेछ! त्यसरीनै, परमेश्वरले बाइबलमा प्रतिज्ञा गर्नु भएको कुनैपनि कुरामा हामीहरूले शंका गर्नु पर्ने कारण छैन। उहाँको वचनलाई विश्वास गर्न सकिन्छ! (तितुस १:२) बाइबलको लगातार अध्ययन गरेर, तपाईं पनि, बाइबल साँच्चैनै परमेश्वर बाट आएको हो भन्ने तथ्यमा अझ विश्वस्त हुनुहुनेछ।
[पृष्ठ ४९-मा भएको चित्र]
एउटा व्यापारीले पत्र लेख्न जसरी एउटा सेक्रेटरीको प्रयोग गर्दछ त्यसरीनै परमेश्वरले बाइबल लेख्न मानिसहरूलाई प्रयोग गर्नु भएको थियो
[पृष्ठ ५०-मा भएको चित्र]
केही धार्मिक नेताहरूले साधारण मानिसहरू बाट बाइबललाई टाढ़ा राख्ने सङ्घर्ष गरे। आफ्नो साथमा बाइबल हुनेहरूलाई काठको खामामा झुन्ड्याएर डढाई नै दिन्थिए
[पृष्ठ ५२, ५३-मा भएको चित्र]
यशैयाको डेड सी स्क्रोल
[पृष्ठ ५४, ५५-मा भएको चित्र]
मिस्रको करनाकको मन्दिरको पर्खाल
[पृष्ठ ५५-मा भएको चित्र]
मोआबी शिला
[पृष्ठ ५५-मा भएको चित्र]
नेबोनाइडस इतिहासको शिला
[पृष्ठ ५५-मा भएको चित्र]
हिजकियाहले बनाएको सुरूङ्गको प्रवेश द्वार र शीलोमको पोखरी