अध्याय ८६
हराएको छोराको कथा
फरिसीहरूलाई हराएको एउटा भेडा र हराएको एउटा चाँदीको सिक्काको दृष्टान्त बताएपछि येशू अब अर्को दृष्टान्त बताउनुहुन्छ। यो एक जना मायालु बुबा र उसका दुई छोराहरूसित उसको व्यवहारबारे हो। यी दुवै छोराले गम्भीर कमजोरी देखाएका छन्।
प्रथम, यस दृष्टान्तको मुख्य पात्र कान्छो छोरा हो। उसले आफ्नो अंश माग्छ र उसको बुबाले पनि कुनै हिचकिचाहटविना उसलाई दिन्छ। यसपछि ऊ घर छाडेर जान्छ र अति नै अनैतिक जीवन बिताउँछ। अब जसै येशू कथा भन्दै जानुहुन्छ, सुन्नुहोस् र कथाका पात्रहरूले क-कसलाई प्रतिनिधित्व गर्छन्, त्यो ठम्याउने कोसिस गर्नुहोस्।
येशू सुरु गर्नुहुन्छ: “कुनै एक जना मानिसका दुई छोरा थिए। कान्छोचाहिंले बुबालाई भन्यो: ‘बुबा, मलाई मेरो अंश दिनुहोस्।’ तब बुबाले आफ्नो सम्पत्ति अंशबण्डा गरेर तिनीहरूलाई दियो।” आफ्नो अंशमा परेको सम्पत्ति लिएर कान्छो छोराले के गर्छ?
येशू व्याख्या गर्नुहुन्छ: “पछि, धेरै दिन बित्न नपाउँदै, कान्छो छोरा आफ्नो भएभरको सम्पत्ति बटुलेर टाढा परदेश गयो अनि भोगविलासको जीवन बिताएर आफ्नो सम्पत्ति उडायो।” वास्तवमा, वेश्याहरूको सङ्गतमा उसले आफ्नो सम्पत्ति उडाउँछ। तर केही समयपछि अवस्था कठिन हुन्छ भनी येशू वर्णन गर्दै जानुहुन्छ:
“आफूसित भएको सबै पैसा उडाइसकेपछि देशभरि ठूलो अनिकाल पऱ्यो र उसलाई धौ-धौ पर्न थाल्यो। यहाँसम्म कि, त्यस देशको एक जना मानिसकहाँ गएर उसले काम माग्यो र तिनले उसलाई आफ्नो खेतमा सुँगुर चराउन पठाए। अनि सुँगुरले खाने कोसा भए पनि खान पाए हुन्थ्यो भनेर ऊ सोच्थ्यो तर कसैले उसलाई केही दिंदैनथ्यो।”
सुँगुर चराउने जस्तो घृणित काम गर्न बाध्य हुनु कस्तो दुरावस्था! किनभने व्यवस्थाअनुसार यी जनावरहरू अशुद्ध थिए! तर असह्य भोकको कारण सुँगुरहरूलाई दिइने खानासम्म खाने इच्छा गर्नुपर्दा त्यो छोरालाई अति नै दुःख लाग्यो। ऊमाथि आइपरेको यो भयङ्कर आपत्तिले गर्दा येशू भन्नुहुन्छ, “उसको होस खुल्यो।”
आफ्नो कथा अगाडि बढाउँदै येशू भन्नुहुन्छ: “उसले [मनमनै] भन्यो: ‘मेरा बुबाका त्यत्रा कामदारहरूलाई रोटीको कुनै अभाव छैन तर म भने यहाँ अनिकालले मर्नै लागिसकें! अब म बुबाकहाँ जान्छु र उहाँलाई भन्छु: “बुबा, मैले परमेश्वर र तपाईंको विरुद्धमा पाप गरेको छु। अब म तपाईंको छोरा भनिन लायकको छैन। त्यसैले मलाई तपाईंको ज्यालादारी कामदार बनाउनुहोस्।” ’ अनि ऊ उठेर आफ्नो बुबाकहाँ गयो।”
यहाँ विचार गर्नुपर्ने केही कुराहरू छन्: ऊ घर छाडेर जाने बेलामा उसको बुबा क्रोधित भएर उसलाई बेसरी गाली गरेको भए छोरा अहिले घर फर्कने विषयमा यति निश्चित हुने थिएन। उसले सायद फर्कने निर्णय गरे तापनि बुबाको सामना गर्न नपरोस् भनेर आफ्नो गाउँघरको इलाकामा अरू कुनै जागिर खोज्नेथियो। तथापि यसप्रकारको कुनै पनि विचार उसको मनमा आएन। उसले घरै जाने इच्छा गऱ्यो!
स्पष्टतः येशूको दृष्टान्तमा बुबाले हाम्रा मायालु, दयालु स्वर्गमा बस्नुहुने बुबा, यहोवा परमेश्वरलाई प्रतिनिधित्व गर्छ। र त्यो हराएको अर्थात् उडन्ते छोराले कुख्यात पापीहरूलाई प्रतिनिधित्व गर्छ। यसप्रकारका मानिसहरूसँग बसेर येशूले खानुभयो भनेर केही समयअघि मात्र ती फरिसीहरूले आलोचना गरेका थिए। त्यही फरिसीहरूसँग येशू अहिले बोल्दै हुनुहुन्छ। तर जेठो छोराले कसलाई प्रतिनिधित्व गर्छ?
हराएको छोरा पत्ता लागेपछि
येशूले बताउनुभएको दृष्टान्तमा हराएको अर्थात् उडन्ते छोरा आफ्नो बुबाको घर फर्केर आएपछि उसलाई कसरी स्वागत गरिन्छ? यसको वर्णन येशू गर्नुहुन्छ। सुन्नुहोस्:
“बुबाले टाढैबाट उसलाई आउँदै गरेको देख्यो र टिठायो अनि दौडेर गयो र उसलाई अँगालो हालेर चुम्बन गऱ्यो।” स्वर्गमा बस्नुहुने हाम्रा बुबा, यहोवाको सही प्रतिनिधित्व गर्ने कस्तो दयालु र न्यानो मन भएको बुबा!
आफ्नो छोराको दुराचारी जीवनशैलीबारे बुबाले सुनिसकेको हुन सक्छ। तापनि लामो स्पष्टीकरण नमागिकनै बुबाले छोरालाई घरमा स्वागत गर्छ। येशूसित पनि यसरी स्वागत गर्ने मनोभाव छ। दृष्टान्तको उडन्ते छोराले प्रतिनिधित्व गर्ने पापी र कर उठाउने मानिसहरूसँग कुरा गर्न येशू नै अघि सर्नुहुन्छ।
येशूले बताउनुभएको दृष्टान्तमा समझदार बुबाले घर फर्कने आफ्नो छोराको उदास र अँध्यारो मुखबाट पश्चात्तापको भाव झल्केको निस्सन्देह देख्छन्। तर माया देखाउँदै बुबा अघि सरेकोले छोरालाई आफ्ना पापहरू स्वीकार्न सजिलो हुन्छ। येशू भन्नुहुन्छ: “तब छोराले भन्यो: ‘बुबा, मैले परमेश्वर र तपाईंको विरुद्धमा पाप गरेको छु। अब म तपाईंको छोरा भनिन लायकको छैन। त्यसैले मलाई तपाईंको ज्यालादारी कामदार बनाउनुहोस्।’ ”
तर छोराले मुख खोल्नुअघि नै बुबाले आफ्ना दासहरूलाई आज्ञा दिन्छन्: “झट्टै गएर सबैभन्दा राम्रो पोसाक ल्याओ र उसलाई पहिराइदेओ अनि औंठी र जुत्ता पनि लगाइदेओ! त्यसपछि मोटोघाटो बहर ल्याएर काट अनि हामी खाऔं र रमाइलो गरौं, किनकि यो मेरो छोरो मरेको थियो तर अहिले फेरि जिउँदो भयो; ऊ हराएको थियो तर अहिले भेटियो।” अनि तिनीहरू “रमाइलो गर्न” थाल्छन्।
त्यतिबेला बुबाको “जेठो छोरा खेतमा थियो।” कथाको बाँकी भाग सुनिसकेपछि यो जेठो छोराले कसलाई प्रतिनिधित्व गर्छ भनी ठम्याउने कोसिस गर्नुहोस्। जेठो छोराबारे येशू भन्नुहुन्छ: “फर्केर घरनजिकै पुग्दा उसले नाचगान भइरहेको आवाज सुन्यो। त्यसैले उसले नोकरहरूमध्ये एक जनालाई बोलायो र के हुँदैछ भनी सोध्यो। त्यसले उसलाई भन्यो: ‘तपाईंको भाइ घर फर्कनुभयो र उहाँलाई सकुशल पाउनुभएकोले तपाईंका बुबाले मोटोघाटो बहर काट्न लगाउनुभयो।’ तब ऊ क्रोधित भयो र भित्र जान मानेन। त्यसैले उसको बुबा बाहिर आएर उसलाई फकाउन थाल्यो। तब उसले बुबालाई भन्यो: ‘यत्तिका वर्षसम्म मैले तपाईंको चाकरी गरें अनि कहिल्यै तपाईंको आज्ञा मान्न इन्कार गरिनँ तैपनि मेरा साथीहरूसित रमाइलो गर्न तपाईंले मलाई एक चोटि पनि एउटा पाठोसमेत दिनुभएन। तर वेश्याहरूसित तपाईंको सम्पत्ति उडाउने तपाईंको यो छोरा आउनेबित्तिकै तपाईंले उसको लागि मोटोघाटो बहर काट्न लगाउनुभयो।’ ”
पापीहरूलाई ध्यान दिएको र दया देखाएकोमा यो जेठो छोराले जस्तै आलोचना गर्नेहरू को हुन्? के तिनीहरू शास्त्री र फरिसीहरू होइनन् र? येशूले पापीहरूलाई स्वागत गरेकोमा तिनीहरूले आलोचना गरेकोले नै यो दृष्टान्त दिनुपरेको हो। यसकारण त्यो जेठो छोराले तिनीहरूको नै प्रतिनिधित्व गरेको हुनुपर्छ।
बुबाले जेठो छोरालाई आग्रह गरेको कुरा भन्दै येशू कथा टुङ्ग्याउनुहुन्छ: “बाबु, तिमी त सधैं मसितै छौ अनि मेरो जे-जति छ, ती सब तिम्रै हो, तिम्रो यो भाइ मरेको थियो तर फेरि जिउँदो भयो अनि हराएको थियो तर फेरि भेटियो। त्यसैले हामी खुसी हुनु र रमाइलो गर्नु उचित हो।”
अन्तमा जेठो छोराले के गर्छ, त्यसबारे येशू केही भन्नु हुन्न। तर पछि येशूको मृत्यु र पुनर्जीवनपछि “धेरै पुजारीले पनि विश्वास गरे।” सम्भवतः यिनीहरूमध्ये केही येशूले यहाँ सम्बोधन गर्नुभएको “जेठो छोरा” वर्गकाहरू पनि सम्मिलित थिए होलान्।
तर आधुनिक समयमा ती दुई छोराहरूले कसलाई प्रतिनिधित्व गर्छन्? तिनीहरूलाई नै हुनुपर्छ, जसले यहोवाका उद्देश्यहरूबारे निकै जानिसकेका छन् र यस जानकारीको आधारमा परमेश्वरसँग एउटा सम्बन्ध स्थापित गर्न सकेका छन्। जेठो छोराले “सानो बगाल”-का केही सदस्य अर्थात् “स्वर्गमा दाखिल भएका जेठा सन्तानहरूको मण्डलीनजिक पुगेका” व्यक्तिहरूको प्रतिनिधित्व गर्छ। यिनीहरूले पनि जेठो छोराको जस्तै मनोभाव देखाएका थिए। तिनीहरूले पार्थिव वर्ग अर्थात् “अरू भेडा”-लाई स्वागत गर्न चाहेनन् किनकि तिनीहरूको विचारमा आफूहरूले पाउनुपर्ने महत्त्व यस पार्थिव वर्गले पाइरहेको थियो।
उडन्ते छोराले चाहिं ती मानिसहरूलाई प्रतिनिधित्व गर्छ जो सांसारिक सुख-विलासको आनन्द उपभोग गर्न परमेश्वरका जनलाई छोडेर जान्छन्। तथापि समयमा यिनीहरू पश्चात्ताप गरेर फर्किन्छन् र फेरि परमेश्वरका सक्रिय सेवकहरू हुन्छन्। क्षमाको आवश्यकता महसुस गर्दै बुबातर्फ फर्कनेहरूप्रति उहाँ वास्तवमा कति मायालु र दयालु हुनुहुन्छ! लूका १५:११-३२; लेवी ११:७, ८; प्रेषित ६:७; लूका १२:३२; हिब्रू १२:२३; यूहन्ना १०:१६.
▪ यो दृष्टान्त अर्थात् कथा येशूले कसलाई भन्दै हुनुहुन्छ र किन?
▪ कथाको मुख्य पात्र को हो र उसलाई के हुन्छ?
▪ बुबा र कान्छो छोराले येशूका समयमा कसलाई प्रतिनिधित्व गर्छन्?
▪ येशूले आफ्नो दृष्टान्तको दयालु बुबाको कसरी अनुकरण गर्नुहुन्छ?
▪ आफ्नो भाइलाई स्वागत गरेकोमा जेठो छोराले कस्तो दृष्टिकोण अपनाउँछ र फरिसीहरू पनि कसरी यही जेठो छोराजस्तै व्यवहार गर्छन्?
▪ हाम्रो समयमा येशूको दृष्टान्त कसरी लागू गर्न सकिन्छ?