तितस
२ तर तिमी भने साँचो* शिक्षासित मेल खाने कुराहरू सिकाइरहनू।+ २ वृद्ध पुरुषहरू आफ्नो आनीबानीमा सन्तुलित, गम्भीर अनि सुझबुझ भएका होऊन्। साथै तिनीहरू विश्वास, प्रेम र सहनशीलतामा दह्रो* होऊन्। ३ त्यसैगरि वृद्ध स्त्रीहरूको आचरण भक्तहरूलाई सुहाउने होस्। तिनीहरू अरूको निन्दा गर्ने र धेरै मद्यपान गर्ने नहोऊन् बरु असल कुराका शिक्षकहरू होऊन्। ४ तिनीहरूले युवतीहरूलाई आ-आफ्ना पतिलाई प्रेम गर्न, आफ्ना छोराछोरीलाई माया गर्न, ५ सुझबुझ चलाउन, पवित्र रहन, घरायसी काम गर्न,* असल बन्न अनि आ-आफ्ना पतिको अधीनमा बस्न+ सल्लाह देऊन्* ताकि परमेश्वरको वचनको बदनाम हुन नपाओस्।
६ त्यसैगरि युवकहरूलाई सुझबुझ चलाउन आग्रह गरिरहनू।+ ७ तिमीले हरेक क्षेत्रमा असल काम गरेर उदाहरण बसाल्नू। पूर्ण गम्भीरतासाथ शुद्ध शिक्षा देऊ,*+ ८ हितकर* वचन बोल,+ जसको कसैले आलोचना गर्न सक्दैन ताकि हाम्रो विरुद्धमा बोल्न केही नराम्रो* कुरा नपाएकोले विरोधीहरू लज्जित होऊन्।+ ९ दासहरू सबै कुरामा आ-आफ्ना मालिकको अधीनमा रहून्+ र तिनीहरूलाई खुसी पार्न कोसिस गरून्। उनीहरू आफ्ना मालिकहरूसित मुखमुखै नलागून्, १० तिनीहरूको केही नचोरून्+ बरु पूर्णतया भरोसायोग्य भएको देखाऊन्। यसरी उनीहरूले सबै कुरामा हाम्रा उद्धारक, परमेश्वरको शिक्षाको शोभा बढाऊन्।+
११ हरकिसिमका मानिसहरूलाई उद्धार दिने परमेश्वरको असीम अनुग्रह प्रकट भएको छ।+ १२ यसले हामीलाई भक्तिहीनता र सांसारिक इच्छाहरू+ तिरस्कार गर्न अनि यस वर्तमान युगमा* सुझबुझ चलाउन, न्यायोचित काम गर्न र परमेश्वरको भक्ति गर्दै जीवन बिताउन तालिम दिन्छ।+ १३ अनि हामी त्यस समयको बाटो हेर्दै बसौँ, जब हाम्रो सुखद आशा पूरा हुनेछ+ अनि हाम्रा महान् परमेश्वर र हाम्रा उद्धारक, येसु ख्रिष्टको महिमा प्रकट हुनेछ। १४ हामीलाई हरप्रकारका कुकर्महरूबाट छुटकारा दिन*+ र हामीलाई शुद्ध पार्न ख्रिष्टले हाम्रो लागि आफैलाई अर्पण गर्नुभयो+ ताकि हामी उहाँको विशेष सम्पत्ति र असल कामहरूमा जोसिलो हुन सकौँ।+
१५ पूर्ण अख्तियारसहित यी कुराहरू सिकाइरहनू, अर्ती दिइरहनू* अनि सुधारिरहनू।+ कसैले तिमीलाई कहिल्यै तुच्छ ठान्न नपाओस्।