अध्याय उन्नाइस
निडर भई परमेश्वरको वचन बोलिरहनुहोस्
१. (क) येशूका चेलाहरूले कस्तो सुसमाचार प्रचार गरे तर कोही-कोही यहूदीहरूले कस्तो प्रतिक्रिया देखाए? (क) हामी कस्ता प्रश्नहरू सोध्न सक्छौं?
झन्डै २,००० वर्षअघि परमेश्वरको पुत्र, येशू ख्रीष्ट सारा पृथ्वीमाथि शासन गर्ने भावी राजा नियुक्त हुनुभयो। धार्मिक शत्रुहरूको उक्साइमा येशू मारिनुभयो तर यहोवाले उहाँलाई मृत्युबाट बिउँताउनुभयो। फलतः येशूद्वारा अनन्त जीवन सम्भव भयो। तथापि, येशूका चेलाहरूले खुलेआम यो सुसमाचार घोषणा गर्दा सतावटको सामना गर्नुपऱ्यो। तिनीहरूमध्ये कसै-कसैलाई थुनामा राखियो, कोर्रा लगाइयो अनि येशूबारे कुरा नगर्नू भन्ने आदेश दिइयो। (प्रेरित ४:१-३, १७; ५:१७, १८, ४०) अब तिनीहरूले के गर्नेथिए? तपाईंले के गर्नुहुनेथियो? के तपाईं निडर भई प्रचार गरिरहनुहुनेथियो?
२. (क) हाम्रो समयमा कस्तो अद्भुत सन्देश घोषणा गरिनुपर्छ? (ख) सुसमाचार प्रचार गर्ने जिम्मेवारी कसले पाएका छन्?
२ सन् १९१४ मा परमेश्वरको राज्यका राजा, येशू ख्रीष्ट “शत्रुहरूका बीचमा” शासन गर्न स्वर्गको सिंहासनमा बसालिनुभयो। (भजन ११०:२) त्यसपछि, शैतान र त्यसका प्रेतहरू तल पृथ्वीमा फ्याँकिए। (प्रकाश १२:१-५, ७-१२) वर्तमान दुष्ट रीतिरिवाजको अन्तिम दिन सुरु भइसकेको थियो। यो समयावधि अन्त भएपछि परमेश्वरले सम्पूर्ण शैतानी रीतिरिवाजलाई चकनाचूर पार्नुहुनेछ। (दानियल २:४४; मत्ती २४:२१) यसबाट बच्नेहरूले प्रमोदवनमा परिणत भएको पृथ्वीमा अनन्त जीवनको आनन्द उठाउने प्रत्याशा पाउनेछन्। तपाईंले यो सुसमाचार स्वीकार्नुभएको छ भने अरूलाई पनि बताउन चाहनुहुन्छ होला। (मत्ती २४:१४) तर तपाईं कस्तो प्रतिक्रियाको आशा गर्न सक्नुहुन्छ?
३. (क) मानिसहरूले राज्य सन्देशप्रति कस्तो प्रतिक्रिया देखाउँछन्? (ख) हामीले कुन प्रश्नको जवाफ दिनुपर्छ?
३ तपाईंले राज्यको सुसमाचार घोषणा गर्नुहुँदा कसै-कसैले स्वागत गर्लान् तर प्रायजसो मानिसहरू भावशून्य हुनेछन्। (मत्ती २४:३७-३९) कसै-कसैले तपाईंको गिल्ला वा अपमान गर्लान्। येशूले यस्तो विरोध आफ्नै नातेदारहरूबाट आउन सक्छ भनेर चेतावनी दिनुभयो। (लूका २१:१६-१९) तपाईंको काम गर्ने ठाउँ वा स्कूलमा यस्तो विरोध आउन सक्छ। संसारका कुनै-कुनै भागमा यहोवाका साक्षीहरूमाथि सरकारी प्रतिबन्धसमेत लगाइएको छ। त्यस्ता परिस्थितिहरू आइपर्दा के तपाईं निडर भई परमेश्वरको वचनबारे बोल्दै “विश्वासमा दृढ” रहिरहनुहुनेछ?—१ कोरिन्थी १६:१३.
आफ्नै बलमा भर परेर होइन
४. (क) हामी परमेश्वरका विश्वासी सेवकहरू हौं भनी प्रमाणित गर्ने आधारभूत आवश्यकता के हो? (ख) मसीही सभाहरू किन अत्यन्तै महत्त्वपूर्ण छन्?
४ यहोवाका विश्वासी सेवक हुनुको आधारभूत पक्ष, उहाँले गर्नुभएका प्रबन्धहरूमा भर पर्नु हो। एउटा हो, मण्डलीका सभाहरू। धर्मशास्त्रले हामीलाई ती सभाहरूको बेवास्ता नगर्न आग्रह गर्छ। (हिब्रू १०:२३-२५) यहोवाका विश्वासी साक्षीहरूले सभाहरूमा सँगी उपासकहरूसित नियमित तवरमा उपस्थित हुन उत्कट प्रयास गरेका छन्। यी सभाहरूमा उपस्थित हुँदा धर्मशास्त्रसम्बन्धी हाम्रो ज्ञान बढ्छ। साथै, आफूलाई थाह भएको सत्य अझ राम्ररी बुझ्न सक्छौं अनि त्यो प्रयोग गर्ने तरिकाबारे हाम्रो सजगता अझ तीक्ष्ण हुन्छ। एकताबद्ध उपासनामा हामी आफ्ना मसीही भाइहरूसित अझ घनिष्ठ हुन्छौं र परमेश्वरको इच्छा गर्न बल पाउँछौं। यहोवाको आत्माले मण्डलीबाट निर्देशन प्रदान गर्छ अनि त्यही आत्मामार्फत येशू हाम्रो माझमा रहनुहुन्छ।—मत्ती १८:२०; प्रकाश ३:६.
५. यहोवाका साक्षीहरूको काम प्रतिबन्धित हुँदा सभाहरू कसरी सञ्चालन गरिन्छन्?
५ के तपाईं नियमित तवरमा सबै सभाहरूमा उपस्थित हुनुहुन्छ अनि के तपाईं त्यहाँ छलफल गरिने कुराहरू व्यक्तिगत जीवनमा लागू गर्नुहुन्छ? कहिलेकाहीं यहोवाका साक्षीहरूको काम प्रतिबन्धित हुँदा निजी घरमा स-सानो समूहमा सभा सञ्चालन गर्नुपर्ने हुन्छ। समय र ठाउँ फरक-फरक हुनुका साथै सधैं पायक नपर्ने हुन सक्छ अनि केही सभाहरू राती अबेला सञ्चालन हुन्छन्। तर व्यक्तिगत असुविधा वा खतराको बावजुद विश्वासी भाइबहिनीहरूले हरेक सभामा उपस्थित हुने भरसक प्रयास गर्छन्।
६. हामी यहोवामा आफ्नो भरोसा कसरी देखाउँछौं अनि यसले हामीलाई कसरी निडर भई बोलिरहन मदत गर्न सक्छ?
६ यहोवाको मदत चाहिन्छ भनेर मानिलिंदै सधैं उहाँलाई व्यग्र प्रार्थना गऱ्यौं भने उहाँमा अझ बढी भरोसा राख्न सक्छौं। के तपाईं त्यसो गर्नुहुन्छ? येशूले आफ्नो पार्थिव सेवकाईको दौडान बारम्बार प्रार्थना गर्नुभयो। (लूका ३:२१; ६:१२, १३; २२:३९-४४) अनि आफू काठमा झुण्ड्याइनुभन्दा अघिल्लो रात उहाँले आफ्ना चेलाहरूलाई यस्तो आग्रह गर्नुभयो: “जागा रह, औ प्रार्थना गर, र परीक्षामा नपर।” (मर्कूस १४:३८) राज्य सन्देशप्रति भावशून्य प्रतिक्रिया पायौं भने हामी सेवकाईमा अलि सुस्त हुन सक्छौं। मानिसहरूले हामीलाई गिल्ला गर्छन् वा सताउँछन् भने समस्याबाट बच्न चूपो लागेर बसौं जस्तो लाग्न सक्छ। तर हामी निडर भई बोलिरहने मदत पाउन परमेश्वरको आत्माको लागि उत्कट प्रार्थना गऱ्यौं भने, हामी यस्ता प्रलोभनहरूमा फस्नदेखि जोगिनेछौं।—लूका ११:१३; एफिसी ६:१८-२०.
निडर भई साक्षी दिएको विवरण
७. (क) प्रेरितको पुस्तकमा बताइएको विवरण किन हाम्रोलागि खास चासोको विषय हो? (ख) यस अनुच्छेदको अन्तमा दिइएका प्रश्नहरूको जवाफ दिनुहुँदा यो जानकारीले कसरी लाभ पुऱ्याउँछ, प्रकाश पार्नुहोस्।
७ प्रेरितको पुस्तकमा बताइएको विवरण हामी सबैको लागि खास चासोको विषय हो। यसले हाम्रा जस्तै भावनाहरू भएका प्रेरित तथा अन्य प्रारम्भिक चेलाहरूले अवरोधहरू पार गर्दै आफूलाई यहोवाका निडर तथा विश्वासी साक्षीहरू प्रमाणित गरेर देखाए भनी बताउँछ। आउनुहोस्, हामी निम्न प्रश्न तथा उद्धृत जवाफहरू केलाएर माथिको बुँदासित सम्बन्धित केही विवरण जाँचौं। यसो गर्दा हामीले व्यक्तिगत तवरमा कसरी लाभ उठाउन सक्छौं, विचार गर्नुहोस्।
के प्रेरितहरू एकदमै उच्च शिक्षा हासिल गरेका पुरुषहरू थिए? के तिनीहरू जस्तोसुकै अवस्था आइपरे तापनि स्वभावैले निर्भयी मानिसहरू थिए? (यूहन्ना १८:१७, २५-२७; २०:१९; प्रेरित ४:१३)
परमेश्वरको पुत्रलाई समेत निन्दा गरेको यहूदी महासभासामु निडर भई बोल्न पत्रुसलाई कुन कुराले मदत गऱ्यो? (मत्ती १०:१९, २०; प्रेरित ४:८)
यहूदी महासभामा ल्याइनुभन्दा हप्तौंअघिदेखि प्रेरितहरूले के गरिरहेका थिए? (प्रेरित १:१४; २:१, ४२)
शासकहरूले प्रेरितहरूलाई येशूको नाउँमा प्रचार गर्न बन्द गर्ने आदेश दिंदा पत्रुस र यूहन्नाले कस्तो जवाफ दिए? (प्रेरित ४:१९, २०)
मुक्त भएपछि प्रेरितहरूले मदतको लागि कसको मुख ताके? के तिनीहरूले सतावट बन्द होस् भनेर प्रार्थना गरे वा अरू नै कुरा मागे? (प्रेरित ४:२४-३१)
विरोधीहरूले प्रचारकार्य बन्द गर्न खोज्दा यहोवाले कसरी सहयोगको प्रबन्ध गर्नुभयो? (प्रेरित ५:१७-२०)
प्रेरितहरूले छुटकारा पाउनुको कारण बुझेका थिए भनेर कसरी देखाए? (प्रेरित ५:२१, ४१, ४२)
सतावटको कारण चेलाहरू तितरबितर हुँदासमेत तिनीहरूले के गर्न छोडेनन्? (प्रेरित ८:३, ४; ११:१९-२१)
८. प्रारम्भिक मसीहीहरूको सेवकाईबाट कस्ता रोमाञ्चकारी परिणाम प्राप्त भयो र हामी पनि यसमा कसरी मुछिन पुगेका छौं?
८ सुसमाचार प्रचार गर्ने कार्य बेकार गएन। सा.यु. ३३ पेन्तिकोसका दिन लगभग ३,००० चेलाले बप्तिस्मा लिए। “विश्वास गर्नेहरू झन् बढता गरी प्रभुमा थपिन लागे—लोग्नेमानिस र स्वास्नीमानिसहरू दुवैको भीड।” (प्रेरित २:४१; ४:४; ५:१४) समयको दौडान, परमेश्वरका जनहरूलाई क्रूर सतावट दिने, तर्सिसका शाऊलसमेत मसीही भए र निडर भई सत्यबारे साक्षी दिन थाले। तिनी पछि प्रेरित पावल भनेर चिनिए। (गलाती १:२२-२४) प्रथम शताब्दीमा सुरु भएको काम अझै बन्द भएको छैन। अहिले आखिरी दिनमा यो काम झनै तीव्र गतिमा पृथ्वीको सबै छेउसम्म पुगेको छ। हामीले यस कार्यमा भाग लिने सुअवसर पाएका छौं र यसो गर्दा हामीले अघिका विश्वासी साक्षीहरूले बसालेको उदाहरणबाट सिक्न सक्छौं।
९. (क) पावलले साक्षी दिने कस्ता मौकाहरूको सदुपयोग गरे? (ख) तपाईं अरूलाई कुन-कुन तरिकामा राज्य सन्देश सुनाउनुहुन्छ?
९ येशू ख्रीष्टबारे सत्य सिकेपछि पावलले के गरे? “तुरुन्तै तिनले . . . येशू परमेश्वरका पुत्र हुन् भनेर घोषणा गरे।” (प्रेरित ९:२०) तिनले परमेश्वरको अनुग्रहको मूल्यांकन गरे अनि आफूले सुनेको सुसमाचार सबैले सुन्नु जरुरी छ भनी बुझे। पावल एक जना यहूदी भएकोले त्यतिबेलाको चलनअनुसार तिनी साक्षी दिन सभाघरहरूमा जाने गर्थे। तिनी घर-घरमा प्रचार गर्नुका साथै बजारमा मानिसहरूसित बहस गर्थे। तिनी सुसमाचार प्रचार गर्नको लागि नयाँ इलाकाहरूमा बसाइँ सर्न इच्छुक थिए।—प्रेरित १७:१७; २०:२०; रोमी १५:२३, २४.
१०. (क) पावल निडर भए तापनि साक्षी दिने तरिकामा विवेकी थिए भनेर कसरी देखाए? (ख) हामीले नातेदार, सहकर्मी वा सहपाठीहरूलाई साक्षी दिंदा पावलको गुण कसरी झल्काउन सक्छौं?
१० पावल निडर हुनुका साथै विवेकी पनि थिए अनि हामी पनि त्यस्तै हुनुपर्छ। यहूदीहरूलाई तिनले उनीहरूका पितापुर्खालाई परमेश्वरले गर्नुभएको प्रतिज्ञाको आधारमा आग्रह गरे। युनानीहरूसित कुरा गर्दा तिनीहरूलाई थाह भएकै विषयमा कुरा गरे। कहिलेकाहीं तिनले आफूले सत्य सिकेको व्यक्तिगत अनुभवबारे बताएर साक्षी दिए। तिनले भने: “म त्यसको सम्भागी होऊँ भनेर सुसमाचारको खातिर सब थोक गर्दछु।”—१ कोरिन्थी ९:२०-२३; प्रेरित २२:३-२१.
११. (क) विरोधीहरूसित अनावश्यक टक्कर नलिन पावलले के गरे? (क) हामीले पावलको उदाहरण कहिले बुद्धिमानीपूर्वक अनुकरण गर्न सक्छौं र कसरी? (ग) निर्भयी भई बोलिरहने बल हामी कहाँबाट पाउँछौं?
११ विरोधको कारण अर्कै इलाकामा प्रचार गर्नु बेस देखिंदा पावलले विरोधीहरूसित अनावश्यक टक्कर लिनुको साटो नयाँ इलाकामा गए। (प्रेरित १४:५-७; १८:५-७; रोमी १२:१८) तर तिनी सुसमाचारसँग कहिल्यै शर्माएनन्। (रोमी १:१६) पावललाई विरोधीहरूको अपमानजनक अनि हिंस्रक व्यवहार ज्यादै अशिष्ट लागे तापनि तिनी “परमेश्वरमा . . . निर्भयी” भएर प्रचार गरिरहे। तिनले यसो भने: “मद्वारा प्रचार होस्, . . . भनेर प्रभु मेरो साथमा खडा हुनुभयो, र मलाई खूब बलियो तुल्याउनुभयो।” (१ थिस्सलोनिकी २:२; २ तिमोथी ४:१७) मसीही मण्डलीको शिर, येशूले हामीलाई उहाँले भविष्यवाणी गर्नुभएको कार्य गर्न थप बल दिनुहुन्छ।—मर्कूस १३:१०.
१२. मसीही निडरताको प्रमाण कुन कुराले दिन्छ र यसको आधार के हो?
१२ येशू र परमेश्वरका विश्वासी सेवकहरूले प्रथम शताब्दीमा निडर भई बोलेझैं हामीले पनि परमेश्वरको वचनबारे बोलिरहने ठोस कारण छ। यसको मतलब अरूको पर्वाह नगर्ने वा सुन्न नचाहनेहरूलाई जबरजस्ती गर्नु भनेको होइन। तर मानिसहरू भावशून्य हुँदैमा हामी हरेस खाँदैनौं नता विरोधीहरूको कारण चूपो लाग्छौं। येशूले जस्तै हामी पनि पृथ्वीको लागि उचित सरकार परमेश्वरको राज्य हो भनेर देखाउँछौं। हामी निर्धक्क भएर बोल्छौं किनभने हामी सार्वभौम सत्ताधारी, यहोवाको प्रतिनिधित्व गर्छौं र हामीले बताउने सन्देश हाम्रो आफ्नै नभई, उहाँको हो। अनि यहोवाप्रति हाम्रो प्रेम नै उहाँको प्रशंसा गर्ने बलियो उत्प्रेरणा हुनुपर्छ।—फिलिप्पी १:२७, २८, १ थिस्सलोनिकी २:१३.
पुनरावृत्ति छलफल
• यथासम्भव सबैलाई राज्य सन्देश सुनाउनु किन महत्त्वपूर्ण छ तर हामी कस्तो प्रतिक्रिया आशा गर्न सक्छौं?
• हामी यहोवाको सेवा गर्न आफ्नै बलमा भर पर्दैनौं भनेर कसरी देखाउन सक्छौं?
• प्रेरितको पुस्तकबाट हामी कस्ता मूल्यवान् पाठहरू सिक्न सक्छौं?
[पृष्ठ १७३-मा भएको चित्र]
विगतमा जस्तै अहिले पनि यहोवाका सेवकहरू निडर भई परमेश्वरको वचनबारे बताउँछन्