अध्याय १७
यहोवाको सङ्गठनसित नजिक हुनुहोस्
चेला याकुबले यस्तो लेखे: “परमेश्वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।” (याकु. ४:८) यहोवा हाम्रो प्रार्थना सुन्नै नसक्नेगरि टाढा अथवा उच्च स्थानमा हुनुहुन्न। हामी त्रुटिपूर्ण भए तापनि उहाँ हाम्रो प्रार्थना सुन्नुहुन्छ। (प्रेषि. १७:२७) हामी कसरी परमेश्वरसित नजिक हुन सक्छौँ? व्यग्र प्रार्थना गरेर हामी उहाँसित नजिक हुन सक्छौँ। (भज. ३९:१२) परमेश्वरको वचन बाइबल नियमित रूपमा अध्ययन गरेर पनि उहाँसित नजिक हुन सक्छौँ। यसो गर्दा हामी उहाँलाई चिन्न सक्छौँ, उहाँको उद्देश्य थाह पाउन सक्छौँ र उहाँ हामीले के गरेको चाहनुहुन्छ भनेर बुझ्न सक्छौँ। (२ तिमो. ३:१६, १७) परिणामस्वरूप हामी यहोवालाई माया गर्न थाल्छौँ र उहाँको चित्त दुखाउने काम गर्नदेखि डराउँछौँ।—भज. २५:१४.
२ तर यहोवा परमेश्वरसित नजिकको सम्बन्ध गाँस्न उहाँको छोरा येसुमार्फत मात्रै सम्भव छ। (युह. १७:३; रोमी ५:१०) यहोवाको सोचाइ र भावना बुझ्न येसुले हामीलाई जे-जति मदत गर्नुभयो, त्यति त अरू कसैले गर्न सक्दैन। उहाँ बुबासित असाध्यै घनिष्ठ हुनुहुन्थ्यो। त्यसैले त उहाँले यसो भन्न सक्नुभयो: “छोरालाई बुबाले बाहेक अरू कसैले चिन्दैन। त्यसैगरि बुबालाई छोराले अनि ती मानिसहरूले मात्र चिन्छन्, जसलाई छोराले प्रकट गर्न चाहन्छ।” (लुका १०:२२) त्यसैले सुसमाचारका किताबहरूबाट येसुको सोचाइ तथा भावनाबारे सिक्दा वास्तवमा हामीले यहोवाको सोचाइ अनि भावनाबारे सिकिरहेका हुन्छौँ। यस्तो ज्ञानले हामीलाई परमेश्वरसित अझ नजिक हुन मदत गर्छ।
३ येसुको शिरत्वको अधीनमा बस्दै परमेश्वरको इच्छाबमोजिम गर्न सिकाउने उहाँको सङ्गठनको दृश्य भागको नजिक रहेर हामी यहोवासित घनिष्ठ सम्बन्ध गाँस्न सक्छौँ। मत्ति २४:४५-४७ मा भविष्यवाणी गरिएझैँ हाम्रो मालिक येसु ख्रिष्टले विश्वासको घरानालाई “ठीक समयमा भोजन” दिन “विश्वासी र बुद्धिमान् दास” नियुक्त गर्नुभएको छ। अहिले यस “दास”-ले प्रशस्त मात्रामा आध्यात्मिक भोजन दिइरहेको छ। यही दासलाई चलाएर यहोवा हामीलाई दिनहुँ उहाँको वचन पढ्न, सभाहरूमा नियमित रूपमा जान अनि प्रभावकारी तरिकामा ‘राज्यको सुसमाचार’ प्रचार गर्न सल्लाह दिनुहुन्छ। (मत्ति २४:१४; २८:१९, २०; यहो. १:८; भज. १:१-३) हामीले विश्वासी दासप्रति सधैँ यहोवाको जस्तै दृष्टिकोण राख्नुपर्छ। उहाँको सङ्गठनको दृश्य भागसित नजिक हुने कोसिस गर्नुपर्छ र सङ्गठनले दिने निर्देशन पालन गर्नुपर्छ। यसो गरेर हामी परमेश्वरसित अझ नजिक हुन सक्छौँ अनि परीक्षा आउँदा बलियो र सुरक्षित रहन सक्छौँ।
परीक्षाहरू किन बढ्दै छ?
४ सायद तपाईँ यहोवाको साक्षी हुनुभएको धेरै वर्ष भइसक्यो। त्यसो हो भने तपाईँले पक्कै पनि सत्यनिष्ठा कायम राख्न कस्ता परीक्षाहरू सहनुपर्छ भनेर अनुभव गर्नुभएको छ होला। तर तपाईँले यहोवालाई चिनेको र उहाँका मानिसहरूसित सङ्गत गर्न थालेको धेरै भएको छैन भने पनि यहोवाको अधीनमा बस्न चाहनेजति सबैलाई सैतानले खेदो गर्छ भनेर थाह पाउनुभएको छ। (२ तिमो. ३:१२) जस्तोसुकै परीक्षा भोग्नुपरे पनि डराउनुपर्ने वा निराश हुनुपर्ने कुनै कारण छैन। यहोवाले तपाईँलाई सम्हाल्ने अनि इनामस्वरूप छुटकारा र अनन्त जीवन दिने प्रतिज्ञा गर्नुभएको छ।—हिब्रू १३:५, ६; प्रका. २:१०.
५ सैतानको संसारको यस आखिरी समयमा हामीले अझै कठिन परीक्षाहरू सामना गर्नुपर्नेछ। सन् १९१४ मा परमेश्वरको राज्य स्थापित भएपछि सैतानलाई स्वर्गमा जान दिइएको छैन। त्यसलाई तल पृथ्वीमा हुर्ऱ्याइएको छ र त्यो अहिले दुष्ट स्वर्गदूतहरूसहित पृथ्वीमै छ। सैतान असाध्यै रिसाएको छ। त्यसैले पृथ्वीमा एकपछि अर्को गर्दै विपत्तिहरू बढेको छ अनि यहोवाका समर्पित सेवकहरूमाथि खेदोको बाढी आएको छ। यी सबै घटना सैतानको शासनको अन्त हुनै लागेको छ भन्ने कुराको प्रमाण हो।—प्रका. १२:१-१२.
६ आफूलाई पृथ्वीमा हुर्ऱ्याइएको कारण सैतान रिसले आगो भएको छ। त्यसलाई आफ्नो समय थोरै मात्र बाँकी छ भनेर थाह छ। त्यसैले प्रेतहरूसित मिलेर सैतान प्रचारकार्यमा बाधा पुऱ्याउन अनि यहोवाका जनहरूको एकता तोड्न जोडतोडले लागेको छ। त्यसैले हामीले आध्यात्मिक युद्ध लड्नुपरेको छ, जसबारे बाइबलमा यस्तो लेखिएको छ: “यो लडन्त मानिसहरूसित होइन तर सरकारहरूसित, अख्तियारवालाहरूसित, यस अन्धकार संसारका शासकहरूसित अनि स्वर्गका दुष्ट दूतहरूका दलसित हो।” यहोवाको पक्ष लिएर यस युद्धमा विजयी हुन चाहन्छौँ भने हामीले कहिल्यै हार मान्नु हुँदैन। बरु परमेश्वरले दिनुभएको सम्पूर्ण हातहतियार धारण गर्नुपर्छ। हामी दियाबलका “दाउपेचहरूविरुद्ध दृढ भई खडा” हुनुपर्छ। (एफि. ६:१०-१७) यसको लागि हामी सहनशील हुनु आवश्यक छ।
सहनशील हुनुहोस्
७ “दुःख, आपत्विपत्, अपमान आदि सहन सक्ने” व्यक्तिलाई सहनशील व्यक्ति भनिन्छ। ख्रिष्टियन सहनशीलता भनेको हाम्रो सत्यनिष्ठालाई तोड्न जस्तोसुकै कठिनाइ, विरोध, खेदोजस्ता परीक्षाहरू आए तापनि जे सही छ, त्यो गर्न दृढ हुनु हो। यस्तो किसिमको गुण आफसेआफ आउँदैन। हामीले यो गुण विकास गर्नुपर्छ। सहनशील हुन समय लाग्छ। आध्यात्मिक रूपमा जति उन्नति गर्दै गयौँ, त्यति नै सहनशील हुन सिक्नेछौँ। यहोवालाई आफ्नो जीवन समर्पण गरेदेखि नै हामीले सानातिना परीक्षाहरूको सामना गर्नुपर्छ। यस्ता परीक्षाहरू सह्यौँ भने हामी झन्झनै बलियो हुँदै जानेछौँ र भविष्यमा जस्तोसुकै परीक्षा आए तापनि सहन सक्नेछौँ। (लुका १६:१०) विश्वासमा दृढ रहनको लागि ठूलठूलो परीक्षाको सामना गर्नै पर्छ भन्ने छैन। परीक्षा आउनुअघि नै हामीले वफादार रहने अठोट गरिसकेको हुनुपर्छ। अन्य असल गुणहरूका साथै सहनशीलता देखाउन पनि प्रयास गर्नुपर्छ भन्ने कुरालाई जोड दिँदै प्रेषित पत्रुसले यस्तो लेखे: “तिमीहरू पनि भरमग्दुर प्रयत्न गर्दै तिमीहरूको विश्वासमा सद्गुण, तिमीहरूको सद्गुणमा ज्ञान, तिमीहरूको ज्ञानमा आत्मसंयम, तिमीहरूको आत्मसंयममा सहनशीलता, तिमीहरूको सहनशीलतामा परमेश्वरको भक्ति, परमेश्वरको भक्तिमा भ्रातृस्नेह, तिमीहरूको भ्रातृस्नेहमा प्रेम थप्दै जाओ।”—२ पत्रु. १:५-७; १ तिमो. ६:११.
परीक्षाको डटेर सामना गर्दा हाम्रो सहनशीलता पनि बढ्दै जान्छ
८ सहनशीलता देखाउनु कति महत्त्वपूर्ण छ भन्नेबारे याकुबले आफ्नो पत्रमा यस्तो लेखे: “हे मेरा भाइ हो, विभिन्न किसिमको परीक्षा आइपर्दा तिमीहरू यसलाई निकै खुसीको कुरा सम्झ किनकि तिमीहरूलाई थाहै छ कि यसरी जाँचिएको तिमीहरूको विश्वासले सहनशीलता उत्पन्न गराउँछ। तर सहनशीलतालाई त्यसको काम पूरा गर्न देओ, तब तिमीहरू हरक्षेत्रमा पूर्ण र दोषरहित हुनेछौ अनि तिमीहरूमा कुनै कुराको अभाव हुनेछैन।” (याकु. १:२-४) याकुबले भनेझैँ परीक्षा आइपर्दा ख्रिष्टियनहरू खुसी हुनुपर्छ किनकि परीक्षाले सहनशीलता उत्पन्न गराउँछ। के तपाईँ परीक्षा आउँदा यस्तै सोच्नुहुन्छ? त्यसपछि याकुबले सहनशीलतालाई त्यसको पूरा काम गर्न दिनुपर्छ भनी बताए किनकि सहनशीलताले हाम्रो ख्रिष्टियन व्यक्तित्वलाई अझै निखार्छ। अनि हामी यहोवाको नजरमा पूरै ग्रहणयोग्य हुन सक्छौँ। परीक्षाको डटेर सामना गर्दा हाम्रो सहनशीलता पनि बढ्दै जान्छ। त्यसपछि सहनशीलताले हामीलाई अन्य गुणहरू विकास गर्न मदत गर्छ।
९ हामी सहनशील भयौँ भने यहोवा खुसी हुनुहुनेछ। अनि उहाँले हामीलाई इनामस्वरूप अनन्त जीवन दिनुहुनेछ। याकुबले अझै यसो भने: “आनन्दित हो त्यो मानिस, जसले परीक्षा सहिरहन्छ किनकि सफलतापूर्वक परीक्षाको सामना गरेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन मुकुट यहोवा परमेश्वरले उहाँलाई प्रेम गरिरहनेहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको छ।” (याकु. १:१२) भविष्यमा पाइने अनन्त जीवनको इनामलाई मनमा राख्दै हामी परीक्षा सहन्छौँ। सहनशील छैनौँ भने सत्यमा अडिग भइरहन सक्दैनौँ। संसारबाट आउने दबाबहरूसामु घुँडा टेक्यौँ भने हामी संसारमै फर्केर जानेछौँ। सहनशील भएनौँ भने यहोवाको पवित्र शक्ति पाउनेछैनौँ अनि पवित्र शक्तिको फलका पक्षहरू विकास गर्न सक्नेछैनौँ।
१० अहिलेको यस कठिन समयमा सहनशील भइरहने हो भने हामीले परीक्षाप्रति सही दृष्टिकोण राख्नु आवश्यक छ। याकुबले परीक्षा सहनुलाई “खुसीको कुरा सम्झ” भने। शारीरिक यातना खप्नुपर्दा वा भावनात्मक पीडा सहनुपर्दा भने यस्तो मनोभाव कायम राख्न सजिलो नहोला। तर नबिर्सनुहोस्, भविष्यमा हामीले पाउने अनन्त जीवन अहिले हामी सहनशील हुनु वा नहुनुमा निर्भर छ। प्रेषितहरूको अनुभव पढ्दा आफूले भोगिरहेको दुःखमा पनि रमाउन सक्ने कारण भेट्टाउँछौँ। प्रेषितको किताबमा पाइने यो विवरण विचार गर्नुहोस्: “तिनीहरूले . . . प्रेषितहरूलाई बोलाएर कोर्रा लगाए र येसुको नाममा बोल्दै नबोल्नू भन्ने आदेश दिएर उनीहरूलाई छोडिदिए। तब उहाँको नाममा अपमान सहन योग्य ठहरिएकोमा रमाउँदै उनीहरू यहुदी न्यायपरिषद्को सामुन्नेबाट निस्केर आफ्नो बाटो लागे।” (प्रेषि. ५:४०, ४१) येसुको नाममा दुःख भोग्नु भनेको येसुको आज्ञा पालन गरेको र यहोवाको अनुमोदन पाएको कुराको प्रमाण हो भनेर प्रेषितहरूले बुझेका थिए। यस घटनाको वर्षौँपछि पत्रुसले आफ्नो पहिलो पत्रमा धार्मिकताको खातिर दुःख भोग्दा कस्तो फाइदा हुन्छ भनेर बताए।—१ पत्रु. ४:१२-१६.
११ पावल र सिलासको अनुभव पनि विचार गर्नुहोस्। फिलिप्पिमा सुसमाचार प्रचार गर्दा उनीहरू पक्राउ परे। उनीहरूलाई सहरमा खलबली मच्चाएको अनि गैरकानुनी रीतिथिति सिकाएको आरोप लगाइयो। नतिजा? सिपाहीहरूले उनीहरूलाई पिट्नुसम्म पिटे अनि झ्यालखानामा जाकिदिए। झ्यालखानामा कसैले उनीहरूलाई मलहमपट्टी लगाइदिएन। तैपनि “मध्यराततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरको स्तुतिगान गाइरहेका थिए र अरू कैदीले पनि सुनिरहेका थिए” भनी बाइबल बताउँछ। (प्रेषि. १६:१६-२५) पावल र सिलासले ख्रिष्टको नाममा भोगेको दुःखलाई परमेश्वर अनि मानिसहरूसामु आफू सत्यनिष्ठ छु भन्ने प्रमाणको रूपमा मात्र लिएनन्; बरु सुसमाचार सुन्न चाहने मानिसहरूलाई साक्षी दिने मौकाको रूपमा पनि लिए। यसरी साक्षी दिँदा अरूले पनि अनन्त जीवनको आशा पाउन सक्थे। नभन्दै त्यसै रात झ्यालखानाको हाकिम र तिनको परिवार येसुको चेला बने। (प्रेषि. १६:२६-३४) पावल र सिलासले यहोवामा भरोसा राखे। साथै उहाँले सङ्कष्टको बेला मदत गर्न सक्नुहुन्छ र उहाँसित त्यसो गर्ने इच्छा पनि छ भन्ने कुरामा उनीहरू विश्वस्त थिए। उनीहरूको यहोवामाथिको भरोसा खेर गएन।
१२ हामी पनि परीक्षाको बेला अटल रहन सकौँ भनेर यहोवाले हामीलाई आवश्यक सबै कुराको प्रबन्ध गरिदिनुभएको छ। उहाँ हामी सहनशील भएको चाहनुहुन्छ। उहाँले हामीलाई आफ्नो प्रेरित वचन दिनुभएको छ, जसबाट उहाँको उद्देश्यबारे सही ज्ञान थाह पाउन सक्छौँ। यस्तो ज्ञानले हाम्रो विश्वास बलियो बनाउँछ। यहोवाले हामीलाई ख्रिष्टियन दाजुभाइ दिदीबहिनीसित सङ्गत गर्ने अनि उहाँलाई पवित्र सेवा चढाउने मौका दिनुभएको छ। साथै प्रार्थना गरेर उहाँसित घनिष्ठ सम्बन्ध कायम राख्ने सुअवसर पनि दिनुभएको छ। प्रार्थनामा हामी यहोवाको प्रशंसा गर्न सक्छौँ र उहाँसितको सम्बन्ध राम्रो बनाइराख्न मदत दिनुहोस् भनेर व्यग्र बिन्ती गर्न सक्छौँ। (फिलि. ४:१३) यसबाहेक हामीसामु राखिएको आशाबारे मनन गर्दा पनि सहनशील हुने बल पाउँछौँ।—मत्ति २४:१३; हिब्रू ६:१८; प्रका. २१:१-४.
विभिन्न किसिमको परीक्षामा पर्दा सहनशील हुनुहोस्
१३ हामीले भोग्ने परीक्षाहरू सुरु-सुरुका ख्रिष्टियनहरूले भोगेको परीक्षाहरूसँग मिल्दोजुल्दो छ। अरूको लहलहैमा लागेर थुप्रैले यहोवाका साक्षीहरूमाथि मौखिक अनि शारीरिक दुर्व्यवहार गरेका छन्। प्रेषितहरूको समयमा जस्तै आज हामीले पनि धार्मिक कट्टरपन्थीहरूले गर्दा धेरै विरोध सहनुपरेको छ। तिनीहरू मानिसहरूलाई हाम्रो खेदो गर्न उक्साउँछन् किनभने तिनीहरूको झूटो शिक्षा अनि प्रचलनहरू बाइबलमा उदाङ्ग पारिएको छ। (प्रेषि. १७:५-९, १३) यस्तो अवस्थामा यहोवाका जनहरूले आफ्नो मौलिक अधिकारको सहारा लिएका छन्। (प्रेषि. २२:२५; २५:११) तर सरकारहरूले पनि हाम्रो काममा प्रतिबन्ध लगाएर प्रचारकार्य रोक्ने कोसिस गरेका छन्। (भज. २:१-३) यस्तो बेला हामी निडर भई ती वफादार प्रेषितहरूको अनुकरण गर्छौं, जसले यसो भने: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा मान्नै पर्छ।”—प्रेषि. ५:२९.
१४ संसारभरि देशभक्तिको भाव बढ्दै छ। त्यसैले सुसमाचारका प्रचारकहरूले झन्झनै धेरै परमेश्वरले दिनुभएको जिम्मेवारी पूरा गर्नदेखि रोक्ने दबाबहरूको सामना गरिरहेका छन्। परमेश्वरका सेवकहरूले प्रकाश १४:९-१२ मा “जङ्गली जनावर र त्यसको मूर्तिको” उपासना गर्नेहरूको सन्दर्भमा दिइएको चेतावनी अझ राम्ररी बुझेका छन्। हामीले युहन्नाका यी शब्दहरूअनुसारै गर्नु जरुरी भएको छ: “परमेश्वरका आज्ञाहरू पालन गर्ने र येसुमाथिको विश्वासलाई पक्रिराख्ने पवित्र जनहरूले सहनशीलता देखाउनुपर्ने यस्तै बेला हो।”
१५ युद्ध, आन्दोलन, खेदो, सरकारी प्रतिबन्ध र अरू कारणले गर्दा खुल्लमखुल्ला यहोवाको उपासना गर्न असम्भव हुन सक्छ। मण्डलीको रूपमा भेला हुन असम्भव हुन सक्छ। शाखा कार्यालयसित सम्पर्क टुट्न सक्छ। क्षेत्रीय निरीक्षकको भ्रमण स्थगित हुन सक्छ। प्रकाशनहरू प्राप्त गर्न नसकिने हुन सक्छ। यस्ता अवस्थाहरू आए भने तपाईँले के गर्नुपर्छ?
१६ परिस्थितिलाई विचार गर्दै आफूले गर्न सक्ने जति गर्नुहोस्। तपाईँ व्यक्तिगत अध्ययन गर्न सक्नुहुन्छ। कोही दाजुभाइ वा दिदीबहिनीको घरमा सानो समूहमा भेला भएर सभा गर्न सकिन्छ। पहिला अध्ययन गरिसकेको प्रकाशन अथवा बाइबल मात्र चलाएर सभा सञ्चालन गर्न सकिन्छ। नअतालिनुहोस् अनि ज्यादै चिन्तित नहुनुहोस्। धेरैजसो अवस्थामा परिचालक निकायले छोटो समयमै कुनै न कुनै तरिकामा जिम्मेवार भाइहरूसित सम्पर्क राख्न सक्छ।
१७ ख्रिष्टियन दाजुभाइ दिदीबहिनीसित सङ्गतै गर्न पाउनुभएन भने नि? यहोवा अनि उहाँको छोरा येसु ख्रिष्ट सधैँ तपाईँको साथमा हुनुहुन्छ भनेर नबिर्सनुहोस्। तपाईँको ख्रिष्टियन आशा कसैले खोस्न सक्दैन। यस्तो अवस्थामा पनि यहोवा तपाईँको प्रार्थना सुन्न सक्नुहुन्छ र पवित्र शक्ति दिएर तपाईँलाई बलियो बनाउन सक्नुहुन्छ। त्यसैले प्रार्थना गरेर उहाँको डोऱ्याइ खोज्नुहोस्। नबिर्सनुहोस्, तपाईँ यहोवाको सेवक अनि येसु ख्रिष्टको चेला हुनुहुन्छ। त्यसैले मौका पाउनेबित्तिकै साक्षी दिनुहोस्। यहोवाले तपाईँको यस्तो प्रयासमा आशिष् दिनुहुनेछ र अरू मानिसहरूले पनि तपाईँसँगै मिलेर साँचो उपासना गर्न पाउनेछन्।—प्रेषि. ४:१३-३१; ५:२७-४२; फिलि. १:२७-३०; ४:६, ७; २ तिमो. ४:१६-१८.
१८ प्रेषितहरू र अरूलाई जस्तै तपाईँलाई पनि ज्यान मार्ने धम्की आउन सक्छ। त्यस्तो बेला “मरेकाहरूलाई ब्युँताउनुहुने परमेश्वरमाथि” भरोसा राख्नुहोस्। (२ कोरि. १:८-१०) फेरि जीवित हुने आशाले घोर विरोध आउँदा पनि सहनशील हुन मदत गर्छ। (लुका २१:१९) यस सन्दर्भमा येसु ख्रिष्ट राम्रो उदाहरण हुनुहुन्छ। परीक्षाको बेला आफू वफादार रहेमा अरूले पनि सहने बल पाउनेछ भनेर उहाँलाई थाह थियो। त्यसैगरि तपाईँ पनि आफ्ना दाजुभाइ दिदीबहिनीको लागि प्रोत्साहनको स्रोत हुन सक्नुहुन्छ।—युह. १६:३३; हिब्रू १२:२, ३; १ पत्रु. २:२१.
१९ खेदो अनि विरोधको साथै अन्य किसिमको कठिनाइ पनि सहनुपर्ने हुन सक्छ। उदाहरणको लागि, कोही-कोही शारीरिक वा भावनात्मक रोगसित लड्दै छन्। कोहीचाहिँ मानिसहरूले सुसमाचारमा फिटिक्कै चासो नदेखाएकोले निराश भएका छन्। अनि कोहीचाहिँ मानव कमीकमजोरीले निम्त्याउने समस्याहरूको सामना गर्दै छन्। प्रेषित पावलले पनि एक किसिमको परीक्षा भोग्नुपरेको थियो, जसले गर्दा तिनको सेवाको काममा बाधा पुगेको थियो र त्यसले तिनलाई बेलाबेलामा दुःख दिन्थ्यो। (२ कोरि. १२:७) फिलिप्पिका एक ख्रिष्टियन भाइ इपाफ्रोडाइटस आफू “बिरामी परेको खबर” साथीहरूले सुनेकोले ‘निराश भएका थिए।’ (फिलि. २:२५-२७) हाम्रो आफ्नै अथवा अरूको कमीकमजोरीले गर्दा हुने कुनै-कुनै समस्या सहनै गाह्रो हुन सक्छ। फरक-फरक व्यक्तित्वले गर्दा ख्रिष्टियन दाजुभाइ दिदीबहिनीसित अथवा आफ्नै परिवारका सदस्यहरूसित पनि मनमुटाव हुन सक्छ। तर यहोवाको वचनले दिने सल्लाह पालन गरेर सहने बल पाउन सक्छौँ र यस्ता समस्याहरूको समाधान गर्न सक्छौँ।—इज. २:३-५; १ कोरि. ९:२७; १३:८; कल. ३:१२-१४; १ पत्रु. ४:८.
वफादार भइरहने अठोट गर्नुहोस्
२० यहोवाले मण्डलीको शिरको रूपमा नियुक्त गर्नुभएको येसु ख्रिष्टप्रति हामी वफादार हुनुपर्छ। (कल. २:१८, १९) “विश्वासी र बुद्धिमान् दास” अनि निरीक्षकको रूपमा नियुक्त भएका भाइहरूसित मिलेर काम गर्नु पनि आवश्यक छ। (हिब्रू १३:७, १७) परमेश्वरको सङ्गठनले गरेको प्रबन्धहरूअनुरूप चलेर अनि नेतृत्व लिने भाइहरूलाई सहयोग गरेर हामी परमेश्वरको इच्छाबमोजिम गर्न सङ्गठित हुन सक्छौँ। यहोवालाई प्रार्थना गर्ने सुअवसरको पनि पूरापूर सदुपयोग गर्नुपर्छ। नबिर्सनुहोस्, चाहे हामी झ्यालखानामा परौँ या एकल काराबासमा, कुनै कुराले हामीलाई स्वर्गमा हुनुहुने मायालु बुबासित कुरा गर्नदेखि रोक्न सक्दैन न त हाम्रो एकता नै तोड्न सक्छ।
२१ फेरि जीवित हुनुभएका येसु ख्रिष्टले आफ्ना अनुयायीहरूलाई यस्तो आज्ञा दिनुभयो: “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ; तिनीहरूलाई बुबा, छोरा र पवित्र शक्तिको नाममा बप्तिस्मा गराओ अनि मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।” (मत्ति २८:१९, २०) हामी पनि येसुजस्तै सहनशील होऔँ। परमेश्वरको राज्य अनि अनन्त जीवनको आशालाई सधैँ मनमा राखौँ। (हिब्रू १२:२) बप्तिस्मा गरेको ख्रिष्टियनको रूपमा “यस युगको आखिरी समय”-बारे येसुले गर्नुभएको भविष्यवाणी पूरा गर्ने काममा हामीले पनि भाग लिने सुअवसर पाएका छौँ। उहाँले यसो भन्नुभएको थियो: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।” (मत्ति २४:३, १४) हामी पूरा तनमनले यस काममा लाग्यौँ भने यहोवाले प्रतिज्ञा गर्नुभएको धार्मिक नयाँ संसारमा अनन्त जीवन पाउनेछौँ!