यहोवाको आदर गर्नु—किन र कसरी?
“मलाई आदर गर्नेलाई म आदर गर्नेछु, र मलाई तिरस्कार गर्नेहरू तुच्छ ठानिनेछन्।”—१ शमूएल २:३०.
१. नोबेल पुरस्कारहरू कस-कसलाई, कुन कुन कुराका निम्ति प्रदान गरिन्छ र धेरैले यी पुरस्कारहरूलाई कुन दृष्टिकोणले हेर्दछन्?
“अघिल्लो वर्षमा मानव जातिका लागि सबै भन्दा ठूलो उपकार गरेका” व्यक्तिहरूलाई प्रत्येक वर्ष स्केन्डीनेव्याका चारवटा प्रतिष्ठानहरूले नोबेल पुरस्कार प्रदान गर्ने गर्दछन्। ती पुरस्कारहरू छ वटा भिन्न-भिन्न क्षेत्रहरूमा गरिएका प्रयासमा सफलता प्राप्त गरिएका निम्ति दिइन्छन्। धेरैको विचारमा यो नोबेल पुरस्कार, एक जना मानिसलाई प्रदान गर्न सकिने सबै भन्दा महान आदर हो।
२. नोबेल पुरस्कारहरू प्रदान गर्नेहरूले कसको उपेक्षा गर्दछन् र उहाँ नै विशेषरूपमा आदरको योग्य किन हुनु हुन्छ?
२ योग्य मानिसहरूलाई आदर गर्नुमा केही खराबी न भएता पनि, यस प्रकारको आदर प्रदान गर्नेहरूले के मानव जातिका सबै भन्दा महान उपकारकलाई आदर गर्ने विषयमा कहिले विचार गर्छन् र? उहाँ उही उपकारक हुनु हुन्छ जसले प्रायः ६,००० वर्ष अघि, प्रथम पुरुष र स्त्रीको सृष्टि देखिन्, मानव जातिका निम्ति अनगन्ती उपाकारका कार्यहरू गरी दिनु भएको छ। उहाँको आदर गर्न यसरी बारम्बार बिर्सने बानीले हामीलाई प्राचीन कालका अय्यूबको एक जना मित्र, एलीहूका यी शब्दहरूको सम्झना गराउँदछ: “तर तिनीहरूमध्येका कसैले पनि यसो भनेर सोद्धैनन्, ‘राती पनि रक्षा गर्नुहुने मेरा सृष्टिकर्त्ता कहाँ हुनुहुन्छ?’” (अय्यूब ३५:१०) हाम्रा महान उपकारकले ‘स्वर्गबाट पानीको झरी र फल फल्ने ऋतु’ दिनु भएको छ र हाम्रा हृदयलाई ‘खुराक र आनन्दले’ भरिदिनु भएर भलाइ गरिनै रहनु हुँदैछ। (प्रेरित १४:१६, १७; मत्ती ५:४५) यहोवा वास्तवमा “हरेक असल दान र हरेक असल वरदानको” दाता हुनु हुन्छ।—याकूब १:१७.
आदर दिनुको अर्थ के हो?
३. हिब्रू र युनानी मूल शब्दहरू के हुन् जसलाई “आदर” भनी अनुबाद गरिएका छन् र तिनीहरूको अर्थ के हो?
३ आदर शब्दका लागि प्रयोग गरिएको हिब्रू शब्द का-वोध को शाब्दिक अर्थ “वजनदार” हो। यसकारण, आदर पाउने व्यक्तिलाई वजनदार, प्रभावशाली अथवा केही महत्त्व भएको ठानिन्छ। यो हिब्रू शब्द का-वोधलाई शास्त्रमा अकसर “महिमा” भनेर पनि अनुबाद गरिएको हुनाकारण, आदर पाउने व्यक्ति कतिको प्रभावशाली अथवा महत्त्वपूर्ण हो भन्ने कुरा पनि यसबाट बोध हुँदछ। “आदर” भनेर शास्त्रमा अनुबाद गरिएको एउटा अर्को हिब्रू शब्द ये-कारलाई “बहुमूल्य” र “बहुमूल्य चीजहरू” भनेर पनि प्रस्तुत गरिन्छ। त्यस कारण, हिब्रू शास्त्रमा, आदर भन्ने शब्द महिमा र मूल्यवान हुनुसँग सम्बन्धित छ। बाइबलमा “आदर” भनेर अनुबाद गरिएको युनानी शब्द टि-मे हो र यसबाट पनि सम्मान, मोल र बहुमूल्य हुनुको भाव प्रकट हुँदछ।
४, ५. (क) एक जना व्यक्तिलाई आदर प्रदान गर्नुको अर्थ के हो? (ख) एस्तर ६:१-९ मा उल्लेखित कुन परिस्थितिले आदर प्रदान गर्नुमा के कस्तो कुरा विथोलित हुन्छ भनी देखाउँदछ?
४ तसर्थ, एउटा व्यक्तिले अर्को व्यक्तिको आदर गरेर, उसका लागि गहिरो श्रद्धा र सम्मान प्रकट गर्दछ। उदाहरणकालागि, विश्वासी यहूदी मोर्दकै बारे बाइबलमा वर्णन गरिएको परिस्थितिलाई विचार गर्नु होस्। प्राचीन फारसका राजा अहासूरसलाई मार्ने षड़यन्त्र मोर्दकैले एक पटक जाहेर गराइ दिएका थिए। पछि, एक राती, राजालाई निद्रा न पर्दा, मोर्दकैले भनेको कुरा राजाको ध्यानमा आयो। यसकारण तिनले आफ्ना सेवकहरूलाई सोधे: “यसको निम्ति मोर्दकैलाई कुनै सम्मान अथवा पद दिइयो?” तिनीहरूले जवाफ दिए: “मोर्दकैको निम्ति ता केही गरिएको छैन।” कस्तो विचारणीय कुरा! मोर्दकैले राजाको प्राण बचाएका थिए, र पनि राजाले त्यसको मूल्याङ्कन जाहेर गरेका थिएनन्।—एस्तर ६:१-३.
५ यसकारण, एउटा उचित अवसरमा, राजा प्रसन्न भएको कुनै व्यक्तिलाई आदर गर्ने सबै भन्दा उत्तम ढङ्ग के होला भनी अहासूरसले आफ्ना प्रधानमन्त्री हामानलाई सोधे। तुरन्तै हामानले आफ्नो मनैमन यस प्रकार सोंच्यो: “मबाहेक राजाले अरू कसलाई सम्मान दिनु इच्छा गर्नु भएको होला र?” यसकारण, हामानले भन्यो कि त्यस व्यक्तिलाई “राजा आफैले लाउने पोशाक” लगाइ दिनु पर्छ र त्यसले “राजाले सवारी गर्ने घोड़ामा” सवार गर्न पाओस्। कुरा टुङ्गयाउँदै, उसले भन्यो: “त्यही घोड़ामा सवार गराएर शहरका चोकहरूमा तिनी जाँदा यसो भन्दै कराऊन्, ‘राजाले सम्मान गर्न इच्छा गर्नु भएको मानिसको निम्ति के गरिएको छ, सो हेर।’” (एस्तर ६:४-९) यसरी सम्मान गरिएको मानिसले सबैबाट ठूलो आदर पाउने थियो।
यहोवा किन आदरको योग्य हुनु हुन्छ
६. (क) सबै भन्दा बढ़ी हाम्रो आदर पाउने योग्य, को हुनु हुन्छ? (ख) “महान” शब्दद्वारा यहोवाको वर्णन उचित ढङ्गमा किन गर्न सकिन्छ?
६ इतिहासभरि मानिसहरूलाई आदर प्रदान गरिएको छ र अकसर ती मानिसहरू आदर पाउने योग्य थिएनन्। (प्रेरित १२:२१-२३) तर आदर पाउने सबै भन्दा योग्य को हुनु हुन्छ? यहोवा परमेश्वर! उहाँ हाम्रो आदर पाउन योग्य हुनु हुन्छ किनभने उहाँ निश्चय नै महान हुनु हुन्छ। “महान” शब्द अकसर उहाँका निम्ति प्रयोग गरिन्छ। महान जन, महान सृष्टिकर्त्ता, महान राजा, महान गुरु, महान स्वामी उहाँ नै हुनु हुन्छ। (यी पद्यहरू न्यु. व. बाट लिएका हुन्: भजनसंग्रह ४८:२; उपदेशक १२:१; यशैया ३०:२०; ४२:५; ५४:५; होशे १२:१४) उहाँ जो महान हुनु हुन्छ, उहाँनै गौरवमय, गरिमायुक्त, उच्च, गुणवान, कीर्तिमान र हामीमा भक्तिभाव जगाउनु हुने हुनु हुन्छ। यहोवाको कसैसँग तुलना गर्न सकिंदैन, उहाँको तुल्य कोही छैन, उहाँ सर्वोच्च हुनु हुन्छ। यस तथ्यलाई उहाँ स्वयंले यी शब्दहरूमा गवाही दिनु हुन्छ: “तिमीहरू मलाई कोसँग तुलना गर्नेछौ, र कसको बराबरी तुल्याउनेछौ?”—यशैया ४६:५.
७. यहोवा परमेश्वर कमसेकम कतिवटा विशेष ढङ्गमा अनुपम हुनुहुन्छ र अख्तियारबारे उहाँ अतुलनीय हुनु हुन्छ भनी किन भन्न सकिन्छ?
७ यहोवा परमेश्वर कमसेकम सात विशेष ढङ्गमा अनुपम हुनु हुन्छ र यी नै उहाँलाई आदर गर्ने ठोस कारणहरू हुन्। सर्व प्रथम, यहोवा परमेश्वर सबै भन्दा महान आदरको योग्य हुनु हुन्छ किनभने उहाँको अख्तियार अतुलनीय छ। प्रभु यहोवा ब्रह्माण्डको सार्वभौम हुनु हुन्छ—उहाँ सर्वोच्च हुनु हुन्छ। उहाँ हाम्रा न्यायाधीश, कानुनदाता र राजा हुनु हुन्छ। स्वर्ग र पृथ्वीमा हुने सबै व्यक्ति उहाँका सामुन्ने जवाबदेह छन्; तर उहाँ चाहिं कसैको सामुन्ने जवाबदेह हुनु हुन्न। यसकारण त उहाँको वर्णन “महान . . , शक्तिशाली र भययोग्य” भनी गरिएको छ।—व्यवस्था १०:१७; यशैया ३३:२२; दानियल ४:३५.
८. (क) उहाँको स्थान (ख) र उहाँको सनातनको अस्तित्वको सम्बन्धमा, यहोवाको बराबर कोही पनि छैन भनी किन भन्न सकिन्छ?
८ दोस्रो, हाम्रो आदर पाउन यहोवा परमेश्वर योग्यको हुनु हुन्छ किनभने उहाँको स्थान अनुपम छ। उहाँ नै “उच्च र श्रेष्ठ” परमप्रधान हुनु हुन्छ। हामीले कल्पनानै गर्न नसक्नेगरी, उहाँ पृथ्वीका सबै जीवधारीहरू भन्दा उच्च हुनु हुन्छ! (यशैया ४०:१५; ५७:१५; भजनसंग्रह ८३:१८) तेस्रो, अरू सबैको भन्दा यहोवा परमेश्वरको आदर गर्नु पर्दछ किनभने उहाँको सनातन अस्तित्व अतुलनीय छ। उहाँको कुनै शुरुआत थिएन किनभने उहाँ अनादि देखिन् अनन्तसम्म हुनु हुन्छ।—भजनसंग्रह ९०:२; १ तिमोथी १:१७.
९. (क) उहाँको महिमा र (ख) उहाँका आधारभूत गुणहरूबारे, यहोवा कसरी अतुलनीय हुनुहुन्छ?
९ चौथो, उहाँको व्यक्तिगत महिमाको भब्यताको कारण, यहोवा परमेश्वर सबै भन्दा महान आदरको योग्य हुनु हुन्छ। उहाँ “ज्योतिका पिता” हुनु हुन्छ। उहाँको व्यक्तित्व यति तेजस्वी छ कि कुनै पनि मानिस उहाँलाई देखेर जीवित रहन सक्तैन। उहाँले मानिसमा साँच्चैनै श्रद्धापूर्ण भय जगाउनु हुन्छ। (याकूब १:१७; प्रस्थान ३३:२२; भजनसंग्रह २४:१०) पाँचौं, उहाँका अद्भुत गुणहरूको कारण हामीले यहोवा परमेश्वरलाई सबै भन्दा महान आदर प्रदान गर्नु पर्दछ। उहाँ सर्वशक्तिमान हुनु हुन्छ र उहाँको शक्ति सीमित छैन; उहाँ सर्वज्ञानी हुनुहुन्छ, उहाँको बुद्धि असीमित छ; उहाँ न्याय गर्नमा सम्पूर्णतया सिद्ध हुनु हुन्छ; र उहाँ प्रेमको साक्षात स्वरूप हुनु हुन्छ।—अय्यूब ३७:२३; हितोपदेश ३:१९; दानियल ४:३७; १ यूहन्ना ४:८.
१०. (क) उहाँका सृष्टि र ऐश्वर्य (ख) र उहाँका नाम र कीर्तिबारे, यहोवा कसरी अनुपम हुनुहुन्छ?
१० छैठौं, उहाँले गर्नु भएका सृष्टिका महान कार्यहरूको कारण, यहोवा परमेश्वर सबै भन्दा महान आदरको योग्य हुनु हुन्छ। स्वर्ग र पृथ्वीमा भएका यावत थोकका सृजनहार हुनाकारण, उहाँ सबै चीजका महान स्वामी हुनु हुन्छ। भजनसंग्रह ८९:११ मा हामी पढ़द छौं: “स्वर्ग तपाईंको हो, र पृथ्वी पनि तपाईं कै हो।” सातौं, यहोवा हाम्रा परमेश्वर अरू सबै भन्दा बढी आदरको योग्य हुनु हुन्छ किनभने उहाँको नाउँ र कीर्तिको कुनै तुल्नानै छैन। उहाँको मात्र नाउँ यहोवा हो र यसको अर्थ हो “उहाँले नै अस्तित्व गराउनु हुन्छ।”—उत्पत्ति २:४ [न्यु.व.] को पाद टिप्पणी हेर्नुहोस्।
यहोवाको आदर कसरी गर्नु
११. (क) हामी कुन कुन तरीकाबाट यहोवाको आदर गर्न सक्तछौं? (ख) हामीहरू यहोवाको वास्तवमा आदर गरिरहेका छौं भन्ने कुरा उहाँमाथि भरोसा राखेर कसरी प्रदर्शित गर्न सक्तछौं?
११ यहोवाका सबै गुणहरूले गर्दा, हामी उहाँको आदर कसरी गर्न सक्तछौं? हामी अब देख्नेछौं कि उहाँ प्रति भय र श्रद्धा प्रकट गर्दै, उहाँका आज्ञाहरू मान्दै, हाम्रा सबै काम-कुरामा उहाँलाई ध्यानमा राख्दै, दान दिंदै, उहाँको अनुकरण गर्दै र उहाँकहाँ बिन्ती चढ़ाउँदै, हामी उहाँको आदर गर्न सक्तछौं। साथै, उहाँमाथि विश्वास राख्दै र जे परी आए तापनि उहाँमाथि भरोसा राखेर पनि हामी उहाँको आदर गर्न सक्तछौं। “तेरो सारा भरोसा परमेश्वरमा [यहोवामा न्यु.व.] राख,” भनी हामीलाई आग्रह गरिएको छ। यसकारण, उहाँले भन्नु भएका कुराहरूमाथि पूर्ण विश्वास गर्दै हामी उहाँको आदर गर्दछौं। उदाहरणका लागि, उहाँ भन्नु हुन्छ: “नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु।” (हितोपदेश ३:५; यशैया ४१:१०) उहाँमाथि सम्पूर्णतया भरोसा न राख्नु उहाँको अनादर गरेको बराबर हुनेछ।
१२. यहोवाको आदर गर्दा, आज्ञाकारिता र भयले के भूमिका निभाउँदछन्?
१२ यहोवाको आदर गर्ने एउटा अर्को सम्बन्धित तरीका उहाँ प्रति आज्ञाकारी हुनु हो। र आज्ञाकारी हुनका निम्ति ईश्वरीय भय, हो, परमेश्वरलाई अप्रसन्न तुल्याउने भय, अत्यावश्यक छ। अब्राहामले आज्ञाकारिता साथ आफ्नो पुत्र इसहाकलाई बलि चढ़ाउने प्रयास गरी सके पछि, यहोवाले तिनलाई भन्नु भएका यी शब्दहरूमा भय मान्नु र आज्ञाकारी हुनुमा के सम्बन्ध छ, सो देखिन्छ। “मैले अब थाह पाएँ तँ परमेश्वरसँग डराउँदो रहेछस् . . . ।” (उत्पत्ति २२:१२) आज्ञाकारिता र आदर एक अर्का सित सम्बन्धित कुराहरू हुन् भनी, प्रेरित पावलले आमा-बाबु प्रति छोरा-छोरीहरूको कर्त्तव्यबारे छलफल गर्दा देखाएका छन्। (एफिसी ६:१-३) यसकारण, परमेश्वरका आज्ञाहरू पालन गरेर हामी यहोवाको आदर गर्दछौं र उहाँका आज्ञाहरू कठिन छैनन्। निस्सन्देह, यहोवा परमेश्वर प्रति अनाज्ञाकारी हुनु उहाँको अनादर गर्नु हुनेछ।—१ यूहन्ना ५:३.
१३. परमेश्वरको आदर गर्नाले, हाम्रा गतिविधि र योजनाहरूमा हामीले कुन प्रकारको मानसिक प्रवृत्ति राख्ने छौं?
१३ यसका साथै, हितोपदेश ३:६ मा उल्लेखित सल्लाह मानेर, हामी यहोवा परमेश्वरलाई उहाँले पाउनु पर्ने आदर दिन सक्नेछौं: “आफ्नो सबै चालमा उहाँलाई सम्झी [हो, उहाँलाई मान्यता दिनु] र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” चेला याकूबले पनि यस सम्बन्धमा हामीलाई राम्रो सल्लाह दिन्छन्। दिन दिनै आत्म-विश्वास साथ आफ्नै योग्यताहरूमा भर पर्दै अघि बढ़नुको सट्टा, हामीले एसो भन्नु पर्दछ: “यदि परमेश्वरको इच्छा भयो भने, हामी बाँचौंला र यस्तो उस्तो गरौंला।” (याकूब ४:१५) वर्षौं अघि, बाइबलका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भविष्यसँग सम्बन्धित जुन सुकै कुराको पछि, सड़िप्तमा डी. भी. अर्थात् डियो भोलेन्टे लेख्ने गर्द थिए जसको अर्थ हो “परमेश्वरले चाहनु भएमा।”
१४. (क) परमेश्वरको आदर गर्ने हो भने, हामीले गरेका प्रयासहरूबारे के मनोवृत्ति राख्नु पर्दछ? (ख) वाचटावर सोसाइटीका साहित्यहरूको प्रकाशन सम्बन्धमा कुन प्रकारको मनोवृत्ति प्रकट गरिएको छ?
१४ नम्र मनोवृत्ति प्रकट गर्दै, आफूले प्राप्त गरेका सफलताहरूको श्रेय परमेश्वरलाई नै दिने गरेर पनि, हामी यहोवा परमेश्वरको आदर गर्दछौं। प्रेरित पावलले आफ्नो सेवकाई बारे यो उचित दृष्टिकोण व्यक्त गरे: “मैले रोपें, अपोल्लसले पानी हाले, तर परमेश्वरले चाहिं बढ़ाउनु भयो।” (१ कोरिन्थी ३:६, ७) साँच्चैनै, आफू अथवा कुनै मानिसलाई होइन, तर परमेश्वरलाई उहाँले पाउनु पर्ने आदर दिन पावल उत्सुक थिए। यसैकारण, आज वाचटावर सोसाइटीका प्रकाशनहरूमा तिनीहरूका लेखकहरूको नाम दिइएको हुँदैन र लेखकहरूले पनि तिनीहरूले कुन कुन लेख लेखका हुन् भन्ने कुरा अरूहरूलाई बताउने गर्दैन्। यस प्रकार, सबैको ध्यान लेखिएका कुराहरूमा केन्द्रित हुन जान्छ र ती कुराहरू कुनै मानिसलाई होइन तर यहोवालाई आदर गर्न लेखिएका हुन्छन्।
१५. यहोवाका साक्षीहरूको विनम्रता बुझ्न केही मानिसहरूलाई गाह्रो भएको कुरा कुन अनुभव द्वारा देख्न सकिन्छ?
१५ यसरी यहोवामा ध्यान केन्द्रित गर्दै उहाँको आदर गर्ने यो सिद्धान्त देखेर केही व्यक्तिहरू छक्क पर्छन्। केही वर्ष अघि, न्यु योर्क शहरको सेन्ट्रल पार्कमा जनसाधारणलाई दिइने भाषणको निम्ति माइक्रोफोन इत्यादिको प्रबन्ध गर्दा, साक्षीहरूले आवाज जाँच गरेर हेर्न, एउटा किंगडम मेलोडिज टेप बजाइरहेका थिए। भद्र पोशाक पहिरेका एउटा जोड़ीले आएर त्यहाँका एक जना साक्षीलाई बजिरहेको सङ्गीतबारे सोधे। ती साक्षीले यी दुई जना यहोवा कै साक्षीहरू होलान् भनी ठानेर, जवाफ दिए: “त्यो किंगडम मेलोडिज नम्बर ४ हो।” तर तिनीहरूले सोधे: “हो, तर सङ्गीतकार को हुन्?” साक्षीले उत्तर दिए: “ए, सङ्गीतकार गुमनाम छन्।” तिनीहरूले भने: “त्यस प्रकारको सङ्गीत रचने मानिसहरू गुमनाम हुँदैनन्।” साक्षीले जवाफमा भने: “तर यहोवाका साक्षीहरू मध्ये चाहिं हुन्छन्।” हो, सबै आदर यहोवा परमेश्वरकै होस् भनी तिनीहरूले यसो गर्दछन्!
१६. यहोवा परमेश्वरको आदर गर्न, हामीले कुन विभिन्न ढङ्गमा आफ्नो स्वरको प्रयोग गर्न सक्तछौं?
१६ यहोवाको आदर गर्ने एउटा अर्को तरीका, उहाँबारे साक्षी दिन आफ्ना ओठहरूको प्रयोग गर्नु हो। उहाँको आदर गर्न हामी साँच्चैनै उत्सुक छौं भने, राज्यको सुसमाचार सुनाउनमा हामी चेतनशील हुनेछौं। हामी घर-घर गएर अथवा हाम्रो सामुन्ने उपलव्ध अन्य उपायहरूको प्रयोग गरेर वा अनौपचारिक ढङ्गमा साक्षी दिने मौकाहरू समेत छोपेर, यो काम गर्न सक्तछौं। (यूहन्ना ४:६-२६; प्रेरित ५:४२; २०:२०) यसका साथै, हाम्रा मण्डलीका सभाहरूमा टिप्पणीहरू गर्दै र हृदयस्पर्शी ढङ्गमा हाम्रो राज्यका गीतहरू गाउँदै, आ-आफ्ना स्वरको प्रयोग द्वारा हाम्रा परमेश्वरको आदर गर्ने मौकाहरू छन्। (हिब्रू २:१२; १०:२४, २५) दैनिक कुरा-कानीमा पनि हामीले आफ्ना ओठहरू द्वारा यहोवा परमेश्वरको आदर गर्न सक्तछौं। अलिकता प्रयास गर्यौं भने, हामीले कुराकानीलाई लाभदायक र आध्यात्मिक विषयहरू तिर लग्न सक्नेछौं र यसबाट पनि यहोवा परमेश्वरको आदर हुनेछ।—भजनसंग्रह १४५:२.
१७. यहोवाको आदर गर्नुसित असल चाल-चलनको के सम्बन्ध छ? (ख) खराब चालचलनको असर के हुन्छ?
१७ हाम्रा ओठहरूले यहोवाको आदर गर्न असल ता हुँदै हो, तर उहाँलाई हाम्रा चालचलन द्वारा पनि आदर गर्न आवश्यक छ। परमेश्वरलाई आफ्नो ओठले चाहिं आदर गर्ने तर हृदय चाहिं उहाँबाट टाढ़ा राख्नेहरूको येशूले निन्दा गर्नु भयो। (मर्कूस ७:६) गलत चालचलनले यहोवा परमेश्वरको निश्चय नै अनादर हुन्छ। उदाहरणकालागि, रोमी २:२३, २४ मा भनिएको छ: “तिमी जो व्यवस्थामा घमण्ड गर्छौ, के व्यवस्था उल्लङ्घन गरेर परमेश्वरको अनादर गर्छौ? किनभने . . . ‘अन्यजातिहरूमा परमेश्वरको नाउँ तिमीहरूद्वारा नै निन्दित भएको छ।’” हाल सालैमा, यहोवाका मानिसहरूका मण्डलीहरूबाट हजारौं बहिष्कृत भएका छन्। अनादरणीय चालचलनमा भाग लिनेहरूको सम्भवतः अझ ठूलो सङ्ख्या बहिष्कृत भएन किनभने तिनीहरूले साँचो पश्चातापको भाव व्यक्त गरे। यी सबैले आफ्नो ओठबाट यहोवाको आदर गरिरहेका थिए तर तिनीहरूको चालचलन द्वारा सो गर्न तिनीहरू असफल भएका थिए।
१८. यहोवालाई दिनु पर्ने आदर दिने हो भने, सेवाका ठूला-ठूला विशेषाधिकार पाएका जनहरू कुन कुराबारे होसियार हुनु पर्दछ? (ख) मलाकीका दिनका केही पूजाहारीहरूको अवस्थाबाट, हामी होसियार हुने आवश्यकता कसरी प्रदर्शित हुन्छ?
१८ पूर्ण-समय सेवकाईका विभिन्न क्षेत्रहरू, अर्थात् बेथेल, परिभ्रमण अथवा मिशनेरी काम, वा अग्रगामीहरूको हैसियतमा सेवामा व्यस्त हुनेहरूले यहोवाको आदर गर्नमा योगदान दिने ठूलो सुअवसर पाएका छन्। ‘थोरै कुरामा साथै धेरै कुरामा विश्वासी’ भएर, आफूलाई खटाइएको जुन सुकै काम पनि सकेसम्म राम्रोसँग गरी दिने तिनीहरूको जिम्मेवारी हो। (लूका १६:१०) यिनीहरूको प्रतिष्ठित स्थानको एउटा उदाहरण, कुनै कुनै ढङ्गमा प्राचीन इस्राएलका पूजाहारी र लेवीहरू थिए। तथापि, मलाकीको पालोमा, कुनै कुनै पूजाहारीहरूको लापरवाहीको कारण, यहोवाले तिनीहरूलाई भन्नु भयो: “म बाबु हो भने, मेरो मान खोइ? यदि म मालिक हो भने मेरो डर खोइ?” (मलाकी १:६) ती पूजाहारीहरूले अन्धो, लङ्गड़ो र रोग लागेका जनावरहरू बलिदान चढ़ाएर, परमेश्वरको नाउँको अवहेलना गरिरहेका थिए। आज सेवा गर्ने विशेषाधिकार पाउनेहरूले आफूले सकेसम्मको राम्रो सेवा गरेनन् भने, यहोवाले जसरी ती पूजाहारीहरूको दोष देखाइ दिनु भयो, त्यसरी नै यिनीहरूलाई पनि दोषी ठहराउनु हुनेछ। यिनीहरूले परमेश्वरको आदर राम्ररी गरेका हुनेछैनन्।
१९. (क) हितोपदेश ३:९ मा भने बमोजिम, यहोवाको आदर गर्ने अर्को ढङ्ग के हो? (ख) यहोवाको आदर गर्ने एउटा अर्को प्रमुख तरीका के हो?
१९ यहोवा परमेश्वरको आदर, उहाँले अह्राउनु भएको विश्वव्यापी प्रचारको कार्यका निम्ति आर्थिक योगदान दिएर पनि गर्न सकिन्छ। “आफ्नो धन-सम्पत्तिले परमप्रभुको [यहोवाको, न्यु.व.] आदर गर र तेरा सबै आम्दनीको सबै भन्दा पहिलो अंशले परमप्रभुको [यहोवाको, न्यु.व.] इज्जत गर,” भनी हामीलाई आग्रह गरिएको छ। (हितोपदेश ३:९) यस प्रकारका चन्दाहरू दिने सुअवसर यहोवा परमेश्वरको आदर गर्ने एउटा मौका हो, र यस्तो मौकाको कसैले पनि उपेक्षा गर्नु हुँदैन। हामीले आफ्ना प्रार्थनाहरूमा पनि यहोवाको प्रशंसा गर्दै र उहाँलाई धन्यवाद चढ़ाउँदै उहाँको आदर गर्न सक्तछौं। (१ इतिहास २९:१०-१३) वास्तवमा, हामी नम्रता र गहीरो श्रद्धाको भावसाथ परमेश्वरको नजिक गएको हुनकारण, उहाँसित प्रार्थनाद्वारा सम्पर्क राख्नु नै उहाँको आदर गर्नु हो।
२०. (क) संसारका मानिसहरूले साधारणतया कसको आदर गर्छन् र कसरी? (ख) कुन आज्ञा पालन गरेर, हामी यहोवाको थप आदर गर्न सक्तछौं?
२० आज धेरै मानिसहरू, विशेषगरी जवान व्यक्तिहरूले जसजसको आदर गर्छन्, तिनीहरूको अनुकरण गर्ने गर्छन्—तिनीहरू जस्तै बोल्ने गर्छन् र तिनीहरू जस्तै व्यवहार गर्छन्। तिनीहरूले अकसर मनोरञ्जनको संसारका प्रतिष्ठित जनहरू अथवा खेल-कुदका प्रसिद्ध खेलाडीहरूको अनुकरण गर्छन्। यसको विपरीत, हामी मसीहीहरूले यहोवा परमेश्वरको अनुकरण गर्ने कोशिश गर्दै उहाँको आदर गर्नु पर्दछ। हामीले यसै गर्नु पर्दछ भनी प्रेरित पावलले लेखे: “यसकारण तिमीहरू प्रिय बालकहरूझैं परमेश्वरका देखा-सिकी गर्नेहरू होओ।” (एफिसी ५:१, २) हो, हामीले यहोवाको अनुकरण गर्ने कोशिश गर्दा, उहाँको आदर गर्दछौं।
२१. (क) यहोवालाई महिमा र आदर दिनमा हामीलाई के ले मद्दत दिनेछ? (ख) यहोवाको आदर गर्नेहरूलाई उहाँले दिनु हुने पुरस्कारहरू के हुन्?
२१ साँच्चैनै, परमेश्वरको महिमा र आदर गर्न सकिने र गर्न पर्ने धेरै तरीकाहरू छन्। उहाँको वचनबाट नियमितरूपमा आत्मिक आहार खाएर उहाँलाई अझ राम्रोसँग चिन्ने गर्यौं भने, हामी उहाँको आदर गर्न अझ सक्षम हुनेछौं भनी कहिले पनि बिसर्ने न गरौं। यसबाट के इनाम मिल्नेछ? यहोवा भन्नु हुन्छ, “मलाई आदर गर्नेलाई म आदर गर्नेछु।” (१ शमूएल २:३०) अन्ततोगत्वा, यहोवाले आफ्ना उपासकहरूलाई स्वर्गमा उहाँका पुत्र येशू ख्रीष्टसँग सह-शासकहरूको हैसियतमा अथवा एउटा पार्थिव प्रमोदवनमा, अनन्त जीवन दिनु भएर तिनीहरूको आदर गर्नु हुनेछ। (w02/01/91)
के तपाईंलाई याद छ?
▫ मानिसहरूले साधारणतया कसको आदर गर्दछन् र तिनीहरूले धेरै जसो कसलाई आदर दिनमा हेलचक्राइ गर्छन्?
▫ कसैको आदर गर्नुको अर्थ के हो र त्यो कुन कुन ढङ्गमा गर्न सकिन्छ?
▫ यहोवा परमेश्वर आदरको योग्य हुनु हुने केही मौलिक कारणहरू के हुन्?
▫ हामीले कुन कुन ढङ्गमा यहोवाको आदर गर्न सक्तछौं?
▫ उहाँको आदर गर्नेहरूलाई यहोवाले के इनाम दिनु हुन्छ?