अरूप्रति आदर देखाउनुहोस्
“मानमा एउटाले अर्कोको बढ़ता कदर गर।”—रोमी १२:१०.
१, २. (क) नम्र व्यवहार देखाउन हामीले कुन कुरा व्यवहारमा उतार्नुपर्छ? (ख) बाइबलमा प्रायजसो “आदर” शब्द के बुझाउन प्रयोग गरिएको छ र आदर देखाउन कसलाई गाह्रो पर्दैन?
यस अघिको लेखले परमेश्वरको वचनको निम्न सल्लाहलाई जोड दियो: “तिमीहरू सबै एउटाले अर्कोप्रति नम्रताको व्यवहार गर। किनभने परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” (१ पत्रुस ५:५) नम्रता धारण गर्ने एउटा तरिका, अरूलाई आदर गर्ने बानी बसाल्नु हो।
२ बाइबलमा प्रायजसो हामीले अरूप्रति देखाउनुपर्ने मान, सम्मान र हेरचाह बुझाउन “आदर” शब्द प्रयोग गरिएको छ। हामी अरूप्रति दयालु भएर, तिनीहरूको मर्यादाको ख्याल गरेर, तिनीहरूको विचारधारा सुनेर अनि हामीसित गरिएका व्यवहारिक मागहरू पूरा गरेर अरूलाई आदर गर्छौं। नम्रहरूलाई अक्सर यसो गर्न गाह्रो हुँदैन। तथापि, घमण्डीहरूलाई साँचो आदर देखाउन गाह्रो पर्नसक्छ र अरूलाई फुर्काएर फाइदा लिन खोज्छन्।
यहोवाले मानिसहरूलाई आदर गर्नुहुन्छ
३, ४. यहोवाले अब्राहामप्रति कसरी आदर देखाउनुभयो र किन?
३ आदर देखाउने सन्दर्भमा यहोवाले नै उदाहरण बसाल्नुभएको छ। उहाँले मानिसहरूलाई व्यक्तिगत छनौट गर्ने क्षमतासहित सृष्टि गर्नुभएको थियो र उहाँ कहिल्यै तिनीहरूलाई मानवयन्त्रजस्तो सम्झेर व्यवहार गर्नुहुन्न। (१ पत्रुस २:१६) उदाहरणका लागि, उहाँले अब्राहामलाई सदोमको घोर दुष्टताको कारण विनाश गर्नेछु भन्नुहुँदा तिनले यस्तो प्रश्न गरे: “के दुष्टहरूसँग धर्मीहरूलाई पनि सर्वनाश गर्नुहुनेछ? त्यस शहरमा पचास धर्मी जन रहेछन् भने, के त्यसमा भएका पचास धर्मी जनका निम्ति त्यस शहरलाई नजोगाएर नष्ट पार्नुहुनेछ र?” यहोवाले पचास धर्मी जनका निम्ति त्यस शहरलाई जोगानेछु भन्ने जवाफ दिनुभयो। त्यसपछि अब्राहामले फेरि नम्र भएर बिन्ती गरे: ४५, ४०, ३०, २० वा १० जना मात्र धर्मी जनहरू छन् भने नि? सदोममा दस जना मात्र धर्मी मानिस भेटिए पनि नाश गर्नेछैन भनी यहोवाले अब्राहामलाई आश्वासन दिनुभयो।—उत्पत्ति १८:२०-२३.
४ सदोममा दस जना पनि धर्मी मानिसहरू छैनन् भनी यहोवालाई थाह थियो। तैपनि उहाँले अब्राहामको विचारधारा सुन्नुभएर अनि तिनीसित आदरपूर्वक व्यवहार गर्नुभएर सम्मान देखाउनुभयो। किन? किनभने अब्राहामले “परमप्रभुमाथि विश्वास गरे, र यो तिनको निम्ति धार्मिकता गनियो।” अब्राहाम “परमेश्वरका मित्र” कहलिए। (उत्पत्ति १५:६; याकूब २:२३) यसबाहेक, अब्राहामले अरूलाई आदर गरेको यहोवाले देख्नुभएको थियो। आफ्नो र भतिजा, लूतका गोठालाहरूबीच झगडा हुँदा अब्राहामले लूतलाई कुन ठाउँ रोज्ने भनी पहिला छान्ने मौका दिएर आदर गरे। लूतले आफ्नो हिसाबले सबैभन्दा राम्रो ठाउँ छाने र अब्राहाम अर्कै बाटो लागे।—उत्पत्ति १३:५-११.
५. यहोवाले कसरी लूतलाई आदर गर्नुभयो?
५ यहोवाले धर्मी लूतलाई पनि आदर गर्नुभयो। सदोमको विनाश गर्नुअघि उहाँले लूतलाई पहाडी इलाकाहरूमा भाग भन्नुभयो। तथापि, लूत त्यहाँ जान चाहेनन्। तर विनाश गर्ने इलाकाभित्र पर्ने नजिकैको सोअर शहरमा जान रुचाए। यहोवाले लूतलाई यसो भन्नुभयो: “हेर्, यस विषयमा मैले तेरो बिन्ती ग्रहण गरें। तैंले भनेको शहरलाई म भस्म गर्नेछैनँ।” लूतको आग्रह सुन्नुभएर यहोवाले विश्वासी लूतप्रति आदर देखाउनुभयो।—उत्पत्ति १९:१५-२२; २ पत्रुस २:६-९.
६. यहोवाले कसरी मोशालाई आदर गर्नुभयो?
६ यहोवाले मोशालाई मिश्र फर्केर आफ्ना जनहरूलाई दासत्वबाट छुटाउन अनि त्यसबारे फिरऊनसित कुरा गर भन्नुहुँदा तिनले यस्तो जवाफ दिए: “प्रभो, म बोल्नमा उस्तो सिपालो छैनँ।” तर यहोवाले मोशालाई आश्वासन दिंदै भन्नुभयो: “म तेरो मुखमा भएर तैंले के के बोल्नुपर्ने हो, सो सिकाउनेछु।” मोशा अझै हिचकिचाइरहे। तब यहोवाले मोशालाई फेरि ढाडस दिंदै तिनको दाइ हारूनलाई प्रवक्ताको रूपमा पठाउने प्रबन्ध मिलाउनुभयो।—प्रस्थान ४:१०-१६.
७. यहोवा किन अरूलाई आदर गर्न इच्छुक हुनुहुन्थ्यो?
७ यी सबै घटनाहरूमा यहोवाले अरूको र अझ विशेष गरी आफ्नो सेवा गर्नेहरूलाई आदर गर्ने इच्छुकता देखाउनुभएको हामी पाउँछौं। तिनीहरूले मागेको कुरा यहोवाले सोच्नुभएभन्दा बेग्लै भए तापनि उहाँले तिनीहरूको कुरा सुन्नुभयो र आफ्नो उद्देश्यमा दखल नदिने खालका मागहरू पूरा पनि गर्नुभयो।
येशूले अरूलाई आदर गर्नुभयो
८. येशूले एउटी साह्रै बिरामी स्त्रीलाई कसरी आदर गर्नुभयो?
८ अरूलाई आदर गर्ने सन्दर्भमा येशूले यहोवाको अनुकरण गर्नुभयो। एक चोटि एउटा भीडमा, १२ वर्षदेखि रगत बग्ने बेथा भएकी स्त्री पनि थिइन्। वैद्यहरूले तिनलाई निको पार्न सकेका थिएनन्। मोशाको व्यवस्थाअनुसार तिनी अशुद्ध थिइन् र त्यसरी भीडमा आउनु उचित थिएन। तिनले येशूको पछिल्तिर गएर उहाँको पोसाक छुनेबित्तिकै निको भइन्। येशूले व्यवस्थालाई कोट्याउँदै तिनलाई गाली गर्नुभएन। बरु, परिस्थितिलाई बुझेर तिनलाई आदर गर्दै भन्नुभयो: “ए छोरी तिम्रो विश्वासले तिमीलाई बचाएको छ। शान्तिसित जाऊ, तिम्रो रोग निको भइजाओस्।”—मर्कूस ५:२५-३४; लेवी १५:२५-२७.
९. येशूले एउटी अन्यजाति स्त्रीलाई कसरी आदर गर्नुभयो?
९ अर्को चोटि, एक कनानी स्त्रीले येशूलाई यसो भनिन्: “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्। मेरो छोरीलाई भूतले साह्रै ग्रस्त पारेको छ।” येशूलाई आफू अन्यजातिहरूकहाँ होइन तर इस्राएल राष्ट्रकहाँ पठाइनुभएको हो भनेर थाह थियो। त्यसकारण, उहाँले यसो भन्नुभयो: “[इस्राएलका] बालकहरूको रोटी लगेर [अन्यजातिका] [“छाउराहरूलाई”, NW] फालिदिनु मनासिब हुँदैन।” त्यस स्त्रीले यस्तो जवाफ दिइन्: “हो प्रभु, तर [छाउराले] पनि ता आफ्ना मालिकको टेबलबाट झरेको टुक्रा खान्छ।” तब येशूले भन्नुभयो: “ऐ नारी, तिम्रो विश्वास ठूलो रहेछ। जे तिमी इच्छा गर्दछ्यौ, तिमीलाई सो पुगोस्।” तिनकी छोरी निको भइन्। तिनको विश्वासको खातिर येशूले उक्त अन्यजाति स्त्रीलाई आदर गर्नुभयो। उहाँले जंगली कुकुरहरू नभई “छाउराहरू” भन्ने अभिव्यक्ति चलाउनुले पनि उहाँको अनुकम्पा प्रकट हुन्छ।—मत्ती १५:२१-२८.
१०. येशूले आफ्ना चेलाहरूलाई कस्तो जोडदार पाठ सिकाउनुभयो र यो किन आवश्यक थियो?
१० येशूका चेलाहरूबीच अझै पनि मपाईं मनोवृत्ति रहेको हुँदा तिनीहरूलाई नम्र हुनु तथा अरूलाई आदर गर्नुपर्ने खाँचोबारे सिकाउनुपरेको थियो। एक पल्ट यस विषयमा तिनीहरूको विवाद भइसकेपछि येशूले तिनीहरूलाई सोध्नुभयो: “तिमीहरू के बहस गरिरहेका थियौ, हँ?” तिनीहरू केही बोलेनन् किनभने “तिनीहरूले ‘को ठूलो हो’ भनी आफू आफूमा कुरा गरिरहेका थिए।” (मर्कूस ९:३३, ३४) येशू मर्नुभएको अघिल्लो रात पनि “तिनीहरूमध्ये को सबैभन्दा ठूलो गनिएको छ भनी तिनीहरूका बीचमा वाद विवाद हुन लाग्यो।” (लूका २२:२४) त्यसकारण, निस्तार चाडको बेला येशूले “बाटामा पानी खनाउनुभयो, र चेलाहरूका पाउ धुन” थाल्नुभयो। कस्तो जोडदार पाठ! येशू परमेश्वरको पुत्र अर्थात् ब्रह्माण्डमा यहोवापछि दोस्रो महान् व्यक्ति हुनुहुन्थ्यो। यद्यपि, उहाँले आफ्ना चेलाहरूको पाउ धुनुभएर आदरयोग्य पाठ सिकाउनुभयो। उहाँले भन्नुभयो: “मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर।”—यूहन्ना १३:५-१५.
पावलले आदर देखाए
११, १२. मसीही भइसकेपछि पावलले के सिके र तिनले यो पाठ फिलेमोनको सन्दर्भमा कसरी लागू गरेर देखाए?
११ ख्रीष्टको अनुकरण गर्दै प्रेरित पावलले अरूप्रति आदर देखाए। (१ कोरिन्थी ११:१) तिनले भने: “हामीले मानिसहरूबाट आदर खोजेनौं . . . जसरी धाई-आमाले आफ्ना बालकहरूलाई पोषण गर्दछे, त्यसरी तिमीहरूका बीचमा हामी नम्र भएर बस्यौं।” (१ थिस्सलोनिकी २:६, ७) धाई-आमाले आफ्ना बच्चाहरूको हेरचाह गर्छे। मसीही भइसकेपछि पावलले नम्र हुन अनि सँगी मसीहीहरूप्रति नम्र व्यवहार गरेर आदर देखाउन सिके। यसो गरेर तिनले अरूको स्वेच्छाको पनि आदर गरे र यो कुरा तिनी रोममा कैदी छँदाको घटनाले प्रस्ट पार्छ।
१२ ओनसिमस नाउँको भगुवा कमाराले पावलको शिक्षा सुने। तिनी मसीही र पावलका मित्र भए। यस कमाराका मालिक फिलेमोन पनि मसीही थिए र एसिया माइनरमा बस्थे। पावलले ओनसिमस एकदमै मदतगार छन् भनी फिलेमोनलाई पत्रमा यस्तो लेखे: “म आफैकहाँ राख्नेथिएँ।” तर पावलले ओनेसिमसलाई फिलेमोनकहाँ फिर्ता पठाइदिए किनभने तिनले यसो भने: “तिम्रो सल्लाहविना म केही गर्नचाहन्नँ, तिम्रो भलाइ अनिवार्य जस्तोगरी होइन, तर स्वेच्छाबाट होस्।” पावलले आफू प्रेरित भएकाले अरूको फाइदा उठाउन खोजेनन् बरु ओनसिमसलाई रोममा राख्ने आग्रह नगरेर फिलेमोनप्रति आदर देखाए। यसबाहेक, ओनसिमसलाई “कमाराभन्दा पनि बढ़ता, प्रिय भाइ जस्तो गरेर” आदर देखाऊ भनी पावलले फिलेमोनलाई सल्लाह दिए।—फिलेमोन १३-१६.
हाम्रो समयमा देखाउनुपर्ने आदर
१३. रोमी १२:१० मा हामीलाई के गर भनिएको छ?
१३ परमेश्वरको वचनले यस्तो सल्लाह दिन्छ: “मानमा एउटाले अर्कोको बढ़ता कदर गर।” (रोमी १२:१०) यसको मतलब, अरूले पहिले आदर गरोस् अनि पछि म गरूँला भनेर पर्खनुहुँदैन तर आफू नै अघि सर्नुपर्छ। “आफ्नै होइन, तर आफ्नो छिमेकीको भलाइ खोज।” (१ कोरिन्थी १०:२४; १ पत्रुस ३:८, ९) तसर्थ, यहोवाका सेवकहरू परिवारमा, मण्डलीमा सँगी मसीहीहरूप्रति अनि मण्डली बाहिर पनि आदर देखाउने मौकाहरू खोज्छन्।
१४. पतिपत्नीले एकअर्कालाई कसरी आदर देखाउँछन्?
१४ बाइबल यसो भन्छ: “हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, औ स्त्रीको शिर पुरुष हो, र ख्रीष्टका शिर परमेश्वर हुनुहुन्छ।” (१ कोरिन्थी ११:३) ख्रीष्टले मण्डलीलाई गर्नुभएजस्तै व्यवहार, पतिले पत्नीप्रति गर्न यहोवाले करमा पार्नभएको छ। पहिलो पत्रुस ३:७ मा पत्नीलाई “निर्बल पात्रलाई जस्तो स्त्री जातिलाई आदर” गर्ने निर्देशन दिइएको छ। पत्नीको कुरा सुन्न साँच्चै तत्पर भएर अनि तिनका सुझाउहरूलाई विचार गरेर पतिले आदर देखाउनसक्छन्। (उत्पत्ति २१:१२) बाइबलको सिद्धान्त उल्लंघन हुँदैन भने तिनले पत्नीलाई नै पहिलो मौका दिन सक्छन्। पतिले पत्नीलाई मदत र दयालु व्यवहार गर्नसक्छन्। अर्कोतर्फ “पत्नीले पनि आफ्ना पतिको डर मानोस्।” (एफिसी ५:३३) तिनले पतिको कुरा सुन्छिन्, जहिले पनि आफ्नै कुरा माथि पार्ने, पतिलाई होच्याउने वा गनगन गर्ने गर्दिनन्। कुनै कुनै पक्षमा पतिभन्दा बढी सक्षम भए तापनि पतिमाथि हैकम जमाउन नखोजेर तिनले नम्रता झल्काउँछिन्।
१५. बूढा-पाकाहरूसित कस्तो व्यवहार गर्नुपर्छ र तिनीहरूले पनि अरूसित कस्तो व्यवहार गर्नुपर्छ?
१५ मण्डलीमा आदर पाउन खास योग्य व्यक्तिहरू पनि छन् र ती हुन् बूढा-पाकाहरू। “बूढा-पाकाहरूका सम्मानमा उठ र वृद्ध मानिसको आदर गर।” (लेवी १९:३२) यो विशेष गरी धेरै वर्षदेखि विश्वासी भई यहोवाको सेवा गर्दै आएका व्यक्तिहरूलाई आदर गर्ने सन्दर्भमा लागू हुन्छ किनभने “फूलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट त्यो प्राप्त हुन्छ।” (हितोपदेश १६:३१) निरीक्षकहरूले आफूभन्दा बढी उमेरका सँगी मसीहीहरूप्रति आदर देखाएर उदाहरण बसाल्नुपर्छ। निस्सन्देह, बूढा-पाकाहरूले पनि विशेष गरी बगालको गोठालो गर्ने जिम्मेवारी बोकेका आफूभन्दा कम उमेरकाहरूप्रति आदर देखाउनुपर्छ।—१ पत्रुस ५:२, ३.
१६. आमाबाबु र छोराछोरीले एकअर्कालाई कसरी आदर गर्छन्?
१६ केटाकेटीहरूले आमाबाबुलाई आदर गर्नुपर्छ: “ए बालक हो, प्रभुमा आफ्ना आमा-बाबुको आज्ञा पालन गर, किनभने यो उचित छ। आफ्ना बाबु र आमाको मान गर (जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो), र तिमीलाई भलो होस्, र पृथ्वीमा तिम्रो दीर्घायु होस्। आमाबाबुले पनि छोराछोरीलाई आदर गर्नुपर्छ किनभने “बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर” भनिएको छ।—एफिसी ६:१-४; प्रस्थान २०:१२.
१७. दोहोरो आदर पाउन योग्यकाहरू को हुन्?
१७ मण्डलीको सेवा गर्न कडा मेहनत गर्नेहरूलाई पनि आदर गर्नुपर्छ: “असल शासन गर्ने धर्म-गुरुहरू दोहोरो आदरका योग्य गनिन्छन्। विशेष गरी जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्दछन्।” (१ तिमोथी ५:१७) हामीले तिनीहरूप्रति त्यस्तो आदर देखाउनसक्ने एउटा तरिका हिब्रू १३:१७ अनुसार गरेर हो: “तिमीहरूमाथि शासन गर्नेहरूका आज्ञाकारी होओ।”
१८. मण्डली बाहिरकाहरूप्रति हामीले कस्तो व्यवहार गर्नुपर्छ?
१८ के हामीले मण्डली बाहिरकाहरूप्रति पनि आदर देखाउनुपर्छ? पर्छ। उदाहरणका लागि, हामीलाई यस्तो निर्देशन दिइएको छ: “हरेक प्राणी उच्च अख्तियारवालाहरूका अधीनमा रहोस्।” (रोमी १३:१) यी हुन्, संसारका शासकहरू। तिनीहरूलाई यहोवाले उहाँको राज्य नआऊञ्जेल अख्तियार चलाउने अनुमति दिनुभएको छ। (दानियल २:४४) त्यसकारण हामी यो सल्लाह पालन गर्छौं, “तिर्नुपर्ने कुरा सबैलाई तिर—कर तिर्नु पर्नेलाई कर, महसूल तिर्नु पर्नेलाई महसूल, डराउनु पर्नेसँग डराऊ, आदर गर्नु पर्नेलाई आदर गर।” (रोमी १३:७) हामीले “सबै मानिसहरूलाई आदर” गर्नुपर्छ।—१ पत्रुस २:१७.
१९. हामीले अरूहरूको निम्ति “भलाइको काम” र आदर कसरी गर्नसक्छौं?
१९ हो, हामीले मण्डली बाहिरकाहरूलाई पनि आदर गर्नुपर्छ तर परमेश्वरको वचनले कुन कुरालाई जोड दिन्छ ध्यान दिनुहोस्: “अब मौका हुँदानै सबै मानिसतर्फ, खास गरेर विश्वासका घरानातर्फ, भलाइको काम गरौं।” (गलाती ६:१०) निस्सन्देह, हामीले अरूहरूको निम्ति “भलाइको काम” गर्नसक्ने सर्वोत्तम तरिका, तिनीहरूमा आध्यात्मिक भोक जगाएर त्यो सन्तुष्ट गर्नु हो। (मत्ती ५:३) त्यसो गर्न हामी प्रेरित पावलको यो सल्लाह पालन गर्नसक्छौं: “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला भई आफूले आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने प्रयत्न गर।” चनाखो भई हरेक मौकाको सदुपयोग गर्दै ‘सेवाको काम पूरा गर्न’ साक्षी दिंदा हामीले अरूहरूको भलाइ मात्र होइन आदर पनि गरिरहेका हुनेछौं।—२ तिमोथी २:१५; ४:५.
यहोवालाई आदर गर्ने
२०. फिरऊन र तिनका सेनाहरूलाई के भयो र किन?
२० यहोवाले आफ्ना सबै प्राणीहरूलाई आदर गर्नुहुन्छ। त्यसकारण, हामीले पनि उहाँलाई आदर गर्नु मनासिब छ। (हितोपदेश ३:९; प्रकाश ४:११) यहोवाको वचनले यसो पनि भन्छ: “मलाई आदर गर्नेलाई म आदर गर्नेछु, र मलाई तिरस्कार गर्नेहरू तुच्छ ठानिनेछन्।” (१ शमूएल २:३०) परमेश्वरका जनहरूलाई जान देऊ भनी बताउँदा मिश्रका फिरऊनले यस्तो हठी जवाफ दिए: “यहोवा को हो, र म तिनको कुरा सुनुँ?” (प्रस्थान ५:२, NW) इस्राएलीहरूलाई खत्तम पार्न फिरऊनले आफ्नो सेना पठाउँदा यहोवाले लाल समुद्रलाई दुई फ्याक पार्नुभयो। तर मिश्रीहरूले लखेट्दै आउँदा यहोवाले समुद्रको पानी फेरि जोड्नुभयो। “फिरऊनका रथहरू र तिनका सेनाहरूलाई समेत [यहोवाले] समुद्रमा फालिदिनुभयो।” (प्रस्थान १४:२६-२८; १५:४) यसप्रकार यहोवालाई आदर गर्न नचाहने घमण्डी फिरऊनले अति दुःखदायी परिणाम भोग्नुपऱ्यो।—भजन १३६:१५.
२१. यहोवाले किन बेलसजरको विरोध गर्नुभयो र परिणाम के भयो?
२१ बाबेलका राजा बेलसजरले यहोवालाई आदर गर्न इन्कार गरे। भोजको नशामा तिनले यरूशलेमको भवनबाट ल्याएका सुनचाँदीका पवित्र भाँडाहरूबाट दाखमद्य पिएर यहोवाको गिल्ला गरे। यसै सिलसिलामा तिनले आफ्ना देवहरूको प्रशंसा गरे। तर यहोवाका सेवक दानियलले तिनलाई यसो भने: “हजूर[ले] . . . आफ्नो हृदयलाई नम्र तुल्याउनुभएन। तर स्वर्गका परमेश्वरको विरुद्धमा खड़ा हुनुभयो।” त्यही रात बेलसजर मारिए र तिनको राज्य खोसियो।—दानियल ५:२२-३१.
२२. (क) यहोवाले इस्राएलका नेताहरू र तिनीहरूका मानिसहरूमाथि किन क्रोध खन्याउनुभयो? (ख) यहोवाले कसलाई साथ दिनुभयो र परिणाम के भयो?
२२ सा.यु. प्रथम शताब्दीमा राजा हेरोदले जनसम्बोधन गर्दा मानिसहरूले “यो ता देवताको बोली हो, मानिसको होइन” भनेर कराए। यसप्रति कुनै आपत्ति नजनाई यस घमण्डी राजाले महिमा खोजे। “तर परमेश्वरलाई महिमा नदिएकोमा त्यत्तिखेरै प्रभुका एउटा दूतले तिनलाई प्रहार गरे।” (प्रेरित १२:२१-२३) हेरोदले यहोवाको होइन, आफ्नो महिमा गरेकोले मर्नुपऱ्यो। त्यतिबेलाका धर्मगुरुहरूले परमेश्वरको पुत्र, येशूलाई मार्ने षडयन्त्र रचेर उहाँलाई अनादर गरे। येशूले सिकाइरहनुभएको कुरा साँचो हो भनेर कोही कोही शासकहरूलाई थाह थियो तर तिनीहरूले उहाँलाई पछ्याउन चाहेनन् “किनभने तिनीहरूले परमेश्वरको प्रशंसाभन्दा मानिसहरूको प्रशंसालाई बढ़ता रूचाउँथे।” (यूहन्ना ११:४७-५३; १२:४२, ४३) इस्राएल राष्ट्रले यहोवा वा उहाँको नियुक्त प्रतिनिधि, येशूलाई आदर गरेनन्। त्यसकारण, यहोवाले पनि तिनीहरूलाई आदर गर्न छोड्नुभयो, उहाँले तिनीहरूलाई त्याग्नुभयो अनि तिनीहरूको मन्दिर विनाश हुन दिनुभयो। तर उहाँ र उहाँका पुत्रलाई आदर गर्नेहरूलाई जोगाउनुभयो।—मत्ती २३:३८; लूका २१:२०-२२.
२३. परमेश्वरको नयाँ संसारमा बाँच्न हामीले के गर्नुपर्छ? (भजन ३७:९-११; मत्ती ५:५)
२३ यस वर्तमान रीतिरिवाजको विनाशपछि परमेश्वरको नयाँ संसारमा बाँच्न चाहने सबैले परमेश्वर र उहाँको पुत्रलाई आदर गर्नैपर्छ र उहाँहरूको आज्ञा मान्नैपर्छ। (यूहन्ना ५:२२, २३; फिलिप्पी २:९-११) त्यस्तो आदर नदेखाउनेहरू पृथ्वीबाट “जरैसमेत उखेलिनेछन्।” अर्कोतिर, परमेश्वर र ख्रीष्टलाई आदर गर्ने तथा उहाँको आज्ञाकारी हुने सोझा जनहरू “पृथ्वीमा बास गर्नेछन्।”—हितोपदेश २:२१, २२.
पुनरावृत्ति गर्दा
◻ अरूलाई आदर गर्नुको अर्थ के हो र यहोवाले कसरी आदर गर्नुभयो?
◻ येशू र पावलले कसरी अरूलाई आदर गरे?
◻ हाम्रो समयमा आदर पाउन योग्यका को हुन्?
◻ हामीले किन यहोवा र येशूलाई आदर गर्नुपर्छ?
[पृष्ठ १७-मा भएको चित्र]
अब्राहामको बिन्ती सुन्नुभएर यहोवाले तिनलाई आदर गर्नुभयो
[पृष्ठ १८-मा भएको चित्र]
सफल वैवाहिक जीवन बिताउने पतिपत्नीले एकअर्कालाई आदर गर्छन्