‘भट्टीझैं दन्कने’ त्यो दिन
“हेर, भट्टीझैं दन्कँदै त्यो दिन आउँदैछ।”—मलाकी ४:१.
१. मलाकी ४:१ को सन्दर्भमा कस्ता प्रश्नहरू खडा हुन्छन्?
यी अन्तिम दिनमा सम्झनाको पुस्तकमा नाउँ लेख्न यहोवाले छान्नुहुने व्यक्तिहरू धन्यका हुन्। तर त्यस सुअवसरको लागि अयोग्य ठहरिने व्यक्तिहरू नि? चाहे तिनीहरू शासक वा साधारण मानिसहरू हुन्, परमेश्वरको राज्यका उद्घोषकहरू र उनीहरूको समाचारलाई अवहेलना गर्नेहरूको हालत कस्तो हुनेछ? मलाकीले लेखा लिने दिनबारे बताउँछन्। चार अध्यायको १ पदमा हामी यस्तो लेखिएको पाउँछौं: “हेर, भट्टीझैं दन्कँदै त्यो दिन आउँदैछ, जब सबै घमण्डी र दुष्ट काम गर्नेहरू ठूटाझैं हुनेछन्। त्यो आउने दिनले तिनीहरूलाई भस्म गर्नेछ। सेनाहरूका परमप्रभु भन्नुहुन्छ। त्यसले तिनीहरूको जरा र हाँगा केही पनि छोड़नेछैन।”
२. यहोवाको न्यायबारे इजकिएलले कस्तो सजीव वर्णन गरेको छ?
२ अरू अगमवक्ताहरूले पनि राष्ट्रहरूमाथि यहोवाको न्यायलाई भट्टीको रापसित दाँजेका छन्। धर्मत्यागी मसीहीजगतका सम्प्रदायहरूमाथि परमेश्वरको न्यायबारे इजकिएल २२:१९-२२ ले सही वर्णन गरेको छ! त्यहाँ यसो भनिएको छ: “परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, ‘तिमीहरू सबै मिश्रित-धातु भएका छौ। यसैले हेर, म तिमीहरूलाई . . . जम्मा गर्नेछु। आगो हुरूरूरू पारेर गलाउनलाई जसरी मानिसहरू चाँदी, तामा, फलाम, सीसा र टीन भट्टीमा जम्मा गर्दछन्, त्यसरीनै म पनि मेरो रीस र मेरो क्रोधमा तिमीहरूलाई जम्मा गर्नेछु। तिमीहरूलाई त्यहाँ हालेर गाल्नेछु। म तिमीहरूलाई भेला गर्नेछु, र मेरो क्रोधको अग्नि-ज्वाला तिमीहरूमाथि दन्काउनेछु, र तिमीहरू त्यसैका बीचमा गल्नेछौ। जसरी भट्टीमा चाँदी गल्दछ त्यसरीनै त्यसको बीचमा तिमीहरू गल्नेछौ, औ म, परमप्रभुलेनै तिमीहरूमाथि आफ्नो क्रोध खन्याएको हुँ भनी तिमीहरूले जान्नेछौ।’”
३, ४. (क) पादरीवर्गले कपट्याइँपूर्वक कस्तो दाबी गरेको छ? (ख) धर्मको नीच इतिहास कस्तो छ?
३ निस्सन्देह यो प्रभावशाली उदाहरण हो! यहोवाको नाउँ प्रयोग गर्न इन्कार गरेर उहाँको पवित्र नाउँलाई निन्दासमेत गर्ने पादरीहरूले त्यो दिन सामना गर्नैपर्छ। तिनीहरू र तिनीहरूका राजनैतिक समर्थकहरूले यस पृथ्वीमा परमेश्वरको राज्य स्थापना गर्नेछन् अन्यथा पृथ्वीलाई राज्यको निम्ति योग्य ठाउँ भए पनि बनाउनेछन् भनेर अहंकारीपूर्वक दाबी गरेका छन्।
४ क्रूर युद्धहरू लड्न धर्मत्यागी मसीहीजगतले राजनैतिक शासकहरूसित हात मिलाएका छन्। मध्यकालीन क्रुसेडहरू, स्पेनी इन्क्वीजिशनले जबरजस्ती धर्म परिवर्तन, १७ औं शताब्दीका ३० वर्ष लामो युद्ध, क्याथोलिक चर्चको स्थान बलियो पार्न १९३० को दशकका स्पेनी गृहयुद्धहरू इतिहासमा लिपिबद्ध गरिएका छन्। हाम्रो शताब्दीमा सबैभन्दा बढी रक्तपात दुइ विश्व-युद्धहरूमा भए, जब क्याथोलिक र प्रोटेस्टेन्टहरू बिना रोकटोक अन्धाधुन्ध आफ्ना संगी विश्वासीहरूलगायत अन्य धर्मावलम्बीहरूलाई मार्न संलग्न भए। हालै, आयरल्यान्डमा क्याथोलिक र प्रोटेस्टेन्टहरू, भारतका धार्मिक समूहहरू र पहिलेको युगोस्लाभियाका धार्मिक समूहहरू हिंसात्मक झगडामा मुछिएका छन्। यहोवाका हजारौं विश्वासी साक्षीहरूको यातनाले पनि धार्मिक इतिहास रगताम्मे भएको छ।—प्रकाश ६:९, १०.
५. झूटो धर्ममाथि कस्तो न्याय आउनेछ?
५ झूटो धर्मको विश्व-साम्राज्य, महान् बेबिलोनको साथै यसका समर्थकहरूमाथि यहोवाको सन्निकट न्यायदण्डको औचित्यलाई मूल्यांकन नगरी हामी बस्न सक्दैनौं। यो न्यायदण्ड प्रकाश १८:२१, २४ मा वर्णन गरिएको छ: “एउटा बलवान दूतले जाँतोजस्तै एउटा ठूलो ढुंगा उठाए, र यसो भनेर समुद्रमा फाले, ‘यसरीनै महान् शहर बेबिलोन ठूलो झोक्काले फालिनेछ, र फेरि कहिल्यै पाइनेछैन। औ, त्यसैमा अगमवक्ताहरू, पवित्र जनहरू र पृथ्वीमा मारिएका सबैका रगत पाइएको थियो।’”
६. (क) ठूटाझैं को हुनेछ र किन? (ख) यहोवाको भय राख्नेहरूका लागि कस्तो आश्वासन छ?
६ समयमा, धार्मिकताका सम्पूर्ण शत्रुहरू र तिनी- हरूको कुरा सुन्ने सबै “ठूटाझैं हुनेछन्।” यहोवाको दिन तिनीहरूमाथि भट्टीझैं दन्कनेछ। “त्यसले तिनीहरूको जरा र हाँगा केही पनि छोड़नेछैन।” लेखा लिने त्यो दिनमा केटाकेटीहरू अर्थात् हाँगाहरू तिनीहरूको जरा अर्थात् बच्चाहरूमाथि निरीक्षण गर्ने जिम्मेवारी पाउने आमा-बाबुहरूको आधारमा यहोवाले न्याय गर्नुहुनेछ। दुष्ट आमा-बाबुहरूले आफ्ना दुष्ट मार्गहरू अघि बढाउने सन्तानहरू पाउनेछैनन्। तर परमेश्वरको राज्यसम्बन्धी प्रतिज्ञाहरूमा विश्वास राख्नेहरू ढलपल हुनेछैनन्। तसर्थ हिब्रू १२:२८, २९ यसप्रकार आग्रह गर्छ: “यसकारण हल्लिन नसक्ने राज्य पाएर हामीलाई अनुग्रह होस्, जसबाट परमेश्वरलाई मनपर्ने सेवा भक्ति र डरले चढ़ाउनसकौं। किनभने हाम्रा परमेश्वर भस्म गर्ने अग्नि हुनुहुन्छ।”
के यहोवा क्रूर परमेश्वर हुनुहुन्छ?
७. यहोवाको प्रेम उहाँको न्यायमा कसरी देखिन्छ?
७ के यसको अर्थ यहोवा क्रूर, इर्ष्यालु परमेश्वर हुनुहुन्छ? कदापि हुनुहुन्न! पहिलो यूहन्ना ४:८ मा प्रेरितले यसप्रकार आधारभूत सत्य उद्धरण गर्छन्: “परमेश्वर प्रेम हुनुहुन्छ।” त्यसपछि जोड दिंदै पद १६ मा तिनी यसो भन्छन्: “परमेश्वर प्रेम हो, र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ, र परमेश्वर त्यसमा रहनुहुन्छ।” मानवजातिप्रति प्रेमको कारण यहोवाले यस पृथ्वीबाट सारा दुष्टता हटाउने उद्देश्य राख्नुभएको छ। हाम्रो मायालु, करुणामय परमेश्वर यसप्रकार घोषणा गर्नुहुन्छ: “दुष्टको मृत्यु म चाहन्नँ, बरू दुष्ट मानिसले आफ्नो चाल त्यागेर जिओस् भन्ने म चाहन्छु। आफ्नो दुष्ट चाल त्याग, ती त्यागिहाल। . . . तिमीहरू किन मर्छौ?”—इजकिएल ३३:११.
८. यूहन्नाले प्रेममा जोड दिनुको साथै आफू गर्जनको पुत्र भनेर कसरी देखाए?
८ समष्टिगत तवरमा भन्ने हो भने, सुसमाचारको पुस्तकहरूका अन्य तीन लेखकहरूले भन्दा यूहन्नाले अगापे अर्थात् सैद्धान्तिक प्रेम बढी उल्लेख गरेका छन्। यद्यपि, मर्कूस ३:१७ मा यूहन्नालाई ‘गर्जनको पुत्र’ भनिएको छ। यहोवाको उत्प्रेरणाद्वारा यस गर्जनको पुत्रले बाइबलको अन्तिम पुस्तक, प्रकाशको डरलाग्दा भविष्यसूचक समाचारहरू लेखेका थिए जसले यहोवालाई न्याय कार्यान्वयन गर्नुहुने परमेश्वर भनी चित्रण गर्छ। “परमेश्वरको क्रोधको ठूलो कोल,” “क्रोधका सात कचौरा,” र “सर्वशक्तिमान परमेश्वरको क्रोध” जस्ता न्यायिक अभिव्यक्तिहरूले यो पुस्तक भरिभराउ छ।—प्रकाश १४:१९; १६:१; १९:१५.
९. यहोवाको न्यायबारे येशूले कस्ता अभिव्यक्तिहरू चलाउनुभयो र उहाँका भविष्यवाणीहरू कसरी पूरा भए?
९ “अदृश्य परमेश्वरको प्रतिरूप” हाम्रो प्रभु येशू ख्रीष्टले पृथ्वीमा हुनुहुँदा यहोवाका न्यायहरू निडरतापूर्वक घोषणा गर्नुभयो। (कलस्सी १:१५) उदाहरणको लागि, आफ्नो समयका धार्मिक कपटीहरू विरुद्ध उहाँले खुल्लमखुल्ला भन्नुभएका सात विपत्तिहरू मत्ती २३ अध्यायमा उल्लिखित छन्। तिनीहरूलाई दोषारोपण गर्दै यी शब्दहरूद्वारा उहाँले आफ्नो न्यायवचन टुंग्याउनुभयो: “ए यरूशलेम, ए यरूशलेम तँ जो अगमवक्ताहरूलाई मार्ने र तँकहाँ पठाइएकाहरूलाई ढुंगाले हान्ने! जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामनि बटुल्छ, त्यसरीनै कतिपल्ट मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरें, तर तैंले मानिनस्। हेर तिमीहरूको घर तिमीहरूका निम्ति उजाड़ छोड़िनेछ।” सैंतीस वर्षपछि सेनापति टाइटसको नेतृत्वमा रोमी फौजले उक्त न्यायदण्ड कार्यान्वयन गऱ्यो। त्यो डरलाग्दो दिन थियो, साथै मानव अनुभवमध्ये सबैभन्दा भयानक दिन अर्थात् छिट्टै प्रस्फुटन हुन लागेको यहोवाको दिनको भविष्यसूचक थियो।
“सूर्य” उदय हुन्छ
१०. “धार्मिकताको सूर्य[ले]” परमेश्वरका जनहरूलाई कसरी आनन्द ल्याउँछ?
१० यहोवाको दिनमा बच्नेहरू हुनेछन् भनी उहाँले अवगत गराउनुहुन्छ। तिनीहरूबारे मलाकी ४:२ मा उहाँ यसो भन्दै उल्लेख गर्नुहुन्छ: “तिमीहरू मेरो नाउँको भय मान्नेहरूमाथि चाहिं धर्मको सूर्य आफ्ना पखेटामा आरोग्यता लिएर उदय हुनेछ।” त्यो धार्मिकताको सूर्य येशू ख्रीष्ट स्वयं हुनुहुन्छ। उहाँ आध्यात्मिक तवरमा “संसारको ज्योति” हुनुहुन्छ। (यूहन्ना ८:१२) उहाँ कसरी उदय हुनुहुन्छ? उहाँ आफ्नो पखेटामा आरोग्यता लिएर उदय हुनुहुन्छ। सर्वप्रथम आध्यात्मिक आरोग्यता जुन हामी आज पनि अनुभव गर्न सक्छौं अनि त्यसपछि आउँदै गरेको नयाँ संसारमा सारा राष्ट्रका मानिसहरूले अनुभव गर्ने शारीरिक आरोग्यता। (मत्ती ४:२३; प्रकाश २२:१, २) लाक्षणिक अर्थमा मलाकीले भनेझैं आरोग्य भएकाहरू गोठबाट निस्केका “बाछोजस्तै उफ्रँदै” कुद्नेछन्। पुनरुत्थान हुनेहरूले पनि मानव सिद्धताको प्रत्याशा लिएर बिउँतन पाउँदा कस्तो आनन्दमय अनुभव गर्नेछन्!
११, १२. (क) दुष्टहरूको अन्तिम परिणाम कस्तो हुनेछ? (ख) परमेश्वरका जनहरूले कसरी ‘दुष्टहरूलाई कुल्चन्छन्?’
११ तथापि, दुष्टहरूलाई के हुनेछ? मलाकी ४:३ मा हामी यस्तो लेखिएको पढ्छौं: “तिमीहरूले दुष्टहरूलाई कुल्चनेछौ, किनकि जुन दिन म यो काम गर्छु त्यस दिन तिनीहरू तिमीहरूका पैतालामनि खरानिजस्तै हुनेछन्, सेनाहरूका परमप्रभु भन्नुहुन्छ।” यहोवालाई प्रेम गर्नेहरूलाई जोगाउँदै हाम्रो योद्धा परमेश्वरले ती तानाशाही शत्रुहरूलाई नाश गरेर पृथ्वीलाई सफा तुल्याइ सक्नुभएको हुनेछ। शैतान र त्यसका प्रेतहरू बाँधिएका हुनेछन्।—भजन १४५:२०; प्रकाश २०:१-३.
१२ दुष्टहरूलाई नाश गर्दा परमेश्वरका जनहरूले त्यसमा कुनै भाग लिंदैनन्। त्यसो भए, कसरी तिनीहरूले ‘दुष्टहरूलाई कुल्चनेछन्?’ महान् विजयोत्सवमा भाग लिएर तिनीहरूले यो लाक्षणिक अर्थमा गर्छन्। प्रस्थान १५:१-२१ ले त्यस्तो उत्सवको वर्णन गर्छ। फिरऊन र तिनका सेनाहरू लाल समुद्रमा नाश भएपछि तिनीहरूले यो उत्सव मनाएका थिए। यशैया २५:३-९ को पूर्तिअनुरूप “भयानक राष्ट्र [तानाशाहीहरू, न्युव]” हटाइसकेपछि परमेश्वरको प्रतिज्ञासित सम्बन्धित विजय भोज हुनेछ: “उहाँले मृत्युलाई सदाको निम्ति निल्नुभएको छ, र परमप्रभु परमेश्वरले सबैका निम्ति आँखाबाट आँसु पुछिदिनुहुनेछ। उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा दूर गर्नुहुनेछ, किनकि परमप्रभुले यसै भन्नुभएको छ। त्यस दिन यसो भनिनेछ, ‘हेर, हाम्रा परमेश्वर, . . . हामीले उहाँको बाटो हेऱ्यौं, औ उहाँले दिनुभएको मुक्तिमा हामी खुशी हुनेछौं र रमाउनेछौं।’” यो बदला वा प्रतिशोधको आनन्द होइन तर यहोवाको नाउँ महिमित भएको र एकत्रित मानवजातिको शान्तिपूर्ण बसोबासको लागि पृथ्वी सफा पारिएको देख्न पाउँदाको हर्ष हो।
विशाल शैक्षिक कार्यक्रम
१३. “नयाँ पृथ्वी[मा]” कस्तो शिक्षा दिइनेछ?
१३ मलाकी ४:४ मा यहूदीहरूलाई “मोशाको व्यवस्था . . . सम्झना राख्” भनी सल्लाह दिइएको थियो। अतः आज हामीले गलाती ६:२ मा उल्लिखित “ख्रीष्टको व्यवस्था” पालन गर्नुपर्छ। निस्सन्देह, आरमागेडोनबाट बच्नेहरूलाई यसैको आधारमा थप निर्देशनहरू दिइनेछ र सम्भवतः यी कुराहरू प्रकाश २०:१२ का “पुस्तकहरूमा” लेखिनेछन्, जुन पुनरुत्थानको समयमा खोलिनेछ। “नयाँ पृथ्वी[को]” जीवनशैली अपनाउन पुनरुत्थान भएका व्यक्तिहरूलाई प्रशिक्षण दिंदा त्यो कस्तो महान् दिन हुनेछ!—प्रकाश २१:१.
१४, १५. (क) आधुनिक समयको एलिया कसरी चिनिन्छ? (ख) एलियावर्गले कुन जिम्मेवारी पूरा गर्छ?
१४ त्यो मलाकी ४:५ मा यहोवाले उल्लेख गर्नुभएको शैक्षिक कार्यक्रमको विस्तृतिकरण हुनेछ: “हेर, परमप्रभुको त्यो महा र डरलाग्दो दिन आउनअघि म एलिया अगमवक्तालाई पठाउनेछु।” आधुनिक समयको एलिया को हो? मत्ती १६:२७, २८ मा देखाइएझैं ‘आफ्नो राज्यमा आउनेलाई’ संकेत गर्दै येशूले यसो भन्नुभयो: “मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना दूतहरूसित आउनेछ, र त्यस बेला उसले हरेक मानिसलाई त्यसको कर्मअनुसार प्रतिफल दिनेछ।” छ दिनपछि पत्रुस, याकूब र यूहन्नाको साथमा डाँडामा हुनुहुँदा “तिनीहरूका सामने उहाँको रूप परिवर्तन भयो। उहाँको चेहेरा सूर्यझैं चम्क्यो, औ उहाँको वस्त्र ज्योतिझैं सेतो भयो।” के उहाँ दर्शनमा एक्लै हुनुहुन्थ्यो? हुनुहुन्नथियो, किनभने “मोशा र एलिया उहाँसित बातचीत गर्दै गरेका देखा परे।”—मत्ती १७:२, ३.
१५ यसको अर्थ के हुनसक्छ? भविष्यवाणी गरिएको महान् मोशा, न्याय कार्यान्वयन गर्न आउनुहुने येशू नै हुनुहुन्छ भनी यसले अंकित गऱ्यो। (व्यवस्था १८:१८, १९; प्रेरित ३:१९-२३) त्यसपछि एउटा अत्यावश्यक काम अर्थात् यहोवाको महान् तथा भयानक दिन आउनअघि परमेश्वरको राज्यको सुसमाचार सारा संसारमा प्रचार गर्न उहाँ आधुनिक समयको एलियासित सम्बन्धित हुनु हुनेथियो। “एलिया[को]” काम बुझाउँदै मलाकी ४:६ यसो भन्छ: “त्यसले बाबुहरूका हृदय तिनीहरूका छोराहरूतिर र छोराहरूका हृदय तिनीहरूका बाबुहरूतिर फर्काइदिनेछ, नत्रता म आएर देशलाई सरापले नाश पार्नेछु।” तसर्थ, “एलिया[लाई]” पृथ्वीमा शेष अभिषिक्त मसीहीहरूको विश्वासी र बुद्धिमान दास भनी चिनाइएको छ, जसलाई मालिक, येशूले आफ्नो सारा सम्पत्ति सुम्पनुभएको छ। यसमा विश्वासको घरानालाई आवश्यक आध्यात्मिक खाना “ठीक ठीक समयमा” दिनु समावेश छ।—मत्ती २४:४५, ४६.
१६. एलियावर्गले कस्ता आनन्दमय परिणामहरू ल्याएका छन्?
१६ त्यस खुआउने कार्यक्रमको आनन्ददायी परिणामहरू आज हामी संसारभरि देख्नसक्छौं। प्रहरीधरहरा-को हरेक अंक १२० भाषामा १,६१,००,००० प्रति छापिन्छन्। यसमध्ये ९७ भाषामा एकैसाथ छापिन्छन् र त्यसद्वारा “राज्यको यो सुसमाचार” पृथ्वीभरि फैलिएको छ। (मत्ती २४:१४) यहोवाका साक्षीहरूको प्रचार तथा शिक्षण कार्यका विभिन्न पक्षहरूमा थुप्रै भाषाका अन्य प्रकाशनहरू प्रयोग गरिन्छन्। एलियावर्ग अर्थात् विश्वासी र बुद्धिमान दास “आध्यात्मिक आवश्यकताप्रति सजग” व्यक्तिहरूका निम्ति प्रशस्त प्रबन्ध गर्न सतर्क छन्। (मत्ती ५:३, न्युव) यसबाहेक, यस राज्य आशा स्वीकारेर त्यसअनुरूप कार्य गर्नेहरू अद्भुत विश्वव्यापी भ्रातृत्वमा गाँसिन्छन्। यसमा “हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको” ठूलो भीड समाविष्ट छ। (प्रकाश ७:९) यहोवाले माग गर्नुभएको हदसम्म यो कार्य सम्पन्न भएपछि उहाँको महान् तथा भयानक दिन आउनेछ।
१७. यहोवाको भयानक दिन कहिले प्रस्फुटन हुनेछ?
१७ तर त्यस भयानक दिन हामीमाथि अकस्मात् कहिले आइपर्नेछ? प्रेरित पावल यस्तो जवाफ दिन्छन्: “प्रभुको दिन ता रातमा चोर आएझैं आउनेछ। जब मानिसहरूले [विशेष प्रकारले] शान्ति र सुरक्षा भनिरहेका हुन्छन्, तब सुत्केरी हुने स्त्रीलाई बेथा लागेझैं अचानकसँग तिनीहरूमाथि विनाश आइलाग्छ, र तिनीहरू कुनै रीतिले उम्कनेछैनन्।”—१ थिस्सलोनिकी ५:२, ३.
१८, १९. (क) “शान्ति र सुरक्षा” कसरी घोषणा गरिन्छ? (ख) यहोवाका जनहरूले कहिले छुटकारा पाउनेछन्?
१८ यस भविष्यवाणीमा “तिनीहरू” को हुन्? तिनीहरू राजनैतिक नेताहरू हुन् जसले यस टुक्रिएको हिंस्रक संसारलाई जोडेर एकताबद्ध नयाँ संसार निर्माण गर्न सक्छन् भन्ने दाबी गर्छन्। राष्ट्र संघ र संयुक्त राष्ट्रजस्ता तिनीहरूका शानदार उपजहरू असफल भएका छन्। यहोवाको अगमवक्ताले भविष्यवाणी गरेझैं तिनीहरूले अहिले “शान्ति नै नहुँदा पनि ‘शान्ति, शान्ति’” भनिरहेका छन्।—यर्मिया ६:१४; ८:११; १४:१३-१६.
१९ त्यतिञ्जेल परमेश्वरका जनहरू यस अभक्त संसारको दबाब तथा सतावटहरू सहन्छन्। तर २ थिस्सलोनिकी १:७, ८ मा उल्लेख गरिएझैं “उहाँको शक्तिशाली स्वर्गदूतहरूसँग प्रभु येशू स्वर्गबाट बल्दो आगोमा प्रकाश हुँदा, परमेश्वरलाई नचिन्नेहरूलाई, हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई बदला दिंदा” तिनीहरूले चाँडै छुटकारा पाउनेछन्।
२०. (क) ‘भट्टीझैं दन्कने’ दिनबारे सपन्याह र हबकूकले कस्तो भविष्यवाणी गर्छन्? (ख) यी भविष्यवाणीहरूले कस्तो सल्लाह र प्रोत्साहन दिन्छन्?
२० त्यो कति चाँडो हुनेछ? हामीमध्ये धेरैले पर्खिरहेको निकै भइसक्यो। यतिञ्जेल बच्ने असंख्य नम्र व्यक्तिहरूले सपन्याह २:२, ३ को आह्वान स्वीकार्दैछन्: “परमप्रभुको खोजी गर। . . . धार्मिकता खोज, नम्रता खोज, परमप्रभुको रीसको दिनमा शायद तिमीहरूले शरण पाउँछौ कि।” त्यसपछि सपन्याह ३:८ ले अझै यो आग्रह गर्छ: “परमप्रभु भन्नुहुन्छ, यसकारण नाश पार्नलाई म नउठुञ्जेल तिमीहरू मलाई पर्खिरहो। जाति जातिहरू र राज्य राज्यहरूलाई जम्मा गरेर तिनीहरूमाथि मेरो रीस, मेरो भयानक रीस पूरा खन्याउने मेरो इच्छा छ, किनकि सम्पूर्ण पृथ्वी मेरो डाहको आगोले भस्म हुनेछ।” अन्त नजीकै छ! यहोवालाई त्यो दिन र घडी थाह छ अनि उहाँले आफ्नो समय-तालिका परिवर्तन गर्नुहुनेछैन। हामी धीरजी भएर सहौं। “त्यो दर्शन ठहराएको समयमा पूरा हुनेछ, त्यो पूरा हुने बेला चाँड़ै आउँदैछ, त्यसले धोका दिंदैन। त्यो पूरा हुनु ढिलो भए तापनि त्यसको बाटो हेर्दै बस्, किनभने त्यो निश्चय पूरा हुनेछ, त्यसले ढीलो गर्नैछैन।” (हबकूक २:३) यहोवाको भयानक दिन झन् झन् नजीक आउँदैछ। नबिर्सनुहोस्, त्यो दिन ढिलो हुनेछैन!
पुनरावृत्ति गर्दा:
◻ यहोवाको भयानक दिनमा शासकहरू तथा जनताको हालत कस्तो हुनेछ?
◻ यहोवा कस्तो खालको परमेश्वर हुनुहुन्छ?
◻ परमेश्वरका जनहरूको निम्ति कस्तो प्रकारको शिक्षा वर्णन गरिएको छ?
◻ अन्तको निकटतालाई ध्यानमा राख्दै परमेश्वरका अगमवक्ताहरू हामीलाई कस्तो आग्रह गर्छन्?
[पृष्ठ २१-मा भएको चित्र]
स्पेनी इन्क्वीजिशनताका धेरैलाई जबरजस्ती क्याथोलिक बनाइएको थियो
[स्रोत]
The Complete Encyclopedia of Illustration/J. G. Heck